आईतबारको दिन । अङ्ग्रेजीमा ‘सनडे’ । ‘सनडे’ भएकाले नै होला घमाइलो थियो। भएकी मिल्ने साथी पनि उसको पुर्ख्यौली घर गएकी थिई। कोरोनालेगर्दा बजारमा निस्कन पनि डर थियो सेनिटाईजर हातमा नदली हुँदै नहुने । आमा र म बजार गएर आउँदै थियौँ । दिउँसोको तीन बजेको थियो। बाटोमा रमा काकी, बिरे काका, सन्दिप लगायत केही मान्छे भेला भएर गफ गर्दै थिए । आमा र म पनि के रहेछ भनी जिज्ञासाको साथ फटाफट त्यहाँ पुग्यौं । त्यहाँ पुगेर आमाले के भयो भनेर सोध्नुभयो। त्यहाँ मैले पहिलो लाईन नै जे सुने मेरो टाउको रिङ्गायो, मुटु चिसो भयो । म एक्कासि चिच्याएँछु। त्यसपछि बेहोस भएँ रे । आमाले घर लिएर आउनुभएछ । त्यो पहिलो लाईन थियो “शाले त आत्महत्या गरिछ नि । क्या त ईभाकी साथी….तेर्हथुम गा’कि थि नि….कुन्नि त के पर्यो त्यस्तो…बिचरी भर्खर पन्ध्र सोह्र बर्ष लाग्दै थिई…।”
म ईभा । पुरा नाम ईभा कार्की । मेरो घर झापा झिलझिले । म कक्षा नौ मा पढ्छु एउटा बोर्डिङ स्कुलमा । मेरो ममि गृहिणी । बाबा मजदुरी गर्नुहुन्छ । हाम्रो अलिकति जग्गा पनि छ । म उहाँहरूको एक्लो सन्तान । कोरोना भाईरसले देशमा पारेको असरका कारण स्कुल कलेजहरू बन्द भएर घर बसेको छु। घरमा काम सघाउँदै टिनेजमा भए पनि म अरू बच्चाजस्तो छैन रे । समझदार छु भन्थे गाउँलेहरू ।
होश आउँदा म ओछ्यानमा थिएँ । छातिमा कसैले ढुङ्गा राखेर थिचिदिएजस्ताे भईरहेको थियो । आमा सायद किचनमा हुनुहुन्थ्यो। म उठेको चाल पाउनु भएछ क्यार भन्नुभयो “नानि यहाँ आइज। “म गएर मुढा तानेर बसेँ।च्या खान्छेस् दूध लाएर? मैले मुन्टो हल्लाएँ।आमा सायद मेरो ध्यान अरूतिरै तान्ने प्रयासमा प्रयासरत हुनुहुन्थ्यो।
“ईशाले तँसंग केही कुरा गरेकि थिइन नानी ? तँ त उसको मिल्ने साथी…” मैले पिलिक्क आमापट्टि हेरेँ ।
जस्तै पीर परे नि ईशा जस्तो चाहिँ नगर्नु नानी…। हामी बाबू आमा छौं । हामीलाई भन्नू । जीवन फेरि फर्केर आउँदैन…खै तिमारू आजको बच्चा पनि के के गर्छौ गर्छौ…..हाम्रो पालाआँ कुन कुन चरोको नाम हो था थिएन।आज त फ्यासबुक,ल्याप्टो कुन्नि के के रे…तिमारू जान..।”यत्तिकैमा ” ए ईशाकी आमा ! भोलि बिहानै हामी तेर्हथुम जाँदैछौं । केके जोरजाम मिलाउनु छ मिलाउँदै गर” भन्दै बाबा आईपुग्नुभो ।
मलाई भने समयको ठेगान थिएन। केही खान पनि मन लागेन । रातभरि निन्द्रा लागेन । खै केलेकेले समाएजस्तो हुन्थ्यो । मेरो कोठा बेग्लै भएपनि त्यो रात बाबा ममिकै कोठामा सुतेँ। बिहान मिरमिरेमै उठेर चियाखाजा खाएर बिहानै इलाम जाने गाडिमा चढ्यौँ । झण्डै चार घण्टा लाग्यो इलाम पुग्न। । त्यहाँ पुगेपछि पलपल म कमजोर बन्दै गएको अनुभव हुँदैथियो। त्यहाँ पुगेपछि थाहा भयो ईशाको लाशलाई पोस्टमार्टमका लागि लगिएको रहेछ। तेह्रथुम भौगोलिक बिकटताका कारण छिमेकी जिल्ला पाँचथरको जिल्ला अस्पताल लगेको भन्ने बुझियो । हामी फेरि पाँचथर तर्फ लाग्यौं । मेरो जस्तै सायद सबैको मनमा प्रश्न थियो होला; के ? आखिर इशाको आत्महत्या किन ? र कसरी?
करिब दिनको बाह्र बजे तिर हामी अस्पताल पुग्यौँ।अस्पतालमा अलिअलि चहलपहल थियो। पर यता र उता घुमिरहेका ईशाको साईँला काकालाई देखेपछि हामी उतै लाग्यौं। माईला काका साईँला काका र फूपू आएका रहेछन् । सबै नुन, खाएको कुखुराजस्ता भएका थिए ।मलाई देख्ने बित्तिकै फूपू काँध हालेर रून थाल्नु भयो । मेरो पनि हिजोबाट फुट्न नसकेको भेल फुट्यो । अब कसैको आँखामा आँशु थामिएनन्। केही समयपछि इशाको पोस्टमार्टम भइसकेको लास परिवारले बुझ्ने काम भयो । रिपोर्ट भने केहिदिन पछि आउने कुरा अस्पताल प्रशासनले जानकारी दियो । प्रहरी प्रशासनले भने ईशाको मोबाइलको डिटेल्स र पोस्टमार्टम रिपार्टको आधारमा केसको अनुसन्धान गर्ने बतायो।
म मेरी साथीलाई अन्तिम पटक भेट्दैथेँ। “मान्छेको जीवन कति चाँडै बित्दो रहेछ । जब सानो हुन्छ आत्मिय हुन्छ र साथी पनि धेरै हुन्छन् । उमेर बित्दै गएपछि त्यो आत्मियपन घट्दै जान्छ । साथीहरू हराउँदै जान्छन् । उहीँ साथीहरू बपन ईश्या र रिस जन्मन्छ। एउटै थालमा खाएर बचपन बितेका साथी पराई बनिदिन्छन्। खोलाझै बग्दै बग्दै जानुपर्ने मान्छेको जिन्दगी कोही छोडिन्छन् त कोहि जोडिन्छन् । मान्छे बाँचुन्जेल सपना देख्छ, आफ्नो अगाडि दुनियाँ बिर्सन्छ, घमण्ड गर्छ, अहङ्कार गर्छ अन्त्यमा फुस्स सास गएपछि उसको सम्पत्ति, घमण्ड, अहङ्कार सबै उसको शरिरसँगै खरानी हुन्छ । सबैको अन्तिम गन्तव्य त उही हो मृत्यु फरक त मृत्युको तरिकामा हुन्छ आयु, दुर्घटना, रोग अथवा आत्महत्या।अगाडिका तिनवटा तरिकाभन्दा अन्तिमको एउटा अझ खतरनाक हुन्छ जसमा खतरनाक कारण लुकेको हुन्छ र हरेक कारण फरक फरक हुन्छन्।ती कारण लुकाईने प्रयास पनि धेरै गरिन्छन्।” त्यो भिडको बिच उभिएर म मेरी बचपनबाटकै मिलनसार र मेरी सबैभन्दा प्रिय साथीको लास हेर्दै टोलाँउँदै सोचिरहेको थिएँ। इशाको लास तमोर खोलाको किनारामा खरानी भयो हेर्दा हेर्दै मलामीले चिता पखाले मरो प्रिय साथीको खरानीसम्म तमोरले बगायो । इशा मरो आँखाको तस्वीर मात्र भएर मष्तिस्कको कुना कुना खेलिरही ।
उसको नाम ईशा विश्वकर्मा । हाम्रो समाज अनुसार बोल्नु भने त “पानी नचल्ने जात”। हाम्रो समाज कति सङ्किर्ण छ। उही शरीर उहीँ रगत र उहि सपना लिएर जन्मेका व्यक्तिलाई जात र वर्णमा छुट्याएर पानी नचल्ने र चल्ने भनी छुट्याईदिएको छ। तर हाम्रो दोस्तिमा कहिल्यै पनि पानी नचल्ने भएन । न त हाम्रो घरमा उसले छोएको पानी नचल्ने भयो। ऊ जहिल्यै हाम्रो घरमा आउँथी। उसको घर मेरोभन्दा अलिक पर थियो। हामी स्कुल सँगै जान्थ्यौँ । ऊ मेरोमा आउँथि । हामी उटपपट्पाङग गफ गर्दै खाना बनाउँथ्यौँ । म उसकोमा जान्थेँ पानीपुरि बनाएर खान्थ्यौँ । हाम्रोमा मिठो परिकार पकाउँदा उसलाई बोलाउँथ्यौँ । उसकोमा पकाउँदा मलाई बोलाउँथी। हाम्रो दोस्तिलाई जात र वर्णको पर्खालले कहिल्यै छेकेन । हाम्रो दोस्ती जात वर्ण भन्दा सँधै उच्च थियो।
इशाको पुर्ख्यैली तेर्हथुमको इवा ।उसको बाबा सानै उमेरमा भागेर भारतको पञ्जाब जानू भएको रे ।पच्चिस बर्षको हुँदा मात्र फर्केर घर आउनु भएको रहेछ। पञ्जावबाट फर्केपछि छिमेकी गाउँबाट आफूभन्दा दस वर्ष कान्छि ईशाको आमालाई बिहे गर्नु भएको रे। बिहे गरेर बाबा पुन: पञ्जाब नै जानु भयो रे। बाबा पञ्जाबमा आफ्नै पूर्ण लागानीमा खाजा घर चलाउनु हुदो रहेछ ।ईशा चाहिँ उसको आमा सोर्ह बर्षको हुँदा तेह्रथुमको इवामा जन्मेको रे।परिवारकै सबैभन्दा पहिलो सन्तान भएको कारण हजुरबा हजुरआमा,काका फुपुहरूले असाध्यै मायाले हुर्काउनु भएको रे ईशालाई ।सबैकी प्यारी ईशा।
त्यसपछि ईशा ठ्याक्कै दुई बर्षको हुँदामात्र दशैमा बाबा घर आउनु भएछ । त्यसपछि इशाको बाबाले ममी र ईशालाई पनि पञ्जाव नै लिएर जानु भयो रे। ईशा ठ्याक्कै तिन बर्षको हुँदा ईशाको बहिनी जन्मी रे।अब ईशाकी खेल्ने साथी बहिनी भई।बहिनीको माया अति धेरै लाग्ने गर्थ्यो रे उसलाई।बहिनीसँगै बस्थी रे।बच्चापनको आदत बहिनीलाई कसैले लाग्छ कि भनेर रूङ्दा रूङ्दै कतिबेला त्यहीँ निदाउथी थाहा नै हुदैन थियो रे। त्यस समयसम्ममा उसको माईला काका र साइलो काका पनि पञ्जाब गइसक्नु भएको थियो । बाबा काकाहरू विहानै खाजा घर चलाउन जानुहुन्थ्यो रे राती पनि प्राय ईशा सुतिसके पछि मात्र आउनु हुन्थ्यो । ममी बहिनी र इशाको कोठा नै संसार हुन्थ्यो रे। बाहिरको वातावरण साथीसंगीको पत्तो हुन्नथ्यो रे।
त्यसो गर्दागर्दै पञ्जाबमा तीन बर्ष वितेछ।ईशा पाँच बर्षको भएपछि ईशाको पढाईको लागि माधवि काकी चाहिँ नेपाल नै आउने हुनुभएछ । इशाको बाबा र काकाहरूले झापातिर जग्गा किन्ने र त्यतै बस्ने निर्णय गर्नु भएछ। साईला काकालाई मात्र पञ्जाबमा छोडेर ईशाहरू सबै नेपाल फर्किएछन् ।पञ्जाबबाट फर्केपछि आमा,ईशा,बहिनी हजुरबा हजुरआमा र कान्छा काकासँग तेह्रथुमको इवामै बसेछन्।माइला काका र ईशाको बाबा झापा झर्नु भयो रे। झापा बुधबारेमा ईशाको हजुरबाको दाजुको छोराहरू यानकि ईशाको बढीबाहरूको सहयोगमा बाबा र काकाले झापाको झिलझिले बजार भन्दा १ कि.मी भित्र १ तले पक्की घर सहित 1 बिगाहा जग्गा किन्नु भएछ ।त्यस पछि ईशाहरूलाई लिन बाबा र काका इवा जानुभयो रे।अनि हजुरबा,बाबा,माइला काका,बहिनी र आमासहित ईशा मधेस झरिछ।
नयाँ ठाउँ बहिर फराकिलो ठाउँ बाटोमा साईकल गाडी मोटरसाईकल घरिघरि गुडिराख्ने घरभन्दा बाटो धेरै पर भएको कारण ईशाको बहिनी र ईशा आँगनमा भोक तिर्खा नभनी खेल्थे।मेरो पनि कोहि साथी थिएनन्।म गएर उनिहरू खेलेको हेर्थे।मिलनसार र सहयोगि ईशाले मलाई पनि उनिहरूको टिममा खेल्न आग्रह गर्थी। बहिनी अलि जिद्दी खालको थिई।त्यहिकारण उनिहरूको घरीघरी झगडा पर्थ्यो । ठुलो भएको कारण आमाले ईशालाई नै गाली गर्नुहुन्थ्यो । ईशालाई झन रिस् उठ्यो ।मसँग बहिनिको रिस पोख्थी।बहिनी प्रति इर्श्या जाग्थ्यो उसलाई। “कति न आमाकी प्यारी भएकि!” बहिनी र ईशाको यस्तो चिसोपन केहि छिनको मात्र हन्थ्यो यो सबै भुलेर हामी खेल्न थाल्थियौँ । यसो गर्दागर्दै महिनौं दिन बितेको पत्तै भएन । खेल्दा खेल्दै हामी झिलझिले बजार पुग्थ्यौँ । त्यहा मरो ममीको साथी अस्मिता आन्टीको किनारा पसल थियो । अस्मिता आन्टीले माया गरेर एकएकवटा चकलेट दिनुहुन्थ्यो ।हाम्रो खुसीको सिमा हुन्थेन। यसरी हामी ‘बेस्ट फ्रेन्ड’ बन्दै गएको पनि पत्तै भएन।
नजिकैको थियो पिक अंग्रेजी स्कुल त्यहि स्कुलमा हाम्रो क्षिक्षाको शरूवात भयो । हामीले एउटै। स्कुलमा भर्ना गर्यौ । पहिलो दिन स्कुल नयाँ साथी पनि बनिए।उसको नाम थियो सिमरन।ऊ झिलझिले बजारकि थिई।कालिकालि तर हिस्सी परेकी।हामी स्कुल जान थालेको केही दिनपछि ईशाको बाबा र काका पञ्जाब नै फर्किनु भयो । कान्छी फूपू आउनुभयो ।हजुरबा पनि इवा तिरै फर्कनुभयो ।ईशाहरू कान्छि फुपूसँग बस्न थाले।ईशाको पढाइ राम्रो थियो।कक्षामा प्रथम हुन्थी।मेरो पनि त्यति नराम्रो थिएन तर उसको जत्तिको होइन।छुच्ची थिई।बोल्न पनि प्रख्खर।स्कुलमा हुने हरेक अतिरिक्त कृयाकलापमा भाग लिन्थी।मलाई भने डर लाग्थ्यो।साथै ऊ सानैबाट रूपकी पनि।राम्री थिई। मलाइ कसैले कसैलाई हेपेको देख्दा उसको भित्र मन दुख्थ्यो ।मेरो लागि अरूसँग लड्न तम्सिन्थी।स्कुलबाट आउँदा इअली चोर्न जान्थ्यौँ । कहिलेकाहीँ सिमरनकोमा जान्थ्यौँ । सिमरनको ममिको चटपटृ पसल थियो।हामीलाई नि बनाएर दिनुहुन्थ्यो । पिरो भएपनि सित्तैमा पाको स्वास्वा गर्दै खान्थ्यौँ हामी।
ईशाको ठूलो सपना कानुन पढेर अन्यायमा परेकालाई न्याय दिने थियो । मसँग सँधै भन्थी।मलाई पनि सोध्ने गर्थी के बन्ने भनेर।सायद हाम्रो सपना देख्ने उमेर हुँदै थियो।मैले भने केही सोचेको थिईन।अनायसै भनिदिन्थेँ “डाक्टर”।हामी पाँच कक्षामा पढ्दा हामीसँगै पढ्ने साथीले उसलाई लब फेटर लेखेर उसलाई हातमा थमाएको थियो । के हो भनेर उसले सोध्दा मैले तिमीलाई नै दिएको हो पढ्नु भन्यो । स्कुलबाट फर्किदा हामीले बाटोमा त्यो प्रेम पत्र पढ्यौँ । प्रेम पत्रमा यस्तो लेखिएको थियो “ईशा म तिमीलाई माया गर्छु। तिमि राम्री छौं।मलाई तिमी मन पर्छ। ‘अई लभ यु’ ।
पत्र पढि सकेपछि ऊ चिच्याएर रोई। रूदै रूदै घर आएर त्यो प्रेम पत्र माधवी काकीलाई दिई । ममीले पढ्नु भयो र हाँस्दै किन रोएको छोरी नरोऊ। म कृतिका मिसलाई भनेर त्यो केटालाई पिट्न लगाउछु भन्नूभयो । कृतिका मिसको घर र हाम्रो घर नजिकै थियो । भोलिपल्ट माधवी काकीले कृतिका मिसको घर गएर त्यो प्रेम पत्र मिसको हातमा थमाउदै यी बाबुलाई सम्झाई दिनु है भन्नू भएछ।
पहिलो त्यो घटनापछि थाहा भयो प्राय केटा साथीहरू ईशाको पिछा गर्दोरहेछन् । केटी साथीहरू भिडमा हिड्दा केटाहरूले उसलाई नै लक्षित गरेर जिस्काउथे।ऊ रिसाउँथी।कति केटी साथीहरू चाहि ऊ प्रथम भएकोमा इर्ष्या गर्थे । कहिले कहि स्कुल नै नजाउँ लाग्छ भन्थी । हाम्रो उमेर बढ्दै थियो।उमेरअनुसार शरीरमा परिवर्तन आउन थालेको महशुश हुँदैथियो । बोर्डिङ स्कुल पढेकाले पढाइ भने ढिलै जाँदैथियो।मन नलागे पनि मेरो लागि भएपनि ऊ स्कुल जान्थी।
उसको सानैबाटको लक्ष्य नै कानुन पढ्ने थियो । एकदिन हामी सामान किन्न बजार जाँदै थियौँ।बाटोमा उसको हजुरबाको जेठो दाजुको नाति अर्थात उसको दादासँग भेट भयो । दादाको फूपू ममी काकाहरूले खुब तारिफ गर्नु हुन्थ्यो ।अनि उसलाई पनि भित्र भित्रै लाग्थ्यो रे म पनि त्यस्तै तारिफ गर्ने मान्छे हुन पाए… । दादालाई घर जाँदै गर्नु भनी हामी बजारतर्फ गयौँ ।
दादासँग भेट भएपछि ऊ दादासँग धेरै नजिक भएर हरेक कुरा सोधी रहन्थी।त्यो दिन बजारबाट आएपछि उसले उसकोमा जौँभनी । मैले पनि घरमा भनेर उसकोमा गए बेलुका बस्ने गरी।दादा आउनुभएको थियो।हामी टि.भि हेर्दै थियौँ। त्यहि क्रममा उसले दादालाई सोधी “दादा मान्छेहरूलाई न्याय दिन के गर्नु पर्छ ?” दादाले भन्नू भयो “कानुन पढ्नु पर्छ।”उसले फेरि सोधी “कानुन पढेर सकेपछि मान्छेलाई न्याय दिन के काम गर्नुपर्छ ?” दादाले भन्नूभयो ” पिडक र पिडीत बीच वादी र प्रतिवादीको मुद्दामा अदालतमा बहस गर्नु पर्छ ।” ” त्यो बहस गर्न चाहिँ कति पढ्नु पर्छ दादा ?” दादाले भन्नू भयो “एल एल बी”। “यति धेरै पढेपछि के भईन्छ दादा ?” दादाले भन्नू भयो “अधिवक्ता भइन्छ।” त्यस पछि उसले अब अधिवक्ता भन्छु भन्ने ठूलो सपना देख्न थाली र त्यो सपना पूरा गरि छाड्ने अठोट् पनि उतिकै बलियो बनाउन थाली। मसँग हरसमय उसको लक्ष्यप्रति कुरा गरिरहन्थी ।
दशै आउन लागेको थियो। हामी खुसी थियौँ।
धेरै बर्षपछि इशाको बाबा पनि पञ्जाबबाट आउने हुनुभयो ।उसको भने बाबा काकाहरू फूपू सबै भेला भएर इवा मै दशै मनाउने निर्णय भयो । तिहार पछिमात्र झापा झर्ने भएपछि ऊ कक्षा सात मा पढ्दै थिई। होमवर्क सबै इवाको घरमै गर्ने भनेर उसको किताबहरू सबै बोकेर गई।मलाई भने अब दशै खल्दो लाग्यो।यसरी मैले इशासँग भेट भएपछ कुनै दशै ऊबिना एक्लै मनाको थिईन।
तिहार सकिएपछि इशाको बाबा र साइला काका पञ्जाब जाने हुनु भयो।ईशा मधेस आई।हामी खुसी भयौँ। माइला काकाले भने दशै तिहारको बिचमा गाउकै मगरको छोरीसँग विवाह गरेर झापाको घरमा बस्न थाल्नु भएको थियो । माइला काका दमकमा व्यवसाय गर्ने भनेर ईशाहरूसंगै बस्नु भयो । दमकमा खाजा घर खोल्नु भयो । ईशा कक्षा सातबाट बाट पनि प्रथम भई ।त्यतिबेला हामी तेर्ह वर्षको थियौँ।जमानाअनुसार हामीले स्मार्टफोन किनिमागेको थियौँ । बाबाआमाले पनि कुरा बुझेर स्मार्टफोन किनिदिनुभयो।हामीलाई अब मोबाईलको पनि लत लाग्न थाल्यो।हामीले फेसबुक एकाउन्ट खोल्याै।ईमो पनि चलाउन थाल्यौँ ।
आठ कक्षा शुरू गर्दै गर्दा भाइ जन्म्यो भाईको नाम सौगात थियो । भाइ जन्मदा माइला काका काकी दुधेमा घर किनेर त्यतै बस्न थाल्नु भएको थियो । पुन: दशै आउन लागेको थियो।पञ्जाबमा इशाको बाबा बिरामी भएको थाहा भयो । दशैमा आउदा साइलाकाकाले उहाँलाई लिएर आउने हुनु भयो ।यसपालिको दशै हामीहरूले झापा मै मानायौँ । र बाबाको उपचार गर्यौँ । प्रकाश काकालाई जन्डिस भएको रहेछ । त्यसपछि काकाले मान्छे राखेर दमकको खाजाघर चलाउने र माइला काकाकाकी र साइला काका भएर पञ्जाबको खाजा घर चलाउने निर्णय भयो । त्यही हिउदमा उसको साइलाकाको पनि मागी विवाह भयो । विबाह गरेको महिना दिनपछि साइला काका र काकी सुनौंलीमा होटल व्यवसाय सुरू गर्नु भयो । काकी उमेरले बिश नकटेको कारण हामी साथी साथी जस्तो भएको थियौँ ।
सुनौंली नेपाल नै भए पनि धेरै टाढा थियो।तर पनि काकीसँग दिनमा एक पटक ‘इमो’ मार्फत कुरा हुन्थ्यो । ईशासँगै म पनि कुरा गर्थे । मलाई पनि छोरी नै भन्थे सबैले। ईशा र मलाई दिदीबहिनी भन्थे । प्रकाश काका औषधी खाँदै दमकमा आफ्नो व्यवसाय चलाउन मोटरसाइकलको सहायतामा आतेजाते गर्दै हुनुहुन्थ्यो ।एकदिन एक्कासी बेहोस् हुनु भयो।विर्तामोडस्थित विर्तासिटी हस्पिटलमा एक रात आइसियुमा राख्दा, ईशा,माधवी काकी र फुपुमात्र थिए हस्पिटलमा । काकाको होस् खुलेन रे।नखुलेपछि विर्तासिटी हस्पिटलले नोवेल टिचिङ हस्पिटल विराटनगर रेफर गर्यो । साइला काकाले इलामको विक्रम दादालाई सुनौलीबाट फोन गर्नु भएछ । दादा काम परेर विर्तामोड नै आउनु भएको रहेछ । दादा विहानै छ बजे नै विर्तासिटी हस्पिटल आएर फुपुलाई फोन गर्नु भयो। फुपुले भाइ पनि आएछ भनेर सुनाउनु भएिपछि केही सन्तोष भएछ र दादाले नै सबै कुरा मिलाउनु भयो ।
त्यसपछि प्रकाश काकालाई एम्बुलेन्सबाट विराटनगर लाने भएछन्। साइला काका सुनौलीबाट विराटनगर बेलुकासम्म आईपुग्छु म यहाबाट हिडेँ भनेपछि दादाले भन्नु भयो रे नानीसँग हुनुहुन्छ काकी तपाईं नजानु तपाई र ईशा झिलझिले ओर्लीएर घर मै बस्नु । फूपू र म जान्छौँ । डराउनु पर्दैन काकालाई ठिक हुन्छ।त्यसपछि ईशा,भाइ र काकी झिलझिले घर आउनुभो। आउनेबित्तिकै म उसलाई भेट्न गएँ। ईशाले अनुहार निदाउरो बनाएर मलाई सबै भनी।सब ठिक हुन्छ चिन्ता नगर भने।त्योरात म ईशाकोमै बसेँ।
नोभेल हस्पिटलमा नि दुईदिन लगातार आईसियुमा राख्दा मात्र काकाको होस खुलेछ । सात दिनपछि प्रकाश काकालाई हस्पिटलबाट डिस्चार्ज गरेर साइला काका,फूपू र दादाले घर लिएर आउनु भयो । बाबालाई घर ल्याई पुराएर विक्रम दादा मरो भोलिदेखि मेलाको प्राेग्रामको लागि एग्रिमेन्ट सहित एड्भान्स पनि लिएको छ भनेर इलाम तिर लाग्नु भयो । प्रकाश काका र साईला काकाले सल्लाह गर्नु भयो सुनौँलीको होटेल भन्दा दमकको खाजा घर नै बढी नाफामा छ ।त्यसैले प्रकाश काकाले साईला काकालाई आफू निको नहुन्जेल सुनौँलीको होटेल बेचेर दमकको खाजा घर चला भन्नुभएछ। काकाले पनि त्यसै गर्ने निर्णयले भोली पल्टै सुनौँली जाने योजना गर्नुभयो ।
भोलिपल्ट बिहानै काका पाँच दिनभित्र उताको होटल बेचेर काकीलाई पनि लिएर आउने भनेर हिड्नु भयो । छ दिनपछि काका आउनु भयो । साइला काकाले दमकको व्यवसाय सुचारू गर्नु भयो ।प्रकाश काका औषधी खादैँ आराम गर्दै हुनुहुन्थ्यो ।एकदिन ईशा म र बहिनी स्कुलबाट आउदा घरमा कोलाहल थियो । प्रकाश काका फेरि बेहोस् हुनु भएछ । साईला काका दमकबाट एम्बुलेन्स लिएर आउनु भयो र प्रकाश काकालाई फेरि विर्तासिटी हस्पिटल लिएर काका र फूपू जानू भयो तर विर्तासिटीले बिरामी लिएनछ र त्यता त्यतै नोवेल हस्पिटल बिराटनगर लिएर जानुभएछ । पाँच दिन आइसियुमा राखेपछि काकालाई साधारण बेडमा सारियो केही ठिक भए जस्तो भयो रे।डाक्टर रिपोर्ट आएछ कलेजो र किड्नी दुबै फेल भएको । “किड्नीमात्र भए चाहिँ फेर्न मिल्थ्यो कलेजो पनि भएको काराण विरामीलाई उपचार नलाग्ने अवस्थामा छ “डाक्टरले अब औषधिले जति काम गर्छ त्यतिन्जेलसम्म हुन्छ भनेपछि साइला काका र फुपुले प्रकाश काकालाई लिएर आउनु भयो । माइला काका पनि पञ्जाबबाट आईपुग्नु भयो आफ्ना आफन्त सब दुधेको घरमा भेला हुनुभयो । काकालाई ३ दिनसम्म सबैले रूगेर राखे।अनत: काकाले हामी सबैलाई छोडेर जानुभयो ।
काकाको तेह्रदिनको काम पछि हाम्रो आठ कक्षाको परीक्षा आयो।बाबाको मृत्युले ईशामा तनाब शुरू भएको थियो।घरको जिम्मा अब माधवि माकी र घरकी जेठी छोरी भएका कारण ईशाको काँधमा आएको थियो।समाजले पति मरेकी पत्निलाई कुन तरिकाले हेर्छ हामीलाई थाहा थियो।माधवि काकी बेलाबेला बरबराउन थाल्नुभएको थियो।हामी हिम्मत दिन्थ्याै।म झन् हरसमय ईशासँगै हुन थालेको थिएँ।
जस्तै परेपनि मान्छेले सहनै पर्ने रहेछ।परीक्षा सकेपछि आमा,ईशा र बहिनी भाइ तेह्रथुम इवाको घर गए । जहाँ ईशाको हजुरबा हजुरआमा र कान्छा काकाकाकी बस्नुहुथ्यो । त्यसपछि हाम्रो भेटघाट फोन कल र च्याटमा मात्र हुन थाल्यो।मेरो प्रतिबिम्बमा चलचित्रझैँ बनेर अतीत घुम्दै थियो तर ती सबमा कतै पनि ईशाले आत्महत्या गर्नुपर्ने कारण देखिन।
अकस्मात सम्झेँ ईशा आफ्ना महत्वपूर्ण कुराहरूलाई सँधै डायरीमा टिप्थि।सानैबाटको बानी थियो उसको यो।आखिर १६ बर्षकै उमेरमा आत्महत्या गर्नुपर्ने के पर्यो त्यस्तो उसलाई?परेकै भए पनि मसँग भन्न सक्थि।घरमा कुरा राख्न सक्थि मर्नैपर्ने के थियो?म गनगनाउँदै थिएँ।अब सानो आशा डायरिमा झुन्डेको थियो।म डायरी खोज्न थालेँ।
खोज्दाखोज्दै खाटमुनि कुनामा खसेको अवस्थामा एउटा डायरी भेटेँ।त्यो ईशाको डायरी थियो।सानोभन्दा सानो सबुत पनि अपराधिलाई कठघरामा लान सक्ने ठूलो खुट्किलो थियो।मैले बाङ्गो परेर भएपनि खाटमुनिबाट डायरि झिकेँ र पल्टाएर पढ्न थालेँ।अन्तत: मेरो प्रश्नको उत्तर त्यहीँ भेटियो।डायरीको अन्तिमका केही पानामा लकडाउनपछि घर गएपछिको घटना यसरी उल्लेख थियो;
” कोरोना भाइरस लकडाउनका कारण म झिलझिलेबाट आमा र भाइ बहिनिसँग तेर्हथुम इवाको घर आए।गाउँको बसाइ रमाईलो हुँदैथियो।गाउँमा पनि हाम्रो जग्गा छ,खेतिपाति छ।गाईबस्तु पनि पालेको छौं ।छिमेकमा एक जना भाउजू हुनुहुन्थ्यो ।मलाई धेरै माया गर्नु हुन्थ्यो।भाउजुको बालबच्चा थिएन।दाइ भने विदेशमा रोजगारी गर्नु हुन्थ्यो । दाजु विदेश घरमा सासू ससुरा मात्र भएकाले बेलुका बेलुका भाउजुकै घरमा सुत्न बोलाउनु हुन्थ्यो ।गाउँमा साथी पनि कोहि नभएको बेला भाउजुले बोलाउँदा म पनि जान्थे।मेलापात गाउँमा राम्रै चल्दै थियो।यसरी नै दिन बित्दै गए।झिलझिलेमा मेरि मिल्ने साथी थिई इभा । ऊसँग पनि फोन कल,’इमो’ च्याटमा बेलाबेला मात्र कुरा हुन्थ्यो ।
तीन महिना पछि भाउजुले एकदिन मसँग हाकाहाक्की भन्नु भयो मरो भाइ छ । मरो भाईको नाम असोक प्रधान हो । फिदिम हो घर।बाह्रको परीक्षा दिन पाएन कोरोनाको कारण । तिमीहरू फेसबुकमा साथी बन अनि कुरा गर।मैले भाजुको कुरामा केही प्रतिकृया दिन ।भोलीपल्ट फेसबुक खोल्दा असोक प्रधान नाम गरेको फेसबुक आइडीबाट फ्रेण्ड रिक्वेष्ट आएको रहेछ । मैले एसेप्ट गरिन । बेलुका भाउजुसँग भेट हुदा भन्नुभयो मरो भाईले रिक्वेष्ट गरेको रहेछ एसेप्ट गर रे। बोल साथी साथीको पवित्र साइनोले बोल्दा के नै हुन्छ र ? मरो भाइ हो नडराऊ। मैले एसेप्ट गरे।उसले म्यासेज गर्यो।बोलेँ। परिचय भयो।सामान्य बोलचाल भयो । केही दिनपछि भाउजुले मरो भाइ यहाँ आउदैछ भन्नुभयो। भाउजुको भाइ विहान दश बजे तिर आएको रहेछ।बहिनी र म एघार बजे भाउजुकै घरको बाटो मावल गयौँ।त्यो केटासंग देखादेख भयो।बोलचाल भएन। चालीस मिनेटको लगातार हिँडाई पछि मावल पुगेर थकाई मारेर फेसबुक खोल्दा त्यहि केटाको म्यासेज आएको रहेछ । “तिमीलाई देखे नि मैले धेरै राम्री रहेछौं हिरोइन जस्तै।” लेखेको थियो। मैले केही जबाफ दिइन। चार दिन मावल बस्दा त्यो केटाको म्यासेज आइरह्यो। सम्मानका साथ इज्जत गरेर राम्रो बोल्यो बोल्न बाध्य भएँ ।बोलेँ। पटक पटक नम्बर माग्थ्यो तर मैले नम्बर दिइन । म घर आएपछि भाउजुसँग भेट हुँदा भाउजू उसैको बखान गर्नुहुन्थ्यो।यस्तो ट्यालेन्टेड छ उस्तो छ आदि आदि।
भाउजुले मरो नम्बर त्यस केटालाई दिनु भएछ ।कल आयो उठाउदा त्यो केटो रहेछ । तीन चार दिनपछि त्यो केटाले भद्र शैलीमा मसँग प्रेम प्रस्ताव राख्यो । मैले आफ्नो लक्ष्यको बारेमा सबै भनेर म यो कुरा स्वीकार्नै सक्दिन भने । फोन काटेँ । त्यसपछि बारम्बार कल गरेर त्यहि कुरा दोर्याउन थाल्यो नम्बर नै ब्लक गरिदिए । आमासँग घाँस काट्न गएको बेला यो घटना सबै सुनाएँ।”अब देखि त्यो भाउजुको संगत नगर नानी त्यस्को गाउभरी नराम्रो हल्ला मात्र सुनेको छु । अस्ति आफ्नै भाइ भनेर को केटा पनि ल्याएको थिइ रे । त्यस्को भाई होइन रे त्यो केटा” भन्नुभयो। घाँस लिएर आमा र म आयौँ । त्यहाँ देखि भाउजुको संगत छोडिदिएँ मैले।आफ्नै काममा व्यस्त हुन थालेँ।
एकदिन मोवाइलमा म्यासेज आएको रहेछ त्यहि केटाको । मरो प्रपोज स्विकारिनस् भने तेरो बेईजेत गर्दिन्छु भनेको रहेछ । मैले केही वास्ता गरिन । ‘इमो’मा त्यहि पल्लो घरको दाई अर्थात त्यहि भाउजुको श्रीमान मसँग ‘इमो’मा जोडिनुभयो । कल गर्नु भयो । केही छिनको सन्चो विसन्चोको कुरा भएपछि दाजुले भाउजुसँगको कुरा जोड्नु भयो। बहिनी भाउजु कोसँग बोल्छ ? जहिले ‘इमो’माविजीमा देखाउछ । “दाजुले भन्नुभो।मैले भने “खोई दाजु थाहा छैन ।” दाजुले बोल्दै गरौँ ल बहिनी भनेर कल राख्नुभयो । त्यसपछि मरो मनमा भाउजुको बारेमा कुरा खेल्न थाल्यो । त्यति राती सम्म ती भाउजू कोसँग बोलेकि होलिन् ? आफ्नै श्रिमानसँग बोले जस्तो घरिघरी त सुन्नै नसक्ने गफ पनि गरिरहेकी हुन्थिन्।मैले पनि सुनेकी थिएँ। आमाले पनि गाउँभरी नराम्रो हल्ला छ भन्नू हुन्थ्यो । मलाई पनि त्यो केटासँग बोल्न लगाएर फसाउन पो खोजेको होलिन्। मनमा शंका पस्यो । त्यो दिन त्यतिकै त्यस्तै कुरा मनमा खेलाउदै बित्यो । बेलुका सुत्ने बेला मरो प्रस्ताव स्वीकार्ने कि नस्विकार्ने भनेर म्यासेज आयो । मैले रिप्लाई गरेँ प्लीज अब देखि मलाई यस्तो कुरा नगर्नु कल म्यासेज केही पनि नगर्नु ।उताबाट फेरी म्यासेज आयो स्वीकार्दैनस् भने तेरो समाजमा मुख देखाउनै नहुने गरी बेइज्जत गरिदिन्छु त्यो बेला त मसँग निउरेर आउनु पर्ने छ ।” मैले केहि रिप्लाई गरिन ।त्यत्तिकै सुतेँ।
भोलिपल्ट विहानको खाना बनाउने काम मरो पर्यो । खाना खाएपछि सबै कता कता लाग्नु भयो। आमा पनि भाईलाई लिएर म आए पछि नल काट्नु पर्छ है भनेर हेल्थपोष्ट तिर लाग्नु भयो । म एक्लै थिए घरमा।भाँडा माझीसकेपछि मोवाइल हेर्दा म्यासेज आएको रहेछ त्यहि केटाको। “यौँन सम्बन्धि जानकारी पेज सर्च गरेर हेर तेरो कतिसम्म बेइज्जत भएको छ ।” लेखेको थियो। मलाई थाहा भयो वास्तवमा ती भाउजू र त्यो केटा यस्तो पोर्न ब्लग चलाउँदा रहेछन्।मलाई पनि फसाउन खोजेका रहेछन्।मैले नमानेपछि यो सब गरेका रहेछन्। म्यासेज देखेपछि मनमा झस्का पस्यो पेज सर्च गरे हेरे तीन हजार भन्दा पढीले पेजलाई लाईक फलो गरेका रहेछन । त्यस पेजको प्रोफाईल पिक्चर मरो आफ्नै फोटो एडिट गरेर पोष्ट गरेको रहेछ।जीउ नग्न थियो टाउको भने मेरो थियो।
फोटोमा आएको कमेन्टहरू सहन सकिन ।ब्रहमाण्ड अँध्यारो भयो।परिवार सम्झेँ।पुरूषवादी समाज सम्झेँ।
मैले समाजमा केटी,महिलाहरूको अवस्था देखिसकेको थिएँ।समाजको हेर्ने नजर पनि देखिसकेको थिएँ।कानुन र न्याय पनि देखिसकेको थिएँ।एसिड आक्रमण भएका युवति र महिलाहरू,रेप गरेर मारिएमा युवती र बालिकाहरू सम्झे।अनि खाफूलाई सम्झेँ।यो समाजले मलाई न्याय देला भनेर सोच्न सकिन।त्यसै त हामिलाई तल्लो जात भनेर पटक पटक जिउँदै मारिन्छ । त्यस भित्रको नि महिला ।
समाजले भोलि मलाई थुक्नेछ तर दोषी पुरूष खुलेआम घुम्नेछ। किनकि ऊ “छोरो मान्छे” हो।ऊ त्यही छोरो मान्छे हो जसले फेरि पनि पटकपटक मजस्तै चेलीको इज्जत उतार्नेछ।अब म ढोका थुनेर सल टिप्दैछु अनि बिदालिँदैछु यो समाजबाट सँधैको लागि।फेरि पनि चेलीहरूले सल टिप्नेछन् किनकि यो समाजले बाँच्न दिनेछैन।यो समाज अनि समाजको संस्कार, सोच,नीति,नियम र दृष्टिकोण कहिल्यै बदलिँदैन।कहिल्यै……।पटक पटक भइरहनेछ नारीको चरित्रहत्या अनि पटकपटक बाध्य बनाइने छ आत्महत्या गर्न पनि….।”
अन्त्यमा चिठीमा सही गरिएको थियो।म स्तब्ध भएँ यो पढेर।यो चिठी मेरो लागि अपराधिलाई कठघरामा पुर्याउने ठूलो सबुत थियो।यो चिठी म अब कानुनसमक्ष पुर्याउनेछु। आज ती भाउजू पनि मेरो साथीको इज्जत र सपनामा श्रद्धाञ्जली दिन आएकि नै होलिन्।यो पुरूषवादी समाजमा उनीजस्ता महिला नि छन्।जो महिला भएर महिलाकै दुस्मन बनिदिन्छन् । अब म दिनेछु मेरो साथीलाई न्याय।मेरो जिन्दगीको बाटो बदलिनेछ अब।कठोर तपस्या गर्नेछु।म दिनेछु दोषीलाई सजाय।म गर्नेछु साथीको सपना पूरा।म बन्नेछु अधिवक्ता।मेरी साथी त रहिन तर अब म दिनेछु मेरा साथीजस्तै पिडित अरूलाईड न्याय।समाज र इज्जतको डरले आत्महत्या गर्ने छैनन्।आत्मविश्वास जगाउनेछु म।लड्न सिकाउनेछु।यो सब सङ्कल्प गरिरहँदा अब म भित्र डर हैन एउटा संकल्प जन्मिरहेको थियो।दृढ सङ्कल्प।
लेखक परिचय
नेपाली सहित्य लेखनमा नव प्रतिभाको रुपमा उदाएकी लुईटेल विशेषगरी कथा विधामा कलम चलाउँने गर्दछिन् ।
कथाले मन छोयो । कथाकार ज्यूले कथालाइ साच्चिकै कलात्मक तरिकाले प्रस्तुत गर्नुभएको रहेछ । नेपाली समाजमा भएका गतिविधिलाई प्रस्तुत गरिएको कथामा महिलाको अवस्थाको चित्रण गरिएको रहेछ । सम्पादकीय हिसाबले केही शब्दमा त्रुटी देखियो जस्तै मेरो हुनुपर्ने मरो छ अनि किराना पसल को सट्टा किनारा भएछ । अन्तत् कथा समयसापेक्ष छ । भावना जिलाइ सुभकामना । अझेै उत्कृष्ट कथा लेख्नुहोला ॥