फेब्रुवरी १४
हप्तादिन अघिदेखि उपहार बेच्ने पसलहरू रातो रंगले सजीसजाउ भएकाछन्। फुल बेच्ने दोकान अंगालो भरीभरीका गुलाबका गुच्छाहरूले भरीभराउ छ। मुटुका आकारमा फुलाइएका बडेमानका राता बलुनहरू हावामा झुलीरहेका छन्।
व्यस्त सडकमा तछाडमछाड गर्दै हुँइकिरहेको एउटा बसको झ्यालबाट कार्यालय ओहोरदोहोर गर्दा देखीरहन्छु यी सब दृश्यहरू। मन अमिलिएर आउँछ र तिमीलाई सम्झन्छु,—“हाम्रो सम्बन्ध आजसम्म यथावत रहेको भए, यी मध्येका कुनै एउटा गुलाफ तिमीलाई प्रेम उपहार भनेर साइबर तरंगहरूबाट टक्राउने थिए । अर्थात पठाउने थिए ।”
आज फेब्रुवरी १४ तारीख, फागुन २ गते, प्रेम दिवस रे । आगन्तुक संस्कार नै भए पनि वरिपरिका सबै, सबैले यहि चिजलाई जोड दिन थालेपछि मानव स्वभाव न हो, आफूलाई पनि चासो हुँदो नै रहेछ। हेर न, आजको माहोल निक्कै नै प्रेमील देखीएको छ। मायालु भएर अधबैशेहरू पनि सडक किनारामा हिँडीरहेका छन्। उनीहरुको अनुहारमा निक्कै कान्ति छाएको छ। यसरी हिँडने धेरै जनाले व्यस्तताको कारण साँच्दै आएको पलहरूलाई यसरी उपयोग गर्दै होलान् आज। तर एक अर्कामा प्रेम भएपछि प्रेम ब्यक्त गर्ने दिन नै किन कुर्नु होला?
चोकमा पुगेर बस ट्राफिक जाममा पर्यो। ढुँइ ढुँइ गर्दै हरियो बत्तीको पर्खाइमा पछाडीबाट पिरो धुवाँ फाल्दै बसिरहन्छ। ऊ एकैछिन लेख्न छोडेर घोत्लिँदै बसि। हरियो बत्ती बल्यो, बस पुन गुड्न सुरु गर्यो। उसले पनि लेख्न थाली।
“यतिबेलाको यो मेरो यात्राभरि, पृथ्वीको कुनै एक कुनामा बसेर तिमी मसँग प्रेमानुभूति बाँडीरहेको हुन्थ्यौ। तिमी साथ भएको कोरा कल्पनामा बिचरण गर्दै, म प्रेमील संवादहरूमा पुलकीत हुँदै यो यात्रामा हुन्थेँ। तिमीसँगको मेरो संवादले बसका यात्रुहरूलाई झन्झट गराउँदथ्यो र उनीहरु ठुला, ठुला आँखा फुलाएर हेर्थे मलाई । तै पनि म बोलीरहन्थेँ, हात हल्लाउदै जोड जोडले गफिइरहन्थेँ तिमीसँग।”
“प्रेमील बस यात्रा, त्यसरी धेरै त गरिनछु। मात्र डेढ बर्ष । तर यहि डेढ बर्षमा पनि नशालु चिजको आदत झैं बानी परिसकेछ, तिमीसँग बात गर्दै अफिसको गेटसम्म पुग्ने र अफिसको गेटबाट घरको गेटसम्म पुग्ने । हिजो आज निरस लाग्छ जीवन । धुमधुम्ती बस चढेर कार्यालय जाने र उसै गरी घर फर्कने ।”
“हुन त कुनै एकदिन हुनुपर्ने त यस्तै नै थियो होला । अकारण,अनाहकमा बसेको संवादरूपी माया, प्रेम नै थियो पनि कसरी भन्नु? तिमीलाई यस्तै लाग्यो होला र त ती सबै माध्यमहरू बन्द गरिदियौ, र मबाट टाढा भयौ ।”
“हाम्रो संवादहरूको अवसान भएको पनि आज एक महिना पुरापुर भएछ । तिमीले आजैको दिन महिना पुग्ने अडकल गरेरै बन्द गर्यौ कि कसो ती माध्यमहरू? कि एउटा संयोग मात्र थियो?”
एकैछिन लेख्न रोकिएर झ्याल बाहिर हेरिन् । ताकि, बाहिरका दृश्यहरूले उसको टिलपिलाएको आँखाका आँसु झर्नबाट रोकोस् ।
यतिकैमा, हुँइकीरहेको बसले बिपरीत दिशाबाट आएको मोटरबाइकलाई झण्डै ठक्कर दियो र घ्याच्च ब्रेक लगायो। लेख्दै गरेको ऊ हुत्तिएर ढोकासम्मै पुगी। डायरी उछिट्टिएर पल्लो सिटको मुनि उत्तानो पर्यो। दायाँ हातको कान्छी औला मर्कीयो क्यार, निक्कै नै पिडाबोध गर्दै छामी र डायरीमाथि दृष्टीपात गर्दै भनी— “दाइ ! प्लिज डायरी उठाइ दिनुस् न।”
ठुलो भुँडी भएको त्यो पुरुष मुश्किलले निहुरिएर डायरी टिप्यो, सोध्यो— “के लेख्नुभको बैनी अघिबाट?” मसक्क मस्कँदै हातको डायरी पढ्ने कोशिस गर्यो।
“हैन हैन दाइ दिनुस प्लिज।” मोटो मान्छेको हातबाट डायरी फुत्त खोसेर लिइ, र सिटमा गएर बस्दै क्रोधीत भएर ड्राइभरलाई भनी— “गुरु जी! बिस्तारै हाँक्नु भए पनि पुगिन्छ के । बिस्तारै हाँक्नुस न।”
बसको स्टेरीङ्ग घुमाउँदै गरेको ड्राइभरले पर्लक्कै आँखा पल्टाएर भन्यो,— “रहरले गर्या हुँम र बाठो हुनु पर्ने? कुदाउने तपाई की म?”
“कुदाउने तपाई नै हो र त भनेको” ड्राइभरतिर पुलुक्क हेरेर तेति भनी र डायरीमा लागेको धुलो टकटकाउँदै चुप भएर बसी । थप बोल्न उचित ठानिन ।
एउटाले पछाडीबाट घटनाको प्रतिक्रिया दिँदै बोल्यो—“बज्या ! तरुनी भेट्न हतारीएर कुद्या होला । दायाँ बायाँ नहेरि यसरी नै कुद्यो भने यल्ले आज तरुनी भेट्न पाउँदैन ।”
उसको छेउकोले ओठ लेब्र्याउँदै थप्यो,—“कोनी आज के रे, भिलेटीन डे अरे नि । नेपालीले जान्याछन् अर्काको चलन टपक्क टिप्नु ?”
उनीहरुको अग्रपंक्तिको सिटमा बस्ने युवा र युवतीले एक अर्कालाई हेराहेर गर्दै ओठ लेब्र्याए । युवतीले युवकको पाखुराभित्र आफ्नो हात घुसारेर बसिरहेकी थिइ ।
वरिपरि पल्याकपुलुक हेरेर पुन लेख्न थाली—“तर अझ पनि बिर्सिन सकेको छैन तिमीलाई । तिमीले गरेका संवादका शब्दवाजहरू प्रतिध्वनित भएर कानमा गुन्जिइरहन्छन् । तिम्रा नरम र सेता हातहरू, खिरिला लामा लामा औंलाहरू र बदामी आँखाहरू मेरो मष्तिस्कमा चित्रित भएर बसेका छन् । ती चित्रहरू आँसुको भेल जति जति उर्लँदो हुन्छ, उति निख्खर र ताजा भएर सामने घुमिरहन्छ । तर तिमी त बुझ्दैनौ यी मेरा छटपटी र पिडाहरू । बुझ्थ्यौ भने त, कुनै जिवले आफ्नो काँचुली बेपर्वाह छोडेर अन्यत्र मोडिए झैं बेठेगान हराउँदैनथ्यौ होला ।”
“ती पलहरूमा घोट्टाको जस्तै मादकता थियो । अझ माया लागेर आउँछ तिनीहरूको । त्यसैले, तिमीलाई भन्न बाँकी कुराहरू, बुझ्न मन लागेका जिज्ञासाहरू र तिमीसँगका उत्कुण्ठाहरू डायरीका यी पानाहरूमा लेखेर सुरक्षित गर्न चाहेको छु ।”
“हुन त, अहिलेको यो नयाँ उपयोगहरूको माध्यमद्वारा (जस्तो मेसेन्जर, भाइबरहरू) यी गुनासाहरू तिमीसम्म पुर्याउन त सक्थे नै होला । तर तिनीहरूको ताल्चा तिमीसँग छ, जुन ताल्चा भोटे ताल्चाभन्दा खुङ्खार बजबुत छ । त्यसलाई फोडेर तिमीसम्म पर्वाह गर्ने खुबी मसँग छैन । र यो सम्बन्ध जति अनुपम भए पनि यसको बृहत फैलावट तिमी र मसम्म मात्र थियो । फेरी तिमी छौ, समुन्द्रपारी कता हो कता ।”
“लाग्न त मलाई लाग्थ्यो नि। तिमी पनि मलाई असाध्यै प्रेम गर्छौ, चाहन्छौ । मेरो सम्झनाले तिम्रो मष्तिस्कमा बेलामौका जग्गा बनाउँछ । तर सब भ्रम मात्र रहेछन् । तिमीसँगका प्रेमील कल्पनाहरू सिर्फ म मात्र बुन्दोरहेछु । मेरो मात्र नयन नगरिमा नाँच्दोरहेछ ती दृश्यहरू।”
“अँ साँच्ची, छोटो समयमा बाचाहरू के के गरेको थियौ ? सम्झनासम्म त छ होला ? अर्थात छैन भने पनि यति झुटा बाचाहरू त्यो मनमा कसरी उत्पन्न भयो र मलाई कहन सक्यौ ? त्यतिकै कुण्ठित र भावविव्हल श्वरमा भनिरहेको हुन्थ्यौ, जुन ध्वनीको तरंगहरू मेरो हृदयसम्म पुग्थे ।”
“हुन त हिजो आज बाचाहरू, देखाइने सपनाहरू, निक्कै नै सस्ता र झुटा हुन्छन् । कुनै एउटा वातावरणले खिचेको बेला भावनाको आवेगमा बगेर गरेका तिम्रा बाचाहरू, सायद अर्को दिन दिमागले गलत ठहर्याइदियो र तिमी पन्छिने उपाय र प्रयासहरूमा लाग्यौ होला । मैले पनि ती बाचाहरूलाई सत्य मानेर त्यसैको परीकल्पनामा आफूलाई समाहित गर्नु बुद्धीमानी त पटक्कै थिएन । तर मैले तिमीसँग प्रेम बुद्धीले होइन, हृदय र मुटुले गरेको थिए । यो पनि त हो, सम्पुर्ण जगत विश्वाशले नै अडिएको हुन्छ, अझ माया, प्रेम र सम्बन्धहरू बिश्वासकै अदृश्य डोरोले बाँधेको हुन्छ । जुन डोरोको तरङ्गहरू हृदयबाट झङ्कारित भएर तिमीसम्म तरङ्गिदै पुगेका थिए ।”
“ओ म्याडम !” कन्डक्टरले आवाज लगायो ।
ऊ आफ्नै धुनमा मस्त रहि। कन्डक्टरको आवाजलाई ख्याल गरिन ।
पाखुराबाट झकझकाँउदै, “ओ म्याडम ! तपाई होइन ओर्लिने ?” चर्को आवाजमा सोध्यो ।
हँ! झसङ्ग झस्किँदै “हो, हो भाइ रोक्नु। म ओर्ली हाल्छु ।” हतारिँदै पहेलो खोल भएको डायरी बन्द गरेर ब्यागको लामो तुना काँधमा अड्याउदै बल्खु चोकमा ओर्लिइ।
कन्डक्टरले ओठ लेब्ब्राएर मुन्टो बाङ्गो पार्दै परसम्म हेरि पठायो र ऊ देखिन छोडे पछि फुसफुसायो—
“के के खालका मान्छे होलान् । पैले पैले यै बस चढ्दा कानमा इयरफोन घुसारेर मस्किमस्कि बात गर्दै हुन्थी । अइले बौलाहीजस्ती ओर्लिने ठाम बिर्सेर के के हो के के लेखि बस्छे ।”
००० ००० ०००
“हेर न, आज एक सहेली बिदा बसेकीले म अफिसबाट चाँडै निस्किन पाइन । आज दिनभरि तिम्रै सम्झना मात्र आइरह्यो । काम गर्दागर्दै मन भक्कानिएर बाथरुम छिर्दै निकै पटक रोएँ । खै किन हो अकारण मन दुखेर हिक्का छुट्न खोज्छ । म छलिएर आँसु पुस्छु ।”
“म अहिले कोचाकोच भएको बसको अगाडीको सिटमा बसेको छु । उभिनेहरूको आधा बोझ मेरो शरीरमाथि परेको छ । लेख्न निकै नै सकस भइरहेको छ । नलेख्दा पनि हुने थियो । तर हातैमा डायरी छ । मन निक्कै गह्रुङ्गो भएको छ। यहि एउटा डायरी त छ जीवनमा, दुखको बिसौनी, बोझहरूको बिसौनी ।
“सुन न, मैले यसरी लेख्दै गर्दा सबैले मैतिर हेरीरहेका छन् । मैले लेखेको शब्दहरू प्रत्येकको ओठले फुसफुसाइरहेको छ । तर पनि म लेखीरहेको छु । मनका बोझहरू कम भएको अनुभूति गरीरहेको छु ।”
“ओ दिदी !” उसको मुखैमा अनुहार लगेर कन्डक्टर करायो।
पुलुक्क हेरी ।
“तपाई उठ्नुहोस् त । यी नानीको आमालाई बस्न दिऊँ । के सारो हो, यस्तो भिडमभिडमा त नपढ्दा नहुने ?” कन्डक्टरले गनगनाउदै ढोका ढाप ढाप पारेर बसलाई गुडने संकेत दियो ।
“ओहो ! पख्नुस् है ।” डायरी काखीमुनि च्यापेर उठी, भनी— “लु आउनु दिदी बस्नु ।”
ऊ उठेर नानीको आमालाई छोडीदिएको सिटमा अडेसा लागी, र बाहिरी सडकपेटीका दृश्यहरूमाथि दृश्यावलोकन गर्दै उभीइ । चोकमा एकैछिन बस रोकियो । अली परबाट एक जवान युवती ठुस्स परेको अनुहार बोकेर बसतर्फ लम्कँदै आइ। पछाडीबाट एकजना उसैको दमाले युवा “पख न पख” भन्दै पछ्याइरहेको थियो । केटी बसमा उफ्रेर छिरी र गालामा झरेको कपाल कानमा सिउरीँदै यताउता पल्याकपुलुक हेरी अनि बसको टाडमा समाएर उभीइ।
केटो खिन्न भएर ओठ चाम मार्दै अन्योलतामा बाहिरै उभीइरह्यो । बस गुड्यो । केटो तन्किदै बसभित्र युवतीलाई हेर्न खोज्दै थियो । त्यो युवकलाई पार गरेर बस गुडीहाल्यो । ऊ त्यहि रह्यो ।
“यी दुइ जनाको असहमती कुन बिषयमा भएको होला ? अब यिनीहरूको पुनर्मिलन हुन्छ होला र ?” आफैँलाई प्रश्न गरी ।
००० ००० ०००
“यतिबेला रातहरू निकै चिसा छन् । आकाशमा मधुरो चन्द्रमा उदाइरहेको छ । म कौसीमा बसेर तिमीलाई सम्झीरहेको छु । पानी पर्ने संकेत दिउसोबाट नै थियो, पानी पर्यो भने चिसो अझ बढेर आउनेछ र यी हातगोडाहरू निक्कै नै ठिहिर्याउनेछ ।”
“अहिले चिसो बतास पनि चलिरहेको छ । मेरो कौसीबाट देखिने सयौँ बर्ष पुरानो कपुरको रुखबाट सरसराउँदै पातहरू झरेको आभास गर्दैछु । अँ ती पातहरू पहेँला भएका थिए । बिल्कुलै पहेँला। मेरो अनुहारजस्तै पहेँलो…। तर ती पातहरू अहिले भुँइमा झर्दै गर्दा नयाँ जीवनहरूको आगमनको निमित्त झर्दैछन त्यसरी । बसन्त ऋतुसँगै जवान भएर आउँदछ त्यो फेरी । तर मेरो अनुहारको पहेँला रंगहरूले मलाई चिताको समिप तानिरहेको छ ।”
“के यी मेरा पिडाहरू अहिले तिमी महसुस गर्दैछौ ? तिमीलाई पनि मलाईजस्तै विछोडका रापहरूले छटपटि गराइरहेको छ कि ? मेरोजस्तै आँखाका नानीहरू रंगबिहिन फोस्रा भएका छन् ? के आँखाका डिलहरू सुन्नीएर बोझिला महसुस गर्दैछौ ?”
“तर छैन होला, नहोस् पनि । तेति बिधि पिडामा छट्पटीएर, निस्सासिएको कल्पना गर्न सक्दिन, किनभने अझै म तिमीलाई हृदयको अन्तर कुनाबाट माया गर्छु । थाहा छ तिमीलाई ? ती छटपटीहरू सहन गर्न ज्यादै नै गाह्रो हुन्छ । जो मलाई अहिले भइराखेको छ । ती पिडाहरू सहन गर्ने क्षमता वृद्धीमा तिमी आफ्नो समय र बिचारका नसाहरूलाई नदुखाउ ।”
“जीवन अनुपम छ, जीवनमा यथेस्ट चाङ्ग परेर बसेका छन् आत्मातृप्तिहरू । ती मध्ये एउटै मात्र तिब्र ईच्छा , तिम्रो मुलायम र सुन्दर हातका मसिना औंलाहरूको स्पर्श अनुभूत गर्नु थियो । तिम्रा आँखाहरूको अतल गहिराइ हुँदै तिम्रो हृदय सागरभित्र बिचरण गर्नु थियो । बस, यति नै मात्र त थियो । तर तिमी अकस्मात हराइदियौ ?”
“अझ पनि म आफैलाई प्रश्न गर्छु, अहंकारले हाम्रो प्रेमका सुन्दर मुनाहरूमाथि तुषारापात झारिदिएको हो की ? हिउँले पुरेको बिरुवाहरू जस्तै आङ्गभरि चिसो खन्याएको हो ? अर्थात यी प्रबिधीहरूले तिमीलाई भावनारहित, हृदयहीन बनाएर हो ? यदि त्यसो नै हो भने, तिमी आफ्नो अहंकारलाई मिल्काएर भावगम्य बनेर फेरी आउन सक्छौ ?”
“ हिउँले पुरेका बिरुवाहरूले ग्रीष्मका तातो बाफहरूभित्र आफ्नो जीवन यामहरू पाए जस्तै, ग्रीष्म फिरे पछि हिउँले पुरेको कयौँ बोट बिरुवाहरूले नयाँ जीवनका आयामहरू हवामा लहराएजस्तै, हाम्रो प्रेमले पुन: एकपल्ट मौलाउने मौका पाउन सक्छ ?”
यति लेखेर गहिरो सोचमा परि। दाँया खुट्टाको पन्जाले बाँया खुट्टाको पन्जालाई छोप्दै कुक्रुक्क परी । उसको दुबै गोडाहरू काँपिरहेका थिए । एकैछिन आकाश तर्फ फर्केर ताराहरूको धिपधिपा हेरि । “ताराहरु कति पातला लाग्दा रहेछन्” सोची ।
नैराश्यतापुर्ण लामो सास फेरेर पुन लेख्न थालि— “खुट्टाका औँलाहरू ज्यादै ठिहिर्याइरहेको छ चिसोले । मोजाले यो चिसोलाई निस्तेज गर्न सकेको छैन । मेरो बैगुनी कलरको पछ्यौरीले शरीरलाई केहि न्यानो गराइरहेको छ । तर खुट्टाका औँलाहरूबाट उक्लेका चिसाहरूले मलाई न्यानो अनुभुती गर्न दिएको छैन । अँ हेर न, रातको बाह्र बज्न लागेछ । मनभित्र अझ थुप्रै उकुसमुकुसहरू छन् । थोरै डर पनि उत्पन्न भइरहेको छ यतीबेला । दायाँतिर छिमेकीको कौसीबाट कालो ढाडे बिरालो टिलिल्ल आँखा बालेर मलाई घुरिरहेको छ अघिदेखि । खै ! उसले मलाई पहरा दिइरहेको हो वा आफ्नै दैनिकिका केहि अंशलाई गुजार्न त्यसरी बसेको हो । तर उसका बलेका आँखाहरू देखि म ज्यादै डराइरहेको छु अहिले । तैपनि मलाई तल झर्न मन छैन । सबैका सबै न्यानो ओछ्यानभित्र मिठो निन्द्रामा छन् । मलाई भने ओछ्यानको न्यानोपन भन्दा यहि वातावरण प्रिय लागीरहेको छ ।”
छेउको ब्याग उठाएर गुलाबको गुच्छा निकाल्दै फुसफुसाई— “हेर न ! यो गुलाब कति गाढा रातो छ । सिपालु कालीगढले कुँदे जस्तै तह तह परेका छन् पत्रहरु । निक ैबेर छानेर किनी ल्याएको । यो रहरलाई तिमीसम्म पुर्याउन त सकिन । तर उत्कट ईच्छाहरू निक्कै नै शक्तिशाली हुन्छन् रे । यदि त्यसो हो भने एकपल मलाई सम्झ र स्विकार गर यो गुलाबको गुच्छा ।”
मुनिबाट ढोका खुलेको आवाज आयो । पिसाब फेर्नलाई सायद आमा उठिन् होला ।
“कतै मेरो कोठा बाहिरबाट झाँकीन भने, मलाई त्यहाँ नदेख्दा अतालिँदि हुन् । हिजो आज, सुक्दै गएको मेरो शरीर देखेर उनलाई मप्रतिको चिन्ताले पिरोलिरहेको छ । खानाको अरुचिले गर्दा रोग पत्ता लगाउन अस्पताल जाने सुझाव गरिरहन्छिन् । तर यी सब आजैसम्मलाई मात्र हो आमा । आफुलाई सन्तुलन गर्ने दृढ अठोट गर्दै आमालाई पुकारी । “हैन अब म तल झर्नुपर्छ ।”
बसेको कुर्सीबाट उठी । फेरी फुसफुसाई— “यो गुलाबले प्रणयको संकेतलाई जनाएको छैन हामी बिच । बस यति मात्र भन्न चाहान्छु, तिम्रो सम्झनामा मेरो अन्तिम प्रेमोपहार !”
अघि लेख्दै गरेको पानाको बिचमा गुलाबको गुच्छा च्यापेर डायरी बन्द गरि । पछ्यौराको सप्को सम्हालेर पुन काधमाथी हाली र दुइ हात बेस्सरी रगडेर आँखा छोपी ।
अन्दाजी २७, २८ को बैँस गुजारीरहेको ऊ, समुन्द्र पारीको जालन्धरी प्रेमीसँगको जीवन कल्पनामा आफूलाई समर्पित गरेकी थिइ । र अचानक आफ्नो विश्वाशमाथि घात पर्न जादा बिचलित हुन पुगी ।
पातलो अग्लो शरीर, लाम्चो अनुहार र आँखा वरिपरि बसेका काला धब्बाहरू बोकेर, बिस्तारै सिडीबाट तल झरी । छिमेकीको कौसीमा बिरालो जुधेको डरलाग्दो आवाजले रातको सन्नाटालाई भयंकर रूपमा बिथोलिरहेको थियो ।
लेखक परिचय
कवि तथा आख्यानकार अप्सरा लावती लिम्बू विगत अढाई दशकदेखी चुपचाप नेपाली साहित्य लेखनमा सक्रिय छिन्। लावतीका हालसम्म आमाको चाहना, २०५७ र लोजिमा, २०६३ गरि दुई उपन्यास प्रकाशित छन् भने विभिन्न पत्रपत्रिकाहरुमा फुट्कर कथा साथै कविताहरु पनि प्रकाशित भइसकेका छ्न्। कथा र कविता लेखनमा पनि उत्तिकै सक्रिय लावती हाल याक्थुङ लेखक संघको केन्द्रिय उपाध्यक्ष समेत रहेकी छिन्।