जोगी ओडारको बाटै बाटो हिँडेर पाटन आइपुग्दा
समय गोलभेडा बनिसकेको दिन
चौताराको पीपल ठ्याक्कै देखिन्थ्यो
ठूलीआमाको आवाज बोकेको आकृति जस्तो ।
सानैमा वरलाई टोकेको बूढो पीपल
छिटुवा धानजति उत्ताउलो हुँदापनि
छिमेकिहरू मौन छन
रहरहरू हाँगामा बस्छन
चखेवा चखेवीहरू आशीर्वाद लिन आउँछन ।
पटक पटक नयाँ वरको जरा सुक्दै जाँदा पनि
कसैले दोघरे भनेका छैनन्
ठूली आमालाई जस्तो
पोइटोकुवाको परिचयपत्र दिइदैन
परपुरुषलाई नजर लाग्ला भनि
बेलाबेला बाल दुलही बनाइदैन ।
सृष्टिकै विगतदेखि आगतसम्मका अनिष्टको
स्वत जिम्मेवार हुने ठूलीआमा
कहिल्यै सुसाउन सकिनन्
डाँडाको पीपलजस्तो ।
द्वन्द्वकालका सरकारी कार्यालय जस्ता ढोकामा लगाउँन नमिल्ने
राता–काला कपडाको गाता लगाएर
चुपचाप अर्को जुनिको
रङ्गिन खाका तयार पार्छिन
‘टाईवर’ र ‘टिग्रीस’को किनारमा भेटिएका बस्तीजस्ता बिहेका एकजोर गहना र कपडामा
आफ्नो अनुहारसमेत नदेखेको श्रीमानको
याद पोख्छिन र पोको पार्छिन
जीवनको बाँझो जमिनमा नियतिको हलोले एकाधिकार जमाउँछिन
कसैको खबर आएन उनको दैलोमा
कहिल्यै काग कराएन
उनको घरअगाडीको बाँसको खम्बामा
कहिल्यै हुलाकीले टेकेन उनको आँगन
कहिल्यै महिला सशक्तीकरणको झिल्को छिरेन उनको झुपडिको झ्यालमा
जिन्दगी डाँडाको पीपल कि ठूलीआमा ?
लेखक परिचय
जाेशी समकालीन नेपाली साहित्यका विभिन्न विद्यामा कलम चलाउछिन् । विभिन्न स्थानीय तथा राष्ट्रिय पत्रपत्रिकामा लेखरचनाहरु प्रकाशित गरेकी जोशी सामाजिक तथा साहित्यिक संघ सस्थामा पनि संलग्न छिन् । उनका रचनामा सामाजको विकृती विसङ्गतिप्रतिको आलोचनात्मक चेत भेटिन्छ ।