उबेला जहिँतहिँ टिभी थिएन । गाउँमा कसैकसैकोमा मात्र हुन्थ्यो । त्यो पनि सादा । बिजुली पुगेको थिएन । एसिड ब्याट्रीबाट चल्थ्यो टिभी । अहिलेको जस्तो डिस होम, केबल गाउँमा पुगेको थिएन । नेपाल टेलिभिजन र एउटा इन्डियन च्यानल तान्थ्यो । घरको छेउमा एउटा सिङ्गै बाँस गाडेको हुन्थ्यो, त्यसको टुप्पोमा एन्टिना राखिन्थ्यो र त्यसैमा गाँसेको तार डोको जत्रो टिभिको पछाडी जोडेको हुन्थ्यो ।
“अँ…अँ अलिक घुमा त…झिर झिर आयो ।” भित्र टिभी हेर्ने मान्छेहरू कराउँथे। “कस्तो आयो ? ..झिर झिर हट्यो ?” बाहिरबाट कुले कराउँथ्यो ।
“हट्यो हट्यो लु आइज” । कुले हतार हतार भित्र गयो । कुले भित्र छिर्ने बित्तिकै टिभी झ्याप्प बन्द गर्यो बिनोदले । “किन टिभी मारेको ए मामा म आउने बित्तिकै ? तेत्रो एन्टिना बटार्दा बटार्दा गरेर आको रिसै उठ्दो !” कुले नराम्ररी बिच्क्यो ।
‘लाहुरे’ फिलिम दिन्थ्यो तेतिबेला टिभिमा । त्यै हेर्न आ’का थे गाउँभरिका केटाकेटी, बुढाबुढि, तरुनीतन्नेरिहरू । “बिज्ञापन दिराको छ लाटा नरिसा न, पाँच मिनेटपछि खोल्छु ।” बिनोदले भन्यो । कुले शान्त भयो ।
तेतिबेला बिज्ञापन हेर्न पाँइदैन थियो । बिज्ञापन आउने बित्तिकै टिभी बन्द हुन्थ्यो । हुन पनि ब्याट्री चार्ज गाउँमा हुदैन थियो । काधमा बोकेरै माइपारी लानु पर्थ्यो करिब २ घन्टा जति हिँडेर । ब्याट्रीको भाडा २/२ रुपे उठाउँथ्यो हेर्न आउने जति सबैलाई, अनि तेइ पैसाले ब्याट्री चार्ज गर्थ्यो बिनोद । त्यसरी बिज्ञापन आउने बित्तिकै टिभी बन्द गरेर ब्याट्रीको चार्ज जोगाउँदै फिलिम हेर्थे १४ इन्चको सादा टिभीमा सारा गाउँलेहरू ।
उतिबेला जो कसैले टिभी किन्न सक्दैनथे । बागेचौरी भरिमा बिनोदकोमा मात्र थियो टिभी, बाउ इन्डियन लाहुरे तेइ भएर किनेको भन्थे ।
खासमा कुले जन्मेको इलामको महमाइ गाबिस वार्ड नम्बर ८ फुलबारी भन्ने ठाउँमा । धानको चामलको भात खान पहाडबाट मधेस झरेका हुन् उसका बाउ आमा । ४ जना मिलेर करिब ४ बिगा जति झोडा फाँडेका हुन् । १/१ बिघा भागमा पारेका थिए । एक रात सेतामगुरालिको जुलुसमा हिँडेका थिए । बिहान आउँदा त बाहुनहरूले अघि खन जोत गरेर टहरा बनाइसकेछन् । बाख्रा, गाई बाँधेर जग्गा कब्जा गरिसकेका रहेछन् ।
तेत्रो दुख गरेर फाँडेको झोडा बाहुनहरूले दुखै नगरि कब्जा गरे पछि कुलेको बाउलाइ अचाक्ली रिस उठ्यो । घरभित्र छिर्यो, २ हातको सिरुपाते खुकुरी कम्बरमा भिर्यो र लाग्यो बाहुन छप्काउन । हेर्दा हेर्दा छप्काइहाल्यो, एकै चोटिमा दुई टुक्रा पार्यो… कोलाको बोट । रिस थाम्न नसकेर हानेको थियो अठ्ठे कोलाको बोटमा ।
“ओइ कता हिनेको याँ आइज,” पछाडिबाट कसैले बोलायो । कुलेको बाउ पछाडि फर्क्यो पुलिस रैछ । “तँ हैन जुलुसमा हिन्ने ! खुबै आन्दोलनकारी भइस् हैन, लु हिन चौकी” ।
चौकीमा लगियो कुलेको बाउलाई । अब उप्रान्त जुलुस,आन्दोलनमा नहिन्ने कागज गराएछन् । जग्गा फिर्ता माग्दा जिवनभरी जेलमा सड्याउने धम्की दिएछ्न् । बिचारा तेसै फर्केछन् ।
५१ सालमा कुलेको बाउले फुलबारी देखि अलिक पर बागेचौरीमा अलिकती जग्गा किन्यो र त्यैँ बसाइँ सरे । कुलेको बालापन त्यैँ बित्दै थियो । तीँं हो उसले टिभी देखेको पहिलोचोटि बिनोदकोमा ।
एकदिन कुलेको बाउले सन्तोस रेडियो किनेछन् सुँगुरको पाठा बेचेर । रेडियो नेपाल बज्थ्यो प्राय । बिहान सात बजेको समचार सुन्दै थिए कुलेको बाउ । समचार सुनिसकेपछी बाउ काम तिर लागे ,आमा भात पकाउन लागिन् । त्योभन्दा अगाडि कुलेले रेडियो पनि देखेको थिएन । उ अचम्मित बन्यो । यति अचम्मित बन्यो कि रेडियो हातमा लिएर ओल्टाइपोल्टाइ हेर्न थल्यो । मिटर बटार्यो, अन अफ बटार्यो, एन्टिना तन्कायो, ब्याट्री झिक्यो फेरि लगायो र राख्यो ।
बेलुका बाउ कामबाट फर्किए ,सिकुवाभरी रेडियोका पुर्जाहरू छरपस्ट देखे । “हैन कस्ले एसो गर्यो ए ! आमै यो रेडियो ?” पाखाबाटै सोध्यो कुलेको बाले ।
“त्यो भ्यान रेडियोमा बोल्ने मान्छे खोजेको अरे तिम्रो छोराले”,जवाफ दिइन कुलेकी आमाले ।
“खै के भन्नू र ? “जाँठा काँ गयो ,मुत्नेगरि नहिर्काइ भएन “। कुलेको बाउ सिर्किना लिएर पसे घरभित्र । ओछ्यानमा छोरो हातमा रेडियोको स्पिकर समातेर सुतिरहेको थियो । बुडोलाइ खै के मनमा आयो कुन्नी नकुटी बाहिर निस्के ।
बल्ल बल्ल सुँगुरको पाठा बेचेर जिवनमा पहिलो चोटि किनेको थियो कुलेको बाले रेडियो । छोरोले आन्द्राभुँडी निकालिदिएपछि अर्को रेडियो किन्ने जोस धेरै वर्ष आएन उसलाई ।
बिस्तारै समय परिवर्तन हुँदै थियो । प्रत्येकको घर घरमा रेडियो बज्न थालेको थियो । सादा नै भए पनि घर घरमा टिभी हेर्न थालेका थिए गाउँलेहरू । बिनोदलाई थोरै भए पनि राहत महसुस भएको थियो । अब गाउँलेहरू उस्कामा टिभी हेर्न जान छाडेका थिए।
सानोको कुले अब हुर्कियो, बढ्यो लक्का जवान भयो। बा आमाले खाइ नखाइ पढाएपछि अङ्ग्रेजीमा डिग्री हाँसिल गर्यो । केटो जागिरे भयो । मास्टर बन्यो । नाम फेरियो । कुले अब केबि सर बन्यो । नमस्कार पाउने भयो । तपाई सम्बोधन हुन थाल्यो ।
सानोमा रेडियो फोडेर रेडियो भित्रको मान्छे खोज्ने केबि सर कक्षामा तिनै किस्सा सुनाउनु हुन्थ्यो बेलाबेला र आफ्नो बालापनको मजाक आफैँ उडाउनुहुन्थ्यो विद्यार्थीहरूसँग ।
केबि सरले राहत कोटामा नियुक्ती लिनुभो । श्री मोतिराम माध्यमिक विद्यालय सलकपुरमा ।
देशै भरका विद्यालयहरूलाई प्रबिधीमैत्री बनाउने होड्बाजी चलिरहेको थियो । विद्यालयमा इन्टरनेट, डेस्क्टप, ल्यापटप अनिवार्य जस्तै बन्दै थियो ।
एकदिन केबि सरको स्कुलले पनि त्यहीँ निर्णय लियो । रोङ गाउँपालिकाले पैसा दिने भो। स्कुल अब प्रबिधीमैत्री बन्ने पक्कापक्की भो । सामाग्री खरिदको लागि लिस्ट बन्यो। वाइफाइ जडान हुने भो । Biometric Thumb Attendance पक्की भवनको दोश्रो तलाको अफिसमा दैलोनेर बायाँपट्टि टाँसियो । विद्यालय श्रिङ्गार भयो । रङ्गरोगन भो । स्कुल चिटिक्क पारियो । २००४ सालमा राणाहरूसँग पौठेजोरी खेल्दै स्थापना भएको स्कुलले ७० वर्षपछि बल्ल काँचुली फेर्दै थियो ।
शुक्रबार विद्यालय पुरै लगाउनु पर्ने निर्देशन आइरहेको थियो । तर सबै पालिकाहरूमा लागू भैसकेको थिएन । बिहीबार सामाग्री खरिद लिस्ट तयार भए बमोजिम बिहीबार नै हेडमास्टरको टोली झापा बिर्तामोड हुइँकियो ।
एता स्कुलको माहोल सदा भन्दा फरक थियो । स्कुल प्रबिधीमैत्री बन्ने भैसकेपछि त्यसको कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा चर्चा, बहस हुन थालेको थियो । नयाँ रुटिनको ढाँचा तयार भएको थियो । विषयगत कक्षा कोठाको तयारी भएको थियो । स्कुलको गेटनेरै दुइवटा विशेष कक्षाकोठा तयार गरिएको थियो । जहाँ ‘पच्पन्न इन्चको’ स्मार्ट टिभी राखेर कक्षा सञ्चालन गर्ने तयारी थियो ।
शुक्रबार २ बजे विद्यालय बन्द गरी सबै आफ्नो आफ्नो घर तिर लागे । केबि सर पनि डेरातिर हुर्रिए
कोठा पुगेर आधा जति खाजा खादैँ थिए केबि सर । भिम सर सुरिलो ज्यान खाटमा मिलाउदै थिए होलान् । आर. सि सर पनि उसै आराम गरौँला भन्दै थिए होलान् । उमेर र पेसाले सबैभन्दा पाको अनन्त सरले घर पुगेर गाइको गोठ हेर्न मात्र भ्याएका थिए होलान् । उचाइमा सबै भन्दा अग्लो सन्तोष सर अलैंचीमा पानी सोझ्याउँला भन्दै थिए होलान् सायद । रोनिस सर थकित ज्यान खाटमा बिसाउँदै थिए होलान् । ज्यानले अलिक ठूलो मणि सरले कोठाको चाबी खोलेर आराम गर्न भ्याउनु भयो जस्तो लागेन ।
३ बजे बसको हर्न सङसङै फोनको घण्टी बज्यो । सबै जनालाई स्कुल हाजिर हुने आदेश भो। “अरु त देखेकै थियो, ‘पच्पन्न इन्चे टिभी’ सम्झेर उत्साहित हुँदै केबि सर खाँदा खाँदैको आधा भाग खाजा छोडेर फ्याट्फ्याटे चप्पल पड्काउदै भिम सर, आर.सि सरलाई नपर्खि स्कुलतिर लागे । सन्तोष सर, रोनिस सरलाई पनि सायद पच्पन्न इन्चे टिभीले अलिक बढी तान्यो क्यारे निकै स्पिडमा स्कुल पुगेका थिए । बिचरा उमेरले अलिक बुढा अनन्त सर , सायद उहाँले पनि केबि सरजस्तै ‘पच्पन्न इन्चे टिभी’ सम्झेरै होला स्याँस्याँ र फ्याँफ्याँ हुँदै अफिसभित्र छिरे । एकै छिनमा सबै सरहरू पच्पन्न इन्चको टिभीको साइज जत्रै हँसिलो अनुहार लिएर अफिसमा भेला भए ।
हेड्सर अलिक गम्भीर मुद्रामा देखिए। अनुहार त्यति खुसी देखिएन । सबै वरिपरि बसे। हेड्सर बसेनन् । आफ्नो टेबलको अघिल्तिर उभिएका थिए । सबैलाई एकमुष्ठ प्रश्न तेर्सियो, “तपाईहरूले मलाई असहयोग गर्नु भो, म राजिनामा दिन्छु, तपाईहरूले गलत गर्नु भो ।” एक्कासी यस्तो प्रस्न गरे की कसैले केही पनि बोलेनन् । सबै जनाको मुख हेराहेरको अवस्था भो । सरहरू कोही भित्ता हेर्न थाले, कोही झ्यालतिर हेर्न लागे तर केबि सरको आँखाले भने पच्पन्न इन्चे टिभी खोज्न थाल्यो । चारैतिर हेरे । चेपचेपमा हेरे टिभी देखिएन ।
वास्तबमा त्यो दिन ४ बजेसम्म सरहरूलाई बस्न निर्देशन हेड्सर बाट भएको रहेछ। विद्यालयलाई प्रबिधीमैत्री बनाउनको लागि हेड्सरको टोलीले सबै सामाग्री खरिद गरि विद्यालयको आँगनमा खसाल्यो। सबैले युग सुहाउँदो प्रबिधी प्रयोग गरेर पढाउन पाइने कुरोले हेड्सर पनि स्कुलको गेटसम्म त प्रफुल्लित नै थिए। तर जब स्कुलको गेट बन्द देखे, अफिस बन्द देखे, स्कुल सुनसान देखे, उनको पारो तातियो, शरीरको तापक्रम रनक्कै रन्केर माथि उक्लियो ।
गोजिबाट फोन निकालेर पियनलाइ फोन लगाए। पियन पनि घुँडाको पाङ्ग्रा फुस्किने गरि दौडेर स्कुल पुगेका रहेछन् । फेरि फोन लगाए निमित्त प्रअको जिम्मेवारी पाएका सरलाई । निमित्त प्रअले सरहरूलाई सुनाउनु पर्ने हेडसरको निर्देशन त्यतिबेला सम्झेछन् जतिबेला हेड्सरले झन्डै डिलमुनी खस्ने गरि फोनबाट थर्काए ।
पच्पन्न इन्चे टिभीको जत्रै हसिँलो अनुहार लिएर स्कुल पुगेका सरहरूको अनुहार एकाएक पच्पन्न मुजामा थुप्रियो । पच्पन्न फन्को रिङ्गटा छुट्यो ।
केबि सरले बालापन सम्झ्यो । उसलाई पच्पन्न इन्चे टिभीभन्दा १४ इन्चे टिभी नै प्यारो लाग्यो ।
लेखक परिचय
इलाम जिल्लाको माङ्सेबुङका तुम्बापो व्यक्तिगत भोगाइ र समसामयिक विषयबस्तुको उठान गरी सरल ढंगले प्रस्तुत गर्न माहिर लेखक हुन् । पेशाले शिक्षक उनी लेखनमा समयको चेतलाई केलाउँदै त्यसलाई कलात्मक ढंगले प्रस्तुत गर्न सक्षम देखिन्छन् ।