कल्पना जोशी
आजलाई भोलिको सिरानी
हिजोलाई आजको कचाैरा बनाइ
छुटिसकेकाहरू सबै-सबैलाई
एउटा डिको अलिक लामो तानेर
कसरी जोड्न सफल हुँदो हो एउटा कवि,
कवि नभइदिएको भए?
कहाँ गएर हत्या गर्दो हो निराशाहरूको
कसरी श्रद्धाञ्जली दिँदो हो आफैँलाई
आफ्नो प्रेमको साैभाग्यको लागि
कसरी बुझ्दो हो
बेचिएको सिन्दूरको विवशता
कसरी लेख्दो हो तुसारोमा घामले पोलेको व्यथा
कसरी बाँच्दो हो एउटा कवि, कवि नभइदिएको भए?
छुट्टिनुको पीडालाई भेट्टिनुको संयोग
फेरि अचानक भेटिएर छुट्टिँदाको खुसी व्यक्त
आफ्नै मनका डाँडाकाँडाबाट चलेको चिसो बतास
व्यग्र प्रतीक्षामा विधवा मुटुका पर्दाहरू
कहाँ गएर देखाउँदो हो यो कलाकारिता ?
प्रत्येकदिनको छापामार किस्मत
मूल्य अभिवृद्धिले बदनाम चाहनाहरू
भन्सार छलेर गइसकेका सपनाहरू
प्रत्येक स्टेसनबाट छुट्दै गएका आफन्तहरू
कहाँ गएर ब्रेक लगाउँदो हो एउटा कवि
जिन्दगीको मालवाहक ट्रकमा
कल्पना जोशी
लेखक परिचय
जाेशी समकालीन नेपाली साहित्यका विभिन्न विद्यामा कलम चलाउछिन् । विभिन्न स्थानीय तथा राष्ट्रिय पत्रपत्रिकामा लेखरचनाहरु प्रकाशित गरेकी जोशी सामाजिक तथा साहित्यिक संघ सस्थामा पनि संलग्न छिन् । उनका रचनामा सामाजको विकृती विसङ्गतिप्रतिको आलोचनात्मक चेत भेटिन्छ ।
सुन्दर कबीता र सुरवात त झन खंदिलो उठान छ।