केबि तुम्बापो लिलिम
डाँडामा घर
घर नजिकैको चौतारो
चौतारो छेवै एक जोडी बरपीपल ।
हुर्किए हलक्कै,
जोडिए हात जसरी हाँगाहरू,
हल्लिए हावासँगै पात,
सालिन्दा मनाए हनिमुन
र जन्माए नयाँ नयाँ बोटहरू ।
पोहोर साल,
चौतारे कान्छा त्यै चौतारामा उफ्रि उफ्रि करायो,
हुन त अघिल्लो साल पनि उसैगरी कराएकै हो,
आफैँले रोपेको,
बरपीपलको कसम खाएर धाँक लगाएकै हो,
“यो मङ्सिरमा त केटी ल्याइन्छ, ल्याइन्छ !”
बिचरा ! चौतारे कान्छा, बैँस हुन्जेल,
दिनरात पीपलमा पानी घोप्टाउन मस्त भएपछि
बिर्सिएछ आफ्नै घोप्टिँदै गरेको जिन्दगी,
पानी घोप्ट्याउँदा घोप्ट्याउँदै
पत्तै भएनछ घोप्टिएको उसको जवानी ।
आजकल ,
घर छेवैको त्यै चौतारोमा जान्छ
आफैले हुर्काएको बरपीपल उकालो हेर्छ
हिसाब गर्छ आफ्नै उमेर
र कुर्दै बस्छ मङ्सिर ।
मङ्सिर लागेपछि चौतारे कान्छाको निद्रै पर्दैन
एक गतेदेखि नै बुनिहाल्छ सपना,
हातका औँलामा औँला खापेर तरेमासँग धान नाच्दै
छुइया पकन्दिको तालमा खुट्टा हल्लाउँछ,
चेपेर राखेको पाइन्टको गोजिबाट रुमाल झिक्छ
र चढाँउछ तरेमालाई मिक्तोक ।
लाजले भुत्तुक्कै चौतारे कान्छा मिक्तोक चढाएपछि,
गुटुङटुङ कुद्छ उकालै उकालो
र पुग्छ त्यै चौतारीमा
र फेरि धाक लगाउँछ
“यो मङ्सिरमा जसरी ‘भे‘ गरिन्छ गरिन्छ !”
खै कस्तो हो
चौतारे कान्छाको खप्पर,
सालिन्दा बिहे गर्छु भन्दाभन्दा,
मुजा परिसक्यो उसको निधार
उडिसक्यो जवानीको रङ
सपना देख्दा देख्दै छर्लङ्ग पार्यो अनेकौँ रात,
बाजी मार्दा मार्दा हारिसक्यो आधा उमेर ।
मङ्सिरले नपत्याएपछि,
लाग्दो हो उसलाई उराठै,
गाउँदो हो केटी नपाउँदा विरहको गीत,
धाउँदो हो भट्टी पसल
लगाउँदो हो २/४ ट्वाक,
फेरि चैतारी छेवै पुगेर भन्दो हो,
“यो मङ्सिर त मेरै हो ।”
केबि तुम्बापो लिलिम
लेखक परिचय
इलाम जिल्लाको माङ्सेबुङका तुम्बापो व्यक्तिगत भोगाइ र समसामयिक विषयबस्तुको उठान गरी सरल ढंगले प्रस्तुत गर्न माहिर लेखक हुन् । पेशाले शिक्षक उनी लेखनमा समयको चेतलाई केलाउँदै त्यसलाई कलात्मक ढंगले प्रस्तुत गर्न सक्षम देखिन्छन् ।