गोसाइँकुण्डको उत्पत्ति
उहिलेको कुरा हो । महादेउ र छोना दुई दाजुभाइ थिए । दाजुको नाम छोना (भैरव) र भाइको नाम महादेउ (महादेव) थियो । दुवै जना रहनबस्नका लागि मात्र नभई तप गर्न योग्य जमिन खोज्दै भारत (ग्यागर) बाट हिमाली क्षेत्र (बोई) तिर हिँडे । उनीहरू काठमाडौँ (याम्बु) आइपुगे । त्यसपछि साँढेको रूप धारण गरेर उनीहरू नमोबुद्ध (तामोलोजेन) पुगे । पाँचपोखरी (ङाग्योई) पुगे । आफूले खोजे जस्तो बस्ती नपाएकाले उनीहरू पश्चिम नुवाकोटतिर लागे र बेत्रावती पुगे | नदीमा आफूले बोकेर ल्याएको त्रिशूल चढाए । यसै कारण सो नदीको नाम त्रिशूली रह्यो । त्यसपछि उनीहरू रसुवाको भार्ख भन्ने ठाउँमा पुगे । त्यहाँ उनीहरूले खोजे जस्तो नभए पनि ठिकै स्थान पाएकाले एउटा पोखरी बनाई बसे । गाईवस्तु, मानव र कुकुरहरूको कारण उनीहरूले निर्माण गरेको कुण्ड शुद्ध भएन।
फलतः उनीहरू सो पोखरी छोडी सापेङ भन्ने स्थानमा पुगे । त्यहाँ बसे | भगवान् बस्ने पोखरी फोहोर होला भनी एउटा निलो रङ्गको चराले पोखरीमा खसेका पात-पतिङ्गरहरू झर्नासाथ निकाली सेवा गर्ने गर्दथ्यो । त्यहाँ पनि उनीहरूलाई गाईवस्तु कराउने र कुखुराहरूले कुण्ड फोहोर गर्ने र ध्यान भङ्ग गर्ने भएकाले अर्को योग्य स्थानतिर लागे । उनीहरू नाम्सुङ लेकमा पुगे । त्यहाँ पनि भेडा, च्याङ्ग्रा आदिले कुण्डको पानी नाघिदिने मात्र नभै जुठो समेत बनाइदिने भएकाले उनीहरूले अर्को स्थान खोज्ने सरसल्लाह गरे ।
भाइ महादेउलाई त्यही राखी दाजु छोना अझै लेकतिर लागे । तर बातु (छोना) फर्केर आएनन् । दाजु नआएकोमा भाइलाई चिन्ता लाग्यो । फलतः भाइ दाजु खोज्न हिँडे । उनी च्योलाड हुँदै गोरा भन्ने ठाउँमा पुगे तर दाजुलाई भेटाउन सकेनन् । अनि उनले ध्यान दृष्टिले हेरे, दाजुको स्वरूप देखिएन । तर पूर्व दिशातर्फ गएको पत्तो लाग्यो । यसपछि उनी लौरी बिनाको उकालो चढ्दै नौक्यागाङ पुगेर दक्षिणतिर हेरे । जहाँ दाजुले भीर फोरेर ठूलो कुण्ड बनाई बसेको देखे । उनले मनमनै जाबो एउटा पाउँदा त दाजुले भाइलाई बिर्संदा रहेछन् । हे भगवान्, मैले दाजुलाई पाप नसोचेको भए दाजुको भन्दा पनि राम्रो स्वच्छ कुण्ड मैले पनि पाऊँ, सो कुण्डमा देवता र मानवहरूले स्नान तीर्थ गरी पाप कट्टा गरून् । जसको फोहोरमैला झरी दाजुले कपटले बनाएको कुण्डमा पुगी भरियोस् भनेर पुकार गरे । गोसाइँकुण्डको उत्पत्ति
अनि उनी अझै लेकतिर लागे । आफूले बोकेका त्रिशूलहरू झिकेर पर्वततिर हाने । एउटा त्रिशूल पार्वती (पर्वत) मा गएर लाग्यो । जहाँबाट दूधका अविरल धारा निस्किन थाल्यो । अर्को त्रिशूल गङ्गा (हिमाल) पर्वतमा गएर लाग्यो । जहाँबाट पनि अविरल रूपमा कञ्चन जल निस्कियो र महादेउ उभिएको स्थानमा बगेर आयो । हेर्दाहेर्दै विशाल हेर्दाहेर्दै विशाल कुण्ड बन्यो । जसलाई गोसाइँकुण्ड भनियो । जहाँ बर्सेनि मेला लाग्यो । देव र मानिसहरूले स्नान गरे । त्यो तीर्थको रूपमा प्रख्यात भयो । गोसाइँकुण्डमा मानवहरूले स्नान गरेर फ्याँकेका तनका साथै मनका मैलाहरू बगेर दाजु छोनाले बनाएको कुण्ड भरिन पुग्यो । कुण्ड कालो रङ्गको देखियो ।
यसपछि दाजुभाइबीच सल्लाह भयो । “अब हामीले बनाएको कुण्डमा भक्तजनहरूले के चढाएर, कसरी पूजा गरून् । हामीहरूले निर्माण गरेका कुण्डका पानी दूषित पार्ने जीवहरूमध्ये तपाईँलाई बाह सिङ्गे (कुखुरा) चढाउने कि दुई सिङ्गे (भेडा) चढाउने” भनेर दाजुलाई सोधे । दाजुले भाइको प्रतीकात्मक जीवको स्वरूप बुझ्न सकेनन् । फलत: भाइलाई फेरि सोधे – “यो कस्तो जीव हो ?”
भाइले भने- “नौ सिङ्गे आकाशमा उडन सक्छ, दुई सिङ्गे
सक्दैन । यो जमिनमा मात्र हुन्छ ।” दाजुले जवाफ दिए- “मलाई दुई सिङ्गेले तिमीलाई नौ सिङ्गेले पूजा गरे हुन्छ ।” त्यसपछि भाइले दाजुलाई “तपाईलाई भेडा र मलाई कुखुरा” पो भने । भाइले प्रतीकात्मक रूपमा व्यक्त गरी बाँडेको कुरा दाजुलाई चित्त बुझेन । मलाई दुई सिङ्गे होइन, नौ सिङ्गे नै चाहिन्छ भने । अन्त्यमा केही नलागेकाले गोला हाले । यसरी गोला हाल्दा पनि भाइलाई नौ सिङ्गे नै पर्यो भने दाजुलाई दुई सिङ्गे पर्यो । यसो गर्दा पनि चित्त नबुझेकाले दाजु भैरवकुण्डमा रिसले कालो न कालो भई बसेको हो भन्दछन् ।
यसै घटनाका कारण गोसाइँकुण्डको स्नान गर्दा तन पवित्र
साथै मनका मैलाहरू पखालिन्छ भन्ने विश्वास रहेको छ भने गोसाइँकुण्ड जाँदा भैरवकुण्ड हेर्ने गर्दछन् भने फर्कँदा हेर्ने गर्दैनन् । हेरेमा गोसाइँकुण्डमा तीर्थ गएको फल निष्फल हुन्छ भन्दछन् । साथै यस घटनाका आधारमा छोना (दाजु) भैरवको पूजा गर्दा रसुवाका तामाङहरू कोदोको तोर्मा र कालो कुखुराको भाले चढाउँछन् । भाइ महादेउ (भाइ) अर्थात् महादेवको पूजा गर्दा भने सेतो चामलको तोर्मा र सेतो भेडा बलि चढाउने गर्दछन् । साथै रसुवाको भार्खुका तामाङहरू नै गोसाइँकुण्डका सर्वप्रथम पुजारीहरू हुन् भने उनीहरूको मूल अर्थात् ठूलो देवता पनि गोसाइँकुण्डका निर्माता महादेउ हुन् भनिन्छ । गोसाइँकुण्डको उत्पत्ति
रसुवाका तामाङहरू मातृभाषामा दूध र पानी मिसिएर बनेको
गोसाइँकुण्ड सेतो देखिएकाले त्यसलाई छोकर कुण्ड भन्दछन् भने देवता र मानवहरूले स्नान गरेका पानी बगेर गएको कालो देखिएको कुण्डलाई छोना भन्दछन् ।
सङ्कलकद्वय: रवीन्द्र तामाङ र सोनी तामाङ
लेखक परिचय
रवीन्द्र तामाङ र सोनी तामाङ, तामाङ लोककथा संगालोका सङ्कलकहरू हुन्।