१
शङ्का
मैले माने
असफलताका सिद्धान्तहरूको
पहिलो परिक्षण
ममाथि गरेर नै
सफल भएको
थियो
तर
मलाई एउटा कुरा जान्न मन छ !
त्यो महान आविष्कारक को होला?
जसले
म जन्मदै
मेरो अस्तित्वमाथि
असफलताको ट्याग लगाइदियो,
कतै, म बस्ने समाजले त हैन ?
मलाई शङ्का लागिरहेछ ।
२
वियोग – विरोध
अगाडि धर्म थियो
लाल्टिन बनी
बाटो देखाउने,
पछाडि उनी थिइन
मुर्छा परी
पाइला रोकाउने,
बीचमा म थिएँ
दोधारमा फसि
ठिङ्ग उभिने,
एक कदम अघि सारूँ
– वियोग
एक कदम पछि सारूँ
– विरोध
न वियोगको पीडा खेप्न
मुटु तयार थियो
न विरोधको छाप लगाउन
मस्तिक तयार थियो
त्यहीँ उभिरहेँ,
दिन ढल्यो
म ढलिनँ
रात पर्यो
म सरिनँ
क्रमशः राखेर
रात गयो चिहानमा
आफूभित्र
आफू निभे बिहानमा !
३
नास्तिक
यदि
ऊ तिम्रो मात्र हो भने,
मेरो कसरी हुन सक्छ ?
हामी दाजुभाइलाई लडाउने
ईश्वर कसरी हुन सक्छ ?
तिमी आस्तिक हुनु
म नास्तिक हुनु
उसको मर्जी होइन भने,
मैले पत्थरसामु नझुक्नु
तिम्रो मनमा किन खड्किन्छ ?
मलाई
मनोकामना पूर्ण गर्ने आशा दिएर
निर्दोषनिमुखाको रगत माग्ने
ईश्वर नभई
बचाउन आफ्नो रगत दिने ईश्वर छ भने भन,
म
आजै
अहिल्यैबाट
आस्तिक बन्नेछु ।
लेखक परिचय
धनगढी, कैलालीकी दीक्षा भट्ट बिबिएकी विद्यार्थी हुन् । उनी कवि साथै फ्रीलेन्स राइटर हुन् ।