दन्त्यकथा किराती- गहनाको सृष्टि,मानव जातिको सृष्टि भएपछि सबैभन्दा पहिला राजा सावायुक्फुङकेम्बा भएका थिए भनी लिम्बू बूढापाकाहरू भन्छन् । उनी धनुर्विद्यामा निपुण थिए । उनी वाण हानेर आँधी, हुरी, बतास ल्याउन सक्थे र आकाशबाट पानी पनि पार्न सक्थे । उनी वाण हानी आगो बाल्न सक्थे र जमिनमा पानी पनि उमार्न सक्थे । उनी वाण हानेर सूर्यको तापक्रम पनि बढाउन सक्थे । जब उनले वाणहरू हानी पठाउँथे उनकी रानीले ती वाणहरू लिएर आउनुपर्ने चलन थियो ।
एक दिन सावायुक्फुङकेम्बाले सूर्य वाण पूर्व दिशामा हानी पठाए र त्यसलाई खोज्न उनकी रानी त्यस दिशातर्फ गइन् ।जाँदा-जाँदा बाटामा घामको तापले रानीको टाउको साह्रै दुख्यो । जमिन पनि सूर्यको तापले ज्यादै तातो भएकाले उनका खुट्टाहरू पोल्न थाले । अन्तमा साह्रै गर्मी भएकाले रानी बेहोस भएर बाटैमा लडिन् । निकै बेर हुँदा पनि रानी वाण लिएर नआएपछि राजालाई चिन्ता भयो । उनी आफ्नी रानीलाई खोज्न पूर्व दिशातर्फ लागे । सुर्यको तापबाट बेहोस भई बाटामा लडिरहेकी रानीलाई देखेर सावायुक्फुङकेम्बालाई सूर्यसँग साह्रै रिस उठ्यो । रिसको झोकमा उनले भने – “म यस सूर्यलाई नमारी छोड्दिन । यही सूर्यले मेरी रानीलाई यस्तो हालत बनाइदिएको हो ।”
यो कुरा सुनेर सूर्य डराए । त्यसपछि सूर्यले साधुको भेष धारणा गरेर सावायुक्कफुङकेम्बा भएको ठाउँमा आई भिक्षा मागे । दन्त्यकथा किराती- गहनाको सृष्टि
राजा सावायुक्फुङकेम्बाबाट भिक्षा लिएपछि साधुले राजासँग सोधे- “तपाईले सूर्यलाई मार्छु भन्नुहुन्थ्यो रे हो ? तर तपाईँले कसरी सूर्यलाई मार्नुहुन्छ ?”
राजा सावायुक्कफुङकेम्बाले आफ्ना अधीनका सबै दुम्सीहरूलाई बोलाएर आदेश दिए- “तिमीहरू सबै सूर्यलाई मार्न तयार होओ ।”
राजाको आदेश सुन्नासाथ सबै दुम्सीहरू आफ्ना काँडाहरू ठाडो पारी सूर्यलाई मार्न तयार भए ।
त्यो देखेर साधु डराए र छद्म भेष छोडेर सूर्यको रूप धारणा गरी प्रकट भए र राजालाई भने- “सूर्य म नै हुँ, नमार्नुस् । मलाई माफी दिनुहोस । बरू म तपाईँकी रानीलाोई मार्दिन,” राजाले भने ।
त्यसपछि सूर्यले रानीलाई सावायुक्फुङ (टाउकोमा लगाउने चेप्टे सुनको फूल),नेसे (कानमा लगाउने चेप्टे सुनको गहना ), लाफुङ (छातीमा लगाउने सुनको चन्द्र हार) दिए र आफ्नो ज्यान बचाई फर्के। त्यस बेलादेखि सुनका गहनाहरू लगाउने चलन चलेको हो भनी लिम्बू बूढापाकाहरू भन्छन् । त्यस बेलादेखि सावायुक्फुङमा सूर्यको चित्र, नेसेमा चन्द्रमाको चित्र, लाफुङमा चन्द्रमाको चित्र बनाउने चलन चलेको हो भनिन्छ । ढुङग्री, मुन्द्री, शिरविन्दु आदि अरू गहनाहरू भने धेरै पछि चलनमा आएका हुन् भनिन्छ ।
सूर्यबाट सुनका गहनाहरू पाएपछि राजा सावायुक्फुङकेम्बा आफ्नी रानीलाई लिएर खुसी साथ घर फर्के । दन्त्यकथा किराती- गहनाको सृष्टि
(सङ्कलक: शिवकुमार श्रेष्ठ)
लेखक परिचय
इतिहासमा स्नातकोत्तर गरेका श्रेष्ठले धनकुटा बहुमुखी क्याम्पसमा प्राध्यापन गरेका छन्। श्रेष्ठ किरात याक्थुङ्ग केन्द्रीय कार्यसमितिको मानार्थ सदस्यता समेत प्राप्त गरेका छन्।