खेम बतास खेम बतास खेम बतास खेम बतास
बाहिर तुषारोले गजधुम्म छ, आकास । आकासबाट खसेका शितका थोपा रुखका पातमा बजारिएर चकनाचुर हुदैछन् जमिनमा । कोठाभित्र र बाहिरको हावाले भरसक लुकामारी नगरोस भनि पर्दा लगाइएको छ । पर्दाले तारवारको जस्तै काम गरेको छ । कोठाको न्यायोपनलाई जतिसुकै रोक्न खोजेपनि चोरबाटोको इस्तमाल गर्दै हावाले बाहिरभित्र गर्दै छ । कोठाको न्यायोपन ओडेर ल्यापटप अघि बसेको छ एउटा मान्छे ।
(बे)नाम : भगवान क्षेत्री
(अ)पेशा : गोदावरी नगरपालिका वडा नं. ७ कैलालीमा वडा सचिव
(अ) रुचि : साहित्य लेखन र पत्रकारिता
वतन : अत्तरिया कैलाली
भगवानलाई तलतल लागेर आयो । तलतल मेटाउन उसले चुरोट सल्कायो । एक सर्को तान्यो पनि । धुँवा उड्दै उड्दै सिलिङ्तिर गयो । धुँवाको केही अंश झ्यालको बाटो उड्यो । बाँकी टेवल र कुर्सीको वरिवरी रुङ्दै थियो । झ्यालको बाटो बन्द देखेर फेरि निसास्सिदै धुँवा सिलिङ्मा हरायो । मुखमा चुरोट राखेरै उसले चार लाईन ल्यापटपमा लेख्यो । अनि रोकियो । के के सोचेर फेरि चुरोट तान्न थाल्यो । धुँवाको नियति पूर्वनिर्धारित अवस्था मै पुग्यो । कोठाका केही थान लोकसेवा आयोग पुस्तक, केही साहित्यिक पुस्तक र टेवलको फूलदानलाई पनि चुरोटले राम्रो नशा दिइरहेको छ जस्तो लाग्दै थियो ।
उसले मनमनमा भन्यो, “एकशब्द लेख्न पनि पसिना आउँदैछ । चुतियाहरूले जिब्रो छ भन्दैमा, कस्तो झुर लेख्यो, टाइमपास भन्छन् । भन्नेको के जान्छ । लेख्न नसक्नुको पीडा (लेखन्दास) सरी, लेखकलाई मात्र था छ । ”
उसले चुरोटको ठुटो एस्ट्रेमा ठोस्यो । एक फेरि थपियो ठुटोको जमातमा । अर्को ठुट्टो चुरोट ।
एकछिन कोठामा एक्लै टहल्न थाल्यो । ऊ एकोहोरो सिलिङ्मा हेरिरह्यो, मनमा अनेक तर्क विर्तक खेलाउदै । हेर्दा लाग्दैथ्यो, लेख्न नपाएर औडाह भएको छ तर उसका औँला ल्यापटपमा हिड्न मानिरहेका थिएनन् ।
त्यसपछि,
र्याकबाट रमको आधा भरिएको (रित्तो) बोतल झिक्यो । थर्मसको विर्को खोल्यो । तातो पानीसँग ककटेल बनाएर पियो एक गिलास रम । सितन केहि थिएन । रक्सीसँग अभ्यस्त भइसकेको भगवानलाई कुनै सितनको अनिर्वायता आवश्यक लाग्दैनथ्यो । जिन्दगीमा अनिर्वाय आखिर के नै छ र । ऐच्छिक आवश्कताहरूले जेनतेन चलाएको उसको दैनिकीमा गिलास, रक्सी र चुरोट पनि मन भुलाउने बहाना बनेका थिए । ऊ लेख्नलाई फेरि कुर्सिमा बस्यो । तर किबोर्डमा औँला नै चल्न मान्दैनन् । ऊ एकोहोरो भित्तमा हेरेर टोलाउन थाल्यो ।
– हेलो
– हाई
– म समय
– म लेखक
– कस्तो लेखक ?
– कस्तो समय ?
– कथा लेख्ने लेखक
– कथा भन्ने समय । तर, म महाभारत भन्न आएको होइन ।
– म पनि वेदव्यास होइन
– ओकेछत
– यो आफ्नै निजी थेगो हो र ? तपाईँको
– होइन ।
– अनि,
– मलाई जोसँग प्यार छ । प्यार मोहम्बद से आपका लेना देना ।
– अच्छा ! कोसँग छ प्यार ? थेगो कि मान्छे ?
– मान्छे
– को हो र
– भने त ।
– ओकेछत ।
– तपाईँ पनि हो र ?
– के ?
– मेरी पूर्व प्रेमिका प्लस वर्तमान श्रीमतिको फ्यान
– होइन
– अनि किन त्यही थेगो प्रयोग गरेको नि ?
– म समय हुँ ।
– अनि केहि काम छ कि । किन हजुरको सवारी भयो ? मेरो (अ)कुमार कोठामा ।
– मैले कथा भन्नु छ ।
– मैले कथा लेख्नु छ ।
– ( दुवैले एकैसाथ ) : ओकेछत
– फेरि दुबै : चेर्यस….।
समय जी आज्ञा गर्नु हुन्छ हे लेखकमुनि……………!
तिम्रा जुँगाकारेखी परेका ओठको मुस्कान वास्तवमै मलाई मन परेको थियो । तसर्थ तिमीलाई रुचेको थियो तिम्रो बालापन । पढाइमा तेज, त्यसैले टिचरको आँखाको नानी । म तिमीसँग थिए, त्यसैले तिमीलाई काँधमा राख्थे तिम्रा बाले । आफ्ना सपना तिमीमा पाएको थियो तिम्री आमाले, त्यसैले खान्थीन् तिनले तिम्रो गालामा म्वाँइ । तिम्रो निर्दोषिता, इमान्दारिता र जेहेन्दारितालाई कसैले आफ्नै जस्तो ठानेकि थिई, त्यसैले तिमीलाई उसले राख्थी मुटुभित्र । तिमी त्यसै यो अवस्थासम्म कहाँ पुगेका हौ र !
मज्जाकी, कल्कलादी, भर्रभराउदी यस्तै कुनै उपमा दिन लायक युवतीको तिमी प्रेममा थियौ । लाउलाउ खाँउ भन्ने उमेर कि युवतीको प्रेममा पर्नु साँच्चै खतरनाक जोखिम मोल्नु थियो । हो, तिमी खतरनाक जोखिम मोल्न पनि राजी थियौ । प्रेम र युद्धमा हरेक कुरा सम्भव हुन्छ । युद्धमा प्रेमको अनुभूति सके नगरिएला । तर प्रेममा हर कोहिले युद्धको सामना गर्नुपर्छ नै । युद्ध, मानसिक होस या शारिरीक । हतियारले होस कि विचारले । युद्ध त युद्ध हो ।
तिमीहरू एउटै स्कुलमा पढ्ने सहयात्री थियौ । कक्षा समान भए पनि सेक्सन फरक थियो । तर पनि टिफिन बेला, लेजर पिरियडमा तिमी भेट्न जान्थ्यौ । उसले पनि तिमीलाई घण्टौँ हेरेर बस्थी । तिमीलाई त्यसै बेला आत्मज्ञान भएको थियो । आफुलाई विस्रेर, आफुलाई अरुका आँखामा भेट्नु प्रेम हो भन्ने । जसलाई जति हेरे पनि धित नमरोस । जसबाट कुनै अपेक्षा नरहोस तर समपर्णको संसार मात्र दिनानुदिन फैलिदै जाओस । हो, तिमी त्यस्तै फिलिङमा पर्यौ । घरमा पनि तिमी घण्टौँ टोलाउथ्यौ । जसरी स्कुलमा उसका गाँजलु आँखाले तिमीलाई एकोहोरो गरी र्हेथी । मानौँ घरमा पनि तिम्रो सम्मुखमा उभिएर ऊ तिमीलाई नै हेरिरहेकी छे, जस्तो लाग्थ्यो । तिमी उसको गहिरो प्रेममा परेका थियौ ।
एकपल्ट आमाले भनेकी पनि थिइन, ‘के भयो ? आरामी बिरामी त नै भै ? रात निन दिन भोग छैन । के दगाउन लागिस तैले ?’ तिमी निन्द्रा र भोग साँच्चै हराएको थियो ।
तिमीले केही होइन भनेर पहिलो पल्ट आमासँग झुठो बोलेका थियौ । तिमीले प्रेम गर्न सिकेका थिएनौ । प्रेमसँगै झुठो बोल्न पनि सिकेका थियौ ।
बसन्त ऋतुमा कर्णालीको छाल बढेझैँ, दिनानूदिन बढ्दै गयो तिम्रो प्रेमको नदी ।
तिमीले हातै समाती उसलाई भगाउन सकेनौ । किनकी तिमी गोजीमा गाँठ र मनमा आँट भएको मान्छे थिएनौ । गाँठ र आँट त्यसै आउदैन । समस्यासँग जुध्नुपर्छ । जोखिमहरू उठाउनुपर्छ । अनि अवसरलाई चिन्नु पनि पर्छ । थुप्रै विकल्पहरूको माझबाट सहि र दिर्घकालिन निर्णयको छनौठ गर्नुपर्छ । अनि आउँछ जीवनमा सन्तुष्टि । अनि बल्ल अनुहारमा बल्छ सय वाडको खुसीको बल्ब ।
आज तिमी दुखी आत्मा कि खुसी ? आज तिमी सफल कि विफल ? तिमी त लेखक रे । हा….हा……हा…… भगवान क्षेत्री ।
नयाँवर्ष आउन एकदिन मात्र बाँकी थियो । तिमीले गुलाबको फूल भएको पोस्टकार्ड किन्यौ । कार्डको पछाडि उसलाई सम्बोधन गरेर तिमीले नयाँ वर्षको शुभकामना दियौ । उसका लागि त्यो भगवानले दिएको बहुमूल्य उपहार थियो । त्यसैले उसले बडो जतनले खल्तीमा राखेकी थिई । मुस्कराएकी थिई । मनमा काउकुति लागेको थियो उसको । उसका आँखाको भाव पढ्ने तिमीमा फुर्सद नै थिएन । पोस्टकार्ड समातेर ऊ दौडिदै कक्षा कोठामा गएकी थिई । उसको ध्यान पोस्टकार्ड बाहेक कतै गएन । उसको कल्पनाको आकाश यसरी विस्तार भएर आएको थियो कि शिक्षकले के पढाए ? कस्तो पढाए ? साथीहरूले के के भने ? के के भयो कक्षामा ? सबै सबै विस्रेकी थिई । सम्झेकी थिई त केवल तिमीलाई । पोस्टकार्डलाई मात्र । टिफन पछिका आधा घण्टाका तीन पिरियड उसलाई चौविस घण्टा जस्ता लागेका थिए ।
ऊ हतार हतार घर आएकी थिई । स्कुले ड्रेस नै नखोलेर पसेकी थिई कोठामा । त्यो तिम्रो प्रेमलाई कसैले थाह नपाउन भनी उसले ढोकाको चुकुल लगाएकी थिई । जतनले चिठ्ठी खोलेकी थिई । उसको मुटुको चाल बढेर आएको थियो । मनमा नानाभाँतिका उत्तेजनाले ठाँउ पाएको थियो । कौतुहलताले डेरा जमाएको थियो । र, बाहिरी परिवेशले बेला बेला चिमोठ्थ्यो पनि । चिठ्ठी पढिसकेर ऊ खुसीले गदगद् भएकी थिई । प्रफुल्ल भएको थियो उसको मन । हावामा उड्दै उड्दै तिम्रो समिपमा पुगेको थियो उसको आत्मा । तिमीले खै कतिको अनुभूति गर्यौ ?
उसका मन र तनमा एक्कासी उर्जा सञ्चार भएको थियो । तर त्यो ऊर्जाले दीर्घ प्रकाश दिन सकेन । त्यसैसाँझ उसका बाले साइन्स किताबको भित्र फेला पारे तिम्रो मायाको निसानी । बड्डाले पोस्टरसँगै च्यातचुत पारेर फालेको थियो तिम्रो प्यार । उसले त्यो दिन घरमा गृहयुद्ध नै लड्नु परेको थियो ।
दोस्रो दिन एकसितो अन्नको नहालेर आएकी थिई स्कुल । तिमीलाई त्यो दिन याद नहुन सक्छ तर उसको लागि थुप्रै कोणबाट विशेष थियो । त्यसदिन तिमीहरू दुबैले सँगै बसेर पोटली ( डोटेली भाषामा दिउसोको आजालाई पोटली भनिन्छ ) खाएका थियौ । तिमीेले दिएको खाजाको उसले धेरै तारिफ गरेकी थिई ।
उसले भनेकी थिई, ‘कस्तो मिठो अर्नी (खाजा) । भोग मिठो कि भोजन मिठो भन्थे । मलाई त भोग भन्दा भोजन नै खास लाग्यो । ’ उसको अनुहारको भाव तिमीले बुझ्नै सकेनौ बेबकुफ ।
‘ तँ घरबाट निस्किहाल । ज्नु केटाको यो लब लेटर सिरानी हालेर बसेकी छस् । उसैसँग लागोस तेरी डाणीँ (बल्ली बाठ)। तेरी एकोरी लभ गराइ होइजाउ, दोसर्या लभ गर्न जन्पाएइ । हाम्रा लागि त, जिउनी मरे बरबर भइ गै । ’
उसकी आमाले त्यसैमा थपेकी थिइन, ‘इस्कुल पढ्न जान्छस कि दुनिँया भरिका मुले हेर्न । मान्छेले मनाई आफ्ना जातमा बस्नु पर्छ । छि भन्नु गोडको गुहु हो । सबैको नाक काट्न लागिस अब । ’ भनेर अर्को दिन गालि गरे ।
त्यो रातभरि भुँइमा सुती । बिहान कसैसँग नबोलि स्कुल आई । स्कुलमा तिमीलाई उसले हेरेरै पुरा पुर दिन वितायो । घरमा बाले दिएको गालि भन्दै भनिन् । आमाले सुनाएको बचन तिमीलाई देखेर विस्रेकी थिई । तिम्रो चुलिदै गएको मायालाई उसले लाम्चे बजारमै रोक्न सकिन । तिम्रो आँखा देखिएका सपना आफ्नै सम्झी । तिम्रो जीवनको गति उसले आफ्नै सम्झी ।
मलाई लाग्छ सायद आजका मितिसम्म यो घटना तिमीलाई भनेको छैन होला ।
भनेको छ ? समयले सोध्छ
छैन ।
आखिर किन नभनेको होला ?
अर्को साल उसले एसएलसी दिई । बोर्डमा कक्षा प्रथम भई । रेष्ट नामक गैरसरकारी संस्थाले उसलाई छात्रवृत्तीको लागि छनोट गर्यो । त्यसपछि उसका निधारमा घाम लाग्यो । कैलाली बहुमुखी क्याम्पसमा ऊ उच्च शिक्षा पुरा गर्न लागी । होस्टेलमा बस्दा पनि उसको शील स्वभावको सबै मुक्त कण्ठले प्रशंसा गर्थे । कक्षामा उसको रुप र जोवनमा फिदा नहुने कमै थिए । उसको तर्कशक्ति मजबुत थियो । कलेजमा हुने वादविवाद, बक्तृत्वकला प्रतियोगितामा सधैँ प्रथम । मिलनसार, सहयोगी थिई । त्यसैले क्याम्पसमा उसको व्यक्तित्वको सबैले कदर गर्थे ।
तिम्रो पनि आर्थिक अवस्था नाजुक थियो । तिम्रो आमाले हिउँद, वर्खा जमिनदारका मेलोमा ज्याला गरेर सिकाएको थियो, साहु अक्षर । तिम्रो बाको पन्जाबको नौकरीले बल्थ्यो, चुलो । तिम्रो भविष्यको चिन्ताका अगाडि प्रेम विचरो त नाजुक र टुहुरो थियो । त्यही टुहुरो प्रेमलाई मलजल गर्ने, फुलाउने, फलाउने र गोडमेल गर्ने को हो त आखिर ? कसरी त्येत्रो समयपछि पनि मुहारको क्रान्ति उस्तै रह्यो ? कसरी आपसमा मिले तिम्रा भावना र विचार ? कुन रसायनले काम गर्यो ? लेखेक हुँ भन्छौ । कुनै दिन यो बारेमा पनि केहि मिनेट खर्च गरेका छौ ?
प्रस्ताव राखी औपचारिक प्रेमलाई अगाडि बढ्ने तिम्रो सपना थियो । मैले तिम्रो त्यो इच्छा पुरा गरेकै हो । तिमीले मलाई आफु अनुकूल बनाउन सक्यौ कि सकेनौ, त्यो तिम्रो कमजोरी बन्यो वा शक्ति । आफै विचार गर । तिमीलाई थाहा छ, भाग्य भनेको निधार होइन । उचित समय चिन्नु र उचित समयमा उचित निर्णय गर्नु हो ।
तिमी यो अवस्थामा पुगेका छौ । तिमीले गरेको निर्णयले कति काम गर्यो, आफै चिन्तन मनन गर । तिमीले प्रथम श्रेणीमा स्नातक गरौ । आयोगको तयारी गरौ । निराश भएनौ । असफलतभित्रै नै सफलता छ भन्ने बुझ्यौ । निरन्तरको प्रयासले सफलता पनि आयो । प्रयास गरे भाग्यलाई पनि चुनौती दिन सकिन्छ । (समय) मलाई प्रत्येकले आफ्नो बशमा पार्न सके सफल भइन्छ । तिमीले प्रमाणित गरेर देखायौ । अब व्यवस्थापकिय पक्ष कमजोर हुनु त्यो व्यक्तिको कमजोरी हो । त्यसको दोष दर्शनलाई दिन मिल्दैन । दर्शन ज्ञानको उच्चतम् विन्दु हो । दर्शन मान्छेको अनुभवबाट खारिएर सामान्यीकरण भएको हुन्छ । अनुभव काल्पनिक हुदैन । बरु जीवनको भोगाइबाट ज्ञान नविकरण हुन्छ, खैर त्यो फरक पाटो भयो ।
हो, म मान्दछु, तिमी गरिव परिवारमा जन्मेको मान्छे हौ । तर तिमीप्रति मेरो भरोसा थियो । तिमी मेहनती थियौ । मेहनतको कुनै सिमा रेखा हुदैन । मेहनतले नै मान्छेलाई जिवित बनाएको छ । मलाई विश्वास थियो, तिमी गरिव नै भएर मर्ने छैनौ । हेर, आज लेखक बनेको छौ यहि हो, तिम्रो सफलता । सरकारी कर्मचारी भएर सेवा गरेका छौ । एउटा छोरी छे । प्रेमिका पाएका छौ । श्रीमति पनि छे । खुसी छौ । यदि खुसी छैनौ भने त्यो नितान्त तिम्रो कमजोरी हो । पछि भाग्यलाई दोष दिए म मान्नेवाला छैन । बुझिस् मिस्टर फुच्चे केटो ।
तिम्रो प्रेम प्रस्तावलाई उसले सर्हष स्विकार गरिनन् । किन नगरेको होला ? उसले तिम्रो प्रेम प्रस्तावलाई किन धेरै दिन पेण्डिङ्गमा राखी होला ? कहिल्यै कुल दिमाकमा एकान्तमा सोचेको छौ ? यदि छैन भने तिमी मुला कच्चा र नक्कली लेखक हो । तिमी मुला शब्दको हत्यारा मात्र हो । फगत एउटा लेखनदास । ऊ पढाइ सिध्याउन चाहान्थी । आफ्नो खुट्टामा उभिएर जीवनलाई सरल र सहज तरिकाले बाँच्ने कला सिक्दैथी । त्यसकालागि केहि समय पर्खनु पर्ने थियो । तिमी त कृष्णभूषण बलको पर्खनु पर्छ भन्ने कविता पढेको मान्छे हो नि । है न र ! हो भने त्यहि हो तिमीलाई उसले पेण्डिङ्मा राख्नुको खाँटी कारण ।
यस बीचमा तिमीहरू नङ र मासुको जति नजिकै भयौ । फोन र फेसबुकबाट तिमीहरू घण्टौ गफ गर्न सक्ने भयौ । कहिले दोधारा चाँदनी पुल, कहिले बेतकोट ताल त कहिले फन पार्कहरूमा खुब घुम्यौ । अत्तरिया बजारका कुनै क्याफे बाँकी राखेनौ । खुब फोटो अपलोड गर्यौ फेसबुकमा । खुब लाइक र कमेन्ट गरौ एक अर्काका फोटो र स्टाटसमा ।
खुब बित्यो समय, बनाएर टिकटक भिडियोहरू ।
चोक चौतारा र चिया पसल हुदै तिमी दुवैका बारेमा चर्चा परिचर्चा खुबै चल्यो । सबै चर्चापरिचर्चालाई तिमीहरू दुबैले नजरअन्दाज गर्यौ ।
समय वित्दै गयो ।
उसले एउटा निजी कलेजमा प्रध्यापन गर्न थाली ।
एकदिन उसको घरमा हात माग्ने केटाहरूको लामै लिस्ट आयो ।
उसका बाले भने, ‘बुढेसकालमा तेरा गोडाको पानी खाएर मर्ने धोके छ , लाटी । अब कमाउने जमाउने पनि भैगै । यतिन्जेल हाम्ले केहि भनेका थिएनौ । अब भनेको मान । अब गोडो अल्झाइ हाल । यसो गरे हाम्रो पनि ढुक्कले सास जाने थियो । ’ बाको वचनका अगाडि उसले एकशब्द बोल्न सकिन । केवल आँसीको टुप्पो जस्तो घोसे मुन्टो लगाएर भुँइ कोतर्न थाली ।
कुनै किशोरसँग उसको हित्तचित्त मिलेन । कुनै किशोरसँग विचार भावना र मन मिलेन । कुनै किशोरको शारिरीक बनोटले उसलाई दीर्घ आकर्षण गरेन ।
एकपल्ट एउटा किशोर आयो उसको घरमा । केटो एउटा बैङ्कमा जागिर खान्थ्यो । हेर्दा उसको लवाइखवाई उच्चस्तरिय नै थियो । उनीहरूले घण्टौँ बसेर बात पनि मारे ।
कुरै कुरामा केटोले भन्यो, ‘ तिमी भर्जिन हो कि होइन ? किशोरको प्रश्न सुनेर ऊ कोठा नै हल्लिने गरी हाँसी । उसको हाँसोका अगाडि केटो सर्मिन्दा भयो । केटोलाई कतै मैले बेतुकको प्रश्न त सोधिन जस्तो लाग्यो । एकछिन रातोपिरो मुख लगाएर बस्यो । उसको हाँसोका अघि किशोरको हैसियत के हो ? पुरै देखिएको थियो । किशोरको बौद्धिकता चकनाचुर भएर खसेको थियो, रुखबाट आँप खसेझैँ । उसको निधारभरि चिरचिर पसिना आएको थियो । किशोरलाई बसेको ठाँउ नै भारि लाग्न थालेको थियो ।
उसले भनी, ‘ के फरक पर्छ भर्जिन हुन नहुनुमा ? के हो यो भर्जिन भनेको ? मैले त भर्जिन ब्राण्डको रक्सीमात्र पिएको छु । ’
यो त दराहा केटी रैछ । मेरो परिवारमा सुहाउदैन भन्दै केटो भाग्यो । बिनाकारण कसैबाट अस्विकार हुँदा पनि खुसी भइदोरैछ । उसले यस्ता धेरै किशोरबाट अस्विकृति भएकी थिई । अस्विकृतिको अनुभूति पनि भोगेकी थिई ।
अर्को प्रसङ्ग भन्छु,
सुन्,
ओकेछत,
एउटा किशोरले उसको नाक अलि लामो रैछ भन्यो । बानी अलि चुलबुले भएको भन्यो । कपाल साना भएको कमेन्ट गर्यो । गोडाका माझी औला अस्विभाविक लामा रैछन् यस्ता आइमाइ त अलक्षिन हुन्छन् रे भन्यो । यसरी एकैछिन भेट भएको मान्छेले आफ्नो बानी बेहोरा र शारिरीक बनोटको बारेमा गरेको कमेन्टस्ले रननन रिस उठेर आयो उसलाई । उसले रिसलाई काबुमा राखी । पाहुनालाई गर्नुपर्ने कुनै स्वागतमा कमि हुन दिएन । सकेजति सुसिल र सहनशील भएको जस्तो देखाई । चिया पानीको भव्य र सभ्य स्वागत नै गरी । तर जब तिमी त कस्तो लाटी जस्तै बोल्न नि पैसा पर्ला जस्तो पो गर्छौ भन्यो । उसले रिस थाम्न सकेन ।
‘तपाईँ बिहेको लागि मेरो हात माग्न आउनु भएको कि ? मेरो बारेमा कमेन्ट गर्न । सामान किन बेच गर्ने जस्तो यो मिलेन त्यो मिलेन । के तुर्काका जस्तो कुरा गरेको । ’ उसले बुलेट बट्केको आवाजमा भनि ।
केटोको मनमा भुइँचालो नै गयो । केटाको अभिमानमा चोट पर्यो । अब लाटो हुने पालो केटोको थियो । त्यसपछि एकशब्द नबोलेर बिदा भयो ।
एउटा अर्को घरको पनि आएको थियो उसलाई रिस्ता । केटो रसायनिक विज्ञानमा स्नातकोत्तर पास गरेर एउटा कलेजमा पढाउथ्यो । हेर्दा उसलाई राम्रै लागेको थियो ।
युवकको बाले चिना हेरेर भन्यो, ‘ यो त जेठमा जन्मेकी रैछ । जेठी टोक्न सक्छ । त्यसै माथि औँसेलाई बिहे गर्न सकिदैन । ’ उलाई बुढाको अभिव्यक्ति देखेर रिसको पारो तातेर आएको थियो ।
उसले भनि, ‘दुनिँयाभरिका जेठमा जन्मेका सबै खोटी नै हुन् त । हरेक औँसीमा जन्मेकाहरू पूर्णिमा जस्तै सुन्दर र ओजश्वी छन् । त्यसैले पूर्णिमाले आफ्नो सट्टामा हामीलाई पठाएको हो, बुझ्नु भो । कस्ता कस्ता गवार मान्छे आउँछन् यार ।’ बुढाले उसको र्तकका अगाडि नाजवाफ भएका थिए ।
उसले प्रण नै गरेकी थिई । म विवाह त गर्छु, आफुले मन पराएको केटासँग । मन परेको मान्छेसँग कैयौँ रात अनिदो मै बिताउन सकिन्छ । कैयौँ साँझ र बिहान भोकै बस्न सकिन्छ । सबैभन्दा बढी विश्वास गरेको मान्छेसँग हो विवाह गर्ने । जोसँग सजिलै मन बिसाउन सकियोस् । जोसँग विचार र भावना मिलोस । जोसँग खुलेर गालि र माया गर्न सकियो । जोसँगै हाँस्न र सँगै रुन सकिन्छ उसैसँगको जिन्दगी बिताउने पनि । तर कहिल्यै नभेटेको, कहिल्यै नदेखेको अपरिचित मान्छेसँग कसरी बिताउनु जिन्दगी ?
एकदिन, उसको आमाले भनिन्, ‘ हेर छोरी, जे जस्तो भए पनि छोरी मान्छे भनेका अर्खाका घर जाने जात हो । पढाइ पनि सकिस् । जागिर पनि खाइस । अब घरबारी बसाइहाल । हाम्रो पनि मर्ने बेला नातिनतिना खेलाएर मुक्ति पाउने रहर छ । ’
उसले भनी, ‘गतिलो मान्छे नै आउदैन । कस्का पछि लागेर जाउँ त ?’
‘हाम्ले खोजेको तँलाई अगतिलो लागे आफै खोज न त ’
त्यसपछि उसले धेरैदिन तिम्रो बारेमा सोचि बसी । किन धेरैदिन तिम्रो बारेमा सोचेकी होली ? कहिल्यै सोचेको छौ ? अन्तः तिम्रो नाम मेन्सन गरेकी हो आफ्नो दिलबाट परिवार समक्ष । जात मिल्ने थिएन तिमीहरूको । ठुलै गृहयुद्ध लड्नु पर्यो उसले ।
आफन्तले भने, ‘ पुन्यालकि मौ त क्षेत्रीको गोडो धुन लागे भन्यो । के उपद्दर गद्द लागे । बाहुनको लाटो गाँणो मुले के काइन पायो हो । त्यो जात्की लै कसी रैछ । रै रै र भाँणका पोइल गै भनेजसो केलाई अद्द लागि हो । बाँच्नु मात्र पर्छ के के देख्न पाइन्छ कलियुगमा ।’
उसका मावलीले भने, ‘हाम् त खस्सेको गोडो धुने होइनौ । हाम्रालागि त्यो मरी गै । ’
उनीहरू केही आएनन् । विहेमा । मान्छे कति वनावटी छ । यो भन्दा गतिलो उदाहरण दुनिँयामा अन्त कतै भेट्टाउन सकिदैन ।
ऊ हठी थिई र हक्की पनि थिई । त्यसैले ज्ञानी थिई । ज्ञानको हठ साँच्चै समाजका कुरीति र कुव्यवस्थाका अगाडि चुनौति बनेर बसेको हुदोरहेछ ।
सकेसम्म परिवारले सन्तानको खुसी नै खोज्छन् ।
अन्ततः परिवारले हार्यो । तिमीहरूले जित्यौ । सालका पातमा गोडो धोएर उसको हात तिम्रो हातमा राखिदिए । उनले हात मात्र कदापी दिएका थिएनन् । एउटा लक्ष्मी उपहार दिएका तिमीलाई । तिमीलाई तिम्री प्रेमिका दिएका थिए ।
जातजाति, भाषाभाषि, वर्ण लिङ्ग सबै सबै यस्ता बनावटी कुरालाई विस्रेर तिमीमा एकाकार भएकी थिइ । हो, सक्कली प्रेम भनेको यहि हो । जुन तिमीले पाएको छौ ।
विवाह भनेको केवल सामाजिक संकठन मात्र कदापी होइन यो मनोवैज्ञानिक र आत्मिक एकताको सुत्र पनि हो । प्रेम खुसी र सुखको रसायन हो । तिमीले प्राप्त गर्यौ तिम्रो प्रेम फेरि किन हो ल्याङ्ल्याङ ?
८८८८
किरणहरू बर्दलीभरी छरपस्ट भए । बर्दलीबाट झुसिकिरे शैलीमा कोठासम्म पुगे, किरणहरू । त्यसपछि भगवानको निन्द्रा खुल्यो । भगवानको दर्शन गर्न ओछ्यानको भगवान जाग्यो । जागेको भगवान दाँत माझ्दै बाथरुम पस्यो । उसका आँखा राता भएका छन्, पाकेका गुल्लरका दानाजस्ता । ओठहरू कलेटी परेका छन्, दिनभरी पानी नपाएको बटुवाको जस्ता । मुख सुन्निएर फुकेको पाउरोटी जस्तो देखिएको छ ।
हिजो रातभरि उसलाई निन्द्रा परेन । कार्यालयको कचकचले ऊ सधैँ घरमा थाकेर पुग्छ । कहिलेकाही त उसलाई लाग्छ, यो जागिरबाट गिर्नु भन्दा बरु चटपटे र पानीपुरी पसल थापेर बसौ, कुनै व्यस्त चोकको किनारमा । तर पेन्सन पाउने लोभले अझै चटपटे बेच्ने आँट गरेको छैन । बरु तत्काललाई जागिरबाट जतनले गिराउनमा नै भगवानले फाइदाजनक मुकाम सोचेको छ ।
एकहप्ता अघिको एकसाँझ खाना खाइबरी ओछ्यानमा सुत्न भनेर के गएको थियो । मानुषीसँग कुरा बाझियो (मानुषी भनेको उसकी पूर्व प्रेमिका वर्तमान श्रीमती ) । खासै बाझिनु पर्ने रिसाउनु पर्ने र तँ तँ म म भन्नु पर्ने ठुलो र महत्वपूर्ण कुरा त केही थिएन । सामान्य विषयको स्थिति असामान्य बन्यो ।
मानुषी – भोलि म साथीहरूसँग घुम्न कर्णाली जान्छु ।
भगवान – जानु पर्दैन । खाना तयार गर्नुपर्ला । नानीलाई स्कुल पुर्याउनु पर्दैन । धामीसितको लामी किन गर्नु पर्यो ।
मानुषी – सधैँको मेरो काम एक दिन तमले गरे के घाम पश्चिमबाट उदाउला र । चेली दुवैकी बराबर ।
भगवान – ठिक छ । मेरो अफिस तँ जा न त । घरको सबैकाम म गर्छु ।
मानुषी – अफिसको मात्र काम । घरको के काम होइन ।
भगवान – बिहान खाना पकाउछेस । छोरीलाई स्कुल लग्यो, ल्यायो । बाँकी समय रुममा चाक पल्टाएर सुतेकी त हुन्छेस । खुब बाँजो नै खनेको जस्तो धाक लगाउछेस ।
मानुषी – अफिसमा के बोजो बोक्नुपर्छ र । यता हल्लियो । उता हल्लियो । भात पचायो, फर्कियो । जिन्दगीमा के लछारपाटो लागेको छ र । त्यो अफिसले ।
भगवान – मुख छ भन्दैमा धेरै चलाउने होइन है ।
मानुषी – जागिर छ भन्दैमा धेरै सेखी नदेखाए हुन्छ ।
भगवान – मेरो जस्तो जागिर तैले यो जुनीमा खानसके म कान काट्न तयार ।
मानुषी – कोही कान काटोस कि जिब्रो हाम्लाई के बालै फररर्रररर ।
त्यो दिन खुब चलेको थियो दुबैको झगडा । एकले अर्कोको इगो नै हट हुने गरी नानाभाँति सवाल जवाफ गरेका थिए । हात हालाहाल नै भएको थियो दुबैको । पुरुषसत्ताको अघि मानुषीको केही नचले पछि आँशु झारेकी थिई । त्यो रातभरी मानुषी सुतिन । उसले मनमनमा अनेक कुरा सम्झिन थालेर रोएकी थिई ।
कहिले खाना कस्ले बनाउने भन्ने प्रसङ्गमा त कहिले आफ्नो लुगा आफै धुने सवालमा सामान्य विवाद त उनीहरूको सधैँ जसो हुन्थ्यो नै । भगवानले कहिले काहि साँझ रक्सी खाएर आउथ्यो । भए नभएको तनाब गर्थ्यो । रक्सी बोलेको हो भनेर मानुषीले सहेर बसेकी थिई । भगवानले पनि एकछिन रिसाए पनि घण्टा भरमै उसको मन परिवर्तन भएर आउथ्यो ।
तर त्यो साँझ न मानुषीको मन बदलियो न भगवानको । दुबै पत्थर नै बने । भगवान भगवान नै रह्यो । मानुषी मानुषी नै रही । न भगवान मानुषी बन्न सक्यो । न मानुषी भगवान बन्न सकी ।
छोरी हुँदा भगवानको आग्रह मानेर मानुषीले जागिर छोडेकी थिई ।
भगवान – ‘तिमी दुइ जिऊकी छौ । पैसाको मुख मात्र हेरेर भए न नि । आफ्नो ज्यानको पनि त ख्याल गर्नुपर्यो यार । त्यस्ता निजी कलेजका जागिर त फेरि फेरि पाइन्छन् ।’
उसले फेरि थपेको थियो, ‘ तिमीलाई नपुग्ने भन्ने के छ र । ठौरै आगो ठौरै पानी पुर्याउने म छदै छु नि । ’
मानुषीलाई पनि पेटको बच्चाको खुब माया लागेको थियो । उसले त्यसैसाँझ नजन्मेको बच्चाको अनुहारको कल्पना गर्दै राजिनामा पत्र लेखेर बुझाएकी थिई कलेजमा ।
उसको खाईपाई आएको जागिर छुट्यो । दिनभरी घरमै बसेर बित्यो समय । नत्र महिनाको तीस हजार कमाउथी । अहिले उसलाई जागिर छोडेर आफ्नै खुट्टामा बन्चरो हानेजस्तो लाग्दैछ । हजार कुरा सुन्नुपर्ने भएको छ ।
बजार सामान किन्न जाँदा भगवानले ठिक्क सामानलाई पुग्ने पैसा मात्र उसका हातमा राखिदिन्थ्यो । आफुले कमाएको बैङ्क खाताको रकम पनि सकिएको एकवर्ष भइसकेकोथ्यो । बैङ्कमा भए पनि त्यही होला हजार दुइ हजार । कहिले काहि साथीहरूसँग घुम्न जाँदा पनि भगवान कै मुख हेर्नुपर्थ्यो । पानी, टेलिफोन र बिद्युतको विल मात्र होइन सबै सबै घरका कामको लागि मानुषीले भगवानकै तलबको बाटो कुर्नुपर्थ्यो । यतिमात्र होइन, मोवाइमा समेत ब्यालेन्स नहालेको महिनौ भइसकेको थियो ।
मलाई ब्यालेन्स हालिदिनुस् न । दिनमा कहिले काहि माइतमा फोन गर्न हुन्छ भन्दा भगवानले भन्थ्यो, ‘ल्याण्डलाईन छदै छ त । किन चाहियो मोवाइलमा ब्यालेन्स हाल्न । जग्गा किनेको ऋण फाइनल नै भएको छैन फेरि घर बनाउनु छ । बेला बेला छोरीको फि तिर्नु पर्छ । फजुलको खर्च किन गर्नु ?’
मानुषीलाई पनि श्रीमानको कुरा ठिकै लाग्थ्यो । त्यसैले उसले आफ्ना रहरहरूलाई विस्तारै विस्रिदै जाँदैथिई । भगवानले सबैका इच्छा पुरा गर्छन रे तर उसको भगवानले कुनै इच्छा पुरा गरेको थिएन । मानुषीले पनि कर गर्दैनथी ।
भगवानले हटस्पट खोल्थ्यो र दुबैले चलाउँथे सोसल मिडिया । भगवानले आफुलाई मन लागेको बेला फेसबुक चलाउँथ्यो । मानुषीले पनि आशा लाग्दा नजरले हेरेको देखेर उसले हटस्पट खोलिदिन्थ्यो । दुबैले चलाउँथे टिकटक, फेसबुक ।
भगवानलाई फेसबुक चलाउन मन नलागे हटस्पट बन्द गथ्यो । यसरी एक्कासी हटस्पट बन्द गर्दा मानुषीलाई दिक्क लाग्थ्यो । उसलाई रुन मन लागेर आउथ्यो । उसले कति साथीका फोटोमा लाइक गर्न भ्याएको हुन्न्थ्यो । कति साथीलाई जन्मदिनको शुभकामना दिन ढिला भएको हुन्थ्यो भने कति साथीको म्यासेजको रिप्ले समेत समयमै गर्न नसक्नुको पीडा बोकेकी थिई । नयाँ फोटो राख्न नपाएको पनि महिनौ भैसकेको थियो भने फोटोको कमेन्ट लाइक र रिप्ले समेत गर्न पाएकी थिइन । उसलाई मनमा कता कता नरमाइलो हुन्थ्यो । औडाह छाउथ्यो तर भन्न केही सकेकी थिइन ।
त्यो रातभरि दुबैलाई छटपटी नै भएको थियो । दोस्रोदिन भगवान कोठामा भए । मानुषी बर्दलीमा । मानुषी कोठामा भए, भगवान बर्दली । दुबै जेठाजु बहुरानीको जस्तै गरे ।
भगवान साडे नौ बजे झोला बोकेर अफिस गयो । मानुषीले पनि खाना खुवाएर छोरीलाई स्कुल पुर्याई । कोठामा आई । तयार भएर साथीहरूसँग ऊ पनि घुम्न गई । कति पछि भेट भएका साथीहरूसँग दुःख सुख बाँडे । हाँस्दै रमाउँदै समय गएको पत्तै भएन । साँझ अबेर घरमा आई । भगवान खाना बनाएर खाएर छोरीलाई सुताएर आफु ओछ्यानमा पल्टिएर फेसबुक चलाउदै थियो ।
मानुषीको आगमन अप्रत्याशित जस्तै लाग्यो, उसलाई । अघिदेखि तीन चार पल्ट फोन गर्दा उठेन मानुषीको फोन । अहिले एक्कासी कोठामै पुगेको देखेर भगवानले ठुलाठुला आँखाले हेर्न थाल्यो । उसका मनमा अनेक तरहका शंका उपशंकाहरू पलाउन थाले । उसले आफ्नो बरपरको परिवेश पुरै कालो देख्न थाल्यो । उसलाई मानुषी देखेर रिस उठेर आयो । तर उसले केही बोलेन ।
मानुषीले लुगा फुकालेर भान्सामा पसी । भान्सामा उसको लागि केही बचेको थिएन । मिटिङ् हलमा सुगा एकोहोरो कराइरहको थियो । सुगाको नाम मानुषीले सोना राखेको थियो ।
सात महिना अघि माइतबाट फर्किदा बाटोमा भेटेको थियो सोनालाई । सोना जाति थियो । मानुषीको लागि पन्क्षी कम मान्छे ज्यादा थियो । मानुषीको घरमा एक्लो हुँदाको साथी भनेको त्यही सोना थियो । घरका सबै सदस्यको नाम मान्छेले जस्तै पुकाथ्यो सोना । साहु अक्षर अंग्रेजी पनि बोल्थ्यो । आई लभ यु गड । गुड र्मोरिलिङ् डियर । उसले सधैँ भन्ने गरेका सेन्टेन्स थिए ।
एकदिन सोनालाई आँगनमा लगेर छोडेको पनि हो । तर दिनभरी कता कता डुल्यो । साँझ फेरी त्यही आँगनमा आएर मानुषी भन्दै कराएको थियो । ढोका खोल्दा सोनालाई देखेर मानुषी खुब रोएकी थिई । कोठामा ल्याएर खुब सुम्सुम्याएकी थिई, उसले । त्यसपछि मानुषीले कहिल्यै आँगनसम्म पुर्याउने कुचेष्टा गरिन् । बरु ऋचालाई जति नै माया गर्न थाली ।
एकमहिना यता सोनाले राम्ररी खान पाएको छैन । मानुषीलाई बेचैनी बढेदेखि ऊ कसैसँग बोल्दिन । उसँग बात मार्न मानुषीलाई फुर्सद नै छैन । छोरी, ऋचाले पनि उसको खातिरदारी गर्न पटक्क छोडी । भगवान आफ्नै कोठामा व्यस्त हुन्छ । सोना घरका सबै सदस्यबाट निराश भएको छ । उसका मनमा कुनै दिप्ती छैन ।
मानुषीले खाना बनाई, खाई र कोठामा पसी । भगवान निदाइसकेको थियो । उसलाई आज दिउँसोका फोटो फेसबुकमा पोस्ट गर्ने मन थियो तर न उसको मोवाइलमा ब्यालेन्स न हटस्पट नै अन । उसले भगवानको निन्द्रा विग्रेला किन डिस्टब गर्नु सोची । एकछिनमा थाकेकोले भुसुक्क निदाई ।
उनीहरूको शित युद्ध चलेकै निरन्तर चलेको थियो । एक अर्कोसँग बोल्न लगभग छोडिसकेका थिए । तर आ आफ्नो काम भने दुबै गरिरहेकै थिए ।
मानुषीले घर छोड्नु अघिल्लो दिन,
मानुषीको अलि अबेर निन्द्रा खुल्यो । हतार हतार उठेर दुध लिएर आई । बार्दलीबाट लेमन ग्रास चुडेर चिया उमाली । नास्ता तयार पारेर टेवलमा राखिदिई ।
आठ बजेतिर खाना तयार पारी । दुई चोइली भात थालमा के पस्केकी थिई । भगवान केही नबोलेर अफिस जाने झोला बोकेर निस्कियो । हप्ता दिनदेखि भगवान भान्सामा पसको थिएन । खाना तयार हुने वित्तिकै कोठा छोडेर भाग्थ्यो भने राति अबेर मात्तिएर आउथ्यो ।
उसले एकोहोरो भगवानलाई हेरिरही । मानुषी धेरै बेर एक्लै टोलाएर बसी । उसले मनमनमा आफुलाई धिक्कार गरिरही । भगवानले आफुलाई अस्विकार गरेकोले हिनताबोधले उसलाई पिरोलिरह्यो । र पनि छोरीलाई खाना खुवाएर रोडमा हर्न बजाइरहेको स्कुल बससम्म पुर्याएर फर्की । भगवानको व्यवहारले उसको खानाप्रतिको रुचि मरिसकेको थियो तर पनि मुख जुठो पारी । बार्दलीमा गएर कपाल कोर्न थाली ।
मोटरको आवाज गुन्जियो उसको कानमा । उसले सडकतिर हेरी । मोटर पल्लोघरको अर्धबैसे स्वास्नीमान्छेको थियो । ती स्वास्नीमान्छेसँग मानुषीको दुईचारपल्ट भेटघाट भएको थियो । सँगै बसेर बात पनि मारेका थिए दुबैले । स्वास्नीमान्छे एउटा गैरसरकारी संस्थामा प्रजेक्टर अफिसर भएर काम गर्थिन । एक छोरो र आमा विगत सातवर्ष देखि त्यसै घरमा भाडामा बस्दै आएका थिए ।
ती स्वास्नीमान्छेले एक भेटमा भनेकी थिइन, ‘ म विहे अघि नै एनजीओमा काम गर्थे । श्रीमानले जागिर छोड भनी कर गर्न थाले । मैले मानिन् । उनले अफिसकै एक सरको जारी लगाउन थाले । सम्बन्ध चिसिदै गयो ।’ उनले फेरि थप्दै भनेकी थिइन,‘ म माथि हातपात गर्न खोजे । बिना कारण पनि माइतीलाई दोष दिएर गालि गर्ने । सँगै बस्ने अनुकूल वातावरण रहेन । एक्लै बस्नुपदा गाह्यो छ हुन्छ । मायाको अभाव त खड्किन्छ तर हिंसा सहेर बस्न सकिदो रहेछन । चुप लागेर कति दिन बस्ने ? अनि निर्णय लिए । ’
ती स्वास्नीमान्छेको कुरा उसको काममा धेरै बेर गुन्जिरहे । उसले विगत दुईवर्षदेखि भगवानले गर्दै आएको उपेक्षा र हिँसात्मक गतिविधिलाई श्रृङ्खलावद्ध रुपमा सम्झिन थाली । उसलाई अझै सहेर बसीरहन मन लागेन ।
उसलाई लाग्यो, अब आफै हाल्छु आफ्नो मोवाइलमा ब्यालेन्स । आफै किन्छु डाटा र मनलागि चलाउछु सोसल मिडिया । कति हटस्पटले काम चलाउनु ? चाहिदैन कसैको हटस्पट ।
अनायासै उसका आँखा रसाएर आए । उसले हर्थुलुङ्गोले आँशु पुछी । एक्कासी उठेर कोठामा आई । उसले र्याकबाट कपी र कलम झिकी । टेवुलमा बसेर लेख्न थाली ।
प्रिय भगवान,
यतिन्जेल तिमी मेरो लागि भगवान नै भएर बसेका थियौ, मनको कुनै कुनामा । म त मान्छे न परे । मान्छेसँग भगवानको सम्बन्ध सुमधुर नहुदोरहेछ । भगवानसँग मान्छे खुसी र सुखी नहुदोरहेछ । भगवान मन्दिरमा नै बस्न सुहाउँछ, घरमा होइन । किनकी भगवानहरू प्राय पत्थरका हुन्छन्, तिनको मनपनि पत्थर नै हुदोरहेछ । राम्रैसँग भोगियो । न तिमी मान्छे बन्न सक्यौ न म नै भगवान बन्न सके । मलाई म नै भएर बाँच्न चाहान्थे । तिमीले मलाई पनि भगवान बनाउने असफल प्रयास गर्यौ । मलाई लाग्छ जबदेखि मान्छेहरूले पत्थरहरू पुजिन थाले मन्दिरमा सायद त्यसै दिनदेखि ईश्वरको मृत्यृ भयो । त्यसैले मान्छे र भगवान एकै ठाँउमा बस्न कदापी बस्न सक्दैनन् ।
छोरीको ख्याल राख्नु ल ।
उसले टेवुलमा चिठी राखी । त्यसैको छेवैमा राखी कलम पनि । अनि ढोका लगाई । बर्दलीमा पुगेर उसले सोनाको आवाज सुनी । चराहरू पिँजडा सुहाउँदैनन् । चराहरू स्वतन्त्रताका सेनानी हुन् । तिनलाई आकाश नै प्यारो लाग्छ । उसले यस्तै धेरै कुरा सोच्दै सोनालाई बाहिर लागि र छोडिदिई । सोना पनि मानुषी आइ लभ यु भन्दै उड्यो ।
८८८८
हेलो फुच्चे राइटर,
कस्तो लाग्यो मैले भनेको कथा ।
ओकेछत । भगवान निन्द्रामा बर्रबरायो ।
भगवान कुर्सीमा बस्दा बस्दै निदाईसकेको थियो । ऋचाले काँधमा समातेर हल्लायो ।
भन्यो, बाबा …।
छोरीको आवाजले उसको निन्द्रा विथोलियो । उसले बोतलको पानी पियो । एकछिन टोलाएर बस्यो ।
ऋचालाई काखमा राख्दै उसले भन्यो, आमाको माया लाग्छ ?
धेरै लाग्छ नि ।
हो
हो नि
ओकेछत ।
उसले ऋचालाई लिएर कोठाबाट बाहिर निस्क्यो । हावा एक तमासले चलेको थियो । घण्टीका पातहरू हावामा नाच्दैथिए । रुखमा थुप्रै चराहरू कराइरहेका थिए ।
एक्कासी रुखबाट आवाज आयो, ‘हेलो मिस्टर गड ।’
दुबैले घण्टी फूलको हाँगामा हेरे । अनि दुबै मुस्कुराए । भगवानले भन्यो, ‘आइ लभ यु सोना ।’
खेम बतास खेम बतास खेम बतास खेम बतास खेम बतास खेम बतास खेम बतास खेम बतास खेम बतास खेम बतास खेम बतास खेम बतास खेम बतास खेम बतास
लेखक परिचय
युवा पुस्तामा विशेष गरी आख्यानको क्षेत्रमा सशक्त रूपमा अघि बढेका बतासको कथाहरूमा माटोको सुगन्ध पाउन सकिन्छ ।