त्रेता युगमा मथुराका राजा, उग्रसेन । राजकुमार कंस । उग्रसेनलाई कैदी बनाएर कंसले राज्य आफ्नो हातमा लिए । कंसले आफ्नी बहिनी देवकीको विवाह बासुदेवसँग गराइदिए । तिम्रो हत्या आफ्नै भान्जाका हातबाट हुनेछ । बचेर रहनु भनी एकदिन दरवारमा भविष्यवाणी भयो । यस्तो अकल्पनिय भविष्यवाणीबाट कंशको साँतो गयो । रातमा निन्द्रा र दिनमा भोक प्यास हरायो । उनले आफ्नो पक्षमा साम, दाम, दण्ड र भेद लगाउने भगिरथ प्रयत्न गरे । दरवारमा सुरक्षित बन्दोबस्तको व्यवस्थापन गरे । देवकी र बासुदेवलाई पनि उनले मथुरा राज्यमै कैदी बनाएर राखे । देवकीका बच्चा जन्मिदै जान्थे । कंसले तिनको हत्या गर्दै गइरहेको थियो । आफ्नै दाजुबाट काख रित्तिदै गएकाले देवकीका आँखा ओभानो थिएनन् । उनलाई गर्भिणी भए पनि नभए पनि कुनै मतलब थिएन तर बच्चा जन्मिने क्रम जारी थियो । फलस्वरुप आठौँ सन्तानको रुपमा कृष्णको जन्म भयो । यसपल्ट कृष्णलाई अन्तै लुकाएर त्यसको ठाँउमा नन्द राज्यबाट यसोदा कि छोरी सुभद्रालाई ल्याइएको थियो । कंसले मार्ने उद्देश्यले बालिकालाई आकासमा फाल्यो । आकाशवाणी भन्यो,‘ तेरो हत्या कृष्णकै हातबाट हुने छ ।’
कंस अत्याचारको बाउ थियो, त्यसैले खुरापाती नहुने कुरै थिएन । उसले सैनिक दलबल सहित कृष्णलाई खोज्न लगायो । सेनाहरू प्रत्येकपल्ट निरासा मात्र बोकेर दरबारमा फकिन्थे । कृष्णलाई विन्द्रावनमा लुकाएर राखेको खबर विशेष दूतबाट उसले पत्तो लगायो । उसले आफ्नो महिला मन्त्रीलाई पुतनाको भेषमा कृष्णलाई मार्न पठायो । कृष्णले पुतनाको बिष मिश्रीत दुध चुस्यो । दुध मात्र होइन रगत समेत चुसेर कृष्णले पुतनाको हत्या गरिदिए । पुतना (कंस) को पराजय र गोठालाको विजय भएको अवसरमा डोटी राज्यमा असोज एक गते बुढीपोल्ली मनाउने परम्परा रहेको छ ।
बुढीपोल्ली
‘ यैपालि हाम लै बुढीपोल्ली बनाउनपन् धै कसो हुन्छ ? ’ हिजो दोकानमा बसेका गाउँलेका साम्नेमा हरिलालले भन्यो ।
‘पुरानो रीत मान्नु हो के । यै माल आए देखि त खानु रे हग्नु मात्र छ सबको काम । पितापूर्खाको कदर कस्ले गरेको छ रे ? ’ साल्भने लुहारले सुर्ति थुकेर गुनासो पोखेको थियो ।
नरिभान साँउदले त्यसैमा थपेको थियो, ‘ सब मुलेमुली मोवाइलमा झुण्डिरन्छन् । हामरा दिनकी काज्वार(चाडपर्व) हाम्ले हो जोगाउनु । ’
सबै गाँउलेहरूले सहमति जनाएका थिए । भनेका थिए, ‘ लौ यैपालि धरमपुरमा पनि बुढीपोल्ली मनाउ, मनाऊ । जसो जसो हुन्छ । ’
बुढीपोल्ली मनाउने निर्णय भयो । दोकानमा बसेका सबैले ताली पिटे । साल्भने लुहार, दुनिँयालाल कामी, नरिभान र रतनलालले बुढीपोल्ली मनाउन के के चाहिन्छ ? छलफल गरे । जात्कका हातमा कापी र कलम थमाएर सबै सरसामानको नाम टिपाए ।
असोज १ गते,
देउमनेले काटेर ल्यायो, एक अंगाली काँस । गुव्याउलो, ओल्छो र पुत्याउलोको बोट बनभरी खोज्यो । पहाडमा जे जे सामानले बुढीपोल्ली बनाउथे ती सबै पाइएनन् । सल्लाको ठाउँमा सिसमको झुरोले काम चलाउने भयौँ ।
रुप्सी, तुल्सी, न्याउली, बास्मती, केशु घुन्नी सबका सब गाईगोठाला दोकान अगाडि भेला भए । दुनिँयालालले सबै गोठालाई हेर्यो कर्के नजरले । उसले जुँगामा ताव दियो ।
‘ यै दोकानलाई क्यारु । हिट्, सबै आइगे । अब, साहिज्युका घरैलाई जाउ रे बुढीपोल्ली जगाउ । ’ उसले भन्यो
बुढीपोल्ली पोल्ने मनसायमा छन्, धरमपुरवासी । तीन ओटा पुतना बनाइएका छन् । अलग अलग तर दुरुष्ट उस्तै । काँसले बनाईका ती जुलुङ्गोहरू हेर्दा मान्छे जस्तै छन् ।
मान्छेको जस्तो आकृति देखेर ठगीरामले भन्यो, ‘ कुच्चा जसो बनाउनु हो लाऊ, पुतना त । यिन् त ठालुका चेलाचेली जसा भए । हड्नौ कपडा लगाय त, काटिकुटि मान्छे जस्ता छन् । ’ सबैले हेरे पुतनाहरूलाई । तर कसैले केही कमेन्ट गरेनन् ।
हरिभानले भन्यो, ‘ देश अनुसारको भेष गद्दु भन्नाछन्, अब बुढीपोल्ली बनाउनलाई सबै सरजाम छैन, यस्तै हुन्दीअ । मान्छेजस्तै भए पनि पुतना नै हो । अज्यालका मान्छे पनि पुतना जस्तै त छन् । ’
सबै जना हरिभानका खलामा जम्मा भए । पहाडमा बुढीपोल्ली पोल्दा भएका तमाम, किस्सा सुनाउदैछन् एकले अर्कोलाई । दुनिँयालालले बडो कलात्मक शैलीमा कथा हालेझैँ सुनायो, बुढोपोल्दाका किस्साहरू । हाँसोले खित्ला छुट्दै थियो आँगनमा । हावाले पनि जोडजोडले रुखका पातहरू हल्लाउदै थियो । मानौँ, हावाले पनि दुनिँयालालको किस्साहरू बुझ्यो होला ।
उनले भने, ‘पहाड हाम् तीन पुतना बनाउथे । घामले डाडाँ काट्नु अघि गाईको मुन्टामा फूल अच्छेता लगाउथे । गाई खोर्यान नपरोस । बाघले नखाओस् । गाड नबगोस । बनमा जसो पठाएको हो, कुनै दाग नलागी गोठमा पुगोस् । गोठमा खड्विगड् नहोस । एकको एक्काइस होइजाउ भनेर लख्खिमीको पूजा गर्थ्यौँ । त्यो पुतना पर्सिखातमा राख्थे । ’ उसले भनेको हामी सबै ध्यान दिएर सुनिरहेका थियौँ ।
उसले त्यसैमा फेरि थप्यो, ‘ दोस्रो पुतना घरको पूजाका लागि तयार गरिन्थ्यो । त्यो पुतनालाई सबैले आफ्नो घरमा लैजान्थे । छ्यो बुढी, छ्यो, हामरा घर केइ दुःख नहोस् । हामरा घर कैलै चिड्को नपरोस् । छ्यो बुढी छ्यो, हामरा हिट्बोट ठेस नलागोस् । सबैका काल त्यै बुढी गएई । गाँउ पसेका हैजाले तो बुढी लैजाओस् । घरका सबै ठाउँ झार्थ्यौ । छ्यो बुढी छ्यो भन्दै पुतनालाई घरका पाखामा राख्थ्यौँ । ’
तेस्रो पुतना मूख्य पूतना हुन्थ्यो । यो पुतना एकान्तमा लास लगेझैँ लगेर जलाउथ्यौँ ।
दुनिँयालालले भने अनुसार हामीहरूले पनि तीन ओटा पुतना बनायौँ । मूख्य पुतनालाई मनहरामा जलाउन लैजान तयार भयौँ । पुतना दुरुस्त मान्छेजस्तै थियो । स्तब्ध मरेको मान्छे जस्तै ।
साँझ छिप्पिनलागिसकेको थियो । घर घरमा बत्तिको मधुरो उज्यालो टाढैबाट देखिन थालिसकेको थियो । निन्नरा बोल्न थालिसकेका थिए ।
साल्भनेले टर्च लाईटको उज्यालो बाल्दै भन्यो, ‘ हिट् जाऊ । पछि रात चुपुक्क हुने हो । ’
‘पहाड त, ठुल्ढुङा जान्थ्यौ । अब याँ न डाणोँ छ, न ठुल्ढुङ्गो । हिट् अब मनहराका किनारै जाऊ ।’ उसले फेरि थप्यो ।
दुनिँयालालले सुल्पामा तमासु भर्दै भन्यो, ‘अब नभएका इजाबा की सौराई मानेर क्यारु भाऊ । ’ उसले सुल्पामा सलाई पार्दै थप्यो, जे जसो छ, त्यसैमा चित्त बुझाऊ । ’ उसले सुल्पा तान्यो । धुँवा चारैतिर फैलियो । धुँवा उड्दै गएर आकाशमा हरायो ।
सबैले दुनिँयालालको कुरामा सहमति जनायौँ । हामी बुढीपोल्न मनहरा खोला जान तयार भयौँ ।
एकपल्ट, पहाडमा बुढीपोल्न जाँदा ठेस लागेर हरिभान लोटेको थियो । तर दियो निभेन । दियोमा अझैँ तेल थपेर लैजादै साल्भनेले भनेको थियो,‘ भगवान साक्षात् रैछन्, दियो निभेन । ’
साल्भने अघि लागे । सबै उनको पछिपछि लागे । हरिभान अरु गाँउले भन्दा होसियार थियो, इमान्दार र बुझकार पनि । उसका हातमा थियो, पूजाको थाली र दियो । त्यसै, दियोको आगोले जलाइन्छ, पुतनालाई । दियो निभे अलक्षिन मानिन्छ । त्यसैले दियो हरिभानका हातमा दिइएको थियो । ऊ जोगाई जोगाई लैजादैथ्यो, दियोलाई ।
मनहराको किनारमा पुगेर तारिकाले राखे पुतना । पुतनाको छेबैमा राखे काक्राहरू । उनले राखेको देखेर मैले र देउमनेले पनि राख्न तयार भयौँ, बाँकी पुतनाहरू ।
सबै पुतना गाडमा ल्याएको देखेर तारिकाले भन्यो, ‘ए आलाकाच्चाउ, सबै पुतना गाड् ैल्याया, तमरी डाँणी लागि जाउ रे, बा धेगेन बाको समाउने धेगे भनेको यै हो । ’ उनी पुतना राखेको ठाँउमा आएर उभिए ।
हरिभानले यताउता हेर्यो सबै पुतना उसका अगाडि थिए । ताज्जुग लगेर आयो । उसले भन्यो, ‘एक पर्सिखात, एक घरका धुरिमा राख्नु हो । के अचम्म गर्या । पखदा जात्कौ (केटाकेटीहरू) । ’
“अब ल्याईहाल्या राख ।” तारिकाले भन्यो ।
मैले हातको पुतना विस्तारै भुँइमा राखे । मैले राखेको देखेर देउमनेले मेरा मुखमा हेर्यो । मैले दाँया आँखो झिमिक्क गरेँ, उसले कुरो बुझ्यो । उसले पनि राख्यो पुतनालाई भुँइमा । दुवै पुतनाहरू जुम्ल्याहा दाजुभाई जस्तै देखिए । पुतनाहरू आपसमा कानेखुसी शैलीमा कुरा गरिरहेका जस्ता थिए ।
म पहिलो पुतनाको सम्मुखमा उभिएँ । नाङ्गो जुलुङ्गो देखेर मेरो कल्पनाको संसारमा धेरै कुरा खेले । मैंले पुतनाका शरिरका सबै अंगहरूको कल्पना गरे । म मनमनमा मुख नछोपेर हाँसे । टाउको निहुराए । लाज लागेर आयो । नाङ्गा मान्छे आफ्ना अगाडि उभिएको जस्तो अनुभूति भयो । मैले आफ्नो लगाएको सर्ट खोले । यताउति हेरे । सबै आ–आफ्नो काममा व्यस्त थिए । कोही बसेर सुल्पामा तमाखु भर्दै थिए । कोही बसेर निधारको छिपछिपे पसिनाका बुँद शिरको टोपीको फेरमा पुछ्दै थिए । जयजात्कहरू मनहरा हेरेर रमाइरहेका थिए ।
बुढापाका मनहरा देखाएर भन्दै थिए, ‘मलबार आउदा, यो गाड् शिवराज मन्त्रीकुलो जत्रो थियो । अहिले हेरपन् कर्नाली भई । पोहोर साल सर्बे ल्वारको चार कट्टा जग्गा बगायो । विचरोले वर्षभरी बेसा गरेर खानु पर्यो । ’
अर्कोले थप्यो, ‘ ढुङ्गा, बालुवा गिट्टी बोक्ने कि मजा छ । हाम गरिबलाई के भए के छ । खोला रोडा पनि धनी कै तिर लाग्दा । गरिबका तिर त कोइ न कोइ उइ पुरानो पोइ । ’
दुनिँयालालले भन्यो, ‘ हामले त कालका दिन पुरा गर्नु हो हजुर । पहाड लै दुखै पाए । माल पनि धौ दिन काट्नु छ । ’
साल्भनेले त्यसैमा थपे, ‘अरे दाजी, पहाड त ठन्न पानी खान्थ्यौँ । खोलारोडामी टिपेको लिउणोँको ताजा साग । बास्मतीको भात । आफुकी नभए लै सबै आइजा खाइजा भन्नेथे । मधेश त गर्मीले भुटिगे । मछ्छडा उसाई, स्याप किडाको डर । हात पाखुरा नचले त भोकै बस्नु पर्छ । नाउँ मात्र माल हो । माल नै रे काल हो काल । ’ उनीहरू दुःख बिसाउदैथे । तुलना गर्दैथे पहाड र मधेशको ।
मैले विस्तारै पाईला अगाडि बढाए । सर्टलाई लगाईदिए, पुतनाको आङ्मा । मैले लगाएको देखेर देउमनेले पनि खोल्यो आफ्नो सर्ट । उसले पनि केही नसोचेर लगाई दियो, पुतनालाई लुगा । तेस्रो जुलुङ्गो नाङ्गै थियो । पुतनाको आङ्मा लुगा लगाएको देखेर सबै विस्मय भावमा परे । एकले अर्कोलाई हेरे । सबैले आँखा तरे । कान राता बनाए र नाक लौका जत्रो बनाए । उनीहरू पनि पुतनाजस्तै देखिए, कोही केही बोलेनन् ।
“काँइ नभएको जात्रा हाडीँ गाँउमा के गर्या जात्कौ यस्तो ।” दुनिँयालालले भन्यो ।
कोही केही बोलेनन् । एकछिन सन्नाटा छायो । म रातोपिरो भए । मजस्तै भयो देउमने पनि । हामीले यताउता हेर्यौँ । कुनै बहुमुल्य बस्तु खोजिरहेका जस्ता थिए, हाम्रा आँखा । मनमा डरले गुँड बनाएर बसेको थियो । अलिपर ढुङ्गामा टुक्रुक्क गरी बसेको थियो, श्यामे । मलाई हेर्यो तर केही बोलेन । उसले चारैतिर हेर्यो, कर्के आँखाले । मनहरा शान्त मुन्द्रामा थियो । वरिपरि अन्धकारले राज्य जमाएको थियो । सिरसिर हावा चलिरहेको थियो । काँसका सेता भुवाहरू हावामा हल्लिरहेका थिए । पर घरका धुरिबाट धुँवा पनि निस्किन सुरु भइसकेको थियो । श्यामे उठ्यो । उसले पुठ्ठामा लागेको माटो बाँया हातले टक्टक्यायो । र, मुस्कुरायो । ऊ सरासर अगाडि बढ्यो । अलिपर मुडोमा साल्भनेले जुहारी कोट राखेको थियो । उसले समातेर लगाइदियो तेस्रो जुलुङगोलाई । छेबैको भुँईको कालो मोसो समातेर, उसले पुतनाका जुँगा बनाइदियो । आफ्नो टाउकोको क्याप टोपी निकाल्यो र लगाइदियो पुतनालाई ।
उसले भन्यो, ‘यो त दुरुस्त रजतजंग कार्की जस्तै बन्यो ।’
मैले भने, ‘ होइन, पण्डित बासुदेब भट्ट जस्तो छ ।’
‘ टोपी निकाली दे न, बाजी रावल जस्तै छ ।’ देउमनेले भन्यो ।
श्यालेले पहिलो पुतनाको टाउकोबाट टोपी निकाली दियो । ‘ हेर त यो त बाजीकी स्वास्नी जस्तो पो छ यार ।’ उसले भन्यो ।
हामी सबै हास्न थाल्यौँ । बुढीपोल्ली मनाउन आएका सबै हाम्रो हर्कत देखेर आर्श्चयचकित आँखाले हेरिरहेका थिए । म एकोहोरो पुतनालाई हेरिरहे ।
दुनिँयालाल कामी
गोर्खाका राजाले खेदेको हनुमान पुन चार वर्ष जोरायल बस्यो । धरमपुरमा कटान खुल्यो भन्ने सुनेर उसका मौ जहान मधेश झरे ।
त्यसपछि हल्दार काका आए । सुब्बा साहेब आए । बाजी रावल आयो । प्रधानपञ्च रजतजंग कार्की आए । अनिपछि मेरो बाका भाइ भतिजा आए रे । पछि त पहाड नै खाली भयो ।
दुनिँयालाल साविकको डोटी बगलेख गाविसको मान्छे । ऊ मधेशमा बसाँई सरेको पैतिस वर्ष भयो । धरमपुरमा तीन विघा खोरिया फाडेर बनाएको थियो । त्यसबेला गाँउका प्रधानपञ्च रजतजंग कार्की थिए । उनलाई दुनिँयालालले मुरी छरेर मानो फलाएको देखी सहेनन् । आफ्नै बारीमा मकै उमारेको र तोरी फुलाएको मन परेन ।
‘ यो मेरो जग्गा हो । यसलाई मैले जग्गाको रखवाली गर्न राखेको हुँ । यो त मेरो भागे ल्वार हो । अहिले मेरै जगा कब्जा गर्न लाग्यो ’ भने
दुनिँयालालको नाममा मुद्दा हाले । दुवैले लडे । अड्डा अदालतमा दुनिँयालालका कोही मान्छे थिएनन् । उनले मुद्दा हारे । त्यसपछि सबै जग्गा रजतजंगको भयो ।
‘हामरा भाग्यमा यति थ्यो मालको भात खानु । ’ उनले यति भनेर चित्त बुझाए ।
बम्बैमा डण्डा हानेका पैसाको अहिले उनीसँग दुई कट्टा ऐलानी घरबास छ । त्यसै घरबासमा आँफर बनाएर देख्छन नम्बरी सपना । एक हल बल्ल (गोरु) पालेका छन् उनले । जमिनदारका जग्गा अधिँया बनाएर पालेका छन, पेट ।
सेतो सर्ट, कालो पाइन्ट र कालै कोट लगाउँछन् दुनिँयालाल । कोटको खल्तीमा हमेशा हुन्छ, तमाखु, सुल्पा र सावी । देश खाएर शेष भएजस्ता देखिने जोसुक्कै भेटे हालसमाचार सोधिहाल्छन् । स्वागतमा उनले निकाली हाल्छन्, कोटबाट तमाखु ।
लामा जुँगा पालेको हुन्छन उनले । टाउकामा सेतो पगरी बाँधेको हुन्छ हमेसा । हातका चाँदीका बाला र कानका सुनका मुन्द्रा देखे, धरमपुरमा उनको परिचय दिइरहन आवश्यक पदैन । उनी डेउडे पनि हुन । रामहउस आउनुपर्छ, गलामा फूलको माला, निधारमा रातो अविर कहिल्यै छुट्दैन । डेउडामा उनले हारेको इतिहास छैन । जहिल्यै इनाम ल्याएर आउँछन, घर । उनले नाँउ चलेका गितेरुसँग खेलेको छ, डेउडा । झिरु देखि डुमरीसम्म सबै उसका गीतका फ्यान नै भएका छन् ।
सन्तानका धनी नै थिए दुनिँयालाल । आठ सन्तान इश्वरका बरदान थिए । उसकी पहिलो सन्तान चेली थिई । जन्मदै पहेले रोग लाग्यो । जोगेनीलाई छोरी भिक्षा दिए बाँच्छ भने पछि उसले जोगेनीका झोलामा हालिदिए । त्यसपछि उसको नाम रह्यो जोगेनी ।
एकदिन बाख्रा चराउन गएकी थिई । बाख्रालाई घाँस काट्यो । रुखबाट ओर्लिदा सुकेको हाँगामा टेक्दा हाँगो ढिलो ऊ छिटो पुगि जमिनमा । बाख्रा घाँस खाएर घर पुगे तर गोठाली आइन । बाख्राले आफ्नो भाषामा घटनाको बेलीबिस्तार त गरे होलान । तर मान्छेले जनावरको भाषा बुझेनन् । तीनदिन पछि भेटेका थिए उसको लास ।
माइलो चेलो भयो । हेर्दा कृष्ण जस्तै थियो । त्यसलाई मलेरिया कंश भएर आयो । उनले बचाउने खुब कोसिस गरेका थिए । तर दैवको लिला अपरम्पार थियो ।
उसकी साइली चेली पठाइमा तेज थिई । कक्षामा दोस्रो कहिल्यै भइन । न्वारनमा बाहुनले चिठा बनाउदा लगनमा मंगल छ यो सरकारको मानो खान्छ भनेका थिए । मानो खाएन । दोस्रो जनआन्दोलनका बेला ऊ अत्तरिया दाउरा बेच्न गएकी थिई । आर्मीको गोली खायो । अहिले प्रत्येक चुनावको पूर्व सन्ध्यामा माओवादी नेता शहिद घोषणा गर्ने आश्वासन दिएर जान्छन् । चुनाव जित्छन । हराउँछन् ।
काइलो चेलो जन्मदा तारालाई स्वास्नीलाई व्यथाले खुब च्यापेको थियो । दुई घण्टा वेहोस नै भएकी थिई । देउमनेको बल्ल गाढीमा स्वस्थ्य चौकी पुर्याएका थिए । देउदेउता दाइना भए । आमाको चाही ज्यानमा तलमाथि भएन ।
मन्धरी एकपल्ट तुहेकी थिई । खुब रगत बगेको थियो, उसको । त्यसको कमजोरीले उसले अहिले पनि भारी काम गर्न सक्दिन । सन्तानको नाममा अहिले ऊसँग धौलीमात्र छे । गएको स्थानीय चुनावमा दलित महिलाको टिकट पाएर वडा सदस्य भएकी छ । धरमपुरको आशाको ज्योति बनेर बसेकी छ धौली ।
अम्मरेले घर छोडेको पाँच वर्ष भयो । गएदेखि आजका मितिसम्म घरको माया उसलाई लागेको छैन । तर छोरो फर्केर आउँछ भन्ने उनलाई आशा चाहि छ ।
अगाडिका दुई दाँत ठूला छन् उनका । त्यसैले पिठ्यू पछाडिको उनको नाम राखेका छन्, कोदाले बुढो । छोराछोरी गुमाउनुको गहिरो पीडा उसका अनुहारमा राम्रोसँग देखिन्छ । त्यो पीडा कप्न नसकी उनले केही समय उनले डेउडा खेल्न पनि छोडेका थिए । तर कस्तुरीले आफ्नो सुगन्ध छोडेन । उनका गीतका सुगन्ध फेरि फैलिन थाल्यो धरमपुरभरि ।
चार गीत हाल्नुपर्थ्यो । जात्की फिदा हुन्थे उनका गीतमा । उनको गीतका सम्मानमा, जात्कीले आफु हुनुको सार विसिन्थे । आफुलाई दुनिँयालालमा पाउँथे ।
अहिले उनको उमेरले तीन बिसि काटिसक्यो । नातिनतिना पाउने उमेर भयो । डेउडा खेले पनि, धामी कामे पनि । जारी बुझाउनेसम्मको क्षमता छैन उनमा । तर, उनले चुरोटपानी र दबाईदारुमा पैसा हाल्नु परेको छैन । दोकानमा जानुमात्र पर्छ । एक खिल्ली, एक सरो, एक गिलास, एक कप, एक गास, नखा भन्ने कोहि हुदैनन् ।
कुकुर बिराला समेत गाँउको माया मारेर आएका थिए, मधेश । मुख बोल्ने मान्छे नभए पछि, दुःख लुकाउने ठाँउ हराए पछि, घाँसको भारि राखेर पसिना पुछ्ने चौतारोको पीपल र खुसी बाड्ने आफन्त नभेटे पछि, उनी आएका थिए बगलेख छाडेर मधेश ।
तिहार आउन हप्ता दिन मात्र बाँकी थियो । धानका बाला खेतभरी झुलिरहेका थिए । आफर आँसीले भरिएको थियो । उनी व्यस्त थिए आँसीमा पाइन लाउनमा ।
चार घण्टामा लगायो सबै आँसी भाँणामा पाइन । कस्का, कुन आँसी हुन् ? सबैको नाम लेख्यो उसले आफ्नो मनको कलमले मनको कापिमा ।
मन्धरीलाई उसले भन्यो, “जा रजतजंग कार्कीका घरका आँसी हुन् दिएर आ ।”
मन्धरीले सिमेन्टको पुरानो कट्टामा हाली सबै आँसीभाणा । ऊ हिडी आफरबाट आफर्याइलो बास्ना बोकेर गाँउतिर । जुन गन्धसँग अभ्यस्त भइसकेकी थिई ।
उसको गोडामा चप्पल थिएन । धरमपुरमा खालि गोडा अचम्म लाग्दो दृश्य होइन पनि । चिउटो खेतजस्ता कुर्कुच्चा, मैलले कालै भएको हरिया रंगको ब्लाउज । त्यो ब्लाउज कम चाल्लो जस्तो धेरै थियो । तर मन्धरीले त्यो ब्लाउजलाई ब्लाउज नै मानेर लगाइरहेकी थिई । टाला नै टालाहरू थिए, ब्लाउजभरी । ती टालाले ब्लाउजलाई दिपावलीको रंगोली जस्तै बनाएको थियो । पेटीकोटमाथि सेतो लुङगी लगाएको हुन्छ, हमेशा । त्यो लुङगी नै हो भन्नु गलत थियो, तर उसले लुङ्गी बनाएको थियो ।
पाँच वर्ष अघि होलीमाको मेला लाग्यो गाँउमा । दुनिँयालालले डेउडा खेलेर इनाम पाएको थियो, दोसल्ला । दोसल्ला उसका घरमा प्रवेश गरे पछि लुङ्गी भयो । दोसल्ला हुने हैसियत राख्न सकेन । सुहाउन त उसकाका काधँमा खुब सुहाएको थियो दोसल्ला ।
दोसल्लालाई घरमा मन्धरीले खुब सुम्सुम्याएकी थिई । कैयौँ दिन उसले सिरानी हाले सुतेकी पनि थिई । जब दोसल्लाको कोरो बास्ना उड्यो तब उसले दुनिँयालाललाई भनी, ‘ तमले ब्यामी पनि टनकपुरकी लिलामी धोती ल्याया हौ । काही रामहउस गए लै मुखि न्याथिन, लत्ता । ’
स्वास्नीले निन्याउरो मुख लाएर हालेको लाखको वचन दुनिँयालालले काख लाउन सकेन । दोसल्लालाई दोसल्ला भन्न छोडिदियो । उसले आफ्नो सम्मानमा बजेका ताली र पिठ्यूमा बधाईले थप्थपाएका हातहरू पनि विर्स्यो ।
उसले आँखा चिम्म गरेर भनेको थियो, ‘ जा लै जा । ’
मन्धरीले लुङ्गी पाएर उज्यालो बनाएकी थिई, मुख । आफरको बलेको कोइलाजस्तो । उसलाई दुनिँयालाल संसारको सबैभन्दा रुबस पोइ लागेको थियो । ऊ त्यो रात दुनिँयालाललाई अँगालो हालेर सुतेकी थिई । खुब सुम्सुम्याएकी थिई । उसले जिन्दगीमा पहिलेपल्ट नयाँ बास्ना आउने लुगा पाएकी थिई ।
त्यो लुङ्गीले इज्जत बरोबरी छोपेजस्तो लाग्छ, उसलाई । ऊ त्यही लुङ्गी लगाएर खलो उठाउन जान्छे । गौरवले उसको शिर ठाडो भएको छ ।
कसैले, ‘ खुब निकी धेगिएकी छई, काँ है ल्याइ यो लुङगी ?’ भने
छाति चौडा बनाएर गर्विलो स्वरमा भन्छे, ‘ तमरा ल्वारले इनाम पाएकी पटुकी हो बरे, खुब सौँराई लागन्छे यै की , अब त फाटि लै गै ।’
ऊ आफरमा दुनिँयालाललाई सक्दो सहयोग गर्छे । दुनिँयालालसँग सुख दुःख बाडिचुडि लिने भनेकी उसैले हो ।
ऊ कहिलेकाहि आफरमा बसेका बेला भन्थी, ‘ तमले अझ, एक लुङ्गी इनाम पाए त, मुखिलाई जनमभरि एक धोयो, एक लाउनखी भैजान्थ्यो । ’
उसको कुरा सुनेर दुनिँयालालले आँसीमा पाइन हाल्न छोड्थ्यो । उसले खलाँतीले हावा हम्कन छोड्थ्यो । उसका अनुहारमा अवसाधका रेखाहरू कोरिएर आउथेँ । एकछिन त सास समेत फेर्न विस्रेजस्तो देखिन्थ्यो ।
उसले भन्थ्यो, “ कै के धानो, कै के धानो, मुसा धान कोट्दाको धानो, भनेको यै हो । मान्छेलाई एक छाक कसेरी खाँउ भन्नु भै रै छ, तोलिलाई लत्ता ! नाङगी नौथिन, मनाई धिर्ज परान गर । ” दुनिँयालालका कुरा सुनेर ऊ नाजवाफ हुन्थी ।
त्यो दिन उसले रजतजंग घरमा आँसी भााँणा बुझाई । रात परिसकेको थियो । उसल घरमा रजतजंग सहित केही मान्छेहरू दारु खाएर मात्तिएका थिए । घरमा खलो दिने मान्छे कोही थिएनन् । तर खालीहात घरफर्के उसको चुसो नबल्ने पक्का थियो । उसले रजतजंगलाई आफ्नो समस्या राखी ।
कार्की केही बोलेनन् ।
अर्को मान्छेले भन्यो, ‘ खलो मात्र होइनन । नगद नै दिउला । हुनु पर्यो दरो बाक्लो । के छ त बिचार । ’
मन्धरीले दराहाको साम्नेमा धेरै बहस गर्नु उचिस ठानिन् । ऊ त्यहाँबाट भाग्न खोजी । तिनीहरूले हातपात गर्न खोजे । उसको लुङ्गी तानेर फाले । लुङ्गीको माया माने इज्जत गुम्ने खतरा बढ्दै गएकोले ऊ पेटीको नै लगाएर घर पुगेकी थिई ।
वचनलाल कामी
एकहप्ता तासको रमिता हेरौँ । मन थाम्न सकेनौँ । त्यसपछि किस्नेले देउमनेका साम्नेमा भन्यो, “ देउका, सय/दुईसय रुप्पे ठिणी यै बनाउ हाम्लै एक नानी खेल । बरु, बत्तिको रुप्पेको नगद दिने । बोट राखेर मात्र तास काट्ने । यसरी मारपिट पनि हुदैन । धने, जुले, काल्चे, लिखट्टे र बचनलालले पनि किस्नेको कुरामा जोड दिए । कलझगडा नगर्ने सपथ खाए । देउमनेले कोठाको ताल्चा खोलिदियो । दोकानमा रक्सीका बोतल खुले । चुरोटका प्याकेट च्यातिए । देवालीको मौसम जो चलेको थियो ।
काग तिहारको रात थियो । बचनलालले लाइटर खल्तीमा हाल्यो । उसले चुरोट सल्काउन र टर्च बाल्न जहिल्यै लाइटर बोक्थ्यो । ऊ खाना खाएर देउमनेका दोकानमा गयो । काटि चल्यो, मज्जाको । देउमनेले पनि खुब उठायो, बत्तिको पैसा । बचनलालले घरबाट रुप्पे चोरर आएको थियो । दुनिँयालालले अब सयगडा पाँचका दरले व्याज तिनुपर्ने छ अनाहकमा । दुनिँयालालको मन्दो मुख लागेर होला । बचनलालले एक दाउ पनि नजितेर हार्यो । ऊ सर्वश्व हारेको पाण्डवजस्तै भयो । कन्पट्टीमा हात लाएर बस्यो तासको खालमा । उसलाई हारको ह्याङओभर उतार्नु थियो । लिखट्टेले तीन बोतल रक्सी मगायो । रक्सीको नसाले अझ उसको हारको नसालाई मजबुत बनायो । रक्सी खादाँ खादै बचनलाल दारु खाएकै ठाँउमा बोमिटिङ गरेर बल्टियो । घर पुग्ने उसमा ताकत थिएन । रक्सीको नसा कम होला र घर जाउला भनी ऊ रक्सीको बाटो कुरि बस्यो । नशासँगै उसलाई निन्द्राले समात्यो । राति तीन बजे मच्छडले फाग गए । त्यसपछि बल्ल उसको निन्द्रा खुल्यो । रक्सीको नसाले उसको आँत सुकेको थियो । ऊ जेठ बैसाखको हरिण जस्तै पानी खोज्न थाल्यो । तर, दोकान सुनसान थियो । अन्जान ठाँउमा एक्कासी बसले छोडेको यात्रीजस्तै ऊ अलपत्र थियो । मान्छेको बास्ना नआएको ठाँउमा पानी नपाउनु स्वभाविक थियो । ऊ पानी खोज्न हिड्यो घर जाने बाटोतिर । अध्याँरोमा तिरमिर तिरमिर भएका उसका आँखाले स्पष्ट बाटो ठम्याउन सकेन । बाटोको नालीसँगै जोडिएको आफ्नै घर सम्झेर ऊ बाजी रावलको खलामा उभियो ।
बाजी पनि सराबीहरूको ठुलो बा थियो । जतिखेर आएर पनि कचकच गरी निन्द्रा खराब गर्थ्यो । त्यसैले ढोका खुल्लै छोडेर सुतेकी थिई, उसकी श्रीमती । कुकुर एकोहोरो भुकिरहेको थियो । कुकुरको डरले बचनलाल आँत कामेको थियो । चेतकाँत ठिक ठाँउमा थिएन । उ सुरक्षित ठाँउको खोजिमा थियो । त्यसैले फुत्त बाजीको घर भित्र पस्यो ।
कोठामा टुकीको मुधरो उज्यालो थियो । उज्यालो ओढेर मरेको मान्छेजस्तै भइ सुतेकी थिई, बाजीकी श्रीमती । उसले केही देखेन केवल खाटमात्र देख्यो । ऊ कुनै कुरा नसोचेर पल्टियो खाटमा । बचनलालको उपस्थितिले बाजीकी श्रीमतिको निन्द्रा विथोलियो । ऊ झस्की । बाजीको रक्सीको नसासँग अभ्यस्त भैसकेकी उसलाई बचनलालको उपस्थिति असहज र अनौठो लाग्यो । उसको सपनामा बनेको घर बचनलालले भत्काइदियो । ऊ उठी र बसी ओछ्यानमा । मधुरो उज्यालोमा पनि उसले सहजै चिनहाली बचनलाललाई । ऊ कराई जोर जोरले । उसको आवाजले बचनलालको एक पेग रक्सी जस्तो नसा पनि हरायो ।
दिपावलीको दोस्रो दिन, सुब्बा साहेब आए उसको आँगनमा । उनले भने, ‘ हिट् पीपल चौतारामा । तेरा नाउँमा कचहरी राखेको छ ।’
चौतारो गाँउको न्याय निसाफ गर्ने ठाँउ थियो । उसलाई पुलिसले अपराधी समातेझैँ पाखुरो समातेर लगे । मन्धरीले नाके स्वरमा मुख विगार्दै भनी, ‘के भयो ? केलाई हौ यै लैजाने ?’
सुब्बा साहेबले रिसमिश्रीत उच्चो स्वरमा भन्यो, ‘के भयो रे ? दुधको दुध पानीको पानी, सब पञ्चकै अगाडि हुन्छ । जित्ता त कालेले जित्यो, पच्कायो लालेले चेलो के पालेको रैछ, बाँजका बालेले भनेको यस्तै हो । इसो चेलो पाल्नु भन्दा अप्तालि निको हो । कोइ छैन भन्यो आनन्द ।’ सुब्बा साहेबले दुनिँयालालका मुख अगाडि चोर औँला देखाउदै फेरी थप्यो, ‘ भात धेरै उम्लिए पोखिन्छ, भात पोखिएको निको नै हुनो । चेला आफ्नाबाटा रे बल्ल खेतका राटा नलागेमा धोका पाइन्छ साइबौ, जाँणी राख ।’ दुनिँयालाल एकोहोरो रुन्चे मुख लगाएर हेरिरह्यो । मन्धरी डाको छोडेर रुन थाली, उसको मडोडाड सुनेर धौली र बचनलालका पनि आँखा रसाए । उनीहरूका बरीपरि गोलबटोल भए छिमेकीहरू ।
दुनिँयालाल किकर्तव्यविमढ भयो । उसले कुनै निर्माण लिने सकेन । उसले च्यातिएको ढाकाटोपी शिरमा राख्यो । ढोका छेउको बेतको लौरो समात्यो । गोडामा हाल्यो, तुना छिनिएका एकजोर चप्पल । हिड्यो बचनलालको पछिपछि । दुनिँयालाललाई बाटो लागेको देखेर मन्धरी पनि धोतीको सप्कोले आँशु पुछ्दै हिटी । मन्धरीको पाईला माथि पाइला टेक्दै हिडी धौली ।
बचनलाल बाँसको लिङ्गोजस्तै बनेर टाउको निहुराएर हिडिरहेको थियो । बाटो छेउछाउका घर, आँगन, झ्याल र ढोकाबाट लाटिकोशेरे आँखाजस्तै गरी हेरिरहेका थिए, मान्छेहरू । उनीहरू अनुहारमा घृणाको भाव देख्न सकिन्थ्यो । बचनलाललाई देखेर उनीहरू धारे हात लगाउदै मनमनमा लागि दिँदै थिए ।
पाखुरो समाएर किन पीपल चौतारामा लैजादैछन ? बचनलाललाई थाह भइसकेको थियो । ऊ हीनताबोधले विक्षिप्त भएको थियो । उसलाई हरेक पाइला पचास पचास किलो ओजनका लागेका थिए । उसको अनुहारको कालोपनले पुरै संसार कालो भइरहेको थियो । उसलाई लागेको थियो, रक्सीको नसामा बाजीको घरमा पसेको सोह्रै आना सहि हो । तर अरु सबै तथ्यहरू गलत हुन् । उसलाई लागेको थियो, जे भएको हो, सबै सत्य भनिदिउला । गल्ती भै गै गोडामुन्टा परुला । माफी मागुला । कान समाउला । यतिले पनि नपुगे स्कुलमा सिकेको उठबस गरुला । तर पीपल चौतारो उसले कल्पना गरेजस्तो स्थितिमा थिएन । पीपलका पातहरू स्तब्ध थिए । चौतारामा बसेको थियो, पूर्व प्रधानपन्च रजतंजंग कार्की । पावरदार चश्मा लाएका कार्की बेलाबेला मुखको उर्विएको थुक थुकिरहेका थिए । जसमा मिर्सिएका थिए, सुर्तिका टुक्राहरू । कार्कीका दाँयातिर बासुदेब भट्ट । छेबैमा थिए कटुवालेदाई । बाँयातिर पुराना प्रधान साप र जोशीकाका । बाकीँ भेला भएका स्वास्नी बौकान जात्कजात्की उनीहरूकै गफमा कान थापेर मुन्टो हल्लाउदै थिए । चुरोटको धुँवाले पीपल चौतारो उकुसमुकुसमय थियो । कार्कीले कुर्ताको बाउलो दाँयाहातले माथि सारेर चश्माको पावर भएको भागबाट हेर्यो । घडीमा १०ः४४ बजिसकेको थियो ।
उसले सबैले सुन्ने गरि भन्यो, ‘ ए दुई, घण्टा भैगे । कोही आएनन् त ? मैले अर्को काम लै गद्दु छ । छिटाई बोलायपन् । दुनियाँले के के गरिसक्यो ? यै ठाँउका मान्छे की बुद्धि उल्टा मात्र चलन्छ । कमिलाका मर्ने बेला प्वाक पलाए भनेको यै हो ।’ कार्कीका कुरा सुनेका सबैले बचनलालको घरतिरको बाटोतिर आँखा राख्यो । बचनलालको पछि एक जमातै मान्छे आएको देखेर, देख्ने जतिले माहुरीको स्वरमा गुनमुन गुनमुन गर्न थाले ।
बचनलाललाई उभ्याइयो पीपल चौतारा अगाडि । गाँउमा हुने सबै न्याय निसाफ छिनिने अदालत त्यहि चौतारो थियो । कचहरीमा उसको मुन्टो थारुदाईको आँसीको मुन्टोजस्तो भयो । ऊ निरिह थियो । पश्चतापबोधले थिचिएर अर्धमरो भएको थियो । बचनलालका ठिक अगाडि उभिएका थिए रुन्चे र लज्जाजनक मुख लाएका उसका मौ जहान । बचनलालको हर्कत सुनेर कचहरीमा आएका सबै कानेखुसी स्वरमा सरापी रहेका थिए ।
उनीहरू भनिरहेका थिए, ‘आज रावलै मौका घर पस्यो भोल हामरा घर लै पस्ने हो यो मुकाटे । यस्ता सराबीलाई त नाङ्कै डुलाउनु हो गाँउभरी ।’
अर्कोले त्यसैमा थपे,‘ यस्ता मन गुण्डा त खराब हुने रैछन् के । लाटो लाटो मर्माकाटो भनेको यस्तै हो । ’
अर्काले फेरि थपे, ‘एकली स्वाहानी धेग्यो रे भित्रर पस्यो । यस्ता इज्जतमा आँखा लाउनेको त आँखा फोडिदिनु हो ।’
जसले जतिसक्थे काटे बचनलालको कुरा ।
बचनलाललाई कचहरी अघि राखेर कार्कीले सत्य, सत्य के के भएको हो भन्, तलाई सब माफ गरिदिन्छ भन्यो । उसले सकिनसकी सबै कुरा भन्यो । डरले उसका मुखमा थुक समेत हराएको थियो । ऊ कापिरहेको थियो तर पनि सबै बेलिविस्तार लगायो कुनै अलङकार नथपेर ।
बचनलालका अलङ्कार विनाका नाङ्का शब्द बाजीकी स्वास्नीलाई विलकुल चित्त बुझेनन् । ऊ आफ्नो बसेको ठाँउबाट तातो फलाम बनेर उठी ।
उसले भनी, ‘ यो चोर हो । रातरात मेरा हड्नौ जाइलाग्न मेरा घरभित्रर पस्यो । मनाइ त मेरा घर रुप्पे पानी कै नहुनाले, पति रै । यि मेरा कानै नौ एक मुन्द्रो लै छैन । ’
उसले च्यातिएको ब्लाउज देखाउदै फेरी थपी, ‘यि हेर, हजुर यो ब्जाउज पनि यसैले च्यातेको हो । यदि तो स्वाहानी चाहिएको भए ब्या गर । अर्कालाई चोरी जारी गर्न लाज लाग्दैन् । तो जसाले त मरिजान हो । तेरा घर लै हुन्नीन के, चेली बैनी, साला डुम । ’
जोगीकी स्वास्नी एकोहोरो बोलेको सुनेर बचनलाल मरेतुल्य भयो । उसले आँखाभरी आँशु बनायो । एक शब्द पनि निस्केन उसका मुखबाट । ऊ पानी विनाको रित्तो गाग्रोजस्तो बन्यो । जोगीकी स्वास्नीका शब्द उसका लागी प्रचण्ड गर्मीको धुप बने । त्यो गर्मीले पानीको गाग्री फुट्न विवश बन्यो ।
‘ गाँउको मुद्दा गाँउ मै मिलाउ, एक ठाँउका मान्छे, मरे पडे चाहिने भनिबर मात्र हो हजुर ।’ बाजीले पञ्चका ठिक अगाडि उभिएर दाँया हातको जोर औला देखाउदै भन्यो, ‘बढी बकबक गरे । म त अदालत लै जाने हुँ । म सराबी भए लै यै जसो नकच्चरो होइन । ’ बचनलालतिर उसले खाने बाघले झैँ हेर्यो ।
म बाका आँखा छलेर उभिएको थिए चौतारको किनारमा । बचनलाल मेरो साथी भएकाले मलाई उसको आदत सबै थाहा थियो । उसले कुनै स्वास्नीमान्छेलाई ठाडो नजरले हेर्दैनथ्यो । यो आरोप तथाकथित हो भन्ने थाहा हुदाँ हुदै पनि म बाको डरले बोल्न सक्ने अवस्थामा थिएन । बाले दाँया गोडो बायाँ घुणा माथि तेस्रो पारे ।
उपरखट्टीमा गोडो हल्लाउदै भलो आदमी बनेर उनले भन्यो, ‘ मिल्ने कुरा गरु, यै तल्लजातिले अर्खाका भित्रर पस्न हुन्नथ्यो । त्यै माथि इज्जतमा आँखा गाड्यो । रातका वीच यस्तो गर्ने मान्छेलाई दण्डसजाय गरिहाल्नपर्छ ।’ बाका कुरा सुनेर केही बोलेका थिएनन् । तर मलाई बाका कुरा चित्त बुझेका थिएनन् ।
उनको बचनलाई शिरोधार्य गर्दै कार्की बुढाले मुखभरिको सुर्तिको थुक प्याच्च थुके र भने, ‘ यै को सुन पनि हरायो । अर्खाका भित्रर पस्ने निको मान्छे होइन । आज जोगीका भित्रर पस्यो । यैलाई यसै छाडिदिए भोल अर्खाका भित्रर नपस्ला भन्न पनि सकिन्न ।’ उसले चश्मा माथिबाट कर्के आखाँ लाएर हेरे उपस्थित सबैलाई । गाँउलेहरू मुखामुख गर्न थाले । सबैले बचनलालको कुरा काटिरहेका थिए भकारीका मुसाले धान काटेझैँ ।
‘फुचेराका नाकमा त कात्तरो राख्नुपर्छ । यैका लत्ता ढुङ्गामा राख्दा होइजाउन् रे हजुर । गल्ति गरिहाल्यो । माफ पाउँ हजुर । जसेरी हुन्छ मिलाईदिअ, गरीब मान्छे । मेरा मुख मुट्टकी लाग्ने हो । म त मागी खाने मान्छे ।’ दुनिँयालालले सबैका अगाडि दुबै हात जोडेर घुणा टेके । अनुनय विनय गरे । उनको अनुरोधको केही सिप चलेन । जोगी रावलका सबै मौ जहान मिलेर कुटे, बचनलाललाई । सबै रमिते बने । मर्यो भनी छोडे, उसलाई । पञ्चले बल्लतल्ल रोकेका थिए, भिड । बचनलालका इजाबा एक कुनामा बसेर रुनु बाहेक केही गर्न सकेनन् । उसको शरिर पुरै रगतले भिजेको थियो । अस्पताल लैजाने भनेर उठायो, दुनिँयालालले । राख्यो, रिक्सामा । तर अस्पताल पुगेन तर स्वर्गमा पुग्यो । दुनिँयालालका घर मडेडाड परी ।
उनीहरू सम्झिरहेका थिए, त्यो महाभारत, जुन महाभारतमा वचनलाल शहिद भएको थियो । तिमिलोको छाँयामा खाट लगाइएको थियो । धौली, मन्धरी र दुनिँयालाल रुखको छहारीमा बसेका थिए । दुनियाँलालको मुखमा ध्वाँसोजस्तो रंग पोतिएको थियो । उसको मुखको ध्वाँसो देखेर मन्धरीको ह्रदय छियाछिया भयो । चाल्लाबाट जसरी साउनको पानी खस्छ, त्यसै गरी मन्धरीको आँखाबाट गालाको बाटो भएर खसे, आँशुका धारा । गालामा स्पष्ट देखिन्थे आँशु हिडेका पाइलाका दाग । मन्धरीले धोतिका सप्कोले आँशु पुछ्दै भनि, ‘ दशा लागेका थिए त्यै मुलेका । देलिबाहिर गोडो जन्राखै भनेकै मानेन । महतारी हुँ हामरा हिटेबाटा हिटेन । अैल यो गति भयो । आफु सरकेलोक भयो । हामरा लाम्लो लाउना दुःख बनायो । ’
दुनियाँलालले पिलिक्क हेर्यो । आँखा भरिएर खाए । ऊ रुन रुन लागेको बच्चाजस्तै देखियो । उसलाई लाग्यो, उलेमुले हो । गल्ती गरेकै भएपनि ज्यानै त नलिनु पर्ने । गल्ती गर्यो भन्दैमा मेरा चेलाको ज्यान लियो । अड्डा अदालतमा हामरो मान्छे भए यो गति हुने थिएन ।
तिमीलोको दाना खसिरहेका थिए । उनका घरका वरपर आठ ओटा रुख मध्ये सात ओटा रुख सुक्दै गएका थिए । तिमीलोको भने अझै प्राण गएको थिएन । मन्धरीले भिजेका आँखा पुछि, उल्टाहातले । उठी खाटबाट । धौलीले कुच्चो ल्याएर दियो । ताराले खसेका तिमीलोका दानाले भरिएको खलो झाड्न थाली ।
उसले भनि, ‘ इन दानाले पनि दिक्क लायो । सब खलो फोहोर गरिदियो । मान्छे बस्ने घर जसो पनि न्याथिन । ’ धौलीको ध्यान तिमिलोका रुखतिर गयो । उसले राम्री हेरी तिमिलोलाई । जो टलरम्म फलेको थियो । फूल बिनाका फल देखेर धौलीलाई अचम्म लाग्यो । किन यसका फूल नदेखिएका होलान् ? के यसमा फूल नफुलेर फल लाग्छन त ? फूल बिना पनि फल लाग्ने कुनै रुख हुन्छ त ? प्रश्नका उसँग कुनै जवाफ थिएनन् । ऊ नाजवाफ भई । तिमीलोका फूल नदेखेकोमा कुनै चिन्ता भएन तर तिमीलो सुक्दै आइरहेको थियो । यो उसको ठुलो चिन्ताको विषय भयो । तिमिलोका पात पहेँलिदै खस्दै गइरहेका थिए । दानाहरू आफ्नो पुरा आयु नबाँचेर खसेको देखेर उसलाई ताज्जुक लागेर आयो । उसलाई चिन्ताले छोपेको जस्तै, तिमिलोका अङ्गप्रत्यङगलाई आकाशबेलीले छोपेको थियो । उसलाई लाग्यो, न जरा छन्, न पात र हाँगाहरू । न हरियो रंग बचेको छ । केबल पहेँलो जिन्दगी बोकेर हरियो जिन्दगी माथि किन बेलाबेला मृत्यको उर्दी दिइरहेको होला ? तिमीलोमाथि किन यो आकासबेली ज्याजती गरिरहेको छ ? किन हरियो रंगलाई आफु खुसि बाँच्न दिइरहेको छैन, यो आकासबेलीले ? तिमिलो आफ्नै बल बुताले बाँच्यो । आफ्नै संसारमा रमायो । दुःखमा रोयो, खुसिमा हाँस्यो । माटोबाट खनिज बस्तु लिएर बाँचेको तिमिलो माथि किन बेला बखतमा राज गरिरहेको छ यो आकास बेली ? उसलाई रिस उठेर आयो । यसअघि नै तीन बोट निमको र चार बोट तिमिलोका आकासबेलीको चपेटामा परेर सुकिसकेका थिए । रुख सुकाउदै लगेको अकाशबेली देखि उसलाई रिस उठ्यो । ऊ खाटबाट उठेर उक्ली, तिमिलोका रुखमा । चिप्लो तिमिलोका रुखमा उक्लिन उसका लागि त्यति सहजता पक्कै थिएन । उसका गोडाले तिमिलोको चिप्लोपन माथि धावा बोल्यो । ऊ एक रत्ति पनि पछाडि हटेन । झ्न जोसका साथ जोखिम मोलेर उक्ली रुखमा । उसलाई थाहा भयो कुनै ठुलो क्रान्ति गर्न जोखिम पनि ठुलै मल्नु पर्ने रैछ । तिमिलोका हाँगाविँगा र पातमा, पन्जा फिजाँएर बसेको आकासबेलीलाई रिसको झोकमा हातले लुछ्दै फाल्दै गर्न थाली । उसका पन्जाका अगाडि आकासबेलीका पन्जाको केही सिप चलेन । उसले कुनै नामोनिसान नरहने गरी हरियो माथि बसेको पहेलो रंग फाल्यो । भुँइमा असाहाय भइ खसेको पहेलो रंग देखेर मन्धरीले भनिन्, ‘ के उद्विधि गद्द लागी पखदी, आकासबेली दवाई हो । काम लागन्छ । राखदु भय मान्छे नुनको लै वि राख्ने थे बुजी । ’ मन्धरीको भनेको उसले मानिन् । जब तिमिलोको हरियो रंग देख्यो, तब उसको रिस मर्यो । भुँइमा छरिएका आकासबेलीका मृत देहलाई उसले जम्मा गरी ।
‘ हेर त आमा, तिमिलोको हरियो रंग कति निको देखिएको, सबैले आफ्नै बर्गतले, आफ्नै भरमा बाँच्न पाउन नै उसको सोभा रैछ । आकासबेलीले सधै अरुलाई हेपिरह्यो । दबाइ रह्यो । हाम्रा सबै रुख सुकाउने यै आकासबेली हो । खलामा शितलता र छहारी छाउन नदिने यै आकासबेली हो, अब मज्जाले घाम ताप्न पाइन्छ , । ’ के के एक्लै एक्लै बोल्दै उसले आकासबेलीका झ्याङ बाटुलेर मनहरातिर गई ।
८८८८
मनहरामा उपस्थित जात्कीलाई दुनिँयालालले बोलायो । उसको आवाज सुनेर म यथार्थमा अवतरण भए । ‘ अब बुढी आगो हाल्ने बेला भयो, तम् केटी मान्छे हो, त्याँ नजाओ ।’ उसले भन्यो, ‘ याँईबाट हेर, मान्छे पनि यसरी नै पोल्लाहान्, है । ’ उनीहरू खुब ध्यान दिएर हेरिरहेका छन् । धौली आफु बसेको ठाउँबाट उठेर पुतनाको समिपमा गएर उभिई । उसले आफ्नो लगाएको कुर्ता फुकाली । उसले लगाईदियो, जुलुङ्गोको आङ्मा । उसलाई चेस्टमा मात्र देखेर सबै चकित भए । डम्मीले दगुर्दै आएर उसलाई ओढायो सल । ऊ एकोहोरो भएर हेरिरही । एक शब्द पनि नबोलिन् । धौलीलाई त्यो पहिलो जुलुङ्गो कार्कीनी बज्यै जस्तै लागिरहेको थियो । जसले सधैँ छि ! छि ! दुर दुर गर्थि । जसका गोठमा हेरे चोखा लाग्छन् रे ।
उसलाई भनी, ‘ यो बुढी त दुरुष्ट कार्कीनी बज्यैजस्तै छ ।’
ऊ फेरि दौडेर यथास्थानमा आएर बसी । ऊ दौडेको देखेर सबै जात्की दैडिए उसको पछि पछि ।
म दोस्रो पुतनाको ठिक अगाडि उभिएको छु । म हाँसे । म हासेको देखेर सबै आश्चर्यमा परे । के भइरहेको छ ? मनहरामा कोही हाँस्दै छन्, कोही, लाटाजस्ता भएका छन् । आगो हाल्न तयार पारेको सिसमको झुरो भुँईमा राखे दुनिँयालालले । ऊ केही नबोलेर हेरिरह्यो ।
मलाई लाग्यो, यो पुतना त दुनिँयालालको जग्गाको जाली तमसुक बनाउने पण्डित बाजेजस्तै रैछ । कालाकाला आँखा, उसले पण्डितका आँखा पुतनाका आँखामा ल्याएर राख्यो । मैले लामा लामा जुँगा पनि कल्पना गरे, जुलुङ्गोका । मैले पावरदार कालो फ्रेमको चश्मा पनि कल्पना गरे जुलङ्गोका । म फेरि हाँसे । मलाई मुखमा सुर्ति हालेर बेला बेला थुकिरहेको कचहरीका पञ्च जस्तै लाग्यो ।
सबै चुपाचाप छन् । हावा एकोहोरो चलिरहेको थियो । रात कालो निलो हुदै गइरहको थियो । मैले चारै तिर हेरे । तर केही बोलेन । फेरि पुतनातिर हेर्न थाले । अब मेरो कल्पनाको पण्डितबाजे विलय भइसकेको थियो । मैले त्यो जुलुङ्गोलाई रजतजंग कार्की जस्तो देखे । जसले दुनिँयालालको जग्गा कब्जा गरेका थिए । मलाई त्यो पुतना जबरजस्ती मन्धरीको लुङ्गी खोल्ने सुब्बा जस्तो लाग्यो । दिनभरी भोकभाकै पर्सो बोकाउने विष्टेन्नी जस्तो लाग्यो उसलाई, त्यो पुतना । मलाई त्यो जुलुङ्गो बुढी फुलार्नी बज्यैजस्तै लाग्यो । जसलाई भाँणा कारेर दिए पनि, तँ त मेरो भागे कामी होस् भनेर खाली हात पठाउथी । म पुतनाको नजिकमा गए । पुतनालाई सर्टका बटन लगाइदिए ।
दुनिँयालालले पुतनामा आगो लगायो, मरेको मान्छेलागि आगो लगाएझैँ । आगो सल्कियो । चारैतिर उज्यालो छायो । सबैका अनुहार देखिए । पुतना जलेको देखेर सबै खुसी भए ।
दुनिँयालाल हाँसे जसरी म हासेको थिए । एउटा रहस्यमय हाँसे ।
साल्भनेले भुँईमा राखेको राँको समायो । झुरोले अर्को पुतनालाई सल्कायो । बुढीपोल्ली भन्दै कराए सबै जना । खुसिले उफ्रिदै, पुलकित हुदै बाड्यो, हरिभानले काक्राहरू । बुढी पोलेको धुँवा फैलियो परै मनहराभरि ।
आँखा मिच्दै, दुनिँयालालले भन्यो, ‘ लौ जात्कौ, बुढीको हार भयो, हाम् मान्छेको जित् भयो ।’
मैलेले उनका कुरामा थप्दै भने, ठालुको हात गरिबगुरुवाको जित भयो, काका । ऊ करायो, हो कि होइन्, हो……..हो…….हा…। सबै कराए एकै स्वरमा ।
गोठालाले जित्यो, पुतनाले हार्यो । ठालुले हार्यो, गाँउलेले जित्यो, भन्दै सबै घर फर्किए । त्यो खुसियालीमा देउमनेको खलामा डेउडा खेल्न थाले । दुनिँयालालले पहिलो गीत भन्यो,
आँखामी कर्णाली बग्दी मुटुभित्र रारा
न लाग्दी पुनिउकी जुन जधेग्गीना तारा ।
अनि के चाहियो र बिहान भुर्रभुरे उज्यालो बनायौँ ।
लेखक परिचय
युवा पुस्तामा विशेष गरी आख्यानको क्षेत्रमा सशक्त रूपमा अघि बढेका बतासको कथाहरूमा माटोको सुगन्ध पाउन सकिन्छ ।