समयक्रममा आफ्ना कतिपय चिजहरू आफैलाई मन नपर्दा रैछन् । जस्तो मलाई मेरो नाम मन परेको थिएन । म आफ्नो नाम आफै राख्न चाहन्थेँ । अवसर जुरेको थिएन । फेसबुकले मेरो अवसरलाई साकार बनाइदियो । फेसबुक अकाउन्ट खोल्नुअघि मैले नामहरू खुब सोचेँ । नाम जुराउँन किताबका राम्रा शब्दहरू मन लगाएर पढेँ । म चाहन्थेँ, गाँउका कसैसँग पनि नमिलोस् मेरो नाम । त्यसैले मैले केहि चलेका फिल्मका हिरोका नाम पनि टिपेर राखेको थिएँ । तर कुनै नाममा चित्त बुझेन । एकदिन पानपराग मुखमा हालेर खाली प्याकेटमा के हेरेँ । मुस्कुराए । अनि रह्यो, फेसबुकमा मेरो नाम पराग ब्रो ।
त्यो बेला देश विदेशका गरी तीन हजार सात सय साथी थिए । पाँचहजार भन्दा धेरै साथी बनाउन सकिँदैन । त्यसैले मैले पाँच सय जनालाई पेण्डिङ्मा राखेको थिएँ ।
एकदिन मलाई एउटा केटी साथीको फ्रेण्ड रिक्वेष्ट आयो । नाम कविता भट्ट । र्वक– ल फर्म । इस्टडी– नेपाल ल क्याम्पस, त्रिभुवन विश्वविद्यालय । पचास जना मिउचल फ्रेण्ड थिए । म प्रोफाइल पिक्चर हेरेर मुस्कुराएँ । एसेप्ट गरेँ रिक्वेष्ट । केही गीत, केही गजलका टुक्रा पढेर मलाई लाग्यो, कुनै नाम चलेकै सायरसँग साथी हुन पाइयो ।
लगत्तै मैले म्यासेज बक्समा म्यासेज लेखेँ, ‘तपाईँलाई फेसबुकमा साथी बनाउन पाइयो । आज म असाध्यै खुसी छु । तपाईँलाई ह्रदयदेखि नै स्वागत छ ।’
‘धन्यवाद, तर तपाईँको स्वागतम् के म घाँटीमा झुण्ड्याऊ ?’
‘के तपाईँलाई त्यो मंगलसुत्र जस्तो लाग्यो र ? मैले फेरि थपेँ, म चै के गरुँ तपाईँको धन्यवाद ।’
‘डिलिट गर्नु सबै भन्दा उत्तम होला । ’
‘अनि अति उत्तम चै के हो ? के डिलिट नगरे चै मलाई हानी छ र ?’
‘हो अति उत्तम हानी हुनसक्छ ।’
‘हो र !’
‘हो भन्या ।’
‘तपाईँ काँ बस्नु हुन्छ ?’
‘घरमा बस्छु ।’
‘घर कहाँ छ भनेको नि ?’
‘जमिनमा छ !’
‘जमिन कहाँ छ ?
‘पृथ्वीमा छ ।’
‘हो र ?’
‘हो भन्या ।’
‘अनि चन्द्रमामा ? अरु नौ ग्रहमा चै के छ ?’
‘कुमार जी आज्ञा गर्नुहुन्छ हे । नौ ग्रह रे । हा ! हा ! हा ! हा ! नौ होइन । पृथ्वी लगायत आठ हुन् । ’
‘ओकेछ त । तमै निका तमरै कोद्या निको । अनि तिमी कुमारी नै हो की ? अविबाहित मात्र ।’
‘आधा विवाहित । आधा कुमारी । ’
‘हो र ?’
‘हो भन्या ।’
‘अच्छा ।’
‘कच्छा । ’
‘कस्को ? तिम्रो की मेरो । ’
ध्जबत रु लयलकभलकभ। मेने तो भोला सोचा था तुम तो इबोला निक्ला । ’
मैले भनेँ, ‘कोलो अक्षर भैँसी बराबर ।’
‘गोरो अक्षर मःम बराबर ।’
‘हो र ।’
‘हो भन्या ।’
‘ओके गुड नाइट । बाई’
‘मेरो साथीले भनेको, बाई होइन, सी यु भन्नुपर्छ रे । ’
उसको म्यासेजको रिप्लाई आएन । बरु उसलाई तीन मिनेट अगो देखायो ।
त्यसपछि नियमित जसो फेसबुक च्याट भइरहेको थियो । हो, च्याटमा कुरा नभएको कुनै दिन खाली थिएन । कवितासँग च्याट गर्दा मलाई कविता श्रवण गरेको भन्दा धेरै आनन्द आउँथ्यो । म च्याट गरेर निदाउँथेँ । विउँझेर फेरी च्याटमा उसैको म्यासेज रिप्ले गर्थेँ ।
एकदिन एनसेलको पचासको रिचार्ज हालेर दश एक मिनेट के च्याट गरेको थिए । मोवाइल हातबाट खस्यो । देउता बनाउन लायक जस्तो ढुङ्गामा लाग्यो मेरो मोवाइलको स्क्रिन । त्यसपछि मेरो नजरमा हरेक चुच्चा ढुङ्गा दानव लाग्न थालेँ । मैले हत्त न पत्त समातेँ मोबाइल । स्क्रिन त चिरापरेको थियो, बाँजो खेतजस्तो । मेरो मुटुमा पनि बडेमानको चिरा पर्यो, गरिब बैकिनीको र्कुकुच्चा जस्तो । मैले दाँयाहातको हत्केलाले, टिलेँ आफ्नै निधार ।
मैले मोवाइलको स्विच खोलेँ । मसिनो आवाजमा नोकिया टियुन बज्यो । मेरो मनमा पनि बज्यो खुसीको टियुन । जवान किशोर र किशोरीले हात मिलायो, स्क्रिनमा । मेरो मनमा पनि सुख र खुसीले हात मिलायो । मेरो मन उड्यो हावामा । खुसीका पातहरू नाच्न थाले, त्यही हावामा । मैले जतनले मोबाइल पाइन्टको गोजीमा हालेँ ।
धानका बाला झुलिरहेका थिए गह्राहरूमा । भएभरका सबै मान्छेहरू धान काटेर निन फिजिरहेका थिए । धानका एक बालाबाट अर्को बालामा उर्फिरहेका थिए, फट्याङ्ग्राका लालाबालाहरू । गास लुटिएका र बास खोसिएका आदिवासी जस्ता उनीहरू सुरक्षित वासस्थानको खोजिमा भौतारिरहेका थिए । चौर, चौतारो र खोला किनारमा बिहानैदेखि कुकुरको बिहेको नौमतिबाजा बजिरहेका थिए । तिनको चर्चित कला देखेर किशोर किशोरीहरू मुसुमुसु मुस्कुराइरहेका थिए ।
मुख थुनेर हिँड्नेहरूले कुकुरहरूलाई गालि गर्दै भन्थेँ,‘ यिन बाघले खाना साँण लाज सरम हराएका । ’
कुकुरको आवाजले वातावरण कोलाहलमय भएको थियो । कोही एकअर्कोका पूच्छर जोडाएर वातावरणलाई आनन्दमय बनाइरहेका थिए । उमेरले नेटो काटेका बुढो कुकुरहरू टाढैबाट जवानीको स्मृतिमा रमाइरहेका थिए । हो, कार्तिकका कुकुरजस्ता भन्ने उखान चरितार्थ भएको थियो ।
दशैँ र तिहार आउन अब धेरै दिन बाँकी थिएनन् । बली चढाउन बोका खोज्नेले चप्पलका सोल फटाइसकेका थिए भने देउसी खेल्न आफ्नो ग्रुप बनाउन जयजात्कहरू तम्तयार थिए ।
बत्तिको मधुरो उज्यालोमा म च्याटमा व्यस्त थिएँ । त्यो मधुरो बत्ति मेरो नोकियो मोवाइलबाटै आइरहेको थियो । घरि म्यासेज हेरेर मुस्कुराइरहेको थिए भने घरि म्यासेजले गम्भिर बनाएउथ्यो । सन्जेकालले आफ्नो राज्य खडा गरिसक्दा पनि मैले कोठामा बत्ति बालेको थिएन । मेरो मोवाईलको स्क्रिन चर्किएकोले उज्यालो फारु गरी आइरहेको थियो । बत्ति बाले मेरो म्यासेज राम्ररी देखिने थिएन । त्यसैले आमाले दश चोटी बत्ति बाल्न आग्रह गर्दा पनि मैले आनाकानी गरेँ । च्याटमा व्यस्त भएको बेला घरमा आगो नै लागे पनि मलाई बाल मतलब हुदैन्थ्यो । जब म च्याटमा बेस्त हुन्थे, खाना खान पनि विर्सीएको हुन्थेँ । म घरमा कसैसँग पनि बोल्ने मुडमा हुँदिनथेँ । मेरा लागि इजा भने पनि बा भने पनि त्यै मोवाईल थियो । त्यै च्याटमा गफ गर्ने कविता थिई ।
अघिल्लो दिन, कविताको जन्म दिन परेको थियो । मैले कविताको सेक्सी फोटो राखेर फेसबुकमै जन्मदिन सेलिब्रेसन गरेको थिएँ ।
लेखेको थियो, ‘जीवन आफ्नो लागि परिचय बनोस्, अरुको लागि उदाहरण । कविता जी, कविताजस्तै सुन्दर बन्नुहोस् जन्मदिनको शुभकामना ।’
‘सुक्रिया । आपकी भैत मेहरबानी रहेकी । ’
‘तर, तिमी बिना मेरो जीवनमा परेसानी रहेगी । ’ (रेडियोमा बजिरहेको थियो, आनाकानी गर्छौ किन माया लगाउन हुन्छ भने हुन्छ भन हुन्न भने हुन्न भन )
‘तेसो भए डाडुमा पानी तताउनुस् र मर्नुहोस् । परेसानीबाट मुक्त हुने विशिष्ट उपचार । ’
‘तर एउटा सर्तमा चै तयार छु । ’
‘के ? ’
‘मेरो बाँकी आयु तिम्रो नाममा । ’
‘गफाडी । फुच्चे केटो मलाई यो जन्मदिन पनि भार भैसक्यो ।’
‘हो र ’
‘हो भन्या ।’
‘ त्यसो भए आउ, विसाउ तिम्रा र मेरा परेसानीहरू अनि…………..!’
‘अनि के ?’
‘अनि, हिँडौँ लामो यात्रामा ।’
‘तिम्रो यात्रामा मेरो काले कुकुर मुत्ला रे ’
‘मेरो यात्रा बिजुलीको पोल होइन ।’
‘के हो त ?’
‘बिजुली बल्न न्यूटन र फेज तार चाहिन्छ । जसबाट बिद्धुत प्रासारण हुन्छ । उज्यालो छर्छ । ’
‘को न्यूटन ? अनि को फेज ।’
‘प्रेममा के फरक पर्छ । जस्ले जे जे भएपनि । कहिले तिमी …….कहिले म । बरोबर’
‘गफाडी । फुच्चे केटो । ’
‘हो र ’
‘हो भन्या ।’
‘भट्टजी तिमीलाई मनको कुरा भन्नु छ ।’
‘हा हा हा हा हा । ’
‘किन तिम्रो हड्डी हाँसेका …..?’
‘अहिलेसम्मका कुरा चै मनका होइनन् र ?’
‘ हुन् हुन्, मनकै हुन् । हुन त ।’
‘अनि ’
‘मनको अतल गहिराईको कुरा भन्न अझै बाँकी छ ।’
‘हा हा हा हा हा ’
‘फेरी किन ?’
‘अहिलेसम्म चै मनको सगरमाथाका कुरा सुनियो त ’
‘के फरक पर्छ ? प्रेममा गहिराइ र उचाइले । समग्रमा लम्बाइ नै हो । ’
‘हो र ?’
‘हो भन्या । हा हा हा हा हा हा । ’
‘चोर मान्छे । ’( रेडियोमा बजिरहेको थियो, चोरी भो चोरी भो के चोरी भो यो…..दिलै चोरी भो, उसले रेडियो बन्द गरी )
‘कसरी ?’
‘मेरो थेगो चोर ।’
‘म थेगो चोर मात्र होइन, मन पनि चोर हो । खै तिम्रो मन छामिहेर त सायद चोरी भैसक्यो होला । ’
‘ए मान्छे, मेरो मन सुन चाँदी होइन । जो बेलाबखत चोरका हातको जगन्नाथ होस् । ’
(रेडियोमा बजिरहेको थियो, एक दिन त जाने हो संसार छोडेर, पिन्जडा छोडेर पन्क्षि उडेर, धन र सम्पत्ति घरमै झोलामा बाँसको डोलामा लान्छन खोलामा )
‘ओकेछत । ’
‘चोरहरूसँग नसकिने भयो ।’
‘हो त । चोरको उपमा पाइसकेपछि अब मुद्दा नलाग्ने चिज चोर्ने योजनामा छु ।’
‘हो र भन्या । ’
‘हो भन्या । हा हा हा हा हा हा ।’
‘गफाडी । फुच्चे केटो । ’
‘भट्ट जी, एउटा कुरा भनु ।’
‘भन्नुस्, दुइटा कुरा ।’
‘म तिमीलाई माया गर्छु ।’
‘धन्यवाद ।’
‘म तिमीलाई प्रेम गर्छु ।’
‘धन्यवाद ।’
‘म तिमीलाई मन पराउँछु ।’
‘धन्यवाद ।’
फेरी उसले पठाउँछे । ‘कुमार जी आज्ञा गर्नुहुन्छ हे कुमारी, अब म तिमीलाई बलत्कार गर्छु भन्न त बाँकी होला नि ?’
‘होइन । कदापी होइन ।’
‘त्यसो भए, यो माया, प्रेम र मन पराउँछु भन्नुको के औचित्य ।’
(मेरो रेडियोमा फुलको आँखामा फुलै संसार, काँडामा को आँखामा काँडै संसार , बजिरहेको थियो । )
‘प्रेमको औचित्य आमालाई गएर सोध । ’
‘प्रत्येक बुबाले पनि प्रत्येक आमालाई बलत्कार गरेकै हुन् ।’
‘मैले हात माथि गरे ।’
‘हैट् ।’
‘बुद्धि तामाङ ।’
‘होइन, उपेन्द्र सुब्बा ।’
‘अब सिर्जना र कर्मको बारेमा त के बहस गर्नु ।’
‘किन सिर्जना र कर्म के जोइ पोइ हुन र ?’
‘तिमी सिर्जना बने म कर्म बन्न तयार ।’
‘मनको लड्डु घिउसँग खानु जति आनन्द अरु के होला र ?’
(रेडियोमा बजिरहेको थियो, मुटुमाथि ढुङ्गा राखि हाँस्नु पर्या छ, आँखा छोपि नरोऊ भनी भन्नुपर्या छ )
मेरो मोबाइलको स्क्रिनको प्रकाश फेरी मधुरो भयो । मनका जिरो बार्डका रंगीन बत्तिहरू पनि विस्तारै निभ्न थाले । आकाशमा बिजुली चम्केझैँ फेरि उज्यालो आयो । क्षण भरमै पानीको भुल्काजस्तै हरायो । मेरो मनमा पनि मोबाइलकोजस्तै हविगत् भयो । मैले उज्यालो भएको बेला मोबाइलको म्यासेज बक्समा लेखेँ, ‘ कविता जी, कविले आफ्नो जीवनमा पहिलो कवितालाई गरे जति नै म तिमीलाई माया गर्छु । मन पराउँछु । म तिमीसँग विहे गर्न चाहान्छु । तिमीसँग च्याटमा गफ गर्न थालेदेखि मैले बाँच्नुको औचित्य ठानेको छु । लाग्छ म तिमीबाट निराश हुने छैन । यो मेरो विश्वास हो अन्धविश्वास नहोस् ।’ म्यासेज सेण्ड गरेर कोठाबाट बाहिर निस्किएँ । आकाशतिर हेरेँ । आकाश सफा थियो, ताराहरू चम्किरहेका थिए । जति उज्यालो ताराले पृथ्वीलाई दिइरहेका थिए त्यतिनै अनुपातमा मेरो नोकियाले पनि उज्यालो दिइरहेको थियो । टाढा टाढा कुकुर भुकेको आवाज आइरहेको थियो । मेरो मनमा पनि दुःखको बासुरीले विरहको नमिठो धुन निकालिरहेको थियो । म कट्टुको इलास्टिक माथि तानेर कोठामा पसेँ ।
मोबाइलमा म्यासेज रिफ्लेको टियून बज्यो । मोवाइल भन्दा जोरले मेरो मन धड्कियो । मोवाइलको घण्टी बन्द भयो । मेरो दिलको घण्टी पनि रोकियो । त्यो घण्टी मेरो मोवाइलको अन्तिम घण्टी बन्यो । मान्छेले मर्नु अघि दिएको उपदेशजस्तै । त्यसपछि मेरो नोकियाबाट कहिल्यै उज्यालो आएन । मैले कविताले पठाएको म्यासेज हेर्न पाएन । ( रेडियोमा बजिरहको थियो, उडायो सपनासबै हुरीले )
८८८८
दिउँसोको खाना खाएर बा गाँउतिर निस्किएँ । केही दिनदेखि बा बिरामी जस्ता देखिएका थिए । उनको दैनिकी ठिक ठाँउमा थिएन । बाको गति देखेर आमालाई दया र माया आउथ्यो । तर मलाई बा र आमा भन्दा पनि मोवाइलको चिन्ता थियो ।
बाको अवस्था देखेर आमाले मुन्टो कोर्दै आएकी कालीलाई भनिहाल्यो, ‘ आज तेरा जेठाजूले एक गास लै खानु खाएन, विरामी भए दवाई अद्द जा भने लै नैमान्यो । सुकेरलै कौवाको एक गास भएका छन् । रोहन औँसी पुनिउमा घर आउँछ । त्यैका चेलाचेलीखिलाई हाम् त हुम्ली, जुम्ली भयाछु । रामेका हातैना रातदिन तासै झुण्डिएका हुन्छन् । परिवार लै काँ गतिलो छ रे भाउ ।’
उनीहरू प्रायजसो हाम्रो घरमा बसेर यस्तै यस्तै बात मारिरहन्थे ।
रोहन मेरो जेठो दाजु हो । अत्तरियामा कोठा भाडामा बस्छ । उतै सहकारीमा जागिर गर्छ । जेठी आमाको मलेरिया लागेर स्वर्गे भएपछि बाले मेरी आमा ल्याएका थिए रे । मेरो जन्मेपछि दुई बहिनी भएका थिए । तर दुबैले एक/ एक वर्षमा माटो खाए । लायकको लागे एकको एक्काइस हुन्छ भन्ने लागेर हो या अकै कारणले हो, त्यसपछि आमाबालाई किन किन सन्तानको लोभ लागेन ।
आमा र काली काकी कुरा गर्दै थिए । म पनि धनजितको दोकानतिर तास खेल्न निस्किएँ । दिनभरी तास खेलेँ । साँझ घरमा पुगेँ ।
खाना खान भान्सामा बसेका बाले मलाई ठुला आँखाले हेरिरहेका थिए । म खाना खादै थिए उनले भनेँ, ‘ काम छैन काज छैन । दिन घुमेकै छ रात घुमेकै छ । लाज लाग्दैन । मान्छेले आफ्ना जातमा बस्नुपर्छ । हामरो जात नाकका टुप्पामा बसेको हुन्छ । कसैले त फलासना भनिदिए जात जान्छ । छि भन्नु गोडको गु हो । दिन डुबे पछि घुम्ने मान्छ कामिलो हुँदैन ।’ उनले एक गिलास छाँच खाएर फेरि थपे, ‘बसाइतिक ककेली घर आउनु, हात खुट्टा धुनु सन्न्या गर्नु, धुप वत्ति बालेर पाठ पढ्नु छैन । दुनियाँ भरीका डुमका मुलेसँग घुम्छ । कति चोटी भनिसके भैसो हते डुम सते निको हुँदैन भनेर । तास खेल्यो दारु अत्तर खायो, और केही काम छैन । ’
बुढाले सम्झाए मलाई । उनले ढकारेको सुनेर आमाले अर्को रोटी राखिनन् । बाले हातमुख थाल मै चुठेर फेरी थप्दै भन्यो, ‘मसित हिट् कर्मकाण्ड सिक्, भने, त्यो पनि मानेन । स्कुल पनि छाडिदियो । के गरी पाल्ने रै छ भोलदेखि पेट ? भावरका एकले साल जसो सधाई तिसै आलोकोचो नै रहने है, मनाई चेतकाँत बिसाईहाल ।’
बाका कुरा सुनेर म अघाएँ । एक रोटी मुखमा नहालेर भान्साबाट बाहिर निस्किएँ । खाना नखाएको देखेर आमा कराउदै थिइन् । नल्कामा हात मुख चुठेर म कोठमा पसेँ ।
मेरो नोकियाले पिलिक्क आँखा फर्काएको धेरै समय वितिसकेको थियो । मनमा भूकम्प गएको पनि त्यतिनै समय भयो । म नोकिया बिना एक गोडो भाँचिएको मान्छेजस्तै भएको थिएँ । बाँस लुटिएको शरणार्थी जिन्दगी जस्तो भएको थिएँ । मैले मोबाइल बनाउन आमासँग अनुनय विनय नगरेको पनि होइन । बासँग रोकइकराई नगरेको पनि होइन ।
‘नपाउनेले स्वाहानी पायो कान चपाइ मार्यो भनेको यै हो । रात दिनै मोवाइलका पाछा लाग्यो लाग्यो, बिगाड्यो रे, राख्यो ।’ उनले भनिन्, ‘ मसिनजरी चिज जतनले चलाउनु पर्छ भन्ने था छैन । मसित के रुप्पे की खानी छ । मोवाइल पाइबर विगडेको थि । निको भयो मु त बनाउदैन । ’
बाले यसैमा थपे, ‘लाटा सल्लो सिकायो रे सल्ला सल्लै भनेको यै हो । मोवाइल पाएका दिनदेखि तेरी निन भोग हराएकी थि, अब त कामीलो मान्छे हुन्छस् कि ।’
इजाबाका कुराले म निरास थिए । निद भोग हराएको थियो । मैले मोवाइल बनाउने प्रयास पनि गरेको हैन । दशैँ र दिपावलीमा जम्मा गरेको रकमले समेत मोबाइल बनाउन कम पर्यो । म निराश भएर अत्तरियाबाट घर फर्केँ । खेतमा शिला खोजेका धान बेचेर जम्मा गरेको पैसा पनि कम भयो । मेरो उदासी बढ्यो ।
मेरो मोवाइल बनाउनुको प्रमुख मक्सद एउटै थियो । केवल कविताले पठाएको अन्तिम म्यासेज हेर्नु । कवितालाई प्रपोज राखेको दोस्रो विहान मेरो मोवाइलको बैकुण्ड बास भयो ।
मोवाइल बिग्रेको केही दिनपछि दोकानमा धनजितको मोवाइल मागेर मैले फेसबुक खोलेको थिए । कवितालाई मैले म्यासेजको प्रतिक्रया के हो भनेर सोधेको पनि थिए । कविताले मलाई भनेकी थिई, ‘मैले तिम्रो म्यासेजको रिप्ले मोवाईलकै म्यासेज बक्समा सेण्ड गरेको छु । त्यो नै मेरो अन्तिम निर्णय हो । मेरो प्रतिक्रियाले तिमी निराश भएको छैनौँ होला, किनकी माया गरेको, मन पराएको मान्छेको खुसी नै आफ्नो खुसी सम्झिन्छन्, प्रेममा परेका मान्छेहरू । ’
मैले कविताले पठाएको म्यासेज हेर्न पाएको थिएन । आखिर के पठाएकी थिई त उसले ? मेरो मनमा सुनामी बनेर उर्लिरहेका थिए तमाम जिज्ञासाहरू । मलाई कति छिटो हेरुँ भन्नु भएको थियो, त्यो म्यासेज । तर, हेर्नको लागि मोवाइल बनाउनु पर्थ्यो । म मोवाइल बनाउन तयार थिएँ । पैसा थिएन । के गर्ने ? कविताले मोवाइलमा पठाएको आफ्नो प्रपोजको उत्तर कसरी हेर्ने ? म दैनिक साझँ खाना खाएर सोच्ने गर्थेँ । मलाई कहिले काही लाग्थ्यो, म पनि तिमीलाई माया गर्छु । मन पराउँछु पो लेखेकी थिई कि म्यासेजमा । तिमीले मेरो मनको कुरा भनिदियौ, थ्याङ्कु सो मच लेखेकी पो थिई की ? म मनमनमा हजार कुरा खेलाएर निदाउँथेँ । विउझिन्थेँ, आँखा फर्काएको मोवाईल हेर्थेँ । हरेक विहान उठ्दा विग्रेको मोवाईल बनेको होस् भनि भगवानलाई प्रार्थना गर्थेँ । मोवाईल समाउँथेँ । तर मोवाइल अघिल्लो दिनको जस्तै हुन्थ्यो, इन्तु न चिन्तु । म मोवाइल देखेर निराश हुन्थेँ । उदास हुन्थेँ । उमेर खाएको तर कुनै पनि सपना पुरा नभएको बुढो मान्छेको जस्तो लामो सुस्केरा निकाल्थेँ ।
एकपल्ट मलाई लाग्यो रम्मीको चारहात लगातार बाजी हान्न पाए, उठीहाल्थे । अनि मोवाइलको लागि खर्च निक्लिहाल्थ्यो । तर खल्तीमा एक कोडी थिएन । के गर्ने ? म इनार जत्रो गहिरो सोचमा डुबेँ । एक्लै कोठामा रन्थनिरहेको थिएँ । चुरोटको तलतल लागेको तर चुरोट तान्न नपाएको मान्छेजस्तो भए । मेरा आँखा किलामा झुण्डाएको बाको जुहारीकोटमा गएँ । म बाहिर आएर यतायति हेरेँ । कोही थिएनन् । बा गाँउ निस्किका थिए । आमा गाईगोठमा व्यस्त थिइन् । तर पनि मैले आफ्नै सुरक्षालाई मध्येनजर गरी ढोकाको भित्रबाट चुकुल लगाएँ । अनि ढुक्कले जुहारीको खल्ती छामेँ । केही रुपैँया भेटियो । लगभग सात आठ सय हुँदो हो । सबै चोरे मेरो साँझ हनुमान धुलाई हुने निश्चित थियो । त्यसैले मैले खुद्रा रुपैँया मात्र लिएँ । बाँकी जस्ताको त्यस्तै राखे । मेरो मुटु डरले जोरले धड्किरहेको थियो । म जतिसक्दो त्यो परिस्थितिलाई बदल्न चाहान्थे । हत्त न पत्त मैले ढोका खोले । पहिला टाउको निकालेर बाहिर हेरेँ । कोही थिएन् । विस्तारै मेरो मनको डर कम हुदै गयो । तास खेलेर पैसा जित्ने, त्यै पैसाले मोवाईल बनाउने, अनि कविताले पठाएको म्यासेज हेर्ने मेरो तत्कालिन सपना थियो । त्यसैले म जुनसुक्कै जीवनको मूल्य चकाउन पनि तयार थिएँ । म पूर्णरुपमा प्रेममा परेको थिएँ । प्रेममा सबै कुरा सम्भब हुन्छन् । प्रयोग गर्ने र अनुभब लिने अवसर मलाई आएको थियो । त्यसैले म जस्तोसुक्कै मुसिबतलाई पनि झेल्न तयार थिएँ । म तास खेलेर पैसा जितेको अनि मोवाईल बनाएको कल्पना गर्दा गर्दै एकहप्तासम्म धनजितेको दोकानमा पुगे । तर मेरो उद्देश्यले साकार रुप लिन सकेन ।
८८८८
दिक्क लागेको थियो । के गरु के गरु भइरहेको थियो । तास खेलेर पनि पैसा जित्न सकिएन । कसरी पैसा जम्मा गर्ने म कोठामा बसेर सोचिरहेको थिएँ । घरि ऐनामा आफ्नो अनुहार हेर्थेँ । गालाको मासु केही ओइलाएजस्तो लाग्यो । ओठ लेब्याएर हेरेँ, ओठाको रंग कालो हुँदै गएकोजस्तो लाग्यो । जुँगा दाह्रीका रेखीहरू भने दिनानूदिन बढ्दै गएका थिए । म फेरी ओछ्यानमा आएर पल्टिए । मोवाइललाई हेरेर रुन मनलागेर आयो तर आँशु भने खसिसकेका थिएनन् । घरबाट पैसा पाइएला जस्तो छाँटकाँट थिएन । मोवाइलको आवश्यकता मलाई थियो । त्यसैले मैले नै बनाउनु थियो फोन । तर बनाउने कसरी ? छटपटी भइरहेको थियो । निस्किए कोठाबाट । बाहिर बेन्चमा बसे ।
बा खलामा बसेर अल्लोको गलौँ बाट्दै थिए । त्यो रसिले बाले लख्खिमी बाँध्थे । एक महिनापछि हाम्रो तारे गाई ब्याँउदै थियो । विगौती खानु थियो । खिर खानु थियो । फुलीखाजा, मैयरी र निसौसे पनि खानु थियो । तल्लामल्ला घर, इष्टमित्र र पाहुना आए एकगिलास छाँइ दिनु थियो ।
कसैले के छ गोरसपात भने, ‘एक फिको दिन्छ, चाहाखिलाई ।’ भन्नु थियो ।
आमाले बावियोका धस्राले कठेभँणा धोएर तयार पारेकी थिइन । बाले पनि मनानीमा पाछन मिलाइसकेका थिए । राती दुईपल्ट बाले निन्द्रा खराब गरेर गर्थे, गाईको हेरचाह । पारा कठे बजिएका वर्षैँ भइसकेको थियो । त्यसैले सबैको आशा केन्द्र तारे नै थियो । त्यही आशामा घरका मौ जहानले स्तर अनुसारको सपना बुनेका थियौँ ।
सेतो फ्रेमको पावरदार चश्मा लगाउँथे, बा । सर्टको माथिल्लो खल्तीमा फुल्टीन छोड्दैनथे । जमानामै पाँच पास गरेका उनी गाँउ भरीका भलाद्मी मध्येका एक । उनी सेकी लाउथे, क्याम्पस पढ्ने जयजात्कलाई ।
बाले भन्दथे, ‘तमसुक लेख्दा आउँन्छ ? भरपाई लेख्न आउँन्छ ? महेन्द्रमाला कस्ले लेखेका हुन् ? क्यालकुलेटर बिना मुखले हिसाब गद्द आउँन्छ ?’
उनले लेखापढी गरेका मान्छेलाई सोध्ने एउटै गणितको प्रश्न थियो,
“मुठीमा हजार दाना बर्मुठेका माना
बाह्र पाथी चामलका कति हुन्ना दाना ? ”
यो गीतको उत्तर कसैले नदिए पछि उनी फत्फताउदै भन्थे, ‘आइ.ए, वि.ए, पढाएर यिनरा इजाबाले रुप्पेको बुर्ज गरेँ । देश गयाभय चार रुप्पे कमाउँथे । घर जग्गा जोड्थे । कङगाल बनायो साइबौउ, कङगाल ।’
अहिले बाले निजि प्रयोजनको लागी मात्र बाट्छन् रसीहरू । जमानामा उनले अधियाँमा पनि बाटे । ज्यालामा पनि बाटे । धेरैका घरका खाटका रसी, स्याउलाका जाल, दाउरा बोक्ने रसीका पछिल्लतिर बाकै नाउ जोडिएको थियो ।
उनको यो सिप खुम्चिनुको कारण थियो — आत्महत्या ।
स्वास्नीमान्छेहरू दिनभरी घाँस दाउरा गर्थे । बालबच्चा हेर्थे । जुठोपिठो पनि तिनकै टाउकामा हुन्थ्यो । खाने बेला बैकान आउँथे । मिठो मसिनो बनाएनस् भनेर जोरायलका तिहारको दाइन बखरेझैँ बर्खथे पिठ्यु । दुई पैसा आम्दानी नभएका बैकानको कुटाई सहन ज–जसले चाहेनन् । सासु ससुराको अपजस र नन्दको छुच्चो बोली ज–जसले सुन्न चाहेनन् । जसको विरक्त लाग्दो बन्यो, जीवन । जसले बाँच्नुको कुनै सार भेटेनन् । जसले आफ्ना बाल बच्चाको आँशु लाग्ला भन्ने ख्याल समेत गरेनन् । तिनले समाते बाको सिप र हिटे बनतिर । रुखमा ओक्लिएर गरिदिन्थे रिसको झोकमा आत्महत्या । एकदर्जन भन्दा धेरैले गरिसकेपछि आत्महत्या बालाई लाग्यो, “मेराई मुन्टाइनो आउने त नै हो, यो अलम्जाड ?”
नभन्दै एकदिन गाँउको कचहरीले पारित गरिदियो अबदेखि पण्डितलाई रसि बाट्न मनाही छ । यदि यसो गरेको पाइएमा टाउको मुडेर सात डाँडा कटाइने छ । सातपुस्तालाई बसीबसी खानसक्ने जग्गा जमिन थियो । बालाई त्यसको माया लागेर आयो । उनले मानिदिए कचहरी र प्रधानपञ्चको निर्णय ।
८८८८।
म ट्याक्सीबाट अत्तरिया चोकमा झरेँ । चारैतिर हेरे । लाग्यो अनकन्टार ठाँउमा लगेर छोड्यो कसैले । बसहरू यात्रीलाई बोकेर आइरहेका थिए । गइरहेका थिए । ट्रकहरू मालसामान बोकेर गइरहेका थिए । आइरहेका थिए । ट्याक्सीहरू यात्रु खोज्न हातापाइ गर्न तयार भएका थिए । आमाचाकरी गाली तिनकालागि दालभात खाएजस्तै भईसकेको थियो । मान्छेहरू पनि हतारमा थिए भाग्य भेटाउन दौडिरहेका जस्तै । मान्छेसँगै प्रतिस्पर्धा गरिरहेका थिए धुँवा र धूलो । गाढी र मान्छेको कक्टेल आवाजले नवीन ध्वनिको सिर्जना भएको थियो । फलफूल पसले पनि सुकिला मुकिला मान्छेका अनुहारको प्रतिक्षामा थिए । चोकमा उभिए । मैले गाढीको हर्नको भाषा बुझ्ने प्रयत्न गरेँ । व्यापारीको अर्थराजनीतिक सम्बन्ध बुझ्ने कोशिष गरेँ ।
दोस्रो जनआन्दोलन पूर्व चोकमा एउटा सालिक थियो । आन्दोलनकारीले भत्काए राजा महेन्द्रको सालिक । सालिकको छेबैका धेरै प्रकारका नारा लेखिएको थिए ।
संघियता चाहिदैन, देश टुक्र्याउन पाइदैन ।
अलि अगाडि फेरि काला अक्षरमा लेखिएको थियो ।
सनातन हिन्दु राष्ट्र जिन्दावाद !!
त्यसको ठिक अगाडितिर फेरि रातै अक्षरमा लेखिएको थियो । घुसखोरी र कालाबजारी देखि सावधान । जसको जोत उसैको पोत गणतन्त्र नेपाल जिन्दावाद, जिन्दावाद !! वीर सहिद भीमदत्त पन्त अमर रहुन् ।
फुटपाटदेखि सपिङ् महलसम्म मैले आँखा दौडाए । कुनै दृष्यले मेरा नजरलाई तान्न सकेन । अन्तिममा मेरा आँखा एउटा होडिङ् बोर्डमा गएर अडिए । जहाँ राम्रो मोबाइल फोनको आकर्षक फोटो टाँसिएको थियो । मलाई त्यो मोबाइलको मालिक आफु भइदिए हुने जस्तो लाग्यो । आफ्नो खल्तीको मोबाइललाई छामे । मोवाइलसँगै बसेका थिए साडे दुई हजार । एकहप्ता लगातार ट्याक्टरमा ढुङ्गा लोड गरेर कमाएको थिए त्यो पैसा । ढुङ्गा बोक्दा बोक्दा हात गोडा खुब दुखेका थिए । खेत जोतेको गोरुको छालाजस्तो भएको थियो, मेरो काँध । मलाई खल्तीको पैसाको खुब माया लागेर आयो ।
मेरो नोकिया होडिङ्बोर्डको मोबाइलको अगाडि कुरुप र पुरानो लाग्यो । किन्न त नयाँ मोवाइल नै निको हो तर मैले कविताको एसएमएस हेर्नु थियो । एसएमएस हेर्न त्यै मोवाइल बनाउनु पर्थ्यो । त्यसैले म मोवाइल पसलतिर अगाडि बढेँ ।
समर्पण मोवाइल ग्यालरी अघि मान्छेको भिड थियो । केही नयाँ मोबाइल किनिरहेका थिए । कोही बिरामी मोवाइल अस्पतालमा भर्ना गर्न आएका जस्ता थिए । चारपाँच उसका सहयोगी उसलाई काममा सघाइरहेका थिए । पसले व्यस्त थियो ।
मैले सोकेशभित्र सजाइ राखेको कुनै गिफ्टजस्तो काउन्टरको मोबाइललाई नियालेर हेरेँ । मेरो उत्सुक अनुहार, शरिरको बनावट र अवस्था देखेर पसल मालिकले मोटो स्वरमा भन्यो, ‘के चाहियो ब्रदर ?’
मैले होडिङ् बोर्डको जस्तै मोबाइललाई सिसा बाहिरबाटै चोर औँलाले देखाउँदै भनेँ, ‘यो मोबाईल कतिमा आउँछ । ’
किन्ने हो र ? पसलले भन्यो, ‘ यस्तै क्वालिटिको सेकेन्हेण्ड पनि पाइन्छ । कस्तो चाहियो ? नयाँ कि पुरानो ? ’
‘कस्लाई कति पर्छ र ?’ मैले भनेँ ।
‘सेकेन्हेण्डको मिलाएर दिउँला नि ?’ पसलेले काउन्टरको मोबाइलतिर औँलाले देखाउँदै भन्यो, ‘यसलाई आठ हजार हो ? ’
मैले मनमनमा आठ हजार दोहोर्याएँ । मेरो इच्छा नयाँ मोवाइल खरिद गर्ने थियो । त्येत्रो पैसा खल्तीमा थिएन । खासमा कविताको एसएमएस हेर्नु थियो, मलाई । काउन्टरमा दुबैहात राखेर म पसलको मोवाइलहरू हेरिरहेको भएपनि मन अन्तै गइरहेको थियो ।
पसलेले भन्यो, ‘के गर्छौ त भाई ? उसको आवाजले म झसङ्ग भए । करेन्ट लागेजस्तो ।
मैले खल्तीबाट नोकिया निकालेर उसको हातमा राखिदिएँ । उसले बुज्रुक आँखाले मोवाइल सुम्सुम्यायो । उसले मोवाइलको स्विच ओन गर्ने भगिरथ प्रयत्न गर्यो तर स्विच अन भएन । तर अनुभवी हातमा परेर मोवाइल नयाँ जस्तै देखिएको थियो ।
उसले मलाई धिमा दृष्टिले हेर्दै भन्यो, ‘हेर भाई मोवाइल के भएको छ हेर्दैमा थाह हुँदैन । यो नोकिया एक्स वान पुरानो मोडेल हो । यसमा लाग्ने सामान पाउन निकै कठिन हुन्छ । छोडेर जाउ, सकेसम्म बनाउने प्रयास गर्छु ।’
म मोवाइल छोड्ने मनसायमा थिएन । त्यसैले केही बोलीन । मौन बसेको कारण उसले सजिलै थाहा पायो । उसले नोकिया मेरो हातमा राखिदियो । मोवाइलसँगै मलाई निरासाले छोप्यो । म एक शब्द पनि नबोली बाहिर निस्किएँ ।
बजारमा मोवाइलका थुप्रो पसलहरू थिए । म अर्को पसलको खोजिमा निस्किएँ। म पूर्व रोडबाट धनगढी जाने रोडतिर गएँ । त्यँहा रहेको मोवाइल पसल किन हो कुन्नी बन्द थियो ।
महेन्द्रननगर जाँने रोडपनि व्यस्त थियो । बसका सहचालकहरू यात्रु खोज्न हानथाप गरिरहेका थिए । पसलेको आवाज, गाढीको आवाजले पुरै बजार कोलाहलमय नै थियो । म प्रत्येक पसलको नाम पढ्दै अगाडि बढेँ । लोटस आई स्कुल जाने बाटोको अलिवर ठुलो बोर्डमा स्टार मोवाईलको होडिङ् बोर्ड टाँसेको थियो । बोर्डमा नयाँ, पुराना सबै कम्पनीका मोवाइल पाइने उल्लेख गरिएको थियो । म सरासर पसलको काउन्टरमा गए । त्यँहा झ्न धेरै भिड थियो । मैले मेरो मोवाइल देखाएँ ।
पसलेले अनुभवी आँखाले मेरो मोवाइल हेर्यो । उसले मेरो मोवाइललाई अपरेसन गर्ने चिकित्सकलेझैँ धेरै टुक्रामा विभाजन गर्यो । त्यतिन्जेल म पसलका नयाँ नयाँ ब्राण्डका मोवाइलहरू हेरिरहेको थिए । पसलेले क्षणभरमै फेरि जस्ताको त्यस्तै बनायो मेरो मोवाइल ।
‘ हेर भाई मोवाइलको डिस् प्ले गए जस्तो छ । यो नोकियाको पुरानो मोडेल हो ।’ उसले मलाई हेर्दै भन्यो,‘ मेरोमा यसमा लाग्ने डिस् प्ले छैन । ’
म फेरि उदास भएँ । उसले मोवाइललाई काउन्टरको माथि राखिदियो । जहाँबाट सजिलैसँग आफ्नो मोवाइल समाउन सकुँ । मलाई मोवाइल देखेर दया लागेर आयो । समातेर खल्तीमा राखे । निरास भएर बाहिर निस्किए । रोड छेवैमा धारो थियो । धारामा मुख धोएँ । पेट भरुन्जेल पानी खाएँ । भोक लागेको थियो । खल्तीमा पैसा भए पनि मलाई मोवाइल बनाउँनु थियो । त्यसैले कुनै होटलमा गएर पेटको पूजा गर्न मलाई लोभ लागेर आयो । म वरको सानो चौतारामा बसेर थकाइ मार्दै थिए । हावाले मेरो अनुहारको पानी मिश्रित पसिना पुछ्यो । तर मनको पसिना भने कायम थियो । म चारैतिर हेरिरहेको थिएँ । तर बजारको कुनै दृष्य मेरो दिमाकमा आएर कैद भएको थिएन ।
८८८८
आमाले मोवाइल बनाउन बासँग पैसा माग्थिन् । तर जतिपल्ट प्रयास गर्थिन् त्यतिनै पल्ट निराश हुन्थिन् । बाले प्रत्येकपल्ट आमालाई भन्थे, ‘केलाई चाहियो मोवाइल । मोवाईल हात परे त्यो अझ विग्रिने हो । दुनियाँभरी फोन गर्न रुप्पे मागलो । मेरा सस्ता छैन रुप्पे ।’ उनी फेरि थप्दै भन्थे, ’अज्यालका मुलेमुली मोवाइलले खुब विग्रेका छन् । किन्नो हगौँ की मरौँ हो । म एक फुटिकच्ची दिन्न । ’ त्यसपछि आमा पैसा माग्न छोडिदिइन् ।
त्यसदिन साँझपख म खाना खाइवरी ओछ्यानमा पल्टेको थिए । निन्द्रा लागिरहेको थिएन । मलाई कविताको याद आइरहेको थियो । त्यही बेला, बा र आमा एकैसाथ कोठामा आए । मैले बत्तिको उज्यालोमा दुवैको अनुहार पढ्ने प्रयास गरेँ । दुवै खुसी थिए । बा मेरा छेवैमा बसे । केही लोचा त पक्का छ । मैले शंका गरेँ । किनकी बाले मलाई मायालु नजरले धेरै कमपल्ट मात्र हेरेका थिए ।
‘रामु अब त ठूलो भै हाली, हाम्रा जमानामा तँ जत्राकी घरबारी हुन्थी । इस्कुल सिस्कुल पनि त्यसै भयो । मुसँग जज्मानी गरी खाने तेरो ल्याकत छैन ।’ उनले भने, ‘तेरी इजा लै घरको कम गरी नैसक्दि । यैपाली तेरो कुण्डली पनि सक्कली छ । तेरो काम काटि दिऊँ । ’ आमा केही बोलिनन् । टुलुटुलु मेरो अनुहार हेरि मात्र रहिन । मैले बाको कुरा बुझिन । म पलेटी कसेर ओछ्यामा बसे ।
मैले भनेँ‘ मैले कुरा बुजेन । के भन्न खोजेको ?’
आमा ओछ्यानमा बसीन । उनले मेरो पिठ्यूमा हात राखिन । मायालु स्वरमा भनिन्, मेरो ब्या गरिदिऊ भनिबर बटिरैछु । तेरा मामाले निक्की जात्की हेरेकी छ भन्यो । सासु ससुराकी पति राख्ने । घर खानसक्ने सहेनी छ जात्की । के भन्न छइ । ’
बिहे ! म छानाबाट खसे जस्तो भएँ । मैले कल्पना नै नगरेको प्रस्ताव आएको थियो । तर मेरो मन हुदैन भन भन्दै थियो । मैले मनको आवाज बा समक्ष भन्नै सकिन । बाको बानी राम्ररी थाहा थियो मलाई । उनी आफुले भनेको नमान्नेलाई दुस्मनको नजरले हेर्थे । मलाई बाको दुस्मन बन्नु थिएन ।
मैले कुराको प्रसङ्ग बदल्ने हेतुले डराएको स्वरमा विस्तारै भने, ‘मेरो मोवाइल बनाइदिअ ।’ म ओछ्यानमा उत्तानो पल्टिए । बा उभिएको ठाँउबाट मेरो टाउको छेवैमा आए ।
बाले नम्र स्वरमा भने, ‘लौ मोवाइल बनाइदिने भए । पै ब्या गर्ने है त ? तर लाइन पानी मान्छेको जस्तो हुनु पर्यो । दुनिँयाभरीका डुमका मुलेसँग गाँउ डुलेर तास खेल्ने होइन । घरैमा बस्नु हो । भनेको काम गर्नु हो ।’
बाबाट मोवाइल बनाउने आश्वासन आएपछि मैले केही नसोचेर हुन्छ भनिदिएँ ।
दोस्रो दिन आमाले मलाई भान्सामा बोलाएर हातमा तातो चियाको गिलास दिदैँ भनिन्, फेसबुकमा हेर्नु भनेको छ । केटीको फोटो । ’
मैले चियाको एक चुस्की लगाउदै आमालाई चिया जति नै तातो उत्तर दिए ।
‘ मोवाइल नभयै कसेरी हेरु फोटो । ’
आमा केही बोलिनन् । म चियाको गिलास समातेर भान्साबाट बाहिर आएँ । मलाई लाग्यो, त्यो केटी कविता भैदिए कति जाती हुन्थ्यो । म हाँसी हाँसी बिहे गर्थेँ । कवितालाई आफ्नी श्रीमती बनाएर गाँउमा मस्किदै हिड्ने थिए । सायद कविता जस्ती सुन्दर मेरी श्रीमती देखेर गाँउका मान्छे छक्क पर्थे होलान् । म मनमनमा केटीको फोटो हेर्न आतुर थिएँ । मसँग अहिले मोवाइल भएको भए फेसबुक खोलेर कवितालाई यो कुरा सुनाउने थिएँ । तर के गर्ने मेरो त कर्म खोटी सिक्का ।
त्यसको पन्ध्र दिन अघि धनिरामको विहे भएको थियो । घरको दुरीमा बाँधेर खुब बजेको थियो माइक । तु माइत जन्जाइ रे मेरी जान तु माईत जन्नाइ रे भन्ने गडवाली गीतमा रात भरी नाचेका थिए केटाहरू । बाले रातविरात बाहिर निस्किनु हुन्न भनेर जान दिएनन् । मैले पनि बाको भनेको माने । किनकी मैले कविताको म्यासेज हेर्नु जो थियो ।
बा नै बाहुन भएर बेहुली ल्याउन गएका थिए । त्यसैले बाले मलाई जन्ती जान दिएनन् । त्यसैले उसले पार्टी खान मलाई बोलाएको थियो । बिहेको पाँचौ दिन होटलमा धनिरामको पार्टी खान गएको थिएँ ।
मैले धनजितलाई भेटेर मेरो, कविताको, नोकियाको र म्यासेजको बारेका सबै कुरा भनेँ । बाले बिहे गर्न भनेका कुरा पनि भनेँ । केटी हेर्न जानुपर्ने छ भनेको कुरा पनि सुनाए । उसले पनि बिहे पछिको जिन्दगीको नयाँ अनुभव सुनायो । उसको अनुभवले मेरो पनि आङमा जिङ्रिङ्ग काँडा उम्रिएर आए । चार घण्टा बात मारेर हामी बिदा भएका थियौँ ।
धनिरामले भनेको थियो,‘ टेलीकममा सबै म्यासेज हुन्छन् । मोवाइल नं. भने त्याँ कर्मचारीले म्यासेज हेरिदिन्छन् । ’
उसको सल्लाह शिरोधार्य गर्दै म घरबाट पैसा मागेर टेलिकमको अफिसमा गएँ । ग्राहकहरूले भरिएको थियो, कोठा । कोही बिल भुक्तान गर्न आएका थिए । केही नयाँ सिमकार्ड लिन फर्म भरिरहेका थिए । कर्मचारीहरूको हात खाली थिएनन् । तिनका आँखा कम्प्युटरमा व्यस्त थिए भने औँलाहरू किबोर्डमा । मन कता थियो मलाई के था ? म कोठाको बेन्चमा बसेँ । सोचेँ, मौका पाएँ, चाकरीको भाषामा हात जोडेर आफ्नो समस्या राखौँला । मेरो पालो धेरै पछिसम्म पनि आएन । त्यसपछि पालो मिच्दै सेतो जुँगा भएको कर्मचारीको नजिकमा गएँ ।
सिसाबाट हेर्दै मैले भनेँ, ‘सर, मेरो मोवाईलको डिस् प्ले बिग्रियो । ( मोवाइल देखाउँदै ) यसमा महत्त्वपूर्ण म्यासेस छ । हेरिदिनु पर्यो ।’ कर्मचारीले चश्मा माथिबाट मलाई हेरे । उनको हेराई ग्राहक मैत्री थिएन ।
‘ पाँच नं.मा जाऊ’, उनले भनेँ
म सरासर पाँच नं. काउन्टरमा गए । मनमा हौसल्ला बोकेर ।
पाँच नं. काउन्टरमा तीस नकटेकी स्वास्नीमान्छे थिई । परिचयको एउटा सिलसिला जोड्नको लागि मात्र हो । नत्र मलाई कसैको उमेरसँग कुनै मतलब थिएन । मैले उनलाई आफ्नो मतलबको विषय जाहेर गरेँ । उनका आँखा कम्प्युटरको स्क्रिनबाट अलप भएनन् । उनले कम्प्युटरलाई नै भनेजस्तै गरी मलाई भनिन्, दुई नं. मा जाऊ ।
एक, दुई, तीन, चार पाँच मैले सबै नं. टाँसिएका काउन्टरमा गएर समस्या राख्दा पनि कसैले सुनेनन् । म हैरान भएर बेन्चमा आएर बसेँ । मलाई धनजितले भनेको कुरा याद आयो । उसले भनेको थियो, ‘ हेर केटा, देश खुसघोरीले खाईसक्यो । जे काम गर्दा पनि पैसा लाग्छ । ’ मलाई उसको चित्त बुझ्यो । म उदास अनुरहार लिएर फेरी पाँच नं. काउन्टरमा गएँ । मेरो थकित अनुहार देखेर के दया पलाएछ कुन्नी ।
स्वास्नीमान्छेले भन्यो,‘ सिम कस्को नाममा छ ?’
‘बाको’ मैले हातोहात जवाफ दिए ।
‘सिम प्रयोग कर्ताको नागरिकताको फोटोकपि छ ?’
‘छैन ’ मैले रुन्चे स्वारमा भनेँ ।
‘अर्काको म्यासेज अनुमतिबिना हेर्न मिल्दैन् ।’
‘तर, मलाई म्यासेज हेर्न जरुरी छ । ’
‘गैरकानुनी काम गर्न हाम्लाई जरुरी छैन । ’
मेरो चित्कार टेलीकमका कुनै कर्मचारीले सुनेनन् । म बजारमा आएँ । अनुपम मोवाइल ग्यालरीमा गए । साहुजीले मलाई परिचित आँखाले हेरे । मैले मोवाइल दिदैँ भनेँ , साहुजी यसमा डिस् प्ले हालिदिनुहोला ।
साहुजीले मोवाइल काउन्टरको तल राख्यो र भन्यो, अहिले छैन । एकहप्तापछि आउनु है । त्यतिन्जेल भेटायो भने । पक्का । म ग्यालरीमा मोबाइल छोडेर घर गएँ ।
८८८८
देशमा नयाँ संविधान घोषणा हुन एकहप्ता मात्र बाँकी थियो । त्यसैले संघियताको मुद्दालाई दिएर आन्दोलन भयो । डोट्यालहरू एक ठाँउमा थिए भने थारुहरू थारुवान प्रदेशको माग गर्दै आन्दोलनमा थिए । उनीहरू भन्दैथे, ‘यो एकात्मक नश्लवादी चिन्तनले अब देश चल्दैन । अहिलेसम्मको नेपाल महेन्द्रिय राष्ट्रवादले चल्यो । अब समानता, स्वतन्त्रता र पहिचान सहितको पूर्ण समानुपातिक प्रतिनिधित्व हुनुपर्छ । ’
डोट्यालहरू भन्दैथे, ‘एकल जातीय राज्य कुनै पनि हालतमा हुनदिनौँ । बरु रगत बगाउन तयार छौँ । ’ पार्टीका कार्यकर्ताहरू पनि पार्टीको निर्णयको पछि लागेका थिए । उनीहरू आफ्ना नेतालाई खुसी बनाउन गाँउ गाँउबाट सर्वसाधारण बटुलेर जोर जोरले माइकमा भन्दैथिए, ‘नेपालको सार्वभौमसत्ता जनतामा निहित छ, जनताको माग भएन भने तेस्रो जनआन्दोलन पनि हुन्छ । ’ भाषण सुनेर जनता ताली पिटिरहेका थिए । तर भाषणका सार कसैले बोध गरेका थिएनन् ।
आन्दोलनले नयाँ मोड लियो । बजारमा बमहरू पट्किन थाले । पुलिसको लाठी चले । दोहोरा झडपमा फुटे दर्जनौँका टाउकाहरू । कति त गिरफ्तार समेत भए । बजारमा र्कफु लाग्यो । सुनसान भयो शहर, बजार र गाँउ ।
राजनीतिक सहमति पछि बजार खुल्यो । म मोवाइल लिन भनेर अत्तरिया गए । तर मोवाइल मात्र होइन बमले बजारको स्वरुप नै परिर्वन गरेको थियो । कुन पसलमा दिएको थिए मोवाइल त्यो समेत भ्याउ नपाएर म घर फर्किएँ । फर्किदा मोवाइल, कविता र बिहेको बारे हजारौँ प्रश्न खेले मेरो दिमाकमा । म आन्तरिक र बाह्य रुपमा हतोत्साहित भइसकेको थिएँ । यति हो सेरा कि रोपाइ यति हो भात खावाइ भने जस्तै म पूर्ण रुपमा मरिसकेको थिएँ ।
धनजितको घर अगाडि पुगेको थिएँ । उसको घरबाट एक्कासी आवाज आयो । पराग ब्रो । त्यो आवाज परिचित थिएन । त्यसैले मैले मतलब गरिन् । फेरि कसैले भन्यो, ‘ हेलो पराग ब्रो ।’
मैले फर्केर हेरेँ । शिरमा सिन्दुर लगाएकी स्वास्नी मान्छे थिई आँगनमा उभिएकी । उसको गलामा मङ्गलसुत्र हाँसिरहेको थियो । हातको मेहेन्दीको रङ् अझै खुइलिएको थिएन । बेहुलीमा हुनुपर्ने साजसज्जाको अधिकाशं रुपरंग जिवित नै थियो । यो धनजितको दुलही हो भनेर मैले सजिलै अनुमान लगाए । अनुहार परिचित जस्तै लागेको थियो । तर एक अनुहारका कति पो हुन्छन् लाग्यो । धनजितकी दुलही मलाई देखेर किन मुस्कुराउँदै छे ? मैले सोचेँ । तर म केही नबोलेर हिँडे । मलाई लाग्यो, बिहे भएको अठार बीस दिन मात्र भएका छन् । यसलाई मेरो नाम कसरी थाहा भयो । पर पुरुषको नाम काढेर कसरी बोलाउन सकेकी यो बेसोमत् आइमाइले । गाँउको नजरमा त म रामे हुँ । फेसबुकको नाम यसले कसरी थाहा पाई । मेरा मनमा अनेक सवाल उठिरहेका थिए ।
म घरमा पुगेँ । घरमा बा, आमा र मामा बसेर बात मार्दै थिए । उनीहरू मलाई हेरेर हाँसे । त्यसपछि मैले सजिलै अनुमान लगाए यिनीहरू मेरे बिहेको कुरा गर्दै छन् । आमाले मलाई बोलाइन । उनले मोवाइलमा केटीको फोटो हेर्न भनिन् । मैले मामाको मोवाइलमा फेसबुक अकाउन्ट खोलेँ । कविताको प्रोफाइल खोलेर हेरेँ । म छानाबाट खसेजस्तै भएँ । मेरो अनुहारमा औँसी लाग्यो । ओठमुख सुकेर आए । स्थिति बसमा थिएन । तर मैले सम्हाले आफूलाई । मेरो कानमा पराग ब्रो भनेको आवाज गुन्जियो । मैले धनजितले भनेको सम्झेँ । उसले भनेको थियो, ‘सात वर्ष देखिको लभ सक्सेस भो । तेरो भाउजुको नाम पनि कविता नै हो यार ।’
त्यसपछि मैले फेसबुक डिएक्टिभेट गरे । मैले मनमनमा भनेँ ‘नोकिया एण्ड एक्स वान ।’
लेखक परिचय
युवा पुस्तामा विशेष गरी आख्यानको क्षेत्रमा सशक्त रूपमा अघि बढेका बतासको कथाहरूमा माटोको सुगन्ध पाउन सकिन्छ ।