कथन:
तपाईँको केही काम बचेका छन् ? केही काम सकीहाल्नुपर्ने छ ? गरिसिध्याउनुहोस् । भ्याउनुहोस् ।
तपाईँलाई कतै पुगेर आउनुछ ? कसैले भेट्न जानू छ ? कतै डुल्न निस्कनुपर्ने छ ? पुगेर आइहाल्नुहोस् ।
चिया खान मन छ ? बसाल्नुहोस् । उमाल्नुहोस् । चिया चिनी राख्नुहोस्, तेजपत्ता र दालचिनी पनि राख्नुहोस् ।
राख्नुभयो ?
अब चियालाई उम्लनु दिनुहोस् ।
उम्लियो ?
अब आफ्ना ओँठले दिनहु चुमिरहेको गिलासमा खन्याउनुहोस् ।
बार्दली, कुर्सी, चगटी या कार्पेटमा बस्नुहोस् ।..म पर्खन्छु । ..पर्खीरहन्छु ।
मोमो खान मन छ, क्याफे कुदिहाल्नुस् ।
भलिबल खेल्न मन छ ? मैदानतिर मोडिहाल्नुस् ।
तपाईँको अरू केही काम बचेका छन् ? थप केही काम सकिहाल्नुपर्ने छ ? गरी सिध्याउनुहोस् ।
केही काम अझ बचेका होलान्, सम्झनुहोस् ।
समय छ । समय नै समय छ । सिग्मन्ड फ्रायडलाई बोलाउनुस् । ओशोलाई बोलाउनुस् । नित्शेलाई बोलाउनुस् । डालीलाई बोलाउनुस् । ..तर सम्झनुहोस् ।
हेक्का रहोस् – तपाईँलाई गर्न मन लागेक केही पनि नछुटोस् । खान, खेल्न, डुल्न, भुल्न, देख्न, हेर्न, सुन्न मन लागेको केही कुरा नछुटुन् ।
हेक्का रहोस् – तपाईँले सम्झनमा सम्झौता नगर्नुस् । सम्झनसँग सुगौली सन्धी नगर्नुहोस् । सम्झनसँग बार्ह बुँदे नगर्नुहोस् ।
सम्झनमा कुनै कसर, असर, बेसार, तितौरा, अचार, चम्चा, थाल, नाङ्ग्लो, साङ्लो बाँकी नरहोस् ।
श्वासप्रश्वास छुटोस, धड्कन टुटोस, स्नायु तन्तु चुटोस्, सम्झन नछुटोस् ।
मन लागेको सिध्याइहाल्नुस्, भ्याइहाल्नुस् ।
पूर्वकथन: म चिया पिउँछु । तपाईँ आफूलाई मन परेको पेय पिउन पाउनुहुने छैन । चिया नै पिउनु पर्नेछ ।
तर कथा सुरु गर्नुपूर्व एक-दुई थप शर्तहरू छन् ।
एक- चिया पिएको आवाज आइराख्नुपर्छ । चिया पिउन छाड्नुभएको छ या चिया मन पराउनुहुँदैन भने मेरो सविनय अनुरोध छ, तपाईँ कथा पढ्न छाडीहाल्नुहोस् । अहिले रोक्नुहोस् । यहाँ देखि भागिहाल्नुहोस् । बरू फोन उठाउनुस् र भाग्य न्यौपानेको भिडियो हेर्नुहोस् । फोन उठाउनुहोस् र युट्युब ट्रेन्डीङ्का साउथ इन्डियन फिल्महरू हेर्नुहोस् ।
चरा हेर्न निस्कनुहोस् । गुलेली र बुख्याँचा खोज्न निस्कनुहोस् । तरकारी किन्न निस्कनुहोस् । घिरौलो किन्नुहोस, करेलो किन्नुहोस । लौका किन्नुहोस, मुला किन्नुहोस ।
कलमको रिफिल किन्न बजारतिर हामफ्याल्नुहोस् ।
कापीको ताउ किन्न हाटबजारतिर दगुर्नुहोस् ।
सिनेमा हलतिर दगर्नुहोस् ।
नाटकघरतिर फ्याल हान्नुस ।
मन्दिर छिर्नुस् ।
घाटबाट निस्क्नुस् ।
राजेश हमालको जोक्स पढ्न थाल्नुहोस् ।
लाइफ ड्यामेज बाबाका टिकटक हेर्नुहोस् ।
कट्टु र सेन्डो खोलेर सुत्नुस् । घुर्नुहोस् । घुरीरहनुहोस् ।
तर चिया पिउनुहोस् । नपिउने भए यहाँदेखि टाप हान्नुस् । एकछिन पनि यता नबस्नुहोस् । चिया नपिउनेले जिउदैनन् । चियासँग वैमनस्यता साँध्नेले हाँस्दैनन् । हाँस्न सक्दैनन् ।
दुई- जे गर्नुहोस्, जसो गर्नुहोस् । तर चियाचाहिँ पिउनुहोस् । अरू पेय भाडमा जाओस् ।
मैले कथा भनिरहँदा बीच-बीचमा नपाल्नुहोस् । बीच-बीचमा नखोक्नुहोस् । कान कोटटाउने कन्करो खोज नथाल्नुहोस् । दाँतका काँस सफा गर्नतिर नलाग्नुहोस् । मुख च्यातेर हाइ-हाइ नगर्नुहोस् ।
यस्ता हाइ-हाइ गर्नेहरूलाई मैले ढीस हान्नेछु, ठिस ठान्नेछु, रिस गर्नेछु, गाली गर्नेछु, मुख तोड्नेछु, चड्कन मार्ने छु । बाइ-बाइ गर्नेछु ।
एक-दुई :मेरो फेरी पनि सविनय अनुरोध छ- तपाईँका कुनै पनि काम (चाहे ती अत्यन्त सामन्य नै किन नहुन?) बाँकी बचेका छन् भने (रहेछन् भने) त्यता लाग्नुहोस्, यता नढिम्कनुहोस्, नमुन्टीनुहोस्, नथेचारीनुहोस्, नपाल्नुहोस, न सवार होइबक्स्नुहोस् ।
कृपया, काम साँची नराख्नुहोस्, काम फत्ते गरिहाल्नुहोस् । मैले भनेको मान्नुहोस्, मेरो अनुरोध स्विकार्नुहोस् ।
कथनै-कथन:
१. प्रेमिका ज्यूँको सुरुवाल:
प्रेमिका ज्यूको फोन आएको थियो । एकाबिहानै उहाँले बोलाउनुभएको छ । पुगीहाल्नुपर्नेछ । दौडीहाल्नुपर्नेछ ।
तपाईँको स्कुटी हाँक्ने हो ? लौ..लौ, म पछाडि बसे । दौडाइहाल्नुस्, पुर्याइहाल्नुहोस् ।
..पुगी हाल्नुपर्नेछ । ..दौडी हाल्नुपर्नेछ ।
सह-कथन :
उहाँ मुजादार, फराकिलो (बेली बटम स्टाइल)को सुरुवाल लगाउने गर्नुहुन्छ । उहाँको मनपसन्द रङ कालो हो । अत: कालो मुजादार, फराकिलो सुरुवालमा उहाँ बडा फरासिलो, मिठासिलो र मजासिलो देखिने गर्नुहुन्थ्यो/गर्नुहुन्छ ।
उहाँले फोन गरेर त्यो सुरुवाल काटेर छोटो बनाएको बताउनुभयो । उहाँको अनुसार त्यो बेली बटम कालो सुरुवाल अब न पोँइठ, न कट्टु भएको छ । त्यो सुरुवाल ‘सवा कट्टु पौने पोइठ’ भएको छ ।
मैले सोधेको थिएँ, – ‘हजुरले यस्तो किन गरिबक्सियो ?’
उहाँको जवाफ थियो – ‘मैले कुनै काम पाइन् । तपाइँ आउनुहोस् न, म तपाईँलाई यो लगाएर देखाउछु नि ।’
यसपछि मेरो प्रतिउत्तर थियो- ‘क्याबात । गजब । काम नपाउँदाखेर हुँदाखाँदाको सुरुवाल काट्न सकिन्छ । समयको सदुपयोग गर्न सकिन्छ । क्या बात । दिल छु लिया । दिल लुट लिया । दिलमे डाँका डाल्दिया । दिल गार्डेन गार्डेन हो गया । मज्जा आगया । हमजायगा हो गया । क्या बात । क्या बात ।’
यसपछि उहाँले कटक्क मन दुखाउँदै चटक्क फोन काटिदिनुभयो । बन्चेरो लिएर जङ्गल काट्न हिँड्दा थाकेर रुखको छहारीमा बसेको मनुवाजस्तै होइगए म । गर्मीले हप्प..हप्प.. । हप्पहप्प ..।
एकछिन् पछी पनी उहाँकै फोन आयो ।
भन्नुभयो- ‘मन नपरे, पर्या छैन भने भैगो नि । के नानाभाँती भन्या ? समयको सदुपयोग अरे ? मेरोचाहिँ के काम नै नभएजस्तो । तपाईँलाई देखाउँछु, नाचेर देखाउँछु भनेको । कत्ति न ! लु लु आउनु पर्या छैन, अब कहिल्यै नआए हुन्छ, आउदै नआए हुन्छ ।’
यसपछी उहाँले फेरी फोन कटक्क काट्नुभयो । मेरो मन पटक्क भाँचियो । चटक्क चुडीयो । कटक्क टुकृयो ।
प्रेमिकाज्यूँ रिसाईराख्नु भएको होला । सवा कट्टु पौने पोँइठ लगाएर उहाँ मुख फुलाएर बसीरहनु भएको होला । हामी पुगीहाल्नुपन्रेछ। त्यसपछी उहाँ नाच्नुहुनेछ र हामी थप्पडी मार्नेछौँ । यो गरिहाल्नुपर्नेछ ।
तपाइँ स्कुटी हाँकीहाल्नुहोस् । लौ हिँड्नुहोस्, बाटामा तपाईँका प्रेमिकाका किस्सा पनि सुनौँला । बुनुँला ।
२. साथीको कछाड:
साथीको म्यासेज पनि आइपुग्यो । यो पढी हालौँ । ओह..म त एकाबिहानै ऊ कहाँ पुगीहाल्नुपर्ने भयो । मैले आफ्नो कछाड उतार्नुपर्ने भयो । उतारीहाल्नु पर्ने भयो । तपाईँ न नउतार्नुस्। तपाईँ बस् स्कुटीको ब्रेक मार्नुहोस ।
म मेरै कछाड बोकेर उ कहाँ पुग्नुपर्ने भयो । निस्कीहाल्नु पर्ने भयो । पुगीहाल्नुपर्ने भयो । दौडी हाल्नुपर्ने भयो ।
तपाईँ पनि दौडीनुपर्यो । दौडीहाल्नुहोस ।
सह-कथन:
प्रभातकालिन शीतमा नुहाउँदै ऊ वन विभाग अगाडी पुगेछ । वन विभाग उसको डेराबाट सवा मिनेटको समय छ । वन विभाग बिहानको उदाउँदो सूर्यको किरण आँखा परेर उठु उठु, होइन सुतु सुतु, होइन उठेर मुतु अनि त्यसपछि फेरी सुतु सुतुको अवस्थामा रहेछ।
उसले उठ्नेबित्तिकै मुतिहाल्ने मानव जातिको ऐतिहासिक शिल-स्वभावलाई चटक्कै बिर्सिमारेछ र एकाबिहानै मर्निंगवाकका लागि मुत्दै नमुती दौडीमारेछ । दौँड्दा दौँड्दा उसको मूत्र थैलीमा जोड परेछ, भार परेछ, गाह्रो परेछ, चोट परेछ, टुटिल्को उठेछ.. । हठात् उसले कछाडमै पिसाब उम्काएछ, तुर्काएछ, पोखेछ, छताछुल्ल पारेछ ।
तर, यतिमै ऊ रोकीएनछ । भिजेको कछाड खोलेछ । हतारमा उसले कछाड मात्रै ल्याएछ । भिजेको कछाड खोलेछ । सर्वांग नाङ्गो भएछ । कोही थिएन, यसैले लाज पनि थिएन । उसले आफ्नै मुतले भिजेको कछाडलाई वन विभागको गेटमै रहेको फेड प्लान्टको झाडीमा टांगदिएछ ।
एकाबिहानै फेड प्लान्टको मुख खराब भएछ । निन्द्रामै मूत सुँघाउने हरिलट्ठकसँग फेड प्लान्ट महाशय रिसाई बक्सेछ । गाली बक्सी बक्सेछ । दनक दिई बक्सेछ । घुस्सा गरी बक्सेछ ।
हैरान भएर साथीले ओभाउनै नभ्याएको आफ्नो कछाड उठाउन खोजेछ, तर सकेनछ । उसले हात जोडेछ । माफी मागेछ । पाउ छोएछ । पैतला सुम्सुमाएछ । तर फेड प्लान्टको अनुहारमा घाम लागेन । उहाँको अनुहार झिसमिसे बिहानजस्तै अँध्यारो-आँखीझ्या जस्तै भइरहेछ ।
उहाँ ठुस्कीरहनुभएछ, ठुसुक्क..ठुसुक्क..।
साथीले फेरी आफ्नो कछाड निकाल्न खोजेछ तर सकेनेछ ।
फेरी खोजेछ, फेरी पनि सकेनेछ ।… सकेनछ ।
भएको के रहेछ फेड प्लान्टको रिस कसैगरि पनि मार्दै मरेनछ । एकाबिहानै मानव मुत्र सुँघेर उहाँ पागल हुनुभएछ । शहरका कविहरूजस्तो धाराप्रवाह कवितात्मक शैलीमा, व्रिद्रोहात्मक शैलीमा, माक्र्सवादी अन्दाज-ए-बयाँमा, चे-वादी स्टाइलमा, प्रयोगमा गाली-गलौजका महावाणीहरू, महाकाव्यहरू, महाकविताहरू, महाकथाहरू, महा-दास क्यापिटलहरू दिन थाल्नुभएछ ।
त्यतिले पनि पुगेनछ, फेड प्लान्ट महाशयले साथीलाई हुकुम बक्सिएछ (रुकुम होइन)- ‘यो यहीँ छाडेर जा । तेरो कछाड तैंले अब कहिल्यै पाउदैनस ।’
साथीले भनेछ- ‘कछाड चाहिँ बिन्ति नराख्नुस । बरु यो सेन्डो राख्नुस् । यो भिजेको छैन । यसमा मुत परेको छैन । मैले मुतेको छैन । यो कछाड मलाई तछाडमछाड गर्दै प्रेमीका ज्यूले मेरो बर्थडेमा उपहार टक्राउनुभएको थियो । उहाँको मन दुख्छ । उहाँको चित्त रुन्छ । कछाड चाहिँ नराख्नुहोस् । कछाड चाहिँ नमाग्नुहोस् ।’
फेड प्लान्ट जीले केही पनि सुन्नु भएनछ । मुतले लुछुप्प.लुछुप्प भएको कछाडलाई उहाँले समाईराख्नुभएछ, छाड्नुभएनछ ।
यसकारण साथीले मलाई फोन गर्यो । कछड उकहाँ पुर्याउनै पर्ने भयो । अब एक थान कछाड बोकेर ऊ कहाँ पुग्नुपर्नेछ । त्यतिन्जेल कछाडजाने ऊ के गर्छ ? मुतजाने ऊ के गर्छ ? हातले गुप्तांग छोप्दै होला, बिचरा ! लाजको पोको । यसकारण म पुगीहाल्नुपर्नेछ । उसको इज्जत बचाईहाल्नु पर्नेछ ।
उसो त प्रेमिकाज्यूँ कहाँ पनि पुगीहाल्नुपर्नेछ ।
त्यसो भए अब यसो गर्नुपर्नेछ । तपाईँ मेरो साथीकहाँ पुग्नुहोस् । म प्रेमिकाज्यू कहाँ पुग्छु । एकैपटक दुवै काम फत्ते हुन्छ । यसो गरिहाल्नुपर्नेछ । पुगीहाल्नुपर्नेछ ।
तपाईँ मेरो कछाड समाउनुस्, मेरो साथी कहाँ दौडिनुहोस् । उसलाई कछाड दिनुहोस् र उसको इज्जत बचाउनुहोस् ।
म फोन समाउछु, प्रेमिकाज्यूँ कहाँ पुग्छु । उहाँलाई फकाउनु पर्नेछ, उहाँको मन राख्नेछु र उहाँलाई नचाउनेछु ।
हामी फेरी भेटौँला ।
तपाईँ निस्कीहाल्नुहोस् । म निस्कीहाल्छु ।
हामी निस्कीहालौँ । पुगीहालौँ । लौ..दौडीहालौँ । कुदीहालौँ ।
साथीलाई मेरो कथा-व्यथा बताईदिनुहोला । उसले तपाईँको कुरा बुझीदेला । मेरो कष्ट बुझीदेला । मसँग नरिसाईदेला ।
उप- कथन :
म थाकेको थिएँ । तपाईँ पनि थाक्नुभएको थियो । हामी थकाइले चुरचुर भएका थियौँ ।
तपाईँले साथीलाई भेट्नुभएन । तपाईँले उसको इज्जत बचाउन सक्नुभएन ।
मैले प्रेमिकाज्यूलाई भेटिनँ । मैले सवा कट्टु पौने पोँइठ सुशोभित उहाँको डान्स हेर्न सकिनँ । उहाँलाई फकाउन सकिनँ ।
हामी दिक्क भएका छौं । दिक्दार भएका छौं ।
साथीलाई तपाईँले वन विभागमा भेट्नुभएन । धेरे खोज्नुभयो । देख्नुभएन । बोलाउनुभयो । कछाड..कछाड गर्नुभयो । साथीको आवाज सुन्नुभएन ।
वन विभागमा फेड प्लान्ट नै भेट्नुभएन ।
तपाईँले कछाड पनि देख्नुभएन ।
तपाईँले साथीलाई कतै-कसै गरि पनि भेट्नुभएन ।
मैले प्रेमिकाज्यूलाई भेटिनँ । मैले धेरै खोजेँ । देखिनँ । बोलाएँ । प्रेमिकाज्यू, प्रेमिकाज्यू गरेँ । प्रेमिकाज्यूको आवाज सुनिनँ ।
पौने कट्टु र सवा पोँइठ पनि देखिनँ ।
प्रेमिका जीको नाँच पनि हेर्न पाइनँ ।
मैले प्रमिका ज्यूँलाई कतै-कसैगरि पनि भेटीनँ ।
उहाँहरू दुवै लापता हुनुभयो । एकाएक गायब हुनुभयो । एकाएक लुप्त हुनुभयो । हराउनुभयो ।
साथीको फोन पनि लागेन ।
प्रेमिकाज्यू आफ्नो बसेरा पनि भेटिनुभएन ।
साथीको कछाड हरायो । साथीको मुत हरायो ।
प्रेमिकाज्यू हराउनुभयो । प्रेमिकाज्यूको सवा कट्टु पौने पोइठ पनि हरायो ।
हाम्रो विचल्ली भयो । हाम्रो उठिबास लाग्यो ।
हामी दौडेको दौड्यै भयौं । कुदेको कुद्यै भयौं ।
साथीको कछाड भेटिएन, अब उसको प्रेमिकाले उसलाई मार्ने भइन ।
प्रमिकाज्यूको खबर भेटिएन, अब उहाँले मलाई मार्ने हुनु भयो ।
दौडेर पनि भएन । कुदेर पनि भएन ।
खोजेर पनि भेटिएन । कुदेर पनि भेटिएन ।
यो के भयो ? कसरी भयो ? …किन भयो ?
साथी र प्रेमिकाज्यू कहाँ हरायो/हराउनुभयो ?
प्रेमिकाज्यू र साथी कता पुग्नुभयो ? पुग्यो?
उपसंहार :
१.
एकाएक तपाईँले भन्नुभयो – ‘हेर्नुहोस् त, राष्ट्रपतिज्यू त नाचीरहनु भएको छ । छम..छम । छम..छम ।’
एकाएक मैले भनेँ- ‘राष्ट्रपतिज्यू होइन होला । राष्ट्रपतिज्यू किन पो नाच्नुहुन्थ्यो ?’
एकाएक तपाइँले भन्नुभयो- ‘साच्चै राष्टपतिज्यू नै हो । कालो रङको सुरुवाल धारण गर्नु भएको छ । होइन, होइन, सवा कट्टु र पौने पोइठ नै लगाउनुभएको छ । र, नाचिरहनु भएको छ । छम..छम । छम.छम । नाचीरहनुभएको छ । कम्मर मर्काइरहनुभएको छ ।
२.
केहीबेर अझ दौडीयौँ हामी । अझ पर..पर पुग्यौँ
मैले एकाएक भनेँ- ‘हेर्नुहोस् त प्रधानमन्त्रीज्यू नांगै हुनुहुन्छ । थपडी मारीरहनु भएको छ । थप..थप.. । थपा.थपा..थप।’
तपाईँले एकाएक भन्नुभयो -’प्रधानमन्त्रीज्यू होइन होला । प्रधानमन्त्रीज्यूले किन पो थपडी बजाउनुहुन्थ्यो ?’
एकाएक मैले भनेँ- ‘साच्चै प्रधानमन्त्री हो । नाङ्गै हुनुहुन्छ । फेड प्लान्ट समाएर बसीरहनु भएको छ । फेड प्लान्टले उहाँको कछाड पनि समाईराखेको छ । फेड प्लान्टले आफ्नो गुप्तांग ढाकीरहनु भएको छ । र थपडी बजाउदै रहनुभएको छ । थप..थप..। थपा..थप.. ।’
अन्त्येष्टि :
तपाईँको केही काम बचेका छन् ? केही काम सकीहाल्नुपर्ने छ ? गरिसिध्याउनुहोस् ।
प्रधानमन्त्रीज्यू र राष्ट्प्रतिज्यूको तपाईँहरूलाई पनि यसैगरी फोन आउनेछ । यसैगरी नम्बर हाइज्याक गरेर कल आउनेछ । स्वर बदलेर फोन आउनेछ । साथी र प्रेमिकाज्यू बनेर फोन आउनेछ ।
..एक-एक यसैगरि यी-यस्ता एइरेगइरे काम सुम्पिइनेछ । तर यो कुरा कसैले नबताउनु पर्नेछ । तर यो सब चुपचाप हुनेछ । जसरी प्रधानमन्त्रीज्यूले विधेयक ल्याउनुहुनेछ । राष्ट्रपतिज्यूले लालछाप हान्नुहुनेछ । सोहीप्रकार यो काम पनि एकाएक हुनेछ । एकाबिहानै हुनेछ । चुपचाप हुनेछ । छुपछाप हुनेछ ।
तपाईँलाई पनि कुनै कल आउनेछ । कुनै काम दिइनेछ । काममा लगाईनेछ । काममा खटाइनेछ । नमाने अर्को विधेयक ल्याइनेछ । तपाईँ कछाड थुतिनेछ । तपाईँमाथि मुतिनेछ । अर्को विधेयक ल्याइनेछ । तपाईलाई नांगै बनाइनेछ ।
तपाईँको केही काम बचेका छन् ? केही काम सकीहाल्नुपर्ने छ ? गरिसिध्याउनुहोस् । सिध्याइहाल्नुहोस् ।
अस्तु !
लेखक परिचय
धादिङका राजु झल्लु प्रसाद कविता, कथा, मनोविश्लेषणात्मक लेख साथै अखबारीय लेखनमा पनि सक्रिय छन् । अनलाइन पत्रिका न्युजकास्ट नेपालमा कलासाहित्य विधाका प्रमुख रहेर काम गरिरहेका झल्लु प्रसाद त्रि-चन्द्र कलेजमा बिएससी अध्ययन समेत गर्दैछन् ।