“है ……..ए, है ………ए,
छन्छन्लो, छन्छन्लो
आरी खर्बा फुरुरु छन्छन्लो
खर्बाक लाक्पा फुरुरु छन्छन्लो
छन्छन्लो, छन्छन्लो ।”
लयमा कोःक्माहिम् देवारीले चाम्ब्रिक्पुङ्गेको घरमा सालबसाल न्वागीका देउदेउताहरूलाई बुझाउथे, नयाँ धानको र कोदोको बालाहरू राखेर । फसल पाकेपछि तँछाडमछाड भएपनि चाम्ब्रिक्पुङ्गेको घर पहिलो रोजाइ हुन्थे । चाम्ब्रिक्पुङ्गे र कोक्माहिम् देवारी नजिकका छिमेकि थिए ।
चाम्ब्रिक्पुङ्गेको एक्लो छोरा जवान पुग्दैजाँदा घाँटीमा अलिक सुन्निए जस्तो देखिए ।
जोखना हेराए, थालमा अछेता राखेर र खुट्यो पनि । ‘आक्कोहो, योता उभोलुङ् तेउले फेटेछ । एस्को हेनेमेने कर्नु’ भने । भाले र एकजोर परेवाले उभोलुङ्को हेनेमेने गरे । घाँटि निको भएन ।
‘चाम्ब्रिक्पुङ्गेले न्वागी नगरी नयाँधान खाएकाले उनको छोराकोमा गाँड आयो ।’ गाईँगुईँ हल्ला सुन्नासाथ चाम्ब्रिक्पुङ्गे रिसाएर कोःक्माहिम् देवारीलाई बेस्सरी भक्कुर्याए ।
देवारीले आगेसुब्बाकोमा मौखिक उजुर गरे र तुरुन्त प्यादाहरू पठाई चाम्ब्रिक्पुङ्गेलाई झिकाए र कछाड बसाए ।
’त्यो ज्याँठा कोःक्माहिम्, न्वागी विगार्दै छोराकोमा गाँड आउने बनाउने ? ज्याँ…ठो कुटिदिएँ’ कड्किए चाम्ब्रिक्पुङ्गे।
‘हना मुइले कासोरी न्वागी पिगारेङ् हाउ, चाम्ब्रिक्पुङ्गे। एसोरी आन्जानवश आएर मुलाई चात्तासुक्कै फेङ्किफेङ् कुट्ने ?’ देवारी अलिक साम्यले बोले ।
‘गाउँभरि हल्ला छ, ज्याँ …ठा’ औँला ठड्याएर चाम्ब्रिक्पुङ्गे उफ्रे ।
‘हाउ हाल्ला फएपिनि पिगारेको मुइले हैना, तेउताले हो । चाँठा, तेरो छोराकोमा आभ्नेक् काँड आयो । आबो के कार्छस् । मुलाई ओखति कार्’ आयाया भन्दै आगेसुब्बाको छेउमा बसे ।
‘हेर् कोःक्माहिम्, मेरैमा पैले न्वागी गर्ने, एकाविहानै पुजा विगारेर मेरो छोराकोमा गाँड झुण्ड्याउने ? मेरो छोरा जिम्मा लिहै ज्याँठा । म मान्दिन ।’ अलिक नरम भो चाम्ब्रिक्पुङ्गे । आगेसुब्बाले यत्ताउत्ता गरेर कारबारी, बुढ्यौली र तुम्म्याहाङ्हरूको सहाराले फैसला गरे ।
‘कोःक्माहिम् देवारीले न्वागीअर्पण नजानेकाले बक्साउनी मोहर २ र चाम्ब्रिक्पुङ्गेलाई अन्न डालो ६ दण्ड भर्नुपर्ने र चाम्ब्रिक्पुङ्गले एक्कासि गएर रगतपक्षे हुनेगरी पिटेकाले कोःक्माहिम् देवारीलाई शीर उठाउनी एकपाथी चामल, एकचौंठो रक्सि र एउटाभाले अनि ओखतिमुलोको लागि मोहर ५ दण्ड दिनुपर्ने ।’ र मेलमिलाप भए ।
चाम्ब्रिक्पुङ्गेको छोरा धाननाच्न दिनमा नगई रातमा मात्र फेटा बेरेर जानथाल्यो ।
एकदिन स्वास्थ्य चौकिले गलगाँड लगत संकलन गर्दा चाम्ब्रिक्पुङ्गे पनि पर्यो र स्वास्थ्य चौकि गए ।
डाक्टरले गाँडबारे बुझाए । गाँड आयोडिन कमिले निस्कने,रोडे नूनमा आयोडिन नहुने र दोष न्वागीमा होइन थाहा पाए । आत्मग्लानी भएछ चाम्ब्रिक्पुङ्गे चौरको छेउमा गए र भत्भत्याए ।
‘थुक्का, केना केपो कोःक्माहिम् देवारीलाई कुटेछु, ज्याँ…… ठा ।’
प्याच्च भुईँमा थुकेर घर हिँडे ।
लेखक परिचय
समाजसेवा, निर्देशन, अभिनय, सम्पादन र सक्रिय लेखन् गरिरेहेका मलिसा याक्थुङ्बा लिम्बु (महेन्द्रकुमार नेम्बाङ्) बहुआयमिक व्यक्ति हुन् । उनले सुम्हालुङ् (२०५२ सह), पक्कन्दि (२०५४), युगान्तर सन्देश (२०५६-०५९) जस्ता पुस्तक सम्पादन गरेका छन् भने आनि साक्थिम (२०५४), मासेमी (२०५७), नुमाफुङ (२०५७), सपनाकी फूल (२०६०), माराम (२०६२), अरूणपूर्व लिम्बुवान (२०६४) जस्ता चलचित्रमा अभिनय पनि गरेका छन् । त्यसैगरि सपनाकी फूल (२०६०) र करिब डेढ दर्जन भन्दा बढि याक्थुङ नाटकहरूमा निर्देशन गरेका छन् ।
विद्वान श्री रनधोज नेम्बाङ्को जीवनी (२०५६), किरात धर्मको एकता (२०५७) पुस्तिका, खामाक् पाङ्भे लेन् तुङ्हा (याक्थुङ् नाटक संग्रह) (२०६८), याक्थुङ् पा: न्दाङ् नु साप्सक् (कक्षा ११ र १२का लागि (२०६९), लिम्बुवानमा पाँचथरको ईतिहास (२०७१), र केयुक्ना नु आयुक्ना (आधुनिक निवन्ध संग्रह) (२०७७) आदि याक्थुङ्बाका प्रकाशित कृतिहरू हुन् । याक्थुङ्बालाई myakthungba@gmail.com ठेगानामा पत्राचार गर्न सकिन्छ ।