आयरल्याण्डको डब्लिनमा जन्मिएका अस्कर वाइल्ड (सन् १८५४—१९००) चिन्तक, कवि, उपन्यासकार र नाटककारका रूपमा विश्वप्रसिद्ध छन् । व्यावसायिक तथा साहित्यिक पृष्ठभूमि भएका आमाबुबाबाट जन्म लिएका वाइल्डका पिता कान तथा आँखाका डाक्टर थिए जसले पुस्तकहरू पनि प्रकाशन गरेका थिए भने आमा विद्रोही कवि तथा सेल्टिक पौराणिक कथा र लोकगीतको ज्ञाता थिइन् । एकमात्र उपन्यास द पिक्चर अफ डोरियन ग्रे, कमिक मास्टरपीस लेडी विन्डरमेयर्स् फ्यान र नाटक इम्पोर्टेन्स अफ बिइङ अर्नेस्ट उनका प्रसिद्ध कृति हुन् । अस्कर वाइल्ड १९औँ शताब्दीको अन्त्यतिर इङ्ल्यान्डमा सुरु भएको ‘सौन्दर्यवादी साहित्यिक आन्दोलन’ का प्रवर्तक पनि थिए जुन आन्दोलनले ‘कलाको हितका लागि कला’ अर्थात् ‘Art for Art’s Sake’ भन्ने विचारको वकालत गर्दथे । वाइल्डले एउटा कवितासङ्ग्रह पनि प्रकाशन गरे भने अमेरिका र क्यानडामा English Renaissance in Art and Interior Decoration सम्बन्धी प्रशिक्षण गरे । उनले पछि लण्डन फर्किएर पत्रकारीता समेत गरेका थिए । अस्कर वाइल्ड
तल प्रस्तुत “स्वार्थी राक्षस” वाइल्डद्वारा लिखित एक बाल कथा हो जुन पहिलो पटक सन् १८८८ मा द ह्याप्पी प्रिन्स एण्ड अदर टेल्स नामक कथासङ्ग्रह प्रकाशितमा गरिएको थियो । यो कथा एउटा राक्षसको बारेमा हो जसले अन्ततः स्नेह, प्रेम अनि खुसी बाँडेर जीवन जिउनुपर्छ भन्ने एउटा महत्वपूर्ण पाठ सिक्दछ भने यस कथाले फरक उमेरका मानिसहरूका लागि भिन्नाभिन्नै अर्थ बोकेको छ । प्रस्तुत छ कथा ” The Selfish Giant” को नेपाली भावानुवाद:
हरेक मध्याह्न विद्यालयबाट आउँदा बच्चाहरू राक्षसको बगैँचामा खेल्न जाने गर्थे । त्यो नरम घाँस भएको एक सुन्दर अनि विशाल बगैँचा थियो । त्यही घाँसमा ताराजस्तै चम्किला फूलहरू थिए, त्यहाँ अन्य बाह्रओटा आरूका रूखहरू पनि थिए जुन वसन्त ऋतुमा कोमल गुलाबी र मोती रङमा फुल्थे भने शरदमा प्रशस्त फल दिन्थे । तिनै रूखहरूमा बसेर चराहरूले मिठो गीत गाउँथे । तिनै गीत सुन्नका लागि बच्चाहरूले आफूहरू खेल्दै गरेको खेल रोक्थे । “हामी यहाँ कति खुसी छौँ !” तिनीहरू एकअर्कालाई भन्थे ।
एक दिन राक्षस घर फर्कियो । ऊ आफ्नो साथी कर्निस राक्षसलाई भेट्न गएको थियो । उसले त्यहाँ आफ्नो साथीसँग करिब सात वर्ष बिताइसकेको थियो । जब उसले त्यहाँ सात वर्ष बितायो र उसको साथी सँगको कुाराकानी सकियो, उसले आफ्नै महलमा फर्कने संकल्प गर्यो । महलमा आउनासाथ उसले आफ्नो बगैँचामा बच्चाहरू खेलिरहेका देख्यो ।
‘तिमीहरू यहाँ के गरिरहेका छौ ?’, राक्षस अलि कठोर आवाजमा कराएपछि बच्चाहरू डरले त्यहाँबाट भागे । ‘मेरो आफ्नो बगैँचा, मेरो आफ्नै बगैँचा हो,’ राक्षसले भन्यो, “जोकोहीले पनि बुझ्न सक्छ कि मबाहेक यहाँ अरू कसैलाई पनि खेल्न दिने छैन ।” त्यसैले उसले बगैँचा वरिपरि अग्लो पर्खाल खडा गर्यो र सूचना पाटी पनि टाँस्यो, “गल्ती गर्नेलाई कारबाही गरिनेछ ।”
ऊ एक स्वार्थी राक्षस थियो । बिचरा बच्चाहरूलाई खेल्नका लागि अब कुनै ठाउँ थिएन । तिनीहरू सडकमा खेल्ने प्रयास त गर्थे तर त्यहाँको धूलैधूलो र ढुङ्गैढुङ्गाले उनीहरूलाई दिक्क बनाउँथ्यो । जब पढाइ सकिन्थ्यो, उनीहरू त्यो अग्लो पर्खाल वरिपरि भौतारिन्थे, भित्रको सुन्दर बगैँचाको बारेमा कुरा गरिरहन्थे । “हामी त्यहाँ कति खुसी थियौँ है !” उनीहरू आपसमा कुरा गर्थे ।
समयसँगै वसन्तको आगमन भयो । पुरै गाउँभरि स–साना फूलहरू र चराचुरुङ्गी देखिन्थे । तर स्वार्थी राक्षसको बगैँचामा भने अझै शिशिरले छाडेको थिएन । बच्चाहरूको अनुपस्थितिले चराचुरुङ्गीलाई पनि गीत गाउने कुनै रहर जाग्दैनथ्यो । त्यसैगरी रूखमा फूलहरू पनि फुल्न छाडे । एकपटक एउटा सुन्दर फूलले घाँसबाट आफ्नो टाउको बाहिर निकाल्यो । तर जब यसले बगैँचामा टाँसेको सूचना पाटी देख्यो, ती बच्चाहरूप्रति दुःख व्यक्त गर्दै पुनः जमिनमुनि गएर सुप्त बन्यो । अब खुसी हुनेहरू मध्य त्यहाँ केबल हिउँ र तुसारो मात्रै थिए । “वसन्तले यो बगैँचालाई बिर्सेको छ ।,” तिनीहरू बोल्थे । “यो वर्षभरि हामी यहीँ बस्नेछौँ ।” हिउँले आफ्नो सेतो वस्त्रले घाँसलाई ढाक्यो । तुसारोले पनि सम्पूर्ण रूखहरूलाई चाँदीले रङ्ग्यायो । त्यसपछि ती दुबैले उत्तरी वायुलाई आफूसँग रहन आग्रह गरे । उत्तरी वायु पनि आयो । यो भुवाले बेरिएको थियो । ऊ दिनभरि बगैँचामा गर्जिरह्यो र चिम्नीका भाँडाहरू उडाएर तल झारिरह्यो । “यो अत्यन्तै रमणीय ठाउँ छ ।,” उसले भन्थ्यो । “हामीले भेट्नका लागि अब असिनालाई पनि बोलाउनु पर्छ ।” हिउँ र तुसारोले फेरि भने । अब त्यहाँ असिनाको पनि आगमन भयो । हरेक दिन तीन तीन घण्टासम्म धेरैजसो स्लेटहरू नफुटाउन्जेल महलको छानामाथि बर्सिरह्यो असिना, र सकेजति जोडतोडले बगैँचा वरिपरि दौडन्थ्यो । ऊ खैरो पोसाकमा थियो भने उसको श्वास बरफजस्तै चिसो ।
“वसन्त आउन किन ढिलो भइरहेको छ मलाई थाहा छैन ।”, स्वार्थी राक्षसले भन्यो । ऊ झ्यालमा बस्थ्यो र बाहिरको चिसो अनि सेतो बगैँचातिर हेर्थ्यो, “मलाई आशा छ पक्कै पनि मौसममा परिवर्तन आउनेछ ।”
तर कहिल्यै वसन्त आएन, न त गृष्म नै । शरदले हरेक बगैँचामा सुनौला फलहरू दिई, तर राक्षसको बगैँचालाई भने केही दिईन । बरु उसले भनी, “ऊ अत्यन्तै स्वार्थी छ ।” त्यसैले त उसको बगैँचामा सधैँ जाडो थियो, उत्तरी वायु, असिना, तुसारो, अनि रूखहरूमा नाचिरहने हिउँ पनि ।
एकाबिहानै राक्षस निन्द्राबाट ब्यूँझिएर ओछ्यानमा पल्टिरहेको थियो, त्यसै बेला उसले कतै सुमधुर संगीतको धुन सुन्यो । त्यो धुन उसका कानमा यति मिठो सुनियो कि उसलाई लाग्यो ती पक्कै पनि राजाका संगीतकारहरू हन्, जो त्यही बाटो भएर कतै गइरहेका थिए । तर वास्तवमा यो एउटा सानो चराको आवाज थियो जुन उसको झ्यालबाहिर गीत गाइरहेको थियो । राक्षसले आफ्नो बगैँचामा यसरी चराचुरुङ्गीले गीत गाएको नसुनेको धेरै भइसकेको थियो । जसले गर्दा उसलाई त्यो धुन सृष्टिमै सबै भन्दा सुन्दर अनि उत्कृष्ट लाग्यो । असिना पनि उसको महलको छानामाथि नाच्न छाड्यो र उत्तरी वायुको गर्जन पनि एकाएक बन्द भयो । खुल्ला झ्यालबाट सुगन्ध आयो । “मलाई थाहा छ अन्ततः वसन्तको आगमन भएको छ ।,” राक्षसले भन्यो र ओछ्यानबाट उठेर उसले बाहिर हेर्यो ।
उसले के देख्यो ?
उसले बगैँचामा अद्भुत दृश्य देख्यो । पर्खालमा भएको एउटा सानो दुलोबाट घिस्रिएर बच्चाहरू बगैँचाभित्र प्रवेश गरिरहेका थिए र एकपछि अर्को गर्दै रूखका हाँगाहरूमा बस्दै थिए । राक्षसले आफ्नो बगैँचाभित्रको हरेक रूखमा स–साना बच्चाहरू देख्यो । बच्चाहरूलाई पुनः प्राप्त गरेकोमा रूखहरू पनि अत्यन्तै हर्षित देखिन्थे । ढकमक फूलहरूको घुम्टो लगाएका रूखहरूले बच्चाहरूको टाउकोमा आफ्ना हातहरूले सुम्सुम्याइरहेका थिए । चराहरू पनि खुसीले चिच्याउँदै उडिरहेका थिए भने फूलहरू पनि हरियो घाँसमा लुकेर माथि हेर्दै मुस्कुराइरहेका थिए । यो एक अत्यन्त सुन्दर दृश्य थियो । बगैँचाको एउटा कुनामा भने अझै शिशिर बाँकी नै थियो । त्यो बगैँचाको सबैभन्दा टाढाको कुना थियो जहाँ एउटा सानो केटो उभिइरहेको थियो । ऊ यति सानो थियो कि रूखको हाँगासम्म पुग्दैनथ्यो र रुँदै बगैँचा वरपर भौतारिइरहेको थियो । बिचरा रूख पनि अझै हिउँले ढाकिएको थियो । उत्तरी वायु पनि त्यो माथि गर्जँदै अझै बहिरहेको थियो । “माथि आऊ ! बाबु साने ।,” रूखले बोलायो र उसले आफ्नो हाँगाहरू सके जति झुकायो तर पनि सानो केटो अत्यन्तै सानो थियो । त्यो दृश्य देखेर राक्षसको मन पग्लियो । “म कति स्वार्थी रहेछु !” उसले भन्यो । “अब मलाई थाहा भयो कि किन यहाँ वसन्त छाउँदैन । म त्यो बिचरा बालकलाई रूखमाथि राख्छु अनि पर्खाल पनि भत्काउँछु । त्यसपछि मेरो यो बगैँचा सधैंका लागि बच्चाहरूको खेल्ने मैदान बन्नेछ ।” ऊ आफूले गरेको नराम्रो व्यवहारप्रति साह्रै दुःखी थियो ।
राक्षस तल्लो तल्लामा गयो र बिस्तारै अगाडिको ढोका खोल्यो । ऊ बगैँचातिर लाग्यो । बच्चाहरूले उसलाई देख्नासाथ डराएर सबै त्यहाँबाट भागे । बगैँचा एकपटक फेरि शिशिरमा परिणत भयो । तर त्यो सानो बालक भने त्यहाँबाट कतै गएको थिएन किनभने उसको आँखाभरिको आँसुले राक्षस आउदै गरेको उसले देखेको थिएन । राक्षसले उसलाई पछाडिबाट बिस्तारै समातेर हातमा लियो र रूखमाथि राख्यो । रूखमा एकपटक फेरि फूलहरू फुले र चराहरू पनि आएर फेरि गाउँन थाले । त्यो बालकले आफ्ना दुवै पाखुरा फिँजाएर राक्षसको घाँटी वरिपरि बेरेर उसलाई चुम्बन गर्यो । जब अरू बच्चाहरूले यसबेला राक्षस कठोर नभएको महसुस गरे, उनीहरू पनि दौडँदै आए । तिनिहरूसँगै फेरि वसन्त पनि आयो । “यो अब तिमीहरूकै बगैँचा हो, हेर नानीबाबु हो ।,” राक्षसले भन्यो र उसले ठूलो बन्चरो लिएर पर्खाल पनि भत्कायो । गाउँका मानिसहरू बाह्र बजे बजार जाँदै गर्दा राक्षसलाई बच्चाहरूसँग आफूले कहिल्यै नदेखेको त्यति सुन्दर बगैँचामा सँगै खेलिरहेको देखे ।
बच्चाहरू दिनभरि खेल्थे र साँझपख राक्षसलाई बिदाइ भन्न आउँथे ।
‘तर तिमीहरूको सानो साथी खोइ ?,’ राक्षसले सोध्यो : ‘त्यो सानो बालक जसलाई मैले रूखमाथि चढाएको थिएँ ।’ राक्षसले उसलाई सबैभन्दा बढी माया गर्थ्यो किनकी त्यो बालकले उसलाई चुम्बन गरेको थियो ।
‘हामीलाई थाहा छैन ।,’ बच्चाहरूले जवाफ दिए । ‘ऊ कतै टाढा गएको छ ।’
‘तिमीहरूले उसलाई यहाँ आउन पक्का गराउनै पर्छ ।,’ राक्षसले सुझाव दियो । तर बच्चाहरूले ऊ कहाँ बस्छ भन्ने कुरा थाहा नभएको र उसलाई पहिला पनि कहीँकतै कहिल्यै नदेखेको जिकिर गरे । त्यो कुरा सुनेर राक्षस एकदमै दुःखी भयो । अस्कर वाइल्ड
हरेक मध्याह्न स्कुल छुट्टि भएपछि बच्चाहरू बगैँचामा आएर राक्षससँग खेल्थे । तर त्यो सानो केटो जसलाई राक्षसले औधी माया गर्थ्यो जो फेरि त्यहाँ कहिल्यै देखा परेन । अब सबै बच्चाहरूका लागि राक्षस अत्यन्तै दयालु थियो । तर अझै पनि उसले त्यो सानो साथीलाई देख्न चाहन्थ्यो र उसको बारेमा कुरा गरिरहन्थ्यो । ‘उसलाई देख्न पाए म कति खुसी हुन्थेँ !’, ऊ भन्ने गर्थ्यो ।
वर्षौं बिते, राक्षस धेरै बुढो अनि कमजोर हुँदै गयो । ऊ अब धेरै खेल्न सक्दैनथ्यो । त्यसैले ऊ एउटा ठूलो आर्मचेयरमा बस्थ्यो र बच्चाहरू खेलिरहेको हेर्थ्यो, आफ्नो बगैँचाको बयान पनि गर्थ्यो । ‘मसँग धेरै सुन्दर फूलहरू छन् ।,’ उसले भन्ने गर्थ्यो । तर अब ती बच्चाहरू नै सबै भन्दा सुन्दर फूलहरू थिए उसका लागि । अस्कर वाइल्ड
एक्कासि उसले आश्चर्य मानेर आफ्नो आँखा मिच्न थाल्यो र बारम्बार हेरिरह्यो । बगैँचाको सबैभन्दा टाढाको एक कुनामा एउटा रूख सेताम्य फूलहरूले ढकमक थियो । यसका हाँगाहरू सबै सुनौला थिए भने ती हाँगामा चाँदीजस्ता फलहरू झुन्डिएका थिए, र त्यही रूखमुनि राक्षसको अति प्रिय बालक उभिएको थियो ।
राक्षस खुसी हँदै तल्लो तल्लामा दौडियो र बाहिर बगैँचामा गयो । ऊ हतारिँदै, घाँस छिचोल्दै, चौर पार गरेर बालकनजिकै गयो । जब ऊ नजिक गयो, उसको अनुहार रिसले रातो भयो, अनि उसले भन्यो, ‘तिमीलाई दुःख दिने आँट कसले गर्यो ?’ बालकको हत्केलामा दुईवटा काँटी गाडेको दाग थियो भने ती साना दुवै खुट्टामा पनि उस्तै घाउ थियो । अस्कर वाइल्ड
‘तिमी को हौ ?’, राक्षसले प्रश्न गर्यो । सम्मान अनि अलिकति भयको भाव त्यो राक्षसमा उब्जियो । ऊ सानो बच्चाको अगाडि शीर झुकाएर निहुरियो । बालक पनि राक्षसलाई हेरेर मुस्कुरायो र भन्यो, ‘तिमीले मलाई एकपटक तिम्रो गार्डेनमा खेल्न दिएका थियौ, आज तिमी पनि मेरो गार्डेनमा खेल्न आउनुपर्छ जुन आफैँमा एउटा स्वर्ग हो ।’
जब बच्चाहरू मध्याह्न चौरमा खेल्न दौडे, उनीहरूले त्यो राक्षसलाई त्यसै रूखमुनि मृत फेला पारे । उसको पुरै मृत शरीर सेता फूलहरूले ढाकिएको थियो ।
लेखक परिचय
त्रि.वि. बाट अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेका जितेन्द्र सिंह हाल शिक्षण पेसामा संलग्न छन् । उनी नेपाली र अङ्ग्रेजी दुवै भाषामा अनुवाद गर्न रुचाउँछन् । सिंहका अनुवादहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् ।