तपाईँले भन्नु भएको ठाउँ यहीँ हो – ड्राइभरले भन्यो ।
बाटोको छेउमा आएर ट्याक्सी रोकियो । मैले गाडीको भित्रबाट चारै तिर हेरेँ । मेरो अगाडि त्यो दृश्य आयो – दुर्इवटा हरियो कोपोलाहरूको घर अनि असंख्य देखिने परेवाहरूको बथान । नजिकै आएर हेर्दा मैले त्यो आँगन परेवाहरूले भरिएको पाएँ । ति परेवाहरू मानिसहरूले छरेका अन्नका दनाहरू टिपिरहेका थिए ।
कुनै समयमा यो ठाउँलाई “परेवाहरूको चिहान” भनेर सम्बोधन गरिन्थ्यो – ड्राइभरले भन्यो । यो ठाउँ सहरमा बस्ने एउटा प्रख्यात धार्मिक मानिसको स्थल हो ।
धेरै पहिला त्यो कुनामा रहेको भवन उसको पूजाकोठा हुने गर्थ्यो ।
त्यो भवनमा धेरै मानिसहरू पालो पालो गरेर आउने जाने गरिरहेका थिए ।
– दैनिक सयौँ मानिसहरू धार्मिक यात्रामा जाने गर्छन – ड्राइभरले निरन्तर रूपमा संवाद अगाडि बढायो । यहाँ मानिसहरू मृतहरूका लागि पुजा गर्छन् , बिरामीहरू निको हुन भनेर दुवा गर्छन् , बाँझो दाम्पत्य जीवनमा शिशु लाभको लागि पुजा गर्छन् । उनीहरूले इमामलाई आशीष दिन लगाउँछन् र कुरान पढे्र आमन्त्रण गर्न पनि लगाउँछन् । उनीहरू आँगनमा हिँड्दै बिउहरू छर्दै धार्मिक मानिसहरूको चिहानतर्फ यात्रा गर्छन् ।
मैले मेरा आँखाहरू परेवाहरूकालागि आकाश तर्फ केन्द्रित गर्दै ड्राइभरको कुरा इमान्दारीपूर्वक सुनिरहेको थिएँ । ति परेवाहरू हुबहु मेरो बुवाले एल्बममा उतारे जस्तै देखिन्थे : निलो- खैरो, सेतो र कालो । एकअर्का भन्दा निकै कोमल अनि नरम, मानौ कुनै अर्थपूर्ण हेराइले हेरेजस्तो ।
प्रिय अतिथि, म गाडीमै हुन्छु – ड्राइभरले केही समय पछाडी गाडी भित्र आउन तयारी गर्दै भन्यो ।
– मलाई यदि शरद ऋतुको हावाको एलर्जी नभएको भए म तपाईँलाई गाडीमै लिएर जान्थेँ तर, अफसाेस मलाई बाहिर धेरै बस्दा छिंक आउँछ ।
ऊ नाक फुक्दै गाडीतर्फ गयो । म बिउ टिपिरहेका परेवाहरूको नजिक आएँ । उनीहरू भुइमा छरिएका केही
अन्नका दानाहरूका लागि झगडा गरिरहेका थिए । त्यो अवस्था, मानिसहरू बीचको होडबाजीजस्तो लागिरहेको थियो, जहाँ दुर्बल पक्षहरू किनारा लाग्ने गर्छन् , भाग्यपनि बलियाहरूको पक्षमा भए जस्तो ।
त्यो धर्मीक स्थलको एक छेउमा एकजना दुब्ली वृद्ध महिला अन्न बेचिरहेकी थिइन । मैले उनलाई सुरुमा देखिन । मानिसहरू ति महिलाबाट सेलोफेनको झोलामा अन्न किनिरहेका थिए । मैले पनि त्यो देखेपछि केही अन्न किनेँ । मलाई आँगनमा अन्न छरेको देखेर परेवाहरूले घेरे । आकाशमा उडिरहेका परेवाहरू पनि ओर्लिए र बथानमा मिसिए । केही बेरमै म अनगिन्ती परेवाहरूको माझमा थिएँ । केही परेवाहरू डर नमानि मेरो अन्न पनि टिपिरहेका थिए, अनि मेरो हातबाट पनि केही परेवाहरू जुत्ता र जमिनको घर्षणले सानो आवाज आइरहेको हुँदा मेरो जुत्तामा पनि चडिरहेका थिए ।
केही बेरमै मेरो हातको झोला रित्तियो । म गलेर बसेँ । मेरो पछाडी चिहान थियो । एउटा पर्खालले धार्मिक स्थल र चिहान अलग गरेको थियो र त्यो चिहान ईँटाको पर्खालको बीचमा रहेको घेरिएको सानो झ्यालबाट देखिन्थ्यो । मलाई लाग्छ त्यस्को छेउमा मस्जिद थियो, किनभने तामाको अर्धचन्द्राकार जूनको आकृति भएको गुम्बज पूर्वतिर फर्किएको थियो ।
बेन्चमा बसेर परेवाहरू हेर्दै मैले मेरो क्यामेरा निकाले र कैयौं पटक उनीहरूको तस्बिर खिचेँ । त्यसपछि, मेरो ब्रीफकेस खोलेर बुवाको एल्बम बाहिर निकालेँ । एल्बममा देखाइएका परेवाहरूसँग मैले मेरो वरिपरि रहेका परेवाहरूको तुलना गरेँ । मैले तस्बिरको तल लेखिएको नोट र मिति सर्सर्ति हेरेँ । प्रत्येक परेवाको तस्बिरको तल नोट अनि मिति लेखिएको थियो । उदाहरणको लागि खैरो रंगको परेवाको छेउमा (०४/०६/१९९५) लेखिएको थियो; (मेरो प्रिय नानी आज कक्षा १ मा गएको दिन) । तल मिति सहित सेतो परेवाको तस्बिर थियो (०२/११/२००१) र लेखिएको थियो (हिजो मैले झ्यालबाट स्वर्ग नियालेँ । मलाई लागिरहेको थियो कि म तिमीलाई हेरिरहेको थिए, स्नो व्हाइट) । ति परेवाहरूको तस्बिर मध्ये एउटा मोटो कालो र सेतो परेवाले मेरो ध्यान आकर्षण गर्यो । बुवाले (०७/०६/२००६) लेख्नुभएको थियो र तस्बिरको तल लेखिएको थियो ( आज मैले स्टोरबाट चकलेट किनेँ, चकलेटको प्याकेटमा तिमीजस्तै परेवाको तस्बिर थियो, भुक्कु) ।
ड्राइभरले भनेको त्यो धार्मिक बौद्धिक व्यक्तिको पूजाकोठाको अगाडि कोही नहुँदा, म उठेँ अनि त्यहाँ गएँ । भित्र, टाउकोमा पगरी लगाएका र सेतो दाह्री भएका इमाम बसिरहेका थिए । कुरान र मालाहरू निलो मखमलले छापिएको टेबुलमा उनको अगाडि राखिएका थिए ।
“आउनुस् सर” – इमामले मलाई न्यानो स्वागत गर्दै भने ।
म तपाईँबाट मेरो बुवाको आत्माको निम्ति कुरान वाचन गराउन चाहन्छु – मैले इमामको कौतुहल्ता देखेपछि भनेँ ।
इमामले कुरान वाचन सुरु गरे । मैले उनलाई सुन्दै आफ्नो बुवालाई सम्झिएँ । मैले मेरो बुवाको नर्थवेस्टर्न मेमोरियल हस्पिटल सिकागोको ओन्कोलजी डिपार्टमेन्टका आखरि दिनहरू मेरो दिमागमा केलाएँ । त्यतिबेला म प्राय मेरो बुवाको नजिक बस्थेँ । मेरो बुवा ब्रेन क्यान्सरले गर्दा जीवनको आन्तिम दिनहरू अस्पतालमा बिताइ रहनुभएको थियो । क्यान्सरले गर्दा बुवाका कपालहरू झरीसकेका थिए । बुवा दुब्लो देखिनु हुन्थ्यो र आँखाहरू गडेका देखिन्थ्ये । उहाँ सधैं मेरो हात समाएर पल्टिनु हुन्थ्यो । जब म उहाँलाई चमचाले पानी अथवा सुप खुवाउथेँ उहाँ ओठ चलाउँदै आँखा झिम्क्याउनु हुन्थ्यो । उहाँ जहिले पनि केही बोल्न खोज्नु हुन्थ्यो तर उहाँ बोल्न सक्नु हुन्नथियो, केवल उहाँले सास फेरेको आवाज मात्र बाहिर आउथ्यो ।
एकदिन उहाँको अवस्था बिग्रियो । म उहाँबाट टाढा गएको थिइन, त्यसैले मैले आफ्नो ध्यान भुलाउन भित्तामा राखिएको टिभीको रिमोट उठाएर च्यानलहरू बदल्न थालेँ । एउटा विन्दुमा पुगेपछि बुवाले सानो स्वरमा सास फेर्दै आफ्नो दाहिने हात उठाउँदै कराउन खोजेजस्तो गर्नुभयो । टीभीले परेवाहरू देखाइरहेको थियो । पहिला मलाई बुवाले च्यानल बदल्नको लागि चिच्याउन खोज्नु भएको जस्तो लाग्यो । जब मैले च्यानल बदलेँ उहाँ नर्भस हुनुभयो र उहाँका हातहरू थरथराउन थाले ।
– परेवाहरू देखाएको च्यानल फेरी लगाउ – आमाले बुवाको नजिक गएर उहाँलाई शान्त पार्न खोज्दै भन्नुभयो ।
– त्यो टिभी च्यानल लगाएपछि बुवा तुरुन्तै शान्त हुनुभयो । तर, बुवाका हातहरू अझै थरथराई रहेका थिए र उहाँको कामिरहेको चिउँडो आमाले नसमाउनु भएको भए झुन्डिएको जस्तो देखिन्थ्यो होला ।
– रमादान, के तिमीलाई तिम्रो परेवाहरूको याद आइरहेको छ ? आमाले बुवाको चिउँडो समाउदै उहाँको दिमाग पढ्न खोजेजस्तै गरेर सोध्नुभयो ।
मेरा बुवाका आँखाहरू रसाए, उहाँले केही भन्न खोजेजस्तो गर्नुभयो । तर, उहाँको सास मात्र फुल्यो; त्यो भन्दा बढी केही गर्न सक्नु भएन ।
-मलाई लाग्छ तिम्रो बुवालाई परेवाहरूको याद आइरहेको छ । आमाले मलाई हेर्दै भन्नुभयो । मार्गिलान, जहाँ हामी जन्मिएका थियौं त्यहाँ “परेवाहरूको चिहान” भन्ने ठाउँ थियो । तिम्रो बुवाको बाल्यकाल त्यही बित्यो । उहाँको युवा अवस्था पनि । त्यहाँ अनगिन्ती परेवाहरू हुन्थे । तिम्रो बुवालाई परेवाहरू प्यारो लाग्दथे र उहाँ तिनीहरूसँग समय बिताउनु हुन्थ्यो । उहाँले मलाई पनि त्यहाँ धेरै पटक लिएर जानुभयो । हामी त्यहाँ जाँदा परेवाहरूलाई अन्न छरेर खुवाउथ्यौं अनि घण्टौसम्म सपना बुनेर बस्थ्यौँ ।
मेरो बुवा शान्त भएर मेरी आमालाई सुन्दै पल्टिरहनुभएको थियो । केही क्षण आमाको मुखमा हेर्नुहुन्थ्यो अनि केही क्षण टिभीमा भएका परेवाहरूलाई पनि । आमालाई सुन्दै केही बुझेजस्तो गर्नुहुन्थ्यो, सायद त्यसैले नमज्जाले रुनुहुन्थ्यो र ओछयानको कुना समातेर उठ्न खोज्नु हुन्थ्यो ।
कुरान वाचन गरिसकेपछि इमामले बिन्ती गर्दै हात खोले ।
मैले पनि उनले गरेजस्तै गरेँ ।
– बिन्ती बिसाउनु अथवा माग्नुमा केही गल्त छैन । – -इमामले मलाई हेर्दै भने ।
– छोरा तिमी विदेशीजस्तो देखिन्छौ ।
– म संयुक्क्त राज्यबाट आएको हुँ । मैले आफ्नो परिचय दिदै भनेँ ।
-तर म उज्बेक हुँ । मेरा अभिभावकहरू उज्बेकिस्तानमा जन्मिनुभएको हो । उहाँहरू मार्गिलानमा केही समय बस्नुभयो र “पुर्णनिर्माण वर्ष” को बेला बसाइ सर्नुभयो ।
-स्वतन्त्रताभन्दा पहिले नै जानु भएको हो, होइन ? –
इमामले सोधे ।
आकाश कालो थियो अनि बादलहरू डुलिरहेका थिए । पूजाकोठाअगाडि रहेको प्लेनको रुखबाट पहेँला पातहरू हावाको झोकाले गर्दा भुइमा झरिरहेका थिए । मैले सिकागोमा म सानो हुँदा पातहरू टेकेको सम्झिएँ । मेरो बुवाले भन्नुहुन्थ्यो उहाँहरू अमेरिकामा बसाइ सर्दा म जन्मिएको थिइन । अनाथालयमा हुर्किनु भएको मेरो बुवालाई मप्रति गहिरो स्नेह थियो । प्रत्येक सप्ताहन्तमा हामी “सिकागो बुल्स” टिमको बास्केटबल हेर्न जान्थ्यौं नत्र प्राकृतिक संग्रहालयमा घुम्थ्यौं । हामी सिनेमा हेर्न पनि धेरै जान्थ्यौं ।
राति हुँदा म कथा कुथुङरी सुन्दै गहिरो निद्रामा हराउथेँ ।
फुर्सदको समयमा बुवाले मलाई आफ्नो कोठामा बोलाउनु हुन्थ्यो र उज्बेक सिकाउनुको साथै चेस खेल्न पनि सिकाउनु हुन्थ्यो । त्यो बेला म उहाँको जिंदादिल स्वभावले प्राभावित थिएँ । त्यस माथि उहाँको मजाक गर्नै पनि बानी थियो ।
ठूलोभइसक्दा पनि मैले बुवामा आम मानिसमा जस्तो वैराग्य, तिर्सना अथवा उदासीनता देखिन । तर यो कुरा साँचो हो कि जब हामी “सिकागो बुल्स” क्लबको खेल हेरेर हिँड्दै घर फर्कन्थ्यौ अनि गर्मी याममा बरन्डामा बसेर चिया पिउथ्यौ, त्यतिखेर उहाँको मन एक हुल चराहरू देखेर हराउथ्यो । त्यो शून्यता कति चाँडै देखिन्थ्यो र उहाँ चुटकिला र चाखलाग्दो कथा भन्दा भन्दै रोकिनु हुन्थ्यो;
मानौ उहाँको जिब्रो हराएजस्तो । उहाँको आत्मामा त्यो अचानकको परिवर्तन कैयौं दिन सम्म रहिरहन्थ्यो । कहिलेकाहीँ म मेरो बुवालाई झ्याल फराकिलो गरेर खोलिरहेको देख्थ्येँ र उहाँको आँखामा एउटा धेरै टाढा हेरेजस्तो देखिने नजर हुन्थ्यो । त्यो बेला पनि चराहरू आकाशमा उडिरहेका हुन्थ्ये । मेरो बुवाले तिनीहरूको चहलपहल हेर्दै रोदन पनि सुन्नुहुन्थ्यो ।
मेरो बुवा हिराको व्यापार गर्नै कम्पनिमा काम गर्नुहुन्थ्यो । व्यस्त समय भएकोले उहाँ घरमा पनि काम गर्नुहुन्थ्यो ।
कहिलेकाहीँ म उहाँलाई ढोकाबाहिरबाट हेर्थे र उहाँले पसिना पुछदै काम गरेको देखेर उहाँ प्रति सहानुभूति पनि राख्थ्येँ । उहाँ धेरैबेर काम गर्नुहुन्थ्यो तर यसैबीच उहाँ ब्रेक लिनुहुन्थ्यो र मैले अहिले उहाँको हातमा राखेर चुउँडो समाएको एल्बममा लेख्नुहुन्थ्यो । मलाई महसुस भयो कि उहाँले परेवाहरूको तस्बिर त्यो बेला उतार्नु भएको थियो ।
बुवाको मृत्युपछि, मैले त्यो एल्बम हरेक रात पल्टाएँ । मेरो कोठामा बत्ती बलिरहने हुनाले आमा पनि अक्सर कोठा भित्र आउनुहुन्थ्यो र मसँगै एल्बम हेर्नुहुन्थ्यो । आमाको आँखाहरू रसाउथे । परेवाहरूको तस्बिरभन्दा एल्बममा लेखिएका नोट र मितिहरू हृदयविदारक थिए । म तिनीहरूलाई जति पढथ्येँ त्यति नै सम्झनामा बहन्थ्ये ।
– मलाई लाग्छ तिम्रो बुवा आफ्नो जन्मभूमि जान चाहनु हुन्छ – मेरी आमाले त्यो शोकग्रस्त अवस्थामा भन्नुभयो ।
– तिम्रो बुवा आफ्ना परेवाहरू हेर्न चाहनु हुन्छ ।
सिमसिमे पानी पर्न थाल्यो । यहाँको अक्टुबर पनि सिकागोको जस्तै बादलले ढाकेको र वर्षा हुने जस्तो छ । पानी पर्न थाले पछि धार्मिक स्थलमा आएका मानिसहरू छरिन थाले । ति मानिसहरूलाई गएको देखेर परेवाहरू उदास हुन थाले । उनीहरू एक अर्कालाई हेर्दै थिए मानौ केही नबुझेजस्तो । उनीहरू सोच मग्न भएर ति मानिसहरूको पछाडी हेरीरहेका थिए स्ले उनीहरूलाई अन्नका दानाहरू छरेका थिए । त्यतिबेला नै आकाश खुल्यो र म धार्मिक स्थलको पूर्व तिर पार्क गरेको गाडी तर्फ मलाई चिसो नलागोस भनेर गएँ । गाडी भित्र ड्राइभर निद्राको अवस्थामा थियो । मैले अचानक ढोका खोले पछि ऊ उठ्यो ।
– तपाईँ यहीँ हुनुहुन्थ्यो ? उसले आँखा मिचदै भन्यो ।
फर्किने बेलामा बाटोमा मुसलधारे पानी दर्किरहेको थियो । गाडीको विन्डशील्डले पनि पानीका थोपाहरू हटाउन सकिरहेको थिएन । पानी परेको देखेर मैले परेवाहरूको बारेमा चासो लिएर सोचेँ । मलाई लाग्यो उनीहरू पानीमा भिजे होलान । केही समय पछाडी मैले आफुलाई उनीहरूको लागि कुनै ठाउँ पक्कै छ होला भनेर सान्तोना दिएँ । मैले उनीहरूको बारेमा सोच्न छोड्न सकिन । परेवाहरूको त्यो बथानको लागि कुनै आश्रय दिने ठाउँ होला कि नहोला भनेर मेरो दिमागमा सोचहरू खेलिरहे ।
-के तपाईँले त्यहाँ केही बिर्सिनुभयो ? ड्राइभरले मैले गाडी पछाडी फर्काउनु भनेर आग्रह गरेपछि सोध्यो ।
म जब त्यो धार्मिक स्थलमा पुगेँ, म गाडीबाट छिटो बाहिर निस्किएँ । म त्यो आँगनमा गएँ जुन आँगन परेवाहरूको बस्ने ठाउँ थियो तर, त्यहाँ परेवाहरू थिएनन् । उनीहरू न घर्तीमा थिए, न त आकाशमा । मानौ उनीहरू कुनै छाप बिना हराइसकेका हुन् । म केही बेर वर्षामै उभिएँ । मलाई के गर्नै भनेर थाहा थिएन ।
– के तपाईँले केही बिर्सिनुभयो ?
पूजाकोठाको ढोका बन्द गदै गरेका इमामले पनि मलाई त्यही प्रश्न सोधे ।
– परेवाहरू कहाँ गए ? – मैले इमामतर्फ फर्किएर सोधेँ ।
इमामले केही नबुझे जसरी चारैतिर हेरे ।
– उनीहरू कही गएका छैनन् – इमामले शान्त स्वरमा भने ।
– छतमा हेर्नुस । उनीहरूको गुँड यहाँ छ ।
मैले छतमा हेरेँ । सुरुमा मैले आश्रय स्थल देखिन । केही बेरपछि मैले लामो, साँघुरो ठाउँ देखेँ । त्यो ठाउँ बन्द थियो र उज्यालो छिर्ने सानासाना प्वालहरू थिए । परेवाहरू भित्र थिए र झ्यालबाट टाउको बाहिर निकालेर पानी परेको हेरिरहेका थिए ।
– के उनीहरू सबै त्यहाँ अटाउँछन् ? – मैले स्पष्टीकरणको लागि इमामलाई सोधेँ, मेरो परेवाहरूप्रतिको चासो हराउदै थियो ।
– अवश्य अटाउँछन् । – इमामले वर्षाले भिजेको उनको अनुहार रुमालले पुछदै भने । – उनीहरू त्यहाँ वर्षौंदेखि परिवार जस्तै गरेर बसिरहेका छन् ।
– जब म होटल पुगेँ मेरा लुगाहरू पुरै भिजेका थिए । मलाई मूल ढोकाबाट भित्र छिरेको देखेर एकजना कर्मचारीले तौलिया दिए । तौलियाले पुछदै मैले होटलको म्यानेजरलाई अमेरिका फोन गर्न लगाएँ । उनले मैले भनेको फोन नम्बर तुरुन्तै लगाए र मेरी आमासँग जोडिदिए ।
– आमा, – मैले भने; जब मेरी आमाको परिचित आवाज फोनको रिसिभरबाट सुनियो । “मैले मेरो बुवाको परेवाहरू गएर हेरेँ । तिनीहरू एल्बममा उतारिएका जस्तै छन्” ।
– आमाले केही भन्न खोजिरहनु भएको थियो तर, उहाँको स्वर निस्किरहेको थिएन । फोनको रिसिभरबाट उहाँले रोएको आवाज मात्रै आइरहेको थियो ।
नोट:
* इमाम : मुस्लिम धर्मगुरु
* कुरान : मुस्लिमहरूको धार्मिक ग्रन्थ
* पूर्णनिर्माण वर्ष : सोभियत संघको सन् १९८८देखि १९९०सम्मका वर्षहरू
कथा अनुवादको बारेमा :-
शेर्जोड आर्टिकोभको यो कथा उज्बेकबाट निगोरा देदामिरजाएभाले अंग्रेजीमा अनुवाद गरेको हुन् । र, सुशान्त थापाले अंग्रेजीबाट नेपालीमा अनुवाद गरेको हुन् ।
कथाकारको बारेमा:-
(शेर्जोड आर्टिकोभ उज्बेकि कथाकार हुन् । उनको जन्म सन् १९८५ मा उज्बेकिस्तानको सहर मार्गिलानमा भएको हो । उनका रचनाहरू विश्वका २१ भाषाहरूमा अनुवाद भएर विभिन्न देशबाट प्रकाशित छन् । स्पेन, इटाली, पोल्याण्ड, बंगलादेश, पाकिस्तान, चीन, भारत, अर्जेन्टिना, र अमेरिका लगायत विभिन्न देशका पत्रपत्रिका तथा अनलाइनमार्फत उनका रचनाहरू प्रकाशित छन् । उनी सन् २०१९मा साहित्यिक प्रतिस्पर्धा My Pearl Regionमा गद्य तर्फका एक विजेता पनि हुन् । सन् २०२०मा उनको कथा सङ्ग्रह “The Autumn’s Symphony” उज्बेकिस्तानमा प्रकाशित भएको थियो जसमा २० वटा कथाहरू छन् ।)
लेखक परिचय
सुशान्त थापाले भारतको जवाहरलाल नेहरु विश्वविध्यालयबाट अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेका छन् । उनी नेपाली साथै अङ्ग्रेजी कविताहरू लेख्न मन पराँउछन् । उनको अङ्ग्रेजी कविता सँग्रह The Poetic Burden and Other Poems प्रकाशित भइसकेको छ ।