अनाथ तर सबैजसोले माया गरेका हाइकुकवि हुन् कोबायाशी इसा (सन् १७६२-१८२६) । अति सामान्य गाउँले परिवारमा जन्मेका यी कविका हाइकुमी निर्मल हृदयको विशुद्ध स्वर पाइन्छ भन्छन् जापानीहरू । कवि इसाको जीवन दु:खदायी थियो । बाल्यावस्थामा नै उनकी आमाको मृत्यु भयो । सौतेनी आमाको कर्कश वाणी सुनेर इसाको बाल्यकाल बित्यो । उनको यो अवस्थाबारे एउटा तीतो घटना अभिलेख भएको पाइन्छ ।इसा नौ वर्षका थिए । गाउँमा रमाइलो मेला लागेको थियो । गाउँले केटाकेटीहरू नयाँ लुगाफाटो लगाएर मेला भर्न गए । इसा फाटेका र मैला कपडामा थिए । नयाँ पोसाक पहिरेका मात्र रमाएर खेलिरहे । दुःखित इसा टाढा कतै एक छेउमा टुसुक्क बसेर नरमाइलो मनले रमाइलो हेरिरहेका थिए। त्यति नै बेला एउटा सानो दुब्लो भँगेराको बच्चो उनको अगाडि फुत्त खस्यो । इसाले त्यो बच्चो उठाए, सुमसुम्याए र यस्तो हाइकु बनाए-
सानो भँगेरो !
आमा छैनन् कि, आऊ
मसँग खेल।
मौलिक जापानी भाषामा यो हाइकु ज्यादै मर्मस्पर्शी र उत्कृष्ट मानिन्छ । नौ वर्षको बालकले यस्ता सुन्दर कविता तत्काल लेखे अथवा त्यो घटना सम्झेर पछि लेखे, यसबारे विवाद छ । जेहोस्, कवि इसाको बाल्यावस्थाको चित्र झल्किन्छ । उनका केही संवेदनशील हाइकु हेरौँ–
१.
सानो भँगेरो !
आमा छैनन् कि ! आऊ
मसँग खेल ।
२.
जन्मस्थानमा
आउँछु र छुन्छु म
काँडाको फूल ।
३.
अच्चम लागियो –
घरमा बिहानीको
पैलो बसन्त !
४.
बचेराहरू,
हाँस्न थालेका थिए–
रात पो खस्यो ।
५.
शीत बिलाए :
दुर्गन्धी संसारमा
हाम्रो काम छैन ।
६.
बाटादेखि र
बाटासम्म यो यात्रा–
रङ्ग न ढङ्ग ।
७.
धन्य भन्नु छ :
स्वर्गबाट झरेको
यो हिमलाई ।
८.
दुब्लो भ्यागुतो !
लडाईँ नरोक्नू है,
तेरो इसा छ ।
९.
फेरि व्यर्थमा
मुख खोल्छ चरीको
सौतेली बच्चो ।
१०.
ठूलो बुद्धको
नाकको प्वालबाट–
गौँथली उडे ।
११.
ओ किराहरू
नरोऊ, तारा पनि
छुट्टिनुपर्छ ।
१२.
‘साकुरा फुले
साकुरा’ गाइराछ
फूलको बोट ।
१३.
ठूलो बैठक
यौटा माखो र मान्छे
नितान्त एक्लै ।
१४.
त्यो जूनकीरी
यताउता गर्दैथ्यो
उडेर गयो ।
१५.
माखो नमार–
हात र गोडा आफै
भाँचिरहेछ ।
१६.
सानो भँगेरो !
बाटो छोडेर जा है–
घोडा आउँछ ।
१७.
सुन्दर च्याउ
तर कुनैकुनै त
विषालु हुन्छ ।
१८.
मूल ढोकामा
मेरो सत्कार गर्छ
बैँसको बोट ।
१९.
मेरा अतिथि–
माखा ! आऊ र खाऊ
मसँग खाना ।
२०.
सानो झर्नाको,
सानो स्वरले रात–
चिसो बनायो ।
२१.
मेरो कुटीमा–
बुढेसकाल गाउँछन्
भ्यागुताहरू ।
नोट: यी अनुदित हाइकु क्षेत्रप्रताप अधिकारीको गरिमा (वर्ष २३, अङ्क ६, पूर्णाङ्क २७०, जेठ २०६२)-मा ”अनाथ हाइकुकवि इसा” नामक लेखबाट साभार गरिएका हुन् ।