शब्द अग्नी हुन्छ, शब्द हिउँ हुन्छ
उनी स्वर्गलाई जलाउँछीन्, नर्कलाई निस्तेज गरिदिन्छिन्
जोर्गे लुइसले यसो भने, दाँतेले त्यसमा सहमती जनाए
हामीलाई यो पहिल्यै थाहा थियो, जुन एकदमै प्रष्ट थियो
तर हामी त्यसलाई अपनाउँदैनौँ
किनकि हामी हिम्मत गर्दैनौँ
इडनको सर्वनाश र पाप भोग्न
आफूलाई देवता र दैत्यबाट मुक्त गर्न
त्रियापदलाई कोर्राको रूपमा प्रयोग गर्न
सपना र आशाको व्यापार गर्ने
धूर्त ब्यापारीहरूलाई कोर्रा लगाउन
शब्दलाई कलम जसरी प्रयोग गर्न
वायुलाई स्पर्श गर्ने चराको प्वाँखले जसरी
वेदनालाई शान्त पार्न, उदासीबाट मुक्त गर्न
एउटा पखेटा जसले दूरीरहित यात्रामा लैजान सक्छ
र हामीलाई जमिनमा अवतरण गराउँछ
एउटा प्वाँख जसले हाम्रो सुरक्षा गर्छ, प्वाँख जसले हामीलाई उठाउँछ ।
शब्द हतियार हो, एउटा मिसाइल हो
शब्द रक्षाकवच र आश्रय हो
जसको आफ्नै अर्थ र आर्जित मूल्य छ
शब्दले हामीलाई मार्गदर्शन गर्छ, शब्दले हामीलाई विचलित पार्छ ।
शब्द एक पहिरन हो
जो झुण्डिएको हुन्छ, जसलाई फेर्न सकिन्छ
जसलाई छनौट गर्न र त्याग्न सकिन्छ ।
शब्दले वस्त्र लगाउँछ र बस्त्र हटाउँछ पनि
यसले हाम्रो पहिचान गर्छ, हामीलाई परिभाषित गर्छ
शब्द अनुहार र मुखुण्डो हो
शब्द परिवर्तन हो
जो लिइन्छ र दिइन्छ पनि
जसलाई त्याग गरिन्छ र आफ्नो बनाइन्छ
शब्दले विचारको जङ्गल बनाउँछ
र नयाँ विचारबाट
र शंका र निश्चिततामा अंकुरित हुन्छ ।
जब सत्य
हामीलाई स्वतन्त्र बनाउन
पर्याप्त हुँदैन
त्यतिबेला पनि हामीसँग शब्द हुन्छ ।
युयान ताजेस नेदरल्याण्ड्सका कवि हुन् ।
(अनुवादः केशव सिग्देल)
लेखक परिचय
नेपाली साहित्यका उज्वल नक्षत्र साहित्यकार केशव सिग्देलका समय विघटन (२०६४) र कलर अफ द सन (घामको रङ्ग, २०७३) कविता सङ्ग्रह प्रकाशित छन् । यसका अलावा उनी निबन्ध, नाटक, समालोचना र अनुवाद कार्यमा पनि क्रियाशिल छन् । नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित नेपालका मातृभाषाका कविताहरूको अङ्ग्रेजी अनुवाद सेड्स अफ कलर्स (२०७७) उनको पछिल्लो अनुवाद कृति हो । एन एन्थोलोजी अफ कन्टेम्पोररी नेपाली पोयट्रीको सम्पादन गरेका उनले अफ नेप्लीजक्ले, रुपान्तरण, प्लानेटरियट र देवकोटा अध्ययन लगायतका पत्रिकाको पनि सम्पादन गरेका छन् । उनि लम्बियास्थित वर्ल्ड पोयट्री मुभमेन्टका अन्तराष्ट्रिय समितिका सदस्य समेत छन् । हाल त्रिभुवन विश्वविद्यालयको अंग्रेजी केन्द्रिय विभागमा प्राध्यापनरत सिग्देलले युवावर्ष मोती पुरस्कार (२०७५), नाजिनमान क्रिएटिभिटी अवार्ड (लेबनान, २०७७), रक पेबल्स साहित्य पुरस्कार (भारत, २०७४) र कलाश्री सृजना पुरस्कार (२०७२) लगायतका पुरस्कारहरू प्राप्त गरेका छन् ।