बृहत् अर्थशास्त्रलाई समष्टि अर्थशास्त्र वा म्याक्रो अर्थशास्त्र भनिन्छ । समष्टिको अर्थ हुन्छ ब्यष्टि संरचनाहरूको योगको रुपमा निर्मित एक बृहत् संरचना । तसर्थ, बृहत् अर्थशास्त्रमा समष्टिगत आर्थिक व्यवहारहरूको वा समष्टि चलराशीहरूको वा बृहत् आर्थिक क्रियाकलापहरूको अध्ययन गरिन्छ । प्रसिद्ध नर्वेयन अर्थशास्त्री रैगनर एन्टन किट्टिल फ्रिश (Ragnar Anton Kittil Frisch) ले नै सर्वप्रथम अर्थशास्त्रलाई माइक्रो/सूक्ष्म (Micro) र म्याक्रो/बृहत् (Macro) गरी दुई भागमा विभाजन गरेदेखि भौतिक विज्ञानको यो शब्दावली अर्थशास्त्रमा ज्यादै लोकप्रिय बनेको छ ।
समष्टि चलराशिअन्तर्गत अर्थव्यवस्थाको कूल माग, कूल आपूर्ति, कूल उपभोग, कूल लगानी, सरकारी खर्च, आयात र निर्यातसंग सम्बन्धित विषयहरू
पर्दछन्।समष्टि अर्थशास्त्रमा मुख्यतः कुनै देशको आय, उत्पादन वा रोजगारीको निर्धारणको विस्तृत रुपमा अध्ययन गरिने भएकोले यसलाई आय सिद्धान्त वा रोजगार सिद्धान्त पनि भनिन्छ।बृहत् अर्थशास्त्रको विषयवस्तुहरू अन्तर्गत: आय र रोजगार निर्धारण, मूल्य स्तरको सिद्धान्त, आर्थिक वृद्धिको सिद्धान्त, आदी पर्दछन त्यसैले यसले आर्थिक जीवनका समग्र आयामहरूसँग सम्बन्ध स्थापित गर्दछ ।
बृहत् आर्थिक विश्लेषणमा आर्थिक प्रवृत्ति विश्लेषण, दीर्घकालिन समष्टि आर्थिक अनुमान, वैकल्पिक प्रवृत्तिको विश्लेषण, वित्तीय र मौद्रिक उपायको प्रभाव र अर्थतन्त्रको प्रतिसूचकहरू समावेश गरिएको हुन्छ, जुन यसको एक अत्यावश्यक पक्ष मानिन्छ ।
कतिपय अर्थशास्त्रीहरूको बृहत् अर्थशास्त्रसम्बन्धी उदाहरणमा, ‘अर्थतन्त्रलाई एकछिन हात्ती मान्दा त्यसले हात्तीको कुन अङ्ग, हाडको जोर्नी अथवा नसाहरू हेर्ने नभई त्यसको कूल परिमाण, आकार र क्रियाकलापहरूबारे लेखाजोखा गर्दछ’। भनी बृहत् अर्थशास्को बृहतता प्रस्ट्याएको पाइन्छ ।
बृहत् अर्थशास्त्रका विभिन्न नमुनाहरू, आंकडाहरू जस्तै :(Actual GNP, Potential GNP) लगायतका विभिन्न मुद्दाहरू विवादास्पद रहेका छन्।यी र यस्ता नमुना एवं तरिकाहरूलाई व्याक्तिगत अंश र तिनीहरूबीच रहने अन्तर्क्रियाका आधारमा ब्याख्या एवं विश्लेषण गरिन्छ।शास्त्रीय विचारधारा, किन्सियन विचारधारा, मौद्रिक अर्थशास्त्रीय विचारधारा, वित्तीय विचारधारा, तर्कसंगत प्रत्याशा लगायतका विभिन्न अर्थशास्त्रीय विचारधाराहरूबीचको अन्तरविरोध हेर्न बृहत् अर्थशास्त्रको महसुस गरिएको पाइन्छ ।
बृहत् अर्थशास्त्रअन्तर्गत स्थापित विभिन्न विधिहरू अर्थशास्त्र विश्लेषणका लागि प्रयोग गर्दा सर्वप्रथम परिकल्पना तयार गरिन्छ । यसरी तयार गरिने परिकल्पना तथ्याङ्कीय अवलोकनमार्फत पुष्टि भएमा मात्र त्यो सिद्धान्त वा नियम बन्दछ।बृहत् अर्थशास्त्रमा पनि स्थापित विधिहरूको अध्ययनले आर्थिक रुपमा वा बृहत् अर्थशास्त्रीय क्षेत्रगत हिसाबले हेर्दा Consumption, Consumption function, Multiplier, Saving function, Investment function, Inflation, Deflation, Employment आदि जस्ता अवयवहरू बृहत् आर्थिक विधिहरूद्वारा मापन गरिन्छन् । विधिगत रुपमा हेर्ने हो भने मुख्यतया: बृहत् आर्थिक विश्लेषणका लागि नमूना पद्धति (जुन शास्त्रीय अर्थशास्त्रीहरूले एकीकृत रुपमा प्रयोग गरेका थिए) र सामान्य तार्किक पद्धति (आगमन र निगमनको रुपमा प्रयोगमा ल्याइएको) मुख्य रुपमा आउँदछन् ।
विधिगत रुपमा बृहत् अर्थशास्का विभिन्न तरिकाहरूले अर्थशास्त्रको विभिन्न कालक्रमलाई सम्बोधित गर्दछ ।छोटो समयको अन्तरालमा नै बृहत अर्थशास्त्रले निकै लामो बाटो पार गरिसकेको छ । सन् 1930 को विश्वव्यापी आर्थिक महामन्दीमा भन्दा अगाडिसम्म बजार सन्तुलनमा पुग्ने तथा त्यसरी अर्थतन्त्र सन्तुलित रहँदा साधनको अधिकतम सदुपयोग हुन सक्ने धारणा रहेको थियो।उक्त समय व्यापार चक्र अल्पकालिन र अस्थायी प्रकृतिको रहँने हुँदा बृहत् अर्थशास्त्रअन्तर्गत अर्थतन्त्रको सन्तुलनलाई तलमाथि पार्ने कारकहरूको बारेमा मात्र अध्ययन केन्द्रित रहेको पाइन्छ ।
यसै क्रममा सन् 1950 तिर कर कट्टि गरी अर्थतन्त्रको बृद्धिलाई तीब्र गतिले अगाडि बढाउने किन्सियन सोच निकै प्रभावकारी बन्न गएको पाइयो।त्यसैले सन् 1950 देखि 1960 को दशकलाई पूँजीवादको सुनौलो युग (Golden age of capitalism) समेत भन्ने गरिन्छ ।सन् 1968 मा कर बृद्धि गरी अर्थतन्त्रको कूल खर्चलाई घटाउने प्रयास ढिला हुन गएकोले मौद्रिक नीति तथा मौद्रिक विस्तारको कारण उक्त प्रयासले गति लिन सकेन।परिणामस्वरुप अर्थतन्त्रले कूल खर्च व्यवस्थापनबारे वित्तियशास्त्री तथा मौद्रिक अर्थशास्त्रीहरूबिच रहेको वादविवाद कसरी कूल खर्चको सर्वश्रेष्ठ व्यवस्थापन गर्न सकिन्छ भन्नेमा केन्द्रित रहेको देखिन्छ।त्यसैतर्फ सन् 1970 को आपूर्ति दशकले अर्थतन्त्रको मुल्यस्तर सन्तुलनलाई मुद्रस्फीतिको दरको सन्तुलनमा लैजान अन्य कतिपय कारक तत्वहरूलाई समेत सँगसँगै लैजानुपर्ने आवश्यकता महसुस हुन थाल्यो।मुद्रास्फीति दरको सन्तुलन कसरी गर्ने भन्ने विचार तर्कसंगत अपेक्षा सिद्धान्त/स्कुल (Rational Expectations Theory/School) जसले अर्थव्यवस्थाको भविष्यको अवस्था
कस्तो हुन्छ ? भन्नेबारे चासो राख्ने सिद्धान्तजस्तै अगाडि बढाइएको विचार थियो।र त्यसमा अनुमानित मुद्रास्फिति (दर) लाई बृहत अर्थशास्का नमुनाहरूसँग समायोजन गरियो ।
अन्त्यमा, यसरी बृहत् अर्थशास्त्रको इतिहासमा बृहत् आर्थिक क्रियाकलापहरूको सन्दर्भमा विभिन्न नमुनाहरू, तत्त्वहरू, भनाइहरूले आ-आफ्नो स्थानमा बफादारिता दर्साए तापनि मुख्य समस्या जुन बृहत् आर्थिक विश्लेषण गर्न वर्तमान समयमा आर्थिक क्रियाकलापहरूमा सुस्तता र मुद्रास्फितिमाथि ज्यादा केन्द्रित रहेको अवस्था छ।सोबाट माथि उठेर अर्थतन्त्रलाई गतिशिलता प्रदान गर्ने प्रयास आफैमा अतुलनीय विधि सावित हुन जान्छ ।
सन्दर्भ सामाग्रीहरू:
Ahuja, H. L., (1978), Advanced Economic Theory, S. chand and Co., New Delhi, India
Aryal, Jitendra and Subedi, K. P., (2005), Micro Economic Analysis, Sagun Books, Kathmandu, Nepal
Joshi, Murari Mohan, (?), History of Economic Thoughts, Prativa Prakashan, Patan Dhoka, Lalitpur, Nepal
Samuelson, Paul and William Nordhaus, (2012), Macroeconomics; 19th Edition, Tata McGraw Hill Education private Limited, New Delhi, India
कुशियैत, डा.विनयकुमार, (2068), अन्तर्राष्ट्रिय अर्थशास्त्र, सनलाइट पब्लिकेसन, कीर्तिपुर, काडमाण्डौ, नेपाल।
लेखक परिचय
नेपाल सरकारको निजामती सेवामा कार्यरत जोशी साहित्यका विभिन्न विद्या तथा अनुसन्धानात्मक लेखहरूमा कलम चलाउने गर्दछन् ।