प्रगति राई प्रगति राई प्रगति राई
लेखक तथा सामाजिक अभियन्ता प्रगति राई प्रदेश नं.१ साकेला गाउँपालिकामा खाेटाङ जन्मिएकी हुन् । बादी विज्ञप्ति (कविता सङ्ग्रह, २०६२), लेखककी स्वास्नी (उपन्यास, २०६९), बिर्सिएको मृत्यु (उपन्यास, २०७४) उनका प्रकाशित कृतिहरू हुन् । राई आफ्नो नयाँ उपन्यास कृतिथाङ्ग्रा लिएर पाठकसामू आउँदैछिन् । प्रस्तुत छ, शब्दसोपानका राजु झल्लु प्रसादले थाङ्ग्राका बारेमा राईसँँग गर्नुभएको कुराकानी: साहित्यकार प्रगति राईसँग किताबका कुरा ।
१. उपन्यास थाङ्ग्राको कभर अनावरण भयो, तपाईँलाई प्रथमतः बधाइ, कति समयमा लेखिसकियो ? लेखन अनुभवबारे केही बताइदिनुहोस् न ।
हजुर, कभर अनावरण भयो । बधाइको लागि धन्यवाद, भाइ । लेख्न लागेको समय निकै लामै छ । यो लगभग २०७२ सालमा सानो खेस्रा तयार गरेको थिएँ । फेरि यसलाई थाँती राखेर अर्को उपन्यास बिर्सिएको मृत्युलाई पहिले पूरा गरिदिनू भने प्रकाशकले । दुई वर्ष समय त्यता लाग्यो । त्यसपछि तीन वर्ष चाहिँ यसैमाथि काम गरिरहेको छु ।
लेखनमा त निकै कठिन समयहरू गुज्य्रो । उपन्यासको एक पात्र सुनाम भएकाले दलित आन्दोलनमाथि निकै अध्ययन गर्नु पर्यो । यो विषयमा मजस्तै थुप्रै मानिस अनभिज्ञ होलान् । उहाँहरूलाई अवश्य नै धेरै सहयोग पुग्ने आशा राखेको छु ।
उपन्यासको परिवेश नेपालको पल्लो छेउ ७ नं. प्रदेश रहेको छ । १ नं. प्रदेशको मान्छेलाई त्यहाँको समाजसँग भिज्नु, लोकल भाषा बुझ्नु ज्यादै कठिन थियो । तर निकै रमाइला क्षणहरू पनि बिते । मेरा लागि अनुकुल वातावरण मिलाइदिने स्थानीय मित्रहरूसँग ज्यादै आभारी छु ।
२.थाङ्ग्राबाट तपाईँले कस्तो अपेक्षा गर्नुभएको छ ? थाङ्ग्राबाट पाठकले के अपेक्षा राख्ने ?
यतिका वर्ष समाज जसरी चलेको छ, त्यो संरचनालाई भत्काएर वैज्ञानिक तरिकाले विनिर्माण गरौँ भन्छ थाङ्ग्राले । पाठकले जीवनलाई नयाँ शैलीबाट पनि ज्युन सकिने रहेछ भन्ने कुराको अनुभूत गर्लान् भन्ने ठानेको छु ।
३.बादी विज्ञप्ति, लेखककी स्वास्नी र बिर्सिएको मृत्युमा के कुरा छुटेका थिए र फेरि अर्को पुस्तक लिएर आउनुभयो ?
बादी विज्ञप्तिमा महिला समानताका लागि केही विषयको उद्घोष मात्र गरिएको थियो । लेखककी स्वास्नी उपन्यासमा तिनै विषयलाई समाजमा प्रत्याभूत गराउन प्रस्ताव अगाडि सारियो । अहिले थाङ्ग्रामा बकाइदा प्रयोग गरिएको छ ।
बिर्सिएको मृत्यु यी तीन पुस्तकभन्दा पृथक विषयमा लेखिएको उपन्यास हो । यिनीहरूसँग सरोकार राख्दैन । पाठकको जिब्रोलाई स्वाद फेर्न वैदेशिक रोजगारीमा गएकाहरूको कथा लेखिएको थियो ।
४.थाङ्ग्राले कुन परिवेश र समयको चित्रण गरेको छ ? थाङ्ग्रा लेखनका लागि आवश्यक स्रोत-समाग्रीहरू के-के हुन् र कसरी जुटाउनुभयो ?
यसमा विशेष गरेर पश्चिम नेपालको परिवेश अनि काठमाडौँलाई समेट्छ । किनकी, महिलाका विषयमा लेख्ने भएकाले पूर्वमा भन्दा पश्चिममा महिलाहरूको स्थिति झन् संघर्षपूर्ण पाएको छु । काठमाडौँ जोड्नुको कारण चाहिँ, ५० प्रतिशत पाठक यही बस्छौँ नि त, त्यसैले ।
५.कवि, गजलकार, लेखक मान्छेभन्दा भिन्न हुँदैन । तर पनि ऊ भिन्न देखिन्छ । वास्तवमा अनुभूतिविना लेख्न सकिन्न पनि । सोही अनुभूति ग्रहण गर्ने शिल्पले उसलाई अलग बनाएको होला । अनुभूति बाहेक तपाईँको लेखनका स्रोतहरू के-के हुन् ? या प्रगति राईका अक्षरहरूसँगको संयोग र संवेग के-के हुन् ?
अरु मानिसमा अनुभूति हुँदैन भन्न मिल्दैन । थोरैमा नहोला । तर अधिकांश मानिसमा हरेक कुराको अनुभूति रहेको हुन्छ । किताबले पाउने आम पाठक तिनै अनुभूतिले ओतप्रोत मानिसहरू हुन् । तर जसले त्यो अनुभूतिलाई लेखेर प्रचार गर्छ, सायद उसैलाई कवि, कलाकार आदि भनिएला ।
मेरो लेखनको स्रोत भनेको समाज नै हो । आजको वर्तमान समाजमा महिलाको स्थिति कुन स्तरमा छ, किन छ ? भन्ने कुराहरूलाई नै मैले लेखनमा लिएको हुन्छु । वुद्धिजीवीहरूका भनाइ, सोचाइ, लेखाइ दैनिक अखबारमा पढ्छु । साधारण मानिसहरूको व्यवहार र उनीहरूको अपेक्षामाथि विचार गर्छु । र, यी यावत कुराहरूको अन्तरघुलनबाट निस्कने विचार नै प्रगति राईका अक्षरहरूको संयोजन भन्ने बुझिदिनुहोस् ।
६.हामीकहाँ लेखकहरूको दोस्रो कृति (उपन्यासको हकमा) कमसल हुँदै गएको देखिन्छ । त्यो डर रहेन ? एउटा अर्को प्रश्न पनि गरेँ, समकालीन उपन्यासकारहरूका त्यस्तो कुनै उपन्यास छ, जुन मैले लेख्न सकेको भए हुने थियो भन्ने लागेको ?
मेरो उपन्यास लेखककी स्वास्नी पढेका पाठकहरूले बिर्सिएको मृत्यु मन पराएनन् । किनकी त्यो अर्कै विषयमाथि लेखिएको थियो । उहाँहरूलाई त्यो विषय नै मेल खाएन । ती बाहेकका पाठकहरू छन्, उनीहरूले मन पराएका छन् । यसैले मलाई पनि आक्षेप लागेछ कि ‘पहिलो कृति भन्दा दोस्रो कृति उस्तो आएन’ भन्ने । यसो भन्ने पाठककै लागि थाङ्ग्रा लेखेको हुँ । अब फेरि बिर्सिएको मृत्यु मन पराउनेहरूले थाङ्ग्रा झुर आयो भन्नेछन् अवश्य । यसो सम्झिल्याउँदा त नमरेसम्म लेखेको लेख्यै होइजान्छु जस्तो पो छ । किनकी पाठकहरू दुई खेमाका प्राप्त भयो ।
समकालीन उपन्यासहरूको बारेमा कुरो जो छ, मैले अरु त त्यस्तो सोचेको छैन तर विना थिङको एउटा कथा “आनी डोल्मा” चाहिँ फेरि लेखियोस् भन्न चाहन्छु । जो बाह्र वर्षमा फुलेको उन्यु बास्नै छर्न नपाई पुजारीले टिपेर मन्दिरतिर कुदाएजस्तो खल्लो लागेको छ ।
७.अभिव्यक्तिका लागि उपन्यास र कवितामध्ये कुन बढि सहज ठान्नुहुन्छ ?
सहज त कविता नै हो । तर कविताको वाक्यले मात्र भन्न खोजेका तमाम असन्तुष्टिहरू पूर्ण हुँदैनन् । यति मात्र होइन, बुझ्नमा उपन्यासभन्दा कविता जटिल हुने भएकाले सबैले मेरो भाषा नबुझिदिने हुन् कि ? भन्ने पीरले पनि म उपन्यास लेख्छु । उपन्यास लेख्नेलाई गाह्रो भए पनि पढ्नेलाई केही सहज लाग्ला ।
८.तपाईँले लेख्नुभएको सबभन्दा पहिलो रचनालाई कसरी सम्झना गर्नुहुन्छ ? त्यो रचना उपलब्ध हुनसक्ला ?
सानो छँदा म गीत लेख्थेँ । त्यो आफ्नै बाबाको गीतहरूको छायाँ थियो । ‘ऐँसेलुको छायाँमुनि कति चिसो पानी, हाँसी राख्ने बोली राख्ने बस्यो हाम्रो बानी’ भन्ने थियो । दोस्रो चाहिँ कविता थियो । ‘गुरुआमा’ शिर्षकमा । त्यो कविताले धरान विमल स्मृति पुस्तकालयले आयोजना गरेको राष्ट्रव्यापी कविता महोत्सवमा प्रथम स्थान ओगटेको थियो ।
९.आफूलाई अत्यधिक मन परेको लेखक, फिल्मकार या कलाप्रेमीसँगको मिठो सम्झना ?
मलाई मनपर्ने धेरै लेखकहरू छन् । मन परेकै कारण ‘मलाई कतै कफी खुवाउन लैजानुस्’ भन्छु। लब परेपरेजस्तो पनि हुन्छ । तर म प्रेमलाई टुसाउनै दिन्न । मलाई राम्ररी थाहा छ, प्रेमले खुबै कज्याउँछ मान्छेलाई । आफू परियो स्वतन्त्रता चाहने मनुवा ।
फिल्मकारमा प्रकाश आङ्देम्बे मनपर्छ । म उसकोमा गएर हप्तौँ बसेर आउँछु । जीवनका पानाहरूमा भर्न बाँकी रंग बल्ल भरियो भनेजस्तै सन्तुष्ट हुन्छु ।
१०.सूचना र जानकारीको विस्फोटक वर्षा भइरहेको वर्तमान समयमा उपयुक्त पठन सामाग्री फेला पार्नु निकै चुनौतीपूर्ण छ। पुस्तकबाहेक तपाईँको पठन सामाग्रीका स्रोत केके हुन् ? ती स्रोतप्रति तपाईँको विश्वासनियता कसरी बढ्यो ?
मेरो लेख्ने समय भनेको बितेका डेढ दशकदेखि यता हरेक पाँच वर्षमा एउटा किताब लेख्ने योजना छ । अब वि.सं. २०८५ सालतिर अर्को उपन्यास लेख्नुछ । त्यस बीचमा तीन वर्ष चाहिँ लेख्नुपर्ने विषय आसपासका किताबहरू, पत्रपत्रिका, अडियो, भिडियो, यात्रा, भ्रमण, सभा गोष्ठी जताततै भौतारिएर खजाना तयार गर्छु । बाँकी दुई वर्ष चाहिँ मनोरञ्जनका लागि अगाडि जे आउँछ त्यै हेरिदिन्छु, पढिदिन्छु । मलाई काम लाग्ने कुरा भेटेँ भने कटिङ/सेभिङ गरेर राख्ने गर्छु ।
यी स्रोतहरूप्रति मेरो किन पनि विश्वास बढ्छ भने, मेरो लेखनको खुवा नै यही समाज हो, यही परिवेश हो । मैले लेख्ने कुनै अलौकिक संसार होइन ।
११.साहित्य र कलाले वर्गीय स्वरूपको प्रतिनिधित्व गर्दछ । यस हिसाबले तपाईँले रुचाउनुभएको कवि, लेखक या कलाकार ? कवितासङ्ग्रह, पुस्तक या कला प्रदर्शनतर्फ मेरो इशारा रह्यो ।
मेरो विचारमा सबै कला र लेखकले वर्गीय स्वरूपको प्रतिनिधित्व गरेका छन् भन्ने लाग्दैन । तर जो प्रतिनिधि लेखक, कलाकार छन्, एकदमै सह्रानीय व्यक्तिहरू हुन जान्छन् । माध्यमका हिसाबले भन्नुपर्दा नेपाली भएर पनि नेपालले किनारामा पारेका पिडा लेख्ने कवि मनप्रसाद सुब्बा । दलित आन्दोलनका अगुवा आहुति, महिला अस्तित्वका धरोहर पारिजात, देश भएर पनि देशविहीनहरूका आवाज फिल्मकार प्रकाश आङ्देम्बे, जनजाति आन्दोलनका जुझारु लेखक राजन मुकारुङ आदि व्यक्ति र उनीहरूले सृजना गरेका कृतिहरू नै मलाई मनपर्छ ।
१२.साहित्य लेखनमा महिलाको उपस्थिति पुरुषको तुलनामा कम देखिएको त होइन तर चर्चा चाहिँ कम भइरहेको पाउँछु । वर्तमान नेपाली समाजले महिलाबाट के अपेक्षा गरिरहेको छ ? नेपाली महिलाले समाजबाट के अपेक्षा राख्ने ?
लेखनमा उपस्थिति पनि कम नै छ । के लेख्ने भन्नेमा पनि अलिक कन्फ्युजन छ । पुरुषको विरुद्धमा लेख्ने कि, पुरुषजस्तो भएर पो लेख्ने कि ? जस्ता विचारमा अझैं स्पष्टता आएको छैन ।
अर्को कुरा महिला पाठक एकदम कम छन् । अन्ततः महिलाका कुरा पनि पुरुषलाई नै पढाउनु पर्ने वाध्यता छ । एउटाको कुरा अर्कोलाई पढाउनु पर्ने भएपछि भाषा पनि अलिक अष्पट बनाउनु पर्ने हुन्छ । जस्तो कि, ‘काट्छु’ लेख्नु पर्ने ठाउँमा ‘ताछ्छु’ मात्र लेखेर जानुपर्छ ।
वर्तमान समाजले त महिलालाई (विगतको तुलनामा) अगाडि लाने नै सोचेको छ । महिलाको पक्षबाट मेरो व्यक्तिगत अपेक्षा चाहिँ के रहन्छ भने, लेखनको हिसाबमा महिला र पुरुषलाई आमने–सामने राखेर तुलना गर्नु मूखर्ता हुनेछ । तुलना त उसको परिवेशको इतिहाससँग गर्नुपर्छ । महिलाले पार गर्दै आएको अवरोधको इतिहास र पुरुषले उपभोग गर्दै आएको सुविधाको आधारबाट तुलना गरिनुपर्छ ।
१३.कतिपय सार्वजनिक कार्यक्रममै महिला लेखकले आफूहरूको समूह नभएकै कारण पछाडि पर्नुपरेको गुनासो पनि गर्छन् । के महिला लेखकको समूह (गुट) नभएकै हो ? तपाईँको पनि गुट छ भन्छन्, कुरा कसो हो ?
‘गुट’ एक आक्षेपपूर्ण शब्द हो जसले ‘आफ्नाका सबै राम्रा, अर्काका सबै नराम्रा’ भन्न लगाउँछ । गुट हुँदैमा साहित्य राम्रो हुँदैन । भलै अल्पकालीन हल्ला होला । त्यो त कोरा राजनीति हुन्छ । कुनै लेखकलाई गुट नहुनाले पछि परेजस्तो लाग्छ भने गुट बाँध्न थालिहाल्दा भयो । मेरो कुनै गुट छैन । स्वतः मन पराउने पाठकहरूलाई ‘गुट’जस्तो असुन्दर शब्द म प्रयोग गर्दिनँ ।
तपाईँ पनि ‘प्रगति राईको गुटमा घुस्न परो’ भनेर आउनु भएको हो भने जिल्लिनु हुनेछ । मेरा कृतिहरूमाथि आदर गर्नु/घृणा गर्नु तपाईँको स्वतन्त्रता रहने छ ।
धन्यवाद । प्रगति राई
लेखक परिचय
धादिङका राजु झल्लु प्रसाद कविता, कथा, मनोविश्लेषणात्मक लेख साथै अखबारीय लेखनमा पनि सक्रिय छन् । अनलाइन पत्रिका न्युजकास्ट नेपालमा कलासाहित्य विधाका प्रमुख रहेर काम गरिरहेका झल्लु प्रसाद त्रि-चन्द्र कलेजमा बिएससी अध्ययन समेत गर्दैछन् ।