राजनारायण प्रधानले विश्वका दश महान नाटक –अध्ययनहरूमा भानुभक्त पुरस्कार पाए पछि मैले लिएको अन्तर्वाता । यो अन्तर्वाता सन्त जोसेफ कलेज, दार्जिलिङको मुखपत्र नर्थ पोन्टरको सन् १९८४-८५को अंकमा छापिएको थियो । त्यो अंकको सम्पादक मंडलको म सदस्य पनि थिए ।
भानुभक्त पुरस्कार विजेता राजनारायण प्रधानसँग एक दर्जन प्रश्नहरु
प्रश्नकर्ता-शरद प्रधान
१. प्रथम प्रश्न छ, साहित्यतर्फ अग्रसर हुने प्रेरणा तपाईँले कहाँबाट अथवा कोबाट पाउनु भयो ?
उत्तर-सानैदेखि लेखकहरूका कृतिहरू पढ़ने गर्थे । बिस्तारै ममा लेख्ने इच्छा जागेको थियो ।
२. प्रश्न –लेखेर मात्र पनि हुँदैन, त्यसलाई प्रकाशित गर्नु लेखकको मूख्य कर्तव्य हो, अर्को प्रश्न तपाईँको कुन रचना सर्वप्रथम कुन पत्रिकामा प्रकाशित भयो ?
उत्तर-मेरो एउटा निबन्ध ‘साहित्य’ धेरै अघि सायद सन् १९५५ तिर भारतीमा छापिएको थियो।
३. प्रश्न- भानुभक्त पुरस्कारद्वारा तपाईँको कृति सम्मानित भएकोले तपाईँलाई समालोचकको रुपमा मात्र बड़ीले स्वीकार गरे । पुरस्कार प्राप्ति सम्बन्धमा तपाईँको प्रतिक्रिया के छ ? अनि पुरस्कृत कृति- माथि तपाईँको के धारणा छ ?
उत्तर-भानुभक्त पुरस्कारको निम्ति एउटा पद्धति छ । धेरै लेखक-लेखिका- लाई सर्वश्रेष्ठ पुस्तक चयन गर्न अनुरोध गरिन्छ । यस वर्ष वहु- संख्याले मेरो कृतिलाई मनोनित गरेका थिए । पुरस्कार पाउँदा खुसी लाग्नु त स्वभाविक नै हो। यो पुस्तक लेख्न मैले झण्डै तीन वर्ष गाले। यसमा मैले पाश्चात्य नाटकहरूको विकास पथ अंकित गर्न चाहेको थिएँ यसमा ट्रेजेडीको विशद विवेचना गर्न चाहेको छ। ट्रेजेडीको बदलँदो रुप, यसको आकृति-प्रकृति खिच्ने प्रयास गरेको छु ।
४. प्रश्न –वर्तमान नेपाली समालोचनाको उपलब्धिका प्रमुख बुंदा के हुन् ?
उत्तर-नेपाली समालोचकको क्षेत्रमा नयाँ हस्ताक्षरहरू देखिँदैछन् । यो क्षेत्र समृद्ध नै छ भन्नु पर्यो ।
५ . प्रश्न-सायद लाग्छ तपाईँको समसामायिक कालमा आयामेली साहित्यिक आन्दोलन शुरु भएको होला । प्रश्न छ, तपाईँको धारणा र समालोचकिय दृष्टि यस आन्दोलनप्रति कस्तो छ ?
उत्तर-साहित्य हल्का-फुल्का भयो र यसमा अब गहिराइ हुनुपर्छ मन्ने केही साथीहरू थिए-तीमध्ये इन्द्र दाइ, वल्लम र काइँला हुन । साहित्यमा त्यहीं गहिराइ दिन खोजिएको हो आयमिक लेखनमा । साहित्यमा जुनै लेवल लगाए पनि आखिर साहित्यमा सधैँ अध्ययन गरिने जीवन नै हो ।
६. प्रश्न-तपाईँले हाँस्य-व्यङ्ग्यमा पनि निकै प्रतिष्ठा पाउनुभएको सबैलाई विदित नै छ। दया गरि वर्तमान नेपाली हाँस्य-व्यङ्ग्य बारेमा आफ्नो धारणा कस्तो छ प्रकट गरिदिनु होला ।
उत्तर – नेपाली हाँस्य-व्यङ्ग्य समृद्ध नै छ, लाग्छ। दार्जिलिङमा अच्छा राई, प्रेम थापा, हीराकुमार सिंहहरू यस क्षेत्रमा निकै सफल थिए । अहिले नेपालीमा भैरव अर्याल, रामकुमार पाण्ड़े र केशबराज पिंडालीहरू यस क्षेत्रमा निकै माथि छन् । तर हाँस्य र व्यंङ्ग्यलाई समय र स्थानले सीमित पारेको हुन्छ ।
७. प्रश्न-प्रश्नकर्ता साधारण पाठकवर्ग र युवा विद्यार्थी समूहबाट आएको हुँ । धेरै नै अन्योलमा छ किन तपाईँ अहिले (वर्तमान) विशेष पश्चिमे साहित्य सिद्धान्त र मान्यतासित संलग्न हुनुहुन्छ (त्यो विषय पुरस्कृत कृतिले नै प्रष्ट गर्छ) र हालमा नेपाली समालोचनातर्फ कम रुचि दिएको (कम आकृष्ट) भएको महसूस वा प्रतीत हुन्छ। यस विषयमा तपाईँको निश्चय केही ठोस धारणा वा व्यक्तिगत विचार हुनपर्छ ।
उत्तर-यो प्रश्न मलाई अरुले पनि गरेका हुन् ।
अरु भाषाको साहित्यमा पाश्चात्य साहित्यको विषयमा विवेचना गरेकै हुन्छ। साहित्यको उचाई थाहा पाउनुलाई पाश्चात्य साहित्य नै हेर्न पर्छ । नेपाली समालोचनामा मेरो रुचि कम भएको होइन । मेरो प्रथम समीक्षात्मक पुस्तक ‘केही कृति केही स्मृति’ प्रकाशित भएको हो। हालमा नेपाली उपन्यासहरूको अध्ययनमा लागेको छु र एउटा समीक्षात्मक कृति लेख्ने विचार गरेको छु ।
८. प्रश्न –साहित्यको क्षेत्रमा तपाईँको कृतिले प्रोत्साहन पाउनु भएको छ ?
उत्तर–साहित्यको क्षेत्रमा प्रशस्त प्रोत्साहन पाएकै हुँ। सर्वप्रथम पुस्तकलाई प्रकाशमा ल्याउन प्रकाशक चाहिन छ । मेरो कृतिहरू प्रकाशकहरूको उत्साहसाथ छाप्दै आएका छन् ।
९. प्रश्न-जीवन र साहित्य सम्बन्धमा तपाईँको कस्तो दृष्टि छ ?
उत्तर-साहित्यमा अध्ययन गरिने जीवन नै हो।
१०. प्रश्न –आफ्नो सम्पूर्ण कृतिहरूमा कुन चाहिँ तपाईँलाई श्रेष्ठ लाग्छ ?
उत्तर-सबै लेखकलाई आफ्ना सबै कृतिहरू मन पर्छन् । मेरा कृतिहरूमा विशेष गरी केही कृति केही स्मृति, विश्वका दश महान नाटक -अध्ययनहरू र पैंतीस प्रसिद्ध पुरुष मनपर्छ ।
११. प्रश्न-समालोचकको हैसियतमा तपाईँलाई कुन कृतिहरू (कथा, कविता, उपन्यास) नेपाली साहित्यमा उत्कृष्ट लाग्छ ?
उत्तर-नेपाली साहित्यमा उपन्यास विधा नै समृद्ध छ जस्तो लाग्छ ।
१२. प्रश्न -अन्तिम प्रश्न दार्जिलिङ नेपाली साहित्यको गतिविधि बारेमा तपाईँको धारणा ?
उत्तर-दार्जिलिङमा साहित्य गर्नेहरू धेरै छन् । प्रत्येक वर्ष धेरै पुस्तकहरू छापिन्छन् । कतिपय कृतिहरू उच्च श्रेणीका छैनन् होला। तैपनि पुस्तकहरू प्रकाशमा आउनु नै शुभ लक्षण हो।
(राजनारायण प्रधानका केही प्रमुख कृतिहरूको नाम : पन्ध्र प्रसिद्ध पुरुष, नौ नामी नेता, पैतीस प्रसिद्ध पुरुष, केही कृति : केही स्मृति, विश्वमा दश महान् नाटक : अध्ययनहरू, अंग्रेजी-नेपाली शब्दकोश, पञ्चैबाजा बजाउँदै, तीस प्रख्यात प्रतिभा, तीस प्रख्यात साहित्यिक प्रतिभा, केही अनुहार केही झलक, नेपाली निबन्ध, दार्जिलिङ डायरी आदि)
लेखक परिचय
पत्रकार तथा लेखक शरद प्रधानले नेपाली र अंग्रजी दुवै भाषाका पत्रिकाको सम्पादन गरेका छन् । साहित्यका विभिन्न विधामा कलम चलाउने प्रधान रेडियो टुरिजम र एक्सेलट्रिप नेपालसँग आवद्ध छन् ।