नसुनाऊ भो तिम्रो कहानी
देशै कहालिलाग्दो भएपछि
नसुनाऊ तिम्रा हर्ष र खुसीका क्षणहरू
मुलुक दुःखको सागरमा डुबिसकेपछि
नपठाऊ तिम्रो मायाको पोको
आमा पराईको भइसकेपछि ।
हरिया पहाडले गाउन छोडेपछि
जीवन र स्वाभिमानका गीतहरू
मुस्कुराएका छैनन् अपी र सैपालहरू
नौरङ्गी डाफेँको नृत्यमा देखिदैन जीवनको लय
मलीन बन्दै गएको भीमसेन थापाको सालिकलाई जिस्काइरहेछ मृत्युको चिहानबाट जङ्ग बहादुरको खुनी तरबार ।
मेरो छोरा, नपठाऊ इन्द्रेणी सपनाका रङ्गहरू अन्धकारले देश छोपेको बेला
मृत्यु खित्खिताइ रहेको यो निष्पट्ट अन्धकारमा जिउँदा लास बनेका छन् मान्छे
देशभक्तिको कुरै नगर कमिसनले नेता गनाइरहेको यो फोहरी युगमा।
उल्लास छैन कुनै वसन्त वहारमा पनि
मुलुक शिशिरले छाएको बेला
बरु सीमानामा बैरीले नजर लायो भने
तैनाथ हुनु सुरक्षा कवच् भएर
बाटो बिराएका मित्र देख्यौ भने
अामाको एक अँजुली माया बिसाउनु
र भन्नू जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी ।
सिरानी हालेको पृयसीको
तस्वीरको गाला स्पर्श गरे झैँ
लिनु पवित्र पसिना र रगतको गन्ध
माटोको मुहारबाट
देख्नू अंगालोभरि अटाएका मेची र कालीको प्रीति
हेर्नू स्तनबाट बगिरहेका दुग्धधारा
मजा लुट्नु फाटमा बयली खेलिरहेका धानका बालाबाट
चिन्नू रगतले कोरेको सीमाना
देख्नू मलीन हुदै गएको देशको धमिलो चित्र
मेरो छोरा विपत्ति आइलागे देशमाथि
चट्टान बनेर उभिनु
ढाल बनेर छेक्नु
पूर्खाका रगत र पसिनाले निथ्रुक्क भिजेको यो
पवित्र भूमिमा टेक्न नदिनु बैरिका पैतलाहरू ।
लेखक परिचय
शेरबहादुर साउद अत्तरिया, कैलालीका हुन् । उनी गुराँस एकेडेमीमा कक्षा ११मा अध्ययनरत छात्र हुन् ।