दार्जिलिङको सुन्दर प्रकृतिको काखमा जन्मिएर हुर्किएकी पारिजात (१९९४-२०५०)का कृतिहरू पनि उत्तिकै सुन्दर र कालजयी छन् । वहुप्रतिभाशाली, प्रगतिशील र मुर्धन्य व्यक्तित्वकी धनी पारिजात नेपाली साहित्य जगतमा छुटाउनै नमिल्ने नाम हो । न्वारनको नाम विष्णुकुमारी वाइवा र लामाले राखिदिएको नाम छेकुडोल्मा भएपनि पारिजातले आफ्नो नाम आफैं रोजिन्, अन्ततः उनी नेपाली साहित्य सरोवरमा पारिजात बनेर फूलिन् । अन्तर्मुखी र संवेदनशील स्वभावकी पारिजात सानै उमेर देखि साहित्य लेखनमा रूची राख्थिन् । बाल्यकालमै मातृस्नेहबाट वञ्चित हुनुपरेकोले उनको भावुक र कल्पनाशील बालमस्तिष्कमा ठूलो आघात पुग्यो । कलिलै उमेरमा बाथ रोगबाट प्रताडित बनेपछि शारीरिक र मानसिक दुवै खाले यातनाबाट उनी गुज्रनुपर्यो । साहित्य र गायनमा निकै चाख राख्ने पारिजात प्रारम्भिक शिक्षा पूरा गरेर नेपाल प्रवेश गरेपश्चात पूर्ण रूपमा साहित्य साधना गर्न लागिन् ।
पारिजातले समाजसेवामा पनि धेरैजसो समय व्यतित गरेकी थिइन् । उनले ‘बचेराबास’ नाम गरेको सामाजिक संस्था स्थापना गरि कारागारमा रहेका आमाबाबुका बच्चाहरूको सेवा गरेकी थिइन् । निडर, स्वाभिमानी, निष्ठावान र न्यायप्रेमी प्रकृतिकी पारिजात उत्तिकै दयालु पनि थिइन् । क्षयरोग, बाथ, दम, अल्सरजस्ता भयानक रोगहरूबाट आक्रान्त हुँदाहुँदै पनि निमुखा, असहाय र अबलाहरूका निमित्त सदैव अग्रसर रहन उनलाई कुनै शारीरिक दुर्बलताले रोक्न सकेन । उच्च मनोबल, क्रान्तिकारी प्रवृत्ति र मानवतावादी चिन्तनले उनको सामाजिक व्यक्तित्वलाई पनि अग्लो स्थानमा राखेको छ । राजनीतिक जागरण, सचेतता र निर्भिकता फस्टाउँदै जाँदा उनी वामपन्थी दलसम्बद्ध ‘अखिल नेपाल महिला संघ’को अध्यक्ष समेत बन्न पुगिन् । औपचारिक हिसाबले पद्मकन्या क्याम्पसबाट बिएसम्मको अध्ययन गरेपछि उनले विश्व साहित्यको स्वअध्ययन गरेको पाइन्छ ।
शारीरिक तवरले अस्वस्थ भएता पनि उनको बौद्धिकतामा कुनै असर परेन । वि.सं. २०१३ सालमा ‘धरती’ पत्रिकामा कविता प्रकाशनबाट पारिजातले आफ्नो साहित्यिक यात्रालाई सूरूवात गरेकी थिइन् । साहित्यिक यात्रा कविताबाट सुरु गरेकी उनको पहिलो प्रकाशित संग्रह, कविता संग्रह “आकांक्षा” हो । उनले अन्य विविध विधाहरूमा क्रमश: कलम चलाउदै गइन् । ‘आदिम देश’, ‘सडक र प्रतिभा’, ‘साल्गीको बलात्कृत आँसु’, ‘बधशाला जाँदा आउँदा’ आदि उनका कथा संग्रह हुन् भने ‘लाली गुराँसको फेदमा’, ‘एउटा चित्रमय सुरुवात’ र ‘अध्ययन र संघर्ष’ उनका आत्मकथाहरू हुन् । कविता, कथा, उपन्यास, निबन्ध, आत्मकथा लगायतका विधाहरूमा पोख्त पारिजात बहुआयामिक व्यक्तित्व हुन् । उनले एउटा एकांकी लेख्नुका साथै गोबिन्दबहादुर मल्ल ‘गोठाले’को नारीप्रधान नाटक ‘युगको सिकार’मा प्रमुख भुमिका निभाएकी थिइन् । उनी नेपाल मावनअधिकार सङ्गठनको उपाध्यक्ष, अखिल नेपाल महिला मञ्चको संस्थापक अध्यक्ष, बन्दी सहायता नियोगको संस्थापक अध्यक्ष तथा त्रि.वि.सभाको सदस्य समेत रहेकी थिइन् ।
उनका ‘महत्ताहिन’, ‘बैंसको मान्छे’, ‘तोरीबारी बाटा र सपनाहरू’, ‘परिभाषित आँखाहरू’, ‘अनिँदो पहाडसँगै’ लगायतका उपन्यासहरू प्रकाशित र चर्चित छन् । शिरिषको फूल उपन्यासले उनको चर्चालाई चुल्यायो ।२०२२ सालमा पारिजातको उपन्यास ‘शिरिषको फूल’ मदन पुरस्कारबाट सम्मानित भयो । यस उपन्यासको अनुवाद ‘द ब्लु मिमोसा’ अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयको पाठ्यक्रममा समावेश गरिएको छ । उनले शुन्यवादी दर्शनको गहन सिद्धान्तलाई अत्यन्त कलात्मक र मिठासपूर्ण भाषाशैलीमा प्रस्तुत गरेकी छिन् । यो पारिजातको बैयक्तिक विशेषता हो । उनी नेपाली साहित्य मात्र पढ्दिनथिन्, उनी नित्से, बाल्जाक, दस्तोभस्की, चेह्कफ आदिका लेखनबाट पनि प्रभावित थिइन् । उनले प्राप्त गरेका अन्य सम्मान वा पुरस्कारमा, युगज्ञान पुरस्कार (२०२७), पाण्डुलिपि पुरस्कार (२०४९ ), गंकी बसुन्धरा पुरस्कार (२०४९) आदि रहेका छन् । वि सं २०५० बैशाख ५ गते उनको निधन भयो । प्रत्येक दिन रोगसँग जुध्दै, कमजोर आर्थिक अवस्थासँग संघर्ष गर्दै पारिजातले रचना गरेका यी कालजयी कृतिहरूले उनलाई सदैव नेपाली साहित्य जगतमा जिवित राखी राख्नेछन् । निडर व्यक्तित्व, मानवतावादी चिन्तन, शरीर अशक्त भए पनि उनको विशालकाय बौद्धिकताजस्ता अमुल्य गुणहरू भएकी मुर्धन्य व्यक्तित्व पारिजात मानवजातीका लागि प्रेरणाकी स्रोत हुन् ।
प्रतिक्रियाहरु 1