खडकसिंह राई ‘काँढा’ खडकसिंह राई ‘काँढा’
नेपाली साहित्यको वृहत्तर स्वरूपलाई कुनै पनि पुस्तकले अहिलेसम्म समेट्न नसकेको तथ्य विदित नै छ । नेपाली साहित्यको सिंहावलोकन गर्ने हो भने दर्जनौँदर्जन ठेलीकाठेली पुस्तक निस्कन सक्छन् । नेपालभित्र र नेपालबाहिर लेखिएको हजारौँहजार पुस्तक र लाखौँलाख लेखहरूको चाँहिदो सूचनाहरू मात्र समेटिएर ग्रंथसूची निकाल्न सके नेपाली साहित्यको वास्तविक अनुहार देख्न सकिने थियो । नेपाल प्रज्ञा प्रतिष्ठानले यो कार्य गर्न सके नेपाली साहित्य र साहित्यप्रेमीहरू पक्कै लाभान्वित हुने थिए । नेपालबाहिर सबैभन्दा धेरै नेपाली साहित्य सृजना भएको थलो हो दार्जिलिङ । मूर्धन्य समालोचक रामकृष्ण शर्माका अनुसार जोसमनी सम्प्रदायका सन्त ज्ञानदील दासले सन् १८७७ मा उदय लहरी संकलन र प्रकाशनको जानकारी दिएका छन् भने गंगाप्रसाद प्रधानले सन् १८८७ मा नेपाली भाषाका केही उखानहरू, क्रिश्चियन धर्मसम्बन्धी केही गीतहरू रचेको र जान्ने कथाहरू संग्रह गरेको पारसमणि प्रधानले काठे झाँक्री मा लेख्छन् । सन् १९०० को छेउछाउमा बबमणि गुरूङ, डाकमान राई, दिलुसिंह राई, चन्द्रध्वज राई, दिलबहादुर राई, शरहाजीरमान राई, रामनारायण प्रधान आदिले सवाई लेखेता पनि त्यसलाई रामकृष्ण शर्मा साहित्य मान्न तयार छैनन् । यो इतिहास कुनै अर्को लेखमा बिस्तृतरूप लेख्न आवश्यक ठान्छु । सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला, पारसमणि प्रधान लगायतबाट नै श्रीगणेश भएको यो गर्विलो इतिहासको शृङ्खलामा खडकसिंह राई ‘काँढा’ ले पनि महत्वपुर्ण स्थान लिएका छन् ।
सन् साठीको दशकमा दार्जिलिङमा नेपाली साहित्यले निकै ठुलो फड्को मारेको थियो । एकातिर कविता र आख्यानमा नवीनतम प्रयोगानूभुति भइरहेको थियो भने अर्कोतिर भाषा आन्दोलनको तीव्रता । भारती पत्रिकाको अवसानपछि स्तरीय साहित्यिक पत्रिकाहरू निस्कने होडबाजी नै चलेको थियो दार्जिलिङमा त्यसताका । कुमार प्रधानको सम्पादनमा मालिङ्गो, जगत छेत्रीको सम्पादनमा जनदूत, नेपाली साहित्य सम्मेलनको दियालो, ईश्वरवल्लभद्वारा सम्पादित फुल,पात, पतकर, बैरागी काँइलाको तेस्रो आयाम, सुवास घिसिङ र नारद छेत्रीद्वारा सम्पादितधुँवा आदि प्रमुख थिए । ‘काँढा’ले कविता लेख्न शुरू गर्दा दार्जिलिङमा तेस्रो आयामले भर्खरै प्रवेश गरेको थियो भने जातीय कवि अगमसिंह गिरीका कविता र खण्डकाव्यले पहाडलाई प्रतिनिधित्व गर्दै केन्द्रीकृत नेपाली साहित्यलाई हाँक दिइरहेको थियो –आफ्नो गीत मार्फत:
नसम्झ आज नेपाली सन्चोले यहाँ बाँचेको
काँडाकै माझ पहाडी फूल छैन र कहाँ हाँसेको
सुनको सपना आँखामा किन हो बाँधी ल्यायौ नि
घरको माया बिर्सेर किन पो यहाँ आयौ नि
त्यही समय प्रादुर्भाव हुन्छ कवि खडकसिंह राईको दार्जिलिङ शहर देखि दस किलोमिटर टाढा घुममा ‘काँढा’ उपनाम धारण गरेर । उनको कविता यात्राका बारेमा उनीसँग दुई दशक लामो संगत गरेका लेखक-कथाकार लोक थापा लेख्छन्, “खडकसिंहज्यूको पहिलो कविता कुन हो अनि कुन पत्रिकामा प्रकाशित भयो साथै मृत्युको ठीकअघि कुन कविता थियो छानबिन गर्न समय लाग्छ । उहाँको सन् १९६३ मा जनदूत पत्रिकामा “तीन स्थिति, तीन कविता” प्रकाशित भएको छ, उद्धृतांश प्रस्तुत छ :
मपट्टि राम्ररी हेरेर
मुस्कुराइदिँदा, तिमी
पुरा फुलेका फूल हाँसे झैँ लाग्छ,
तिम्रो अनुपस्थितिमा पनि सम्झना
एउटी वयस्क स्त्रीको आउँछ,
तर प्रिये, किन हो
अरू कसैको बाहु माझ घेरिएको तिमी देख्दा
अबोध एक हरिणी फसे झैँ लाग्छ।
यसरीजनदूतमा प्रकाशित अन्य कविता पाइन्छन् – “तलास”(सन् १९६६ वर्ष ६, अंक ९), “विजय पाठ”(सन् १९६६:६८), “फेरि एकाएक”(सन् १९६७:८/७), अनि “एक अर्को समयमा”(सन् १९६७ धुवाँ), “म फेरि उठ्छु”(सन् १९६८ धुवाँ : ३/९), “आज प्रभातमा”(सन् १९७९) इत्यादि ।”
कवि ‘काँढा’ को कविता प्रवृतिबारे लेखक लोक थापा, प्रक्रिया साहित्यिक पत्रिकाको दिवंगत नेपाली कवि विशेषांक (वर्ष-८, अंक-१३, सन् १९९४/ वि.स.२०५१) मा “कवि खडकसिंह ‘काँढा’: एक व्यक्तित्व” शीर्षक लेखमा लेख्छन्, “खडकसिह ‘काँढा’ कवि बन्नलाई वरपरको साहित्यकारहरूबाट पनि निकै प्रभावित भए । इन्द्रबहादुर राईको आयामेली विचारसित कति पछिसम्म प्रभावित छन् । भूपि र मोहन कोइरालाले पनि उहाँलाई निकै सचेत गराए । सत्तरीको दशकको अन्त्य र असीको दशकको प्रथम कालमा खडकसिंह ‘काँढा’को कवित्व भाव अगमसिंह गिरीको प्रभावमा विचरीत भएको पाइन्छ । यसैले मलाई काँडाको कवितायुगलाई तीन मोडमा मोडिएको लाग्छ-
(१) प्रथम कालमा (अवस्था) मनोरंजनात्मक एवं मनोविनोदात्मक कविताहरू
(२) मध्यकालमा जातित्व र अस्तित्वको परिलक्षित कविताहरू औ
(३) पहिलो अवस्थातिर भौतिक-आध्यात्मिक द्वन्दात्मक वैचारिक कविताहरू।”
कवि खडकसिंह राईको प्राथमिककालका कविताहरूमा रूमानी झलकहरू पाउँछौँ । हुन पनि त्यो समय त्यस्तै प्रवृतिका कविताहरूको बाहुल्य थियो नेपाली साहित्यमा । कवि ‘काँढा’को उमेर सँगसँगै कवितामा पनि परिपक्वता र परिमार्जन बढ्दै आएको आभास हुन्छ कालान्तरमा । स्वच्छन्दतावादको घेराबाट बाहिर निस्केर उनी जीवनको यथार्थवाद र तत्कालीन जातिवाद अँगाल्न पुग्छन् । तर उनका जातिवादी कविता संकुचित छैनन्, कुनै साँघुरो घेरामा बसेर लेखेका छैनन् ती कविताहरू । सायद “म कहाँ लगाऊँ बाली” शीर्षकको कविता जातिवादी कवि अगमसिंह गिरीको प्रभावबाट मुक्त हुन नसकेको आभास हुन्छः
तिम्रो वीरता र पुंसत्वद्वारा छाडिदिएको
हे पूर्वपुरूष, म
मत चल्ला एउटा नाङ्गो प्वाँखविहीन चरो
एउटा यस्तो बच्चा जसको आफ्नो आमा छैन,
ममत्वको मांसल गर्मीको ओड़ान छैन,
घुरेन खोसिदिने ठूला-ठूला खुट्टा छैनन्,
अनाहार मनाई गर्ने कुनै चुच्चो छैन
हप्काइ र माया गर्ने त्यो
आमा पखेटा छैन
रमत एकदम उच्छृङ्खल एक
बन्धनहीन बच्चा
इन्द्रबहादुर राई सरले पछिल्लो पुस्तामाथि थोरै लेखेका छन्, तर जे लेखेका छन् ती सबै ओजपूर्ण र गहकिला छन् । यस अर्थमा ‘काँढा’ भाग्यमानी हुन पुगेको छन्, आफ्नो जीवनकालमा एउटै पनि कविता-कृति देख्न नपाए पनि ‘काँढा’को मृत्युपछि इन्दबहादुर राई सरको यो लेखले सहि मूल्याङ्न गरेको छ । इन्द्रबहादुर राई “कवितामा खडकसिंह राई काँढा” शीर्षकमा गरिमा, वर्ष २२, अङ्क १,पुष २०६०मा लेख्छन्- “कविको समालोचना उसको कविता नै हुन्छ । परम्परागत र प्रचलित कवितालेखनमा के के राखिन पर्ने छन्, कुनकुन फ्याँकिन पर्ने छन् कस्तोकस्तो नयाँ जोड्न पर्ने छ आफ्ना कविताले उनले भनेका हुन्छन् । समर्थ कविहरूको कुरा गरेको । खडकसिंह राईका कविता ६०-८० का दशकमा नेपाली कवितालेखनको एक भिन्न र उच्च मापदण्ड थिए । नेपाली कविहरूमा मैले मन पराएको ईश्वरवल्लभ, वैरागी काइँला, विजय मल्ल, तुलसी दिवस हुन् । यी कविहरूका प्रभाव मेरा रचनाहरूमा परोक्ष रहे पनि तर मेरो प्रयास सदा निजीपनामा छ – शैली प्रतिपादन र समाधानको स्वर मैले छुट्टै आफ्नै दिन खोजेको छु ।” सन् १९८० मा उनले लेखेका थिए, भारतीय नेपाली वाङ्मय प्रवेशांकमा उनको सन् १९८५ को भूमिकामा पनि समाविष्ट, “समाधान भनिएको लेखनप्रविधिगत सहबद्ध समस्याहरूको होला । जातिको उत्थानलाई लेखूँ, समाजको उद्धारलाई लेखूँ कि शुद्ध साहित्यको रचनामा रत रहूँ, त्रिशकु बनेको आफूलाई लागेको पनि लेखेका छन् । खड्गको कवित्व तर यस विभेदनमा पनि आफ्नै ऐकान्तिक प्रगतिमा रहेको छ । यसको सन्तोषणनै पूर्वसर्त र कसी रहेको थियो उनको जुनै विषयक रचनाको । ‘कति सामयिक कारणहरूसित प्रतिबद्ध हुँदा पनि कविता लेखे तर जाने ‘हाम्रो कमिटमेन्ट लेख्नुसित छ ।’ विषय (यथार्थ)-सितभन्दा अधिक लेख्दा लेखनसित । विषयहरू उनलाई लेखनलाई निहुँ मात्रझै।”
धेरै अघि कवि-समालोचक मनप्रसाद सुब्बाले आफूभन्दा एक दशक अग्रज कवि खडकसिंह राई ‘काँढा’माथि एउटा लामो लेख लेखेर समकालिन साहित्य (वर्ष १०: अङ्क १: ३७ फागुन २०५६देखि जेठ २०५७) मा प्रकाशित गरेका थिए । “कवि ‘काँढा’ सम्झनामा/कवितामा” शीर्षक उक्त लेख ‘काँढा’को कवित्व र व्यक्तित्वलाई उजागर गर्न पर्याप्त छन् । मनप्रसाद सुब्बा लेख्छन्- “हामी दिन हौँ, आयुको मृत्यु मरे पनि सौन्दर्यको मान हाम्रो मर्दैन, नूतनको सन्धान हाम्रो साथ छ… वेदनाको सुन्दरता गाउनु छ…भन्ने कवि ‘काँढा’-को सौन्दर्यचेत अत्यन्त प्रखर रहेको याथार्थिकता उनका कविताहरूमा प्रस्ट छन् । प्रचुर सौन्दर्यचेतका सूक्ष्म बोधहरूलाई उस्तै टड्कारो मौलिकतासाथ प्रभावात्मक अभिव्यक्ति दिन सक्ने इमान्दार कलासाधकका कृतिहरू हुन् ‘काँढा’-का कविताहरू । ‘सौन्दर्यको मान हाम्रो मर्दैन’ यो प्रबल आस्थासित कविताको सारा देहमा ‘वेदनाको सुन्दरता’लाई नै रक्तप्रवाह दिन अत्यन्त सफल छन् कवि ‘काँढा’ । केही पङ्क्तिहरू म एक अनुकृतिबाट लिऊँ:
कहीँ पर्वतहरू उठिरहेछन्
कुहिरोको माझदेखि-जुनेलीतिर
भाव मेरो, भासमा पाउ परेर
हात्ती भइरहेछ
कान दुई फटफटाउँदै ।”
यो मनप्रसाद सुब्बाको यो लेख समकालिन साहित्यमा प्रकाशित हुँदासम्म ‘काँढा’को कुनै पनि कृतिले पुस्तकाकार लिएको थिएन । मनप्रसाद दाजुको भनाइ अनुसार पछि युगपरिबोध, दार्जिलिङबाट मेरो नामले पुगेन मलाई शीर्षकमा यौटा किताब निस्कियो अनि हालैमा अर्को सङ्ग्रह सपना कति विपना कति भन्ने निस्केको छ योगेश लिम्बुको सम्पादनमा ।
खडकसिंहका कविताहरू मैले पश्चिम बंगाल सरकारद्वारा गठित नेपाली अकादमीद्वारा प्रकाशित हुने नेपाली अकादमी पत्रिकामा कैयन पटक पढेको याद आउँछ । त्यस पत्रिकामा धेरैजसो वामपन्थी धारका लेखक र कविहरूको लेख रचनाहरू प्रकाशित हुन्थे तर अरू विचारधाराका लेखक-कविहरूले पनि स्थान पाउँथे । उनको सशक्त प्रस्तुती, समसामायिक विषयवस्तु र युगीन चेतनाले उनको कवितालाई अरूभन्दा पृथक बनाएको अनुभूति हुन्थ्यो । उनको ‘मेरो नामले पुगेन मलाई’ (भारतीय नेपाली वाङ्मय, प्रवेशांक, सन् १९८०) शीर्षक कविता निकै शक्तिशाली कविता हो – अस्तित्वको खोजको निम्तिः
मेरो नामले पुगेन मलाई
र उपनाम थपेँ
तर पनि म अझ म भइनँ।
जहाँ चाह थियो म उपस्थित थिइनँ त्यहाँ
तर लाग्छ कहीँ छ, अवश्यम्भावी
जो असल छ, सुन्दर छ र सत्य छ
जो मरूभूमिमाथिको रातको आकाश छ, तारा छ,
औ यस क्षणिक विश्राममा सततः अग्रसर मेरो पयर छ।
यसरी चाहहरूको वरण गरेर मैले
सधैं वान्धवहरूलाई, प्रजाहरूलाई शिक्षा दिएको छु
सपनाहरूको पछिपछि बालुवामा पाइला भसाउँदै
बन्धुहरूकन, भाषाकन सधैँ कविता दिएको छु,
कविता दिएको छु, सादा पन्नामा फगत् वाणी दिएको छु
मेरो वीरता औ बहादुरी त गहिरो जंगल र
विराना पहाडहरूमा काल-कवलित छ
यी वीरचक्रहरूले अब त धीरता बक्सेको छ मलाई
मेरो घरेटीदेखि धेरै टाड़ो
एक अनाम दैत्यसित युद्धमा मेरो रगत
भूत भइसकेको छ :
मेरो नाम यसरी उपनाम भएको छ।
अब यो नामले-उपनामले
आज मेरो ‘म’ खोजिरहेछ,
एउटा घर खोजिरहेछ, एउटा जात खोजिरहेछ
युद्धलाई होइन युद्धको धर्मलाई खोजिरहेछ
ब्यूँझेर लाटोपनले प्रतिकार चाहिरहेछ
-कि अब उच्चार्नु परिरहेछ अधिकारलाई
एक अर्कै स्वरमा
-कि उजिल्याउन परिरहेछ अस्तित्वलाई
अझै रूपमा-अर्कै रङ्गमा
कि मेरो राष्ट्रभक्ति मेरो स्थिरताको माग
मेरो धीरता-वीरता औ नागरिकताको माग
शासनको अघि मेरो विनम्रताको माग
मेरो जातित्व-मेरो कवित्वको माग
प्रस्तुत हुनेछ जस्तो
घनको प्रहार प्रस्तरमा,
सम्झौताको क्षितिज धमिलिएपछि
संशवको कालो आकाशमुनि
यहाँ म एक्लै एक्लै
-कि मैले फेरि युद्धलाई शुरू गर्नुछ
एक अर्कै स्तरमा।
कवि-समालोचक मनप्रसाद सुब्बा उपरोक्त कविताको विश्लेषण गर्दै लेख्छन्, – “तर यसरी जातिको मानरक्षार्थ मुट्ठी कसेर बल्ने कवि ‘काँढा’ले हाम्रो दीर्घ-अभियानको प्रथम एक फट्को विजय देख्न पाएनन् । कदाचित् कविको यो जातिप्रेममा साम्प्रदायिकता देख्नु दूरबीनलाई उल्टापट्टि फर्काएर दृश्यावलोकन गर्नु जस्तै हुनेछ वर्षोँ- वर्षोँदेखि एउटा जातिले भोग्दै आएको उपेक्षा, असुरक्षा, धोका, छल, हेला-हेपाइप्रति कुन हृदयले प्रतिवाद नगर्ला ? यीबाट सुरक्षित रही ससम्मान बाँच्न कुन जातिको कुन व्यक्तिले चाहँदैन ? यिनै कुराहरूले उत्प्रेरित कविहृदयबाट उद्भूत काव्याभिव्यक्ति के मानवतावादकै एक रूप होइन र ?”
गरिमामा प्रकाशित ३१ पृष्ठको लामो “कवितामा खड्गसिंह राई ‘काँढा’” शीर्षक लेख इन्द्रबहादुर राई सरले वर्तमान कविता, कवि ‘काँढा’ र उनको काव्य प्रवृति र कविताहरूको विविध पक्षलाई समेटेर लेखेको अत्यन्त खँदिलो (वैचारिक र वस्तुतामा) समालोचना कृति हो । सो लेखमा इन्द्रबहादुर राई लेख्छन- “खड्गका कविताहरूमा आधाभन्दा अधिकनै वैयक्तिक कविता छन् । उनका तर व्यक्तिगत पीरताप र जातीय विलापका रूढ़ीवद्ध (स्टेरिओटाइप्ड) लेखाइ छैनन् । भूमि (ग्राउन्ड) त त्यही समाज हो, त्यसमा त्यही साझा जीवन, तीमा उनले ठम्याएका रूपाकार (फिगर्स) तर भिन्न छन्। भन्छन् : यथार्थ (रिअलिटि) आफ्नो तथता (सच्नेस)-मा विभेदविहीन हुन्छ; द्रष्टाले विभेद जन्माउँछ ग्रहणमा आफ्ना चयन र वहिष्करण प्रक्रियाले । यसैले हामीले जानेको या चिनेको यथार्थलाई ‘चित्रमात्र’ भनिएको छ। तर व्यवहारमा हाम्रा वर्तमान अनुभव ऐलेका हामी हाँ मान्नपर्छ। यही हो बौद्ध ‘क्षणिकता वाद’ पनि। ‘सधैँ छ पनि होइन, ‘कहिल्यै छैन’ पनि होइन: यी दुइ आत्यन्तिक चरमबीच ‘ऐलेलाई छ मानेर चलौँको व्यावहारिक मध्यम पथ । भुइँमा रूपाकार चिन्नु त्यस्तै । खड्ग जातीय, सामाजिक र व्यक्तिक स्तरमा एकातिर प्रकाश्यमा संघर्षक र आशावादी छन् अर्कातिर आफूलाई विसम्बन्धित (एलिअनेटड) पनि मान्छन् । स्वविसम्बन्धनलाई अग्रभूमि (फोरग्राउन्ड)मा ल्याउँछन् तर स्वर (टेनोर) उनको प्रायः समचित्तता (इक्वनिमिटि)-को छ, रूदनको छैन । उनले यो मनोभाव राखेकाले पनि कथनसंयम रहेको थियो हो लाग्छ । अनन्तताको म एक क्षण, एक कण तर त्यो अनन्तता पनि म । उनका पङ्क्तिहरूमा जति नवीन वक्रता वा वक्र नवीनता पाउँछौँ यस्तैबाटका संश्लेषण छन् । नवरूपाकार (‘डिफमिल्यराइजेशन भनी) छ उनका विशेष भाषाप्रयोग, वाक्यांशरचन, पश्यन (पर्सेपशन) र सङ्कल्पन (कन्सेपशन)-सम्ममा। व्यञ्जक (इक्सप्रेसिव) मात्र नभई उनको काव्यिक भाषा सर्जनात्मक (क्रिएटिव) छ ।”
खडकसिंह राई ‘काँढा’को कवित्वमा कुनै प्रश्न उठाउने ठाँउ छैन तर जीवनकालमा उनले पाउनु पर्ने प्रोत्साहन पाउन सकेन भन्दा अनुपयुक्त नहोला । सायद परिवारिक समस्या (उनले तीन पटक विहे गरेका थिए), सामाजिक स्थिति, राजनैतिक अस्थिरता आदिले उनको कवितामा प्रमुख भूमिका खेलेको पाउँछौँ । उनी हुर्किएको समय निकै तरल थियो सबै कुराले । दरिलो राजनैतिक नेतृत्वको अभाव, अस्तित्वको लडाइ, भाषा संघर्ष, जीविकोपार्जनमा दिक्कतता, बढदो बेरोजगारी आदिले खडकसिंह राईको चेतना र भावना दुवैलाई निकै प्रभावित पारेको पाउँछौँ । कहिलेकाँही कवि गिरीजस्तै जातित्वको प्रश्नमा उनी अल्झिन्छन् भने कहिले कवि वीरेन्द्र र कवि ग्वाइनको बौद्धिकता र आध्यात्मिकताले निकै प्रभाव पर्छ उनलाई । ‘साहित्य साहित्यको निम्ति होइन जीवनको निम्ति हो’ भन्ने मान्यतावाट प्रेरित हुन्छन् । त्यसैले उनको कवितामा जीवन पाँउछौ, मुर्तता पाउँछौँ, जिजीविषा पाउँछौँ । यो कवितामा त्यही भाव पाउँछौँ:
यस दौरमा इतिहास लेखिन्छ
तिमी टेक दरिलो यो भुइँ
यही ठाउँ सिमाना दरिन्छ।
कहालिरहेछ समय अहिले
फगत सादा पाना पल्टिँदै,
पुंषत्वको त्यो तीव्र क्रान्ति,
तिम्रो मुहारमा चिन्न खोज्दै,
एक सही थपिदेऊ तिमी
एउटा सनद-पत्र लेखिन्छ
यो क्षण अर्थवान् गनिन्छ,
घटेको मात्र इतिहास होइन
इतिहास यही क्षण घट्ने गर्छ
यही दौरमा इतिहास लेखिन्छ
सन् १९८७ मा काँढाको कविता संग्रह निस्किने तरखर भयो अनि वसन्त शर्माले “कवि खडकसिंहका कविताहरूको उद्घोषणा” नामक भूमिका पनि लेखे । भूमिकामा शर्मा लेख्छन् “अन्त्यमा-वरपरका परिवेश, प्रकृति एवं ‘मान्छे’ नै प्रमुख प्रेरणास्रोत हुन् खडकसिंह राईज्यूका कविताका तत्त्वहरू, आधारहरू । शुरूमा स्वच्छन्द कविको रूपमा देखा परी आफ्नो स्वच्छन्दतालाई आधुनिकताको संगम गराउने कविहरूमा अग्रणी भूमिका कवि खडकसिंह ‘काँढा’को छ । साथै कवि यसमा विशिष्ट पनि हुनुहुन्छ । आधुनिकताको नाममा धमिलो र कृत्रिम बौद्धिकताको अभाव देखिए तापनि कतै कता हामी उहाँको कवितामा बरू विरोधाभास र अत्याचारको बाहुल्य पाउँछौँ मर्मज्ञता, सरसता र सरलता पनि कविको थप गुण भएको छ । अनि काँढाज्यू काव्यात्मक अभिव्यञ्जनालाई मूर्त रूप दिन पनि धेरै सक्षम हुनुहुन्छ । संवेदन- शीलता जातिको आधार भएको छ। कबितामा कविले पनि यसैलाई ग्रहण गर्नु भएको छ। यही अर्थमा लाग्दछ : जातिगत इच्छा र प्रतीक्षालाई कविताको रूप दिने युवा सन्ततिका कवि काँडाज्यूको स्थान अकाट्य छ। यसरी उहाँसरह कविको समवर्ती अन्य कविहरूका पनि साहित्य-कीर्तिको चर्चा परिचर्चा अनि मूल्यांकन हुनु अति आवश्य देखिन्छ-समयको माग पनि यही छ ।” तर यो पुस्तकले तत्कालै प्रकाशनको मुहार देख्न पाएन । विविध कारणवश कहिले पाण्डुलिपि हराएको बहानामा, कहिले प्रकाशकको कुटिलताले उनको कृतिहरू जीवनकालमा नै प्रकाशित नहुनु ठुलो विडम्बनाको कुरा थियो ।
सन् १९२० देखि धरणीधर कोइरालाले शुरू गरेको जाति जागरण र समाज सुधारका कवितात्मक अभिव्यक्तिले अगमसिंह गिरीमा आएर परिपक्कता पाँउछ । पछि त्यही जातित्व कविताबाट बाहिर निस्केर सडकमा आन्दोलनको रूपमा प्रष्फुटित हुन्छ । कुनै समय कवि खडकसिंह राईको कविता छाप्ने ‘धुँवा’का सम्पादक सुवास घिसिङले लिन्छन् नेतृत्व स्वअस्तित्वको लडाइको सन् अस्सीको मध्यतिर । कवि ‘काँढा’ पनि गिरीको पैतालोको डोप पछ्याउँदै जातिको, अस्तित्वको कविता लेख्छन् आफ्नो बलले भ्याएसम्म । कविता लेखेर कवि काँढालाई गुमाउनु केही थिएन किनकी स्थायी जागिर थियो उनको, परिवार थियो अनि माया गर्ने साहित्यिक समाज । विभिन्न साहित्यिक कार्यक्रममा आकलझुकल देखा परेको स्मरण गर्छन् कवि मनप्रसाद सुब्बा । सन् १९८८मा ४७ वर्षको कलिलो उमेरमा नै देहत्याग गरेका कवि ‘काँढा’को सहि मूल्याङ्कन गर्छन् कवि-समालोचक मनप्रसाद सुब्बा आफ्नो पूर्ववत् लेखको अन्तिम अनुच्छेदमा, “कवि खड्गसिंह राई ‘काँढा’ कवितामै समर्पित व्यक्ति थिए। कवितामै समर्पित सबै, तर साँचो अर्थमा कवि हुन नसक्लान्, जस्तै-महाकाव्य लेखेर सबै महाकवि बन्न सक्दैनन् । कविताकारहरूको ठूलो बगालमा केही कविहरूको मात्रै विशिष्ट रूप टड्कारो देखिन्छ । त्यसै बगालमा टड्कारो देखिने एक विशिष्ट रूप हुन् कवि ‘काँढा’ ।”
लेखक परिचय
पत्रकार तथा लेखक शरद प्रधानले नेपाली र अंग्रजी दुवै भाषाका पत्रिकाको सम्पादन गरेका छन् । साहित्यका विभिन्न विधामा कलम चलाउने प्रधान रेडियो टुरिजम र एक्सेलट्रिप नेपालसँग आवद्ध छन् ।