मेलवादेवी
युग, संवत्, समय र हरेक सिजन जसरी बित्दै जान्छ।सँगैसँगै हाम्रो जीवनलीलालाई पनि विस्तारै लगीरहेको हुन्छ साल, संवत् र समयहरुले । उमेर ढल्कन्दै गएपछि हाम्रो सानोसानो सूक्ष्म मनोविज्ञानले अतितहरूलाई गहिराईसम्म पुगेर अध्यन गर्न थाल्दछ त्यो मनोविज्ञान सक्रिय हुनु हो त्यो हुनुभनेको विश्लेषणात्मक हो सङ्घातिक होइन र हामीले गुमाएका चिज, समय र अतितहरूलाई पाउन र भेट्न सक्ने छैनौँ हामीहरूले विश्लेषण मात्र गर्न सक्छौ । भविष्यलाई साङ्घातिक रूपमा उपभोग गर्दै लाने हो । किन कि जीवन एउटा लीला न हो बोध गर्दै जान्छौ हामीले । बोध भोग्नु हो चेतन, अवचेतन र अचेतन मन मस्तिष्कले मनोवैज्ञानिक रूपमा मानसिक चक्र घुमाइ रहेको हुन्छ त्यसैले हाम्रो विगत जत्तिसुकै असहज र नमीठो रहे पनि स्वादिष्ट सहज मिठो मानेर भोग्नु पर्ने नै हुन्छ भोग्दै आएका त्यस्तो विगतका क्षण हामी सबैको मन मस्तिष्कको अन्तरकुन्तरमा खाँरानीमा हराएको झरिलो आगोजस्तै भएर भित्र मन पोलिरहन्छ जसले हाम्रो जीवनका आभामन्डलसम्म पोलिनु सक्छ । जसको असरले होला मेरो पनि घटना र परिघटनाहरु मेरै जीवनको भञ्ज्याङ्हरूमा वरिपरि जहिले घुमिरहन्छन्। मेरो प्रज्ञाअक्षुको मनोविज्ञानले मानसपटलको अन्तरकुन्तरमा हरेक क्षण खोज्छ र झस्काई रहन्छ मलाई । मेरो तितो मिठो अतितहरूले क्षितिजको एक थुप्रो घुर्मैलो वादलुले चिहाए जस्तो चिहाइ रहन्छ मलाई । यी मध्येमा थियो मेरो स्वर्गीय पिताजी ले दुई सय पचास रुपैयाँमा किन्नुभएको तीन बेन्डको फ्लिप्स इन्डियन रेडियो । जुन रेडियो दिउसो फुर्सद समय र राती ओछ्यानमा चाहिँ मेरो साथमा नै हुन्थ्यो । दश बजेको समाचार पछि रेडियो नेपालबाट “अतितका गीतहरू” कार्यक्रमको नाम देखि पुरानो कर्णप्रिय गीतहरू बज्थ्यो तर त्यो रातको समय कुर्नुलाई मैले कोठाको झ्यालदेखि देखिने आकाशको झुप्रे र तीनतारे ताराहरूलाई पटकपटक गनी रहनु पर्थ्यो र बल्ल समाचारपछि गीतहरू बज्न सुरुहुन्थ्यो ।
फत्तेमान । शिवसंकर । नारायण गोपाल । प्रेमध्वज प्रधान । पुष्प नेपाली । मानसिङ थुलुङ। नातीकाजि ।सूर्य थुलुङ । अम्बर गुरुङ । गोपाल योञ्जन आदिको स्वरहरू यी प्याट्रनको संगीत २०१८ साल भन्दा अघि भारतीय रबिन्द्र संगीतको प्रभावमा सुगम संगीत हो भन्ने छ तर सुन्न धेरै राम्रो लाग्छ मलाई ।
त्यसै गरि २०२४ यताका लेकाली समुहबाट हिरण भोजपुरे । गणेश रसिक । नवीनकिसोर राई ।झलकमान गन्धर्व । उर्मिला श्रेष्ठ । निर्मला श्रेष्ठका गीतहरू सुनिन्थ्यो भने राल्फा समुह मेघराज नेपाल (मन्जुल ), रामेस श्रेष्ठ र राय्यान श्रेष्ठहरूको धेरै राम्रो गीतहरू सुन्न पाइन्थ्यो । तर २००७ चैत्र २० गते रेडियो नेपाल आधिकारिक स्थापना काल भन्दा पहिलाका गीत मेलवादेवी गुरुङ । उस्तात र रत्न दास प्रकाश जस्ता पुरानो नेपाली संगीतका गुरु हस्तीहरूको पनि कहिले काहिँ सुन्न पाइन्थ्यो । तर मैले सुनेको मध्ये मेरो बाल्यकाल मस्तिष्कमा अमेठ छाप भने “सवारी मेरो रेलैमा”, “बिरानो देशमा म मरी जाउँला रोइदिने कोही छैन” यी गीतहरू थियो स्वर किन्नरी नारीकन्ठकी रानी नेपाली संगीत शिखर भनेर चिनिनु हुने नेपालको पहिलो गायिका मेलवादेवी गुरुङ उनलाई मैले जति जाने त्यति चाहिँ लेख्दैछु ।
मेलवादेवी गुरुङ बि.सं. १९५९ सालमा पिता ज्ञानबहादुर गुरूङ (जामुने सुवेदार) र आमा सपनादेवी (सप्तदेवी)कोखबाट जेठी छोरीको रूपमा ओखलढुंगा रुम्जाटारको काफलबोट गाउँमा जन्मनु भएको थिइन् । सहज गला विशिष्ट आवाजका धनी नेपालका पहिलो प्रथम गायिका चन्द्र शम्शेरको पालामा गायिका थिइन् । यिनले १३ वर्षको उमेरमा संगीतका तालिम लिएकी थिइन् । र गायनकलाकै कारण सानै उमेरमा चन्द्र शम्शेरको दरवारमा प्रवेश पाइन् । र दरवारको एक मात्र प्रतिनिधि गायिकाको रूपमा गाउने अवसर पनि पाइन् । अत्यन्तै सुरिलो, मोहित पार्ने स्वरको धनी मेलवादेवीसित निपूर्ण मास्लर्लिङको ज्ञान पनि थियो त्यसैले चन्द्र शम्शेर र महारानी यिनी देखि अत्यन्तै प्रसन्न थिए । तर यिनको सहकर्मी तथा जुद्ध शम्शेरहरूलाई दरवारमा सहज नहुँदा स्वर बिगारी दिने अभिप्रायले पानमा कपट विष खुवाइ दिएपछि यस्तो कु चक्रको सिकारको कारणले यिनीले २२ वर्षको उमेरमा दरवार छाड्नु परेको थियो। दरवारमा हुँदा जस्तै विदेशी गायक, उस्तादहरूसँग गाउन पछि पर्दैनथिइन । यिनले दरवारमा गरेको योगदानप्रति चन्द्र शम्शेरले घर बनाइ दिएका थिए पछि यिनले भक्तकृष्ण मानन्धरसँग दोस्रो पत्नीको रूपमा विबाह गरिन र दुई छोरा, दुई छोरी सन्तान पनि भयो तर छोराहरू भने दुवै अल्पायुमा बिते जसको कारणले दम्पत्य जीवन सुखद हुन सकेन यो वियोगले
रुमली हिँड्दा संयोगवस शुक्रराज सास्त्रीसँग घनिष्ट मित्रता बन्न पुग्दा श्रीमानको कड्के नजरको संखालु हेराईमा परेपछि मेलवादेवी नाबालक छोरीहरू च्यापी मातृभूमी नेपाल त्यागेर भारतको कलकत्ता पुगिन् । “हिज मास्टर भ्वाइस कम्पनी”मा पुगि पहिलो गीत “सवारी मेरो रेलैमा” रेकर्ड गरी उक्त गीत देखि चर्चा कमाएकी थिइन् ।
प्रथम नेपाली गायिका मेलवादेवीको गीत “सवारी मेरो रेलैमा” (भिडियो सौजन्य Ajambarinepal)
छोरी बिमला दीक्षित अनुसार नेपाली गीत डिस् कमा रेकर्ड गर्ने पहिलो नेपाली महिला उनी नै थिइन् ।स्वदेशीभाषामा गीत गाएर अलग भूमीबाट उनले सारा नेपाली मनलाई उत्प्रेरणा दिने काम गरेकी थिइन् । हिन्दी गीतहरू गाएर विदेशीहरूको मन जित्न सफल भइन् ।इलाहाबाद सङ्गीत सम्मेलनले त उनलाई ‘ठुमरीकी रानी’को दर्जा पनि प्रदान गरेको थियो ।
राईगडमा पनि हिन्दीमा “प्रेमके पुकार” जस्ता गीतहरू गाएर स्वर्ण पदक हात पारेकी थिइन् । दर्जनौंको संख्या शिष्यहरू विदेशी माटोमा नै बनाएकी थिइन् । तर दु:खको कुरो नेपालमा अहिलेसम्म उनको कुनै पनि प्रभाव देखिन्दैन एउटा देखिएको नवराज ढकाल हो भन्नेसम्म सुनिन्छ यो पनि अपुष्ट छ अझै त अहिलेका नेपाली कलाकार ‘उस्ताद हुँ’ भन्नेहरूले त नामसम्म लिँदैनन्,जान्दैनन् कि चिन्दैनन् । कोलकता गएर उनी मेलवा भनेर भन्दा पनि सुलभा भनेर परिचित बनिन् । नाम फेर्नको रहस्य दरवारीय राणाहरूको षडयन्त्रदेखि बाच्नु नाम फेर्नु परेको भन्ने छ ।
यिनीले सबै गाउने सैलीलाई मान्यता दिएकी हुँदा मुनामदनको गीति अंश लोक गायक धर्मराज थापासँग पनि गाएकी थिइन् । उनले जीवनयापनको निम्ति गीतसंगीत नै प्रमुख आधार बनाएर आफ्नो छोरीहरूको पनि विवाह कर्म गरी दिइन् । दुर्भाग्यवश उनी नेपाली मिति २०१२सालमा ५३ वर्षको उमेरमा भारतको कोलकतामा आफ्नै कोठामा स्टोभ पड्केर अल्पायुमै देहान्त हुन् पुगिन ।
आज मेलवादेवी हामीहरूबीच हुनुहुन्न तर नेपाली गीतसंगीतमा उनको अतुलनीय योगदान रहेको छ । यो कुरा हामीले कहिल्यै बिर्सनुहुँन्न। त्यसैले होला मलाई उनले गाएकी गीत नै प्रिय लाग्छ ।“बिरानो देशमा मै मरी जाउलानी” आखिरीमा उनको निम्ति यो गीत नै सत्यमा रुपान्तरण हुन् पुग्यो बिरानो देशमा नै इहलिला त्याग्नु पर्यो । उनलाई वर्तमान नेपाली गीतसंगीत र यो पिँढीले नदेखे पनि इतिहासमा एकदिन झरिलो जून भै पूर्वी क्षितिजबाट उदाउने छिन मेलवादेवी गुरुङ ।
लेखक परिचय
सिरेन वान्तावा कविता, नाटक, गीत, कथा (पर्यावरणीय लेखनमा साधनारत)मा कलम चलाउछन् । हाल सम्म उनका निशा पछिको निशान्त (नाटक) – २०५४, गीती एल्बम– बादलुको छाँयामुनि (२०७७), कृति प्रकाशित छन् भने कविता सङ्ग्रह बसाइँ हिड्ने आकास प्रकाशोन्मुख रहेको छ ।