अठारौँ शताब्दीको अन्त तिर नेपालले सिक्किमको केही भूभागमा विजय पाएपछि कालान्तरमा नेपलीहरूको बसोबास सिक्किममा बढ्दै गएको तथ्य विभित्र पुस्तकहरूमा फेला पार्न सकिन्छ । सन् १८६१ मा ब्रिटिस र सिक्किमबीच एउटा सन्धी हुन्छ । त्यो सन्धीकै आधारमा पछि ब्रिटिसले सिक्किममा नेपाली मूलका मानिसहरूलाई सिक्किममा बसाईँ सर्न प्रोहोत्सान गर्छ । फलस्वरुप नेपालहरूले सिक्किमको राज्यव्यवस्थाको विभिन्न तह र तप्कामा काम र व्यापार गर्ने अवसर पाए । तत्कालिन ब्रिटिस साम्राज्यको अधिनमा रहेको कैयन राज्यहरू (राजा भएको राज्य)मा अंग्रेज सरकारको प्रत्यक्ष निगरानी थियो तर सिक्किमलाई छुट्टै देशको पूर्ण मान्यता नदिए पनि निक्कै स्वशासनको सुविधा दिएको थियो । यो व्यवस्थाले सिक्किमलाई केही फाइदा भए पनि भारतको अरु राज्यमा जस्तो शिक्षाको प्रचार प्रसार हुनबाट बञ्चित भए र पूर्वाधार विकासमा कमै सहयोग भयो । फलस्वरुप शिक्षाको अभावमा नेपाली साहित्यले सिक्किममा निकै पछि मात्रै प्रवेश पायो । भारतको अरु प्रान्तमा नेपाली साहित्यले पाइला टेकेको करिब ४० वर्षपछि मात्र सिक्किममा नेपाली साहित्य उदाए । नेपालबाट गएका जोसमनि संन्त ज्ञानदिलदास सिक्किममा नै जीवनको उत्तरार्ध बिताए पनि उनले रचना गरेको ‘उदय लहरी’लाई सिक्किमको साहित्य मान्न सकिन्दैन । मुर्धन्य समालोचक रामकृष्ण शर्माले सन् १८७७-मा ‘उदय लहरी’ लेखेको जानकारी दिए पनि उनले यसलाई साहित्यको उदय सूचक होइन धार्मिक उदय सूचक हो भनेर लेखेका छन् र मदन पुरस्कार पाएको पुस्तक जोसमनी सन्त–परम्परा र साहित्य’-मा साहित्यकार जनकलाल शर्माले यो सिक्किकमा होइन दार्जिलिङको रङबुलमा लेखेको जानकारी दिएका छन् । गोपाल प्रसाद दाहालले ‘स्रष्ट्रा’-को वर्ष ६, अंक १८, सन १९८५-मा प्रकाशित ‘सिक्किमको नेपाली साहित्यमा कविताः एक सर्वेक्षण’-मा लेखे अनुसार सन् १९१९-मा प्रसादसिंह नेचालीको ‘प्रीतिलहरी’ प्रकाशित भएको थियो भनेर लेखेका छन् । छत्रनरसिंह शाक्यवंशले ‘प्रज्ञा’-को १०५ अंकमा प्रकाशित एउटा लेखमा श्यामदास राईको ‘अद्वैत दर्शन’ (कविता)को हस्तलिखित पुस्तक सन् १९४० र चन्द्रदास सापकोटाको ‘ज्ञान विनोद’ कविता संग्रह सन् १९४४-मा निकालेको जानकारी दिन्छन् । चन्द्रदासको कविता संग्रहलाई नै सिक्किमको पहिलो नेपाली कविता संग्रहको मान्यता दिएका छन् । सन् १९४७-मा मनोरथ दाहाल रचित ‘उद्धेश्य भाषा श्लोक’ कविताले शिक्षा, संस्कृति, धार्मिक-आध्यात्मिक चेतना फैलाउने उदेशयले लेखेको देखिन्छ । तर सिक्किममा नेपाली साहित्यको वास्तविक अभ्युत्थानचाँहि ११ अप्रेल सन् १९४७-मा अपतन साहित्य परिषद्को स्थापना भए पश्यात नै भएको मान्न सकिन्छ । अगमसिंह तामाङ, पदमबहादुर सुब्बा, तुलसीबहादुर छेत्री र नीमा बाङदी तार्गेन लाप्चे मिलेर संयुक्तरुपमा बनेको अपतन समुहले यो भन्दा पहिले आफ्ना गतिविधिहरू गोप्यरुपमा राखेर साहित्य सिर्जना गरिरहेका थियो । अगमसिंह तामाङ र पदमबहादुर सुब्बा सिक्किमकै थिए भने तुलसीबहादुर छेत्री र नीमा बाङदी तार्गेन लाप्चे भारतको । चारै जनाको भेट टासी नामग्याल विद्यालयमा भएको थियो र संयोगवश चारैजना त्यहाँ अध्यापन गर्थे । उनीहरूले लेखेको कविताहरू हस्तलिखित पत्रिका- अमूल्य रत्न र फुलबारीमा अपतनको नाममा छापिरहे । ९ अक्टोबर १९४७-मा मात्रै एउटा औपचारिक सभा मार्फत अपतन साहित्य परिषद्को उदेशय र कार्यक्रम सार्वजनिक गरे । अनि फेरि जोडिए रश्मिप्रसाद आले, काशीराज प्रधान, शिवनाथ मिश्र, रामदत्तलाल ठाकुर, चन्द्रदास राई, हरिप्रसाद प्रधान आदि । यस संस्थाले प्रत्येक सप्ताह साहित्यिक गोष्ठीको आयोजना गर्ने गर्थे । उक्त गोष्ठीमा पाठ गरिएका राम्रा रचनाहरूलाई भूपाल लामिछानेको सुन्दर हस्ताक्षरमा लेखिन्थ्यो अनि ‘अमूल्य रत्न’ नामक हस्तलिखित पत्रिकामा प्रकाशन गरिन्थ्यो । पछिबाट यस संस्थाले शिवनाथ मिश्र र तुलसीबहादुर छेत्रीको सम्पादनमा सन् १९५१-मा इन्द्रकील पुष्पाञ्जली कविता संग्रह प्रकाशित गरे । शिवनाथ त्यस ताका टासी नामगेल विद्यालयका प्रधान अध्यापक थिए अनि अनेपाली भए पनि छन्दमा कविता लेख्थे नेपालीमा । गद्य कविता लेखनको परम्परा शुरु नभएकोले सबैले छन्दबद्ध पद्यकविता मात्र लेख्ने चलन थियो त्यस बखत । यहि अपतकका एउटा प्रमूख खम्बा थिए अगमसिंह तामाङ । तर अपतन साहित्य परिषद्को गतिविधि ८ वर्षसम्म मात्र चल्न सक्यो । सन् १९४९-मा विशेषकामले नीमा बाङदी तार्गेन लाप्चे सिक्किम छोडे, अगमसिंह तामाङ सन् १९५२-मा सरुवा भइ नाम्ची गए भने तुलसीबहादुर छेत्री दार्जिलिङ महाविद्यालयमा प्राध्यापक भएर सन् १९५३ दार्जिलिङ गए । जेनतेन चलिरहेको अपतन साहित्य परिषद् पदमबहादुर सुब्बा शिक्षक प्रशिक्षणको निम्ति बार्धा गएपछि यो औपचारिक रुपमा नै समाप्त हुन्छ । यहि सन्दर्भमा यहाँ अपतनका तुलसीबहादुर छेत्री र पदमबहादुर सुब्बाले भवानी धिमिरेको सम्पादकत्वमा प्रकाशित हुने ‘भानु’-को सिक्किम विशेषाङ्कमा अपतन केन्द्रित आफ्नो संस्मरण लेखेका छन र ती लेखहरूका केही अंश यँहा राख्नु उपयुक्त ठान्छु । मेरो जीवनको सिक्किमसंगको साइनो’-मा तुलसीबहादुर छेत्री लेख्छन्, “हामी नामग्याल स्कूलकै बराबर भेट्न थाल्यौँ । आफ्ना रचनाहरू सुनाउन थाल्यौँ । वातावरण बन्दै गयो, एवं रीतले हाम्रो संख्यामा बढोत्तरी हुँदै गयो । हामी नियमित रूपले नेपाली साहित्यको चर्चा गर्न थाल्यौँ । सिक्किममा साहित्यिक चेतना क्रमिक रूपमा बढ्न थाल्यो । सिक्किमसँग मेरो साइनो नगाँसिएको भए अपतनको ऐतिहासिक भूमिकामा म सम्मिलित हुनसक्ने थिइनँ । यो सम्झदा पनि आनन्दानुभूति हुन्छ । ‘अपतन’को स्थापना गर्दा सबै प्रवृद्ध, व्यक्तिहरूलाई आमन्त्रण गरेर संस्थाको घोषणा गरिएको हो तर हाम्रो नियन्त्रणामा सिक्किमका राजा र राजपरिवारका सदस्यहरूको चाहिँ उपस्थिति भएन । अरू गन्यमान्यको उपस्थिति राम्रो भए पनि राजपरिवारको कोही उपस्थित नहुँदा ‘अपतन’ को स्थापनाबाट उनीहरू त्यति प्रसन्न भएजस्तो लागेन । तर त्यताबाट कुनै विध्न बाधा आइपरेको भन्ने मलाई सम्झना छैन ।
‘अपतन’ को स्थापना भएपछि सिक्किममा ‘कंचनजंघा’-को प्रकाशन शुरू भयो- काशीराज प्रधानको सम्पादकत्वमा । त्यसैबेला कंचनजंघामा मेरा पनि गद्य-पद्य रचनाहरू छापिएको मलाई सम्झना हुन्छ । सिक्किममा अप्ठ्यारो परिस्थितिमा साहित्य संगठनको आधार अपतन साहित्य परिषद्ले नै खडा गर्यो र त्यस्तो समयमा कंचनजंघाको प्रकाशनबाट साहित्यिक प्रतिभाहरूलाई प्रकाशनको आधार बन्न गयो । यी दुई घटना अविस्मरणीय छन् ।“
पदमबहादुर सुब्बा सिक्किमका एक प्रबुद्ध व्यक्तित्व हुन जो अपतन साहित्य परिषद्को संस्थापक सदस्य मध्येमा एक थिए । ‘सिक्किमको साहित्यिक इतिहासका सन्दर्भमा अपतन साहित्य परिषदको भूमिका’-मा सुब्बा लेख्छन्, “अपतनको साप्ताहिक सभा भई नै रहन्थियो । यस्ता सभामा विशेष साहिय गोष्ठी हुन्थे । यस बाहेक समय समयमा अपतनले साहित्यिक व्यक्तिहरूलाई स्वागत गर्ने गथ्र्यो । यस्ता साहित्यिक व्यक्तिहरूमा कविवर महानन्द सापकोटा, इतिहासकार बालचन्द्र शर्मा, कृष्णप्रसाद भट्टराई (त्यसबेला युगवाणी सम्पादक मण्डलका सदस्य ), महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाटककार तथा कवि बालकृष्ण समलाई स्वागत गर्ने अवसर अपतनलाई प्राप्त भएको थियो । १९५१ ई. मा अपतनबाट ‘इन्द्रकील पुष्पाञ्जली’ प्रकाशित भयो । यसमा अपतनका सदस्यहरू सामेल थिए । यस बाहेक समय समयमा कतिपय नाटकहरूको प्रदर्शन पनि भयो । यी नाटकहरूमा मुकुन्द इन्दिरा, हरिश्चन्द्र र कमल नै मुख्य थिए । अपतनसम्बन्धी लेख्नुपर्दा पण्डित शिवनाथ मिश्रबाट धेरै नै उत्साह प्राप्त भएको सम्झिन्छु । श्री तुलसीबहादुर छेत्री अपतनलाई सञ्चालन गर्न सधैँ नै दृढ संकल्पित थिए । उनीबाट अरू सदस्यवर्गले केही न केही लेख्न प्रोत्साहन पाइरहन्थे । अगमसिंह तामाङ एक कुशल सङ्गीतकार एवं कवि भएको हुँदा अपतनलाई गतिशील बनाउन धेरै नै सघाउ पुगेको थियो । श्री रामदत्तलाल ठाकुरले पनि केही न केही कविताको रचना गरिरहन्थे ।”
सिक्किमको रमणिय थलो नाम्चीमा जन्मेका अगमसिंह जन्मनुभन्दा अगावै पिता गुमाउनु परेको थियो र पाँच वर्षको उमेरमा आमा पनि गुमाउनुले उनको बाल्यकाल मानसिकरुपले निकै कठिन थियो । तर हजुरबुवा( जो बढाहाकिम थिए) र फुपुहरूको वात्सल्य र अभिभावत्वले अगमसिंह तामाङलाई माता-पितामको कमि हुन दिएन र त्यसबेला प्रचलन अनुसार उनलाई बौद्ध धर्म सम्बन्धित पुस्तक र तिब्बती भाषा अध्यन गराए । नँया युगको चुनौतीसँग जुझ्न ती ज्ञानहरू पर्याप्त नहुने ठानेर उनको अभिभावकहरूले अगमसिंह तामाङलाई दार्जिलिङमा पढ्न पठाए र भोटे बस्तीमा बसेर सन्त जोसेफ स्कुलमा अध्ययन गरे । त्यस बखत भोटबस्तीमा पढ्ने वातावरण अत्यन्त राम्रो थियो, उनको समकालिन मित्रहरू पनि पढाइमा अब्बल थिए । कुनै समय गंगाप्रसाद प्रधान पनि त्यहि बसेका थिए । उनीभन्दा केही वर्ष कनिष्ट प्रसिद्ध उपन्याकार प्रकाश कोविद, कथाकार तिलक राई, गीतकार चन्द्रमित लकसम, निबन्धकार फटिकधर ब्राहम्ण, कथाकार धुनुवर मुखिया भोटे बस्तीकै उपज हो । उनको समकालिन कवि वीरेन्द्र भोटे बस्तीसँगै जोडेको गाउँ लिम्बु बस्तीमा बस्थे जून गाउँमा लेखिका पारिजातले निकै लामो समय बिताएकी थिइ । भोटबस्तीमा त्यो समयमा पनि म्याट्रिक पास गर्नेहरू निकै थिए । शैक्षिक रुपले जागरुक ठाँउमा बसेर पढ्न पाएर पनि होला उनमा साहित्यिक चेतना सानै उमेरमा आयो । सन् १९४४-मा आई.एसी उतिर्ण भएर गान्तोकमा शिक्षकको नियुक्ति लिए । त्यो समय अगमसिंह तामाङको निम्ति अत्यन्त उरवर रह्यो । तुलसीबहादुर छेत्रीबाहेक त्यो समय नेपाली साहित्य सम्मेलनका संस्थापक अध्यक्ष हरिप्रसाद प्रधान पनि ब्रिटिस सरकारको कोपभाजनमा परि कलकत्तामा धरणीधर कोइराला, सूर्यविक्रम ज्ञावालीसँगै कारागारबाट छुटेर सिक्किममा निर्वाशित जीवन बिताइरहेका थिए ।
अगमसिंह तामाङको सृजनालाई दुई खण्डमा बाढ्न सकिन्छः अपतनकाल अनि त्यस पछि । अपतनकाल ६ वर्षसम्म रहेको जानकारी पाइन्छ । तुलसीबाहदुर सर दार्जिलिङ सरकारी महाविद्यालयमा प्राद्यापनको निम्ति सन् १९५३-मा दार्जिलिङ आएपछि अपतन बिस्तारै सुस्तएर जान्छ अनि सन् १९५५-मा यसले पूर्ण विराम लिन्छ । अगमसिंह तामाङको कविता सहित सन् १९५१-मा इन्द्रकील पुष्पाञ्जली कविता संग्रह प्रकाशित भयो । समाज सुधार, जातिय भावनाले निकै प्रभाव परेकोले त्यो तिर उन्मुख गराउन नाटक एउटा उपयुक्त माध्यम ठानेर नाटक तिर कलम थाले तुलसीबहादुर छेत्रीले अनि जन्म भयो नाटक ‘कमल’ । यो नाटक सन् १९५३-मा निजिरुपमा नै प्रकाशित हुन्छ । अपतनका सहकर्मि अगमसिंह तामाङको ९ वटा गीत रहेको यो नाटकले शिक्षा प्रसारमा जोड दिएका थिए । कविताको सँगसँगै गीत लेखे, संगीत दिए अनि कतिपयमा स्वर पनि दिए तामङले । अगमसिंह तामाङले सिक्किममा सामन्ती शासन र समाज देखे, ठेकेदारी प्रथाको कुरुप अनुहार पनि देखे । आफ्नै हजुरबुवाकोमा न्यायका लागि आउने देखे, शोषित वर्ग शिक्षा र स्वास्थबाट बञ्चित भएको देखे । राजाले दिएको ठेकेदारी प्रथाबाट धेरै जनताहरू शोषित भए । यो कुराले उनको मनमा गहिरो छाप परेको थियो । यही कुराहरू उनको कतिपय कविताहरूमा प्रतिबिम्बित हुनु स्वभाविक पनि हो । उनको कवितामा लेखनाथ पौड्यालले राणा शासन विरुद्ध लेखेका प्रतिकात्मक कवितामा जस्तै सुक्ष्म विद्रोहको गन्ध पाइन्छ । ‘भिकारी’ कवितामा उनी लेख्छन्,’
दिएर परिचय भिक्षु जीवनको
लिई सन्देश दरिद्रताको ।
व्यथा प्रचारी शुष्क देशको
शोषण अत्यचारी ।
हेर सखे लौ एक भिखारी
आयो हात पसारी ।।
तन छ भिखारी, मन छ भिखारी
सारा जनता भए भिखारी ।
भयो भिखारी आज देश नै
चुप्छौ किन नर-नारी ?
आर्तनाद गरी मुक्त-कण्ठले ।।
आयो एक भिखारी ।।
सिक्किममा नेपाली साहित्यको अपतनबाट अधिकारिकरुपमा शुरु हुँदा दार्जिलिङमा नेपाली साहित्यको दोस्रो चरण भरखरै बामेसर्दै थियो । दार्जिलिङमा गति लइरहेको नेपाल साहित्यको लहरको प्रभाव सिक्किममा पर्नु स्वभाविक हो । सन् १९५०-मा बिहे गरेपछि अगमसिंह तामाङ सरुवा लिएर सन् १९५२-मा नाम्चि पुनः फर्किन्छ । नाम्चिमा दुवै दम्पन्ती शिक्षकको रुपमा काम गर्छ र दुवैको सक्रियतामा ‘हरिचन्द्र’ र ‘कमल’ नाटक मञ्चन गर्छन् । तर उनले शिक्षक जीबनलाई सन् १९५९-मा नै तिलान्ञलि दिएर आफ्नु हजुरबुवालाई सहयोग गर्छ उनको ठेकापट्टामा ।
अगमसिंह तामाङको बाल-संगीत नामक कविता ‘भारती’ वर्ष ७, नभेम्बर- दिसम्बर १९५५( कार्तिक-मंसिर २०१२) मा प्रकाशित हुन्छ । उक्त बाल कविता विद्यार्थीहरूलाई उप्रेरणा गर्ने खालको थियो । छन्दमा लेखिएको त्यो कविता अनुकरण शब्दहरूको पनि प्रयोग गरेको पाइन्छ । कविता यस्तो छ :
पढ्ने बेलामा पढ़ नानी हो,
खेल्ने बेलामा खेल हो ।
सफल जीवनको राह चाहि हो
जीवन हाम्रो रेल हो ।।
छक…छक…छक…छक…
हाँसीहाँसी कदम बढ़ाऊ
आँधी होस् वा भेल हो ।
पल भर पनि, नरुक नानी !
यो तूफान मेल हो॥
जीवन हाम्रो रेल हो ।
छक…छक…छक…छक…
बाटाभरी छन् काँडा-घारी
कुल्ची मिल्ची पेल हो।
हिम्मत बटोली, बन हे बालक !
गांधी, नेहरू, पटेल हो ।।
जीवन हाम्रो रेल हो।
छक…छक…छक…छक…
धिप्-धिप जीवन उज्ज्वल पानें,
विद्या नै एक तेल हो।
लेख पढ़ अनि ज्ञान बनाऊ
जगमा बाँचुन्जेल हो ॥
जीवन हाम्रो रेल हो
छक…छक…छक…छक…
उनले लेखेको बाल गीत र भजनहरू सिक्किमको विभित्र विद्यालयमा गाइन्थियो भन्ने कुरा सुनेको थिए । तामाङज्यूले लेख्नुभएको सिक्किम वन्दना कुनै बेला निकै चर्चित थियो ।
सिक्किम जननी गर्छौ पुकार
गाउँछौं जय जयकार
सिक्किम माता देश प्यारा
यही कुरोलाई स्मरण गर्दै भाषा संग्रामी एंव भारतको पूर्व सांसद दिलकुमारी भण्डारी दश जुन २०२१-को आफ्नो फेसबुक स्टाटसमा लेख्छिन्,” यहाँ एउटा सत्य उजागर गर्न चाहन्छु- मैले सिक्किमको च्याखुंग जुनियर हाईस्कूल, रॅगेली जुनियर हाई स्कूलपछि नाम्चि हायर सेकेनडेरी स्कूलसम्म कार्यरत रहँदा राष्ट्रगाणको रूपमा बुमटार नाम्चि निवासी स्व. अगमसिंह तामांङ अपतनद्वारा रचित गीत गाउथ्यौं।“ पछि यो गीतलाई सिक्केमेली भाषाको राष्ट्र गीतले विस्थापित गरेको र सन् १९७१ पछि भारतसँग विलय भए सँगै त्यो गीत पनि विलय भएको जानकारी दिन्छे दिलकुमारी भण्डारी ।
देशभक्ति त थियो नै अगमसिंह तामाङमा, उनमा जातिय चेत पनि थियो । जातिय चेत भन्नाले सिक्किममा बसोबास गर्ने सबै जातिको सामुहिक प्रतिनिधित्व गर्थे अगमसिंह तामाङ । तत्कालिन सिक्किममा नेपाली भाषा शासकको भाषा थिएन । लेप्चा र भुटीया त्यहाँ अभिजात वर्गले बोलिने भाषा भएकोले नेपाली भाषाको अभ्युन्नति हुन सहज थिएन । अगमसिंह तामाङजस्ता स्रष्ट्रा जसको मातृभाषा नेपाली थिएन नेपाली साहित्यमा लाग्नु निकै कठिन थियो । भारत स्वतन्त्र भएर प्रजातान्त्रिक अभ्यासमा आए पनि सिक्किममा अझै पनि सामान्ती राज व्याप्त भएकोले अगमसिंह तामाङ निकै आक्रोशित हुन्छ । अगमसिंह तामाङको यस्तो अद्भुत जातिय र वर्गिय प्रेमले ओतप्रोत भएको कविता निकै घत लाग्दो छ ।
अगमसिंह तामाङको कवितामा स्वच्छन्दता निहित छ भने छायाँवादको छायाँ पनि प्रशस्त पाइन्छ । भारतमा भक्तिकाल लेखिएको कवितामा प्रेममा आध्यत्मकता पाइन्छ । मिराबाई, सुरदास, तुलसीदास, रहिम, कबिरको दोहा र कविताहरूमा ज्ञानको भन्दा प्रेम र आध्यात्मकताको बाहुल्य पाउछौँ । त्यहि भावमा अगमसिंह तामाङले पनि कविता लेख्छन् ‘तिमी र म’ । ‘भारती’-को वर्ष २, संख्या ४ मा प्रकाशित यो कवितामा त्यो भावभङ्गी अनुभुति गर्न पाइन्छ ।
(१)
जीवन सागर नीलो गहिरो
पुग्नै पर्ने रे उस पार।
वन प्रिय ! डुङ्गा, बहाना मेरो
म हुन्छु तिम्रो खेवनहार ।।
(२)
जीवन विस्तृत मरूभूमिमा
म एक बटुवा दग्ध उदासी ।
मन्द पवन भै, नित्य बही रह
म हिँडछु हरदम हाँसी हाँसी ।।
(३)
अन्धो भए म, नेत्र तिमी बन
लाठी बनेर देउ सहारा ।
सुखमय, दुखमय राग अलापी
पार गरौं यो जीवन धारा ।।
(४)
तिरिरिरि वंशी, बन प्रिये मेरो
म हुन्छु मस्त वंशरीवाला ।
राग, रागिनी, बोल, स्वर तिमी
बजाउँछु लय म, मधुर निराला ।।
अगमसिंह तामाङ परिवारिक कारणले आफ्नो पुर्खेली थलो नाम्चीमा सरुवा लिएर जान्छ तर अपतनबाट छुटिएर गए पनि उनले काव्य साधनालाई निरन्तरता दिइरहन्छ । यसबारे ‘प्रक्रिया’-मा प्रकाशित ‘कवि अगमसिंह तामाङ र उनका कृतिमाथि केहि चर्चा’ लेखमा प्रेम थुलुङ लेख्छन्, “नाम्ची आएर पनि उनले धेरै कविता रचना गरेका थिए तर ती सबै अब अप्राप्य छन् । उनका कवितामा मिठास छ, भाव र कल्पना दुवै आपस्तमा हाते- मालो गर्दै हिँडेका छन् । विचारमा स्पष्टता छ । अनौचित्य एवम् दोषले कवितामा स्थान पाएको छैन । शब्दहरू लय र प्रवाहमा सुन्दर र सुनियोजित देखिन्छन् । ‘निवेदन’ कवितालाई लिएर हेर्दा प्रारम्भमा उनले वाणिक छन्दलाई अंगीकार गरेको अनुभव भएता पनि त्यसपछिका कविताहरू मात्रिक छन्दमा सलल बगेका देखिन्छन् । कहींकहीं छन्दोभङ्ग जस्तो देखिएता पनि लयमा टम्म मिलेका देखिन्छन् । सम्भवतः रचना समय उनलाई संगीतले बड्ता आकर्षण गर्दथ्यो ।”
अगमसिंह तामाङ कविता करूण रसले भरेको, दीनदु:खी प्रतिको समवेदना, जनताले भोग्नु परेको कष्ट, जीवन प्रतिको तिक्तता, नैरास्य आदिले भरिएको पाउँछौ । सिद्धिचरण श्रेष्ठ, लक्क्षीप्रसाद देवकोटा, बालकृष्ण सम, लेखनाथ पौड्यालको प्रभाव अगमसिंह तामाङको कवितामा पनि देखिनु अस्वभाविक मान्न सकिन्न । सिक्किममा नै बसे पनि भारत र नेपालमा आएको राजनैतिक परिवर्तन र त्यस्ले जनतालाई गरेको सशक्तिकरणको प्रभाव उनमा पर्नु कुनै अनौठो कुरो थिएन । उनको वि.सं. २००३-मा छापिएको ‘मांग्नेको गीत’ कविता यस्को द्योतक हो ।
‘कवि अगमसिंह तामाङ र उनका कृति’ नामक पुस्तक लेख्नु भएको छ प्रेम थुर्लुङले । उक्त पुस्तकमा प्रेम थुर्लुङले अगमसिंह तामाङको जीवनी र कृतिहरूको लामो समीक्षा गरेका छन् र उनका दूर्लभ कविताहरू पनि राखिएको छन् । अगमसिंह तामाङको मृत्यु भएको ५० वर्षपछि उनको सहि मूल्याङ्कन भएको समालोचक पेम्पा तामाङ व्यक्त गर्नु हुन्छ । पेम्पा तामाङ अनुसार सरकारी स्तरबाटै उनको कृतिहरू प्रकाशनमा ल्याउन जरुरी छ ।
त्यही पुस्तकमा प्रेम थुर्लुङ लेख्छन्,” ‘राष्ट्रिय पथिक’, ‘भिखारी’-लाई त्यस समयको विकट परिस्थितिमा राखेर राम्ररी केलाई हेर्दा आफ्ना देश र यहाँका जनताबारे उनले जे सोचेका थिए त्यो स्पष्ट हुन आउछ । कसले भन्न सक्छ, उनको विचारमा दृढ़ संकल्प छैन ?
उनको ‘युग सन्देश’ नामक कविताको रचनाकाल मई १९५१ भनी आफ्नै हस्ताक्षरमा लेखिएको पाइएको छ । त्यस बेलाको परिस्थितिलाई ध्यानमा राख्दा उक्त कविता नेपालको वि० संवत् २००७ -को सफल क्रान्तिबारे लेखिएता पनि यस कवितालाई यस कविताको आत्माले सम्भवतः उनले प्रकाशमा ल्याएनन् । सिक्किमको परिवेशलाई कही कही पिरोल्न सक्थ्यो। जस्तै-
गुज्यो अम्बर थों धरणी
काँप्यो राज्य कैलाश
शोषित बन्धन छिन्न भिन्न भो
मिट्यो अन्याय त्रास ॥
अगमका प्रायः धेरै जसो कविताहरूले यहाँको माटो, खोला-नाला, झरना, गाउँ -बस्ती, त्यौहार, साधारण जीवनबारे नै बोलिरहेका देखिन्छ । उनको भावुकताले सधैँ सत्यता र इमानदारीपन बोलेको पाइन्छ । यस कालका सिक्किमका कवि- मध्ये देशका विभिन्न समस्याहरू लिएर कारणसहित उत्थानका निम्ति घच्घचाउने सहज र स्वाभाविक कवि उनी ने थिए भन्दा त्यस बेलाका कविहरूप्रति अन्याय हुन नजाला ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रसिद्ध कविता हो ‘भिखारी’, अनि यो कविता वि.स १९९७ आश्विनको ‘शारदा’-को ६:६ अंकमा प्रकाशित भएको थियो । सोही शीर्षकमा अगमसिंह तामाङले पनि कविता लेखे जो वि.सं. २००७ सालमा प्रकाशित ‘इन्द्रकील पुष्पाञ्जलि’-मा संकलित छ । तामाङको कविता पढ्दा उनी देवकोटाको शैली र भावबाट निकै प्रभावित देखिन्छ । देवकोटाको भिखारीको पहिलो खण्ड यस्तो छः
(१)
हेर भिखारी अडि अडि आयो
करुण दृष्टिले नजर उठायो।
गाढा दु:खको मौन प्रकाश ।
झिना आशा-तार बजायो
घाम उज्यालो आँगन पास ।
एक बिन्दुमा गोल खसायो
जीवनको इतिहास ।
अगमसिंह तामाङको ‘भिखारी’ कविताको केही अंश यस्तो छः
हेर सखे लौ एक भिखारी
आयो हात पसारी ।
(१)
अर्द्धनग्न शरीर कँपाई,
थर्हरि नित्य थहराई,
पलपल क्षणमा ठोकर खाई
बोकी जीवन भारी ।
हेर सखे लौ एक भिखारी
आयो हात पसारी ।।
(२)
एक मुठिकै आश लिएर
झूत्रे, थाङने झोली भिरेर
केवल लट्ठी लिई सहारा
निर्बल देह घिसारी ।
गली-गलीमा अलख जगाई
आयो एक भिखारी ।।
(३)
लिई नयनमा दुखको बाढ़ी
निशदिन हाँक्दै जीवन-गाड़ी
नीरस जीवन मरूभूमिमा
खोज्दै शान्ति-छहारी
हेर सखे लौ एक भिखारी
आयो हात पसारी ।।
अगमसिंह तामाङका धेरै कविताहरू अप्राप्य भएको जानकारहरू बताउँछन् । धेरै हराए, केही खोज्न बाँकी नै होला । कतिपय कविताहरू उनको मृत्यपछि प्रकाशित भएका छन् । त्यस मध्ये ‘सुनाखरी’ पत्रिकाको पौष २०२४, डिसेम्बर १९ मा प्रकाशित ‘कसूर नै मेरो के थियो ?’ रुमानी भाव भङ्गीमा लेखिएको कविता हो
लगाउँछौ दोष मलाई,
देख्दिनौ तिमी नादानी
‘कठोर’ मलाई भन्दछ्यौ,
तिनै छ हृदय पाषाणी
झर्केर तिमी बोल्दछ्यौ,
अमृत विन्दु पोखियो
तर्केर तिमी हिंड्दछयौ,
“कसूर
नै मेरो के थियो ?”
जिन्दगी आधा बिताएँ,
यो तिनै इन्तजारमा
म हेर्थे राह दिन राती,
बसी प्रीतको द्वारमा ।
प्रतीक्षा गर्दा गर्दा नै,
पापीष्ठ बादल ढाकियो
आँखाले देख्न छाडियो,
“कसूर नै मेरो के थियो ?
अगमसिंह तामाङ र अगमसिंह गिरीको कविता यात्रा प्राय एकै समयमा नै भएको पाउँछौ । गिरीभन्दा दुई वर्ष जेठा अगमसिंहको प्रारम्भिककालको कविताहरू गिरीजस्तै जनजीवनलाई छुने, जातिप्रतिको जागरुकता अनि दीनहीनप्रति सहानुभूति आदि तत्वहरू फेला पर्छ । तर तामाङ सिक्किमको नाम्चीमा बसेको हुनाले गिरीजस्तै साहित्यिक हस्तीहरूसँग सहकार्य गर्न पाएनन्, प्रकाशनको सुविधा पाएनन् । दार्जिलिङमा आएको सन् पचास र साठ्ठीको साहित्य लहर र तरङ्गको उपभोग गर्न पाएनन् अगमसिंह तामाङले तर गिरीले गर्न पाए । अपतनका त- तुलसीनहादुर छेत्रीको परिपक्कताको फाइदा गिरीलाई भयो, इन्द्रबहादुर राईजस्ता आयामिक व्यक्तित्वसँग संगत गर्न पाए गिरीले तर पाएनन् तामाङले ।
अमगसिंह तामाङले दिएको योगदान चर्चा सिक्किम र सिक्किमबाहिरका नेपाली भाषीहरू माझ हुनु जरुरी छ । विगत केही दशकदेखि सिक्किममा आएको साहित्यिक चेतना र सरकारी स्तरबाटै हुने कार्यक्रम गोष्ठीहरूमा उनको चर्चा हुनु जरुरी देखिन्छ । उनीसँगै अपतनले सिक्किमको नेपाली साहित्यमा ल्याएको परिवर्तनलाई स्वीकारदै सिक्किम विश्वविद्यालयको नेपाली विभागले उनीहरूमाथि अनुसन्धान गर्न लाउनु र समय समयमा बहस गर्नु यो समयको माग हो । अहिलेको साइबर युगमा अगमसिंह तामाङ र अपतनमाथि कुनै लेख रचनाहरू उपलब्ध नहुनुले पनि उनीहरूमाथि कमै लेखिएको सहज अनुमान लाउन सकिन्छ ।
(सिक्किम निवासी वरिष्ठ समालोचक पेम्पा तामाङको सहयोग बिना यो लेख पूर्ण हुन असम्भव थियो । तामाङ सरप्रति आभार व्यक्त गर्छु )
लेखक परिचय
पत्रकार तथा लेखक शरद प्रधानले नेपाली र अंग्रजी दुवै भाषाका पत्रिकाको सम्पादन गरेका छन् । साहित्यका विभिन्न विधामा कलम चलाउने प्रधान रेडियो टुरिजम र एक्सेलट्रिप नेपालसँग आवद्ध छन् ।
निकै राम्रो लेख
जानकारीमूलक लेख। बधाई भाइ
धन्यवाद दाजु