विभिन्न परिस्थितिजन्य कारणहरूले गर्दा थुप्रै मानिसहरू इतिहासको गर्तभित्र हराईरहेका हुन्छन् । दुर्भाग्य ! कोही स्मृतिकै गर्भमा सदासदाका लागि विलिन भएर जान्छन् कोही समयको आवश्यकता र युगबोधताले पुन: स्मरणमा पुर्नताजगी भएर आइपुग्छन् । लिम्बुवानको यस्तै ऐतिहासिक पात्र हुन् देउमान आङदेम्बे । उनी अझै समयको पथाङ्ले छोपिएर गुमनाम रहेका छन् । लिम्बुवानको गाउँ बस्तिमा देउमान आङदेम्बेको कथा किंवदन्ती नसुनेका मान्छेहरू शायदै होलान् । तर इतिहासले उनको सच्चा श्रद्वा र सम्मानमा कञ्जुस्याइँ गर्दा मिथकमा मात्र सीमित हुन पुगेका छन् ।
देउमान आङदेम्बे पापोहाङका सन्तान हुन् । अहिले पापोहाङभित्र आङदेम्बे, लाओती, शेर्मा, तुम्बापो, इङवा र कुगेनाम्बा लगायतका थरीहरू पर्दछन् । सर्वप्रथम पाँचथरमा आगमन भएको एउटा मार्मिक मुन्धुमी आख्यान छ । लिम्बुको संक्षिप्त इतिहास तथा आङदेम्बे वंशावली, (२०६६), र पापोहाङ लाओती वंशावली, (२०७६), मा अम्बिका प्रसाद आङदेम्बे र लक्ष्मण लाओतीले आफ्नो पूर्खाहरूको पाँचथर जिल्लामा आगमन भएको इतिहास उल्लेख गरेका छन् । पापोहाङ वंशभित्रका जानकारहरूले पनि उहीं कथा नै बताउने गर्छन् । उहिले पापोहाङहरूको पूर्खा तेह्थुम आठराईको खेक्लेसोबुङ भन्ने ठाउँमा बस्थे । उनीहरूसँग एउटा बढेमानको सुँगुरको साँढ पनि थियो । सुँगुरको साँढ जहिले दिनभरि चर्न गएर रातो माटो जिउभरि दलिएर खोरमा आइपुग्थ्यो । एकदिन थाम्लासो पापोले सुँगुर पछ्याउँदैपछ्याउँदै आए । सुँगुरले खेक्लेसोबुङ ओरालो झरेर तमोर खोला नाँघ्यो । तमोर वारी तरेपछि करेङकरेङ बाटो हिँडेर सुँगुर पान्थरको गढीमा आइपुग्यो । थाम्लासो पापोहाङ पनि आफ्नो साँढको गोहो पछ्याएर फेदेन आइपुग्यो । फेदेनको समथर ठाउँ देखेपछि थाम्लासो पापोहाङ पनि आफ्नो परिवारसँग यतै बसोबास गर्न थाले । त्यसपछि उनका सन्तानहरू फेदेनदेखि यासक, आङसराङ र अम्लाबुङतिर छरिन थाले । वंशहरू छरिएर बस्ने क्रममा सुत्केरी हुँदा आमाले आङ (सल्ला) को बोट समातेर जन्माएकाहरू आङदेम्बे भए भनिन्छ । अम्लाबुङ बस्ने ८२ बर्षिय बृद्व लिलाध्वज आङदेम्बे र ऐजनऐजन बस्ने ७४ बर्षिय टिकाध्वज आङदेम्बेका अनुसार यस ठाउँमा अम्लारी फूङ (सुनाखरी फूल) प्रसस्त मात्रामा पाइने भएकोले अम्लाफूङ भएको र अहिले अपभ्रंस भएर उम्लाबुङ भएको हो ।
देउमान आङदेम्बे यहीँ अम्लाबुङको माटोमा बुबा करनध्वज आङदेम्बे र आमा तुम्रोक्माको पुत्ररत्नको रुपमा पदार्पण गरेका हुन् । उनी १९६० साल असोज ४ गते विहानीको सूर्योदय हुँदै गर्दा जन्मिएका थिए । उनको निधन भने २०४२ सालमा आफनै निजी निवास अम्लाबुङमा नै भएको थियो । उनी जन्मिएको बेला १०४ बर्षे निरङकुश राणा शासनको दबदबा थियो देशमा । आफ्ना परिवार कृषि पेशामा नै आबद्व भएकाले उनको बाल्यकाल पनि घाँस दाउरा र मेलापात गर्नमा नै वित्यो । उनी सानै उमेरदेखि नै निडर र जाँगरिला मानिस थिए । शारीरिक रुपमा रुपमा सुगठिला र तागतिला थिए । यसरी आफ्नै अम्लाबुङको गाउँबस्ती, डाँडा पाखा र भञ्याङहरूमा रमाउँदै लाठे पुगे । सामान्य लेखपढ गर्न सक्ने आङदेम्बेले उतिबेला ताप्लेजुङको गौडामा लामो समयसम्म बैदारको जागिर पनि खाए । त्यस समय लिम्बुवानमा सुब्बा सभाङगीको व्यापक चलन भएकोले उनी पनि सुब्बा हुन पुगे । सुब्बा भएपछि रातारात उनको राप तापले लिम्बुवानभरि प्रसिद्वि कमायो र सबैको चर्चाको पात्र हुन पुगे । सबैले आदर्श र सम्मानित पात्रको रुपमा लिन थाले । “आफ्नो घोडासँग गाउँघर डुल्दा सबैले ताँत लागेर हेर्ने गर्थे । आफ्नो बाबुको अनुहार ठाडो हेर्न पनि नसकिने र लरतरको मान्छे उनको छेउ पर्न पनि नसक्ने, उनले चर्को स्वरमा बोल्दा मान्छेको मुटु नै हल्लिन्थ्यो भन्छन्” उनका कान्छा छोरा पूर्व प्रधानपञ्च घनेन्द्रराज आङदेम्बे । उनको प्रवृत्ति खाँटी लिम्बुको जस्तो थियो । अलिक ठाडो भाषामा बोल्ने । अनुशासन एकदम कडा थियो । नाम बोलाइसक्दा जस्तो अवस्थामा भए पनि उनको अगाडि हाजिर हुनपर्थ्यो । उनका छोरीहरू माग्न आउने कुटुम्बहरूलाई ठाडै हप्काएर टाँकीको बोट सोध्थे । टाँकीको बोट थियो भने मात्र छोरी दिन तयार हुन्थे । किनभने पहिलेको समयमा साह् ैभोकमारी चल्दा लिम्बुवानमा टाँकीको मुना खाएर छाक टार्नुपथ्यो । हरेक पटक बोल्दा केम्मान इक्त्र भन्ने थेगो थियो भन्छन् उनका समकालीन बुढापाकाहरू । देउमान आङदेम्बेका जम्मा ४ भाई छोरा र चार बहिनी छोरीहरू थिए । जेठा छोरा हरीराज, माइला छोरा प्रेमराज, साहिंला लिलाराज, काइँला कृष्णराज र कान्छा घनेन्द्रराज आङदेम्बे हुन् । उनका सबै छोराहरू पनि आआफ्ना ठाउँमा समाजका स्थापति व्यक्तित्वहरू थिए । अहिले भने कान्छा छोरा घनेन्द्रराज बाहेक सबै पिंडालु रोप्न गइसकेका छन् । माइला छोरा प्रेमराज आङदेम्बे नेपाली काँग्रेसका चर्चित नेता हुन् । बि.पि. कोइरालाका अभिन्न मित्र थिए प्रेमराज आङदेम्बे । उनको बारेमा आफ्ना पुस्तकहरूमा थुप्रै ठाउँ उल्लेख गरेका छन् कोइरालाले । उनी पछि २०१६ सालमा दुई पटकसम्म उपमन्त्री भएका थिए । आफ्ना कान्छा छोरापटिका नाती भिष्मराज आङदेम्बे नेपाली काँग्रेसका केन्द्रीय नेता हुन् । अहिले काँग्रेसको आसन्न महाधिबेसनको सहमहामनत्रीको उम्मेद्वार बनेका छन् । उनी पनि सभासद भइसकेका छन् । उनको काइँला छोराकोमा नाती चन्द्रराज आङदेम्बे संघीय लिम्बुवान मञ्चका पाँचथर जिल्ला अध्यक्ष छन् । उनीहरू आफ्ना बाजेको प्रेरणाले नै राजनैतिक मार्गमा हिंडेका बताउँछन् । अहिले उनका नातीनातीनाहरू पनि आ आफ्नै ठाउँमा चम्किरहेका छन् ।
उमेर पुगेर राजनीति बुझ्न थालेपछि आङदेम्बे विस्तारै लिम्बुवान प्रतिनिधि मण्डलमा आबद्व भए । २०१३ सालको लिम्बुवान प्रतिनिधि मण्डलमा इमानसिं चेम्जोङ, ललित बहादुर तुम्बाहाङफे, बृजहाङपति जबेगू, प्रेमराज आङदेम्बे, गणेश बहादुर थाम्सुहाङ लगायत सक्रिय थिए । उनीहरू तत्कालीन रुपमा पुन : लिम्बवान राज्य प्राप्त गर्ने र आफ्ना गुमेका अधिकारहरू फिर्ता पाउनुपर्ने उद्देश्यले गोलबद्व भएका थिए । पटकपटक राजाहरू कहाँ विन्ति पत्र चढाउन जान्थे । उतिबेला महेन्द्र वीर विक्रम शाहदेव राजा र प्रधानमन्त्री टंकप्रसाद आचार्य थिए । लिम्बुवान प्रतिनिधि मण्डलबाट एक जना मन्त्री मण्डलमा सहभागी हुनुपर्ने आदेश भयो राजाबाट । तब लिम्बुवान प्रतिनिधि मण्डलले आफ्नो तर्फबाट कुल बहादुर लिम्बुलाई मन्त्री बनाउनुपर्ने सिफारिस गरिसकेका थिए । फेरी पुर्नविचार गरेर काडमाण्डौको पुतली सडक छेउमा लिम्बुवान प्रतिनिधि मण्डलको अन्तिम बैठक बस्यो । यस अघिको बैठकले कुल बहादुर लिम्बुलाई सिफारिस गरिसकेता पनि देउमान आङदेम्बेलाई नै मन्त्री बनाउनुपर्ने प्रस्ताव पास गरे ।
उनीहरूको निष्कर्ष थियो : यदि देउमान आङदेम्बेलाई मन्त्री बनाइएन भने लिम्बुवानमा हाम्रो खैरात छैन् । उनको रापतापले हामीलाई टिकिखान दिंदैन । उसको छेउमा हाम्रो केही जोर चल्दैन भनेर देउमान आङदेम्बेको नाम मन्त्रीमा सिफारिस गर्यो । यो सम्पूर्ण काया कैरन यता देउमान आङदेम्बेलाई केही पनि थाहा थिएन । उनी काडमाडौमा बसेको लिम्बुवान प्रतिनिधि मण्डलको बैठकमा पनि सहभागी थिएनन् । यता आफ्नै गाउँ अम्लाबुङको जङ्गलमा गाईबस्तु चराउँदै थिए । उतिबेलाको समयमा अहिलेको जस्तो कुनै सूचनाका माध्यमहरू पनि थिएन । तर जता पनि रेडियो नेपाल सुन्ने चलन थियो । देउमान आङदेम्बले आफ्नै घरमा बेलुकी सात बजेको समचार सुन्न रेडियो खोल्यो । अचानक “लिम्बुवान प्रतिनिधि मण्डलको तर्फबाट देउमान आङदेम्बेलाई मालपोत उपमन्त्रीमा नियुत्त गरिएको छ” । भन्ने समाचार सुन्दा उनी आफै तीनछक्क भए । सपनामा पो छु कि विपनामा पो छु जस्तो भ्रम भयो रे ।
एकै छिनमा गाउँभरि मन्त्री भएको हल्ला खरबारीको आगो भएर फैलियो । “त्यसको ठीक तीन दिन पछाडि धनकुटा गौडाबाट प्रहरीहरू आइपुगेर घरमा सलामी दिई घोडामा चढाएर लगे । घोडाबाट करिब २० दिनको निरन्तर यात्रापछि काठमाडौँ पुर्याए” भन्नुहुन्छ उनका कान्छा पुत्र घनेन्द्रराज आङदेम्बे । यसरी उनलाई लिम्बुहरूमा जेठा मन्त्री हुने सौभाग्य मिल्यो । त्यसपछि आफ्नो पहिचान फेरियो सबैले देउमान मन्त्री भन्न थाले । टाढाटाढाका मान्छेहरूलाई पनि देउमान मन्त्री भन्ने नाम ओठमा झुन्डिन थाल्यो । सिंगो परिवारको नाम पनि मन्त्री खलक भनेर सम्बोधन गर्न थालियो । राजा महाराजहरूले पनि लिम्बुवानको लिम्बू भन्दा देउमानको नाम लिन थाले । पछि उनी स्थायी राज सभा सदस्य बने । गाउँघरमा थुप्रैवटा विद्यालयहरू खोल्ने काम गरे । लिम्बू समुदायको मिङसो ताङसो थामिदिए ।
डब्बल सुब्बा देउमान आङदेम्बेको सम्धी पर्थ्यो । उतिबेलाका धनाढ्य भनेर नाम कहलिएका डब्बल सुब्बा र देउमान आङदेम्बेको डाइलग चल्ने गर्थ्यो रे भन्छन् अम्लाबुङगेहरू । देउमान आङदेम्बेले आफ्नो सम्धी डब्बल सुब्बालाई मेरो सम्धीले डालोमा पैसा जोखेर दिन्छ भने म थुन्चेमा जोखेर दिन्छु भनेर डाइलग मार्थे अरे उतिबेला । अम्लाबुङका बुढापाकाहरू भन्छन् “उनको घरमा छ हजार मुरी धानको थाक थियो । ढुँडी पर्छ भनेर आँगनभरि नाङलोमा पैसा सुकाएको हुन्थ्यो । ९०१०० मुरी दाल । चार पाँच वटा घोढाहरू र तीस चालिस वटा लाइना गाई र छ सात हल गोरुहरू थिए । ठूलाठूला चारवटा झिंगुटीका घरहरू थिए । चौविसै घण्टा घरमा मान्छेहरूको बजार हुन्थ्यो” । टाढाटाढाका मान्छेहरूले समेत देउमान आङदेम्बेको घरबाट धान नलगी चेत बैशाखमा धानको भात खानै पाउँदैन थ्यो । उनी पचिसा र अठाईसा धान दिने गर्थे । पचिसा भनेको असार महिनामा एक मुरी धान पैचो लगे बापत मंसिरमा पचिस पाथी तिर्नुपर्ने हुन्छ । पाँच पाथी चाहिँ त्यसको व्याज स्वरुप बुझाउनुपर्ने । अठ्ठाइस पाथी पैचो लगेको खण्डमा आठ पाथी तिर्नुपर्ने हुन्थ्यो । त्यसलाई नै पचिसा र अठ्ठाईसा भन्ने गरिन्थ्यो भन्छिन् विष्णुमाया आङदेम्बे । उनले धानका ढुकुटीहरू थुप्रै ठाउँ राखेका थिए । २०० मुरी जति धान तमोर खोलाको किनार माझिटारमा राखेको थियो । माझिटारको धान यतैतिर याङवारक, भारापा, सुभाङ र याङनामतिरकालाई पचिसामा बाँडिदिन्थे । अर्को ढुकुटी चिलिङदेनमा राखेका थिए । त्यहाँ ४०० मुरी जति धान हुन्थ्यो त्यो धान उतै हेल्लाङ, चिलङदेन, फाक्तेपतिरकालाई पचिसा र अठठईसा लगाईदिन्थे । अर्को ढुकुटी चाहिँ अम्लाबुङ पुच्छर सखेवामुनि राखेका थिए त्यहाँ लगभग ३०० मुरी जति थियो थ्यो त्यो धान उतातिरकालाई लगानी गर्थ्यो र मुल ढुकुटी चाहिँ आफ्नै घरमा राखेका हुन्थे । उनको खेतबारी भनेको महिनौं दिनसम्म डुल्दा पनि डुलिसकिन्न्थ्यो भन्छन् अम्लाबुङ निवासी टिकाध्वज आङदेम्बे ।
वास्तवमा मेरो बाजे देउमान आङदेम्बे ठूला समाजसेवी थिए । तर केही पक्षकाहरूले उनका बारेमा एकोहोरो नकारात्मक मात्र टिप्पणी गरेको सुन्दा दु:ख लाग्छ मलाई । गाउँघरमा मान्छेहरूको लास बेर्न समेत आफूले बेर्ने गरेको सेतो कपडा काटेर दिने मान्छे कसरी सामन्त हुन सक्छ ? कति भोका मान्छेहरूलाई घरमा निशुल्क खाना ख्वाएर पठाउँथे । धान पैचो दिएर सबैको खाँचो टारिदिने मान्छे हुन् मेरो बाजे । सबैको आपत्त विपत्तमा देउमान आङदेम्बेले सहयोग पुर्याउँथे । दशै तिहारमा लोकल धानको चामल दिएर कतिको भान्सा उज्यालो बनाइदिने मान्छे कसरी शोषक हुन सक्छ ? बरु एकदम उद्वार दिलको हुनुहुन्थ्यो भन्छन् उनका नाती चन्द्रराज आङदेम्बे । आफ्ना छोरा नातीहरूलाई सधै समाजसेवी हुनु र राजनीति बुझ्नु । राजनीति बुझिएन भने निम्छरो भइन्छ । र जीवनमा डरपोक नहुनु बरु हक्कि बोल्नु नडराउनु । भनेर अर्ति दिने काम गर्थे रे उनी । त्यही राजनैतिक अर्ति ग्रहण गर्दा छोरा प्रेमराज मन्त्री भए नाती भिष्मराज संसद बने भन्छन् चन्द्रराज । हामीले राजनीति गर्नुपर्छ भन्ने दिव्य ज्ञान बाजेबाट नै पाएका हौं भन्छन् चन्द्रराज आङदेम्बे ।
“इतिहासमा एकै पटक सबै पात्रहरूको चर्चा हुँदैन । समयले कुनै दिन आफै खोजेर प्रस्तुत गर्छ । म उहाँकै गोहोहरू पछ्याउँदै यहाँसम्म आइपुगेको हुँ भन्नुहुन्छ” नाती भिष्मराज आङदेम्बे । आज उनको वंशज र सम्बन्धित क्षेत्रकाहरूले पनि पूरै विस्मरण गरिसकेका छन् आङदेम्बेलाई । उनको सम्झना र सम्मानमा केही पनि भएको छैन अहिलेसम्म । बरु आफ्नो चेप्चु बाजेको इतिहास सुनेर उनको सम्झनामा चाढै केही गर्ने सोचमा छिन् पनातिनी तागेरा आङदेम्बे ।
हरेक नेताहरू युगअनुसार जन्मिन्छन् । जंग बहादुर राणालाई पनि युगले मागेको नेता मानिन्छ । पृथ्वीमा आफ्नै उर्जानुसार ‘टाइम एण्ड स्पेस’मा मानिसहरूले सचेतन प्रयत्नहरू गरेर जान्छन् । जुन कर्महरू कालान्तरमा सहि नदरिन पनि सक्छन् । इतिहासमा जस्तो टिप्पणीहरू गरिएता पनि उतिबेला देउमान आङदेम्बेले बाँचेको परवेश आजभन्दा धेरै पृथक थियो ।
उसो त लिम्बुहरूले आफ्ना पितृहरूलाई अत्यन्तै सत्कार र सम्मान गर्ने गर्छन् । आफ्ना पितृहरूलाई नै माङ साम्माङ सम्झेर थान थपना दिई मान मनितो गरिबस्छन् । भनिन्छ, यदि आफ्ना पितृहरूलाई मान मनितो गरिएन भने पिराउने दु:ख दिने काम गर्छन् ।
लेखक परिचय
मधुराज केरुङ अहिलेको समयका शक्तिशाली लेखक हुन् । उनका फक्ताङलुङको फेदिबाट गजल संग्रह २०६७, साम्याङफुङ लिम्बू भाषाको गजल संग्रह २०७२, मारोतिका थुँगाहरु संयुक्त कविता संग्रह (संकलन÷सम्पादन–२०७७), सम्पादनः कोशिश, पाँचथर साप्ताहिक, पस्तकेलुङ, शब्द शाँघु जस्ता कृतिहरु प्रकाशित छन् । औपचारिक शिक्षा–एम.एड.(नेपाली) त्रिभूवन विश्वविद्यालय र एम.फिल.नेपाल खुला विश्वविद्यालयबाट गरेका उनी हाल पाँचथर बहुमुखी क्याम्पसमा प्राध्यापनरत छन् ।