एउटा जर्मनेली उखानले भन्छ- बेबकुफ र समझदारले कसैको पनि नोक्सान गर्दैनन्, मात्र केही पागल र बुद्धिमान् खतरनाक हुन्छन् । उल्लिखित उखानको आशयको आधारमा भन्ने हो भने लेखकहरू सामान्य व्यक्तिहरूभन्दा झन् दोबर खतरनाक हुन्छन् किनभने एउटा राम्रो लेखकमा पागलपन र बुद्धि दुवै उत्तिकै हुन्छ । उस्तै हुन्छ। चिनियाँ लेखक लू शुन यस्तै एक जब्बर लेखक थिए जसको बौद्धिक सनक र कलमको कडा दनक एक शताब्दीपछि पनि अझै अत्यन्तै ताजा र शक्तिशाली छ।
तीक्ष्ण अभिव्यक्ति, अराजक विद्रोह, उत्तेजित विचार भएका उनका पुस्तकहरू यस्ता शस्त्र हुन् जसले धेरै प्रकारका सांस्कृतिक युद्ध जित्न सक्छ भन्ने कुरा साबित गरेको छ। समाजमा जहाँ शोषण र उत्पीडन छ, जहाँ परम्परा, नैतिकता र धर्म-संस्कारको जकडमा जीवन जकडिएको छ; हो, त्यहींनेर लू शुनको दृष्टि छ। विचार, तर्क, व्यङ्ग्य, कलात्मक सौन्दर्य र मर्म ग्राह्यतामा लू शुनले आफ्नो अद्भुत प्रतिभाको परिचय दिएका छन् । लू शुनको विशिष्ट व्यक्तित्वअनुसार उनको भाषा पनि रोचक र चमत्कारपूर्ण छ ।
लू शुनको जन्म सन् १८८१ मा चीनको के जियाङ प्रान्तको साओसिङस्थित एउटा निम्नवर्गीय गरीब परिवारमा भएको हो । आमाबाबुको आर्थिक अवस्था ज्यादै दयनीय भएकाले जन्मनेबित्तिकै बाधाव्यवधानहरूले उनको पिछा गर्न थालेका थिए । उनले बाल्यकालदेखि नै कठिन दिनहरू बिताउनुपरेको थियो। उनी जे बने आफ्नै पौरखले बने। उनले जति पढे आफ्नै बलबर्कतले पढे। मरिमेटेर पढे । गाउँको साधारण स्कूलमा पढेका लू शुन सन् १९१७ मा आफ्नै ठाउँको एक स्कूलको हेडमास्टर बने। पछि बेइजिङको नेसनल युनिभर्सिटीको प्रोफेसर । भए । सन् १९२६ मा उनले अमय युनिभर्सिटिको: डीनको पदभार पनि सम्हाले । विश्वविद्यालयमा उनी चिनियाँ भाषा पढाउँथे । आफ्नो समयमा लू शुन चिनियाँ समाज र साहित्यका लागि अपरिहार्य थिए । उनका व्याख्यान सुन्न । चिनियाँहरू हत्ते हाल्थे। चीनको साहित्यिक इतिहासले भन्छ- आधुनिक चिनियाँ साहित्यका जनक लू शुन नै थिए ।
लू शुनका हजूरबुबा हेनलिङ निकै विद्वान् थिए । विद्वान् हेनलिङ प्राज्ञ सभाका सदस्य थिए । उनी आफ्नो परिवारलाई सुशिक्षित बनाउन चाहन्थे । उनले नाति लू शुनलाई पनि पढ्न निकै प्रोत्साहित गरेका थिए । लू शुनका पिता झोउ प्रान्तीय परीक्षामा पटक-पटक असफल भएपछि परीक्षामा उत्तीर्ण गराइदिने शर्तमा एक परीक्षा अधिकारीले हजूरबुबा हेनलिङसँग घूस मागेका थिए । एक सहयोगीद्वारा ती अधिकारीलाई घूस दिइएको थियो । घुस दिइएको अपराधमा लू शुनका हजूरबुबालाई गिरफ्तार गरियो र उनलाई जेल सजाय दिइयो । उनी सन् १९०१ सम्म जेल बसे । लू शुनका पिताको शैक्षिक प्रमाणपत्र खोसियो र उनलाई आगामी परीक्षा दिनबाट रोक लगाइयो। त्यसकै चिन्ताले उनको स्वास्थ्य बिग्रन शुरू भयो। उनी निकै बिरामी भए र ओछयान परे।
लू शुन सानै छदा उनका बाबु पनि थला परेका थिए । उमेरले किशोर जीवनमा प्रवेश नगर्दैको अवस्थामा लू शुनका काँधमा घरको सारा जिम्मेवारी थपियो। उनीभन्दा पछाडिका दुई भाइहरू ससाना थिए । उनका आङमा थुप्रै भोटो फाटे तर उनका बाबु निकै भएनन् । बाबुको उपचार गर्न पैसा नभएपछि बालक लू शुन हरदिन कुनै न कुनै घरेलु सामान बेचेर या बन्धकी राखेर औषधी किन्थे। जति गरे पनि उनका बाबु तङ्ग्रिएनन् । वैद्यले गरेका हरेक प्रयास असफल भए। गरीबीत पहिलेदेखि नै थियो । अब उनी अनाथ पनि भए। बाबुको बिजोग मरणले उनमा डाक्टर हुने इच्छा जाग्यो । उनी पढेर डाक्टरै बन्ने ध्याउन्नमा लागे। आफ्नी आमाको पढेर परम्परागत सरकारी जागीर खाऊ भन्ने मातृआज्ञालाई भरतले कैकेयीका मातृवचनलाई मैं पन्छाएर उनी डाक्टर बन्ने ध्येयमा लागे।
सन् १९०२ मा लू शुन छात्रवृत्तिमा जापान पढ्न गए । त्यहाँ भाषा स्कूलमा उनी भर्ना भए । निबन्धरचनाको अभ्यास पनि उनले त्यहाँ गरे र जुजुत्सु नामक एक प्रकारको युद्धकला पनि सिके । सन् १९०३ मा उनी घर फर्किए । २२ वर्षको उमेरमा आमाले खोजिदिएका झु नाम गरेकी एक स्थानीय केटीसँग विवाह गरे । त्यसको वर्षदिनपछि अप्रिंल सन् १९०४ मा लू शुन जापानको सेनडाई मेडिकल कलेजमा चिकित्साविज्ञान पढ्न भर्ती भए । त्यस बेला रूस र जापानबीच युद्ध चलिरहेको थियो । अध्ययनकै सिलसिलामा त्यतिखेर कलेजहरूमा विद्यार्थीलाई युद्धसम्बन्धी फिल्महरू देखाइन्थ्यो। एक दिन एउटा फिल्ममा एउटा यस्तो दृश्य देखे जसले अकस्मात् उनको जीवनको लक्ष्यलाई बदलिदियो। फिल्ममा एक चिनियाँलाई हात बाँधेर मैदानमा उभ्याइएको थियो । जापानका विरुद्धमा रुसीहरूको तर्फबाट जासुसी गरेको अभियोग लागेको ती युवाको टाउको काटी नृशंस हत्या गरिएको दृश्य हेरेर धेरै चिनियाँ विद्यार्थी आहतभए । जापानको विरुद्ध जासुस गर्नेको हालत यस्तै हुन्छ भनेर तर्साउन देखाइएको त्यो फिल्म देखेर लू शुनलगायत त्यहाँ अध्ययनरत बलशाली उमेरका धेरै चिनियाँ विद्यार्थी को अनुहारको चमक गायब भयो । चिकित्साविज्ञान पढेर डाक्टर बन्ने लू शुनको दृढ अठोट अर्कै कुनै कुरासँग साटियो। उनको कलमले टुलुटुलु हेरेर रोएर नबस भन्यो । तसर्थ दुई वर्ष पनि पूरा नगरी उनले चिकित्साविज्ञानको अध्ययन छोडिदिए । सांस्कृतिक चेतना विकास र साक्षरताका लागि साहित्य नै सर्वाधिक शक्तिशाली औजार हो भन्ने लू शुनलाई लाग्यो । सन् १९०६ मा सेनडाई छाडेर टोकियो पुगे। चिनियाँ दूतावासमा केही समय काम गरे । त्यसपछि टोकियोस्थित एक जर्मन संस्थामा जर्मनीमा अध्ययन गर्ने सोचले लागे । तर आर्थिक अभावका कारण त्यो पूरा हुन सकेन । त्यस अवधिमा उनले नि एक जर्मन संस्थामा जर्मनीमा अध्ययन गर्ने सोचले लागे। तर आर्थिक अभावका कारण त्यो पूरा हुन सकेन । त्यस अवधिमा उनले नित्सेद्वारा रचित निकै कृतिहरू खोजी-खोजी अध्ययन गरे। त्यसका अतिरिक्त उनले वाइरन, शेली, पुस्किन, पेटेफी, किमिविज, लरमोन्टोमको खूब अध्ययन गरे। जापान बसाइकै क्रममा उनको मनमा साहित्यिक पत्रिका निकाल्ने सोच पनि आएको थियो। आर्थिक अभावले गर्दा सकेनन् । सन् १९११ ताका उनले साङ्घाईको एक प्रकाशकसमक्ष कामका लागि आवेदन दिएका थिए । उनको आवेदनलाई प्रकाशकले लत्याइदिएको थियो । त्यतिखेर फेङ्ग जेफेङ्ग, रौउ सी तथा हुफेङ्ग जस्ता साथीहरूसँग उनको घनिष्ठ सम्बन्ध थियो । त्यो नमीठो अनुभूतिलाई उनले तिनै साथीहरूसँग पोखे, तिनीहरूले उनलाई ढाडस दिए, उनले मन सम्हाले ।
लू शुन सन् १९०९ मा चीन फर्किए । त्यतिखेर त्यहाँको राजनीतिक अवस्था डावाँडोल भएको थियो। मन्चु सरकारको विरुद्धमा भूमिगत रूपमा भयङ्कर तयारी भइरहेको थियो । लू शुन त्यतै लागे । उनले गम्भीर भएर स्वतन्त्र रूपमा अनौपचारिक अध्ययन गरे । उनी छद्म नाममा अखबारहरूमा लेख्न पनि थाले । उनका विचारोत्तेजक लेखहरूले आम पाठकमा गहिरो प्रभाव पायो । सन् १९११ मा सन यात्सेनको नेतृत्वमा चीनमा जनक्रान्ति भयो । क्रान्तिले मन्चु सरकारलाई त ढाल्यो तर यसको अवशेषलाई निमिट्यान्न पार्न सकेन । उनले लेख्ने कलमलाई छोडेनन् । उनले अनुवाद पनि गरे । उनको मौलिक र अद्वितीय साहित्यक शैलीले बहुसङ्ख्यक चिनियाँ जनताको सुतिरहेको चेतनालाई ब्यूँताइदियो । वास्तवमा लू शुन जनसमर्थक थिए । जनताका पक्षधर उनी जनवादी क्रान्तिकारी लेखकका रूपमा देखा परे । पछि यही मेलोमा उनले साम्यवादी विचारप्रति गहिरो फुकाव पनि बढाए । चीनको ठूलो संस्था ‘अल चाइना लिग अफ लेफ्टविङ राइट्स’का उनी सर्वेसर्वा बने । अन्धविश्वास, रूढिवाद, भष्ट्राचार र विभेदका विरुद्ध उनले खरो रूपमा कलम चलाए। यसमा उनी कहिल्यै थाकेनन् । उनले जीवन र साहित्यमा विसतिविरुद्ध जेहाद छेडिरहे । उनका रचनाले व्यापक चेतना फैलायो भने साहित्य उनको सङ्घर्षको खतरनाक हतियार बन्यो। लू शुन कहिल्यै पनि पार्टीमा आबद्ध भएनन् । तथापि चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओ त्सेतुङ लू शुनका आजीवन प्रशंसक थिए । यसै कारण उनलाई मरणोपरान्त कम्युनिस्ट पार्टीको सदस्यता प्रदान गरिएको थियो।
लू शुनको जीवन सङ्घर्ष र लोकचिन्ताले भरिएको थियो। उनी हिम्मतका साथ निर्भीक भएर निश्चल र निष्काम सेवाभावले साहित्यिक बाटोमा लागेका थिए। चीनमा भएको आधुनिक सांस्कृतिक क्रान्तिका नायक लू शुन नै थिए । उनी महान् विचारक पनि थिए । उनको चिन्तन पक्ष अत्यन्तै सशक्त थियो । राजनीतिक समीक्षामा उनी अद्वितीय नै थिए । उनी भन्थे- नभत्काई निर्माण हुन्न, बाँध नबाँधी प्रहार आउँदैन, अनि स्थिरता नभई गति पनि आउँदैन ।
सन् १९२७ तिर कोमिङताङ सरकारको सफेद आतङ्कबाट सम्पूर्ण चीन प्रताडित थियो । त्यतिखेर जनतामाथि भएका क्रूर दमनको विरोधमा उनले एक सय तीसभन्दा बढी उपनाम राखेर दुई सयभन्दा बढी निबन्धहरू छपाएका थिए भनिन्छ ।
सन् १९२८ मा उनले साङ्घाईबाट पेन लिउ नामक पत्रिकाको प्रकाशन गरेका थिए । त्यसै बेला उनी ‘रिभोल्युसनरी म्याचुयल एन्ड सोसाइटी’ मा आबद्ध भए। उनकै अग्रसरतामा सन् १९३० मा ‘फ्रिडम चीन लिग’को स्थापना भयो । चिनियाँ क्रान्तिका बारेमा लेखिएका उनका पुस्तक एवं लेखहरूले तत्कालीन समाजको परिवर्तनका लागि इन्धनको काम गरेका थिए । उनी स्वयम् क्रान्तिप्रेमी लेखक थिए। उनले भनेका छन्, “क्रान्तिकारीहरूले लेख्न शुरू गरेपछि नै क्रान्तिकारी साहित्यको जन्म हुन्छ ।” कमरेड माओ त्सेतुङले लू शुनलाई चीनको सांस्कृतिक क्रान्तिका प्रमुख कमान्डर मात्र नभएर महान् शिक्षक, विचारक र क्रान्तिकारी मानेका थिए।
लू शुन बहुमुखी प्रतिभाका धनी लेखक थिए । उनीसित सामान्य जनजीवनले दैनिक प्रयोग गर्ने स्थानीय एवं चल्तीका भाषामा राम्रो ज्ञान थियो । उनको लेखनको अन्तर्वस्तुमा हुने विविधता र सामाजिक परिवेशका दुरुस्त प्रतिविम्बले अनुवादकलाई उनका कृति उल्था गर्नु निकै कठिन हुन्थ्यो । सामाजिक जीवनका विभिन्न पाटाहरूसित परिचित लू शुनका सिर्जनामा एकातिर यथार्थ दृश्य चित्रणका साथै मानवीय संवेदनाको सूक्ष्म अध्ययन पनि गरिएको पाइन्छ भने अर्कातिर सामाजिक समस्याको कठोर आलोचना पनि ।
सन् १९२४-२८ ताका लू शुन अवसादले निकै ग्रस्त भए । त्यसै समयमा उनले केही गद्यकविता पनि लेखे । उनको विषादको पछाडि पहिलो कारण थियो भाइसँगको आर्थिक विवाद । अर्को कारण थियो- त्यतिखेर बुहारीसित लू शुनको नाम जोडिएको थियो । दाजुभाइबीच त्यही कुराले नराम्ररी विग्रह उत्पन्न भयो । उनीहरू एकआपसमा नबोल्ने मात्र होइन मुखसमेत नहेर्ने गरी छुट्टिए। लू शुन आमा र श्रीमतीलाई लिएर अर्के घर किनेर बस्न थाले । त्यसै बेलादेखि उनको शरीरलाई पनि टिबीले समात्यो। यस्तै अवस्थामा उनीमाथि अर्को दशा थपियो । एउटा रिक्सा दुर्घटनामा उनले अगाडिका सबै दाँत गुमाउनुपर्यो।
सन् १९३० को दशकको मध्यतिर क्षयरोगले लू शुनको फोक्सो अत्यधिक कमजोर बनाइसकेको थियो । बिमारीका कारण उनले लामो समयदेखिको चुरोट पिउने आदत छाडेका थिए । उनी दम, ब्रोन्काइटिस र ज्वरोले ग्रस्त र त्रस्त थिए । त्यतिखेर पनि उनले मृत्यु र यो पनि जीवन हो जस्ता शक्तिशाली निबन्ध लेखेका थिए। त्यतिखेर उनी साङ्घाईमा थिए । स्वास्थ्यस्थिति ठीक नभएकोले धेरैले उनलाई आराम गर्ने सल्लाह दिए । त्यस्तो सल्लाह दिनेलाई उनी उल्टै यसरी जबाफ दिन्थे, “म निष्क्रिय भएर धेरै बाँच्नुभन्दा सक्रिय भएर थोरै बाँच्न चाहन्छु ।” नभन्दै त्यस्तै भयो। लेखनको क्रियाशीलतामै सन् १९३६ को अक्टुबरको एउटा बिहानी उनका लागि जीवनको अन्तिम बिहानी बन्न पुग्यो । जनताका प्रिय लेखक लू शुन सदाका लागि समाधिमा पसारिए।
लू शुनले विद्यालय, विश्वविद्यालय तथा विभिन्न सामाजिक भेलाहरूमा साहित्यिक, राजनीतिक व्याख्यान दिने कार्य पछिसम्म जारी राखे । लेखन र व्याख्यान दुवैमा उनी सामाजिक दृष्टिबाट प्रगतिशील देखिन्छन् १९२० को दशकमा महिनामा औसत ५०० युआन रोयल्टी आफ्ना किताबबाट पाउन उनी सक्षम भए। त्यतिखेरसम्म उनी व्यावसायिक लेखनमा लाग्दालाग्दै निकै चर्चित साहित्यकार भइसकेका थिए । लू शुनको तेजमय सिर्जनशील यात्रामा प्रकाशित भएका केही प्रमुख कृतिहरूमा पागलको डायरी १९१८, औषधि १९१९, एउटा घटना १९२०, आ क्यूको साँचो कथा १९२१, पुराना किस्सा १९३५, ह्वाइट लाईट १९२२, शहर १९२१, सम्बन्ध विच्छेद १९२५, एउटा सुखी परिवार १९२४, ‘नयाँ वर्षको सन्तुष्टि १९२४, भोलि १९२० लगायत दर्जनौँ कृतिहरू रहेका छन् । यी कृतिहरूमा जीवनका तृप्ति र अतिरिक्त मुद्दाहरूलाई ध्यान दिइएको छ जसमा मध्यम र निम्नमध्यम वर्गको जीवनानुभवको अत्यन्त प्रभावशाली र अन्तरङ्ग चित्रण छ ।
सन् १९१८ मा नवजवान पत्रिकामा लू शुनको । अमर कथा पागलको डायरी छापिएको थियो । यस कथाले शुरूमै उनलाई स्थापित र प्रतिष्ठित बनाइदियो । यो एक हिसाबले राजतन्त्रको विरुद्धको लडाइँको उद्घोष थियो। यही नै चिनियाँ साहित्यको सबैभन्दा पहिलो छोटो कथा थियो । यसपछि उनले लेखेको लघु उपन्यास आ क्यूको साँचो कथा र नयाँ सालको बलिजस्ता कथा समाजका कुरीति, विसङ्गतिमाथिको दरिलो प्रहार थियो। यी कथामा अध्याँरोबाट उज्यालोमा आउनलाई आम मानिसहरूमा प्रेरणा दिइएको थियो भने सत्यलाई सामुन्ने राखेर शोषक-सामन्तहरूको पर्दाफास गरिएको थियो।
पागलको डायरी कसैको काममा आउन नसकेको, जमानाअनुसार चल्न असफल, विचित्रको आतङ्क र मानसिक यातनाले भरिएको एक युवाको मनोदशामा आधारित कथा हो । यो पढ्न पाठकलाई थप मानसिक शक्तिको आवश्यकता पर्न सक्छ । कसैको पाल्तु कुकुरले आफ्नो जवान शरीरमाथि यल चुहाइरहेको देखेर । भयभीत हुने युवाले जीवनका विभिन्न अवस्थाको कुरा गरेको यो कथा कहिल्यै पुरानो नहुने र नमर्ने कथा हो । त्यस्तै आ क्यूको साँचो कथा पनि उस्तै खाले युवाको जीवनगाथा हो, जसले जीवनमा सहेको, बेहोरेको र आफूले घटाएको घटनाले पाठकलाई चसक्कै छुन्छ । उनको अर्को कथा अतीतका अवसाद पढ्ने पाठकले लू शुनलाई कहिल्यै भुल्न सक्दैनन् । जीवनमा चिन्ता र निराशाका बीचबाट अस्तित्वको खोजी जुन प्रकारले यस कथाले गरेको छ, त्यो स्वयम् लू शुनलाई पढ्नुपर्ने कारण भएको छ।
लू शुनको त्यही अद्भुत शैलीलाई पछयाएर लू शुन मार्काका कथाहरू आज पनि अनगन्ती लेखकहरूले लेखिरहेका छन् । त्यस्ता लेखकहरूले लोकप्रियता, पैसा र प्रतिष्ठा पनि उत्तिकै बटुलिरहेका छन् । लू शुनका साहित्यिक र सिर्जनात्मक कृतिहरूले उनका अनुभूतिहरू जति प्रभावशाली रूपमा बोलेका छन्, उनका वैचारिक अभिव्यक्तिले पनि स्वयम् कृतिको रूपमा नै प्रभाव छोडेका छन् । यसको उदाहरण उनले डिपर नामक पत्रिकालाई दिएको जबाफबाट पाउन सकिन्छ । उक्त पत्रिकालाई उनले ‘राम्रो लेखन-कलाको गुह्य कुरा के हो ?’ भन्नेलगायतका प्रश्न र स्तरीय लेखनका लागि मागिएका सल्लाहका उत्तरमा उनले यसरी जबाफ दिएका छन् :
प्रिय,
साङ्घाईका ‘लेखन-कलाका नियमहरू’ र ‘उपन्यास लेख्ने कला’ ले भरिएको मगज भएका अमेरिकाली लेखकहरू र चिनियाँ प्रोफेसरहरूसँग तपाईंले आफ्ना यी प्रश्नहरू राख्नुभएको भए हुन्थ्यो। मैले १०-२० वटा छोटा कथाहरू लेखको भए तापनि यस विषयमा मैले खास कुनै दृष्टिकोण बनाएको छैन, यो कुरा मैले चिनियाँ भाषा बोल्ने तर चिनियाँ व्याकरणसम्बन्धी परिचय कहिल्यै नलेख्ने जस्तै छ। तर तपाईंले भने मसित सल्लाह दिन अनुरोध गर्नुभयो, त्यसैले म आफ्ना केही अनुभवहरू यहाँ राख्दछु ।
१) प्रत्येक कुराको चाख लिएर सक्दो राम्ररी अध्ययन गर्नुस् र अलिकति हेर्नेबित्तिकै लेखिनहाल्नुहोस् ।
२) तपाईंलाई लेख्न मन नभएको बेला जबरजस्ती नलेख्नुहोस्।
३) पात्रहरूका लागि खास नमूनाहरू नछान्नुस् बरु आफूले देखेकाहरूबाटै पात्रहरू सिर्जनुस् ।
४) तपाईंले कथा लेखिसिद्ध्याउनुभएपछि कमसेकम दुईपल्ट माथिदेखि तलसम्म पढ्नुहोस् र अनावश्यक सबै शब्दहरू, वाक्यांशहरू र भागहरूलाई अलिकित पनि माया नगरी काट्नुहोस् ।
५) विदेशी कथाहरू, विशेष गरी पूर्वीय तथा उत्तरी यूरोपका र त्यसका साथै जापानका लेखहरू पढ्नुहोस् ।
६) कसैले बुझ्न नसक्ने विशेषणहरू वा वाक्यांशहरूको कहिल्यै प्रयोग नगर्नुहोस् ।
७) ‘लेखनसम्बन्धी नियमहरू’ बारेका कुनै कुरामा कहिल्यै विश्वास नगर्नुहोस् ।
८) चिनियाँ ‘साहित्यिक आलोचनाहरू’मा कहिल्यै विश्वास नगर्नुहोस् बरु भरपर्दा विदेशी समालोचकहरूका कृतिहरूको अध्ययन गर्नुहोस् । यस विषयमा मैले भन्न सक्ने यति नै हो
शुभकामनासहित !
२७ डिसेम्बर, १९३१
लू शुनका निबन्धहरू (भाग : २) मा सङ्कलित उनका उल्लिखित जबाफी अभिव्यक्तिले साहित्य-सिर्जनाको ध्येयमा लाग्ने आम लेखक तथा पाठकहरूलाई पनि अत्यन्तै उपयोगी वैचारिक सन्देश दिएको छ र लेखनकलाको विशिष्ट शैली सिकाएको छ । यसरी साहित्यलाई समाजपरिवर्तनका लागि क्रान्तिकारी प्रयासका रूपमा स्थापित गरेर जनजागृतिको पक्षमा आजीवन कलम चलाउने लू शुन चिनियाँसाहित्यका एक महान् स्रष्टा हुन्; विश्वसाहित्यजगत्कै लागि अविस्मरणीय प्रेरणास्रोत हुन् ।