प्रसिद्ध साहित्यकार जनकलाल शर्माको सान्निध्य महापण्डित राहुल सांकृत्यायनसँग सन् १९३४ तिरबाटै भएको उनी आफैँले उल्लेख गरेका छन् आफ्नो संस्मरणमा । राहुल सांकृत्यायन र जनकलालको मित्रताले नेपाली साहित्यलाई अमूल्य निधि दिएको छ भन्नु पर्दा अनुपयुक्त नहोला । ‘महापण्डित राहुल सांकृत्यायन: एक संस्मरण’ शीर्षक लेखमा जनकलाल बेलीबिस्तारमा यस विषयमा लेख्छन्, “राहुल सांकृत्यायन कालिम्पोङ बसेर रोरिकका साथ प्रमाणवार्त्तिकको अङ्ग्रेजी संस्करण मात्रै होइन, आफूले हात हालेको भारतीय शासन शब्दकोशलाई पूरा गर्न तथा अन्य संस्कृत र तिब्बती ग्रन्थविषयमा पनि काम गर्न चाहन्थे । हिन्दीमा छुट्टै आफ्नो स्वतन्त्र पुस्तक लेख्ने काम त उनको छँदै थियो । राहुलको काम प्रायः देवनागरीमै हुने गर्दथ्यो । केही मात्राको काम अङ्ग्रेजीमा पनि हुने गर्दथ्यो । उनलाई शीघ्रताका साथ टाइप गर्न सक्ने एउटा राम्रो टाइपिस्टको खाँचो थियो । बर्धामा मसित उनले प्रस्ताव राखे- “तपाईँका कुनै मित्र कालिम्पोङमा छन् भने उनलाई तपाईँ एउटा चिट्ठी लेखिदिनुहोस्, जसबाट मेरो समस्या समाधान होस् ।” उनके अनुरोधमा मैले आफ्नो मित्रलाई चिट्ठी लेखिदिएँ । आफ्नो पत्रमा मैले स्पष्ट गरिदिएको थिएँ- जो टाइपिस्ट पाइए पनि त्यसमा जाति र लिङ्गको कुनै भेदभाव हुने छैन । मित्रकी छोरीकी साथीले टाइपिस्टको काम गर्न स्वीकार गरिन् । म्याट्रिकसम्म पढेकी केटीले राहुलको नाम अवश्य सुनेकै थिइन् होला र राहुलका केही पुस्तक खास गरेर उपन्यास त पढेकै थिइन् होला । त्यसै कारण काम गर्नका लागि उनले तुरुन्त आफ्नो स्वीकृति दिइन् । चाँडै स्वीकृति दिनुमा आर्थिक कारण पनि थियो । केटीको परिवार कालिम्पोङ बजारमा मात्र दुई कोठा लिएर गुजारा गरिरहेको थियो । लुगा सिउनु उनीहरूको वंशपरम्परागत व्यवसाय थियो । त्यस समयको सामाजिक नियमका अनुसार नेपाली मूलका दर्जी अर्थात् दमाई अछुत मानिन्थे । उक्त महिला त्यसै परिवारमा उत्पन्न भएकी थिइन् । तर राहुललाई यसको कुनै चिन्ता थिएन । राहुलमा यस्तो शक्ति थियो जसले माटोलाई पनि छुनासाथ सुनमा परिवर्तित गर्थ्यो । तर म भने राहुलको सम्पर्कमा आएर पनि सुवर्ण बन्न सकिनँ । उक्त महिलाको सेवा राहुललाई राम्रो लाग्यो र उसलाई आफ्नो साथ लिएर गए । तिनै महिलालाई राहुलले यति शिक्षा दिए जसले गर्दा आई. ए. बाट प्रगति गराउँदागराउँदै एम. ए. मात्रै होइन, पीएच. डी. को समेत उपाधि दिलाइदिए र उनैसँग विवाह गरी माटोलाई सुनमा परिवर्तित गराइदिए । तिनै व्यक्तित्व आज हाम्रा सामु डा. कमला सांकृत्यायन छन् । उनी ‘परियार’बाट ‘सांकृत्यायन’ भइन् । राहुलको महानता यसैबाट अझ स्पष्ट हुन्छ ।”
हँसिलो अनुहारकी कमला सांकृत्यायन दार्जिलिङको हुकर रोडको मुनि बस्नु हुन्थ्यो । लरेटो कलेजमा अध्यापन गर्ने उनीलाई प्राय हिँडेर पढाउन जाने गरेको देख्नेमा मध्येमा म पनि एक हुँ । केवल नमस्कार अभिवादनबाहेक कुनै भलाकुसारी गर्ने अवसर पाइन उनी जीवित हुँदा । उनको विशाल व्यक्तित्वको अगाडी म विद्यार्थी बोल्ने आँटै आउँदैन थियो त्यस बखत ।
उनको धेरै समालोचकीय लेखहरू पढेको थिए, कोही भानुभक्तमाथि, कोही अगमसिंह गिरीमाथि । कमला सांकृत्यायनले हिन्दीमा नै विद्यावारिधि गरेको सुन्दा आश्चर्य लाग्थ्यो मलाई । उनले सन् १९५६ मा आग्रा विश्वविद्यालयबाट एम गरेर सन् १९५९मा महाकवि गोस्वामी तुलसीदासको रामचरितमानस र नेपालीका आदिकवि भानुभक्त आचार्यको रामायणको तुलनात्मक अध्ययन शोध कार्यमा विद्यावारिधि गरे । सन् १९५० सम्म गुमनाम रहेकी कमलाले, राहुलजीसित विहे भएपछि शैक्षिक र साहित्यिक उत्कृष्टता प्राप्त गर्नु आफैँमा विशिष्ट उपलब्धि थियो । राहुल सांकृत्यायनको मार्ग निर्देशनमा उनले प्रगति गरे पनि कमला सांकृत्यायनको आफ्नै छुट्टै व्यक्तित्व र परिचय छ । राहुल सांकृत्यायनकी धर्मपत्नीको हैसियतले नेपालीका ठूला लेखक र कविहरूसँग संगत गर्ने अवसर पाए र त्यही अवसरलाई उनले उपयोग गरे आफ्नो साहित्य साधनामा । विशेषगरी महाकवि लक्ष्मीप्रसाद देवकोटालाई नजिकबाट चिन्ने अवसर पाए राहुलजी मार्फत । राहुलजीले देवकोटालाई हिन्दीको कवि पन्त, प्रसाद र निरालाका संगम भनेका थिए । देवकोटा र राहुलजीको बीच भ्रान्ति सृजना हुँदा देवकोटाले पागल कवितामा यस्तो लेखेका थिएः
नगण्य व्यक्तिलाई, तर,
सातौँ आसमानसम्म,
तारीफको पुलमा चढाएको छु,
तिम्रा महापण्डित, मेरो महामूर्ख
यसै प्रंसगलाई लिएर एउटा अनलाइन पत्रिकामा अल्का आत्रेय चुण्डाल लेख्छिन्, “यस वर्ष महाकवि लक्ष्मीप्रसाद देवकोटाको शतवार्षिकी मनाउँदा देवकोटालाई स-सम्मान नेपालबाहिरको भूमिमा चिनाउने र कविको उत्कृष्ट मध्येको एक “पागल” कविता लेख्ने वातावरणमा कारक बनेका महापण्डित राहुल सांकृत्यायनकी धर्मपत्नी कमला परियार सांकृत्यायनको निधनको खबर विश्वका दक्षिण एसियाली अध्ययनमा समर्पित विद्वान् -हरूलाई स्तब्ध बनाउने गरी फैलियो । कमला सांकृत्यायन (सन् १९२०-२००९) राहुल सांकृत्यायनकी धर्मपत्नी मात्र नभएर आफ्नो अलग अस्तित्व बनाउन सफल एक महिला हुन् । धेरैजसो त ठूला रूखहरूको ओसमा परेर साना बिरुवाहरू तन्किन र मौलाउन पाउँदैनन् तर कमला सांकृत्यायन राहुल सांकृत्यायनरूपी महावृक्षको छेउमा एउटा अलग चौतारो बन्न सफल भइन् ।” यो कार्यक्रम अस्ट्रियाको भिएनामा भएको लेखिकाले उल्लेख गरेकी छिन् ।
देवकोटाको प्रसङ्गमा अल्का लेख्छिन्, “महाकवि देवकोटासँग साक्षात्कार गरेकी कमला सांकृत्यायनले उनका बारेमा रूपरेखा, भानु, सुस्केरा र गोरखापत्रमा समेत धेरै लेखहरू प्रकाशित गरेकी छिन् । देवकोटाको साँचो मूल्याङ्कन हुन नसकेकोमा दुःख व्यक्त गर्ने प्रवासी नेपाली कमला, विद्वान् पतिसँगको सान्निध्यपूर्व नै साहित्यिक क्षेत्रमा झुकाउ भएकी हुन् भन्ने कुराको प्रमाण उनको भानुमा प्रकाशित लेखबाट स्पष्ट हुन्छ जब उनी (पच्चीस वर्षको उमेरमा) देवकोटाको दर्शनार्थ सन् १९४५ मा कालिम्पोङ्-को भीडलाई चिर्दै पुगेकी थिइन् । त्यसबेला घुम्रिएको बाक्लो लामो कपाल, बाक्लो दाह्री र सौम्य आकृतिसहित लामो कालो कोटमा सजिएका महाकवि देवकोटाले सुनाएको सिलिगढीदेखि कालिम्पोङ्-सम्मको पद्यमय यात्रा वर्णनबाट उनी धेरै प्रभावित भएकी थिइन् ।”
सन् १९५३मा पतिसँग काठमाडौमा देवकोटालाई भेटेको प्रसंग पनि निकै रोचक छ । कमला सांकृत्यायनले देवकोटामाथि लेखेको लेख धर्मयुगमा छापिएको थियो जुन लेख प्रकाश सुवेदीको अनुवादमा महापण्डित राहुलले महाकवि देवकोटासँग भेट गर्नुहुँदा शीर्षकमा भानु पत्रिकामा प्रकाशित भएको थियो । उक्त लेखमा कमला सांकृत्यायन लेख्छिन्, “सन् १९५३ को घटना हो, म आफ्ना खसम महापण्डित राहुल सांकृत्यायनज्यूको साथमा नेपाल गएकी थिएँ । हामी काठमाडौँमा बसेका थियौँ । एकदिन बिहानै ओभरकोट लगाएको तथा सिगरेटको सर्को लिँदै एउटा सौम्य आकृति हाम्रो कोठामा दाखिल भयो र मसँग सोध्यो- “महापण्डितज्यू यहीँ बस्नुभएको छ ?” ‘ज्यू’, मैले भनेँ र पण्डितज्यूलाई बोलाई ल्याएँ । पण्डितज्यू आएपछि आगन्तुकले आफ्नो परिचय दिँदै भने ‘म लक्ष्मीप्रसाद देवकोटा हुँ र नेपाली भाषामा कहिलेकाहीँ तुकबन्दी गर्ने गर्दछु ।’ यसपटक महाकविले आफ्नो दाढी तथा जुँगा खौरिसक्नुभएको थियो, यसकारण मैले उहाँलाई चिन्न सकेकी थिइनँ । परिचयको औपचारिकता पूरा भइसकेपछि कुराकानीको प्रसङ्ग सुरु भइहाल्यो । महाकवि चारैतिर धुवैँधुवाँ पार्दै चुरोट खाँदै हुनुहुन्थ्यो र यसै धुवाँको माझ उहाँ हराउनुहुन्थ्यो । श्री देवकोटाले यसै चर्चाको बीच उहाँ अङ्ग्रेजीमा ‘प्रमथियस अनबाउन्ड’ नाउँको एउटा महाकाव्य लेख्दै हुनुहन्छ भन्ने कुरा पनि बताउनुभयो । उहाँले भन्नुभयो– “मैले यस महाकाव्यको चालीस पाता लेखिसकेको थिएँ तर ती सबै नासिए, अब फेरि ती लेख्दै छु ।”
कमला सांकृत्यायनको विशिष्टता थियो -नेपाली र हिन्दी दुवै भाषामा समान रूपले कलम चलाउनु । कमला सांकृत्यायनको शुरुवाति दिनका लेखहरूमा राहुलजीको प्रभाव पर्नु स्वभाविक थियो । अथाह ज्ञानको सागरको भण्डार राहुलजीबाट केही सिक्नु र जान्नु उनको निम्ति स्वभाग्य पनि थियो । तर राहुलजीले नै लेखिएको कतिपयले लगाइको आरोपलाई राहुलजीको निधन पछि पनि ४४ वर्षसम्म अनवरत रूपमा लेखन कार्यमा आफूलाई व्यस्त राखेकोले झुठा सावित गरेको छ ।
राहुलजीसँग भेट्नु अगावै उनी नेपाली साहित्यमा झुकाउ थियो । देवकोटा कालिम्पोङ आँउदा उनले देखाएको उत्सुकताले नै यो प्रमाणित हुन्छ । उनका शुरुका दिनहरूके लेख देहरादुनबाट प्रकाशित हुने जाग्रत गोर्खा र नयाँ समाज पत्रिका(हिन्दी) पत्रिकाहरूमा प्रकाशित भएका थिए । नेपाली साहित्य सम्मेलनबाट प्रकाशित हुने दियालो पत्रिकामा १९६० र ७० को दशकतिर उनका धेरै स्तरीय लेखहरू प्रकाशित भए । धेरै विधामा कलम चलाए पनि कमला सांकृत्यायनले समालोचकको रूपमा विशिष्ट पहिचान बनाएकी छिन् । त्यसको उदाहरण हो उनको कृति विचार र विवेचना । यस कृतिमा १४ वटा उत्कृष्ट लेखहरूको सङ्ग्रहित छ र यसले १९८२ सालको भानु पुरस्कार पाउन सफल भए । उनको समालोचकीय गुणसम्बन्धी कुमार प्रधान आफ्नो अङ्ग्रेजीमा लेखिएको नेपाली साहित्यको इतिहासमा लेख्छन्, “डा. कमला सांकृत्यायनले विभिन्न विषयहरूमा आलोचनात्मक लेखहरू लेखेका छिन् । लेखनमा सरल भए पनि विद्धत्तापुर्ण हुन्छ । उनको विचार र विवेचना पुस्तकमा नेपाली भाषाको उत्पत्ति, कालिदास, तुलसीदास, भानुभक्त, शरदचन्द्र, अगमसिंह गिरीको लेख रचना र कला र नाटकमाथि पनि लेखेका छिन् ।” यसैगरी उनलाई समालोचकको रूपमा स्विकार्दै ‘नेपाली महिला साहित्यकार’-मा लीला लुइँटेल लेख्छिन्, “यिनले संस्कृत एवं बङ्गाली भाषाका साहित्यकारका कृतिको पनि समालोचना गरेकी छन् । प्रभाववादी ढङ्गमा लेखिएका यिनका समालोचनात्मक रचनाको निष्कर्षमा आत्मपरक अभिव्यक्ति पाइन्छ । जे भए पनि यिनले नेपाली साहित्यको इतिहासलाई हिन्दीभाषी पाठकसमक्ष पुर्याउने उल्लेख्य काम गरेकी छन् । प्रभाववादिता, ऐतिहासिकता, तुलनात्मकता आदि समालोचक कमला साङ्कृत्यायनका समालोचकीय प्रवृत्ति हुन् ।”
कमला सांकृत्यायन कवि अगमसिंह गिरीको काव्य प्रवृतिमाथि गरेको विवेचना नेपाली साहित्यको उत्कृष्ट समालोचनामा पर्छ । कवि गिरीको जीवन-दर्शन लेखमा उनी लेख्छिन्, “कवि गिरीले, मेरो विचारमा वेदनालाई नै आफ्नो काव्यको मूल विषय-वस्तु बनाएका छन् । वेदना दुःखमूलक अवश्य छ, तर प्रत्येक स्थितिमा त्यो दुःखजनक हुँदैन । काव्यमा जीवनका तिनै भावनाहरू अभिव्यक्त हुन्छन् जुन चाहिँ कविलाई प्रिय हुन्छन् । अप्रियतालाई काव्यमा स्थान रहँदैन । वेदनाले पनि प्रिय लाग्दा मात्रै आफ्नो स्वरूप धारण गर्दछ । कविले दुःखवादलाई आफ्नो काव्यको विषय बनाएर सुखवादसित सम्बन्ध तोडेका छन् भन्ने कुरो त आउँदैन, तर सुखवादको उल्लास प्राप्त गर्नको लागि नै उनले वेदनासित सम्बन्ध जोडेझैँ हामीलाई लाग्दछ । कविलाई वेदना प्रिय छ तर यसको प्रियताको लागि उनीसित कुनै स्पष्ट कारण नै छैन । व्यक्तिको जीवन नै यस्ता अनेक रहस्यमय तत्वहरूद्वारा निर्मित हुन्छन् जसलाई हामी पूरा पूरा अभिव्यक्त गर्न सक्तैनौँ । गिरीले पनि आफ्ना यी वेदनाहरूको मूल कारणलाई कतै कतै प्रकट गर्न खोजे तापनि त्यो पर्याप्त छैन । उनको जीवनमा किन यसरी वेदनाको साम्राज्य फैलियो, यसको कुनै स्पष्टीकरण हामी उनका कृतिहरूमा पाउन असमर्थ छौँ । उनले कतैकतै यी वेदनाहरूको कारण अस्पष्ट रूपले दिन खोजेका छन्, जस्तै-
जीवनको छ प्रतिकूल यात्रा तर पनि अनुकूल पार्न सकौली
मेरो विचलित जीवन-नौका ठान्थेँ तिमी ता तार्न सकौली
पागल ठानी व्यर्थ डरायो सोध्यौ सद्दे दुनियाँलाई
पगला पगला भन्दछ दुनियाँ सार मिलाई हेर मलाई“
उनको अर्को परिचय अनुवादक र हिन्दी साहित्यका लेखिका पनि हुन् । सन् १९६४-मा उनलाई हिन्दी भाषाका सम्पादकमा मनोनयन गरेका थिए भने सन् १९७२-मा आसामकी लोक कथाएँ-को निमित्त केन्द्रीय शिक्षा मन्त्रालयद्वारा गैर हिन्दीभाषी लेखिकाका रूपमा राष्ट्रिय पुरस्कारद्वारा सम्मानित गरिएको थियो । यो नेपाली भाषीले पाएको उच्च सम्मान थियो ।
सन् पचासको दशकमा हिन्दी भाषा बनाम नेपाली भाषाको चर्चा निकै भएको रामलाल अधिकारी निबन्धमा उल्लेख गर्छन् । ‘तर्क-वितर्कका घेराभित्र तार्किक नगेन्द्र शर्मा‘ शीर्षक लेखमा रामलाल अधिकारी लेख्छन्, “हिन्दी भाषाको प्रभाव कतिसम्म पर्न गयो भने बनारसमा शिक्षा लाभ गरेका मातृकाप्रसाद कोइरालाले आफू नेपालका प्रधानमन्त्री हुँदा (सन् १९५२) नेपालको राष्ट्र भाषा हिन्दी हुनुपर्छ भन्ने पक्षधरहरूको नेतृत्वसमेत गरेका थिए । यसैको परिणामस्वरूप श्री जनकलाल शर्माले ‘नेपालमा राष्ट्र भाषाको प्रश्न‘ शीर्षक उद्दण्ड लेख लेख्नुपरेको थियो ।….. घटना यस्तो थियो – प्रगति द्वैमासिक पत्रिकाको वार्षिक ग्राहक सङ्ग्रह गर्ने अभियानमा देवकोटा स्वयम् अघि लागेका थिए । विश्वमणि आ.दी. -लाई वार्षिक ग्राहक भइदिने अनुरोध गर्दा नेपाली भाषामा प्रगति पत्रिका निस्कने भन्ने सुन्नेबित्तिकै विश्वमणिले भनेका थिए रे “नेपाली बाँच्दैन कहिल्यै, हिन्दीले राज गर्दछ ।” यो घटना सन् १९५५ तिरको आलै हो ।” यो लेख उनको विषय परिक्रमामा समावेश छ । यही समयमा हिन्दी साहित्यमा विद्यावारिधि गरेका कमला साङ्कृत्यायनले लेखेको लेख निकै महत्वपूर्ण छ । दुवै भाषामा राम्रो दखल भएको कमला साङ्कृत्यायनले ‘नेपाली र हिन्दी भाषाको सम्बन्ध‘ लेखमा लेख्छिन्, “प्रत्येक भाषाको आफ्नो एउटा भिन्न स्वभाव हुन्छ जसद्वारा प्रभावित भएर यसभित्र परिवर्तनका घटनाहरू घटित भइरहन्छन् । यसैकारण समान लिपि देवनागरी हुँदा-हुँदै पनि हिन्दी र नेपाली भाषा अर्थ, ध्वनि, रूप, पद आदिको दृष्टिले केही न केही भिन्न भएका छन् । यी दुवै भाषाहरूलाई आफ्नो भिन्न सांस्कृतिक, ऐतिहासिक, राजनीतिक र वैचारिक खुड्किलाहरूबाट गुज्रिनुपरेको हुनाले विकासको भाग कहीँ प्रशस्त र कहीँ सङ्कीर्ण भएको छ ।”
कमला साङ्कृत्यायनको लक्ष्मीनाथ बेजबरुवा (सन् १९८७ , अनुदित कृति) प्रकाशित गरेका छिन् भारतीय साहित्य एकेडेमीको भारतीय साहित्यका निर्माता शृङ्खला ( Makers of Indian Literature series)अन्तर्गत । यसका मूल लेखक हेम बरुवा हुन् । आसामकी लोक कथाएँ बाहेक कमला साङ्कृत्यायनले हिन्दी भाषामा नेपाली साहित्य इतिहास, राहुल साङ्कृत्यायनको व्यक्तित्व र कृतित्वमा केन्द्रित कृति महामानव महापण्डित लेखेकी छिन् । यस कृतिमा १५वटा संस्मरणात्मक र मूल्याङ्कनपरक लेखहरू समाविष्ट छन् । यसबाहेक राहुल साङ्कृत्यायनके श्रेष्ठ निबन्ध र राहुल वाङ्मय – जीवन यात्रा (चार खण्ड ) लाई कमला साङ्कृत्यायनले सम्पादन गरेकी हुन् ।
उनको अन्तिम कृति दिव्यमणि (२००८) उपन्यास हो । सायद यो पहिलो र अन्तिम हो जस्तो लाग्छ । यस उपन्यासको गहन अध्ययन गरेकी छिन् डा. राजकुमारी दाहालले । समालोचक दाहाल भारतको सिलगुडीमा बसेर साहित्य कर्म गर्छिन्, अनुवाद विमर्श र नेपाली आञ्चलिक उपन्यास उनका प्रमुख कृति हुन् । उनले रूपनारायण सिंहको उपन्यास भ्रमरको बङ्गला अनुवादमा सह-अनुवादकको भुमिका निभाएकी छिन् । दिव्यमणिमाथि समालोचना गर्दै लेख्छिन् डा. दाहाल, “कमला साङ्कृत्यायनद्वारा लिखित दिव्यमणि उपन्यासमा स्वतन्त्रतापूर्व कालेबुङ क्षेत्रको भौगोलिक विवरण, त्यहाँको समाज र त्यस समयको ऐतिहासिक पृष्ठभूमिलाई औपन्यासिक रूप प्रदान गरिएको छ । यस उपन्यासको समयसीमा पहिलो विश्वयुद्ध (१९१४-१५) देखि लिएर लगभग साठीको दशकसम्म रहेको छ । प्रस्तुत उपन्यासमा मूल पात्र दिव्यमणिको जन्मदेखि मृत्युसम्मका घटनाहरू, उसका जीवनमा आएका आरोह –अवरोह, जीवनका भोगाइ, जीवनका प्राप्ति –अप्राप्ति आदिको सविस्तार वर्णन गर्नका साथै इतिहासका पानामा नलेखिएका कतिपय ऐतिहासिक सत्यतथ्यलाई पनि उपन्यासमा समेटिएको पाइन्छ । उपन्यासकारको दायित्वको सम्बन्धमा राल्फ फाक्सको कथन यसप्रकारको पाइन्छ –’आफ्नो देशको अतीत अनि वर्तमानप्रति उपन्यासकारको विशेष उत्तरदायित्व रहेको छ । उसले अतीतबाट उत्तराधिकारमा जे प्राप्त गर्दछ त्यो महत्त्वपूर्ण छ किनभने यसबाट उसको देशको संस्कृतिक विरासतको त्यो अंश देखिन्छ जसको वर्तमानमा केही अर्थ हुन्छ; उसले वर्त्तमानको सम्बन्धमा जे भन्छ त्यो पनि महत्त्वपूर्ण छ किनकि आफ्नो समयको भावनामा जुन कुरो सर्वाधिक सजीव हुन्छ त्यसैलाई अभिव्यक्त गर्ने कल्पना उसले गर्दछ ।”
दिव्यमणिको भूमिकामा कमला साङ्कृत्यायन लेख्छिन, “संसारमा कति स्थानहरू, ठूला शहर अथवा स-साना ग्रामीण क्षेत्रहरूमा आआफ्नो इतिहास र समाजको रचना हुन्छ । साथै त्यस क्षेत्रको आर्थिक र प्राकृतिक अवस्था र सामाजिक पृष्ठभूमिले त्यस समयका मानिसहरूको जीवन माथि प्रभाव गर्छ । थाहा हुँदैन इतिहास कहिले बन्यो, सामाजिक नियमहरू कहिले बाँधियो, तर यस रचनाक्रममै धेरै ठूलो अथवा साना मानिसहरूको भूमिका रहेको हुन्छ । समयको धारामा बगेर यस्ता मानिसहरूको नाम अस्तित्त्व विलुप्त हुन्छ, तिनीहरूको जीवनकथा बिर्सिजान्छ, तिनीहरूको आशाहरू, सुख-दुःख, जिन्दगीको उतार-चढाव सबै मेटिन्छ । बिस्तारै-बिस्तार नया पीढी, नया समय, आफ्नो नया पात्रहरू लिएर आउँछ तिनीहरू आफूले नदेखेको समयलाई दन्तेकथा सम्झिन्छन् ।” यस उपन्यास कालेबुङको कथा हो, इतिहास हो शहरको, मानिसको व्यथा हो । कुनै समय कालेबुङमा तिब्बतसँग व्यापार गर्न काठमाडौँको नेवार साहुहरू गएका थिए, पछि उनीहरू काठमाडौँ फर्केपछि ठूलो व्यापारी भए । कति माडवाडी साहुहरूले तिब्बतमा घिउको सट्टा गोबर पठाएर ठगीको व्यापार गरे । तीस र चालीसको दशकमा कालेबुङ व्यापारिक केन्द्र मात्र थिएन राजा रजौटाको मनोरञ्जन गर्ने थलोको रूपमा पनि परिचित थियो ।
साहित्यप्रति उनको योगदानलाई कदर गर्दै भारतीय साहित्य निर्माता सिरिज अन्तर्गत दुर्गाप्रसाद श्रेष्ठद्वारा लिखित कमला साङ्कृत्यायनको जीवनी प्रकाशित गरेका छन् । उक्त पुस्तकको भुमिकामा दुर्गाप्रसाद श्रेष्ठ लेख्छन्, “कमलाजीलाई पनि भाग्यले सुप्रसिद्ध लेखक, अन्वेषक, विद्वान राहुल सांकृत्यायनको सम्पर्कमा ल्याइदियो । यदि राहुलजीको सम्पर्कमा नआउनु हुँदो हो त वहाँ भारतको सुदूर उत्तरी पहाडी इलाका कालिम्पोङको एउटा गाउँमा साधारण जीवन व्यतीत गर्ने नारीको रूपमा मात्र चिनिनुहुन्थ्यो होला । उहाँमा प्रतिभा थियो तर त्यस सुषुप्त प्रतिभालाई जगाइदिने काम राहुलजीबाटै भयो । उनले कमलाजीलाई पढ़न-लेख्न लगाउनुभयो-एउटा म्याट्रिक पास पहाडी बालालाई पी.एच.डी. सम्म गराउनुभयो । उनी दार्जिलिङको लोरेटो कान्वेन्टमा अध्यापिका भइन् र दुईपटक अस्थायी प्रिन्सिपलको कार्यभार पनि सम्हालिन् । तर यति सफलता अर्जित गर्न कमलाजीले त्याग पनि कम गरिनन् । उनले राहुलजीको सहायिका भएर घर छाडेर कहिले देहरादून, कहिले नैनीताल र कहिले मसूरीमा निवास गरिन् । यसरी एउटी अविवाहिताले परपुरुषसँग बस्नु समाजलाई मन पर्दैन । त्यसमाथि राहुलजी र कमलाजीको उमेरमा तीन गुणा फरक थियो । राहुलजीले कमलाजीसँग विवाह गरे-समाजको मुख टाल्न । कमलाजीले आँसु घुटुक्क निलिन् । तर राहुलजीप्रति पूर्ण समर्पिता बनिन् । राहुलजीको सुखमा भन्दा दुःखमा बढी साथ दिइन् । राहुलजीलाई कलकत्तामा पक्षाघात हुँदा उनको स्याहार-सुसारका लागि कमलाजीले गरेको दुःख शायद बहुतै कमले भोगेको होला । त्यसपछि राहुलजीलाई रूसमा उपचारको लागि लग्दा उनले गरेको सेवा देख्दा त्यहाँका डाक्टर-नर्स पनि चकित भएका थिए । राहुलजी अति सिकिस्त हुँदा कमलाजीलाई ‘तपाईँ अर्को कोठामा बस्न जानुस्’ भन्दा उनले मानिनन् । जे पर्ला सहुँला भन्ने भावना मनमा लिइन् । यस्ती दृढव्रती कमलाजी साँच्चिकै पतिव्रता थिइन् । राहुलजी ‘इन्तु न चिन्तु’ हुँदा ‘हे विधाता, मलाई छोडेर नजाऊ’ भनी प्रार्थना गर्ने नारी असली पतिव्रता नभए को हुन्छ ? आफ्ना बालक छोरा-छोरीलाई हजारौँ माइल टाढा छाडेर पतिको सेवामा रहँदा उनी आँसु मात्र बगाउँथिन् ! यो जीवनी पढ्दा के थाहा हुन्छ भने राहुलजीलाई पाएर कमलाजीको मात्र भाग्य खुलेको हैन कि राहुलजीले पनि बडो भाग्यले यस्ती सहधर्मिणी पाए जसले मृत्युपर्यन्त उनको सेवा गरे । कमलाजीले आफूलाई ‘योग्य पतिको सुयोग्य पत्नी’ कहलाउन केही बाँकी राखिनन् ।”
लेखक परिचय
पत्रकार तथा लेखक शरद प्रधानले नेपाली र अंग्रजी दुवै भाषाका पत्रिकाको सम्पादन गरेका छन् । साहित्यका विभिन्न विधामा कलम चलाउने प्रधान रेडियो टुरिजम र एक्सेलट्रिप नेपालसँग आवद्ध छन् ।
Sharadjyu, thank you for this detailed article on my Mother. There are a few factual errors which should be corrected later as I am sure other serious students will also use it for reference. However, I am happy that her life and her achievements have been commemorated so well on the eve of what would have been her 89th birthday on 15 th August.
डा . कमला सांकृत्यायनको बारेमा निक्कै राम्रो जानकारी । सन् 1952 मा नेपालका प्रम मातृकाप्रसाद कोइरालाले नै नेपालको राष्ट्रभाषा हिन्दी बनाउने पक्षको नेतृत्व गर्दा पनि देवकोटा लगायतका साहित्यकारको बिरोधले गर्दा नै यो भाषाको गरिमा बँचेको थियो । त्यसमा कमला सांकृत्यायनले पनि आफ्नै प्रकारले योगदान गर्नुभएको रहेछ ।
कमला सांकृत्यायनलाई हरेक दृष्टिबाट चिनाउन यो लेख पर्याप्त छ। शरद् प्रधानको स्तुत्य कार्य यो।