एक परिस्थिति जीवनमा यस्तो आयो, जसको समस्या निदान नगरी मेरो जीवनको केही अर्थ रहन नजाने भयो– र जीवन अर्थात् बाँच्ने क्रियाको केही लक्ष्य, केही उद्देश्य जब हुँदैन, त्यस बेला मरिदिनु नै उचित ठहर्दछ । त्यस्तै परिस्थितिमा मैले निर्णय गरेँ, म मर्दिनँ, बरु जीवनको काँचुली फेर्छु, आफ्नो बितेको र बितिरहेको जीवनसँग अब बिताउनुपर्ने जीवनको एक क्रमबद्धतालाई बलि चढाएझैँ मार हान्छु ।
कसैलाई साउती–सुर्ता नगरी मैले आफ्नो वातावरणलाई चटक्क परित्याग गरेँ र बस्न पुगेँ अर्कै वातावरणमा, अर्कै परिस्थितिमा । मेरा आफन्त, मेरा मित्र मेरा बान्धव, परिचित, मेरो व्यवसाय, मेरो आयको स्रोत, मेरो जनसम्पर्क, मैले कमाएको नाम गुमाएको यशउपर यसको के असर पर्ला, त्यो सब मैले भोलिको पोल्टामा घोप्टाइदिएँ । दसैँ सम्झिनँ, तिहार सम्झिनँ– सम्झिनँ अब जीवनका लागि औँसीबाट पूर्णे आउने हो कि पूर्णेबाट औँसी ।
भनेँ मनमा, “हे भोलि ! तिम्रो छनोट मलाई स्वीकार्य छ ।”
तर भोलिको पोल्टामा सब कुरा घोप्टाउनु सजिलो छ, तर भोलि के कुन कुरा पहिले टिप्ने हो, त्यसलाई राख्ने हो, फ्याँक्ने हो, त्यसको प्रतीक्षा गर्नु सायद फाँसीमा चढाइने दिनको उषाको भन्दा पनि बढी दुःख दिने खालको अवस्था छ ।
त्यस अवस्थालाई झेल्न मलाई गाहारो भयो । रक्सी खान जान्ने, सक्ने र खाने व्यक्तिका लागि रक्सी खाएर त्यसको नशाको बेहोसीपनको मधुरो सुमसुम्याइकै सहारा लिनुसिवाय अरू केही उपाय थिएन ।
मैले त्यै काख रोजेँ । म कहाँ छु र के गर्दै छु, मलाई पत्ता रहेन । मन लासमा परिणत भए पनि, तन उपहास सिवाय केही भएनछ । बेहोसीको अवस्थामा अभ्यासअनुसार चर्पी जान उठेछु । अभ्यासले मलाई हिजोमा डो¥यायो । हिजोको चर्पी आजको भर्याङ रहेछ ! मलाई ओर्लेको थाहा छैन, कारण कपाल फुटी म बेहोस थिएँ । अरूहरूले मलाई कुन बेला उठाए र कसरी ओछ्यानमा पुर्याए र के प्राथमिक उपचार गरे, त्यो पनि मलाई पत्तो छैन । म झन्डै १६ घण्टा मस्तसँग सुतेछु ।
होसमा आएपछि, सब परिस्थितिबाट अवगत गराएपछि, मेरो कल्पनाले एक अतिसुन्दर चित्र देख्यो– इन्द्रघनुषी टङ्कारको, धनुष्टङ्कार रोगको, टिटानसको !
म सबभन्दा नगिचको क्लिनिकमा गएँ । सोधेँ, कोही डाक्टर छ ? “छ, तर बिरामी जाँच्नुहुँदै छ ।” कुरेँ, पालो आयो, भित्र पसेँ । जीवनमा प्रथम पटक देखेको उसलाई त्यहीँ हो ।
‘एक अपरिचित डाक्टर’ सँग यो मेरो पहिलो भेट थियो ।
मान्छे कस्तो छ ? होइन त ? उसको अवगुणको मात्रै बयान गर्छु, जो पहिलो झलकमा मेरो मनमा आयो । ऊ अग्लो होइन, दुब्लो होइन, अनुहारले पसले साहू हो क्युरियो व्यापार गर्ने, डाक्टर पटक्क होइन, पोसाकले ऊ साहू होइन, कारण सुट भिरेको छ, कोठाको वातावरणले यस्तो झल्काउँछ, मानौँ शरीरशास्त्रसम्बन्धी जुन दुवैवटा चार्ट त्यहाँ झुन्डाइएका छन्–हड्डीका जेड तथा नसाका फैलाउ– ती उसले रङको सदुपयोग सौन्दर्य निमित्त टाँगेको छ ।
अनि, मैले उसको नाउँ पनि त बाहिर झुन्ड्याएको बोर्डमा पढ्न भुलेछु !
“बस्नुुस् !”
बसेँ ।
“के भो ?”
टोपी फुकालेँ । हेर्यो ।
“कसरी ?”
“म यहाँ नयाँ बस्न आएको । हिजो दिउँसो निन्द्राको झोँकमा बाथरुम जाँदा चिप्लेछु । घाउ भयो ।”
“यो औषधि कसले लायो ?”
“मेरी जहानले । यहीँबाट किनेर लगेको ।” मेरो उद्देश्य उसलाई हामीले मन पराइसक्यौँ भन्ने संकेत दिनु थियो ।
“ठीक औषधि परेको छ ।”
सायद उसले मेरो संकेत बुझेर आफ्नो प्रत्युत्तर सङ्केत मलाई दियो, मानौ ‘ठीक ठाउँमा तिम्री जहान आइछन् ।’
“डाक्टर केही औषधि, एटीएस…” भन्न पनि पाएको दिइनँ । उसले कुरा काट्यो ।
“त्यो घबडाउनु पर्दैन ! अहिले अलि एन्टिबायोटिक्स मात्रै लिनुहोला । घाउलाई बाहिर प्रोपर्ली वास तथा ब्यान्डेज गराउनुहोस् । म प्रेस्क्रिप्सन लेखिदिन्छु ।”
कागज अगाडि आयो । एक अतिसाधारण र समयको प्रश्न पनि आयो– “नाम ?”
“शङ्कर लामिछाने ।”
शङ्करको ‘श’ पनि लेखिनसक्दा उसलाई मेरो नामले हिर्कायो ।
“….के भन्नुभयो ? शङ्कर लामिछाने, उही लेखहरू लेख्ने शङ्कर लामिछाने ?”
हो पनि, अरू के भन्न सक्थेँ ?
“हिजो अलि बिहानैदेखि मुड आयो कि क्या हो ? नत्र दिउँसो लड्नु कसरी ?”
नांगो बन्नुसिवाय मसँग अरू उपाय रहेन । लँगौटी भन्नु मेरो यति थियो, “म अलि मेन्टली डिस्टब्र्ड थिएँ ।”
ऊ हाँस्यो, त्यसपछि र कोठामा रहेको वातावरणलाई उसले आफ्नो वाचाल शक्तिले बदलिदिन थाल्यो ।… एकछिनपछि मलाई यस्तो भान हुन थाल्यो, मानौँ चार्टमा उभिएको नसैनसा भएको मान्छे र त्यो चार्टमा भएको हड्डीका टुक्राहरूद्वारा जोरिएको कंकाल पनि हामीसँगै ठट्टामा भाग लिन सँगै मेचमा बस्न ओर्लिने हुन् कि चार्टबाट ! साँच्चै नै, तिनमा स्पन्दन उम्रिसकेको थियो ।
म बिदा भएँ । बाहिर आएँ । डाक्टरबाट अनायास पाएको, एक अनजान व्यक्तिको श्रद्धाको यो उपहार जो मेरो साहित्यको साधनाको थियो, त्यसैको आत्मसन्तुष्टिमा चुर्लुम्म थिएँ म ।
भोलिले टिपेको पहिलो मेरो सम्पत्ति मन पराएर चुल्ठोमा घुसारिन् लौ !
म कहाँ बस्छु उसले थाहा पायो । उसको घर क्लिनिकको बाटोमै पर्छ । यदाकदा अनायास ऊ पस्ने पनि ग¥यो मेरो प्रगतिको समाचार सुन्न । भेटेपछि गफ गरिन्छ नै । म जस्तै ऊ पनि सर्वलम्फू रहेछ । मैले आत्माको शक्तिले शारीरिक शक्तिउपर गरेको प्रभावबारे नचाहिँदो गहन अध्ययन गरेजस्तै, ऊ पनि ‘शरीरउपर प्राकृतिक चिकित्साको देन– पूर्वीय धर्मको सन्दर्भमा’ भन्ने विषयउपर थेसिस तयार पार्दै छ । यदाकदा हामी आपसको ज्ञान साटासाट गर्छौं ।
दुई लम्फू–लेखनमा म, उपचारमा ऊ, ‘मेरो जीवनको उद्देश्य लेखक बन्ने कहिल्यै रहेन’ म ठान्छु, मानिसले स्वयम्लाई व्यक्त गर्न सक्ने पनि एक सीमा, एक लक्ष्मणरेखा हुन्छ, मानसिक, सामाजिक, आर्थिक, राजनीतिक र अध्ययनको । के यी सबै सीमाबाट मुक्त भएर सत्य कहिल्यै अभिव्यक्त गर्न सकिएला ?…त्यसकारण लेख्नु भनेको ठट्टा गर्ने, ‘समय काट्ने एक साधन हो…’ऊ भन्छ– भविष्यमा उपचारप्रणाली यत्तिको विकसित र मूल्यवान् हुनेछ, रोगीलाई रोग निदान गराउन कमसेकम ५० विशेषज्ञको सामूहिक टोलिबाट जँचाउनुपर्ने हुन जानेछ । साधारण रोगीको सामथ्र्य, यो बढ्दो महँगीमा ?
फेरि पनि बिरामी परेँ । यस पटक म पनि आत्तिएँ । कफमा रगत देखा पर्न थाल्यो । आमा मरेको क्षयरोगले, बाबु क्यान्सरले, परम्पराअनुसार म पनि ठूलै रोगले मर्नुपर्छ– कि आमाको, कि बाबुको, कि दुवैको ! मलाई थाहा नै नदिई उसले कफको जाँच गराएछ, खास डर मान्नु नपर्ने रोग सायद पेटमा कतै रप्चर भएको शंका थियो । झन्डै दिनको तीनपटक ऊ आउने । स्याम्पल औषधिहरू बोकिल्याउने । झन्डै स्याम्पल औषधिको आधारमा रोग थामपुर भयो ।
म मरिनँ अहिलेलाई !
अपरिचित एक डाक्टरले जीवनका केही काल विधातासँग सापट मागिदियो ।
त्यही अस्वस्थ भएकै बेला मेरो मनमा एउटा कुरा आयो– परिचय, अपरिचय, आत्मीय, अनात्मीय भन्ने इत्यादिइत्यादि जो विशेषण छन्, जसलाई हामीले अरूहरूसँगको हाम्रो सम्बन्ध स्पष्ट गर्न स्थापित गरेका छौँ– तिनको वास्तवमा केही मूल्य रहेनछ । जीवनको स–साना मोडमा, भाग्यले छिनछिनमा रङ बदलिरहेको बेला, को, कहाँ, कसरी देखा पर्ने हो, त्यो थाहा पाउन सकिन्न । अब यही हेरौँ न, साहित्य–साधनालाई एक ठट्टाका रूपमा लिने व्यक्तिलाई (मलाई), साहित्यिक रचनाहरूको माध्यमद्वारा परिचित भएको व्यक्तिले आफन्त ठान्नु र हेरविचार गरिदिनु, योभन्दा ठूलो व्यङ्ग्य अरु के हुन सक्छ मउपर ?
तर, वास्तवमा हेर्ने हो भने यो व्यङ्ग्य नै यथार्थ जीवन र त्यसको अव्यक्तनीय कटु सत्य हो ! र…कटु सत्य भनी विगतका अनुभवहरूको जुन अपरिवर्तनीय स्मारकका रूपमा मेरा अन्यान्य सम्बन्ध छन् (थिए !), तीभन्दा बढी व्यङ्ग्य अरू के हुन सक्छ (थियो !) जीवनमा !
अनुभवहरू त वास्तवमा एक यस्तो विनियम–दर रहेछ जीवनको, जसलाई बुझ्न प्रत्येक दिन अन्तर्राष्ट्रिय मुद्रास्थिति जान्नैपर्ने मानौँ ।
केही आम्दानी, केही खर्च नभईकन पनि आफ्नो सञ्चित कोषको रकम तलमाथि पर्न जाने !
र शब्दहरूको परिभाषा वा अर्थ नै लगाउन नसकिने !
अब, यो ‘अपरिचित डाक्टर’सँग कति जन्मदेखि मेरो परिचय छ (थियो !), म कसरी भन्न सक्छु !
र, जीवनमा अन्य यस्ता कति चरित्र अझै प्रकाशमा आउन तुलबुलाइरहेका होलान्– त्यो पनि म के जानूँ ?
(शिव अधिकारीद्वारा सम्पादित ‘शंकर लामिछानेका निबन्ध’ बाट साभार )
लेखक परिचय
शङ्कर लामिछाने चर्चित नेपाली निबन्धकार थिए। उनलाई साहित्यका विशिष्ट साधको रूपमा लिइन्छ। उनका गौंथलीको गुँड, बिम्ब प्रतिबिम्ब, गोधूली संसार, एब्स्ट्रयाक्ट चिन्तन प्याज र शङ्कर लामिछाने लगायतका निबन्ध सङ्ग्रहहरू प्रकाशित छन्। उनले निबन्ध सङ्ग्रह एब्स्ट्रयाक्ट चिन्तन: प्याजका लागि मदन पुरस्कार प्राप्त गरेका थिए।