सिङ्गाे समाज र मानवतालाई स्तब्ध पार्ने रुकुम घटना नेपाली समाजको विद्रुप पक्ष हो । यस घटनाले हाम्रो समाजलाई नराम्ररी झस्काएको छ । जातीय विभेद र त्यसबाट उत्पन्न परिणाम कति भयावह र विभत्स हुन्छ भन्ने यो एउटा गतिलो उदाहरण हो । यो हाम्रो विभेदकारी जातीय सामाजिक संरचनाले सिर्जना गरेको परम्परागत विभेदकै पछिल्लो घटना हो । जसरी र जस्तो अवस्थामा तात्कालिक कारणले उक्त घटना घटेको भएपनि मूल कारण जातीय विभेदमा पुगेर यस घटनाको अध्ययन विश्लेषण गरिनु जरुरी छ । प्राकृतिक रूपमा बिनाजात जन्मने मान्छेलाई विभिन्न जातको पगरी भिराएर विभेद सिर्जना गर्ने त्रुटिपूर्ण सामाजिक मूल्यकै पृष्ठभूमिका कारण यस्तो अमानवीय घटना भएको देखिन्छ । आधारभूत रूपमा हाम्रो समाजको जगमा भएको कमजोरीका कारण आजको सभ्य समाजमा पनि यस्ता घटना घट्दै आएका हुन् । जातीय विभेदलाई हटाउन राज्यले यसलाई मानवताविरुद्धको अपराध भनेर संविधानमै उल्लेख गरेको छ । मानवताको संरक्षण गर्न, समानताको प्रत्याभूति दिन र सामाजिक न्याय प्रदान गर्न राज्यले जातीय विभेदलाई हटाउन विभिन्न ऐन कानुनको व्यवस्था गर्दा पनि यसको निर्मूल गर्न सकिएको छैन । यो कानुनी कम र सामाजिक र मनोवैज्ञानिक समस्या बढी भएकाले यसको समाधान पनि सामाजिक रूपमा खोज्नुपर्छ ।
सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा रुकुम घटनासम्बन्धी थुप्रै क्रिया प्रतिक्रया आएका छन् । परम्पराबाट प्रेरित आइडोलोजी र मान्यताले हेर्दा उक्त घटनाका पीडितहरूले न्याय नपाउने र दोषी उम्कने खतरा बढी छ । बिनाआग्रह मानवीय मूल्यका दृष्टिले छानबिन भए मात्र सत्यतथ्य बाहिर आउन सक्छ । यो घटना एउटा जात, गाउँ र जिल्लाको मात्र नभई सिङ्गो नेपाली समाजको अझ मानवताको विषय भएकाले यसबेला सबैले संवेदनशील भई आ–आफ्नो ठाउँबाट सघाउनुको विकल्प छैन । यस घटनालाई नजरअन्दाज गरी आग्रह पूर्वाग्रहबाट हेरिए त्यसले नेपाली समाजमा ठूलो विखण्डन ल्याउन सक्छ । श्रीलंका, सुडान आदि जातीय द्वन्दमा फसेका देशहरूको नियति हाम्रोमा पनि आउन सक्छ । यस घटनालाई लिएर यतिबेला नेपाली समाज दुई ध्रुवमा विभाजित देखिन्छ । एउटा पक्ष जातीय विभेदविरुद्ध दरो रूपमा उभिएको छ भने अर्को पक्षले अप्रत्यक्ष यथास्थितिको पृष्ठपोषण गरेको देखिन्छ । पहिलो पक्षको मत छ – घटनाको जरो जातीय विभेद नै हो । विभेदकारी जातीय सामाजिक संरचना र त्यसले निर्माण गरेको मान्यताबाट स्कुलिङ हुँदै आएको संस्कृतिले मानिसबीच विभाजनको रेखा कोरेको परम्परालाई भत्काउन खोज्ने र नखोज्ने सोचकै घर्षणले घटना घटेको हो । कुरा प्रस्ट छ – घटनाको कारण व्यक्ति होइन, परम्पराको संरक्षण गर्न खोज्ने र अतिक्रमण गर्न खोज्ने प्रवृत्ति हो । यी दुई भिन्न मान्यताकै द्वन्द्वका वरिपरि अन्य कारणहरू तत्काल सतहमा देखिएका मात्र हुन् । दोस्रो पक्षको मत छ –उक्त घटनाको कारण जातीयता होइन । बाल विवाह, छापामार शैली, आपराधिक मनोविज्ञान, शक्तिको दम्भ आदि हुन् । जुन कुरा झट्ट हेर्दा हो जस्तो लागे पनि गहिराइमा जाँदा यी कुनै पनि कारण वास्तविक होइनन् । एकछिनको लागि यिनै कारणले घटना भएको माने पनि फेरि ती कारणको पनि कारण जातीय विभेद नै हो । जुन न गैरदलितको हितमा छ न दलितको । यो त सिङ्गो समाज र मानवताको विरुद्धमा छ । यस प्रवृत्तिले समाजलाई पछाडि धकेल्ने, द्वन्दमा फसाउने र अमानवीय बनाउने कामबाहेक केही गर्दैन ।
यस घटनामा तथ्यलाई तर्कले बङ्ग्याउने प्रयासले कसैलाई फाइदा पुर्याउँदैन । तर्क भनेको चलाखीपूर्ण बठ्याइँ मात्र हो । यो तथ्यको अगाडि फिक्का हुन्छ । तर्कका आधारमा अनेक गाँठो पार्न त सकिएला तर त्यसले हाम्रो समाजलाई के दिन्छ ? मूल कुरा त्यो हो ।
तर्क आफैँमा उपलब्धि होइन । त्यसले दिने परिणाम कति न्यायोचित, सामाजिक, व्यवहारिक र मानवीय हुन्छ भन्ने मूल प्रश्न हो ? यदि हामीले तर्कबलमा उक्त घटना ठीकै हो भन्ने बनायौँ भने के पीडितले न्याय र पीडकले सजाय पाउलान् ? के यस्तो परिपाटीबाट सामाजिक न्यायको प्रत्याभूत गर्न सकिएला ? यसबाट के सामाजिक सद्भाव र सहिष्णुता कायम रहला ? के यस्तो तरिकाले जातीय विभेदको अन्त्य होला ? हामीबाट तथ्यलाई छोप्न खोजिए आफूभित्रको ढोङ्ग, आडम्बर र कुरूपतालाई छोप्नेछौँ जुन मौका पाउनेबित्तिकै कुनै न कुनै रूपमा प्रकट भएर यस्तै नियति दोहरिन सक्छ । बरु यसबाट पाठ सिकेर रूपान्तरण हुनुमै सामाजको हित हुन्छ । केटी पक्षलाई आलोचना गर्नुको साटो सामाजिक मूल्यका कमजोर र अमानवीय पक्षहरू हटाउँदै गए स्वत: यसखाले समस्याको समाधान भएर जान्छ । जसको लागि सबैको विवेकपूर्ण समझदारी आवश्यक छ ।
नेपाली समाजको अनुहारमा लागेको जातीय विभेदको कालो धब्बा रुकुम घटनासँगै फेरि बौरिएको छ । यसले २१औँ शताब्दीको नेपाली समाजको चरित्र उदाङ्गो पारेको छ । हाम्रो चेतना, हामीले बाँचेको समय र हामी उभिएको धरातलको जग बेस्सरी डगमगाएको छ । विश्व परिवेशमा मानिसले प्राप्त गरेको मनवीय मूल्यको तिरोहण भएको छ । कुनै पनि समाज र राष्ट्र समृद्धिको जग आन्तरिक मानवीय चेतना हो । व्यक्ति, समाज र राष्ट्रले आन्तरिक रुपमा ढोङ्ग, आडम्बर र पाखण्ड पालेर बस्दा उसको जीवन र व्यवहारमा त्यसको अभिव्यक्ति भइरहन्छ । यस्तो समाज सतही रूपमा अघि बढेजस्तो लागे पनि खासमा जहीँ को त्यहीँ हुन्छ । बरु अन्य समाजको तुलनामा झन् पछाडि धकेलिँदै जान्छ । सडेगलेको कमजोर जगमा सम्पन्न समाज निर्माणको कल्पना अर्थहीन हुन्छ । व्यक्ति र समाजले आफूभित्र अन्धकार पालेर बाहिर कसरी उज्यालो दिन सक्छ ? भित्री अन्धकारबाट बाहिरी उज्यालो बनाउँछु भन्नु मुर्खतापूर्ण हुन्छ ।
कुनै पनि समाजमा यथास्थिति र रूपान्तरणकारी प्रवृत्तिबीच सदैव द्वन्द्व भइरहेको हुन्छ । यथास्थितिवादीहरू परम्पराको संरक्षण गर्न खोज्छन् । यस्तो मान्यताले नयाँ सोच र परिवर्तनलाई स्वीकार गर्दैन । यसले परम्पराको पालना गर्नु आफ्नु कर्तव्य र धर्म ठान्छ । रूपान्तरणकारी प्रवृत्तिले परम्पराका कमजोर, अव्यवहारिक, असामाजिक, अमानवीय कुरा हटाएर त्यसभन्दा उन्नत ,सभ्य, न्यायिक र मानवीय जीवनको खोजी गर्छ । यस प्रवृत्तिको अगुवाइ पढेलेखेका बुद्धिजीवीहरूले गर्छन् । यतिबेला लामो संघर्षपछि प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न जातीय विभेद, अन्याय अत्याचारको विरुद्ध र न्यायको पक्षमा शिक्षित वर्गले बलियो गरी उभिन आवश्यक छ । विभेदरहित समाज निर्माण गर्न सके मात्र गणतन्त्रको औचित्य पुष्टि हुन्छ । जुन कुरालाई हिजो सामाजिक विकासको बाधक मानेर गणतन्त्र ल्याइएको थियो ,त्यसमा परिवर्तन भएन भने गणतन्त्रको पनि औचित्य रहन्न । यसले नेपालमा परिवर्तनका लागि गरिने कुनै पनि आन्दोलनको अब अर्थ छैन भन्ने संदेश जान्छ ।
अशिक्षित मानिसबाट गरिएको जातीयताको पृष्ठपोषण ठीकै मान्न सकिएला तर आफूलाई विद्वान मान्नेहरूले नै जातीयताको दुहाइ दिएको देख्दा बडो उदेक लागेर आउँछ । विद्वानहरूले आम मानिसभन्दा पृथक सोच राख्न सकेनन् भने पढ्नुको के अर्थ रह्यो र ? छुवाछूत दलितको मात्रै समस्या होइन । यो सम्पूर्ण मानव जातिकै समस्या हो । यसको सर्जक मानिस भएकाले समाधान पनि उसैले गर्नुपर्छ । यो सामुहिक र सांस्कृतिक समस्या भएकोले समाधान पनि सामुहिक-सांस्कृतिक रूपबाट गरिनुपर्छ । जुन संस्कृतिले विभेद सिर्जना गर्छ त्यसलाई भत्काएर समानतामूलक संस्कृति निर्माण गर्दै गए जनस्तरबाट स्वत: समस्या समाधान हुन्छ । यसको लागि शिक्षाको भूमिका महत्त्वपूर्ण हुन्छ । शिक्षासँगै दलितवर्गलाई आत्मनिर्भर बनाउन राज्यले रोजगारीका अवसर प्रदान गर्नुपर्छ । यसप्रकारको परिवर्तनको गति धिमा हुनसक्छ । परिवर्तनको गति तीव्र बनाउन विभेद अन्त्य गर्न बनाइएका ऐन कानुनको कडा कार्यान्वयन गरिनु पर्छ तर यस्तो प्रवृत्ति प्रत्युत्पादक पनि हुनसक्छ । एउटा पक्षलाई तिरस्कार गरी बदला लिन खोजे स्थिति भयावह हुनसक्छ । कुनै पनि समाज बलियो हुन त्यस समाजका सबै मानिसका मन र भावना जोडिन आवश्यक हुन्छ । जोडिनु पर्ने भावना टुक्रिए कसरी समाज बलियो र सम्पन्न हुन सक्छ ? समुन्नत, सभ्य र समृद्ध समाजको आधार समाजका सबै वर्ग, जात क्षेत्रका मानिसको भावनात्मक एकता हो । भावनात्मक र मानसिक एकता समानताबाट निर्माण हुने भएकाले समृद्ध समाजका लागि जातीय समानताको विकल्प छैन ।
रुकुम घटना रुकुम घटना रुकुम घटना रुकुम घटना
लेखक परिचय
पदम प्रकाश साउद सुदुरपश्चिम विश्वविद्यालय, दुर्गालक्ष्मी क्याम्पस अत्तरियाका उपप्रध्यापक हुन् ।