मानव सभ्यताको विकास सँगसँगै विभिन्न दर्शन, सिद्धान्त, विचारधारा र विश्वमा घटेको सबैप्रक्रारको घटनाहरू मानिससँग सम्बन्धित छन् । र, आजसम्म ब्रह्माण्डको अस्तित्वमा आएको सम्पूर्ण वस्तुहरूमाथि मानवजातिले उक्त विचारमार्फत नियन्त्रण गर्न सफल पनि भयो । विभिन्न खोजअनुसन्धान मार्फत आधुनिक विश्व पहिचान मानव जीवनबाट नै सम्बभ भयो । आजको युगलाई विज्ञानको युग भनिन्छ । दिनप्रतिदिनको अपार सफलतासँगै आज मानवजाती पृथ्वीमा मात्र सिमित नभै मानवजातीलाई मंगल ग्रहमा स्थान्तरण गर्ने दौडमा विश्वको शक्तिशाली देशहरू छन् ! मंगल ग्रह अध्ययन गर्न विभिन्न उपकरणहरू सफलतापूर्वक आवतरण गराइसकेको छ मंगल ग्रहमा । विश्वको शक्तिशाली देश कसरी बनाउने विषय चरम उत्कर्षमा पुगिरहेको बेला नेपालको पूर्वी लिम्बुवानमा बसोबास गर्ने लिम्बु समुदायभित्रको युवाहरूको भने धार्मिक बहस अतिविभाजीतकारी हुँदै गइरहेको पाइन्छ । आफूआफूबीचको मत् भिन्नतालाई छलफल गरेर अघि बढ्नुपर्ने बेलामा हाम्रो बहसभने अतिवादतर्फ उन्मुख भइरहेको छ । र मलाई याद आइरहन्छ १८७१को धर्म सङ्घर्ष: “कल्टुर क्याम्फ” । धार्मिक बहस हुनुहुँदैन भन्ने होइन तर संयम बहसमार्फत निष्कर्षमा पुग्नुपर्छ । माथि ल्याइएका विश्व उदाहरण भनौँ या भनौँ हामीजस्तै मानिसहरूले प्राप्त गरेको सफलताहरू राख्न जरुरी थिएन । तर, यो लेखको उदेश्य म विश्वमा भइरहेको विकासको चित्रतर्फ इङ्कित गरेर बढाउनु चाहान्छु । आफूमा आएका छाँकहरू महसुस गराई दिग्गजहरूलाई समयसापेक्षित बहस तिर मोड्न सकिन्छ कि भन्ने हेतुले राखेको हुँ । यो आलेख लेख्न बस्दा सहजता कदापि लागेको छैन । तर लिम्बु समुदायको भावनात्मक सद्भाव विथोल्ने हर्कतहरू देखापर्न थालेपछि मलाई पनि आफूले आफ्ना केही कुराचाहिँ राख्नै पर्छ जस्तो लाग्यो ।
मार्क्सले Contribution to the Critique of Political Economy नामक पुस्तकमा “मानिसको चेतनाले मानिसको अस्तित्व वा अवस्थालाई निर्धारण गर्दैन, बरु यसको ठिक विपरित सामाजिक आवस्थाले उनिहरूको चेतनालाई निर्धारण गर्छ” भनेझैँ हाम्रो समुदायमा भइरहेको यो हदसम्मको बहसले समाजमा जन्माइरहेको विभाजनको मानसिकताले हाम्रो पुस्ता र आउने पिढीले के सिक्ने वा केलाई निरन्तरता दिइरहने ? कतै हाम्रो चेतनापनि यहीँ पेरीफेरीमा रहिरहने त होइन ! यिनै चिन्ताहरू व्यक्त गर्दै मेरो बलबुत्तोले भ्याएसम्म अग्रजहरूको ध्यानाकर्षण गराउँन लेख्न बाध्य भएको हुँ ।
यो विषयमा मबाहेक याक्थुङ समुदायको लागि अहोरात्र खट्ने बुद्धिजिबी व्यक्तिवहरू बोलिदियोस्, लेखिदियोस् भन्ने थियो । याक्थुङ लिम्बुहरूको सर्बोच्च संस्था `किरात याक्थुङ चुम्लुङ´ले समुदायमाथि सिर्जना भएको समस्याहरू हल गरिदिहोस भन्ने आसा थियो । तर, हुन सकेन । वास्तबमा यो समय त समुदायको केही पात्रहरू उभाएर हाम्रो संस्कृति र हाम्रो पहिचानको मूल्य र मान्यता जोडिएको सम्पदाहरूविरूद्ध राज्यद्वारा ल्याइएको नीतिहरू पछाडीको मानसिकतको प्रतिकार गर्ने समय होइन र ?
यस्तो सांस्कृतिक चेतनालाई कस्तो पूनर्जागरण भन्ने ? हाम्रो बौद्धिक युवाहरूमा अात्मअालोचना, अात्मसमीक्षा, गर्न सक्ने चेत् त पक्कै होला नि ? मजति जान्ने कोही छैन, मैले जति कसैले देखेको छैन, सुनेको, पढेको छैन, मैले बुझेको कुरा नै अन्तिम सत्य हो भन्ने खालको अडान देख्दा सिया र सुन्नि सम्प्रदायजस्तै धार्मिक अतिवाद समुदायलाई थप जटिलतातिर धकेलिरहेको लाग्छ । समग्र समुदायको हितका लागि यस्तो अपुङ्गी प्रवृत्ति त्यागेर सम्मिलनको बाटो रोज्नुपर्छ कि पर्दैन ? हाम्रो समुदायसँग प्रत्यक्ष सरोकार राख्ने सङ्घसंस्था, सङ्गठन, मोर्चा, घटक, र बौद्धिक अभियान्ताहरूले अब स्पष्ट बाटो तय गर्ने कि नगर्ने ? अहिले भैइरहेको बहस हामीलाई निलेर दशकौँ पछाडिको पिँधमा अवतरण गराउँने भ्वाङ मात्र हो भन्दा फरक नपर्ला।
बहस ज्ञान निर्माणको प्रक्रिया हो, बहस गर्नु भनेको चेतनाको विकास हुनु हो । त्यसर्थ, बहस समस्यालाई किनारा लगाउने माध्यम बनाउनुपर्छ । जसको लागि अतिरन्जित ढंगलेभन्दा निरपेक्ष दृष्टिले हेर्नु एकदमै आवश्यक छ । बहसको बारेमा दार्शनिक हेगेल भन्छन् दुई व्यक्ति बीचको वादविवादमा एउटा विवादको विषयबस्तु हुन्छ ।जुन विषयबस्तुमा दुबै व्यक्तिले एकअर्काको तर्कविरुद्व तर्क पेश गरेर सत्यको खोजी गर्ने प्रयास गर्छन् र अन्त्यमा दुबै पक्षले एकअर्काको विचारलाई राम्रोसँग बुझ्दछन । त्यसपछि दुबै आ-आफ्ना विचारहरू त्याग्न सहमत हुन्छन र एउटा तेस्रो नयाँ तथा व्यापक विचारलाई स्वीकार गर्दछन, जसले गर्दा विबादास्पद विषय निष्कर्षमा पुग्छन् । ऐतिहासिक प्रमुख समस्या के हो ? वास्तविक ऐतिहासिकता के हो ? मौलिकताप्रति स्वधिन र सभ्य कुन पक्ष छन् मिहिन ढंगले विषयउपर छलफल गर्दै प्रस्नोत्तर खोजौँ न ! हजारौँ वर्ष अघिदेखिको हाम्रो दर्शन र संसकृतिभित्र कति कुरा वैज्ञानिक छ, कति कुरा रुढीवादी छ बरू तीउपर बहस गरौँ न । न कि ‘मेरो गोरुको सोह्रै टक्का !’ दार्शनिक भेल्टेयरले The Age of Louis XIVमा ‘मानव जातिको भलाई युद्वको सेनापतिहरूले गर्दैनन्, बरु दार्शनिक, वैज्ञानिक र कविले गर्दछन् ।’ भनेझैं हाम्रा समुदायको यतिविघ्न प्रकाण्ड कविहरू, लेखक, प्राण र बौद्धिक वर्गहरूले चाहिँ के गर्ने ? समस्या उत्पन्न गराउने कि समुदायको भलाईको निमित्त लाग्ने । यसो, भन्दै गर्दा हाम्रा केही बुद्धिजिविहरू जो कविता मार्फत परिवर्तनको लागि क्रान्तिको आधिबेरी ल्याउन कुनै कसुर बाँकी राख्दैनन्, नेपाल एकीकरण पछाडीको ब्राह्मणवादी सत्ता सत्ताच्यूत गरि हाम्रा अनुहारहरूको उपस्तिथि देखाउने केही प्राज्ञिक आधारहरू प्रस्तुत पनि गर्छन् र पुरातनवादी विचारहरू भत्काएर मौलिकताको संरक्षण गर्दै हिँड्नेहरू कवि, लेखकहरू आजकल धर्मको घण्टी बजाउँदै आन्तरिक कलहमा घ्यू थप्न ब्यस्त छन्।ती कविहरूको आचारण हेर्दा १८ औं सताब्दिको युरोपकोतिर पुगेको अनुभूत हुन्छ । जिरोन्ड प्रान्तका भर्नियो, ब्रीसो, डुमोरिए, मादाम रोलँ र कोन्दोर्स जस्ता दु:खान्त आदर्शवादी र भावुक गफाडी नेताहरूजस्तो लाग्नु मलाई स्वभाविक लाग्न थालेको छ । हामी २१ औँ सताब्दिको अन्तिम विन्दुमा छौं ! औसत आयुसम्म बाचेछौँ भने २२ औं सताब्दिसम्मको वैज्ञानिक उपलब्धि हेर्दै २२ औँ सताब्दिकै रिभिन काट्ने पनि हामी नै हौँ । तर, हाम्रा कविवरहरूको चिन्तन र तर्क समीक्षा गर्दा “मानिसले युगलाई आकार दिन नसक्दो रहेछ बरु युगले उसको सोचलाई आकार दिने रहेछ” भन्ने उक्ति पनि मिथ्या सावित भएको जस्तो लाग्छ । मेरो मान्यता धार्मिक बहस हुनुहुँदैन भन्ने कदापि होइन । हुनुपर्छ । तर, रचनात्मक र बस्तुगत हुनुपर्छ । के हेगेलको द्वन्द्ववादी धारणामा जस्तै स्वस्थ बहस गरेर समस्याको हल खोज्न सक्तैनौँ ? । तर, हामी आफूलाई भूमरीबाट पौडेर सकुशल निस्कन सक्ने माछाजस्तै सोचिरहेका छौँ । मलाई लाग्छ हाम्रो चेतनाले समयलाई पक्रेर राख्ने होइन समयसँगै दौडनु पर्छ भन्ने मेरो व्यक्तिगत मान्यता छ स्थिर होइन गतिशील हुनुपर्छ । हाम्रो समुदायमाथि भैरहेको खराने भर्सेस मसाने बहसमाथि समीक्षा गर्नु कहीँ बस्न पर्दैन, कुनै पुस्तक पढ्नु पर्दैन, यो आफ्नै खुट्टामथि बञ्चरो हान्ने काम भइरहेको छ भनेर जो कोहीले छुट्याउनु सक्छन् । अहम भनौँ या ज्ञानको कमी, हाम्रो पुस्ता एक किसिमको अहम्सहित बाचिरहेको छन्। हामी अग्रजलाई सम्मान गर्नमा कुनै कसर बाँकी छाड्दैनौँ आफ्नु कुरा राख्नमा हिचकिचाउँदैनौँ पनि । आफूलाई लागेको कुरा स्पष्टताका साथमा भन्छौ । कोहि रिसाउला या भोलिको दिनमा अप्ठ्यारो पर्ला भन्ने कुरा हाम्रो सरोकार को विषय होइन।किनभने आफ्नु कुरा के हो, हाम्रो समय कस्तो हो-स्पष्ट छौँ।यसमा चाहिएको त अग्रजहरूको साथ, हौसला, र मार्गनिर्देशन हो ।
हाम्रा बहसहरूले पछिल्लो पुस्तामा परेको अरचनात्मक असरहरूमाथि किन ध्यान दिन सकिएन दु:खद विषय हो । समाजले आफ्नुआफ्नु सामाजिक नीति-नियम, संस्कृति, मूल्यमान्यता, र परम्परा राख्दछन् त्यसै अनुरुप आफ्नु जिवनशैली निर्मीत भएको हुन्छ। तर, होम्रो जीवनशैली, हाम्रो भेषभुषा, सम्पदा र पहिचानलाई सबैभन्दा खतरा त राज्यसत्ताबाट पो भइरहेको छ । खै त्यसको विरुद्ध खरो हिसाबमा हाम्रो ध्यानाकर्षण किन नभएको ? धेरै तत्वहरू मिलेर समाजको समग्रता निर्माण भएको हुन्छ । तर, समाजमा नयाँ विचार, सिद्धान्त र चिन्तन आउनसाथ पुरानो असुरक्षित भएको ठान्छौ र प्रतिवादमा उत्रीहाल्छौँ त्यस प्रकारको चिन्तनले गलत बाटोतिर धकेल्छ । धकेलिरहेको छ । जब अपरिवर्तनीय बहसको विजारोपण भयो । न प्रगतिशील, न सिर्जनशील केबल शब्दप्रतिको मोह र एउटा जडत्व मात्र देखा पर्यो भने बहसको दृष्टिकोण निर्माणमा फरक बाटो अपनाउनु पर्ने हुन्छ ।वास्तविक याक्थुङ समुदायको सभ्यता विकास गर्न लेखिएका कविता, आलेख, सडक आन्दोलन र विद्रोही चेत यस्तै यावत विषयउपर विभिन्न छलफल, विमर्श गरिरहँदा हाम्रो वैचारिक अभिलेखमा कस्तो प्रकारको दार्शन, शैली, सांस्कृतिक आवधारणा र अभ्यासहरू प्रचलनमा ल्यायौं त जवाफ पाउने आसामा छु ? मलाई त त्यस्तो प्रभावकारी चिन्तन गरे जस्तो लाग्दैनँ । प्रस्तुति हेर्दा मानसिक विकास रोकिएको र केबल शरीर मात्र छिपीएको जस्तो लाग्छ । दार्शनिक भेल्टेयरको History of the Establishment of Christianityमा क्रीस्चियन धर्मले सभ्यताको विकासलाई सताब्दी पछाडि पारेको भन्ने विचार ब्यक्त गरेको छन्। कसरी भन्ने प्रश्नमा याक्थुङ समुदायमा चलिरहेको बहस पनि धार्मिक अन्तरद्वन्द्व, क्रीस्यानिटी अनुयायीहरूमा आडम्बरी चेतनाको विकास, आस्थामाथी फरक फरक दृष्टिकोण, धर्म, रितिरिवाजउपर विद्वता देखाउँदै अन्धाधुन्ध कुतर्क गर्ने प्रवृत्तिले गाइडेड भइरहेको छ । किरात धर्मको इतिहास सताब्दियौँ पूरा भइसकेको छ ! धार्मिक कर्मकाण्ड र धर्मको माहोल एउटै हुने सम्भावना देखिन्दैन।चुम्लुङ बसेर केही हदसम्म सुधार्दै एकाअर्कालाई लगाइने लाञ्छनाहरू त्याग गरी आफ्नु आफ्नु बाटो तर हाम्रो अन्ततः भावसागर सौन्दर्यलाई समुदाय मुक्तिको निमित्त प्रयोग र चुनौतीको जीवन रोज्नु र अलि मास्तिरसम्म हाम्रो चेतनाको विकास गर्नुभन्दा अर्को उत्कृष्ट विकल्प देख्दिन म । न मिथ्या चेतनाबाट मुक्त हुन सक्यौँ र न भ्रम बाट ब्यूझिन । हामी दार्शनिक नित्सेले भने झैं ‘तथ्यहिन मात्र व्याख्या भएको’ केन्द्रविहिन विषयमाथि बहस गरिरेहेको छौं । जसको न आरम्भ विन्दु छ, न त्यहाँबाट कुनै स्थिर अर्थको आशा गर्न सकिन्छ। इतिहास, धर्म, संस्कृति र मूल्यमान्यता वकालत गरेर थाकेनौँ र थाक्न पनि हुन्न ! तर इतिहासले निर्माण गरिदिएको मार्गदर्शनको परिधिभित्र रहेर बहस गर्नु आजको हद् भन्दा हद् आवश्यकता हो । के श्रीजङ्गा, फाल्गुनन्द, इमानसिंङ, जस्ता ऐतिहासिक व्यक्तित्वहरूले देखाएको बाटो यहीँ हो त ? पुर्खाहरूले संरक्षण गरिदिएको हाम्रा दर्शनशास्त्र, र मान्यता जो हामी हामी हुनको आधारभूतहरू हुन् त्यो विश्वविद्यालय हामी भत्काउँदै छौं कि संरक्षण ? आदरणीय तुतु आदाङ्बा आदाङ्मासे यस भनाइमाथि गम्भिर हुन मेरो अनुरोध छ ।
हामीलाई के गर्दियो भन्दा हामीले के गर्यौं ? केन्द्रलाई छाडेर सिमान्तकृत तिर फर्कनु पर्छ भन्नेकति छौँ ? मुलधारको राजनीति र राजनीति नियुक्ति खाएर बसेको भन्दा बाहिर लेखाजोखा गरौँ त ? वास्तविक धरातलमा उभिएर कतिले सांस्कृति र हाम्रो आस्थाको निम्ति लडाइँ लड्दै छौँ निक्र्योल गरौं त ? आदर्श र देखावटी त भोगाइ र देखाईको उच्च परिस्कृत र कल्पित स्वरुप मात्र हुन जान्छ । होम्रो बहस मौलिकता केन्द्रीत भन्दा उदण्ड मच्चाइरहने खालको देखिन्छ । आडम्बरको अन्धो घोडा चडेर दौडिएको घोडाजस्तो देखिन्छ, उग्र अराजकताको स्वरुप लिएको देखिन्छ । उग्रअराजक, उग्रराष्ट्रवाद, उग्रजातिवादको उदेश्य एउटै विन्दुमा गएर सास फेरेको पाइनछ: अवसरवाद । र, त एकरत्ति प्रेम गर्न लायक छैन हाम्रा बहसहरू ।
यसको जिम्मेवार सबैभन्दा बढी याक्थुङ लिम्बुहरूको सर्बोच्च संस्था किरात याक्थुङ चुम्लुङले लिनुपर्छ । यस संस्थाको विकल्पमा याक्थुङ चुम्लुङको जन्म भएको छ । किन केका लागि जवाफ कियाचुबाट नै आउनुपर्ने देखिन्छ जब विबादास्पद विषय हुदाहुँदै छलफल नगरी यो लेख त्यो लेख भन्दै उर्दी जारी गर्ने कार्य आपत्तिजनक छ । लिम्बू जातिभित्रको सङ्घसंस्था र धार्मिक संस्थाहरूले बलपूर्वक कोच्याएको जस्तो देखिन्छ । तर हाम्रो धार्मिक कर्मकाण्ड र अनेकौँ मूल्यमान्यता के के हुनुपर्थ्यो कसैले पनि ठोस् स्वरुप दिन सकेको छैन र समुदायमा विश्वसनियताको परिक्षण पनि गराएको छैन । मुन्धुम दर्शन हो सबैले भन्यौँ, मुन्धुमलाई विराट दर्शनको रूपमा दिग्गजहरूले व्याख्या गरे स्विकार्यौँ । हामी हाम्रो दर्शन मुन्धुमलाई लिन्छौ र मुन्धुम विराट छ भन्छौं अझ वर्तमान आवस्थामा धर्मप्रति झुकाब राख्ने कति बुद्विजिबी अभियान्ताहरूले मुन्धुम नै अन्तिम सत्य भनेका छन्, भन्न पाउँछन् । तर, त्यस मुन्धुम बाट निर्देशित हाम्रो चालचलन कस्तो छ फर्किएर हेरौँ त ?
अन्त:मा वक स्वतन्त्रताको नाममा बहस गर्दा स्तरहिन गाली र प्रमाणहिन तर्क गर्नुभन्दा विभाजन नल्याउँने नतिजाको लागि काम गरौँ । यसैमा समुदाय र सभ्यताको विकास र हित पनि छ ।
लेखक परिचय
सुनिल आङबो आदिवासी सौन्दर्यशास्त्रलाई मूलधार बनाएर लेख्ने लेखक तथा याक्थुङ लेखक सङ्घ काठमाडौँ उपत्यका समितिका सहसचिव हुन् ।