हरेक दिन सूर्यले धर्तीको दर्शन गर्न आफ्नो ओँठभरी लाली पोत्छ । बसन्तको गुराँसजस्तै भएर मुस्कुराउँछ । मान्छेले नयाँ सोच र जाँगर लिएर निस्किन्छन् नयाँ यात्रामा । मानव उद्विकास भएदेखि दिनानुदिन समाज प्रगतिपथमा निरन्तर हिँडिरहेको छ । सामाजिक, राजनीतिक, आर्थिक होस् कि साँस्कृतिक हर तरहले समाज अगाडि बढिरहेकै छ । मान्छेको खोज अनुसन्धानले जिउने कलाका विकास गरेको छ । पुराना अवैज्ञानिक मान्यताको विस्थापन भइरहको छ भने नवीन मान्यताले ठाँउ पाइरहेको छ । तर कतिपय मान्यताहरू मान्छेको प्रगतिमा बाधक भएता पनि त्यसको निरन्तरताले समाजलाई अधोगतितिर लगिरहेको छ । विभिन्न कुप्रथा, कुविचार र अन्धविश्वासले अझै पनि समाजमा जरो गाडेर बसेकोले समाजले अपेक्षित विकास र प्रगति गर्न सकेको छैन । तिनै बाधकहरू मध्येको एक हो छाउपडी प्रथा ।
सुदूरपश्चिममा रातभरी छाउगोठमा भयग्रस्त जीवन बाचेका बौकीनी(स्वास्नीमान्छे)हरू अझै भेटिन्छन् । छाउगोठहरू घर भन्दा अलिपर बनाएका हुन्छन् जहाँ सहजै कुनै पुरुषमान्छेको नजर नपरोस् । कर्णाली पारीका पहाडी जिल्लाहरूमा पणमुजले घरहरू रहेका हुन्छन् । मुजलो भनेको सबै भन्दा तलको तला(भुईँतला)लाई भनिन्छ । त्यसमा गाईबस्तु बाँधिएका हुन्छन्, त्यसैको एउटा कुनाबाट पाँणमा जाने बाटो बनाएको हुन्छ । मिजलो भनेको खासमा मान्छेहरू नबस्ने घरको गोठलाई भनिन्छ । त्यो भन्दा माथिल्लो तलालाई पाँण भनिन्छ । त्यसमा मट्टो, फिनो(गुन्द्री) र दरी ओछ्यार सुत्ने व्यवस्थाका साथै खाना बनाउने एक सानो भान्साकोठाको समेत व्यवस्था गरिएको हुन्छ । पाँणभन्दा माथि मल्लीपाण रहेको हुन्छ जहाँ आनाज र कुले देवताको थान बनाइएको हुन्छ । मल्लीपाँणमा अति आवश्यक काम बाहेक खासै कोही पनि जादैनन् । यसरी निर्माण भएको घरको संरचनामा छाउभएकी महिलाले बस्ने ठाँउ भनेको सबै भन्दा तल्लो तला हो । जसलाई स्थानीय डोटेली भाषामा मुजेलो भनिन्छ । मुजेलोमा गाईबस्तु बस्ने गर्छन । मुजेलो अर्थात गोठको एक कुनामा सधैँ जसो आवश्यक पर्ने सामान जस्तै ः बन्चरो,कुटो कोदालो आदि दैनिक चाहिने) राख्ने समान राखिन्छ त्यहाँ बस्तुभाउ पनि बाध्ने गरिन्छ । त्यसलाई कुन्टो पनि भनिन्छ । छाउ भएका बेला छाउपडी बस्ने भएकाले त्यो छाउकुन्टोका भन्ने गरिन्छ । घरको घुम्ती पर्ने ठाँउ कुनो/कुन्टो, जहाँ रजश्वला भएकी नारीले बस्नुपर्ने बाध्यता बनाईएकोले त्यसको नाम छाउगोठ, छाउकुल्लो र छाउकुन्टो आदि नाम राखियो ।
डोटली समाज मष्टोपुजक खसआर्य सम्प्रदायका मानिसको बसोबास क्षेत्र हो । यहाँका मानिसले विभिन्न पर्वपर्वादिमा घरभन्दा माथि डाँडाको उच्चोभागमा आफ्ना कुले देउदेउताको थान बनाएको हुन्छ । जहाँ बोकाको बलि दिएर मनोकामना पुरा हुने विश्वासमा त्यहाँका मान्छेहरू बाँचेका छन् प्रत्येक बनपाखा र डाँडाकाणामा देउदेउता भएको विश्वासमा सो ठाँउमा छाउपडीलाई जान दिँइदैन ।
त्यो देउताको थानसम्म जाने बाटो ओकालो र अप्ठेरो हुन्छ । लामो समय उकालो हिँडेर जानुपर्ने भएकाले सबै मान्छे सहज र सरल तरिकाले जान सक्दैनन् । त्यसमाथी छाउ भएकी बौकिनी(स्वास्नीमान्छे) शारीरिक र मानसिक रुपमा अस्वस्थ्य हुने भएकाले तिनलाई त्यो ठाँउ जानबाट बञ्चित गरिएको हो । तर विस्तारै त्यो कुराको बैज्ञानिक कारण तिर नलागेर हचुवाको भरमा त्यहाँको समाजमा छाउ भएकी महिलालाई देउदेउताको थानमा जान बन्देज लगाइरहेको छ ।
पहाडका बस्तीमा खाने पानीका सहज सुविधा छैन । पानी लिन लामो बाटो हिँडेर खोला र नाउलामा जानुपर्छ । ठूलाठूला नाउला र फोला (गाग्रा)मा बोकेर ल्याउनु पर्ने बाध्यता रहेको थियो र छ । एउटा छाउ भएकी मान्छेले सहज रुपमा पानी भरिएको गाग्रो बोकेर ल्याउन सक्दैन किनकी त्यो अवस्थामा पेट दुख्छ पाठेघरबाट एकोहोरो रुपमा रगतको मूल फुटिरहन्छ । त्यसैले डोटेली समाजमा पानीबाट पनि छाउपडीलाई बन्चित गरिएको देखिन्छ ।
अर्को कुरा, डोटेली समाजमा अहिले पनि भान्सा खाने प्रचलन रहेको छ । कुनैबेला जब गाँउमा हैजा महामारी फैलिएको हुन्थ्यो मान्छेहरू ज्यान जोगाउन गाँउबाट टाढा जङ्गल, रुखका ओडार र गुफामा बसेर जीवन विताउन थालेका थिए । पछि विस्तारै यो फोहोरी बानी र व्यवहारले हो । खानपानमा सरससफाई गरे हैजाबाट बच्न सकिन्छ भन्ने बुझे । घरको मुली वा प्रमुख मान्छेले नुहाइधुवाइ गरेर सफा लुगा लगाएर पकाउने र उसैले दिएको खाने प्रचलनको विकास भएको थियो । जो वैज्ञानिक पनि भएको कुरा पनि प्रमाणित भइसकेको छ । त्यो बेलादेखि क्रमश: डोटेली समाजमा हैजा पनि कम हुँदै आएको साँचो हो भनि कवि तथा संस्कृतिकर्मी हेमन्त विवशले बताउनु भएको छ । त्यसकारण पनि भान्सा र पानीबाट छाउपडिलाई बञ्चित गरिएको थियो ।
अहिले प्रविधिको विकाससँगै छाउ भएको महिलाले प्रयोग गर्ने विभिन्न अण्डरव्येर सेनेटेरी प्याटहरूको व्यवस्था छ । तर पहिले यस्तो कुनै व्यवस्था थिएन तर छाउ हुने प्रचलन चाहीँ थियो । त्यो बेला महिलाहरू एउटा गामन मात्र लाएर दैनिक घर व्यवहार चलाउनु पर्ने बाध्यता रहेको थियो । यसरी एउटा गामन मात्र लाएर भान्सामा काम गर्दा छाउ भएको रगत भुईँमा जथाभावी खस्ने, देउता बस्ने घर, पानी पधेरो र भान्सामा रगत देखेर पुरुष मान्छेले अपवित्र नजरले हेर्ने, फोहोर हुने भएकाले उनलाई भान्सा, देउता र धारो पधेरोबाट बन्देज लगाएको देखिन्छ ।
त्यस्तै पहिलोपल्ट छाउ हुनु प्रत्येक महिलाकालागी नयाँ अनुभव हो । छाउपडीले त्यो नयाँ अनुभवलाई स्विकार गर्दागर्दै पनि आताल्लीनु, आत्तिनु, घबराउनु आदि मानसिक कारण देखिन्छन् । पहिलोपल्ट छाउहुने उमेर भनेको महिलाको किशोरावस्था नै हो जुनबेला किशोरीका जनेन्द्रियहरूको विकास भैरहेको हुन्छ । शारीरिक विकासले तिनको मनमा विभिन्न उतावचढावहरूले मनस्थितिमा उथलपुथल ल्याएको देखिन्छ । यसका साथै किशोरा अवस्थामा विपरित लिङ्ग प्रतिको व्यवहार अझै लज्जा जनक नै हुन आउँछ । त्यसैले उहिले गुन्युको फेरो जम्मा पारेर टुकुनो गरी बस्नु रगतको दाग कसैले नदेखोस भनेर सजग भएर बस्ने र यताउता नगइ लाजले कोठा भित्रै बस्ने गर्दथे । लोग्नेमान्छेको नजिकमा लाज मानेर नजाने भएपछि विस्तारै यो संस्कारको रुपमा विकास भएको देखिन्छ ।
डोटेली समाजमा धामी झाँक्रीमा औधी विश्वास भएकोले आफूले गरेको गल्ती पनि धामीले थाहा पाएपछि कारवाही हुने मनोवौज्ञानिक डरले छाउपडीहरू लोग्नेमान्छे, कुले देवताको थान, पानी पधेँरो भान्साकोठा लगायतका ठाँउबाट टाढा बस्नु परेको हो । आफूभन्दा बुढापाका बज्यै, इजा, बौजू, काखी दिदीहरूले जस्तो छाउ हुँदा गर्दै आएका छन् त्यो प्रचलन अरुले पनि अनुसरण गर्दै जानुले यो सुदूरपश्चिमको डोटेली समूदायमा कूरीतिको रुपमा रहेको छ ।
आर्थिक रुपले दैनिक हातमुख समेत जोड्न नसक्ने परिवारको लागी पणमुजले घर बनाउन सक्ने अवस्था रहेको देखिदैन । गरिब परिवारको पाण भने पनि मुजेलो र गोठ जे भने पनि त्यै सानो लाज र टाउको लुकाउने घर मात्र हुन्छ । त्यो घरमा छाउ भएकी स्वास्नी मान्छेलाई बस्न नदिएर टाढा खरले छाएर एक/दुई जनाले खुट्टा खुम्च्याएर सुत्न मिल्ने कोठामा राख्न थालिएको थियो । ढोका नभएको मकैका सुकेका डाँठको भित्ता हुन्छन् । जसमा बलियो मान्छेले एकै लात्तीमा पनि सहजै फुटउँन सक्छ । छाउगोठ गाइगोरु, बाघ र भालुबाट मात्र बाँच्न सकिने कमजोर प्रकृतिको बनाएको हुन्छ । छाउपडिले त्यस्तो गोठमा बस्नुपर्ने अवस्थाको थियो र छ । तर हुनापुरा(धनी) परिवारजस्तै रैकाज्यू(राज परिवार र तिनका चेलालाई जनाउने शब्द) माथिल्लो वर्गका बाहुन क्षेत्रीहरूसँग बस्नको लागी र सुत्नका लागी पाण मुजले घरहरू राम्रो सुविधा भएकाले तिनका छाउपडीहरू घरैमा बस्छन् । पहिलेको ओछ्यानभन्दा अलि तल (धुन)पराल ओछ्याए सुत्ने गर्छन । तिनले छाउगोठमा बस्नुपर्ने बाध्यता खडा भएको थिएन र छैन पनि । तिनलाई सर्पको डसाईको भय र गाँउका लाटिकोसेरे आँखाहरूबाट बचाउनु पर्ने अवस्था आएको देखिदैन् ।
यसरी टाढाको छाउगोठमा पहिलो पल्ट छाउ भएकी स्वास्नी मान्छेले एक्लै बस्न डर मान्नु स्वभाविकै हुन आउँछ । एकल्यान(निस्सारता) लाग्ला अर्को पल्ट नबसे देउता विग्रीने, घरमा धामीले समस्या देखाउने डरले र छाउभएकी किशोरीलाई छाउको बारेमा केही आफ्नो अनुभब सुनाउन, सहानुभूति दिन र हाँसो ठट्टा गर्न समेत अरु स्वास्नीमान्छे पनि गोठमा जम्मा हुने गर्दथे ।
उहिले परापूर्वकालमा डोटेली समाजमा चोर डेउडाको प्रचलन रहेको थियो । यो चोर डेउडाको सुरुवात तिनै छाउपडिबाट भएको देखिन्छ । किशोरावस्थाका किशोरीलाई यौन चाहान हुनु,शारिरीक विकासले मनोबैज्ञानिक परिवर्तन आउनु, आफ्नो मनका भावना मन मिल्ने साथीसँग भलाकुसारी गरी केही समय छाउ हुनुको शारीरिक र मानसिक पीडाबाट टाढा रहने हेतुले तिनीहरू छाउगोठमा रातीसम्म जागराम बसेर लोक कथा र बातै(गाँउखाने कथा) सुन्ने सुनाउने गर्दथे । साथै चोर डेउडाको प्रचलन पनि त्यसैबेलादेखि विकास भएको देखिन्छ । कवि हेमन्त विवशका अनुसार चोर डेउडा भनेको, “रात कटाउन र मनोरन्जन गर्न गाँउका छोरेट्टा छोरेट्टीहरू कसैले थाहा नपाउने डाँडाको खोचमा कतै खोलारोडाको किनारमा जाने गर्थे । जहाँको डेउडाको आवाज गाँउवस्तीसम्म पुग्दैनथ्यो । एकान्तमा गएर साईसुवा (प्रेमीप्रेमीका)को डेउडा खेल्ने र व्यान्नले तारो देखिनु अघिनै गोठामा आएर सुत्ने चलनलाई चोर डेउडा भनिन्छ” । जसका कारण छाउगोठमा गएर डेउडा खेल्न र साइसुवासँग रमाइला गफगाफ गर्न पाइने लोभ यिनका मनमा पर्न गएको देखिन्छ । यो चोर डेउडाको प्रचलनले पनि छाउपडि प्रथालाई निरन्तरता दिन केही काम गरेको देखिन्छ ।
वैज्ञानिक दृष्टिले हेर्दा छाउपडीका रगतमा अल्कोअलिक पदार्थ धेरै हुने भएकोले त्यो रगत मान्छेको लागी हानिकारक भएकोले त्योबाट टाढै रहनुपर्ने त्रिविविमा एम एस्सीमा पढ्दै गरेका डोटीका एक विद्यार्थी श्याम ओझा बताउछन् ।
उल्लेखित बैज्ञानिक, सामाजिक र साँस्कृतिक कारणले छाउपडी प्रथाले सुदूरपश्चिमको डोटेली समाजमा ठूलो प्रभाव पारे पनि अहिलेको अवस्थामा न्यून हुँदै गइरहेको छ ।
विगतमा यस्तो कुप्रथाको विकास कसरी भयो ? यसको न्यूनिकरणमा के के गर्न सकिन्छ ? भन्ने तिर कसैको ध्यान नगएर हचुवाको भरमा यसको अन्त्यको लागि प्रयास गर्दा अभियानले सार्थकता पाउन सकेको छैन । अहिले पनि विरालो बाँधेर बाउको श्राद्ध गर्ने कथाजस्तै चलिआएको चलनको रुपमा ग्रहण गर्दै आएका छन् ।
जसका कारण समय समयमा छाउ गोठामा अबोध इजाहरू र चेलीबेटीहरूले मृत्युको शिकार हुनुपर्ने भएको छ । पुष माघको शिरेटो ओढेर सुतेका कतिपय छाउपडीहरू सधैको लागी चिर निन्द्रामा सुत्नु परेको तितो यथार्थ पनि देखिएको छ ।
त्रिविविमा एम.ए अग्रेजी साहित्य पढ्दै गरेकी डोटीकी विद्यार्थी रमा जोशी (नाम परिवर्तन)लाई तपाईँलाई पहिलो छाउहुँदा कस्तो अनुभव भएको थियो ? भनि सोधेकोमा उनी भन्छिन् ‘ म पहिलोपल्ट छाउ हुँदा १५ वर्षकी थिए । जति खेर कक्षा ११ मा पढ्थे । कक्षा ६ मा पढ्दा देखिनै स्वास्थ्य तथा शारिरीक शिक्षामा अनिर्वाय विषयको रुपमा थियो । छ पनि । महिनावारी हुनु अघि तीन/चार दिन अघि लगातार पेट दुखिरह्यो । ढाड पनि दुख्थ्यो । म मुक्काले हिर्काउथे पीडा कम होस भनेर । कम्मरमा पटुकी बाध्थे । पेट दुखेको तीन दिनको साँझ पिसाबसँगै गाढा रातो रगत आएको देखियो तर डरले खासै हेरेन । दोस्रो दिन विहान मैले आफ्नो भित्री वस्त्रमा केही वस्तु सुके जस्तो अनुभव गरे । कम्मर र पेटको दुखाइको गतिको अनुपात चुचुरोमा पुगेको थियो । त्यसपछि त मुक्काले हिर्काउनुको कुरा त परै जाओस हावालागे पनि पीडा अनुभव हुन थालेको थियो । म हतारमा पिसाब फेर्न गए । पिसाबभन्दा पहिला रगत देखापर्यो । म अत्तालिए के गरुँ के नगरु भएँ । कसलाई भनु कसलाई नभनु ? केही सोच्नै सक्ने अवस्था थिएन । यो सामान्य प्रक्रिया हो भन्ने स्वास्थ्यमा पढेको भए पनि म जोरले रोएँ डाको छोडेर । लाग्यो मेरा खुसीहरू र सुखका दिन गए । मैले ठूलो पाप पो गरे कि जस्तो लागेको थियो । ’ उनको यो अनुभवबाट के कुराको आकलन गर्न सकिन्छ कि शारिरीर र मानसिक पीडाका पाउनु स्वभाविक थियो त्योसँगै उनलाई मनोवैज्ञानिक प्रभावले नराम्रो गरी थिचेको रहेछ । सामान्य प्रक्रिया हो भन्ने जान्दाजान्दै दुःखका दिनको आगमन भएको उनले कसरी संकेत पाइन त ? यो गम्भीर कुरा छ ? डोटेली समाजमा तमाम महिलाले छाउगोठमा नारकिय जीवन भोग्नु परेको उनले देखेकी हुनाले त्यो आफूमाथि आइलागेकोले उनले आँखाबाट सावन खसालेको हो भन्ने कुराको पुष्टि हुन्छ । हुन त जुन दिनदेखि एउटा किशोरी रजश्वला हुन्छे उसले खुसीले लड्डु बाढ्नु पर्ने हो । उसले रमाउदै गाउँका सँगीनी बटुलेर सात् ढुङ्गी, चुङ्गी र आराम खेल्दै रमाएर खुसीले लामो सुस्केरा निकाल्नु पर्ने हो । किनकी जब एउटा किशोरी रजश्वला हुन्छ ऊ पूर्ण रुपमा प्रजनन् योग्य हुन्छ । उसबाट सन्तान उत्पादन गर्न सक्ने क्षमताको विकास भएको प्रमाण हो छाउ हुनु । ऊ उर्वरभूमि बनेको हो रजश्वला हुनु भनेको तर कर्णाली पारि यो बरदान होइन अभिसापका रुपमा रहेको छ ।
जोशीले फेरी थप्दै भनिन्, ‘म लाजले बुवाको आवाज सुन्ने वित्तिकै लुक्थे । आमाले पनि लजाउली भनेर मेरो ख्याल गर्नु भएन लाजले भुतुक्कै भएको देखेर आमा बा मेरो नजिकमा कहिल्यै आउनु भएन् । म घर भित्रैको एउटा कुनामा बस्थे । मलाई खाना पानी दिन कि दिदी आउथी कि बहिनी ती दुबै नभएको बेला आउथ्यो भाइ । ऊ मैले दिएको कामबाट हैरान भएर मलाई रिसाउदै भन्थ्यो, तँलाई छाउ होइ जा कैले भन्यो ।’
छाउ भएको बेला आमाबाले यो सामान्य प्रक्रिया हो । दश बाह्र दिन पछि यो रगत आफै निको भएर जान्छ, भनी सिकाएको भए पहिलोपल्ट छाउ भएका किशोरीको मनोविज्ञानमा राम्रो छाप पर्न जान्थ्यो । उनले पनि आफ्ना सन्ततीलाई त्यही कुरा सिकाउथे जसका करण यसले विकराल रुप लिने थिएन् ।
डोटीबाट बसाइँ सरेर अत्तरियाको नजिकैको गाँउ लालपुरमा बस्दै आएकी चालिस वर्षीया गोमा लुहार जो ढीकी कुःडामा छाउ भएको बेला रात विताइरहेकी थिइन उनलाई तम छाउ भयका बेला केलाई घर भित्रर नैजाना ? कसैले जन्जा भन्या हुनाले हो कि आफूइ नै जाना भनि सोध्दा उनले भनिन्, ‘भित्रर गए देउता रिसाहानाहान् देउता रिसाए धामी गाली दिन्छन् । देउपितर खुसी राख्नु पर्छ तबै नै जानो ’ उनले फेरी थपिन्,‘ नानी थे सुरुमा बाइर(छाउ) हुने बेला त सबै टडिय(टाढा भएको, छाउ बारेको ) देखे सबैले जे गर्थे बाइर भएका बेला त्यै गद्दा गदाई पछि बानी परिग्यो ।’ उनका भनाइबाट के कुराको पुष्टि हुन्छ की छाउको बारेमा कुनै तथ्य थाहा नभएको अरुले जे भन्छन त्यो मान्दामान्दै बानी भएछ । त्यो बानी पार्नमा घरका अन्य सदस्यले देउताको डर देखाएकोले मान्न बाध्य भएको तर आफ्नो इच्छा नभएको स्पष्ट हुन आउछ ।
वर्तमान समयमा शिक्षाको तुलनात्मक साक्षरता दर बढ्दो क्रममा छ । आखिर यो समयका माहिलाका मनमा न चोर डेउडा खेल्ने रहर छ, न टाढाबाट पानीको गाग्रो बोक्नु पर्ने बाध्यता । अहिले चोर डेउडाको ठाँउ मोवाइलले लिएको छ । भने, साइसुवासँग भेट्नु पर्ने बाध्यता फेसबुक र टुइटरले लिएको छ । अहिलेका किशोरीले एक कल फोनको भरमा, फेसबुकको एक एसएमएसको भएमा भेट्न सक्छन् । भेट्नेमात्र होइन आफ्नालागी प्रयोग गर्ने प्याड र अण्डरव्येर मगाउन सक्ने अवस्थामा पुगेका छन् आजका महिला । जो खुसी हुनुपर्ने अवस्था हो । तर पनि किन छाउपडीको सर्पले टोकेर अकालमै मृत्यु भएको खबर सुन्नु पर्छ ? किन गोठमा सुतेकी महिलाको आफ्न्तबाटै बलत्कार पछि हत्याको प्रयास गरिन्छ । विभिन्न हिासात्मक घटना सुनिन छाडेको छैनन् ? यसमा त्यहाँको स्थानीय निकाय, समाज, परिवार र नेपालको राज्य व्यवस्थाको भूमिका के ? यसबारेमा सबैको ध्यान जानु आवश्यक छ । बझाङको धूलि, बाजूराका कोल्टी, अछामको कुनै विकाट गाँउको महिलालाई त मानौँ, शिक्षा र चेतनाको अभाव भएकोले ती महिलाले नमरुन्जेल प्रत्येक महिनाका छ/सात रातहरू जेलजस्तो लाग्ने डरलाग्दो ठाँउमा बस्नु परेको छ । कति दिन पेटमा मुसा पालेर तिर्खाएका ओँठले मरुभूमिको बालुवामय जीवन बनाउनु परेको छ । तर सुदूरको दुईतिहाई भन्दा बेसी जनसङ्ख्या तराईका जिल्ला कैलाली र कन्चनपुरमा स्थायी रुपमा बसोबास गर्छन । केही निम्न आय भएका परिवारलाई छोडिदिने हो भने बाँकीको पनि पहाड र तराई दुवैतिर टाउको लुकाऊने घरको जोह गरेका छन् । तराईका जिल्लामा शैक्षिक विकासक्रम दिनानुदिन बढ्ने त्रममा रहेको छ । प्रत्येक टोलटोलमा माध्यमिक विद्यालय बनेका छन् जहाँ उच्च शिक्षा अध्ययन गरिरहेका स्वास्नीमान्छे छन् । जसले छाउपडी एक सामाजिक कुरीति र कुंस्कार हो भन्ने थाह पाएका छन् तर ती महिलाले समेत किन यो रोग पालेर बसेका छन् ? स्कुलमा पढाउने शिक्षिकाले स्कुले नानीका झोलाभरी अक्षरहरू पोको पारेर हरेक दिन घर पठाउछन् तर तिनले आफ्नो दिमाकबाट यो छाउपडीको भूत हटाउन सकेका छैनन् । पढेलेखेका महिला पनि महिनाका पाँचदिन छाउगोठमै रात विताउनुलाई गौरव अनुभव गर्दैछन् ।
विद्यालयमा पढाइ हुने कोर्समा पनि यसको नकारात्मक प्रभाव, यो प्रथाले समाज, परिवार र सिँगो देशमा पारेको असर र यसको समाजिक साँस्कृतिक र वैज्ञानिक कारणबारे छलफल हुन नितान्त आवश्यक छ । बैज्ञानिक कारणको जगमा टेकेर पूर्वजले विकास गरेका मान्यता कति ठिक र कति गलत त्यसको लोखाजोखा गर्न आवश्यक छ । कसरी यसको विकास भयो ? छाउपडी प्रथा विकास हुनुका कारण के यसको बारेमा बहस हुन नितान्त जरुरी देखिन्छ ।
समाज परिर्वतनशील हुन्छ । यस प्रक्रियामा यो समयमा यसको सन्दर्भ र बार्ने नीति कुनै पनि महिलालाई बाध्य नभएको र हटाउनु पर्ने आवश्यकता छ । तर शैक्षिक क्षेत्रमा काम गर्ने मान्छे समेत कोही बोल्दैनन् ? यो आजको समाजको प्रमुख प्रश्न रहेको छ ।
अत्तरियाको दुर्गालक्ष्मी क्याम्पसमा विविएस तेस्रो वर्षमा पढ्दै गरेकी मालाखेती घर भएकी भगवती कुवँरलाई अहिले तपाईँको टोलमा छाउपडीको कस्तो छ ? भनि सोध्दा उनले भनिन्, ‘ हामरा इजा बज्यैका पालामा जस्तो अलगै छाउगोठ बनाएर सुत्नु पर्ने अवस्था छैन । अरु बेला सुत्नुभन्दा अलग ओछ्यान लाएर सुत्छु । तर टोलमा कौई कौइ घरमा अझै पनि छाउगोठ नभएको चै होइन् । ती पनि भत्काउनु पर्ने त हो तर बुढापाकाहरू मान्दैनन् । यो ज्ञानको अभावले विकास भएको कुप्रथा हो । यसको निर्मूल तल्कालै गर्न त गाह्रो छ । तर पहिलेको तुलनामा कम भएको छ ।’ निर्मूल गर्न नसक्नु समाजमा रहेको स्थापित पुरातनपन्थी विचार धारा हाबी भएर नै हो । त्यसैलै नवीन सोच भएका शिक्षित युवावर्गले आलोचनात्मक चेत राख्नु नितान्त जरुरी देखिन्छ ।
छाउपडिको पक्षमा काम गर्ने विभिन्न ल्न्इ, क्ष्ल्न्इ संस्थाहरू शहरमात्र केन्द्रित हुनु, शिक्षाको अभाव भएका पहाडी जिल्लामा यसको समाजिक र साँस्कृतिक कारणको बारेमा ज्ञान नबाड्नु, भाग्य र देवीदेवतामा विश्वास राख्नुले आजको समयमा पनि यसको निमूल हुन सकेको छैन ।’ तुलनात्मक रुपमा यसमा कमि आएको भए पनि निर्मूल हुन नसकेको ले भगवती र रमाजस्तै महिलाहरूको समाजमा यसको बारेमा सहजिकरण गर्नु आवश्यक देखिन्छ । समाजमा बनाएका धेरै मुल्य मान्यता महिलाको हित विपरित छन् । ती मान्यताको विरुद्धमा आवाजमात्र उठाएर हुँदैन् व्यवहारतः कार्यन्वयन समेत गर्न जरुरी छ । छाउघर उपन्यासका लेखक राज सरगम भन्नुहुन्छ, ‘जबसम्म मान्छेको मनबाट छाउगोठको विम्ब र छाउ भएका महिलामाथिको व्यवहारमा परिर्वतन आउदैन तबसम्म जति यसको बारेमा बोल्दा पनि कमै हुन्छ । समाजको मनोविज्ञानमा यो नमेटिनेगरि बसेको छ यो त्यसैले यसको यर्थाथ कुराका बारेमा सबैमा जानकारी दिएमा यो विस्तारै निर्मुल गर्न सकिन्छ । ’
छाउपडीलाई पनि बेलाबेला उसो गर्नु पर्छ त्यसो गर्नु हुँदैन् भनि सिमा छुट्याइयो । देउताको थानमा जानु हुँदैन गए देउता विग्रिन्छन् देउता विग्रिए सबै तहननहस हुन्छ । गाईको गोठमा जानु हुँदैन् छाउभएका बेला गोरस खानु हुँदैन् खाए गाई विग्रिन्छ । रुखका शितलमा बस्नु हुँदैन्छ बसे फल लाग्दैन् लागे पनि खसिहाल्छ, रुख सुकिहाल्छ, पानीको मूलमा लाग्नु हुँदैन् लागे मुहान सुक्छ । भनी डर देखिइयो । तमाम विश्वासहरू जो संस्कार र सस्कृति बनेर कहिल्यै नभत्किने चट्टान बनेर बसेका छन् । ती विश्वासमाथि अबका महिलाले प्रश्न गर्न जरुरी छ । कसरी देउता विग्रिन्छन् ? मान्छेको भलाई गरोस् भनी पुजिने देउता जसले सधैँ राम्रो र भलाईको बारेमा मात्र सिकाउँछ ती देउताले मान्छे गरेको गल्ती सुधार गरे पो देउता नत्र हामी मान्छेभन्दा घटिया हुन्छन् ? जब रामानुजले ईश्वरको साकार रुपमा बारेमा बोले त्यसपछि ईश्वरको मूर्ति बनाउने र पुज्ने परम्पराको विकास भएको हो । त्यसो भए, भगवान अर्थात ईश्वरले मान्छे बनायो वा मान्छेले ईश्वरको निर्माण गर्यो एकपल्ट प्रश्न गर्ने समय आएको छ । अब प्रश्न गर्न आवश्यक किन छ कि अहिलेका महिला प्राज्ञिक छन् जसलाई राम्ररी थाहा छ की महिला छाउ कसरी हुन्छन् । छाउ भएका महिलाको हःड नलाग्ने पूरुषलाई उनले प्रश्न गर्न सक्छन् यदि महिला मासिक रजश्वला भएन भने के हुन्छ ? गर्भवती ? सुत्केरीले के पाउँछ ? की छोरो की छोरी ? जब त्यही रगतबाट जन्मिने प्राणीचाहिँ चोखो हुने तर त्यो रगत किन अपवित्र हुन्छ ? कारण त्यो सुदूरपश्चिमको समाजको कुनै बेलाको राजनीति र सास्कृतिक विचारधाराका मानिसले आफ्नो राजनीतिक पूर्वाग्रहलाई पुरा गर्न बनाएका कुरा हुन् । कुनै भाग्यवादी दर्शनको प्रभाव होइन । अबका महिलाले यो पनि सोच्नपर्ने भएको छ की ? हामीलाई पानीबाट छिः छिः दुर दुर गरिन्छ तर खोलामा नुहाउन रोक लगाएको छैन । मानौँ, खोलामा पनि जल देवता बस्छन् रे यदि त्यसो भए जल देवता किन नरिसाएका त ? देवता-देवता त एकै होलान् ? यो बगेर जाने पानी बग्दैबग्दै गएर समुन्द्रमा मिसिन्छ, त्यो समुन्द्रको पानी बाफ बनेर आकासमा जान्छ, फेरी आकासको बादलमा मिसिन्छ, पृथ्वीमा खस्छ । जो हरेक मान्छेका धुरीबाट बग्दै बल्धारीमा पुग्छ । मान्छेले कसौडी थापेर यहीको पानीले खाना पकाउँछ र खान्छ । मान्छे भन्छन् आकासको पानी शुद्ध हुन्छ । उसलाई थाह हुँदैन की त्यहाँ एउटा महिलाको रज मिसिएको छ । ठिक हो, त्यो पानी शुद्ध छ । तर उसले त्यो पानीमा आफ्नै छोरीबेटीको रज मिसिएको कुरा यसकारण विस्रियो कि छाउ हुँदा छुनु हुँदैन भन्ने कुरा उसलाई सिकाइएको छ तर किन छुनु हुँदैन् ? छोए के हुन्छ ? प्रश्न गर्ने कसैले हिम्मत गर्दैन । देउता पनि यो धर्तीमै बस्छन्, छाउ भएकी मान्छे पनि धर्तीमै । धर्ती सबैको साझा थलो हो । यहाँ हरेकले सम्मान पूर्वक बाँच्न पाउनु पर्छ भन्ने बुज्नुपर्यो । नत्र हरेकपल्ट छाउगोठमा सरस्वती, लक्ष्मी र पर्वतीहरूले अकालमै ज्यान गुमाउनु पर्ने अवस्थाको निरन्तरता रहने छ ।
छाउपडी छाउपडी छाउपडी छाउपडी छाउपडी छाउपडी छाउपडी छाउपडी छाउपडी छाउपडी छाउपडी छाउपडी छाउपडी छाउपडी छाउपडी
छाउपडी
लेखक परिचय
युवा पुस्तामा विशेष गरी आख्यानको क्षेत्रमा सशक्त रूपमा अघि बढेका बतासको कथाहरूमा माटोको सुगन्ध पाउन सकिन्छ ।