सुरुमा त पत्याउँदै पत्याएनन् । पत्याउन् पनि कसरी ? कुनै २० वर्षको युवकले किताब लेख्छ भनेर झट्टै पत्याउन गाह्रो हुन्छ ।अझ नेपाली युवकले अङ्ग्रेजीमा पुस्तक लेख्नु झन पत्यार लाग्दो भएन मान्छेलाई । किताब लेख्ने बेलादेखि किताब छापिने बेलासम्म खेपेको असंख्य कष्टहरू शब्दमा उतार्न सक्दिन होला ।अझै भनम त्यतिको काबिल लेखक भैसकेको छैन । किताब मानिसहरू माझ पुगिसके पछि मैले खेपेका आलोचनाको पनि एउटा छुट्टै कथा छ। कथा भित्र पनि कथा । उफ!
‘लोफर’ नामक मेरों उपन्यासले मलाई चिनाउनका साथसाथै थुप्रै यूवाहरूका लागि एउटा प्रेरणादायक पुस्तक बन्न पुग्यो । ‘ यस्तो बेकार पनि पुस्तक हुन्छ । त्यस्तो पनि लेखक हुन्छ ।’ यि कुराहरू पनि नसुनेको होइन ।
किन लेखिन्छ ?
भन्ने गरिन्छ जिन्दगी यात्रा हो । जिन्दगी स-साना खोलाहरू मिसीएर बनेको अविरल नदी हो । जिन्दगी अनुभवहरूको संगालो हो ।जिन्दगी चार माना खरानी हो । जिन्दगी यो, जिन्दगी त्यो । जिन्दगी प्रतिको बुझाइ मानिस अनुसार फरक हुन्छ । जसले जे बुझ्यो त्यही जिन्दगी हो । यो मेरो बुझाई ! जिन्दगी एउटा भोगाइ हो । हो जिन्दगीमा सही-गलत मापन गर्न पर्छ ।हरेक गल्तीलाई अनुभव मानेर अगाडि बढ्न पर्छ । हरेक गलत भोगाइलाई पनि जिन्दगीको पाटो सम्झेर अघिबढ्ने मेरो एउटा मात्र राम्रो बानी छ । कतिका लागि यहीँ बानी गलत लाग्न सक्छ । भने नि मैले सबै आफ्नो बुझाइमा भर पर्छ । जब लाग्छ आफ्नो बुझाइले समाज, सामाजिक अंग अनि समाजका एक दुई जना मान्छेको जीवन रूपान्तरण गर्न सक्छ, तब लेखिन्छ । तब चल्छन् कलमहरु । म स्वभावले कम बोल्ने अनि हरेक वस्तू ,घटना, मान्छेलाई नियाल्न चाख राख्ने मान्छे । पछिल्ला केही वर्षहरू रिसर्चमा समय खर्चे। मौनताले धेरै कुरा सिकाउछ भन्छन, त्यो मेरो जीवनमा पनि अनुभब गर्न पाएको छु ।मेरो बुझाइका केही भागहरू कागजका पानामा छरेर एक दुई जनाको जीवनमा सकारात्मक परिवर्तन गर्न सकेँ भने आफूले गर्व गर्ने ठाउँ पाउने छु । आफ्नो जीवन सार्थक भएको ठान्नेछु । कुनै पनि कुरा ग्रहण गर्न जति मजा आउँछ, उपहार दिन त्यो भन्दा बढी मजा र सन्तोष मिल्छ । प्रेरणा एउटा लेखकले दिन सक्ने सबभन्दा ठुलो उपहार हो।
किन अङ्ग्रेजीमा ?
अङ्ग्रेजीमा भन्दा नेपालीमा लेखेको भए हुन्थ्यो भन्ने सुझाव सयौंको संख्यामा पाएको थिए । नेपाली भाषामा भन्दा अङ्ग्रेजी भाषामा पोख्त भएकाले मैले अङ्ग्रेजी भाषामा लेख्ने निर्णय गरेको थिए । तर आजको दिनमा, अङ्ग्रेजी विश्वव्यापी भाषा भएकाले र यो किताब चारैतिर फैलिन पाउनेभएकाले मैले अङ्ग्रेजीमा लेखेर राम्रो गरेको रहेछु भन्ने आभास भएको छ । नेपाली पाठकलाई मध्यनजर गर्दै लेखिएको हुनाले सरलभाषा शैली प्रयोग गरेको छु । साथसाथै गाह्रो शब्द प्रयोग गरिएको छैन । सामान्य अङ्ग्रेजी पढ्न सक्नेले पनि यो पुस्तक सजिलै बुझ्न सक्छन् ।आफ्नो अङ्ग्रेजी मजबूत बनाउन चाहने पाठकहरूका लागि त ‘लोफर’ बरदान नै हो । नेपालमा अङ्ग्रेजी पठन संस्कृतिको उत्थानमा पनि यो पुस्तकले एउटा छुट्टै आयम सिर्जना गरेको छ।अझै गर्नेछ, यो कुरामा म ढुक्क छु ।
के छ लोफरमा ?
‘लोफर’ नामले नै कथाको विषयवस्तू के होला भन्ने आकलन गर्न सकिन्छ । एउटा ब्याच्लर पढ्ने युवाले आफ्नो जिन्दगीमा गरेका गल्तीहरूलाई रोचक ढंगमा प्रस्तुत गर्ने कोसिस गरेको छु। बुबा-आमा सानैमा गुमाएको र दाईदिदीको राम्रो हेरचाह नपाएकोकारण उसले गल्तीमाथि गल्ती गर्दै गएको कुरा देखाइएको छ । प्राथमिक कार्यहरूलाई पन्छाएर आजकलका युवाहरु कसरी रक्सीको मातमा डुब्छन्, त्यो कुरालाई जोडेको छु । साथसाथै युवा अवस्थामा विपरित लिङ्ग प्रतिको आकर्षणले कार्यक्षेत्रमा निम्त्याउने बाधालाई पनि जोड्ने प्रयास गरेको छु । भनिन्छ, ‘हरेक मान्छे अनि हरेक घटनाका दुई पक्ष हुन्छन् : सकारात्मक र नकारात्मक।’ किताबको मुख्य पात्र श्यामको चरित्रमा पनि दुई पक्ष लुकेको पाइन्छ । एउटा कार्यक्षेत्रबाट ठक्कर खाए पनि अर्को चोटी नयाँ जोस र उमङ्ग साथ ऊ मैदानमा उत्रिन्छ।
यो त लेखक को बिचार भयो ।पाठकाअनुसार उनिहरूका बुझाइ फरक हुन्छन्। कूनै पाठकले लेखकले भन्दा बढी अर्थ निकाल्न सक्छन् भने कुनै पाठक चौथो बाट पाँचौ पेज पल्टाउन असमर्थ रहन्छन् । कतै सुनेको, ‘हरेक व्यक्तिले आफ्नो जिन्दगीमा एउटा न एउटा पुस्तक लेख्न सक्ने क्षमता राख्छ ।’ तर, यसका लागि पहिले आफू पाठक हुन जरुरी छ । धेरै भन्दा धेरै पुस्तक पढिसकपछि मात्र पुस्तक लेख्ने ज्ञान र शैली हासिल गर्न सकिन्छ ।पछिल्लो समयमा नेपालमा पठन संस्कृतिको विकास भएको देखेर खुशी लाग्छ । पुस्तक पसलहरू पनि निकै संख्यामा बढेको देख्न पाइन्छ । पुस्तक पढ्नुका फाइदाहरु अनगिन्ती हुन्छन् । कसैले मनोरञ्जनका लागि पुस्तक पढ्छन् भने कसैले व्यक्तित्व विकासका लागिपढ्ने गर्छन्। पुस्तकहरू पढिसकेपछि कुनै पनि घटनालाई चौतर्फी ढंगमा सोच्ने बानीको विकास हुन्छ । दुनियाँका ठूला ठूला राजनेताहरू देखि लिएर बिजिनेसम्यानहरू दिनहु पुस्तक पढ्छन्। अङ्ग्रेजीमा पनि एउटा भनाइ छ, ‘द रिडर्स आर द लिडर्स’। त्यसैले हामी पढ्ने बानी बसालौं। पढौं, मजाले पढौं । दोस्रो कृति छिट्टै निकाल्ने कुरा अवगत गराउदै यहाँहरुलाई पढ्ने बानी बसाल्न प्रोत्साहीत गराउन चाहान्छु
लेखक परिचय
सुगम गौतम ‘लोफर’ उपन्यासको लेखक हुन्।