हामी मोटरबाटो छोडेर ओरालो लाग्दा साइला धुरा प्राथमिक विद्यालय बायाँपट्टि प¥यो । पहाडजत्तिकै पुरानो त्यस स्कुलको भित्तोमा अँगार र चकले लेखिएका किरिङ्मिरिङ अक्षर देख्दा लाग्यो, यो भित्तो साहित्यकार पारिजातको जन्मकुण्डली हो, जहाँ ग्रहहरू किरिङ्मिरिङ्का अतिरिक्त केही पनि देखिँदैनन्, दार्जिलिङमा ।
२०७४ सालको दोस्रो दिन । प्रतिभा प्रेरणा परिषद् बिजनबारी र चिया कविता सिक्किमको निम्तोमा जरा फाउण्डेशनले हामीलाई दार्जिलिङ पु¥याएको थियो । हामी साइला धुरा स्कुलको आडबाट ओरालो लागिरहेका थियौँ । सिमसिम पानीले पूरै भिजोको थियो लिङ्गिया । ओरालो बाटोमा बनाइएका ढुङ्गाका खुट्किलाहरू निकै चिप्ला थिए । तल, निकै तल, खोँचमा लमतन्न तन्किएको देखिन्थ्यो छोटा रङ्गीत । ओरालो झर्ने हामी बडो होसियारीका साथ टेकिरहेका थियौँ ढुङ्गाका खुट्किलाहरू । हामी सबैको मनकमा सायद एउटै कुरा थियो ः यी ढुङ्गा पारिजातले टेकेका ढुङ्गा हुन्, र हाम्रा लागि एक तीर्थस्थल । यी ढुङ्गाको छातीमा पारिजातका पसिना, साल्गीका बलात्कृत आँसु र सकम्बरीको रगतका अभिलेख छन्, र ती विश्वभरिका साहित्यप्रेमीका लागि एक सन्देश हुन् ।
नेपाल, दार्जिलिङ र सिक्किमका साहित्यकारहरूको टेली थियो । अन्यत्र भेट्दा धेरे उकुसमुकुस, रहर, योजना, राजनीति, आक्रोश र माया साटेर माहोल कोलाहलपूर्ण बनाउने हामी सबै चुपचाप थियौँ, लिङ्यिा चियाकमानको त्यस आदिम ओरालीको बाटोभरि । लाग्थ्यो, जिन्दगीभरिका हाम्रा उद्गारकोहरूको गति एक्कासि रोकिएको छ लिङ्यिामा, र यहाँ एउटैमात्रै आवाज बाँकी छ, पारिजातको । र त्यो आवाज भनिरहेछः किन आउनुभयो तपाईंहरू लिङ्यिा चियाबारीको एकान्त गीत सुन्न, र बल्झाउन एउटा आदिम घाऊ?
नेपालफर्तबाट हामी पाँचजना थियौँ ः प्राज्ञ मातृका पोखरेल, कविहरू कृष्ण प्रसाईं, टीका आत्रेय, लीला अनमोल र म । दार्जिलिङमा हामीलाई चियाबारीका पातपातमा लेखिएको विरह गीतको सप्रसङ्ग व्याख्या गर्ने साथी हुनुहुन्थ्यो निमेश सुब्बा सिकारू । सिक्किमका रसिक कवि मित्रहरू सुधा एम राई, दीपा राई, अम्बर लाछिकाठी गुरूङ र प्रवीण खालिङ् — सबै सबैका अनुहारमा उत्साह र विषादको एक असामान्य मिश्रण देखिन्थ्यो । टोलीमा मैले सबैभन्दा सोचमग्न अनुहार प्राज्ञ मातृका पोखरेलको पढेँ । स्तब्ध, स्तब्ध । गम्भीर, गम्भीर । पछि थाह पाएँ, हामीमध्ये पारिजातसँग प्रत्यक्ष रूपमा जोडिएरै आएको साहित्यकार भन्नु उहाँमात्रै हुनुहुँदो रहेछ । आफूलाई पारिजात वैचारिक स्कुलको एक विद्यार्थी र उत्तराधिकारी मान्ने कवि पोखरेलको गाम्भीर्यमा हामी सबै हेलिएका थियौँ । आखिर, पारिजात नामको सारोवरका छिँटाबाट नछोइएको कुनचाहिँ नेपाली साहित्यको प्रेमी वा पाठक होला ! हामी सबै मातृका पोखरेलको गाम्भीर्यसरोवरमा मिस्सियौँ ।
पाइला निरन्तर ओरालोतिरै बढिरहे । सबै आआफ्नै धुनमा थियौँ । हामीबीचको दूरी बढ्दै–घट्दैजान्थ्यो; पाइलाको गति र मुटुको धडकनबीच एकरूपता थिएन । हामी घरि उभिएर त्यस पाखाभरि पोतिएको चियाको हरियाली पिउँथ्यौँ, र घरि तल देखिने मैदानमा बग्ने छोटा रङ्गतीको विस्तार हेर्दै पारिजात र इन्द्रबहादुरलाई सम्झन्थ्यौँ । बेला बेला गीतहरू पनि गुन्गुनाउँथ्यौँः अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटुमा । मेरो मनमा भने सुसन मास्केको आवाज इतिहासको कुनै आदिमतम कालखण्डबाट निस्रित भएर, समयको भँँगालोसँगै क्रमशः मधुरो मधुरो हुँदै आएजस्तो भाकामा आइरहेथ्यो अर्कै गीतः “मर्न मन लाग्छ, मायालु, शीतसँगै, असिनासँगै ।” मेरो अवचेतनमा पारिजातका यी आत्मघाती शब्द कसरी कोरिएका रहेछन् मलाई नै थाह भएन । फ्रायडले भनेजस्तो “एसोसिएटिभ”सम्बन्ध थियो त्यो अवचेतन स्मृति र मूर्त परिवेशको, जहाँ सिलसिलेवर प्रसङ्ग उप्किँदा गाँसिएका स्मृति पनि फुकेर आउँछन् । मलाई सत्य लाग्यो । फेरि गुन्गुनाएँः मर्न मन लाग्छ, मायालु ।
के पारिजातलाई अल्पायुको मृत्युको पूर्वाभास थियो? के उनलाई अशक्तता उनको जीवनको उत्तरार्धको गीत हुनेछ भन्ने थाह थियो? किन र कसरी लेखियो यो आत्महारा अभिव्यक्ति? अथवा, उनले आफूले बाँचेको समयका सम्पूर्ण विपर्यासलाई लेखिएदिएर निर्वाण प्राप्त गर्न खोजेकी थिइन्? सायद, लिङ्गिया छोडेर दार्जिलिङ हुँदै नेपाल छिरेपछि उनका पाइला छेक्न तम्तयार उपेक्षाका पहाड र चट्टानहरूलाई सुनाएको यो एक “स्वान सोङ” अर्थात् अन्तिम गीत थियो उनको !
चियाका पात चुँडेर चाख्दै, तल छोटा रङ्गीतको किनारसम्झँदै, बालसन नदी र दार्जेलिङे साहित्यको सम्बन्ध केलाउँदै, फोटो खिच्दै र स्तब्ध हुँदै हामी ती ढुङ्गाको अन्तिम खुट्किलोमा आइपुग्यौँ, जहाँबाट ओर्लनु हामी सबैका लागि एक विशिष्ठ प्राप्तिको भागी हुनु थियो । निकै माथिदेखि नै हामी टिनका लमतन्न तन्किएका केही छाना एक–आपसमाखप्टिएका देखिरहेका थियौँ । टिन लगभग पूर्ण रुपमा खियाले खाएर खैरो भएको थियो । घर उँधो पाखोतिर पर्खिएको कुनै एक डिल वा थुम्कोको आडमा बनेको हुनाले घरको प्रमुख द्वार, झ्याल र ढोका हामीले अझै देखेका थिएनौँ ।
दिनको करिब तीन बजेको हुँदो हो । हामी पारिजातको जन्मघरको आँगनमा उपस्थित भयौँ दाजीलिङ्को लिङ्गिया चियाकमानको बीचमा ।
जरा फाउण्डेशनले दार्जिलिङ यात्राको कार्यक्रम तय गरेकै बेला हामीले लिङ्गिया जाने निधो गरेका थियौँ, पारिजातको जन्मघर हेर्न । त्यो बेला, मेरो मनमा एक भव्य तीर्थस्थलको बिम्ब आएको थियो । कल्पना गरेको थिएँ, राजमार्गबाट उनको घर जाने कालोपत्रै गरिएको ठूलो, चौडा बाटो छ । बाटोको किनारैभरि सुन्दर फूल र बोटबिरुवाले बनेको लहरे उद्यान छ । जताततै काठका पाटी लागेका छन्, र ती पाटीहरूमा पारिजातका जीवन्त भनाइहरू कुँदिएका छन् । ठाउँठाउँमा यात्रुहरूका लागि पिउने पानीको व्यवस्था गरिएको छ । कतै कतै, पारिजातका किताब, र उनको गीतका सिडीहरू बिक्रीका लागि राखिएका छन् । बाटोभरि पारिजातका गीत र भनाइहरू सुनाइरहने स्पीकर लागेका छन् । घरमा एक म्युजियम छ, जहाँ पारिजातले बालापनमा प्रयोग गरेका सर–सामान, उनको बाल्यकालका स्मृतिहरू आदि सुरक्षित गरिएका छन् । सोचेको थिएँ, कहीँ कतै आगन्तुक पुस्तिका पनि छ । मैले भावविह्वल भएको बेला त्यहाँ के लेखौँला भन्ने पनि नलागेको होइन । सोचेथेँ, कहीँ कतै पारिजातको भव्य सालिक छ, र सालिकमुनि त्यसलाई अनावरण गर्ने कुनै उच्च सरकारी अधिकारी वा मन्त्रीको नाम छ । र त्यहाँ फोटो खिच्न साहित्यक पर्यटकको भिड तँछाड–मछाड गरिरहेको छ ।
तर पारिजातको जन्मघर पुग्दा मेरा सम्पूर्ण सपनाहरू भग्नावशेषमा परिणत भैसकेका थिए ।
लामो घर — उँधो रङ्गीतको कितारतिर फर्किएको । सँघुरो द्वारबाट हामी छि¥यौँ, र आँगनमा दाखिल भयौँ । आँगनमा तीनतिर फूलहरू लहरै रोपिएका थिए । हामी सबैलाई हाँसेर स्वागत गरे, त्यस घरको रखवाली गरेर बसेका ध्रुब प्रधानले । लिङ्यिा प्राथमिक पाठशालाका पूर्व प्रधान अध्यापक प्रधानसँग हामीले पालैपालो कुरा ग¥यौँ ।
“पारिजातलाई देख्नु–भेट्नुभएको हो तपाईंले?”
“होइन । यो ठाउँमा पारिजातले आफ्ना केही वर्षमात्रै बिताउनुभएको हो । त्यसपछि उहाँ पढाइलेखाइका लागि दार्जिलिङतिरै जानुभयो । अनि उतैबाट नेपाल । खासै आउनुभएन लिङ्गिया । हामी पनि यहाँ पछिमात्रै सरेका हौँ ।”
“कतिको आउँछन् साहित्यक पर्यटकहरू यहाँ ?”
“अलि अलि आउँछन् ।”
“सरकारका मान्छे नि?”
“आउँदैनन् ।”
“यहाँसम्म आउने–जाने बाटो बनाउने कुनै सरकारी पहल भएन है?”
“भएन । यो जग्गा चियाकमानको हो । यहाँ सरकारको खासै केही पनि चल्दैन । चिया कमानको प्रशासनले चाहेमात्रै केही हुन्छ । तर त्यसो हुनसकेको छैन ।”
मैले चियाकमानको प्रशासनको अनुहार सम्झिएँ । चियाका बोट, कमानका पात्र–चरित्र, र चियाको गाथामा कुँदिएको दार्जिलिङको कथा लेख्ने, र विश्वभरि दाजीलिङलाई चिनाउने साहित्यकार, गीतकार र गायकहरूको ऋण लाग्छै लाग्छ त्यस प्रशासनलाई ।
अनि फेरि मैले नेपाल सम्झेँ ! चुँदी रम्घामा भानुभक्तको घर सधैँजसो असार २९ मा पत्रिकमा छापिन्छ, र उही कथा दोहोरिन्छ, उपेक्षाको । कसले बनाउन सकेको छ र महाकवि देवकोटाको सहरको मुटुमै भएको जन्मघरलाई सङ्ग्राहालय वा तीर्थस्थल? कहाँ उभिएको छ हरिभक्तको सालिक? कति मान्छे जन्छन् स्वर सम्राट नारायण गोपालको घर? कहाँ पर्छ तारादेवीको वासस्थान?९८ वर्षको उमेरमा सत्यमोहन जोशीलाई “वाङ्मय शताब्दी पुरुष” घोषणा गरियो, तर उनको ईच्छा त्यो थियो वा थिएन कसैले सोधेन । उनको घोषित ईच्छा थियो, विसं २०२६ सालमा बढो कष्टका साथ उनले, र उनका साथीहरूले नेपाली भाषाको उद्भवस्थल सिँजा घाँटीको दुरुह यात्रा गरेपछि लेखेको उनको सिँजा घाँटीको संस्कृतिसम्बन्धी पुस्तकको पुनरमुद्रण होस् ! तर त्यो कसैले गरेको छैन आजसम्म ।
अनि फेरि नेपालबाहिरका केही मुलुक सम्झेँ । डेन्मार्कमा उपन्यासकार एस्ट्रिड लिन्डगे्रनको उपन्यासले चित्रण गरेको जस्तो उद्यानै बनाएको छ सरकारले । घुम्न जाने यात्रुहरू उपन्यासकै परिवेशमा प्रवेश गर्छन्, र एनिमेटेड पात्रहरू भेट्छन् । रविन्द्रनाथ ठाकुरको शान्तिनिकेतन आज भारतकै प्रतिष्ठत शैक्षिक गन्तव्यहरूमध्ये एक हो । चीनमा लुसुनको घरमा “बेइजिङ—लुसुन म्युजियम” छ, जहाँ लुसुनले प्रयोग गरेका सामग्री, उनका पाण्डुलिपि, उनका जीवनका विभिन्न चरणका तस्वीर सरकारी खर्चमा सुन्दर तरिकाले संरक्षित छन् । बेलायतमा विलियम वर्डस्वर्थको लेक डिस्ट्रिक्टको घरमा आज पनि उनले परिकल्पना गरेको प्राकृतिक वातावरणलाई सरकारी पहलमा अक्षुण्ण राखिएको छ, र आउनेजानेहरू भन्छन्, त्यहाँ बाँसका कचौराले उघाएर नालाको स्वच्छ पानी खाने प्रबन्ध छ, र पशुपन्छीको बाक्लो उपस्थितिले वातावरण अत्यन्त शान्त रहन्छ । लण्डन जानेहरू स्टेटफोर्ड अपन एवनस्थित शेक्सपियरको घर नपुगी फर्कँदैनन्, र वेष्टमिन्स्टर एब्बीस्थित सयौँ विश्वविख्यात साहित्यकारहरूको समाधिस्थल नपुगी स्वदेशको बाटो लाग्दैनन् । दक्षिण कोरियामा गुड्ने मेट्रो रेलका भित्ता, रेलवे स्टेशन र बस पार्कका प्रतीक्षालयका भित्ताभरि कविहरूका कविता कुँदिएका छन् । र यी सबै सबै, त्यहाँका सरकारका पहलमा भएका छन् ।
हाम्रो देशमा साहित्यकारका सालिक छन् कताकती, र उनीहरूका नामका सडक र विद्यालय छन् । तर संरक्षण छैन, सम्बद्र्धन छैन । पारिजातको गाउँतिर पनि रहेनछ । नश्ल एउटै हो । चिन्तन पनि सायद एउटै ।
हाम्रै सरकार, हाम्रै सबै । कसले बनाउँदो रहेछ नियाम–कानुन, हामीलाई नै छेक्ने? दाजीलिङ भनिसक्दा कञ्चन्जंघाकोजत्रो उँचाइ दिने नाम हो नि पारिजातको ! तर, लिङ्यिाको त्यस निर्जन खोँचमा, तल कतै, चियाका पोथ्रा, थुम्काथुम्की र भीरहरूको सन्नाटामा तपिरहेको पारिजातको घर पुग्दा लाग्यो, संसारको सम्पूर्ण विवर्यास यहीँ आएर धर्ना बसिरहेको छ । हाम्रो सभ्यता अमूर्त सांस्कृतिक सम्दपताको प्रेमबाट बजारको प्रेमतिर लहसिँदै गएको छ सायद । हामीलाई यसको जोखिम थाह छ छैन, तर यी सम्पदासँगको प्रेमबाट दिनदिन विमुख हुँदैगएका हामीजस्तै मान्छेका मनहरूले बामियानमा बुद्धको मूर्ति भत्काउँदा, अथवा ट्विन टावरको विलक्षण कला गिराउँदा सोचेनन्, उनीहरूले तोडेको स्तम्भमान्छेको अमूर्त कलाकारिताबाट निस्रित सम्वेदनाको एक मूर्त अभिव्यक्ति पनि त हो ।हामीलाई जोड्ने, अदृश्य अवयवहरू क्रमशः नेपथ्यमा परिरहेका छन्, आज । सायद, मान्छेको मन खुम्चिरइरहेको छ । हामी सायद सुस्क हुँदैछौँ, दिनदिन् ।
दार्जिलिङ पार्वत्य परिषद्ले लामो समय सपना गोड्यो दाजीलिङ्मा । पारिजातको घर पुग्न भ्याएन । परिषदको विघटन भएपछि गोर्खालेण्ड क्षेत्रीय परिषदको गठन भयो । त्यो पनि त्यहाँ पुग्न भ्याएन सायद । चियाकमानभित्रको नियमको विनिर्माण गर्ने कुनै मार्कण्डेय जन्मेन लिङ्गियामा । मार्कण्डेयलाई केवल आठ वर्षको आयु तोकिएको थियो जन्मको समय । त्यो नियम बनाउने भगवानकै विरुद्ध उनी उत्रिएपछि, उनले अमरत्वको वरदान पाए । नियम ईच्छाशक्तिले परिवर्तन गर्न सकिन्छ नि ।
दार्जिलिङ र नेपालमा यस्ता मार्कण्डेयहरूको ठूलो आवश्यकता भएको कुरो मैले पारिजात जन्मेको कोठाभित्र प्रवेश गरेपछि थाह पाएँ । आधुनिकताले छ्याप्पै छोपेको उक्त कोठामा पारिजातको एउटा फोटोसम्म पनि छैन । छ त एउटा टिभी, एक रिकर्ड प्लेयर, केही थान कम्बल र डसना, एउटा दराज र गुप्ता मेडिकलको एक क्यालेण्डर । उपेक्षाले क्रमशः मेट्दै मेट्दै लगेको छ पारिजातको स्मृति त्यहाँ । स्मृतिको भित्री डोबसम्म चिया बगान पसेको छ, र त्यससँगै पसेको छ उपभोक्तावाद । हामी अवशेषहरूमा चित्त बुझाउन बाद्य छौँ, हाम्रो अनमोल सिर्जन–सम्भयताको । धन्न कन्चन्जङ्घा टाढा र दुर्गम छ, र बजारको स्पर्शले अझै बिटुलिइसकेको छैन ।
प्रिय कन्चनजङ्घा, सकेसम्म तिमी मान्छेको पहुँचभन्दा टाढै बस्नू । नत्र समयले तिमीलाई पनि पारिजातको अर्को संस्करण बनाइदिनसक्छ ।
लेखक परिचय
महेश पौड्याल अहिलेको समयको शक्तिशाली लेखक हुन् । कथा, अनुवाद, नाटक, समालोचना, गीत, उपन्यास जस्ता विविध विधामा कलम चलाउने उनका दर्जनौ कृति प्रकाशित भइसकेका छन् भने उनले विभिन्न सम्मान तथा पुरस्कार समेत प्राप्त गरिसकेकका छन् । उनी त्रिभुवन विश्वविद्यालय केन्द्रीय अङ्ग्रेजी विभागमा प्राध्यापन पेशामा समेत संलग्न छन् ।