हामी घना, कठिन र टाढाको यात्रामा जाऔँ
आऊ, किनकि सस्तो, निरुद्देश्य र लक्ष्यहीन जीवन
हामीलाई स्वीकार छैन ।
—कार्ल माक्र्स
युगान्तकारी दार्शनिक कार्ल माक्र्स पारिजातका आदर्श विचारक, माक्र्सवाद पारिजातको आदर्श सिद्धान्त । माथि उद्धृत कार्ल माक्र्सको कविताका हरफहरु एकबारको जुनीलाई प्रयोजनतिर, अर्थवत्तातिर, उज्यालोतिर, लक्ष्यतिर डोर्याउने पारिजातको प्रिय दीपशिखा । कविताको यो अनुवाद पनि पारजातकै ।
पाण्डुलिपिका सम्पादक प्रिय दीपक सापकोटाले आग्रह गरे— नयाँ पुस्ताले पारिजातबाट सिक्ने कुरा के के हुन्, एउटा टिप्स लेखिपाऊ“ । यो आग्रहमा अर्तीउपदेश र नीति–नैतिकताको अपेक्षा प्रस्ट छ । यस्तो टिप्स शायद नेपाली साहित्यमा प्रगतिवादका आदि अभियन्ता श्यामप्रसाद शर्मा राम्रोस“ग लेख्न सक्दा हुन् । कारण अर्तीउपदेश र नीति–नैतिकतामा उनको चाख र विज्ञता विशिष्ट छ । तर म सक्दिनँ । अर्तीउपदेश र नीति–नैतिकता कृपा गर्नु पारिजातको रुचि, प्रवृत्ति र अभिव्यक्तिका विषय किमार्थ होइनन् । पारिजातको रुचि त समान धरातलमा उभिएर लोकस“ग वार्तालाप र संवाद गर्नुमा छ । पारिजातको रुचि लोकमा प्रचलित अमङ्गलकारी परम्परा, विश्वास, विचार, प्रणाली, रीति र संस्कृतिप्रति विमति राख्नुमा छ, तिनको प्रतिवाद गर्नुमा छ, तिनका विरुद्ध विद्रोहको ध्वजा उठाउनुमा छ । यी सबै यत्नहरुको प्रयोजन समानता र आपसी सम्मान, समृद्धि र सुख तथा सहजीवन र सहअस्तित्वको जगमाथि जीवनको पुनःनिर्माण र संस्कृतिको मानवीयकरण एवं परिष्कार गर्नुमा छ । मागेको जिनिस दिन नसकेकोमा तन्नेरी मित्र दीपकस“ग क्षमा माग्दै म यहा“ पारिजातबारे एकाध कुरा भनिटोपल्छु ।
पारिजात आपैm“ एउटा दीपशिखा हुन्, जसको उज्यालोमा उनको आलोचनाशील र सिर्जनशील जीवनको एक झल्झलाकार बिम्ब निर्माण भयो, र जसको उज्यालोले धेरै मानिसलाई जीवनपथको उज्यालो दियो । यो दीपशिखा पारिजातको सिर्जनशील यात्राको आरम्भमा धिपधिपे थियो, यात्राको मध्यमा जाज्वल्यमान् बन्यो र यात्राको अन्त्यमा पुनः धिप्धिप् गर्दै झ्याप्प निभ्यो । तर यो निभाइ पारिजातको केवल दैहिक अवसान थियो । पारिजातले उज्यालो बाँडेका मानिसहरुका स्मृतिमा र पारिजातका कर्म र कृतिहरुको आलोकमा पारिजात नामक व्यक्ति–बिम्ब अझै जीवन्त छ । यो बिम्ब मुक्तिकामी लोकजीवनको निकट छ, र लोकदृष्टिमा यो औधी प्रिय छ ।
‘शिरीषको फूल’को सेरोफेरोमा पारिजातको जीवनको दीप धूमिल थियो । त्यो धूमिलपना पारिजात हुर्किएको जीवन–परिवेश, उनको सनातनी वर्गको जीवनदृष्टि, उनले पढेका पुस्तकहरुको प्रकृति, उनको सामाजिक घुलमिलको वृत्त र उनको अति कष्टकर रोगको टड्कारो अभिव्यक्ति थियो । त्यसताका उनको दृष्टिकोणमा शून्यवादको सघन छाप थियो । उनको जीवनमा जिउनुको कुनै उदात्त प्रयोजन थिएन । त्यो उराठलाग्दो उजाड परिवेशमा उनका आँखासामु जे थियो केवल विसङ्गति थियो, केवल जीवनको र्याङठ्याङ नमिलेको जोल्ठिङ थियो, केवल कतै नपुग्नुको त्रासद यात्रा थियो र थियो केवल अर्थहीनता । ऊबेलाका कवि द्वारिका श्रेष्ठका शब्दमा जीवन केवल ‘सल्केको चुरोट’ थियो, जसको अन्त्य थियो सल्किँदै गएर निस्सार खरानीमा परिणत भई सदाका लागि सकिनु । रोगको मर्मान्तक पीडा, आर्थिक दुर्भिक्ष एवं आफ्नो रुप र लावण्यमाथि लुब्ध पुरुषहरुका आँखाको आक्रमणले उनको जीवनलाई झनै उच्चाटलाग्दो बनाएको थियो ।
समयको क्रममा पारिजातको जीवन र साधना अर्थहीनताबाट अर्थतिर, अहिले निभूँ कि भरे निभूँजस्तो धिपधिपे उज्यालोबाट अपेक्षाकृत प्रखर उज्यालोतिर, उग्र निराशाबाट रमरम आशातिर र चरम् व्यक्तिवादबाट सहजीवनकामी समूहवादतिर उन्मुख भयो । राल्फाकाल पारिजातको वैचारिक परिवर्तनको तनावपूर्ण र सँगसँगै उमङ्गमय संक्रमणकाल हो । सुखद संयोवश भनुँ, सुदूर डाँडापाखाका ग्रमीण भेगबाट काठमाडौंमा जीवनको उज्यालो खोज्न आएका जिज्ञासु, प्रतिभाशाली र वागी मनोभावयुक्त तरुणहरुसित पारिजातको भेट भयो र तिनीहरुसंगको सहकार्यबाट राल्फा जन्मियो । ‘सेतो वन नीलो जून आकाशका नुनिला निश्वासहरु’ राल्फाको सुन्दैमा उदेक लाग्ने घोषणापत्र थियो । राल्फा केही बुझिने र केही नबुझिने, केही व्यक्तिवाद र केही समूहवाद, केही अराजकता र केही अनुशासनको सङ्गम थियो । त्यसमा निश्चय नै समाजमुखी चिन्तन र सिर्जनाको भ्रूण थियो । शायद त्यसैताका हो, पारिजातको आत्मस्वीकृति प्रकट भयो— ‘विसङ्गति मानिसको जीवनको अन्त्य होइन’ ।
राल्फा अभियानले धूलिकणमा उभिएर दश नङ्ग्रा खियाउँदै कष्टकर जीवन यापन गर्ने भूइँमान्छेहरुसित पारिजातको अर्थपूर्ण र अन्तरङ्ग साइनो गाँसिदियो । जीवनको उद्र्धमुखी र गतिमान् यात्रामा प्रकाश र प्रेरणाका नयाँनयाँ उद्दीपनहरु भेटिँदै गए । यात्रामा भेटिएका चे ग्वेभारा, रजिस दब्रे र हर्वट मार्कुसका विचारहरुले पारिजातको विद्रोही चेतनाको आगोमा घ्यू थपिदिए । देशदेशावरका कार्ल माक्र्स, लेनिन र माओका विचारहरुको अध्ययनबाट पारिजातको जनमुखी विश्वदृष्टिले ठोस आकार लिँदै गयो । स्वदेशका साहित्य फाँटका वाम चिन्तक र रचनाकर्मीहरु एवं राजनीति फाँटका योद्धाहरुसितको उठबस र अन्तत्र्रियाले पारिजातको चिन्तन र सिर्जनालाई सङ्गति, अर्थ र मूर्ततातर्फ डोर्यायो । अनि ‘कोइ त भने जहाजमा हरर, कोइ त भने पसिना तरर, हाम्रो नेपालमा’मा व्यक्त असन्तुष्टिको भाव ‘यस्तो चलन धेरै दिन टिक्दैन, हाम्रो नेपालमा’ पुगेर हुङ्कारमा परिणत हुनथाल्यो ।
व्यक्तिवादबाट समूहवादतर्पmको पारिजातको लम्काइ उनको दुःखमोचनको सुखद् प्रक्रिया थियो । यो उनैको स्वीकारोक्ति हो । नवजीवनको आशा र त्यो आशाको दीयोमा प्रतिबिम्बित जीवनको उदात्त प्रयोजनले उनको एक्लोपना, उनका सुस्केरा र उनका तनावहरुलाई किनारा लगाइदिए । अब उनी गरिखाने सामाजिक समूहको एक अंश बनिन् । दुःखमा तीसंगै, सुखमा तीसंगै । जोखिममा तीसंगै, चैनमा तीसंगै । जीवनको आंधीबेरीमा तीसंगै, जीवनका दुर्लभ शान्त क्षणहरुमा तीसंगै । पारिजातको ‘समूह’ भीड होइन । त्यो जिउँदो मान्छे बन्न संघर्षरत मानव समूह हो । त्यो जागृति र मुक्तिउन्मुख जनगणको गतिमान् प्रवाह हो । अनि साहित्यकारका कर्मको अभीष्ट ? पारिजातकै शब्दमा ‘व्यक्तिलाई भीडको अङ्ग होइन जनसमुदायको अंश बन्ने प्रेरणा दिने काममात्र साहित्यकारको हो ।’
पारिजातको कलम विविध विधामा दक्ष थियो । त्यसैले नित्य द्वन्द्वरत सामाजिक यथार्थको वृहत् क्यानभासमा पारिजातको उपस्थिति र हस्तक्षेपका आयामहरु अनेक थिए । पुस्तक र साहित्यिक पत्रिकाहरुमा, अखबार र पर्चाहरुमा, साहित्यिक संघसंस्था र गोष्ठीहरुमा, प्रतिरोधकारी भेला र जुलुसहरुमा, दूरदराजका जनजागरणकारी अभियानहरु र भूमिगत सल्लाह–साउतीहरुमा— पारिजातको हस्तक्षेपकारी उपस्थिति कहाँमात्र थिएन ? पारिजात मौरीको रानोजस्ती थिइन् । उनको ओरिपरि नित्य जिज्ञासु युवाहरु झुम्मिन्थे । म्हेपीको प्लास्टर नगरिएका भित्ता र खाली भूइँ भएको सादा कोठामा उनलाई भेट्दा मैले उनलाई प्रायः कहिल्यै एक्लै भेटिनँ । एउटा भित्तोमा चेग्वेभाराको तस्बिर, अर्को भित्तोमा पारिजातको ओछ्यान । सादा जीवन, उच्च विचारको आदर्शको झल्को दिने पारिजातको सादा कोठा उनको आप्mनै जीवनको ऊर्जाले धपक्क बलेको हुन्थ्यो । र, त्यो ममतामयी र प्रेरणादायी उज्यालोबाट आकर्षित युवाहरु पारिजातको सुलभ सान्निध्य पाएर आलोकित, प्रेरित र गौरवान्वित हुन्थे । पारिजातको कोठा युवाहरुका लागि विचार, साहित्य र कलाको रचनात्मक प्रशिक्षणशाला थियो ।
तिनताका नेपाली साहित्यमा दुई पृथक् विचार–प्रवृत्तिका दुई प्रतिनिधि साधक थिए— मोहन कोइराला र पारिजात । मोहन कोइराला ‘फार्सीको जरा’ कवितापछि जीवनको कठोर यथार्थदेखि डराएर वा विरक्तिएर आफ्नै चित्तको एक कुनामा निर्वासित भए । ‘लेक’ र ‘सूर्यदान’ जस्ता कविता भनिएका उल्झनहरुमा उनले कविताको बोधगम्य तत्वलाई तिलाञ्जलि दिए । र, उनका कविता बुझ्न एक पाठक एक वासुदेव त्रिपाठीको योग हुनुपर्ने भयो । अहिले उनका लेखोटहरु जिवन्त पठन र स्मृतिमा कतै छैनन् । उनका दुरुह कविताहरु विश्वविद्यालयका नेपाली गुरुजीहरुका जागिरे व्याख्यानमा जीवित होलान् अथवा विद्यार्थीहरुका ऐठनमा उपस्थित होलान् । मोहन कोइरालाका नबुझिने कविताको विकर्षणकारी प्रसङ्गले मलाई सधैँ यदुनाथ खनालको एउटा आक्रामक प्रश्नको सम्झना गराउँछ— ‘कविको नबुझिने हुन कति हक छ ?’ मोहन कोइरालाको यो प्रवृत्तिको विपरीत पारिजातले साहित्यलाई व्यापक जनजीवनको झन्झन् निकट पुर्याउने यत्न गरिन् । र, उनले साहित्यलाई जनजनको आत्मिक उन्नयन र आनन्दको साधन बनाउन गर्नुसम्म साधना गरिन् ।
पारिजातका श्रेष्ठ कृतिहरु कुन कुन हुन् र किन ? यो प्रश्नबारे चर्को मतान्तर छ । पारिजातको श्रेष्ठ कृति ‘शिरीषको फूल’ हो र ‘शिरीषको फूल’मात्र हो भन्ने एउटा मत छ । अर्को मतले पारिजातका पछिल्ला जीवनवादी कृतिहरु रोज्छ । ‘शिरीषको फूल’ कति लोकोपयोगी वा कति हानिकारक हो भन्नेबारे आख्यानकार युग पाठकको किशोर वयको पाठकीय अनुभव विलक्षण छ । ‘शिरीषको फूल’ पढेपछि उनलाई एकातिर पारिजातको विशिष्ट शिल्पको सम्मोहनले गाँजेछ र अर्कातिर मृत्युको मोहले आक्रान्त तुल्याएछ । ‘शिरीषको फूल’ एक पटक पढ्यो फेरि पढूँपढूँ लाग्ने । पढिसक्यो घरिघरि मरुँमरुँ लाग्ने । युग पाठकको यो पठन– अनुभूति शायद ‘शिरीषको फूल’ पढ्ने सबै पाठकको साझा अनुभूति हो । यो खतरनाक अनुभूति हो । साहित्य मर्ने प्रेरणाका लागि किमार्थ होइन । साहित्य त जिउने र जीवनलाई सुन्दर बनाउने प्रेरणाका लागि पो हो ।
आर्थिक सङ्कटले पारिजातलाई जीवनभरि लखेटिरह्यो । तैपनि ‘म प्रज्ञा प्रतिष्ठानको जागिर खान्न“’— स्वाभिमानको शिर ठाडो पारेर उनले भनिन् । शाही प्रज्ञा प्रतिष्ठानलाई जनमुखी प्रज्ञा प्रतिष्ठान बनाउन उनको अगुवाइमा छेडिएको अभियानलाई सत्तासीन शाही संस्कारका प्रेतहरुले उपेक्षा गरेपछिको कुरा हो यो । सत्यनिष्ठा र नैतिक दृढता पारिजातको जीवन–संघर्षका अपराजयी अस्त्र थिए । आफू सदैव आत्मगौरवसाथ जिउँदो भएर उभिनु र दलित र उत्पीडित जनगणलाई त्यसैगरी उभिन र मुक्तिसंग्राममा हेलिन प्रेरित गर्नु नै पारिजातकानको उदात्त अभीष्ट थियो ।
पारिजात जीवन बिसाएर हामीमाझ नरहँदाको उदास क्षणमा मैले ओबिचुएरी टाइपको एउटा गीत रचेको थिएँ— ‘उदास जीवनको उजाड बगरमा मुना पलायो एक दूबोको । पारिजात, अपराजिता पारिजात ।’ बस्, आफ्नै जीवनको ज्योतिले उज्यालिएकी पारिजातलाई सम्झेर अहिले यति नै ।
उत्तरआधुनिक अन्तरेपथबाट साभार
लेखक परिचय
खगेन्द्र संग्रौला आक्रामक गद्यका अनुपम स्रष्टा हुन् । लेख, निबन्ध, राजनीतिक टिप्पणी र प्रतिवादमा उनको यस्तो आक्रामक गद्य उजागर हुने गर्छ । भाषामा रहेको त्यही आक्रामक सौन्दर्यले उनको विशिष्ट परिचय निर्माण गरेको छ ।
प्रतिक्रियाहरु 2