मुनराज शेर्मा
# लिम्बू याक्थुङ भाषामा ताजेङ्लुङ, सम्वाद ढुङ्गा,लाई सन 1819 मा फ्रान्सिस बुकानन ह्यामिल्टनले दार्जिलिङ लेखे पछि दार्जिलिङ भनियो । त्यै दार्जिलिङ्ग चोकको ठिक ट्याक्सी स्टेण्ड मुनि आईबी राईको घरको दोस्रो तलाको पछाडिको झ्यालमा हामी छौं। कछुवाको जस्तो लिलावादी टाउको निकालेर कृष्ण बरालले भने।
“हेर मुना ! उ त्यो भित्ताको घर छ नि, हो त्यै घरको कथा हो रात भरी हुरि चल्यो कथाको प्लट घर।” “कस्ले भन्यो ?” मैले नपत्याएरै भनेँ।”बुढाले मलाई उहिले भनेको।” बराल दाईले ठोकुवा दिए।मैले नियालेर हेरेँ।मुनराज शेर्मा
खासमा पैरोको कुरा मिल्थ्यो तर बजार सम्मको आधी घण्टाको कुरा अल्मलिने हो भने मात्र मिल्ने रैछ। पाखाबारीको कुरा तेतिखेर मिल्दो हो ।अहिले मिलेन।हुरिबाट घर बचाउँन जाँतो बाँधेर झुन्डिने कालेको बाउहरूको घरहरू अहिले आफै पाखाभरी झुन्डिरहेको थियो। मेरो दिमागमा कालेको बाउ र आमाको चरित्र घुम्न थाल्यो।पहिरो त अहिले पनि प्रतीक्षामा थियो।बुढाले कति कथा घुरेनकै लेखेछन्। मान्छे हुरि थाम्ने सानो विस्वासले कसरी बाँच्छ है ! के यहीँ सत्यले यो पाखाभरी मानिसहरू सुनाखरी जस्तो टाँसिएर बाँचिरहेका हुन् ?
# सिरिसको फुलले भमरालाई अचेटेर मार्यो।विम्ब पनि ठिक हाल्नु पर्छ नि शंकरलामिछानेले।खै कसरि सिरिसको फूल मांसाहारी हो भन्नू ।बरु रसबिहिन भन्न मिल्लाकि? धनवीरसँग प्रेमको रस निर्माण गर्ने पारिजातलाई रस बिहिन पनि भन्न मिल्ला र ? पारीजातको प्रेमी धनवीर मुखीया जो कमानको जागिरे थिए । उनी प्रेमीसँगै दार्जिलिङको त्यो घरमा भाडामा बस्थिन । हामीलाई लालकोठीको घरधनी चन्द्र राईले जानकारी गराए।पारीजातलाई निकै बोल्ड क्यारेक्टरको रूपमा लिइन्छ। पारीजातको घर हेर्न कृष्ण बराल, पर्वत पोर्तेल र म चौरस्ता पूर्वबाट एउटा ओरालो गल्ली हिड्यौं । त्यो गल्ली त प्रकाश कोविदको प्रख्यात औपन्यासिक गल्ली रहेछ । उनको ‘अर्को जन्म’देवता “जस्ता उपन्यासमा पात्र भएर हिडेको गल्ली रहेछ । म त सम्झनामा हराई गएछु । त्यो गल्ली त्यति सफा र सुविधा सम्पन्न त थिएन । बाईक आइरहेको थियो । लथालिङ्ग खानेपानीको पाइप थोरै फोहोर रोडा दम्सैलो ओरालो मानिसहरू हतार-हतार हिडिरहेका थिए । भित्तामा सिस्नो कालीझार यस्तै स्थानीय झारहरू पहाडी गाउँ हुन पर्याप्त चित्र थियो । तीन दशकपछि म कोविदको पात्र झै हिडिरहेको थिएँ । वास्तवमा अघिल्लो साँझ प्रसिद्ध आयामेली कवि नेपाली टि एस इलियड बैरागी काइँलासँग चौरस्ता घुम्न आउँदा हामीलाई एक आगन्तुकले ईमानसिंह चेम्जोङको चिहान देखाउँछु भनेका थिए । हामी त्यो लोकेशन अनुसार ओरालो झरेका थियौं । हामीलाई पारीजातको घर पनि हेर्नु थियो । दुई महिला दूध बेचेर फिरेका रहेछन् । रातभरी हुरी चल्यो कथाको कालेकी आमाहरू जसले हामीलाई चन्द्र राईको घर छिर्ने सानो गेट देखाएका थिए । एन्टिक गल्लीहरू चहार्दै ओरालो लाग्यौँ । चिहान त पुगिएन । त्यो निकै पर होला भन्ने थाह पाएपछि हामी पारीजातको घर भएपनि हेर्ने निस्कर्षमा पुग्यौं। कालेकी आमाहरूले भने पछि चन्द्र राईको बगैंचा भित्र छिर्यौं । उनैले हामीलाई पारिजातले भाडामा बसेको घर देखाए । त्यो घर हाल अर्कैले किनी सकेको जानकारी गराए । हामीले त्यहीबाट पारीजातको घर हेर्यौं यो करीब ५०० मिटर पर भित्तामा थियो । उनले इमान सिंह चेम्जोङको चिहान बारे थाह नभएको बताए। हामी झन बिलखबन्दमा पर्यौं । उनी बसेको घर चाहिँ लालकोठी भनिदो रहेछ । अंग्रेजको पालामा बनेको भारत छोडो आन्दोलन पछि सिक्किमको राजकुमारलाई अंग्रेजले बेचेको घर, पछि त्यो उनको बाजेले किनेको रहेछ । भारत स्वतन्त्रता आन्दोलनका एक योद्धा बिरामी भएर डाक्टरको सल्लाहअनुसार दार्जिलिङको चिसोमा आएर त्यही टोलमा बसेका रहेछन्। त्यहीँ बेला महात्मा गान्धी उनलाई हेर्न त्यहाँ आएका हुनाले गान्धी मार्ग त्यसकारण नामाकरण भएको रहेछ । हामीलाई उनले अफिस जान ढिलो भएर पनि धैर्यपूर्वक निकै जानकारी गराए । ब्ल्याक टि पियाए । छोरीसँग परिचय गराए । सिटिङ रूम निकै भव्य थियो । उनले बैरागी काइँलासँग आफू सिकारु कवि हुँदै पहिले भेटेको स्थानीय एक पत्रिका र संस्था सञ्चालन गरेको गर्वसाथ सुनाए । अगाडि भव्य बगैंचा थियो ।
पारीजात बोल्ड क्यारेक्टर हो नि उनैले हामीलाई बताए । उनको प्रेमी धनवीर पनि मरी सक्यो नी ! उनले गम्भिर भएर भने।छुट्टिनु अघि उनैको बगैचाबाट कन्चजङ्घा हिमालको भव्य तस्बिर लियौ।
# चोकको कान्छा राईको साझा पुस्तक पसल दार्जिलिङको एक जिवित संग्राहलय हो । काइँला जहिले त्यहाँ निक्लिन्छन् । त्यो ज्ञानको तिर्खाको सानो जरुवा हो । यो पाली राजनारायण प्रधानको एक पुस्तक खरीद गरेर बराललाई दिए । जुन किताब बरालले पहिल्यै धुलाबारीमा उपहार पाएका थिए तरै पनि नाई भनेनन् Iयो पुस्तक पसलसँग काइलाको विगतको कथाको लामो तानाबाना थियो ।उनको अध्ययनको एक स्रोत थियो। उनी ननिक्ली केही नकिनी नहेरि हिन्दैन्थे।पर्वतले गोर्खाल्यान्ड सम्बन्धित पुस्तक निकै खोजी गरे तेस मद्ये एउटा लिए।मुनराज शेर्मा
# चौरस्तामा# तोप ह्याट र बल गाउनको एक शताब्दी ज्यादा बेलायती संस्कृतिको तामझाम रह्यो । नेपाली ढाका टोपी दौरा सुरुवाल धोती चौबन्दी कैचीमार साडी हाकुपटासी मेख्लि बक्खु घेलेकहरू दुई शताब्दी हेजेमोनाइज्ड भए। गोर्खाली आक्रमणबाट मुक्त हुन, एक सय पचासी बर्षअघि ब्रिटिसलाई सिक्किमले दार्जिलिङ दिएपछि एक सय बाह्र बर्षसम्म एकछत्र राज गर्यो । प्रसिद्ध संगीतकार मणि कमल क्षेत्रीले एक कार्यक्रममा जाँदा चौरस्ताको पुछारमा उभिएर भनेका थिए। यहाँ देखि उभो ब्रिटिस मात्र जान सक्थे । नेपालीहरूलाई अनुमति थिएन। यहिँबाट हेरेर फिर्नु पर्थ्यो । आज हामी दुई शताब्दीपछि नेपाली कविताका शिर्षस्थ व्यक्तित्व आयामेली कवि वैरागी काइँलासँग थियौं । भानुभक्त सुनौलो पहिरनमा आयामेली कविसँग संवादमा थिए । काइला जो नेपाली साहित्यमा अब्बल नाम हुन् । आयाम कसरी लेख्ने आईबिराईलाई पनि फिटफिट परी रहेको बेला काइँलाको बैराग्यले दिमागमा बत्ती जलायो बैरागीले ‘मिथ’ भेटे । र, त्यै मिथले मातेको मान्छे भेटे, बैला उत्सव गर्दै वैश्विक इथनिकल मिथको बिज यहि अन्वेषण गरेर आयामेली राइटिङमा प्रयोग गरेका थिए । जुन इथनिक कल्चरल इन्जिनले नेपाली कविताको भेलोसिटी यति हाइ भएको थियो जसले त्यस अघिका काव्य शिल्पहरू नै मधुरो र भद्दा हो की लाग्यो । कविता गाउँको शताब्दी अध्याँरो चिहानबाट उठेर दौडन थालेको थियो I कविता खोर खोरबाट बास्न थाल्यो । भन्ने हो भने पत्कर भनिएकाहरू असभ्य ठानिएकाहरू विद्रोहले मातेर कविता बनेर उभिन थाले। कविताको कच्चा पदार्थहरू सिमान्त समुदायबाट केन्द्रलाई हाँक दिएर उभियो । कसरी झिनामसिना अपहेलित भनाइएकाहरू कविताको शक्ति भएर उठे । त्यो लहर सिर्जनशिल अराजकता, रंगवाद, उत्तरवर्ती, उन्मुक्त पुस्ता, फरक आयाम, कुकुर कवितासम्म आइपुग्यो, यो काव्यिक जेनेरेसनको छैटौं पुस्ता हो सिक्सजि। आख्यनमा लीला सम्म टुजि मात्र भयो ।
#चौरस्ता आएपछि कफी पनि नपिई के जानु । सायद काइँलालाई बैंसको याद आयो । उनी युवकीए । हामी पर्वत पोर्तेल,कृष्ण बराल, म र काइँला दाई कफी सप
छिर्यौं । बाजे तपाईँ कोबाट ज्यादा प्रभावित हुनुहुन्छ? प्रश्न सोधेको थिएँ छिर्दा छिर्दै। म श्रद्धाले बाजे भन्छु । उनी यो प्रश्नले निकै हतास भए I संसारमा जो पनि कसैबाट प्रभावित हुन सक्छ I म पनि कुनै समय भएँ हुँला । जसरी इबरा सस्यूरबाट ज्यादा प्रभावित भए । तर हामीले डेरिडा नपढी डेरिडा जस्तो गरयौं ।त्यसो र प्रभाव-प्रभाव जस्तो देखियो । उनी भन्दै गए । कारण हामीले बाँचेको पृथ्वी एउटै हो । हाम्रो धारणा सोच मिल्न सक्छ ।
कफी मगाइयो क्यापसिनो I पैसा तिर्न बराल र काइँला दाईमा हानथाप पर्यो । बराल दाईले बाजी मारे त्यसै पनि उनी हाम्रो दिलदार थिए । एक हजार भारुमा डेढसय फिर्ता । बराल तिनचित । काइँला दाईलाई सुनाको बराल फेला परेछ भनेर एक आयाम हाँसे । मैले अरू प्रश्न सोधिन ।मुनराज शेर्मा
# साँझपख चौरस्ता मस्त जवान हुन्छ । चौरस्ताको यौवन पिएर काइँला दाईले अक्सफोर्ड बुक्स एण्ड स्टेसनरी जाने भनेपछि छिर्यौं । हामीले कुनै पुस्तक किनेनौं, अवलोकन मात्र गर्यौँ I वैरागी काइँला भन्ने थाह पाएपछि आगन्तुक र पसलेहरू शान्त देखिए आदरपूर्वक केही जिज्ञासाहरू राखे । सायद काइँलाले कुनै पुस्तक खरिद गरेको भए त्यो मार्केबल ठान्थे होलान् । प्रतिक्षामा समेत थिए होलान् । डा.गिरीसँग लामै भलाकुसारी भयो ।काइँलाले त्यहाँको पुस्तक भराइटीको निकै प्रशंशा गरे ।
# साँझपख लाङसा खाने भनेर पर्वतले भनेपछि ट्याक्सी स्टेन्ड पछाडि चेपतिर छिर्यौं । तिन पुस्ता अघि मुङलान पसेका ताप्लेजुङ्गे लिम्बुको मेञ्जो बार
एण्ड रेष्टुरेन्ट रहेछ । लाङसा चै पाइएन ।कुनै सेर्माको बिहेमा गएर फिरेका रहेछन।अर्को दिन मलाई चिनाउने भन्दै थिए भ्याइएन। उब्रेपाब्रेकोमा काम चलाइयो। नेपालको जस्तो रोष्ट सेकुवा फ्राई केही नहुँदो रहेछ । चिकन ग्रेभि ह्विस्कीसँग त्यत्ति दिलखुस भएन । सलादको पनि अभाव, जेनतेने काम चलाइयो । दार्जिलिङ्गे जाँड साँझको दुखःद अवसान भयो ।मुनराज शेर्मा
#कोविद्को उपन्यासहरूमा पढेको बहुत सुनेको बाघे डाँडा, टाइगर हिल अहिले सम्म पुगेकै थिइन ।मेरो लागि यो उत्कट जिज्ञासा थियो।
आयोजकले बाघे डाँडा अस्ताउँदो घाम हेर्न लिएर गए । निकै टाढो रैछ ।अघिल्लो गाडीमा हिडेका काइँला दाई झण्डै बाटैबाट फिरेछन् । लेबुङ लिम्बु भाषामा लिङ्गको फेद हुन्छ | खै कसले हो नाम राखेको ? सेनामा भर्ना हुन नसक्दा रिसमा लेबुङ राखेको हुन सक्छ । भारतीय सैनिकको लेबुङमा भर्ना चलिरहेकोले जवानहरूको दोहोरी लत्त
घुइचोले हैरान पार्यो I त्यसै त साँघुरो चेप त्यै माथि सवारी र युवाहरूको भीड बल्ल बल्ल टुप्पामा पुगियो । सारै सुन्दर सूर्यास्त हेरियो । सूर्यास्त, समयको मृत्यु पनि भयानक सुन्दर हुन्छ भन्ने आभाष गर्यौं । जाडो थियो । हेमानको तिन तले प्यारापिट सहितको दृश्यावलोकन भवन निर्माणाधिन रहेछ ।बिना रेलिङ माथि चढ्दा सिरिङ्ग भएर गजबको छेरुवा अनुभूति प्राप्त भयो। तरै पनि हिम्मतिलो जोडीहरू खुट्टा झारेर मच्चाउँदै आलिङ्गनमा थिए ।म भने नभएको प्रेमिका सम्झेँर हुरुक्कै भै गएछु।हाउ अहिलेसम्मै थक-थक लागिराखेको छ।
एउटा मफलर कसैले छोडेछ तिनतला माथि। काइँलाले आईबिराईलाई अन्तिम बिदाईमा अर्पेको मफलर, उनको कविताको मफलर बाघे डाँडाको सनसेटमा भेटेको भावुक अनुभूति गरियो । पर्वत पोर्तेलको फोटो बाघकै मुख जस्तो खिचिएछ तब पत्याउनु पर्यो नि टाईगर हिल; बाघे डाँडा। सिक्किम कन्चजङ्घा र वरपरको मनमोहक भुईलाई चिलको अँखा र मनको हृदयले चुक्ता छामेर हामी फिर्यौ ।मुनराज शेर्मा
#हामी इन्द्राख्यान परिचर्चामा आएका थियौं। नेपाल भारतका बहुसङख्यक लेखकहरूको आफ्नो विचारहरू यस कृतिमा समावेश गरिएको छ । जो लीला र आइबी राईसँग सम्बन्धित छ। कार्यक्रम भव्य गर्न सकिन्थ्यो तथापि राईको घरैमा पारिवारिक जमघट र नेपालतर्फका एक दर्जन लीलावादी सहितको लेखकहरूको उपस्थितिमा यो कार्यक्रम सम्पन्न भयो । ब्यापक रूपमा प्रसिद्धि रहेको बाबुको साहित्यिक योगदानबारे परिवारले महशुष गरेर पारिवारिक खर्चमा पुस्तक प्रकासन भयो।यो काम कुनै प्रकासन गृहले पनि गर्न सक्थ्यो ।तथापी बृहत कार्यक्रम चै हुन सकेन।अहिलेसम्म नै म त्यो चै सोचिरहेकै छु । दार्जिलिङकै कवि मन प्रसाद सुब्बा र अन्य केही लेखकको ,एकाधबाहेक,उपस्थिति समेत थिएन । तर लीला हिमायतीहरू र स्वयम आयामेली कवि बैरागी काइला भने थिए l काइँलाले आफू इन्द्रबहादुर राईको पारीवारिक उत्तराधिकारी मात्र भएको तर लीलालेखनको उत्तराधिकारीहरू झापाका दुई कृष्ण बराल धराबासी रत्नमणि कुमार विष्णु भट्टराई रहेको खुलासा गरे ।
#ढुङ्गे कोठी # चौरस्ताबाट घुमेर झर्दा निकै रात छिाप्पिएको थियो I चोक बजारको पछाडि पूर्वको गल्ली हुँदै हामी झर्नु अघि चौरस्ता दक्षिणको स्ट्रिट फुड फेस्टिबलको घुइचो छिचोलेर झरेका थियौं । काइँला दाईले चार दशक अघि पनि भएका र पछि बनेका घर पसल हामीलाई चिनाइरहेका थिए । कृष्ण दाई र मैले काइँला दाईलाई पाखुरामा समातेर ओरालो चेपचाप भिडभाडमा डोर्याउँदै आयौं । मानिसहरू रात छिपिदै जाँदा अझै थपिइरहेका थिए । स्लटर हाउस [ बधशाला ] पछाडि पुगेपछि हामीलाई काइँला दाईले त्यही नै ढुङ्गे कोठी चार दशक अघि रहेको जानकारी गराए । बधशालाको बाक्लो घुर गनाइरहेको थियो । एक बर्ष अघि फोटो खिच्न नदिएको प्रसङ्ग पर्वतले झिके । ढुङ्गे कोठीको विषयमाथि ‘बाहुन बस्तीमा लाल कोठी’ भन्ने शिर्षकमा वीर विक्रम गुरुङले कथा लेखेका थिए भनेर हामीलाई निकै रोमाञ्चक घटना सुनाए । देहव्यापार सम्बन्धमा जोसुकैसँग बोल्ने आँट थिएन तर गुरुङले कथै लेखेको कुरा निकै चर्चित बन्यो सायद । तपाईंहरू कोठी जानुभो भनेर सोधी हाल्न भने सकिएन । सबै प्रश्न सोधिदैन पनि सायद ! र,सबै प्रश्नको उत्तर दिनु जरुरी पनि नहुदो हो ।
# मोहम्मद गल्ली# जो काइँला दाईको पाँच दशक अघिको अतितलाई बोकेर बसेको छ । काइँला दाईसँग हामी बिहानै दार्जिलिङ बजारको मोहम्मद गल्ली गयौं । मलाई लाग्थ्यो यो प्रेम गल्ली हो I जहाँ प्रेमको लैला मजनु बस्छन् ।मुना मदन बहारमा छन। मुजिङ्ना खेयोङ्ना प्रेमको उत्ताल आवेगले कुनै पुरुष गन्धसँग संभोगमा छ शृष्टिको लागि।त्यसो त होइन रहेछ।
न्ड कवि बल्लभले काइँलाको मित बैनीसँग गरेको प्रेमले चै हो नै प्रमाणित हुन्छ प्रेम गल्लि। तर अफसोच चिया पसले मोहम्बतको नामबाट प्रख्यात गल्ली पो रहेछ ।एक सर्वहारा मजदुर गल्ली । मानौं हामी पुरातत्वको विद्यार्थी हौं । प्राचिन आयामेली साक्षीहरू उत्खनन् गर्दैछौं । काइँला दाई पचास बर्ष अघि फर्किए । जवान भए । मोहम्मदको मिठाई पसलमा छिरे । उनी तिस बर्ष अघि सधैं बस्ने बेञ्चमा बसे । हामी उनीतिर मुखामुख गरेर बस्यौं ।मानौं सामुन्ने बल्लब र आई बि राई । चिया जेरी परौठा आयो । कपाकप खाए । बसेको वरीपरी दृश्यहरूको वर्णन गरे । ती मोहम्मदका कम्तिमा तेस्रो पुस्ता थिए सायद। काइँला दुई कोरी दश एक वर्ष पहिलेको जवान भएर भाडामा बसेको सटर देखाए । सटरमा सुखले हैन बाध्यताले बसेका थिए। ईश्वर बल्लबसँग भेट भएको कैरन गरे ।मुनराज शेर्मा
#ईश्वर बल्लभले काइलाको मित बाबुकी छोरी टिउसन पढाउन बस्दा फाच्चा भगाको नमिठो तर ब्रेभ लभस्टोरी सुनाए । ईश्वर बल्लभ मुढी खालको झगडा गरिहाल्ने स्वभावको थिए, थप रहस्य पनि खोतले। त्यसबेलाको चर्चित आन्दोलन आयामको बिरोध अगमसिंह गिरी र गुमान सिंह राईले मात्र गरेका थिए । आयामेलीसँग गिरी र राईले ठूलो वाकयुद्ध गरे ।काइँला सिधासाधा सोझो मनोवृत्तिको भएकाले कसैसित प्रेम रिस राग केही भएन, काइँलाले कन्फेसन दिए । अब प्रेम गीत लेख्ने काइँलाको कुरो पत्याई हाल्नु पनि कम हम्मे परेको होईन । उनले एकोहोरो एक तर्फी मात्र प्रेम गरे भन्न पनि सकिएन। मञ्जु राईलाई म धन्यवाद दिन्छु भनेर काइँला पत्नीको [ मेरी बजु ] स्वीकारोक्ति छ । प्रेम त महान् चिज हो जो सबैलाई प्राप्त हुँदैन। ईबरा भन्थे प्रेम भयो भने स्वीकार, त्यो हत्पति मिल्दैन । प्रेम अप्राप्य चिज हो ।
# विषको दशकको कुरा हो । बल्लभ आईबिराई र काइँला चौरस्तामा भेला हुन्थे अगाडिको भानुको मुर्ति हेरेर त्यसको चारैतिरको कोणबाट नियाल्दा फरक देख्थे । त्यसरी नै माथि तल पनि त छ नि दृष्टिकोण ठानेर आयामको परिभाषित गरेको दार्शनिक चेतनाको मातृ दार्शनिक भूमि हो चौरस्ता जहाँ टिएस इलियट लण्डनमा खोच्याउँछ सुने पछि चौरस्तामा आयामेलीहरू खोच्याउँदै हिड्थे र अनुभवले कविताको शक्तिको उर्जालाई ध्यानस्थ गर्थे । पैसा जोगाड भएपछि २२ सालतिर ६ अंक सम्म ‘फुलपात पत्कर’ र ५ अंक सम्म तेस्रो आयाम निकालेको इतिहासको गौरवमय झण संस्मरण गरे । त्यस फुलपात – पत्कर पत्रिकाको सम्पादकीय आईबिराईले काइँलाको नाममा लेखे । त्यो पैसा दाजु स्वतन्त्रता सेनानी भूविक्रम नेम्बाङ्गले सुंगुर बेचेर दिएको त्यागकै कारण पत्रिका निकालेको गौरव गाथा समेत सुनाए । आठ रूपैंया मनको धान झापा बुधबारे मदन श्रेष्ठको मिलमा बेचेर बल्लभलाई सिलीगुढीसम्म पुरयाउँन, काइँलालाई दाजु भूविक्रमले पठाएको प्रेमको दस्तावेजको निसानी समेत गर्वसाथ फुकाए । बल्लभ प्रति गुनासो प्रेम र त्याग सबै उत्खनन् गरीरहेका थिए । बल्लभलाई प्रेम रोग लाग्यो I नेपालमा बहुदल छान्ने जनमत संग्रह लाग्यो । काइँला देश फिरे । फेरी बेच्ने धान र सुंगुर थिएन । फुलपात पत्कर बिग्रेको इन्जिनसँग फेरी थन्कियो । यो सम्झनाको बैचारिक सानो छुकछुके रेल दौडाएर अबेला झर्यौं । चौरस्ता भने रातको जंगलमा पुरै बैसमा फक्रिरहेको थियो ।मुनराज शेर्मा
# अर्को दिन आफू डेरा बसेको घर देखाउन काइँलाले ट्याक्सी स्ट्यान्ड सम्मुखको पूर्वको गल्लीमा लिएर गए तर कुन कोठा हो स्पष्ट पहिचान गर्न सकेनन् । कारण संरचना परिवर्तन मुख्य कारण थियो । उनी थोरै अल्मलिए पनि उनको यादहरूको प्रेमको वर्षा हामी बुझ्थ्यौं ।
निकै अधैर्य थिए उनी सम्झनाको ब्ल्याक होलमा छिरिजान्थे घरिघरि कति स्मृतिहरू उनका नीजि थिए जो चाहेर पनि सेयर गर्न सक्दैनथे। अमिलो जाँड चाखेको मुख जस्तो मुखाकृति बनाएर निकै बेर हेरिरहे त्यो गल्लीलाई जो दूईतले टाँड मुस्किलले छ फिट फराक र बाह्र चौध फिट अग्लो थियो । उभों टाँड तिर नजर दौडाएर के सोचे अनि बोले “हामी अबेर डेरा आउँदा यो बाटो छिर्थ्यौं, उता त बन्द भैसक्थ्यो ।” बैंस हो नी घुमफिर बरालागिरी नगर्ने को होला ? हामीलाई देखेर मानिसहरू अचम्मित भएर हेरिरहेका थिए । के थाह उनीहरूलाई, हामी पनि अचम्मित नै थियौं Iजब दुवै अचम्मित होइन्छ त्यहाँ सामन्य बाहेक केही हुँदैन ।कसैको सम्झनाको साक्षी बस्नु आफैलाई पूर्व दृश्यहरूमा धकेलेर पुर्याउनु हो ।
# झुरुप्प हाट कटेरा बिचबाट उभोँ हेरेर औल्याउँदै काइँलाले भने “यो दार्जिलिङको महान् मुक्ति संग्राम गोर्खाल्याण्ड आन्दोलनको बेला भाषण गर्ने मञ्च थियो । अहिले त धेरै घर टहरा बनेर मञ्च नै छोपिसकेछ ।” हामीले दुईतले मचान देख्यौं जो पूर्वबाट लामो सिढींले जोडेको उत्तर दार्जिलिङ चोक तिर फर्केको थियो I ‘आज रमिता छ’ उपन्यासको लाष्ट इपिसोड यहिको कथावस्तु हो काइँलाले भने । स्रोता दर्शक बस्ने ठाउँहरूमा बाक्लै दोकानहरू थिए । काइँलाको आवाजमा खिन्नता थियो । मैले घिसिङ, छत्रे सुब्बा, ईन्द्र बहादुर राई, विमल गुरुङ भाषण ठोक्दै गरेको र त्यो भाषण सुन्न गाउँ-गाउँबाट, चिया कमान-कमानबाट आएका किसान मजदुरहरू अधिकारको लागि ताली पिटीरहेको कल्पना गरेँ । हामी सब समयको
दास हौं । चाहेर समयको बलवान गतिलाई रोक्न सक्दैनौं । तर व्यवस्थापन गर्न सक्थ्यौं। दार्जिलिङ्ले एउटा ऐतिहासिक मञ्च राखेकै रैछ तर खुला मैदान बचाउन सकेन। हामि मात्र आलोचक भयौं । समय हाम्रो वैचारिकि भन्दा धेरै अघि छ।विचार त समयको गोहोको पछि-पछि हिन्दो रैछ ।मुनराज शेर्मा
# अन्तिम बिहान हामी प्रसिद्ध बोटानिकल गार्डेन हेर्न झर्यौं । बाटो भूलेर निकै तल झरिएछ । उद्यान त पारिपटि देखियो । सन 1878 मा दार्जिलिङको पश्चिम पाखामा निर्मित चालिस एकड, ८०० बिघाको यो उद्यान एशियाकै प्रसिद्ध वनस्पति उद्यान मध्ये मानिन्छ । ब्रिटिस कालीन लियोड बैंकको मालिक विलियम लियोडको नाममा रहे पनि कालान्तरमा बङ्गाल सरकारको सेक्रेटरी आस्ले इडेनलाई जिम्मेवारी हस्तान्तरण गरियो । यसको रेखदेख भने जर्ज किङले गर्थे । उद्यानको जम्मा तिन खण्ड रहेछ I माथिल्लो खण्डमा हिमाली रैथाने वनस्पति, मध्यखन्डमा उनिऊ,कोणधारी उच्च पहाडी वनस्पति, एकसय पचास प्रजाति सिउडी क्याक्टस ; तल्लो खण्डमा पचास प्रजातिको सुनाखरीको ग्रिन हाउस, संसारका रङ्गीन दुर्लभ फुलहरू, संसारबाट संग्रह गरिएका महत्वपूर्ण दुर्लभ रुखहरू;जस्तै अष्ट्रेलियाबाट सिल्भर ओक, वाटल; अमेरिकाबाट मगनोलिया ग्रान्डीफ्लोरा, रीफेरस वर्मुडिना; चाइनाबाट फोसिल रुख र गिन्को बिलोब[प्राग ऐतिहासिक रुख ], विपिङ विलोज [रुञ्चे रुख], प्लम्स, चेरी; युरोपबाट ; हथोर्न, ब्लेकबेरी, बर्च,चेस्टनट जस्ता बहुमुल्य वनस्पति संग्रहित रहेछ । धेरैजसो वनस्पतिहरू सिंहलीला राष्ट्रीय निकुन्ज सिक्किम र कञ्चनजङगा क्षेत्रबाट संकलित थिए । त्यहाँको सबैभन्दा गहत्वपूर्ण रूने रूख रैछ जुन हाम्रो बैंसको रूख धुपी जस्तो देखिन्छ । यसले सतहमा जरा फैलाउने र ठूलो हावाहुरीमा नटिक्ने भएकोले रुने रूख भनिएको रहेछ I हेरिरहँदा पात हाँगा झार्ने पनि भन्ने रहेछ तर त्यस्तो पाइएन । धरान घोपा क्याम्पमा पनि विश्वका बहुमुल्य रूखहरू थियो ।अहिले देखिदैन । खासमा दार्जिलिङ नेपाल र हिमालयन क्षेत्रको वनस्पतिको अध्ययनको साथै प्रयोजनिक अधिकार प्राप्त गर्न यो उद्यान निर्माण गरिएको थियो। मैले केजिको छ हजार देखि लाखसम्म पर्ने सतुवा औषधि नेपालको जङ्गलमा पाइने हुनाले खोजी गर्दा भारतको नाममा पेटेन्ट राइट्स रैछ।यस्तो कति अमुल्य औषधि बोट्बिरुवाको प्रयोजनिक अधिकार बेलायत र भारतसँग छ।हाल यो वनस्पति उद्यानको हरित घरहरू चाहिए जति स्याहार नभएको आभाष हुन्थ्यो।मैले गोदावरी उद्यानको अवस्था पनि सम्झें । ब्रिटिसहरूले संसारको बोटबिरुवा अध्ययन अनुषन्धान गरेर त्यसको पेटेन्ट राइट्स लिने विश्वविद्यालय सम्बन्धी ज्ञानको स्रोतको हकदार रहने उसको अभिष्ट देखिन्छ । भएको पनि त्यस्तै छ । वोटानिकल सम्बन्धी खास उच्च शिक्षा बोलायतमा जतिको महत्वपूर्ण अन्य ठाउँको मानिन्छ सायदै । हामी बिहानै पुग्दा मानिसहरू प्रात हिडाईमा थिए । ध्यानमा थिए । समय नभएर हो की गोदावरी उद्यानमा जस्तो आलिङनरत प्रेमीहरू थिएनन् । हामी प्रकृतिको सौन्दर्यपानमा थियौं । एकजना मानिस अचानक हामी भएतिर जोडले डल्लो परेर कुदेर आयो I हामी निकै झस्कियौं । ठोक्न आए जस्तो भान भयो । तर ऊ त्यसरी नै फर्केर गयो ।खासमा ऊ हेभी वाम अपमा रैछ l कृष्ण बराल राल सिंगान हुने गरी हाँसे । हामी पनि हुरुक्कै । वनस्पति उद्यान छोड्ने मन थिएन । के गर्नु जिन्दगीमा हजारौ अरू बगैंचाहरू स्याहार सम्भार गर्नुछ । हामी हिड्यौं ।मुनराज शेर्मा
लेखक परिचय
कवि शेर्मा नेपाली साहित्यको मुख्यतय कविता विद्यामा कलम चलाउछन् भने नियात्रा, निबन्धमा पनि उनको उत्तिकै दख्खल रहेको छ । शब्दहरुको याक्सा उनको प्रकाशित कविता संग्रह हो ।