दिव्य खालिङ एकदिन अचानक भेट भयो पुतली सडकमा दिव्य दाइ, निकै हतारमा नै थिए, बाटोको छेउमा बाईक रोकेर कुरा गर्न थाले । दिव्य दाइले गम्भिर मुद्रामा भने शरद मेलै एउटा ठुलै काम गरिरहेको छु संगीतमा, तिमीलाई तयार भए पछि सुन्न बोलाउँला है, यो नेपाली संगीतको निम्ति कोसेढुङ्गा सावित हुने छ । म सकारात्मक उत्तर दिएर बिदा भए । त्यो हाम्रो अन्तिम भेट थियो, एउटा संगीत अनुरागीको संगीतज्ञसँगको भेट, अझै भनौँ न एउटा फ्यानको उनको आइडलसँगको भेट ।
नेपाली संगीतलाई माया गर्नेको निम्ति दिव्य खालिङ नँया नाम होइन, न त एकदमै पुरानो । दिव्य दाइको प्रवेश नेपाली संगीतमा त्यसबेला भयो जब अम्बर गुरुङ र नारायण गोपालको बोलचाल बन्द भएको वर्षौँ भइसकेको थियो, नारायण गोपाल र गोपाल योञ्जनको मितज्यूको पनि साईनो टुटिसकेको थियो । नारायण गोपाल आफ्नै संगीतमा गीतहरू गाउन मस्त थिए, रेडियो नेपालबाट बहिष्कृत भएर । त्यही समय दिव्य दाइको प्रवेश हुन्छ नारायण गोपालको संगीतिक जीवनमा । अनि जन्मन्छन् कालजयी गीतहरू नारायाण गोपाल-दिव्य खालिङको युगल स्वर-गीत-संगीतमा वि.स. २०३८ सालतिर । त्यसबखत नारायण गोपाल सांस्कृतिक संस्थानका महाप्रबन्धक थिए अनि गीतहरू रेकर्डिङ हुने प्रबन्ध मिल्यो रत्न रेकर्डिङ संस्थानमा । आठवटा गीत रेकर्ड भयो यी दुईको सहकार्यमा । दिव्य खालिङकै शब्द र संगीतमा चारवटा गीत नारायण गोपालले गाए । ती गीतहरूले नारायण गोपाललाई पुनः श्रोतासँग जोड्न मद्धत गरे । ती गीतहरू थिए-
–मायाको आधारमा सम्झौता नै हुन्छ
–प्रियसीका यादहरू कोरिएको मुटु
–सधैँ नै म हाँसे तिमीलाई रुवाई
–विपना नभई बाँधिदिने मभित्रको मेरो सपना
अरू दुई गीतमा दिव्य खालिङको संगीत थियो–
–तिमीलाई भुल्दा म एक्लो परेँ
शब्द : कञ्चन पुडासैनी
–म त लालीगुराँस भएछु वनभरि फुलिदिन्छु
शब्द : क्षेत्रप्रताप अधिकारी
आठ वटा गीत गाउने सम्झौतानुसार दिव्य खालिङको संगीतमा छ वटा अनि बाँकी दुई गीत शम्भुजीत बाँस्कोटाको संगीतमा रेकर्ड भए । ती गीत थिए नीर शाहको- ‘पर्खिबसेँ आउँला भनी मेरो उठ्ने पालो’ र डा. विश्वम्भर प्याकुरेलको– ‘तिमीले भनेका सारा देव छोएर, किरिया खान कहाँ सक्छु र ?’ । नारायण गोपालको नँया संगीतकार र गीतकारसँगको पहिलो प्रयोग निकै सफल भयो । नँया पुस्ताको गीतकार र संगीतकारसँगको सहकार्यले नारायण गोपालको तेस्रो चरण सफल भयो अनि यसको मुख्य अभियन्ता दिव्य खालिङले पनि नेपाली संगीतमा अग्रगामी छलाङ लिए, उनीसँगै ।
दिव्य दाइलाई धेरैले संगीतकारको रूपमा मात्रै चिने, थोरैले गीतकार र गायकको रूपमा । दिव्य दाइको गीतकारिता उनको कुनै पनि दौँतरीको भन्दा कम थिएन । गीतमा प्रेम छ, भाव छ, भावना छ, जीवनका अनेक रंग छन् । उनको गीत काव्यमय छ, मिठो कविताजस्तो छ, मिठो सारङ्गीको धुनजस्तो छ । मलाई दिव्य दाइले लेखेको जति सुन्दा पनि धित नमर्ने गीत होः
प्रेयसीका यादहरू कोरिएको मुटु
एकान्तमा आज यहाँ फुकाएर हेरेँ
पिरतीका घातहरू भरिएको मुटु
रसिएका दुई आँखालाई सुकाएर हेरेँ
जीवन यहाँ जताततै अङ्गालेको कथाजस्तै
यहाँ मुटु चारैतिर भङ्गालेको व्यथाजस्तो
आफ्नै पाइला आफ्नै बाटो सँगालेको जेथाजस्तै
सम्झनाका छायाँहरू छातीभरि धुवाँजस्तै
तिर्खाएको पानीलाई नमेटिने कुवाजस्तै
बास खोज्दै उडी हिँड्ने सिमलको भुवाजस्तै
नारायण गोपालको तेस्रो इनिङको यो एउटा सशक्त गीत हो । पहिलो इनिङ थियो अम्बर गुरुङ र गोपाल योञ्जनसँग सहकार्य गर्नुअधि, दोस्रो उनीहरूसँगै सहकार्य गर्दै गीत गाउनु अनि तेस्रो थियो पछिल्ला पुस्ताका संगीतकार-दिव्य दाइ, दिपक जंगम, शम्भुजीत बासकोटा, चन्दन लोमजेलहरूको संगीतमा गीत गाउनु । तिनीहरू मध्येमा सबैभन्दा नजिक र सशक्त संगीतकार-गीतकार थिए नारायण गोपालका सोम दिव्य खालिङ । उनीहरूमा सोम( साथी) भनेर एकअर्कालाई सम्बोधन गर्थे अपितु नारायण गोपाल दिव्य दाइभन्दा उमेरमा निक्कै जेठा थिए । दिव्य दाइले जीवनमा निकै संधर्ष गरे दार्जिलिङमा र काठमाडौँमा । गोपाल योञ्जन, अम्बर गुरूङ, नातीकाजी, शिवशंकर आदिको निकै बोलबाला संगीतमा हुँदा नँया संगीतकार फस्टाउनु निकै कठिन थियो काठमाडौँमा । अझै आफ्नै गीतमा संगीत दिएर नारायण गोपालजस्तो शब्दहरू चयनमा खुबै ख्याल राख्ने गायकलाई गीत गाउन लगाउनु त फलामको चिउरा चपाउनुजस्तै थियो । गोपाल योञ्जनको अनुपस्थितिमा रिक्त रहेको स्थान दिव्य दाइले पुरा गरिदिए नारायण गोपालको संगीतिक यात्रामा ।
मायाको आधारमा सम्झौता नै हुन्छ
लिनुपर्ने जे छ, दिनुपर्ने के छ
त्यो बराबर हुन्छ, अनुरोध हुन्छ
बाँड तिम्रा खुसीहरू मुटु नै बाँडिन्छ
साट तिम्रा व्यथाहरू आत्मा नै साटिन्छ
जति तिमी दिन्छौ त्यति तिम्रो हुन्छ
जमिएका मायाभरि तिम्रो जीत हुन्छ
भत्किएका सपनाहरू मायाले जोडिन्छ
चुँडिएका आशाहरू फेरि नै सजिन्छ
खोल तिमी आज मुटुका ती बन्धन
तिम्रा सारा बोझहरू मायाले बिसाउँछ
वाह ! दिव्य दाइ । कस्तो मिठो गीत । मनै छुने । वास्तवमा दिव्य दाइको गीतकारको स्वतन्त्र अस्तित्व नै उनलाई परिचित गराउन पर्याप्त छ । उनी संगीतमा नलागेको भए एक असल कवि त पक्कै हुने थिए । मेरो विचारमा उनको कवित्वको सूजनशीलतामा संगीत हाबी भए पनि उनी मुलत: कवि हृदयको गीतकार हुन् र यो हुनबाट उनलाई कसैले रोकेन, छेकेन ।
सानै उमेरमा शारीरिक दुर्वलताले अरु क्रियाकलापमा बाधा पुर्याए पनि दिव्य दाइलाई संगीतमा लाग्न केहिले छेकेनन् ।
बुबा स्यामसन खालिङले किनिदिएको हार्मोनियम उसको खेलौना मात्र होइन जीवन धान्ने एउटा साधन नै बन्यो । क्रिश्चियन परिवारमा जन्मेर हुर्केको दिव्य खालिङ १२ वर्षको उमेरमा नै दार्जिलिङ सन्त कोलोस्वस चर्चमा हुने सांगीतिक कार्यक्रममा सहभागी हुन थाले र आफ्नो प्रतिभालाई निखार्न थाले । २१ वर्षको लक्का जवान हुँदा त उनी हार्मोनियम यस्तो बजाउँथे रे मानौँ हारमोनियमले दिव्य दाइले बजाएजस्तो ।
दिव्य दाइको प्रथम नेपाल प्रवेश त चर्चका निम्ति भयो ।सन् १९७३ केहि वर्षका लागि, त्यसपछि नाटकका लागि, संगीतका लागि अनि प्रेमका लागि । पहिलो प्रवेशमा गोदावरीको सन्त जेभियर्समा अंग्रेजी र संगीतको प्रशिक्षक, ग्रेससँग सान्निध्य, प्रेम । पुनः दार्जिलिङ प्रवेश, माउन्ट हरमन स्कुलमा संगीत प्रशिक्षण, अन्तिम पल्टको प्रवेशमा दिव्य दाइको दिव्यता प्राप्त गरे संगीतले अनि प्रेमले । ग्रेस सादेम्बा ग्रेस खालिङमा परिवर्तन भइसकेका थिए । दुई पुत्रलाभ भयो । सालिनता, सौम्यता, भद्रपन- सबैको संगम दिव्य दाइ । दिव्य दाइ ज्ञानोदय स्कुलदेखि नेपाल प्रहरीको सांस्कृतिक कार्यक्रमसम्म व्यस्त रहे नेपाल बसाइमा ।
मेरो सानो संसार तिमीलाई अटेन
मेरो चोखो माया तिमीलाई पुगेन
मेरो घाम र जुन तिमीलाई रुचेन
मायाको उजेलोलाई मैले रात भनिन
तिम्ले जति दिन चाह्यौ मैले कम भनिन
तिमी सत्यलाई चाहे गल्ती ठान
दुईटा मन जलाउने म आफैँलाई ठान्छु
टिठाएर दिए जस्तो माया नै चाहिन
तिम्लाई दिनुपर्ने भनी बाचा नै राखिन
तिमी अरूलाई चाहे जे सुनाऊ
मनको व्यथा म आफैँलाई सुनाउँछु
विवाह भएपछि दिव्य दाइको गीत र संगीतमा नारायण गोपालले गाएको यो मार्मिक गीत असान्दर्भिक भयो अब । रोमान्टिक दिव्य दाइ जीवन धान्ने कला पनि सिक्न बाध्य भए । पुतली सडकको एउटा लजमा ‘रातको प्रथम प्रहर’को कलाकार टोली बसेका थिए, त्यहीँ भेट्न आए नारायण गोपाल दिव्य दाइलाई । यो भेट नेपाली सुगम संगीतको निम्ति वरदान सावित भयो, इतिहास साक्षी छ । दिव्य दाइले धेरै गायक-गायिका र गीतकारहरूलाई माथि उठाए तर दिव्य दाइलाई माथि उठाउने कमै भए । उनी पनि आफ्ना काका प्रसिद्ध कवि-लेखक-अनुवादक- शिक्षा सेवक दानियल(दान) खालिङजस्तै जीवनभर नेपालमा अनागरिक भएर बाँचे, नेपाली संगीतमा पूर्ण समर्पणको साथ । दुवैको इहलिला भारतको सिलगडीमा समाप्त भयो । दिव्य दाइले ५४ वर्षमा देहत्याग गरे २५ जुन २००६ मा भने काका दान खालिङले ९१ वर्षमा सन् २०१६ मृत्युवरण गरे ।
दिव्य दाइको संगीतमा दीपक खरेल, अरुण थापा, किरण प्रधान, पेमा लामा, उदय सोताङदेखि मिरा राणा, विमला राई, कुन्ति मोक्तानसम्मले गाए । पछिल्लो पुस्ताका गायिका ऐन्जेला सिंहले उनले संगीत गरेको बाल गीतहरू गाएको संमरण गर्नुहुन्छ । त्यो क्यासेटको विमोचनमा म पनि सहभागी भएको थिएँ ।
मेरो हिमाललाई देखेजति सलाम
मेरो पहाड भेटेजति सलाम
चियाबारीको डिलै डिलमा चिया टिप्ने ठिटीलाई
सल्लेरीको बनै बीचमा दाउरा खोज्ने ठिटालाई
तरुनी र तन्नेरीलाई बुढापाखा सबैलाई
मेरो माया छ है हजुर, म त बाँचेसम्मलाई
दिव्य खालिङको शब्द र संगीतमा पेमा लामाले गाउनुभएको उपरोक्त गीतमा म सधैँ मोहित भएँ । दार्जिलिङको जनजीवनलाई समेटेर लेखेको यो गीत दिव्य दाईको अब्बल श्रेणीको गीतमा पर्छ, माया पिरती भन्दा पर, यथार्थ जीवनको चित्रणसहित ।
पहाडजस्तो बनिदेऊ तिमी
कहिले पनि नझुक्ने
तर सबैको बाटामा पत्थर बनी
ठोक्कर नदेऊ तिमी
हिमालजस्तो बनिदेऊ तिमी
कहिले पनि नलुक्ने
तर सबको आँखामा हिँउ बनी
बिलाईदेऊ तिमी
यो गीत दावा ग्याल्मो दिदीले आकाशवाणी खरसाङमा दिव्य दाइको गीत र संगीतमा गाए पनि पछि यो गीत कुन्ती मोक्तानको स्वरमा रेडियो नेपालमा रेकर्डिङ भयो । यो गीतले कुन्ती मोक्तानलाई थप उँचाई दिएको छ ।
दिव्य दाइलाई समयसमयमा उनका शुभचिन्तकहरू विभिन्न कार्यक्रम गरी सम्झने गर्छन् । उनकी श्रीमती ग्रेस खालिङ र लेखक प्रकाश सायमीको सम्पादनमा दिव्य सङ्गीतकार- दिव्य खालिङ शीर्षकमा स्मृतिग्रन्थ प्रकाशित छ । यस ग्रन्थमा दिव्य दाइसँग उनका जीवनमा विभिन्न चरणमा जोडिएका व्यक्तित्वहरूको लेखहरु समावेश गरिएको छ भने उनले रचेका र संगीत दिएका गीतहरू पनि राखिएको छ । उनका बारेमा यताउति फाट्टफुट्ट लेखहरू समयसमयमा निस्कने गर्छन् । उनको जन्मभूमि र कर्मभूमिमा केही कार्यक्रमहरू गरेर उनलाई सम्झने काम त भइरहन्छ कहिलेकाँहि तर ठोस कार्य भने केहि हुनसकेको छैन । उनको योगदान बारेमा एउटा पुस्तक नै लेखिन सक्छ र लेखिनु पनि पर्छ तर यसको पहल हुन जरुरी छ । भारतमा धेरै गीतकार, संगीतकार र गायकहरूको जीवनी र योगदानलाई मध्यानजर राखेर कैयन् पुस्तक लेखिएका छन् । अरू कुराहरूमा जस्तै यस विषयमा पनि हामीले गम्भिरताका साथ उनीहरूको अनुशरण गर्नुपर्ने आवश्यक छ । दिव्य दाइजस्तै नाती काजी, तारा देवी, अरुणा लामा, बटुकृष्ण, उस्ताद साईँला, अम्बर गुरूङ, गोपाल योञ्जन, शरण प्रधान आदिका बारेमा पुस्तकहरू निकाल्न अनिवार्य छ ताकि आउँदो पुस्ताले हाम्रो गर्विलो संगीत-इतिहास जान्न सकोस् ।
लेखक परिचय
पत्रकार तथा लेखक शरद प्रधानले नेपाली र अंग्रजी दुवै भाषाका पत्रिकाको सम्पादन गरेका छन् । साहित्यका विभिन्न विधामा कलम चलाउने प्रधान रेडियो टुरिजम र एक्सेलट्रिप नेपालसँग आवद्ध छन् ।
बिहानी-बिहान शरद प्रधान सरको लेख पो छ कि भनेर हेर्ने बानी बसेछ। यस्ता शोधपरक, आकर्षक शैलीमा लेखिएको लेख पढ्न पाउँदा शरद सरसितै सोशियल मिडियालाई पनि धन्यवाद भन्न मन लाग्छ। Facebook मा दिक्कलाग्दो आत्मप्रचारको भरमार देख्दा, अनावश्यक प्रदर्शनहरु देख्दा Facebook बाट बाहिरिने विचार पनि नगरेको होइन। तर शरदज्यूको लेख पढ्नलाई बाहिरिन सकेको छुइनँ, सबै कुरा सहेरै बसेको छु। हजुरलाई बधाई।
विजय सरको उत्साहजनक प्रतिक्रियाले मलाई अझे मेहनत गरेर लेख्ने उर्जा मिल्छ। समय र स्रोत भ्याएसम्म अध्ययन गरेरै लेखौ भन्ने मेरो चाहना हो सर। सर हजुरले गरेको कामको अगाडी यो साह्रै सानो काम हो। अगमसींह गिरी, इन्द्रबाहदुर राई, पारिजात, अनि अब अच्छा राई ससिकको सम्पुर्ण कृतिहरुलाई पाठक सामु ल्याउने भीमकाय कार्य गर्नु भयो यस्को प्रशंसा जति गरे पनि कम हुन्छ। सरले लेखक र कविहरुको सम्पुर्ण कृतिहरु निका्ल्ने काम गर्नु भयो यसले अरुलाई पनि प्रेरणा लिइरहेको छ। इन्द्रबाहदुर सर पढ्न पाएको छैन, रसिकको पढ्न आतुर छु सर।
rajendra thapa
बिचित्रे दिव्यको यो शब्द चित्र बहुत गहन छ । मेरो सामु सशरिर आइपुग्यो सोम दिब्य । हामी पनि सोम भन्थ्यौं । बिचबिचमा सैनिक दर्जाले करसाप पनि ठोक्थ्यो । म तिमी भन्थें । उ भने तिमी नभनिकन पांडेबोलीमा करसापको सोमले आदी ।
केही प्रश्न : 1) नारायण & दिब्यको पहिलो गीत कुन र कहिले ? किनभने मलाई लाग्छ क्षेत्रप्रतापलाई गीतकारमा परिचय दिने उहांको पहिलो गीत म त लाली गुराँस भएछु । यो रेडियोमा हो क्यार । शायद रत्न रेकर्डिङ को एलबममा मात्र पछी समाबेस हो कि ? कृपया prakash sayami मा ध्यानाकर्षण ।
2) दिब्य र मेरो तथा दिपसङ्गको अबिरल बग्छ इन्द्रावती शिर्ष गीत दिब्य समेतको एक माइल स्टोन हो । यसलाई पनि समाबेश गरिनु पर्ला ।
3) दार्जिलिङका सबैका सङ्गीत कखगसिकाउने गुरु अम्बर गुरुङ भन्ने फेैसन भएकोले हिमालय होटलको दिव्य विषयक संस्मरण मा पनि दिब्यको सङ्गीत गुरु अम्बर भनिएको थियो तर दिव्य जिबित हुंदा नै मसङ्ग कुरा हुंदा स्कुलमा 2/3 क्लास पढ्दा उक्त स्कुलका music teacher अम्बर दाइ थिए ।तेस उमेरमा सङ्गीत के सिकिए होलान् । तर यता हल्ला चलाइन्छ दिब्यको सङ्गीत गुरु अम्बर भनेर । यहाँ तक कि अम्बर को क्लबमा जांदा गोपाल, अरुणा, शरण, कर्म ाआदी सबै स्थापित भइसकेकैले क्लबमा परफर्म गर्न गएको हो । त्यहां सङ्गित कक्षा सिक्न होइन भन्थ्यो दिब्य ।गुरु र सहकर्मी फरक हुन्छ । आदी
दिव्य खालिङलाई गीतकारको रुपमा लेखिएकोले प्रसङ्गमा आए बाहेक अरु गीतकारहरुको नाम लिएको छैन सर।
लामो प्रतिक्रियाको निम्ति धन्यवाद सर। नारायण गोपाल र दिव्य खालिङले रत्न रेकडिगमा ६ वटा गीत रेकड गरेको प्रसंग रत्नका तत्कालिन महाप्रबन्धक गणेश रसिकले लेखेको एउटा लेखमा पढेको थिए र सायद त्यहि होला जस्तो लाग्छ। प्रकाश सायमी सरले यसबारेमा प्रकाश पारे भर पर्दो हुनेछ। दिव्य दाई १५ वर्षको हुँदा अम्बर सर नेपाल पसिसक्नु भएको थियो। पिटर कार्थक दाईलाई चाँहि ईश्वर वल्लभ र अम्बर सरले ट्रनबुल स्कुलमा पढाए जानकारी दिनु हन्थियो।
असाध्य राम्रो सोधपूर्ण लेख। धन्यवाद छ हजुर लाई।
धन्यवाद सर। म उत्साहित भए
दिव्य साँच्चिकै दिव्य थिए।र रहनेछन्।