ईश्वरवल्लभ ईश्वरवल्लभ ईश्वरवल्लभ ईश्वरवल्लभ
मिति : २०३५।९।९।१
श्रेष्ठ लज, दार्जीलिङ ।
हिजो यहाँ आइपुगिसकेपछि साहित्यकारहरूलाई भेट्ने क्रममा पहिलो नम्बरमा हुनुहुन्थ्यो वरिष्ठ कवि ईश्वरवल्लभ किनभने मलाई कविताहरू असाध्य मन पर्थे ।मन पर्थे मात्र होइन, प्रभावितसम्म पार्थे भित्रसम्म छन्थे र गहिरिएर रहिरहन्थे ।मलाई उहाँका कथाहरू पनि मन पर्थे । २०३२ -०३४मा स्नातक पढ्दा स्व. भैरव अर्यालद्वारा सम्पादित र र साझा प्रकाशनबाट प्रकाशित साझा कथा पढिएको थियो । त्यस पुस्तकमा ईश्वरवल्लभद्वारा रचित “आरुको फूल” शीर्षक कथा पनि सङ्ग्रहीत थियो र त्यो पढ्दा बेग्लै खालको अनुभूति गरेको थिएँ ।
आगोका फूलहरू हुन् आगोका होइनन् कविता पुस्तकको लागि उहाँले २०२९ सालको मदन पुरस्कार प्राप्त गरिसक्नुभएको थियो । २६ वटा कविता सङ्ग्रहीत उक्त पुस्तकमा ‘मेरी आमाले आत्माहत्या गरेको देश’ कविता पढेपछि म रन्थनिएको थिएँ । र, बेलाबेलामा ठूलो ठूलो स्वरले पढ्थे ।एकदिन म आफ्नै सुरमा एकोहोरिएर पढी रहेको थिएँ, बुवाले सुन्नुभएछ र चाल, मारेर मेरो कोठामा आउनुभयो र मलाई सोध्नुभयो- “कसको कविता हो त्यस्तो ठूलो स्वरले पढेको ?”, मैले भएको कुरा बताएँ । बुवा पनि कविता लेख्ने मान्छे
र कविता मन पराउने मान्छे । त्यसैले धेरै कुरा थाहा रहेछ । सुनाउनुभयो- “पण्डित मुरलीधर भट्टराई भन्ने एक
असल व्यक्ति थिए । उनी पुराण भन्ने बहानाले ठाउँ ठाउँमा प्रवचन दिन्थे धेरैले उनलाई सम्मान दिन्थे । तर राणाहरूलाई मन परेनछ र झ्यालखानामा हाले त्यसपछि उनका परिवारलाई धेरै दुःख, कष्टहरू हुन थाल्यो । सहँदा सहँदा सहनै नसक्ने भएपछि उनकी पत्नीले आत्महत्या गरिछिन् । उनकै जेठा छोरा हुन् ईश्वरवल्लभ । कवि भएपछि आफ्नै आमालाई सम्झिएर आफ्नो पीडा अभिव्यक्त गरेछन् …! ल ल अब अलि बिस्तारै पढ ।” भन्दै बुवा जानुभयो । यो घटना म कहिले पनि बिर्सन्न ।
यस्तै कुराहरू सम्झिँदै ‘तेस्रो आयाम’ का त्रिमूर्तिमध्ये एक उहाँलाई सर्वप्रथम भेट्ने सोचाइले हिजो दार्जीलिङ बजारमा सोध्दै सोध्दै जाँदा श्रीमती वल्लभलाई सोध्न पुगेछौँ । उहाँ त हाँस्नुभयो । हामी अलमलमा पर्यौँ । उहाँले यसो बेन्चतिर देखाइदिनुभयो, हेर्यौँ । नमस्कार गर्यौँ । औपचारिक परिचय भयो । उहाँलाई दिन भनी
काठमाडौँबाट एउटा मित्रले चिठी दिएको थियो, दियौँ । भलाकुसारी भयो । नेपाली साहित्यिक गतिविधिबारे सोधे- अलिकति बताएँ । उनीसँग साहित्यिक कुराहरू पनि गर्नु छ भनेर समय मागेँ, उनल भोलिको लागि समय दिए । चिया पिलाए । पियौँ । र भोलि आउने भन्दै बिदा भएका थियौँ ।
त्यसैले दिएको समयमा आज साँझपख उहाँकोमा गयौँ ।
हिजो भेटेकै ठाउँ, नगरपालिका बजार व्यवस्थापन भवनमा नै उहाँको बसाइ रहेछ । आफ्नै ‘यति रेस्टुरा’ रहेछ । त्यहीँ बस्यौँ । उहाँ आगो ताप्दै हुनुहुन्थ्यो । हिजै भन्नुभएको थियो “जाडो मौसममा आउनुभएछ, यहाँ असाध्य जाडो हुन्छ, ख्याल गर्नू है ।”
साहित्यिक कुराहरू हुँदै गए । मैले जाने-बुझेसम्मका कुराहरू भन्दै गएँ । उहाँले काठमाडौँमा हुँदा र दार्जीलिङ आएपछिका आफ्ना भोगाइहरू, अनुभवहरू, अनुभूतिहरू सुनाउनुभयो । बेला बेलामा चिया आई नै रह्यो । मैले आफ्नो दोस्रो कविता सङ्ग्रह पग्लेका लाभाहरू ल्याएको थिएँ, दिएँ । उहाँले ओल्टाइपल्टाइ हेर्नुभयो र फेरि भन्नुभयो “मैले यो पुस्तकको समीक्षा रूपरेखामा पढेको थिएँ र तपाईँका रचनाहरू पनि विभिन्न पत्रपत्रिकामा पढेको छु, राम्रो लाग्छ ।” मलाई के चाहियो, औधी खुसी भएँ ।
मैले भनेँ- “दाइ, काठमाडौँबाट प्रकाशित हुने ‘स्वतन्त्रता’ साहित्यिक मासिकको लागि सक्षिप्त अन्तर्वार्ता लिन चाहेको थिएँ, के गरूँ ?” उहाँले भन्नुभयो- “हुन्छ, सोध्नुहोस् न ।” त्यसपछि मैले अर्को कापीमा अन्तर्वार्ता लिएँ । त्यो ‘स्वतन्त्रता’ मा पूरा प्रकाशित हुनेछ । तथापि आफ्नो सम्झनाको लागि केही प्रश्नोत्तर यस डायरीमा टिप्न चाहेँ र सार्दैछु –
प्रश्न : दाजुले कहिलेदेखि लेख्न थाल्नुभएको र साहित्यमा कुन प्रेरणाबाट उत्प्रेरित हुनुभएको ?
उत्तर: विशेष व्यक्ति अथवा वाद आदिको प्रेरणा मलाई याद छैन । तीन दशक भयो लेख्न थालेको । तारिख याद भएन । मेरो जन्म १९९३ साल हो
प्रश्न : तपाईँ किन र कसको निम्ति लेख्नुहुन्छ ?
उत्तर : रचना रचनाकै निम्ति सम्भवत लेख्नुपर्छ होला । यसोभन्दा युरोपेली आर्टस् फर आर्ट से कको सिद्धान्तसँग कति समालोचक, कति पाठकले मिलाउन प्रयत्न गरेका छन् । त्यो कला कलाको लागि भन्ने आन्दोलन र त्यस अन्तर्गत उत्पन्न भएका उत्कृष्ट रचनाकार, कलाकार र रचनाहरूप्रति मेरो कुनै विरोध वा अवज्ञा छैन । तथापि रचना रचनाको निम्ति भन्दा त्यही नै स्वर बज्न खोज्छ र मैले फेरि यौटा प्रश्न राख्नुपर्छ- “त्यो फूल केको लागि फुलेको ?” यसरी श्री ईश्वरवल्लभ यहाँ छेउ पुनः मप्रति नै प्रश्न तेर्त्याउनुहुन्छ । तब म त्यस प्रश्नको उत्तर सँगसँगै जिज्ञासा राख्दै भन्छ- “फूल नष्ट हुनको लागि होइन र ?” अनि फेरि उहाँ भन्नुहुन्छ- हो फूलको पुष्पत्व आकारमा नष्ट हुन्छ तर त्यसको जैविक सातत्व अनादि कालदेखि नै यथावत चली आइरहेको छ, चलिरहेको छ।
प्रश्न : तेस्रो आयाम र त्यसका प्रवर्तक तीन प्रतिभाबारे आजको आँखाले तपाईँ के हेर्दै र के सोच्दै हुनुहुन्छ ?
उत्तर : आज यति लामो यात्रापछि हामी तीन जनामा (म, श्री इन्द्रबहादुर राई र श्री बैरागी काइँला) वैचारिक भिन्नताको यौटा विषद समस्या आएको छ। श्री इन्द्र बहादुर राईले मेरो सम्बन्धमा यौटा किताब (सन्दर्भमा ईश्वरवल्लभका कविता) लेख्नुभएको छ । त्यसमा उहाँले आफ्नो विज्ञ व्यक्तिगत दृष्टिकोणमा मेरो रचनालाई जसरी देख्नुभएको छ, त्यो मलाई अनुभव हुन्छ, मेरो विचारमा मिलेको छैन । बैरागी काइँलाका रचनाहरू पहिला नै यदाकदा पढेको हुँ । उहाँको आफ्नै भिन्न स्थापना छ, सायद स्वाभाविक पनि हो । तर पाठकलाई यसले अलिकति मात्र होइन धेरै काठिन्य अनुभव गराएको छ । अहिलेलाई आयामेली आन्दोलनको आन्दोलन यात्रामासँगै भएका हामीहरूको एकात्म्य नै विशेष मानेर उहाँहरूले (पाठकहरूले) हाम्रा अन्य रचनाहरूलाई स्पष्टताको निम्ति निश्चय नै पर्खनुपर्ने छ । आन्दोलनलाई टुङ्ग्याएर एक दशक भन्दा पनि ज्यादा समयमा बाँधी राख्ने पक्षमा म छैन । यस सन्दर्भमा मेरा साथीहरूको विचार के छ, मैले बुझेको छैन ।
प्रश्न: नेपाली साहित्यमा समालोचना र समालोचकको स्थितिबारे तपाईँको के सोचाइ छ?
उत्तर : शास्त्रीय समालोचना पद्धतिले नेपाली साहित्यलाई हेर्न खोजेको छ । तर आधुनिक साहित्यलाई पनि के तिनै पद्धतिले जाँच्न सक्छ र ? भन्ने मेरो प्रश्न छ । आधुनिक साहित्य तथा रचनालाई हेर्ने, समालोचित गर्ने पद्धति खोइ कल्ले निकालेका छन् र ?
प्रश्न : नेपाली साहित्यमा दार्जीलिङ र नेपाल?
उत्तर: श्री बालकृष्ण समले अढाइ, तीन दशक पहिले दार्जीलिङमा आएर ‘आज दार्जीलिङले जे सोच्छ, भोलि नेपालले त्यही सोच्छ’ भनेर जानुभएको रहेछ । तर अहिले मलाई त्यो वाक्य अझै यस सन्दर्भमा बाँचिरहेको जस्तो लाग्दैन । नेपाल आफ्नो राष्ट्रिय मूलधार समाएर साहित्यमा जुन सशक्तता लिएर अघि बढिरहेछ त्यसै समान्तरमा दार्जीलिङ बढेको छैन ।
प्रश्न: कतै जाँदा आउँदा केही सन्देश, कोसेली या समाचार यस्तै केही लगिदिने र खोजिइने पनि हामी नेपालीको चलन छ । तसर्थ दाजु हाल यहाँ दार्जीलिङमा हुनुभएको हुँदा साहित्यकारको हैसियतले दाजुको के सन्देश लगिदिऊँ ?
उत्तर: नेपाल सम्झिरहन्छु । यसरी अन्तर्वार्ता सकिएपछि ‘एकछिन है’ भन्दै उहाँ माथिको तलामा जानुभयो र छिट्टै नै फर्केर आउँदै उहाँले नै लेखेको कविता सङ्ग्रह एउटा सहरको किनारामा र इन्द्रबहादुर राईले लेखेको सन्दर्भमा ईश्वरवल्लभका कविता भन्ने दुई पुस्तक ‘प्रिय भाइ कणाद महर्षिमा सप्रेम’ लेखेर दिनुभयो । फेरि चिया खुवाउनुभयो, खायौँ । र ईश्वरवल्लभ दाजु र कमला भाउजू (उहाँकी पत्नी)सँग बिदावारी भई फर्कियौँ ।
लेखक परिचय
चाबहिल, काठमाडौँका कणाद महर्षि नेपाली साहित्याकाशमा बहुचर्चित व्यक्तित्व हुन् । प्रकाशनका हिसाबले प्रेमा पत्रिकाको वि.स.२०३० जेष्ठ अंकमा प्रकाशित 'लामो नशाको प्याला' शिर्षकको कविता उनको प्रथम कृति भएतापनि वि.स.२०२२/२३ ताका नै 'खै हाम्रो दौरा सुरूवाल' शीर्षकको पहिलो कविता उनले लेखिसकेका थिए । गुफा (२०३१), पग्लेका लाभाहरु (२०३४), भतेर र अाँखाहरू (२०५०), घाउमा हरिभक्त कटुवाल (२०५८) र दृष्टिको यात्रा (संवाद काव्य, २०७२) उनका प्रकाशित काव्य कृति हुन् भने उनको एक कथासङ्ग्रह कणादका कथाहरू (२०७१) पनि प्रकाशित छ । लोकेन्द्र साहित्य पुरस्कार (२०५४), दीर्घ सेवा पदक( रा. वा. बैंक, २०५५), गरिमा सम्मान पुरस्कार (२०६६), अभिनव कदर-पत्र (२०६७), रमेश विकल सृजना पुरस्कार (२०७१), सुलेख आख्यान प्रतिभा पुरस्कार (२०७०), बासु शशी स्मृति पुरस्कार (२०७१), अविरल जन साहित्य यात्रा सम्मान-पत्र (२०७२), साहित्य सन्ध्या पुरस्कार (२०७२), रजत जयन्ती सम्मान-पत्र (२०७५), प्रवल जनसेवा श्री-चतुर्थ(२०७५) जस्ता सम्मान र पुरस्कारबाट विभूषित साहित्यकार महर्षि हाल राष्ट्रिय वाणिज्य बैंकबाट सेवा निवृत्त जीवन बिताइरहेका छन् ।
भिनाजु हजुरको यो लेख पढेपछी वरिष्ठ कबि इश्वर बल्लभलाई अझ बढी चिन्न मन लाग्यो । वहाको ‘मेरी आमाले आत्माहत्या गरेको देश’ कविता कहाँ पाउन सक्छु होला ।