भारतीय नेपाली साहित्यमा दार्जिलिङको योगदान अतुलनीय छ, यो सत्यलाई कसैले पनि नकार्न सक्दैन । भाषा आन्दोलन होस् वा जाति आन्दोलन वा साहित्यिक आन्दोलन सधैँ अग्रणी भूमिका खेले दार्जिलिङले भारतीय-नेपाली वृतमा । १०० वर्षभन्दा पुरानो साहित्यको इतिहास बोकेको दार्जिलिङले सम्पूर्ण भारतीय नेपालीलाई वैचारिक आन्दोलनमा घचघचाइरहे । वि.सं. २००७ भन्दाअघि बनारस र कलकत्ता नेपालको राजनैतिक र केही हदसम्म साहित्यको पनि गढको रूपमा खडा भएको थियो । तर प्रजातन्त्रपछि यी स्थानहरूको महत्व कम हुँदै गयो । तर साहित्यले गति लिए दार्जिलिङमा । सन् साठी र सत्तरीको दशकमा दार्जिलिङमा साहित्यको जति काम भयो सायद त्यति काम अरू कुनै समयमा हुन सकेन । सन् असीपछि दार्जिलिङमा आएको राजनैतिक विचलन र त्यसको प्रभावले सिङ्गै समाजलाई असर पारे, साहित्य त झनै नहुने कुरै थिएन । तर सन् साठी र सत्तरीको दशकमा मौलाएको साहित्यले अहिलेसम्म धानिरहेको छ दार्जिलिङको गौरवमय साहित्यिक इतिहास । त्यही इतिहासको एउटा कडीको रूपमा स्थापित थिए- रामलाल अधिकारी । अधिकांश किराँतीहरूको बाहुल्य भएको दार्जिलिङमा अग्लो, गोरो र फुर्तिलो सधैँ नेपाली टोपीमा देखिने रामलाल सर टाढाबाट अलग्गै चिनिने व्यक्तित्व थिए ।
रामलाल अधिकारी कुनै समय दार्जिलिङको हरेक साहित्यिक कार्यक्रम अनिवार्य रूपमा देखिने मुहार थिए जस्को ओजस्वी बोलीले सबैलाई मोहित पार्थे । रामलाल सरको रसिलो उपन्यास खुबै चर्चामा थियो कुनै समय, बुझ्न धेरै बल गर्ने नपर्ने तर सन्देशमूलक । थमिनी कान्छी – कथा सङ्ग्रह (सन्. १९७६ ) र फेरि गुँडतिरै – उपन्यास (सन् १९७७) ले नेपाली आख्यानमा मौलिकता ल्याएको थियो । त्यस बखत हामी जस्ता युवाहरूले निकै रुचाएको उपन्यास र कथा सङ्ग्रह हो त्यो । तर रामलाल सरलाई कुनै एक विधामा सीमित गर्नु उनको बहुप्रतिभाशाली व्यक्तित्वको अवमुल्यन गर्नु हो । प्राय साहित्यको सबै विधामा आफ्नो दक्षता देखाए पनि उनको लेखन क्षमता भने निबन्धमा पूर्ण रूपले प्रस्फुरित भएको पाँउछौ । साहित्यमा उनको प्रवेश कविताबाट भए पनि निबन्धबाट नै खारिएर आए । सन् १९६२ मा प्रकाशित भएको भोकाएको कुकुर के भन्छ? निबन्ध सङ्ग्रह कृतिको रूपमा उनको पहिलो कृति हो । रामलाल सर निबन्ध लेखनमा प्रवेश गर्दा दार्जिलिङमा निबन्ध लेख्ने थोरै थिए । पारसमणि प्रधान, जगत छेत्री, राजनारायण प्रधान, कुमार प्रधान, इन्द्रबहादुर राई, फटिकधर ब्राहमण, गणेशलाल सुब्बा, गुमानसिंह चाम्लिङ, लक्खीदेवी सुन्दास, तिलक राई, नारद छेत्री, प्रकाश कोविद, बद्रीनारायण प्रधान, महानन्द पौड्याल, एम.एम. गुरुङ, निलम प्रधान, भाईचन्द प्रधान आदिले निबन्ध विधालाई उर्वर बनाइरहेका थिए । तर सबैको लेखन शैली र विषय वस्तुमा कुनै समानता थिएन । नेपालमा भने शंकर लामिछानेले निबन्ध लेखनमा व्यापक नवीनता ल्याउँदै थिए । कृष्णचन्द्रसिंह प्रधान, यदुनाथ खनाल, भैरव अर्याल, कमल दिक्षित, ह्रदयचन्द्रसिंह प्रधान, गोविन्द भट्ट, तारानाथ शर्मा, आनन्ददेव भट्ट, चूडामणि रेग्मी, वल्लभमणि दाहाल, बालकृष्ण पोखरेल लक्ष्मीप्रसाद देवकोटा आदिले सुरु गरेको मौलिक निबन्ध लेखनको लहरा समाउँदै अगाडि बढिरहेको थिए । यही समयमा रामलाल अधिकारीको प्रवेश हुन्छ निबन्ध लेखनमा नयाँ शैली र स्वरूप लिएर । रामलाल सरको पहिलो रचना सन् १९५९ मा बनारसबाट प्रकाशित हुने दीपकमा “लेडेनला रोडनिरै“ शीर्षकको व्यंग्यात्मक कविता थियो ।
रामलाल सरको निबन्ध सरल भए पनि निबन्धको रुढीवादी परम्पराबाट निकै पृथक थियो । निजात्मक शैलीमा लेखेको निबन्धहरू जस्तै; “सामान्य एक पिरियडः आफ्नै कलेजमा“, “देख्लास् बाबुको बिहे“, “बब मार्ले र मेरी छोरी” लाई लिन सक्छौँ । उनको निबन्धको विशेषताबारे जस योञ्जन ‘प्यासी’ लेख्छन्, “उनले आफ्ना निबन्धका विषयवस्तु आफैँले अनुभव गरेका तथा भोगेको घटना स्थितिहरूबाट टिपेका छन् । उनले आफ्नो निबन्धहरूमा आफ्नै चित्र इमान्दारीपूर्वक उतारेका छन् । यही नै अर्थात् वैयक्तिकता प्रस्तुति नै निबन्ध लेखनमा आवश्यक धर्म हुने हुनाले निबन्धकार अधिकारीले आफ्ना निबन्धहरूमा सो धर्मधारण गरेका छन् अनि पाठकलाई नढाँटीकन, पत्यारिलो पाराले आफ्नो व्यक्तित्वको चिनारी गराउँदै ‘अहं’ को सहज उच्चारण गरेका हुनाले त्यही नैबन्धिक वैशिष्ठ्यसमेत समुचित ढङ्गले प्रतिफलित भएको देखिन्छ ।”
रामलाल अधिकारी निबन्धमा एकदमै स्पष्टवादी, आत्म स्वीकृति गर्न सक्ने क्षमता भएका थिए । “मैले खैनी खान छाडेँ“ निबन्धमा उनी लेख्छन्, “मैले पनि खैनी च्यापेँ । श्रेणीमा थुकेँ । खैनीको खोस्टा कागजमा बाँधी झुल्दै गरेको गुरुका गोजीमा हालिदिएँ, साथीहरू हँसाएँ । खैनीमा फोहोर चीज मिसाई अरू साथीहरूलाई दिएँ, खाएँ, आफैँ हाँसेँ । श्रेणीमा पिसाब गर्ने छुट्टी माग्दै टट्टीमा गएर खैनी माडी खाएँ । त यी सबका बदला मैले पछि एकमात्र फल पाएँ ‘चरित्र पतन’ जुन चरित्र अब छिपाइसकेपछि अङ्गारलाई सयपल्ट धोई सेतो पार्ने प्रयास गरे झैँ भइसकेको थियो ।” सरको लेखाइको बलियो पक्ष भने आफ्नो भनाइलाई तर्कको साथसाथै उद्धरण, आह्वान, उक्ति, वागधाराले पुष्टि गर्ने । समाजमा प्रचलित मान्यता वा भनाइलाई उनी तर्क सहित खण्डन गर्न खप्पिस थिए । जस्तै बाहुनलाई काठो, काट्टो खाएर भनिएको होइन कठशाखा पढ्ने बाहुनलाई काठो भनिएको भनी तर्क दिएको छ “नेपाली संस्कृतिको एक सुर्के पाटोः ब्राह्माण समाज” मा । “तर्क वितर्कका घेराभित्र तार्किक नगेन्द्र शर्मा” शीर्षकमा उनले नगेन्द्र शर्माले नेपालीले देवनागरी लिपिको साटो रंजना लिपि (नेपाल वा नेवारी भाषामा लेखिने लिपि) चलाए नेपाली भाषाको मौलिकता रहने साथै हिन्दी भाषाको ओझेलमा नपर्ने तर्कलाई सुन्दर तरिकाले समर्थन गरेका छन् । नगेन्द्र शर्मा एउटा पुस्तक रंजना लिपिमा लेखेर प्रकाशित पनि गरेका छन् ।
रामलाल सर कलेज पढ्दा थरमा शर्मा लेख्थे रे । एक दिन गुमानसिंह चाम्लिङले ‘शर्मा त सबैले प्रयोग गर्ने थर हो, अधिकारी राख न ।’ भनेछन्, त्यसपछि उनलाई सबैले रामलाल अधिकारी भनेर चिने साहित्य क्षेत्रमा ।
साहित्य अकादमीले रामलाल सरको मूल्याङ्कन गर्न ढिलो भयो भनेर संजय बिष्टले सन् २००० मा उनले त्यो पुरस्कार पाउनु केही महिना अगाडि एउटा लेख सुनचरीमा छापिएको थियो । हुन पनि कुनै समय निबन्ध विधामा उनलाई लक्ष्मीप्रसाद देवकोटाको उत्तराधिकारी भनेर चिनिएको रामलाल यसरी किनाराकृत हुनु आफैँमा दुःख लाग्दो कुरा थियो । तर त्यही वर्ष रामलाल सरले पाउनु भयो । कुमार प्रधान र राजनारायण प्रधान जस्ता मूर्धन्य लेखकहरू यो पुरस्कारबाट वञ्चित भए ।
तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानले तारानाथ शर्माको सम्पादनमा पच्चीस वर्षको नेपाली निबन्ध प्रकाशित गरे । उक्त पुस्तकको भूमिकामा तारानाथ सरले रामलाल अधिकारी सरको निबन्धकारितामाथि प्रकाश पार्दै लेख्छन्, “उनको अलौटा र ठेट्नाभित्रका निबन्धहरूले नेपाली निबन्ध विधाकै उज्ज्वल भविष्यको सङ्केत गरेका छन् । मुटु चुँडाउने खाल्का अभिव्यक्तिहरूद्वारा सरल र सलसलाउँदा वाक्यहरू गठन गरी अधिकारीको कलमले निबन्धात्मक चमत्कारिता सिर्जेको हुन्छ ।” रामलाल अधिकारीले कमल दिक्षितजस्ता सिद्धहस्त निबन्धकारको कृति उखान मिलेनमा भूमिका लेख्ने अवसर पनि पाएका थिए र त्यही भूमिकालाई दिक्षितले सबभन्दा रसिलो सबै भन्दा राम्रो निबन्ध मानेको छन् । उनको प्रथम निबन्ध सङ्ग्रह भोकाएको कुकुर के भन्छ?को भूमिकामा वरिष्ठ लेखक भानुभक्त कुमाईले लक्ष्मीप्रसाद देवकोटा र हृदयचन्द्रसिंह प्रधानको रिक्त स्थान रामलाल अधिकारीले निकट भविष्यमा अवश्य ओगट्ने छन् भनेर घोषणा गरेका थिए ।
निबन्धकार रामलाल अधिकारीका निबन्धगत वैशिष्ट्यको रेखाङ्कन लेखमा डा. जस योञ्जन ‘प्यासी’ लेख्छन्, “निसंस्मरण (निबन्ध र संस्मरणात्मक निबन्ध) कृतिका लागि भारतीय साहित्यका सर्वोच्च संस्था साहित्य अकादमीले पुरस्कृत गरेपछि त झन् रामलाल अधिकारीलाई निबन्धकारकै रूप-रङ्गमा छर्लङ्ग देख्ने गरी छाप-मोहर लगाइदिएको छ । यद्यपि “भैरवको भूत” (सन् २००१) निबन्धको अध्ययनबाट उनी अझै नेपाली निबन्धमा नयाँ परिपाटी ल्याउनमा प्रयासरत देखिन्छन् । संस्मरणात्मक भ्रमण-वृतान्त, जीवनीपरक लेख र पञ्चतन्त्रीय नीतिकथालाई निबन्धको रसमा भिजाएर पाठकलाई एक तीनको नयाँ स्वाद चखाउने अधिकारी अझै आफ्नो लेखनीको अधिकार-क्षेत्र निबन्धलाई उर्वरा मात्र होइन फराकिलो पार्न कार्यमा उद्यत र उद्यमशील देखिन्छन् “भैरवको भूत“ शीर्षक निबन्धमा । उसैगरी “मैतेकी आमाको कैरन“, विशुद्ध तथ्यप्रधान सत्य घटनामा आधारित कथालाई पाठकवर्गले थाहै नपाउने गरी निबन्धको खाका (फ्रेम) मा हाली निबन्धात्मक रूप दिएका छन् ।”
रामलाल सरको निबन्धकारिताको विशेषता भनेको विषयवस्तुलाई आफ्नै तरिकाले व्याख्या गर्नु हो । यसको असल उदाहरण हो उनको निबन्ध- “मेरो सिद्धान्तविहीन सिद्धान्त” । यो निबन्ध वि.सं.२०३३-मा प्रकाशित अलौटा र ठेट्नामा सङ्ग्रहित छ । उनी लेख्छन्, “त्यसैले म त भन्छु सिद्धान्तको र बाल विवाहको समस्यामा कति पनि फरक छैन । सिद्धान्त लिएर मानिलियौँ, हामी दार्जिलिङबाट कलकत्ता तीस घण्टाभित्रैमा पुग्न सकौँला अरे तर सिलगढी पुग्दा अलि पर जलपाइगढीमा आदिकवि भानुभक्त आचार्य पुनः अवतार लिएर आई रेलवे स्टेसनमा बसेका छन् अरे भन्ने सुने कुन हुस्सू नेपाली साहित्यप्रेमी होला उनको दर्शन गर्न छोडी कलकत्तै ताक्ने । मैले जब कुनै समस्याको समाधान गर्नुपर्छ म सिद्धान्तविहीन विवेकले मात्र त्यसो गर्ने चेष्टा गर्छु । मैले जब केही सोच्नुपर्छ, एउटा स्वतन्त्र मानव झैँ उन्मुक्त भएर सोच्ने र आफ्नो निर्णय दिने गर्छु । संसार नै परिवर्तनशील छ भने मेरो बुद्धि र चेतना पनि त परिवर्तनशील नै होला। आज मेरो विवेक शक्ति र बुद्धिको जति तागत र उमेर छ, त्यसैमा निर्भर भएर म सोच्छु । भोलिको समस्याबारे सोच्नु भोलि बुद्धिलाई जिम्मा लगाइदिन्छु । यसर्थ नै मानवीय असम्पूर्ण विवेक र मेरो अपरिपक्व बुद्धिलाई आजैदेखि म सिद्धान्तको कमारो बनाएर राख्दिनँ । यही मेरो सिद्धान्त हो । मान्छे भएर जन्मेपछि मान्छेसँग सिङ नजोडी शान्तिपूर्वक बाँच्नु र बाँच्न दिनुछ भने सिद्धान्तविहीन भई बाँच्न सक्नुपर्छ- यस्तै छ मेरो सिद्धान्तविहीन सिद्धान्त ।” यो निबन्ध प्रज्ञा निबन्ध सङ्ग्रहमा पनि समावेश छ ।
रामलाल सरको जन्म वि.सं. २००३ साल असोज २८ गते भारतको दार्जिलिङमा भएको लेखिएता पनि कतिले नेपालको इलाममा जन्मेको लेखेका छन् । उनले दार्जिलिङको तकभर चियाबारीस्थित बेटेन जुनियर हाइस्कुलमा ८ कक्षासम्म पढे अनि त्यसपछि दार्जिलिङको सन्त रोबर्टस् उच्च विद्यालयमा भर्ना भई त्यही विद्यालयबाट १० कक्षा उत्तीर्ण गरे । उनले दार्जिलिङ गभरमेन्ट कलेजबाट बी.ए र त्रिभुवन विश्वविद्यालयबाट एम.ए उत्तीर्ण गरी दार्जिलिङको रामकृष्ण बीटी कलेजबाट बी.टी परीक्षा उत्तीर्ण गरेका थिए । केही समय सन्त रोबर्टस् उच्च विद्यालयमा शिक्षक भई काम गरेपछि सिलिगुढीस्थित कृष्णमाया स्मारक उच्च विद्यालयमा नेपाली पढाए । त्यहाँ बस्दा उनको सक्रियतामा उनले सिलिगुढीमा रहेको देवकोटा सङ्घ नामक संस्थाको मुखपत्रका रूपमा साहित्यिक पत्रिका बाडुलीको सम्पादक भई प्रकाशन सुरु गरेका थिए । रामलाल वि.सं. २०२९ सालमा सिलिगुढीबाट दार्जिलिङ फर्केर दार्जिलिङ गभरमेन्ट कलेजमा प्रध्यापकका रूपमा नियुक्त भए । त्यसपछि वि.सं. २०३१ सालदेखि उनले नेपाली साहित्य सम्मेलनको मुखपत्र दियालोको सम्पादक मण्डलमा रही काम गरे अनि उनको सम्पादनकालमा दियालोमा सूर्यविक्रम ज्ञवाली विशेषाङ्क, रामकृष्ण शर्मा विशेषाङ्क, विश्वेश्वरप्रसाद कोइराला विशेषाङ्क आदि विशेषाङ्क प्रकाशित गरी भाषा र साहित्यमा ठूलो टेवा दिएका थिए । उनले दियालोको हाँगो ८०-१२५, १३१-१३३, १३५-१३८ सम्पादन गरेका थिए । २९ मार्च २००१का दिन सम्मेलनको ‘सुधपा’ सभागृहमा साहित्य अकादमी दिल्लीको संयुक्त आयोजनामा आँखी झ्याल कार्यक्रम रामलाल अधिकारीको अध्यक्षतामा सम्पन्न भयो । कार्यक्रमको उद्धेश्य शिवकुमार राईका विविध पक्षमाथि मूल्यांकन गर्नु थियो । यस अवसरमा रामलाल अधिकारीले कथाकार राईको कथाकारितामाथि आफ्ना विचारहरू राखेका थिए ।
रामलाल सर दार्जिलिङको नेपाली साहित्य सम्मेलनमा मूलसचिव( सन् १९९६-१९९८) बनेर धेरै काम गरे अनि नेपाली साहित्यका स्रष्टाहरूलाई नेपाली साहित्य सम्मेलन पुरस्कार प्रदान गर्ने श्रीगणेश पनि गरे ।
रामलाल अधिकारी पत्रिका सम्पादनबाहेक अरू पुस्तक सम्पादनमा पनि पोख्त थिए । धेरैले भुलिसकेका अच्छा राई ‘रसिक’का निबन्धहरू संकलन र सम्पादन गरी रसिक रचनावली निकालेका थिए । भारतीय नेपाली कथा यात्रा (सन् १९८८), नेपाली एकाङ्की यात्रा (सन् १९७८), नेपाली रचनावली (सन् १९८० ), नेपाल निबन्ध यात्रा (सन् १९७५), केही नेपाली कविता (सन् १९६५) आदि उनले सम्पादन गरेको प्रमुख कृतिहरू हुन् । उनका प्रमुख कृतिहरूमा रवि – सप्तमी ( निबन्ध-सन् १९७०), अलौटा र ठेट्ना (निबन्ध-सन्. १९७६), विदित-अविदित (निबन्ध-सन् १९९८), भैरवको भूत (निबन्ध-सन् २००१), आफैँ जन्मिनेहरू (कथा सङ्ग्रह-सन् १९६८), थमिनी कान्छी ( कथा सङ्ग्रह सन् १९७९) टीका पनि व्यापार पनि (एकाङ्की सङ्ग्रह-सन् १९७९), शंखघोष ( एकाङ्की सङ्ग्रह-सन् १९८५) फेरि गुडतिरै (उपन्यास-सन् १९७४), चियाबारी (कविता सङ्ग्रह-सन् १९६५), संचयिता (काव्यानुवाद-सन् १९६९) हुन ।
रामलाल सरले कविता लेख्दा त्यसबेला वैयक्तिक र जातीय अस्मिताबोधलाई प्रधानता दिएर अस्तित्ववादी प्रवृत्तिका कविताहरू लेखेका देखिन्छन् । अगमसिंह गिरी, तुलसीबहादुर छेत्री, हरिभक्त कटुवालजस्तै रामलाल अधिकारीको दियालो मा प्रकाशित “कि नमरौँ !” ले त्यही बोध गराउँछ:
“मृत्युलाई जित्न असम्भव छ भन्ने
ए मान्छेहरू हो !
तिमीहरू पछौटे बन्छौ
तिमीहरू केवल ठगिइन्छौ
‘अमर जीवन‘ को ‘इजेक्सन‘ थापी
जब स्वस्थ मान्छेहरू पृथिवीमा हाँस्दै खेल्लान्
तिमीहरूले पछुताउँदै स्वर्गबाट
तलै हेरिरहनु पर्ला
अनि मात्र एमेण्जमेण्ट होला ‘गीता‘ । “
रामलाल सरले उत्तर बङ्गाल विश्वविद्यालय, बनारस हिन्दु विश्वविद्यालय, राष्ट्रिय पुस्तकालय, कलकत्ता, विराटनगर बीपी कोइराला फाउन्डेसन ट्रस्ट आदि संस्था र स्थानमा आयोजित गोष्ठीमा आफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए र ती कार्यपत्रहरू पछि विषय परिक्रमा (सन् २००५) नामक पुस्तकमा समेटिएका छन् सायद त्यो उनको अन्तिम कृति हुन पर्छ । यस पुस्तकमा भाषा, साहित्य र संस्कृति आदि विषयहरूमा समीक्षात्मक प्रबन्धहरू समाहित छन् । बाह्र लेखले भरिएको त्यो पुस्तकले नेपाली भाषाको व्यावहारिक पक्षदेखि लिएर सम्पादक पारसमणि प्रधान सम्मको विषयवस्तुलाई समेट्न भ्याएको छ । पावन चाम्लिङलाई प्रदान गरेको विद्यावारिधि विवादलाई उनले चाम्लिङको समर्थनमा लेखेको छ ।
रामलाल सरले सन् २०००मा निसंस्मरण (निबन्ध र संस्मरणात्मक निबन्ध) मा साहित्य अकादमी पुरस्कारबाहेक रत्नश्री स्वर्णपदक, प्रतिभा परिचय पुरस्कार पाए । उनी देवकोटा स्मृति अभिनन्दन, अन्तर्राष्ट्रिय नागरिक स्वर्णसम्मान, रसिक साहित्य प्रतिष्ठानद्वारा अभिनन्दन, भाइसङ्घ समाजद्वारा अभिनन्दन, उत्तर बङ्गाल नाट्य जगत् सम्मान, निर्माण प्रकाशनद्वारा अभिनन्दन, सिक्किम सरकारको सांस्कृतिक तथा हेरिटेज विभागद्वारा सम्मान अपराजित समूहद्वारा सम्मान आदिजस्ता पाइसक्नुभएको छ । रामलाल सरको सन् २००५मा मृत्यु भएको थियो । सन् २०११मा पवित्रा रेग्मी अधिकारीको लेखनमा साहित्य अकादमी नयाँ दिल्लीले रामलाल सरको जीवनी प्रकाशित गरेका थिए ।
लेखक परिचय
पत्रकार तथा लेखक शरद प्रधानले नेपाली र अंग्रजी दुवै भाषाका पत्रिकाको सम्पादन गरेका छन् । साहित्यका विभिन्न विधामा कलम चलाउने प्रधान रेडियो टुरिजम र एक्सेलट्रिप नेपालसँग आवद्ध छन् ।
रामलाल अधिकारी नेपाली निबन्ध जगतमा एक गर्विलो नाम हुन्। उनका कृतिहरू बजारमा सहज उपलब्ध भए नव पाठक थपिने थिए र नेपाली निबन्ध साहित्य अलि बढी मुस्काउन पाउँथ्यो।
सर रामलाल सरको कृतिहरु उपलब्ध हुनु जरुरी छ । नेपाली साहित्यको केही चुनेगुनेको साहित्यकार बाहेक ९०% साहित्यकारहरुका कृतिहरुले दोस्रो संस्करण देखेको छैन । ती कृतिहरु केही समय पछि लोप हुने अवस्थामा छ ।
मैले त रामलाल सरको बारेमा ख्याल गरेकै रहेनछु। शरद दाजुले ओझेल परेका खास व्यक्तित्वहरुको भरपूर जानकारी दिइरहनु भएको छ । उल्लेखित निबन्ध पूस्तक पढ्ने भोक जागेको छ । आभारी छु दाजु ।
धन्यवाद बहिनी ! तपाईहरुलाई पुराना लेखकहरुलाई चिनाउनु पाउदा आनन्द लाग्छ ।
मेरा श्रद्धेय गुरुवर र शोध नायक स्व. रामलाल अधिकारीका व्यक्तित्व- कृतित्वबारे यति गहन र सूचनात्मक लेख पढेर मेरो मन र मस्तिष्कको क्षुधा तृप्त भयो । लेखक महोदय श्री शरद प्रधानज्युमा अशेष धन्यवाद र हार्दिक बधाई।
धन्यवद हजुर । तपाईको प्रतिक्रियाले मलाई सधै थप उर्जा दिन्छ