पारिजात पारिजात पारिजात पारिजात पारिजात
केही दूरी आफ्नै पाइलाको (सहारा लिएर) भरमा भनौँ हेर्न गएको कार्यक्रमको अनुभव काठमाडौँमा यो पहिलो हो। थला परेकोदेखि यता अप्ठ्यारो त केही पनि लागेन कारण यो शब्द नै आफ्नो त शब्दकोषमा मरिसकेको छ । फर्कदा ट्याक्सी नपाएर अर्को अर्थमा परिचितहरू भेट्टाए। निकै बेर हलमा नै बसिरह्यौं । घर आइपुग्दा रातिको एघार बजेको थियो । त्यहाँ बसुञ्जेल कार्यक्रमले सलसल्ती बगाएर लग्यो, कार्यक्रम कुनै पनि दृष्टिकोणले बोर थिएन, यो मान्नुपर्छ । नयाँ आविष्कारहरूको समर्थक र एक किसिमले बौलाहा म कमलाको स्तरले निकै प्रभावित भएकी थिएँ (यसको लागि गोपाललाई धन्यवाद छ किनभने ऊ प्रतिभा चिन्छ र ऊ उदार छ)।
घरमा आउँछु, चर्चा हुन्छ, नगेन्द्र थापाले कोसेली दिएको गीत सङ्कलन (उसको आफ्नो वक्तव्य) पढ्छु, घोत्लिन्छु, क्रमशः सराहनाको साथै विवादास्पद स्थितिहरू खुरु-खुरु जन्मन थाल्छन्, समर्थनसँगै विरोधले मस्तिष्क कोतर्न थाल्छ, निद्रा भागिदिन्छ । केही क्षणपछि कायल हुन्छु मेरा सबै अवस्थाहरूलाई विरोधले जितिसकेको छ र आजभोलि म विरोध मात्र गर्छु ।
कार्यक्रमपछि गोपाल भन्छ “आज परफेक्सन छैन हगि ?” म ठान्छु हलको अवस्थितिमा हो कि ! तसर्थ भन्छु ‘कुन अर्थमा मलाई त खास त्यस्तो केही लागेन’ अनि पर्दा र स्टेजहरू फेरि हेर्न थाल्छ उसको कैफियत समात्नलाई तर पछि हाँसो उठ्छ आफ्नो मूर्खतामा । म इलेट्रिक गितारको धुर सुन्नलाई रेडियो सिलोन (बिहान) प्रायः चुकाउँदिन, मुरली मेरो सर्वश्रेष्ठ बाज योसँग लाग्छ जीवनका उदासीहरू बलियो किसिमले सम्बन्धित छन् । उस मुरली बजाउँदाभरी मैले आफैलाई बिर्सेकी थिएँ, कार्यक्रमभरी मलाई केही पनि असुविधा भएन । कमेट्टरीमा दिइएको नाङ्गो विज्ञापनले पनि छोएन । मैले नगेन थापालाई ‘बोल्ड स्टेप’ लिनुभयो भनी भनें । हुन त योभन्दा दशगुना बढी बोल्ड स्टेप राल्फा सङ्गीतका प्रवक्ताले लिने गर्छन् तथापि राल्फालाई दंजाएर म अरूहरूलाई मूल्याङ्कन गर्दिन कारण राल्फा नेपाली सङ्गीतको परिवेशमा एउटा असाधारण स्थिति हो मेरो निम्ति जसको अघि आजका श्रोताहरूले कि त नतमस्तक हुनुपर्छ कि त सम्पूर्ण अस्वीकृतिको एउटै विकल्प लिएर छोडिदिन पर्छ । जसो तसो लिइदिऊ यो राल्फा गीतसँग हुनै सक्तैन, राल्फा बाध्य गराउँछ श्रोताहरूलाई स्वीकृति र अस्वीकृतिको विन्दुमा र लाग्छ यही विन्दुमा आएर नेपाली सङ्गीत इतिहास र राल्फा अलग्गिन्छ । गीतकारका नाउँ नभनिनु मेरो निम्ति कुनै विशेष कुरो थिएन एक किसिमले यो मसँग निकै पुरानो मान्यता भइसकेको छ ।
“अल्झेछ क्यारे पछ्यौरी तिम्रो” कार्यक्रममा यो फरमाइसको लिष्टबाट गाइएको थियो तसर्थ थापाजीको ‘हुन त गीतकार छुट्टै छन्’ भनाइलाई क्षमा गरिदिन सकिन्छ तर गीत सङ्कलनमा भूपी शेरचनको नाउँ हुनुपर्ने थियो, हुनसक्छ यो हतारोको नेग्लिजियन्स भइदिएको होस् ।आफ्नो, महाकविको र तारादेवीको विज्ञापन म विछ्याउनामा पल्टिसकेपछि सोच्न थाल्छु । हो निःसन्देह यो एउटा धृष्ट घोषणा थियो तर यस्ता घोषणाहरू तब मात्र सार्थक हुन्छन् जब व्यक्ति आफ्नो सातपत्रे आवरण (ढोंग, देखावटीपन अझ भनौं हिपोकेसी) लाई च्यातेर जनसमक्ष आउनसक्छ ।
महाकवि मात्र विज्ञापनमा अमर छ कति निरर्थक ? मेरो चाहिँ यसमा विचार न अलग छ तापनि म आजको युगको (जहाँ मानिसहरू आफैलाई औंल्याउन छोडेर देश र समाज जस्ता चरम एब्सट्रेक तत्त्वहरू औंल्याउँछन् । माथिल्लो दर्जाको विज्ञापन भइसकेकी छु । मलाई पत्रिकामा, चिट्ठीमा, आमसभामा, बार, चमेना घरका टेबुलहरूमा विज्ञापन गरिदिएका छन् हितैषीहरूले तर समाज मप्रति त्यत्तिकै शिथिल छ जति यसले हुनु आवश्यक छ । समाज त मानिसको सबोर्डिनेट अवस्था होइन र ? यो एउटा कुरा मात्र भनौं । कुरा के भने मेरो विचार अलग नै छ अर्थात् दान लिनु र माग्नु मेरो विश्वासभित्र छैन सँगसँगै दुर्दशाको विज्ञापन र चाकरी मेरो घृणा बोधभित्र छ, विश्वास यदि भएदेखि म अधिकारमा गर्छु । एउटा सामूहिक प्रगति, सामूहिक स्वतन्त्रता चाहिन्छ मलाई।
मभन्दा तल्लो दर्जाका गरीबी बाँचिरहेका हजारौं जनसाधारण पनि आफ्नो भोक रोगबाट मुक्ति चाहन्छन् अस्तित्वको नातामा । अस्तित्वको नातामा हामी एक हौं हामी र हामा इच्छाहरू एक हुन्, हाम्रा दुःखहरू एक हुन् हाम्रा भोक र रोगहरू एक हुन्, अधिकार हामी सबैको एउटै हो तसर्थ आजसम्म म स्वनिर्भर बाँचेकी छु आफ्नो फ्यासिलिटीको निम्ति मैले कहिले आवाज निकालेकी छैन मलाई ती सब स्वीकार पनि छैन । मलाई सामूहिक फ्यासिलिटी चाहिन्छ । कुरा सिलसिलाहीन गएकोमा….. भयो कुरा विज्ञापनको क्रममा नै कमेन्टरीको
भइरहेको छ । घरमा आएपछि थाहा भयो उक्त कार्यक्रम कलाकारहरूको निजी खर्चको निम्ति थियो । उठेको पैसा कुनै संस्था अथवा सहयोगमा लाग्दैन भने महाकवि र तारादेवीको विज्ञापनकों के अर्थ हुन्छ ? के ती घोषणाहरू आवरणभित्रका हुनजाँदैनन् ? कति सराहनीय हुने थियो यदि उनीहरूले उठेको पैसाबाट दश प्रतिशत भए पनि तारादेवीलाई उपचार खातिर दिनसकून् नत्र कुनै कलाकारको दुर्दशाको विज्ञापन दिएर प्रवक्ताले आफ्नो प्रवचनको स्तर बढाउनु किन ? मेरो प्रतिक्रिया अवश्य पनि विरोधको निम्ति विरोध त भएको छैन होला । गोपाल योन्जनलाई मैले उसका सिर्जनाहरू साथ मनभरी स्वीकारिसकेकी छु अझ बढी त हामी आमापट्टिबाट सम्बन्धित छौं । हामी दिदी भाइ हो तर हामीमा फरमालिटी छन् । ऊ असाध्य संवेदनशील छ, मनले कोमल छ, कति साँझ मैले ऊसँग उसका आन्तरिक संवेदनशीलताहरू बाँटेर पनि बिताएकी छु उसलाई म भाइभन्दा बढी कलाकार हेर्छु । ‘बिहान नभई बतासले’ को शब्द रचना मेरो निम्ति पनि उपलब्धि हुन् । शायदै यतिको उदार कलाकार खोजेर पाइन्छ (नेपालमा) जो आफूपछि आउने पीढीलाई हात दिन तयार हुन्छ । उसको रचनाको सबै गीत नराम्रा भन्न सकिदैन ।
मीतज्यूहरूको एउटा युगल गीत मलाई झलकमानजीको मुरलीचरी र डाफे अथवा राल्फाको ‘अमर गीत’ जत्तिकै राम्रो लाग्यो । झलकमानजी हुँदाहुँदै अरूहरूको स्वरमा गण्डकी अञ्चलका, लोकगीतहरू सुन्दा मलाई चाहि कुन्नि किन खल्लो लागिरह्यो ? प्रश्न उठ्थ्यो झलकमानजी कतै शोषित त भएको छैन ?
कुन कुन गीतमा शब्द बुझिएन । कमला एकजना भने स्पष्ट गाउँथी।इन्दिरा मास्के नयाँ गीत लिएर आएकी भए हुने जस्तो लागेको थियो । अ एउटा कुरा म जहिले पनि गायकको अभिव्यक्ति हेर्छ तर यहाँका कैयौं गीति कार्यक्रमहरू मैले नहेरेर अर्थात् भित्ता हेरेर अथवा भुइँ हेरेर बिताएकी छु किनकि कलाकारहरू कापी हेर्छन् । हिजो कमलाको स्वरमा मुग्ध भएर उसलाई स्टेजमा हेर्ने प्रयास गरें तर ऊ कापी हेर्दै गाउने गर्थी र मलाई चाहिने बारम्बार खाँदाखाँदै दाँतमा ढुङ्गा अड्किएको अनुभव हुन्थ्यो ।
गत हप्ताको शनिवासरीय परिशिष्टाङमा यो नाइटसम्बन्धी एउटा लेख पढ्ने मौका पाइएको थियो । हुन त त्यो पनि विज्ञापनको अर्को रूप थियो । जे होस् कफी हाउस चर्चाको लेख केही उत्सुकता नै दिन्थ्यो तथापि देउजाजीका कतिपय कुराहरूसँग असहमति प्रकट गर्न सकिन्छ । अहिले यति नै भनौं अर्थात् यो नाइट अरू नाइट जस्तो हुनेछैन भन्ने कफी हाउस चर्चाको माध्यमबाट ‘मीतज्यू नाइट’ लाई लिनै सकिएन कारण नाइट पूर्वपरम्परागत नै सम्पन्न भयो । सुरिला नारी कण्ठस्वरहरू लोकप्रिय गायक नारायण गोपाल इलेट्रिक
गितारको धुन, सजपालको प्यारोडी लोकगीत र यस्तै विविध प्रदर्शनले कार्यक्रममा बोर हुनपर्ने मौका नै आएन । जे हुनपर्नेहरू थिए, ती सबै थिए र हुनुपर्नेहरू मात्र भएको कुनै पनि प्रदर्शन सफल र असफल मात्र हुनसक्छन् तर असाधारण हुनै सक्तैन । यो नाइट सफल थियो ।
(गोरखापत्र भदौ १४, २०२६)
लेखक परिचय
पारिजात प्रसिद्ध नेपाली साहित्यकार हुन्। साहित्यका विभिन्न बिधामा कलम चलाउने भएकाले नै पारिजात लाई बहुमुखी प्रतिभा सम्पन्न नारी भनिएको हो। पारिजातका कृतिहरूमा प्रगतिवादी, समाजवाद, मार्क्सवाद, अस्तित्ववाद, नारीवाद विसङ्गतिवाद इत्यदि भाव पाइन्छ।