१
अस्तित्वको अकविता
जसरी
समयसँगै
उम्रीन्छन्, हुर्किन्छन्
थाँक्रोको टुप्पोमा पुगेर
झ्याङ्गिन्छन्, फैलिन्छन्
फुल्छन्, फल्छन्
उसैगरि निहुरिन्छन्
फैलिँदा, फैलिँदै— ओइलिन्छन्
झर्छन्,टिपिन्छन् — काँक्रोहरू
र, बेहिसाब छुट्टीएर जान्छन् —
थाँक्रोबाट लहराहरू ।
टुप्पोमा नै कसरी पुग्लान् र ?
थाँक्रो कै टुप्पो नभए —
लहराहरू ।
त्यसरी नै
समयसँगै
बेहिसाब छुट्टीएर जान्छन्
हाम्रा सम्बन्धका लहराहरू
अनि, रित्तो हुन्छन् —
जीवनका कान्लाहरू।
अस्तित्वको अकविता
एक थोपा पानी
कर्कलोको पातमाथि
तप्प खस्यो, र
बादलको पर्दा च्यातेर हेरेपछि घामले
बस्यो टल्किने मोतीको टुक्रा झैं भएर ।
सोच्दै थियो —
बाफ बनेर उड्नेछू
आकाशमा पुग्नेथू
बादलमा मिसिनेछू
ठूलो झरी भएर — बर्सिएर
यो धर्तीमा भएका जम्मै
कर्कलोको पातमाथि यसैगरि बस्नेछू—
मोती झैं टल्किएर।
एकैछिनमा
मसिनो बतासको डोरीले
कर्कलोको पातलाई सुस्तरी बाँधेर
सुटुक्क आफूतिर तान्यो, र
सुख्खा माटोमा फुत्त खसालेर
विलय गराइदियो थोपालाई —
कर्कलाको पात रित्तै उभिरह्यो
अर्को थोपाको पर्खाइमा ।
२
गन्तव्य
घरमाथिको चौतारोबाट
थुप्रै बाटोहरू देखिन्छन्
मलाई थाहा छैन —
ती बाटोहरू हिँडेर खै कहाँ पुगिन्छन्
तर, थाहा छ —
त्यो रुख नै रुख भएको
खोलापट्टिको
सुनसान बाटो हिँड्दै गए —
आर्यघाट पुगिन्छ।
३
जिन्दगी
जिन्दगी किताब हुने भए
लेख्न सक्ने धुर्त लेखकहरूले
आफ्नै नाममा लेखेर
बग्रेल्ती छपाउँथे
र, अमर बन्थे
लेख्न नसक्ने लेखकहरू मर्थे
लेखेर पनि छपाउँन नसक्ने लेखकहरू
आफैभित्र गुमनाम हुन्थे
तर
जिन्दगी किताब होईन
किताब लेख्ने कलम हो ।
४
दृष्टिदोष
साँझपख
असन चोकको गल्लीमा
तलब झिकेको दिनमा
ढोकाबाहिर निस्कदै गरेको मेरो
र, ढोकाभित्र पस्दै गरेका उहाँको
अकस्मात जम्काभेट भयो !
त्यसरी नै
अकस्मात हामी एकैपटक
एउटै स्वरमा बोल्यौँ—
तपाईँ त कति खुसी देखिनुभएको !
हामीले एकाअर्कालाई नै खुसी देख्यौँ
एकले अर्कोलाई त्यसै भन्यौँ
र
एकाअर्काले आफू दु:खी भएको प्रमाणित गर्यौँ—
जब मान्छे, आफैभित्र – धेरैभित्र — दु:खी हुन्छ
तब उसले, अरुलाई खुसी देख्दोरहेछ ।
लेखक परिचय
काठमाडौँका कवि केशव गजुरेल सिनेमा तथा साहित्यको विद्यार्थी हुन् ।