त्यसो त पहिलेनै
धेरै सुन्दर कुराहरू थियो बस्तीमा
थियो
शीतको तपस्यामा बसेर
बिहानै घाम बोकी ल्याउने पहाड
पातहरूको पङ्ख बोकेर
शीतल हम्किरहने रुखहरू
बसन्तको थुङ्गा बोकेर
मान्छेहरूको आँगनसम्म पुग्ने गोरेटो
थियो
विश्वासको फूल चढाएर
जिन्दगी भाकिदिने देउरालीहरू
प्रतिक्षामा पलेटी कसेर
थकान मेटिदिने चौतारीहरू
थियो
हरियाली खेलिहिँड्ने चाउरी,इन्द्रेणी टाँगिहिँड्ने बनपाखा
फूल, चरी, नदी र बादल………
माटोभरि
फैलिन्थ्यो पसिनाको आदिम गन्ध
झुपडीभरि
देखिन्थ्यो इतिहासको धुमिल चित्र
जब
भत्काएर सम्पूर्ण स्थापत्य
ठडियो आधुनिक भ्यू टावर
सोच्दैछु
भ्यू टावर चढेर
अब कुन सौन्दर्य हेर्नु बस्तीमा ?
लेखक परिचय
कवि सन्जित फलाना आफ्ना कविताहरूमा सिमान्तकृत बर्गको आवाज र सांस्कृतिक पहिचानका मुद्दाहरू प्रधान विषयका रूपमा प्रस्तुत गर्न रुचाउँछन् ।