१
इन्तजार
कोहि किन पर्खिन्छ कसैलाई
जस्तो इन्तजार
उज्यालोको- बिहानले गरेको होस्
मृत्युको- चिहानले गरेको होस्
के उचित छ त चन्द्रमाले टोलाइरहनु
रात – रातभर
हेरेर कुनै प्रेमिको आँखामा
जो प्रत्यक साँझ डुबाइदिन्छ
तिनै जुन -तारा
मधुरसको प्यालामा
कोहि किन हराउँछ
– एकान्तमा
– कसैको यादमा
– ख्वाबमा
– तड्पनमा
जो सिङ्गै ब्रह्माण्ड
ब्ल्याक होलमा हराउँनुभन्दा बढी
खतरनाक छ
तिम्रो बाहेक कसैको याद नआवोस् भनेर
कोहि किन पहरेदारी गरिरहन्छ
आफ्नै सपनीको
किन उडि जान्छ कसैको समय
सिग्रेटको धूवाँजसरी
मुक्ति खोज्दै विलीनमा
सुनेको छु पृय
तिमी अचेल कोहि त्यस्तै
एक अजनबीलाई पर्खी बस्छाै अरे
तिमी नपर्खिनू पृय
अक्सर पर्खाइहरू-
पीडा दायक हुन्छन्
जस्तो पीडादायक बनेको छ
मेरा लागी ,
केवल मृत्यु कुरेर काटिरहेको
जिन्दगी – नामको एक लामो पर्खाइ
२
दौडधुप
भर्खरै मारेर आएको छु
आफू भित्रको एक कलिलो
मासुम बालकलाई ।
मलाई हत्याराको उपनामा
कसैले दिएन
गरेको छु घर छोड्नु अघिल्लो रात
बन्द अँध्यारो कोठा जुराएर
आफ्नै रहरहरूको बलात्कार
सडकमा निक्लिएर
मलाई कसैले मागेन ,
फाँसीको सजाए
जलाइदिएको छु
हाँसी मजाक र ठट्टयौलीहरूको बस्ती
चिल्ली बिल्ली पारिदिएँ –
हुर्कदै गरेका नाबालिक रहरहरूको
नियम – कानुन
सबै टुटिगए छन्
मलाई कसैले हत्कडि लगाएन
धर्म – अध्यात्म सबै विलय भएछन्
मलाई पापी को तक्मा कसैले दिएन
नर्कको डर कसैले देखाएन
मरिगए छ यहाँ तिम्रो ज्ञान – सभ्यता
मलाई कसैले अपराधी देखेन
समयको काँधमा
आज आफ्नै सर्जिब लास बोकाएर
चिता खोज्दै
भौतारिँदै
म हिँडिरहेको छु कतै
आज त्यही दौडधुप पछ्याउँदै
आफ्नो गाउँघर छोडेर
तिम्रो सहर , तिम्रै गल्ली
र तिम्रै टोल – छिमेक आसपास
आइपुगेको छु
हेलो मिस्टर ,
सुन त –
देखेका छाै
यता कतै
सपना पोल्ने घाट छ अरे ?
३
फांसला
प्रिय मैले तिमीलाई प्रेम नगर्ने भएर
हामीबीच दूरी बनाएको होइन
सत्य त यो हो कि
आजकल –
मलाई कुनै पनि कुराको मिलनदेखि
डर लाग्न थालेको छ
जस्तो यसको मतलब यो होइन कि
नदीका दुई किनारहरू बीच प्रेम छैन
तर तिमी आफै कल्पना गर न
यदि कुनै दिन
नदीका दुई किनारहरू
भुलचुक एक भैदिए भनेँ ?
४
देश र प्रश्न
म तारे भिरमा गोरु नार्दै गरेका
हरि काकाको हलो र कोदालीलाई हेर्दै छु यतिबेला
उनैको हलोको सियोले धर्तीमा कोरेको लकिर पछ्याउँदै लम्किरहेको छु
देशको इतिहास खोज्न ,
तपाईँ प्रश्न गर्नु हुन्छ
यो देशको नक्सा कसले कोरेको हो ?
देशको सुरक्षामा छोरो सुम्पिएर
आफ्नै मनसँग युद्ध लडिरहेकी
वृद्ध आमालाई हेर्दै छु यतिबेला
र तपाईँ सवाल गर्दै हुनुहुन्छ
यो देश कसले जितेको हो ?
कर्णालीको तिरैतिर भएर
तपाईँ- हाम्रो सहर भन्दा कयौँ दूर
एउटा सुदूर गाउँमा
भारी बोकेर पीडाको सगरमाथा उल्किरहेका
मजदुरहरुलाई देखिरहेको छु
र तपाईँ यही बेलामा मलाई प्रश्न गर्दै हुनुहुन्छ
यो देश कसले बोकेको हो ?
सिरानमा बन्दुकको नाल राखेर
सपनामा घर र विपनामा देश देखिरहेको
एउटा सिपाही जवानलाई सम्झिरहेको छु
र तपाईँ मलाई यहि बेलामा प्रश्न गर्नुहुन्छ
यो देशको सपना कसले देखेको हो ?
दुस्मनहरूको रगत पिएर लत्पोतिएका
विरहरूका खुकुरीहरी हेरिरहेको छु
यतिखेरै तपाईँ प्रश्न गर्दै हुनुहुन्छ
बिरताको रगतले
यो देशको माटो कसले सिचेको हो ?
मेरा सबैसबै नेपाली दाजु भाइसँग
एकताको चौतारीमा बसेर ,
स्वतन्त्र नेपालको गीत गाउँदै
तपाईँका सम्पूर्ण प्रश्नहरूको एकैपटकमा जवाफ दिन खोजिरहेको छु
भन्नुहोस् अब के जवाफ दिउँ म
तपाईँ ठ्याक्कै यहि बेलामा –
मलाई प्रश्न गर्दै हुनुहुन्छ यो देश कसको हो ?
म यतिबेला सबै चिज पाखा लगाउँदै
अन्तिममा –
पृथ्वीनारायण शाह कै सालिकअगाडि उभिएर
उनले ठड्याएको एउटै औँला हेरिरहेको छु
र तपाईँ यहि बेलामा प्रश्न गर्दै हुनुहुन्छ
टुकृएका हरफहरू बटुलेर
यो देशको कविता कसले लेखेको हो ?
५
फूल
अक्सर मान्छेहरू
बगैंचामा फुलेको फूलभित्र
फूल मात्र देख्छन
तर कमै हुन्छन जसले सुवास देख्छन्
प्रेमिकालाई गुलाफसँगै गाँसेर
दिएको प्रेम देख्छन्
फूल हिँडेर मन्दिर पुगेको
भक्ती देख्छन
लाससँगै मलामी गएको
फूलको मृत्यु देख्छन
अरु थुप्रै केके देख्छन देख्छन्
जिन्दगी र यो मानव चेहेरा
त्यै एक फूल हो
धेरैले चित्र देख्छन्
थोरैले चरीत्र देख्छन्
६
स्वामित्व
घडीले देखाएको
समय पनि
स्वयम् उसको होइन
नदीले बगाएको पानी पनि
आज उसँग छ
भोलि समुन्द्रको हुनेछ
पर्सि बाफको
अनि बादलको
यो सृष्टिमा त्यस्तो केही छैन प्रिया
जसमा कोहि एक मात्रको स्वामित्व रहोस्
मसँग नितान्त मेरो भन्नू त्यस्तो के छ र ?
म तिमीलाई सुम्पिउँ
यतिन्जेल आफ्नो ठानेको मुटु पनि अचेल ,
तिम्रो नाममा धड्किन्छ
म त केबल एउटा
शून्यता बाँचिरहेको छु
केबल एउटा बिशाल शून्यता !!
लेखक परिचय
सुर्खेत जिल्लाका आचार्य निकै रुचाइएका युवाकवि मानिन्छन्।