१
बाडुली र सम्झना
बर्षौंदेखि बेखबर
एउटा भूपू मायालुको सम्झनामा
म बाँचिरहेको छु।
सम्झनाको हाँगामा टेकेर
पित्रीक पित्रीक नाच्दानाच्दै
पालुवा फेर्दै गरेको कलिलो मुनाहरूमा
साँझपख खसेको शीतको आँसुहरूमा
बिहानीको पहेलो घाम पोखिएपछि
कि त देख्यौं बर्षौंदेखि बेपत्ता
आफ्नै बेखबर भूपू मायालुको आकृती ?
सबेरै तक्सङ कोक्मा माथिमाथि
मनको अप्ठयारो कुना कन्दरामा
लुङमा सोम बनाएर मलाई
अचेल किन घरीघरी रोइरहन्छ सेल्लोवा ?
थाहा छैन कहिलेदेखि
यति बिघ्न सताएर मलाई
घरीघरी यति जोडले किन चल्छ हेल्लुवा ?
समयको पात्रो फेरिए कतिकति
तर पनि सम्झनाको मझेरी उस्तै छ
हेर त मैले ओडि हिँड्ने आकाश उहीँ छ
मैले खेली हिँड्ने आगन उहीँ छ
प्रत्येक क्षितिजमा अस्ताउने जुन उहीँ छ
मैले वालापनमा बिताएको सुदूर सम्झना उहीँ छ ।
ठीक यतिखेर
म संसार नियालिरहेछु।
हेर त म जस्ताको तेस्तै छु
बस फरक यति हो
जिन्दगीको कथा मात्रै फेरियो ।
२
प्रेमको मौनता
एउटा पागल प्रेमी
नदी किनारा छेउमा बसेर
एकोहोरो फालिरहेछ ढुङ्गाहरू
क्रमश फालिरहेछ ढुङ्गाहरू ।
आफ्नै सुरुमा उडाइरहेछ धूवाँको मुस्लोहरू
अनि सल्काइरहेछ आफ्नै जिन्दगी
जिन्दगीदेखि अवाक भएर होला
डिप्रेशनको शिकार झेलिरहेछ ।
मृत्युको फैसला आफै गर्नु अघि
जब झसङ्ग झस्किएपछि
चारै तिर देख्छ परिवारजस्तो संसार
र प्रेमले भरिएको ती पाठशालाहरू
अचेल ऊ संसार पढिरहेछ ।
साझ खस्नुअघि ।
जिन्दगीको अन्तिम स्टेशनबाट
हतारहतारमा आफनै रफ्तारमा
छुटिरहेछ जिन्दगीको अन्तिम बस
र अन्तिम सिटमा बसेर ऊ यात्रा गरिरहेछ ।
हेर्दाहेर्दै ओभर टेक गरेर
सुदूर गाउँतिर हुइकिन्दैछ बस
सपनाहरूको भारी लोड बोकेर
दिनरात सडक यसरी हिँडिरहेछ
कि अब त मेरो गाउँ बिउँझियो होला
गुरुजा बिस्तारै जाऊँ
प्रेमको मौनता सबैभन्दा खतरा हुन्छ।