काठमाडौँ बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा इतर अभियानको आयोजनामा इतर कविता संवार्ता आज सम्पन्न भएको छ ।`आदिवासी सौन्दर्य पहिचानको आवाज´ मूल नारासहित स्थापना भएको इतर आवाजद्वारा प्रकाशित ३ सय ४१ कविका ३ सय ४१ कविता संङ्कलित `इतर कविता´ सङ्ग्रहमाथि वक्ताहरूले टिप्पणी गरेका थिए । टिप्पणी गर्दै डा. तारालाल श्रेष्ठले भने- ‘कसले भन्दा शाहस, आँट छैन आदिवासीहरूको !‘ उनले यो सङ्ग्रह र यसभित्र रहेका कविता बलशाली रहेको बताउँदै यो सङ्ग्रह पाएपछि खुसी भएको कुरा व्यक्त गरेका थिए । अर्का वक्ता प्रध्यापक कृष्ण खनालले `इतर कविता’ राष्ट्रिय विविधताले भरिपूर्ण रहेको र स्वाधिन कविताहरू सङ्ग्रहमा सङ्ग्रहित भएको बताए । महिला अधिकारकर्मीहरू रिता शाह र मधु मिझारले टिप्पणीसहित शुभकामना दिएका थिए ।
इतर आवाज साहित्य समाज राज्यबाट सीमान्तकृत, आदिवासी जनजाति तथा पिछडिएको वर्ग समुदायहरूको सौन्दर्य, संस्कृति र दबिएका आवाजहरूलाई मौलिक आवाजमार्फत बुलन्द गर्दै लैजाने हेतुले वि.सं. २०१६ मा स्थापना भएको हो । यसको मूल नारा ‘आदिवासी सौन्दर्य, पहिचानको आवाज: इतर आवाज‘ रहेको छ । सम्पूर्ण आदिवासीहरूको सौन्दर्य र संस्कृतिका पाटोहरूलाई सँगसँगै लैजाने यसको मुख्य ध्येय रहेको र `इतर कविता´ सङ्ग्रहमार्फत सीमान्तकृत आवाजहरूलाई गोलबद्व गरी खबरदारी गर्ने चेष्टा गरेको इतर अभियन्ता मात्रीहाङ नेम्बाङले बताए । उक्त कार्यक्रमको उठान साहित्यकार राजन मुकारुङले गरेको थिए भने बैठान चलचित्रकर्मी नवीन सुब्बाले गरेका थिए । कार्यक्रमको सहजकर्ताका रूपमा गुरुङ सुशान्त रहेका थिए ।