राजेन्द्र परदेशी राजेन्द्र परदेशी
त्यो एक्लो सुख्खा मैदानी रुखमा
पातहरू कहिल्यै पलाएनन्
फूल कहिल्यै फुलेन
फल कहिल्यै फलेन
हाँगाहरू कहिल्यै निस्केनन्
तर , पनि अन्तत दिनहरूदेखि
त्यो एक्लो सुख्खा मैदानी रुखले
अलिकति छायाँ दिँदै आएको छ
अलिकति शितल र विश्वास दिँदै आएको छ ।
न त्यसलाई कसैले स्याहार गर्यो
आज त्यो एक्कासी
बहुतै वाचाल बन्दैछ
उत्तरमा हिमालको स्वच्छतालाई
र दक्षिणमा गङ्गा जलको पवित्रतालाई
खिसी र व्यङ्ग्य गर्दै
त्यो एक्लो सुख्खा मैदानी रुख
भोकले महाकाली नदी
प्यासले मेची नदी तर्छु भन्दैछ ।
लेखक परिचय
पाँचथरको पौवा सारतापको कवि राजेन्द्र परदेशी (वि.सं. २०१५/११/२७- २०६७/०६/०८) कवि हुनुको साथसाथै एक दृढ कम्युनिस्ट पनि थिए । जसले नागरिक अधिकार र समानताको माग गर्दै सत्ताशक्तिविरुद्ध कविता लेखे र लोकतन्त्रको निम्ति आन्दोलनमा योगदान पुर्याए । कृतिको रुपमा “भोक लागेपछि रुख पनि हिँड्छ” कविता सङ्ग्रह उनको मूख्य काम हो ।