सोचेको थिएँ
म त निकै माथि छु
अग्लो ठाउँमा छु
जहाँ घामको किरणले मलाई छुन्छ
सबभन्दा पहिला ।
त्यसरी गजक्क हुनु
भ्रम पाल्नुमात्र रहेछ ।
जेमा पनि जहिले पनि
प्रथम हुनुपर्ने
बाध्यता भनूँ किंवा चाहना
हुर्किबस्ने मनभित्र
आकाश छुन चाहने सपना देख्नु पनि
भ्रमित हुनुबाहेक के नै हुन्छ र
नखटी नकमाई सास फेर्नै नसक्ने
जिन्दगीमा !
यो मनभित्रको आगो भने
कसैले देखेको छैन ।
देखोस् पनि कसरी
सहिष्णुको पानीले निभाएको बेला !
जलनको आँसु पनि त
एकान्तमा मात्र
तप्प खस्छ कहिले
नि:शब्द बग्छ कहिले
ग्वाँ ग्वाँ रु रु लाग्दा लाग्दै
सहेर निस्सासिँदे भित्रभित्रै सुक्छ कहिले ।
मभित्र असन्तुष्टिको भिसुभियस पड्केर
भित्रभित्रै पीडाको लाभा त बग्छ नि ।
खै,के गर्ने ?
असरल्ल छ सबै
बन्धनमा छ स्वाधीन हावा पनि
विवश छ फेर्नु पर्ने सास पनि
क्रमभङ्गको अँध्यारो ओडारभित्र ।
पाप र अपराध ओछिएको भुईँमा
निर्धक्क निदाउन त सकिन्न नि
र पनि
खै त मगजभित्र
चिन्तनको एटना पड्काएर
पखाल्न सकेको
बगाएर विप्लवी लाभाले
राजनीतिक जालझेलहरू ?
सोचेको थिएँ
म त निकै माथि छु
अग्लो ठाउँमा छु
जहाँ छुन सक्दैनन् मलाई
निठुरी हातहरूले
जहाँ भेट्न सक्दैनन् मलाई
दिउँसै तर्साउने लासहरूले
म त्यहाँ सुरक्षित छु ।
सबै मिथ्या रहेछन्
म त आफ्नै आँगनमा
आफ्नैसित हारिसकेको रहेछु
लालसाहरूका
चलखेलहरूमा
जालझेलहरूमा
सधैँ सधैँ।
तर मभित्रको ‘म’ चाहिँ
मरेको छैन रहेछ अझै पनि ।
कूटनीतिक पासोमा तुर्लुङ्ङ झुन्ड्याएर
मेरो स्वाभिमानलाई
निष्प्राण बनाउने उपद्रवले भने
आफ्नो कोत्रे अनुहार
देखाइबस्छ मलाई
घरीघरी।
म भने निकै माथि हुनुको भ्रममा रहेछु ।
लेखक परिचय
दार्जीलिङका साहित्यकार राजु प्रधान “हिमांशु” कथा, कविता, नाटक, समीक्षा र निबन्ध विधामा कलम चलाउँछन् । चालीसको दशकदेखि निरन्तर लेखनमा सक्रिय हिमांशुका, यो निगूढ़ कुरा होइन, अभ्यन्तर, अन्वेषण, मुखुन्डो लगाएको मन, ओम शान्ति, निफन-नाफन, काल-निर्णय, नि:शब्द शब्द-शिखा, प्रेक्षण-सर्वेक्षण, चिन्तन-विचिन्तन, अवसान, शान्ति-दर्शन, कालान्तर-कालान्तर, विचारको आयतन, रङ्गहरूको खेल, एउटा महायज्ञपछि, तिरस्कृतहरू ! बहिष्कृतहरू, विलोकन उनका प्रकाशित कृतिहरू हुन् ।
मो.न. : ९४३४१५१११७
ईमेल : rajuhimanshu274@gmail.com
पुरस्कार /सम्मान :
१.सन् १९८०-मा कथा प्रतियोगितामा प्रथम पुरस्कार
२. सन् १९८२मा जिल्लाव्यापी कविता प्रतियोगितामा प्रथम पुरस्कार
३. सन् १९८२मा सर्वश्रेष्ठ अभिनेताको पुरस्कार
४. सन् १९८४मा एकाङ्की प्रतियोगितामा प्रथम पुरस्कार
५. सन् १९८७मा कवितामा स्रष्टा पुरस्कार
६. सन् १९९४मा जिल्लाव्यापी एकाङ्की प्रतियोगितामा सर्वश्रेष्ठ एकाङ्की, सर्वश्रेष्ठ एकाङ्कीकार, र सर्वश्रेष्ठ निर्देशकका पुरस्कारहरू
७. सन् १९९५मा नाटकमा इलाहावाद नाट्य संघको अध्यक्ष पुरस्कार
८. सन् १९९८मा सर्वश्रेष्ठ प्रयोगात्मक नाटकका निम्ति हिमालयन थिएटर अवार्ड
९. सन् १९९९-२०००को अखिल भारतीय रेडियो नाटकलेखनमा प्रथम पुरस्कार
१०. सन् २००१मा नाटकमा दियालो पुरस्कार
११. सन् २०१७मा “शान्ति दर्शन” (रेडियो नाटकसङ्ग्रह) का निम्ति प्रथम डी. के. श्रेष्ठ स्मृति साहित्य पुरस्कार
१२.लघु चलचित्र “कुहिरो The Outsider” को अभिनयका निम्ति रोममा सञ्चालित प्रिज़माबाट बेस्ट लिडिङ एक्टर अवार्ड, सन् २०१८