प्रकृति, जीवन, जगत या भनौं कुनै सिर्जनात्मकता, सबैको धरातल हुन्छ, जरा हुन्छ। हामीले सुरु गरेको ‘साठी वर्ष अघिका कथाहरू’ नेपाली कथाहरूको जरा पहिल्याउने एउटा प्रयास हो। वस्तुत: वि.सं. १८०० देखि नै नेपाली कथाहरूको लेखन प्रारम्भ भएको मानिन्छ। पुराना कथाहरूको खोजी गर्ने क्रममा हामी साठी बर्षअघिका कथासम्म आइपुग्नु नेपाली कला, साहित्य र संस्कृतिको जगेर्ना गर्ने एउटा सानो कोशिस हो। साहित्य सिर्जनामा अग्रज, समकालीन र नवोदित साहित्यकारहरूबीच सम्बन्ध सेतुको रुपमा उभिने उद्घोष यस अघि नै गरिसकेका छौं। यसलाई पूरा गर्ने हुटहुटीलाई केही कम गर्न, अनि समकालीन साहित्य पढ्ने, साहित्य अनुसन्धान गर्ने साथै साहित्य सिर्जना गर्ने साहित्यकारहरूमा अग्रज साहित्यकारका सिर्जनाहरूसँग जोडिने माध्यमको अभाव महसुस गरिरहेको अवस्थालाई मध्यनजर गर्दै, साठी बर्षअघि लेखिएका कथाहरूलाई खोजी गर्ने र प्रकाशन गर्ने जमर्को गरेका छौं । साहित्य सिर्जनामा त्यस समयमा मुलधारमा रहनुभएका साथै उत्कृष्ट सिर्जना गर्ने तर कम पढिएका साहित्यकारहरूको सिर्जनालाई समेट्ने कोशिष गर्ने छौं। यसै गरि साहित्यका विभिन्न विधाहरू कविता, निबन्ध, गीत, दन्त्यकथा आदिको खोजमूलक सामग्री पनि क्रमश: प्रस्तुत गर्दै जाने प्रतिबद्धता समेत यहाँहरू समक्ष जनाउन चाहन्छौं।