शुन्यानन्द धन्न आधा बाटोमै रहेछौँ हामी,
कत्ति गाह्रो हुन्थ्यो होला छुट्टिन,
यदि पुगि हालेका थियौँ भनेँ,
जहाँ हामी पुगौँला भनेर हिँडेका थियौँ।
कत्ति गाह्रो हुन्थ्यो होला,
सिर्फ प्रेमको अस्तित्व जोगाइ रहने,
प्रेमिल मुस्कानहरू फिर्ता गर्न ।।
कत्ति गाह्रो हुन्थ्यो होला,
एक्लै छोडी आउन देउरालीमा,
हाम्रो प्रेमको प्रमाण बन्न भनेर,
चुडिँएका जोडी गुलाफहरूलाई ।।
धन्न आधा बाटोमै रहेछौँ हामी ।।
आधि बाटोमा भएर होला हामीले,
घाम आधा मात्र बुझ्यौँ,
जून आधा मात्र बुझ्यौँ,
अँध्यारो-उज्यालो सबै-सबै आधा मात्र बुझ्यौँ,
तर,
बाटो अपुरै छोडेर हो,
हामीले प्रेमलाई पूराका पूरा बुझ्न सकेको ।।
धन्न आधा बाटोमै रहेछौँ हामी ।।
हामी के-के पो गर्थ्यौँ होला,
यदि पुगी हालेका थियौँ भने,
जहाँ हामी पुगौँला भनेर हिँडेका थियौँ ।।
तिमी बेस्सरी कसिन्थ्यौ होला,
मेरो अँगालोमा,
र मार्थ्यौ होला जीवनकै,
पहिलो आनन्दको सुस्केरा,
सापटी लिएर मेरो घाँटी छोएर बग्ने हावा ।।
म सुस्तरी बिसाउथेँ होला,
मेरो शिर तिम्रो काँधमा,
र देख्न थाल्ने’थेँ होला सपना,
यत्ति टाढा पुगिसकेको हाम्रो प्रेम,
पुग्नु पर्ने अर्को गन्तव्य कहाँ हो भनेर ।।
या,
म गन्न थाल्ने थिँए होला पाइला,
लगाउन थाल्ने थिँए होला हिसाब,
ती अक्षरहरूको,
ती पत्रहरूको,
ती फूलहरूको,
ती उपहारहरूको,
जो कुरबान भएर,
डोर्याउथे यो प्रेमलाई,
यहाँसम्म,
जहाँसम्म हामी पुगौँला भनेर हिँडेका थियौँ ।।
तिमी दिन थाल्थ्यौ होला आशिर्वाद,
ती हेराइहरूलाई,
ती चंचलपनहरूलाई,
ती मुस्कानहरूलाई,
ती निर्दोष भावनाहरूलाई,
जो अजम्बरी रहन्थे यो प्रेममा,
र कुरी बस्थे होलान्,
हामी फर्की आउने बाटो ।।
तर धन्न आधा बाटोमै रहेछौँ हामी ।।
आधा बाटोमा हुनुको मजा,
आधा तिमीलाई थाहा छ,
आधा मलाई थाहा छ ।।
त्यहाँ नपुगेर,
जहाँ हामी पुगौँला भनेर हिँडेका थियौँ,
कहिँ नपुग्नुको मजा,
आधा तिमीलाई थाहा छ,
आधा मलाई थाहा छ ।।
यदि कसै गरी,
पुगिहालेका थियौंँ भने त्यहाँ,
जहाँ हामी पुगौँला भनेर हिँडेका थियौँ,
केस्रा-केस्रा केलाउने रहेछौँ,
हामीले,
बिताइ आएको पलको,
बिताइ आएको सम्बन्धको,
बिताइ आएको प्रेमको,
र पुग्ने रहेछौँ त्यहाँ,
जहाँबाट हामीले सँगै हिँड्न सुरु गरेका थियौँ।।
जहाँ पुगे पनि,
जति टाढा पुगे पनि,
फर्केर त फेरि,
सुरुवात नै भेट्नु पर्ने रहेछ, शुन्यानन्द
सम्झनामा त सुरुवात नै बस्दो रहेछ,
अन्त्यले फेरि सुरुवात खोज्दो रहेछ ।।
हेर न,
तिमी र मैले आधा बाटोमै रहेर,
कत्ति कुरा जीवितै छोडी हिँडेछौँ ।।
लेखक परिचय
नेपाली साहित्यको युवा पुस्तामाझ खरो रूपमा उत्रिएका नाम हो शुन्यानन्द । उनी विशेष गरी कविता विद्यामा कलम चलाउने गर्दछन् । फुटकर रूपमा उनका रचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।